२०७५ माघ २ गते, बुधबार   वर्ष ३६, अङ्क १०
मिति(२०७५ माघ ५, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य अन्तर्वार्ता
पुराना अंक
लेखहरू
भारत साम्राज्यवादी देश भइसकेको छैन
सागर कुंवर
भारत साम्राज्यवादि हो वा होइन भन्ने विवाद सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले आफ्नो आठौँ महाधिवेशनको दौरानमा त्यस प्रकारको बहसलाई खुल्ला रूपले लैजाने भन्दै मसालको आठौँ महाधिवेशनका लागि तयार पारिएका बहुमत र अल्पमत पक्षका भारत साम्राज्यवादी हो र होइन भन्ने पक्षमा भएका तर्कहरू सहितको एउटा सानो पुस्तिका पनि सार्वजनिक भएको छ । (त्यो पुस्तिकामा नै बहुमत र अल्पमत पक्ष छुट्याएकाले नै यहाँ पनि बहुमत र अल्पमत पक्ष भन्ने शब्द चयन गरिएको हो) यसले स्पष्ट रूपमा के देखाउँछ भने मसालभित्र नै भारत साम्राज्यवादी हो वा होइन भन्नेमा विवाद रहेको छ (हेर्नु होस्, नेकपा (मसाल) को केन्द्रीय कार्यालयले सार्वजनिक गरेको पुस्तिका) । यस अवस्थामा खुल्ला बहस गर्न पाउने अधिकार क्षेत्रभित्र रहेर नै भारत साम्राज्यवादी मुलुक भइनसकेको अवस्थालाई प्रस्ट पार्ने प्रयत्न गरिएको छ । 
भारत एउटा नव औपनिवेशिक मुलुक हो । भारतमा पुँजीवादको विकास हुँदैछ । साम्राज्यवादी शक्ति वा मुलुक हुनका लागि पुँजीवादको चरम विकास भएको हुनुपर्दछ । लेनिनले साम्राज्यवाद पुँजीवादको चरम अवस्था भनेर बताएका थिए । आज पनि लेनिनको उक्त दृष्टिकोण नै वस्तुगत छ । कतिपय विद्वानहरूले भारत दुई प्रकारको देश भएको बताएका पनि छन । उनीहरूले गरिब र धनीहरूको देश हो भनेका छन । भारतको कतिपय प्रान्तहरू अर्धसामन्ती अवस्थामा छन भने कतिपय प्रान्तहरू पुँजीवादी प्रकारका छन । त्यो अवस्थामा भारत साम्राज्यवादमा विकास भएको छ वा छैन भन्ने बहस चल्नु नराम्रो नभए पनि भारतको वस्तुगत पक्षले अहिले भारत एउटा साम्राज्यवादी मुलुकमा रूपान्तरण भइसकेको देखिन्न । भारतीय राजनीति, अर्थतन्त्र, सामाजिक, सांस्कृतिक अवस्था, उत्पादनका साधनमाथिको स्वामित्वको अवस्था, उपरी (संरचना र आधारभूत संरचनामाथिको राजनीतिक परिवर्तनको स्थितिलाई मध्यनजर गर्दै तल उल्लेखित केही तथ्यहरूले नै भारत अहिले साम्राज्यवादी मुलुकमा रूपान्तरण भइसकेको छैन भन्ने नै देखाउँछ । 
१. भारतले विश्व वजारमा आफ्नो एकछत्र राज गर्न सकेको छैन । उल्टो भारतीय अर्थतन्त्रमा वहुराष्ट्रिय कम्पनीहरूको छाया छ । 
२. भारत विश्व व्यापारमा अहिले पनि चरम घाटामा छ । उसको व्यापार घाटमा विगतका वर्षहरू जस्तै भारतका उतापादित वस्तु तथा सेवाले साम्राज्यवादी मुलुकका वस्तु तथा सेवासँग प्रतिस्पर्धा गर्न सकेको अवस्था छैन । 
३. आधुनिक टेक्नोलोजीमा भारत परनिर्भर रहँदै आएको छ । 
४. भारतको विकास निर्माणमा वहुराष्ट्रिय कम्पनीहरू लगानी मात्र होइन, उनीहरूकै दादागिरी चल्दै आइरहेको छ । 
५. लाखौँ कृषकहरूले उनीहरूको उत्पादन बिक्री नभएर उत्पादित वस्तुले उचित स्थान पाउन सकेको अवस्था छैन। 
६. सैन्य क्षेत्रमा भारत कमजोर छ । भारतसँग सीमा जोडिएका वाहेक अन्य मुलुकमा भारतले सैन्य प्रकारको हस्तक्षेप गर्न सकेको अवस्था छैन । जस्तै– अमेरिका, बेलायत, फ्रान्स लगायतका मुलुकहरूले गर्दै आएका छन् । कूटनैतिक हिसाबले पनि भारत कमजोर नै छ । संयुक्त राष्ट्र सङ्घमा समेत भारतको कुनै प्रभावकारी भूमिका देखिएको छैन, जसरी अमेरिका, बेलायत, फ्रान्स, रूस र चीनको देखिन्छ । 
७. सांस्कृतिक हिसाबले भारत जनसङ्ख्यामा ठुलो भएको कारण नै भारतको सांस्कृतिक प्रभाव धेरैमा भए पनि विश्वभरिको अवस्थालाई हेर्दा जसरी पश्चिमाहरूको प्रभाव छ, त्यसको सामान्य अवस्थाको प्रभाव पनि भारतीय संस्कृतिको छैन । जसरी पश्चिमा संस्कृति भूमण्डलीकृत भएको छ, त्यसरी भारतको प्रभाव छैन ।
८. कुनै पनि भारतीय कम्पनीले अन्य मुलुकहरूमा लगानी गर्दैमा त्यो साम्राज्यवादी भइहाल्दैन । त्यसरी साम्राज्यवादी हुने भए नेपाल पनि साम्राज्यवादी मुलुक हुन्थ्यो । नेपालका केही कम्पनीहरूको विदेशमा लगानी छ । 
९. राजनीतिक हिसाबले भारतीय राजनीतिको प्रभाव विश्व राजनितिमा पर्दैन । उदाहरणका लागि यो बताऊँ कि अमेरिकामा डोनाल्ड ट्रम्पले, रूसमा भ्लादिमिर पुटिनले, बेलायतमा मेले चुनाव जित्दा विश्व राजनितिमा जुन प्रकारको प्रभाव पर्‍यो, नरेन्द्र मोदिले चुनाव जित्दा वा भारतको निर्वाचनले विश्व राजनितिको ध्यान आकर्षक गर्न सक्दैन र सकेको पनि छैन । साम्राज्यवादी मुलुकको नेतृत्व परिवर्तन हुँदा कतिसम्म विश्व राजनितिमा प्रभाव पर्दछ भन्ने तथ्य त्यसले देखाउँछ । भारतको राजनितिक प्रभाव विश्व राजनितिमा न्यून छ । भारतको राजनीतिले उसको छिमेकी राष्ट्रहरूमा समेत ठोस र प्रभावकारी प्रभाव परेको देखिन्न । त्यसका साथै भारत पुँजीवादी साम्राज्यवादी मुलुकहरूको एउटा कारिन्दा हो । साम्राज्यवादको वफादार हो । उसको आफ्नो कुनै राजनीतिक फरकपना छैन । भारत विश्व पुँजीवादी साम्राज्यवादको नीति अनुशरण गर्ने मुलुक हो । 
१०. आर्थिक हिसाबले भारतको अर्थतन्त्र साम्राज्यवादी मुलुकहरूको सरहमा पुगेको छैन, साम्राज्यवादी मुलुकहरूको निगाहमा भारतीय अर्थतन्त्र टिकेको छ । विश्व बैङ्क लगायतका वित्तीय संस्थाहरूबाट ऋण सापट लिएर भारतले आफ्नो विकास निर्माणको काम गर्ने गरेको छ । विश्वलाई नै प्रभाव जमाउने गरेर भारतीय बैङकहरूले लगानी गरेको देखिन्न । केही बैङ्कहरूले ज्वाइन्ट भेन्चरको आधारमा अन्य मुलुकहरूमा बैङ्किङ शाखाहरू स्थापना गरे पनि ती बैङ्कमा भारतको मात्रा एकाधिका छैन । आर्थिक रूपमा भारतीय एकाधिकार विश्व बजारमा छैन ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप लेखहरू
समाजवाद उन्मुख समृद्ध नेपालको नारा
समावेशीकरणप्रतिको भ्रम र वास्तविकता
भारत साम्राज्यवादमा परिणत भएको छ
भारत साम्राज्यवादमा परिणत भएको छैन
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal