२०७५ माघ २ गते, बुधबार   वर्ष ३६, अङ्क १०
मिति(२०७५ माघ ५, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य अन्तर्वार्ता
पुराना अंक
लेखहरू
भारत साम्राज्यवादमा परिणत भएको छ
मनोज भट्ट
गत अङ्कमा हामीले भारतमा भएको औद्योगिक विकास, उद्योगहरूमा उत्पादन र पुँजीको केन्द्रीकरण र त्यसले लिएको एकाधिकारपूर्णै अवस्थाको बारेमा चर्चा गरेका थियौँ । भारतको राष्ट्रिय सीमाभित्र कसरी एकाधिकारको विकास हुँदै त्यसले अनतर्राष्ट्रिय रूप लिंदैछ ? त्यसबारेमा हामीले विचार गर्नेछौँ । 
भारतले सामन्यतया उद्योगलाई तीन श्रेणीमा विभाजन गरेको छ ः प्रथम– श्रेणीभित्र कच्चा पदार्थ निकाल्ने खानी तथा खेत वा कृषिसँग सम्बन्धित उद्योगहरू, द्वितीय– शुद्धीकरण, निर्माण र उत्पादनसँग सम्बन्धित उद्योगहरू, तृतीय– सेवा र वस्तुको वितरणसँग सम्बन्धित उद्योगहरू । यो बताई रहनु पर्ने आवश्यकता छैन कि उपर्युक्त प्रथम श्रेणीका उद्योगहरूले उद्योग र उत्पादनका लागि कच्चा पदार्थ उपलब्ध गराउने काम गर्दछन् । जसको हातमा यी उद्योगहरूको स्वामित्व हुन्छ, ती उद्योगहहरूले राष्ट्रिय वा अन्तर्राष्ट्रिय रूपमा सम्पूर्ण बजारलाई नियन्त्रण, सञ्चालन तथा मूल्यको हेरफेर, आपूर्तिसँग सम्बन्धित सम्पूर्ण कुराहरूको अधिकार केन्द्रित हुन पुग्दछ, जसलाई एकाधिकार पूर्ण अवस्था भनिन्छ । उद्योग जतिसुकै विशाल भए पनि ती उद्योगहरूमा उत्पादनका लागि चाहिने कच्चा पर्दाथमाथि यदि अरूको नियन्त्रण वा स्वामित्व छ भने त्यस्तो स्वामित्व राख्ने कम्पनी वा उद्योगले चाहेको बखत जतिसुकै ठुला उद्योगलाई पनि कच्चा पदार्थ उपलब्ध नगराएर वा रोकेर वा कम दिएर धराशायी पारिदिन सक्दछन् । 
सन १९७६पछि भारतीय कच्चा पदार्थसँग सम्बन्धित कम्पनीहरू, जस्तै– तेल, ग्यास, पेट्रो, कोइला, स्टिल र एल्मुनियम क्षेत्रमा कयौँ उद्योगहरू स्थापना भएता पनि ती कम्पनीहरू आर्थिक र प्राविधिक रूपले अन्य साम्राज्यबादी मुलुकमाथि आश्रीत थिए । तर २००४ मा भारतको अर्थतन्त्रलाई नियन्त्रण गर्ने सवालमा अन्तर्राष्ट्रिय एकाधिकारीभन्दा भारतीय एकाधिकारीले आफ्नो नियन्त्रण र प्रभावमा निर्णायक रूपमा वृद्धि गरेका छन् । भारतले खोलेका कच्चा पदार्थ निकाल्नेसँग सम्बन्धित खानी, पेट्रोलियम पदार्थ ग्याँस, कोइला लगायतका खानीहरू सरकारी स्वामित्वमा खोल्ने काम गरेका थिए र छन् । त्यस प्रकारका सरकारी स्वामित्व भएका खानीहरूले एकाधिकारको रूप ग्रहण गरेका छन् । जस्तै– आयल एन्ड ग्यास कार्पोरेसन भन्ने उद्योग सरकारी स्वामित्वमा छ । यो एसियाको सबैभन्दा ठुलो तेल र ग्याँस अन्वेषण तथा उत्पादक कम्पनी हो । भारतलाई आवश्यक पर्ने ७७ प्रतिशत तेल यही कम्पनीले उत्पादन गर्छ । 
त्यसैगरी भारत पेट्रोलियम तथा हिन्दुस्तान पेट्रोलियम पनि त्यही श्रेणीभित्र पर्दछन् । इन्डियन आयल कर्पोरेसनको वार्षिक कारोवार ३.१३ खरब अमेरिकी डलर तथा आम्दानी ७८००.७२ करोड भारतीय रूपैया र त्यसको जम्मा सम्पत्ति १,१७,४०५.८५ करोड भा.रु. रहेको छ । यो बताई रहनु पर्ने आवश्यकता छैन कि नेपाल, भुटान र श्रीलङ्कामा आपूर्ति हुने सम्पूर्ण तेलको ९० प्रतिशत इन्डियन आयल कर्पोरेसनबाट आपूर्ति हुने गर्दछ । त्यसैगरी कोल इन्डिया पनि विश्वको सबैभन्दा विशालतम कोइला खानी हो । यसको वार्षिक आर्थिक कारोवार ५५,१४८.३१ करोड, नाफा १,८६७.३५ करोड भा.रु. रहेको छ । त्यसैगरी इसार आयल र स्टिल अथोरेटी अफ इन्डिया, गेल इन्डिया, सेटरलाइट इन्डस्टिज भारतका कच्चा पदार्थ निकाल्ने र त्योसँग सम्बन्धित खानीमा सरकारको ठुलो पैमानामा लगानी छ र ती खानीहरूको स्वामित्व भारतीय सरकारमा अन्तरनिहित रहेको छ । भारतले त्यस प्रकारका खानीहरूमा आफ्नो स्वामित्व कायम राख्नुका साथै निजी क्षेत्रलाई पनि त्यसमा समावेश गरेको छ । जस्तै– रिलायन्स इन्डस्ट्रिजले तेल तथा ग्याँस अन्वेषण तथा उत्पादनमा लगानी गरेको छ । रिलायन्स गु्रप अन्तर्गतको रिलायन्स इन्डस्ट्रिज पेट्रोलियम अन्वेषण तथा उत्पादनको क्षेत्रमा कार्यरत कम्पनी हो । यसले विशाल पैमानामा पुँजी लगानी गरेको छ । यो कम्पनीमा २४,१२१ जना कर्मचारी र मजदुर कार्यरत छन् ।
केमिकल फाइबर उत्पादनमा रिलायन्स इन्डस्ट्रिजको एकाधिकार जस्तै रहेको छ । टर्की, मलेसिया, चाइना, ब्रिटेन र नेदरल्यान्डमा रिलायन्स ग्रूपले यो क्षेत्रका कम्पनीहरू सञ्चालन गरेको छ । त्यसैगरी मित्तल स्टिल विश्वकै दोश्रो ठुलो स्टील कम्पनी हो । टाटा स्टिल कम्पनीले वार्षिक २ करोड ४० लाख टन स्टिल उत्पादन गर्दछ भने ७० हजार कर्मचारीलाई त्यसले रोजगारी दिएको छ । त्यसैगरी भारतीय लगानीमै जर्मनीको लक्जम्बर्गमा खोलिएको आर्सेलर मित्तल स्टिल कम्पनी युरोपकै सबैभन्दा बढी स्स्टिल उत्पादन गर्ने विशाल कम्पनी हो । यसले ४ करोड १० लाख टन स्टिल उत्पादन गर्दछ भने ९९ हजार व्यक्तिहरूलाई रोजगारी दिएको छ । यो कम्पनीले कजाकिस्तान, युक्रेन, बोस्निया, क्यानडा, यू.एस., म्याक्सिको र ब्राजिलका ३० हजार खानीभन्दा बढीका लागि काम गरिरहेको छ । 
भारतको खानी समूह अदानी समूहले अस्टे«लियाको कोइला खानी निर्माणमा खरबौँ रूपैयाँ लगानी गरेको छ । यसको वार्षिक उत्पादन ६ करोड टन रहेको छ, जुन विश्वकै ठुलो कोइला खानी हुन सक्ने अनुमान गरिएको छ । भारतको अदानी ग्रूपले भारत सहित विश्वका विभिन्न खानीहरूमा लगानी गरेको छ । खानीहरूवाट कच्चा पदार्थ निकाल्ने उद्योगहरूमा यो समूह पनि एउटा महत्वपूर्ण लगानीकर्ताको रूपमा रहेको छ । यसरी भारतले स्वदेशभित्र र बाहिर उद्योग सञ्चालनका लागि आवश्यक पर्ने कच्चा पदार्थसँग सम्बन्धित खानी लगायतमाथि आफ्नो नियन्त्रण कायम गर्दै लगिरहेको छ । भारतका करिब १०० वटा कम्पनीहरू, जुन अमेरिकाका विभिन्न ५० वटा राज्यमा खोलिएका छन् । यी कम्पनीहरूले १ लाख १३४३२ जनालाई रोजगारी दिएको छ । भारत जुट तथा फेब्रिक्स उत्पादनमा विश्वकै पहिलो ठुलो मुलुक मानिन्छ । २०१६ मा विश्वमा रहेका २ हजार विशालतम प्रतिष्ठानहरूमध्ये ५८ वटा प्रतिष्ठान भारतका रहेका थिए भने यस प्रकारका निगमहरूको सङ्ख्या जर्मनीमा ५१भन्दा केही बढी छ । यो तथ्याङ्कले पनि विश्वमा खोलिएका विशाल प्रतिष्ठानहरूमा भारतीय प्रतिष्ठानहरूको सङ्ख्या जर्मनीकोभन्दा बेसी देखिनुका साथै ती उन्नत प्रकारका पनि रहेका छन । 
विगत ५ वर्षदेखि भारतलाई विश्व शक्ति (ग्लोबल पावर) को रूपमा विकास गर्नका लागि भारतीय सरकारले ५ वटा विशाल परियोजनाहरू सञ्चालन गरेको छ । ती ५ वटा विशाल कार्यक्रमको निर्माणमा भारतका १६ वटा विश्व विद्यालयको पनि संलग्नता रहेको छ । त्यसमा डिजिटल इन्डिया, मेक इन इन्डिया, स्किल इन्डिया, स्ट्यान्ड अफ इन्डिया र प्रधानमन्त्री जनधन योजना जस्ता विशाल परियोजनाहरू सञ्चालित छन् । यी सबै योजनाहरूको उद्देश्य भारतलाई २०२०सम्म ग्लोबल पावरको रूपमा विकास गर्ने योजनाका साथ अगाडि बढाइएका छन् । समग्रमा यी ५ वटै योजनाको उद्देश्य त्यस्तो भए पनि भारतीय समाजका वेग्ला बेग्लै क्षेत्रको विकास गरेर भारतलाई ग्लोबल पावरको रूपमा विकास गर्नु यसको मुख्य लक्ष्य हो । यी ५ वटा परियोजनाहरूमध्यको मेक इन इन्डियाको मुख्य विशेषता भनेको भारतीय एकाधिकारीहरूलाई संरचनागत र लगानीका हिसाबले विदेशमा वृद्धि र विस्तार गर्नु र विदेशस्थित भारतीय लगानीकर्तालाई सुरक्षित गर्नु र भारतमा व्यापार गर्ने अन्तर्राष्ट्रिय एकाधिकारीहरूबाट बढीभन्दा बढी कर असुल गर्नु रहेको छ अर्थात् भारतीय एकाधिकारीको वृद्धि विकास र संरक्षणका लागि भारतले सरकारी स्तरवाट उठाएको कदम प्रष्ट छ ।
एकाधिकारको विकासलाई लेनिनले आफ्नो कृति “साम्राज्यवाद ः पुँजीवादको चरम अवस्था” मा प्रष्ट भनेका छन् कि एकाधिकारको विकास भनेकै साम्राज्यवाद हो । त्यति मात्र नभएर लेनिनले अझ केसम्म भनेका छन भने यदि साम्राज्यवादको सङ्क्षिप्त परिभाषा दिनु पर्ने आवश्यकता पर्‍यो भने हामी भन्नेछौँ कि पँुजीवादको एकाधिकारपूर्ण अवस्थाको नाम साम्राज्यवाद हो । यसरी भारतीय एकाधिकारीहरूले भारतमा मात्र नभएर भारत बाहिर समेत आफ्नो प्रभावका वृद्धि र विस्तार गरेका छन् । त्यसलाई बल पुग्ने गरी भारतीय सरकारको मुख्य नीति पनि रहने गरेको छ । २००९देखि भारतको अर्थतन्त्र प्रतिवर्ष ७ प्रतिशतका दरले वृद्धि भइरहेको छ । भारतलाई सकेसम्म सुपर पावर वा नभए पनि ग्लोबल पावरको रूपमा विकास गर्न भारतीय सरकार सम्पूर्ण शक्तिका साथ लागेको छ । 
हामीलेमाथि कच्चा पदार्थ निष्कासनमा भारतीय एकाधिकारीहरूले चाहे त्यो त्यहाँको सरकार होस् वा निजी व्यवसायी हुन्, तिनीहरूले कसरी विकास गरिरहेका छन् । त्यसको हामीले चर्चा गर्‍यौँ । त्यसका साथै कच्चा पदार्थमाथि नियन्त्रण र स्वामित्व भएका उद्योगहरूले पनि कसरी एकाधिकारको रूप लिदैछन् ? त्यसको पनि हामीले सङ्क्षिप्तमा चर्चा गर्नेछौँ । भारतीय एअरटेल कम्पनी विश्वको पाचौँ ठुलो दुरसञ्चार सञ्चालक कम्पनी हो । यसका १९ वटा मुलुकमा २३ करोड ८ लाख प्रयोगकर्ता रहेका छन् । यसको वार्षिक कारोवार ५९,६०१.८० करोड र आम्दानी ६,०४६.७० करोड भा.रु. रहेको छ । यो अफ्रिकाका १५ वटा मुलुकमा यसको सेवा सञ्चालन तथा विस्तार गरेको छ । हिन्डाल्को इन्ड्रस्टिज विश्वको सबैभन्दा ठुलो एलमुनियम निर्माण कम्पनी हो । यसले विश्वका बजारहरूमा प्रभावकारी उपस्थिति जनाएको छ । यसको वार्षिक आर्थिक कारोवार ७२,५०८.७२ करोड र आम्दानी २४५६. ५७ करोड भा.रु. रहेको छ । 
साम्राज्यबादको मुख्य विशेषता अन्तर्गत बैङ्कहरूको स्थापना, विकास, त्यहाँ जम्मा हुने पुँजीको केन्द्रीयकरण, त्यहाँ जम्मा हुने औद्योगिक पुँजी र बैङ्क पुँजी मिलेर आपसमा बन्ने वित्तीय पुँजीको भूमिकामाथि पनि विशेष रूपले ध्यान दिनु पर्दछ । त्यसैले लेनिनले आफ्नो महत्वपूर्ण कृति “साम्राज्यवाद ः पुँजीवादको चरम अवस्था” मा यो कुरामा जोड दिएका छन् कि ‘बारम्बार यही भन्नु पर्ने हुन्छ कि बैङ्क व्यवसायको विकासको अन्तिम रूप एकाधिकार हो ।’ पुँजीवादी एकाधिकार भनेकै साम्राज्यवाद हो भन्ने कुरा पनि लेनिनकै शिक्षा हो । अब हामीले भारतमा बैङ्क व्यवसायको विकास कसरी भइरहेको छ ? त्यसमाथि विचार गर्नेछौँ । लेनिनले बैङ्क व्यवसायको विकासको अन्तिम रूप एकाधिकार हो भनेता पनि भारतमा बैङ्कको विकास मात्र होइन, बैङ्कले एउटा विशाल उद्योगको रूप ग्रहण गरेको छ र त्यसको आकार दिन–प्रतिदिन वृद्धि हुँदै गइरहेको छ । भारतमा सार्वजनिक क्षेत्रमा विशाल २७ वटा बैङ्क, निजी क्षेत्रमा २१ वटा बैङ्क, ५६ वटा बैङ्क प्रादेशिक स्तरका क्षेत्रीय ग्रामीण बैङ्क, १,५६२ वटा शहरी कोअपरेटिभ्स बैङ्क तथा ९४,३८४ वटा ग्रामीण कोअपरेटिभ्स बैङ्क रहेका छन् । त्यसैगरी प्रधानमन्त्री जनधन योजना अन्तर्गत पनि ३३ करोड ३८ लाख बैङ्क खाता खोलिएका छन् । ४९ वटा विदेशी बैङ्क कार्यरत छन् । सार्वजनिक, निजी क्षेत्रमा खोलिएका बैङ्कहरूका भारतमा हजारौँ शाखाहरू कार्यरत छन् । जस्तै– इलाहबाद बैङ्कका भारतमा ३,२४० वटा शाखा छन् । त्यसैगरी, बैङ्क अफ इन्डियाका पाँच हजार घरेलु शाखा छन् । त्यसैगरी स्टेट बैङ्क अफ इन्डियाका करिब ७,५००भन्दा बढी देशभित्र विभिन्न शाखाहरू खोलिएका छन् । 
भारतका विभिन्न निजी क्षेत्रमा खोलिएका निजी तथा सार्वजनिक क्षेत्रमा खोलिएका बैङ्कहरूका विदेशी शाखा समेत रहेका छन् । एस.बी.आई. बैङ्कको विश्वका ३७ वटा मुलुकमा १९८ वटा सहायक कार्यालय छन् भने ७२ वटा मुलुकमा ३०१ वटा प्रतिनिधि कार्यालय तथा नेपालमा ज्वाइन्ट भेन्चरमा एस.बी.आई. बैङ्क खोलिएको छ । बैङ्क अफ इन्डियाका विदेशमा २९ वटा, बैङ्क अफ बरोदाका ५० वटा, पञ्जाब नेसनल बैङ्कका ३ वटा र नेपालमा ज्वाइन्ट भेन्चरमा एभरेस्ट बैङ्क, एच.डी.एफ.सी. बैङ्कको ३२ वटा मुलुकमा १८५ वटा शाखा रहेका छन् । ग्लोबल ५०० पत्रिकाका अनुसार संसारको ४० प्रतिशत कम्पनी, जुन एसियामा छन् । त्यसमध्येका ७ वटा विशाल इन्डियन कम्पनी रहेका छन्, जसमा एस.बी.आई. बैङ्क पनि एउटा पर्दछ । यसको वार्षिक आर्थिक कारेवार १,४७,८४३.९२ करोड आम्दानी १०,६८४.९५ करोड र यो बैङ्कको जम्मा सम्पत्ति १४ लाख ८४,४८१. ६६ करोड भा.रु. रहेको छ । त्यसैगरी पञ्जाब नेसनल बैङ्कको वार्षिक आर्थिक कारोवार ३१,२०६.६० करोड र आम्दानी ४,५७४.७३ करोड र कुल सम्पत्ति ३ लाख ७३,७८६.३८ करोड रहेको छ । भारतका विभिन्न बैङ्कले नेपाल सहित विश्वका ८ वटा मुलुकका संयुक्त लगानीमा विभिन्न नामबाट बैङ्कहरू खोलेका छन् । आई.सी.आई.सी.आई. बैङ्क समेत भारतको विशाल पैमानामा पुँजी भएको मुलुक हो । यसरी भारतमा बैङ्कले एउटा भव्य तथा विशाल उद्योगको रूपमा आफूलाई विकास गरिरहेको छ । एकातर्फ, भारतमा छरिएर रहेको पुँजीलाई यसले एक ठाउँमा केन्द्रित गरेको छ । अर्कोतर्फ, विश्वका विभिन्न मुलुकमा बैङ्का शाखाहरू विस्तार गरी र संयुक्त लगानीमा बैङ्कहरू खोलेर त्यहाँका कच्चा पदार्थमाथि आफ्नो नियन्त्रण कायम गर्न सफल भएको छ । भारतका बैङ्कहरू लेनिनले भने जस्तै सानातिना मध्यस्थताहरूको भूमिका निभाउन छोडेर शक्तिशाली एकाधिकारीहरूको रूपधारण गर्दै गएका छन् । उनीहरूको हातमा देशको समस्त पुँजीपति तथा सानासाना मालिकहरूको लगभग समस्त पुँजी र सम्बन्धित देशको तथा अन्य कैयौँ राष्ट्रहरूका उत्पादनका साधन एवं कच्चा पदार्थका श्रोतहरूको अधिकांश हिस्सा केन्द्रित भएको छ । वहुसङ्ख्यक स–साना मध्यस्थहरू मुट्ठीभरका एकाधिकारीहरूमा परिणत हुने प्रक्रियाले तीव्रता पाएको छ । पुँजीवादी विकासको यही प्रक्रियालाई लेनिनले पुँजीवादी साम्रज्यवादमा पुग्ने एक आधारभूत प्रक्रियाको द्योतक बताएका छन् । एकातर्फ, बैङ्क व्यवसायले एउटा विशाल उद्योगको रूप लिएको छ । त्यसका साथै बैङ्क पुँजी र औद्योगिक पुँजी आपसमा मिलेर वित्तीय पुँजीको निर्माण, वृद्धि र वित्तीय अल्पतन्त्रको उदय भइरहेको छ । भारतका ठुला ठुला बैङ्कहरूको हातहरूमा अपार वित्तीय पुँजी केन्द्रित हुन पुगेको छ । साना बैङ्कहरूको पुँजी घटदै गएको छ । साना बैङ्कहरू ठुला बैङ्कहरूमा विलय भएका छन् वा ठुला बैङ्कका शाखाहरूमा परिणत भएका छन् । भारतीय कमर्सियल बैङ्कहरूको जम्मा डिपोजिट रकम ११५ खर्ब ७० अर्ब २ करोड ७० लाख रहेको छ । यो जम्मा रकमले पनि उनीहरूको हातमा केन्द्रित पुँजीलाइ बताउँछ । भारतका केही प्रमुख बैङ्कहरू बैङ्क अफ इन्डिया, एस.बी.आई., पंजाब नेसनल बैङ्क, आई.सी.आई.सी.सी. बैङ्क जस्ता केहीहरूका हातमा वित्तीय पुँजीको ठुला हिस्सा केन्द्रित हुन पुगेको छ ।
बैङ्क र उद्योगहरूको एक–आपसमा घनिष्ट सम्बन्ध स्थापित हुनुका साथै एउटा अर्को प्रक्रिया पनि अगाडि बढेको छ । त्यो भनेको यी दुई वटाको घनिष्ट सम्बन्ध सरकार र राज्यसँग पनि बढ्दै जान्छ । ठुलाठुला सरकारी कर्मचारी र मन्त्रीसम्मलाई खरिद गर्ने काम हुन्छ । तिनीहरूलाइ बैङ्क र उद्योगका महत्वपूर्ण पदहरूमा आसिन गरेर राज्यलाई अधिकतम दोहन गर्ने काम हुन्छ । युुसरी मुट्ठीभरका मालिकहरूको हातमा देशको अर्थराजनीतिसँगै राजनीतिक शक्ति पनि केन्द्रित हुन पुग्छ । भारतका ठुला ठुला एकाधिकारीहरूले एकातर्फ बैङ्कको ठुलो सङ्ख्यामा सेयर खरिद गरेका छन् । बैङ्कहरूले पनि त्यस्ता कम्पनीहरूका ठुला सङ्ख्यामा सेयर खरिद गरेका छन् । त्यति मात्र नभएर कतिपयले आ–आफना निजी बैङ्क समेत खोलेका छन् । जस्तै– टाटा ग्रूपले टाटा क्यापिटल लिमिटेड र क्यापिटल हाउजिङ फाइन्नस लिमिटेड नामक बैङ्क र वित्तीय संस्था खोलेका छन । त्यस्का करिब १००भन्दा बढी शाखाहरू कार्यरत छन् भने टाटा समूहले वित्तीय कारोवार गर्न टाटा इन्स्योरेन्स कम्पनी समेत खोलेर पुँजीको कारोवार गरिरहेका छन् । मफतलाल गु्रपले पनि मिसापुर इन्भेस्टमेन्ट बैङ्क खोलेको छ । बिडला गु्रपभित्रको आदित्य बिडला गु्रपले पनि आपनो छुटै बैङ्क खोलेको छ । 
यसरी बैङ्कहरूको क्षेत्रबाट पनि भारतमा एकाधिकारको उदय र विकास भइरहेको छ । बैङ्कहरू वित्तीय पुँजीका एकाधिकारी बनेका छन । बैङ्कहरूको विकास हुनु भनेको एकाधिकारको निर्माण हुनु नै हो ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप लेखहरू
समाजवाद उन्मुख समृद्ध नेपालको नारा
समावेशीकरणप्रतिको भ्रम र वास्तविकता
भारत साम्राज्यवादमा परिणत भएको छैन
भारत साम्राज्यवादी देश भइसकेको छैन
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal