२०७५ माघ २ गते, बुधबार   वर्ष ३६, अङ्क १०
मिति(२०७५ माघ ५, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य अन्तर्वार्ता
पुराना अंक
मूल लेख
दुर्घटना, जीवन र विचार
शशिधर भण्डारी
लियो टालस्टायले “कसैको मृत्युमा टक्क उभिएर एकछिन साँेच र अगाडि बढ” भनेका छन् । यो मृत्युसम्बन्धी टालस्टायको यो जीवनवादी दृष्टिकोण हो । विश्वका कैयन् दार्शनिकहरूले जस्तोसुकै मृत्युलाई मुस्कानले स्वागत गर्नु पर्ने तर्क पनि अगाडि सारेका छन् । ओशो रजनिसले “जन्म र मृत्यु दुई बेग्लै घटनाहरू होइनन्, एउटै घटनाका दुई टुप्पा हुन् । ....हामी बेहोशमा जन्मन्छौँ, बेहोशीमै मर्दछौँ” भनेका छन् । “म मृत्यु सिकाउँछु” भन्ने उनको पुस्तकमा ओशोले आफ्नो वैचारिक धारबाट यसबारे विस्तृत चर्चा गरेका छन् । उनले मृत्युलाई बुझ्नका निमित्त जीवनसित परिचित हुनु पर्ने बताएका छन् । मानव समाजमा डरलाग्दा हृदयविदारक घटनाहरू घट्छन् । ती घटनाहरू धेरै त मानव निर्मित हुन्छन् । युद्ध, भोकमरी, फोहोर जीवन संस्कृतिले उत्पन्न गराउने रोग व्याधी आदि । अर्काे, प्रकृतिजन्य हुन्छन् । जस्तो– भूकम्प, सुनामी, बाढी, पहिरो आदि । तेस्रोमा भवितव्यका घटनाहरू घट्छन् । बस, हवाइजहाज, डुङ्गा दुर्घटना आदि । यी घटनाहरूबाट मानिसका स्वाभाविक उमेरजन्य मृत्युमाभन्दा धेरै मानव समाजमा कारुणिक पीडाहरू जन्मन्छन् । मानव जाति मात्र होइन, संसारका सबै प्राणीहरूका असामयिक मृत्युको विषय अवश्य पीडादायी र हृदयविदारक हुन्छन् । मानव मात्र होइन, ब्रह्माण्डका सम्पूर्ण प्राणी जगतको जन्मपछि मृत्यु अनिवार्य छ । यो एउटा शाश्वत विषय हो । त्यसमा पनि दुर्घटनाबाट हुने असामयिक मृत्युले निश्चय नै हामीलाई निकै भावविह्वल बनाउँछ तर पनि मानव चेतनशील प्राणी हो । ऊसँग जीवन, जगत, जन्म, मृत्यु र संस्कार तथा संस्कृति समेत जीवन दर्शनसित जोडिएर आउँछन् । त्यसैले शोकाकूल परिवारले शोकमा मुर्दाको जीवन खोज्ने होइन, बलियो हृदय बनाएर जागृत जीवन खोज्नु पर्छ । मुर्दाको जीवन नै पच्छाइरहने हो भने त्यो जीवनले पुनः अर्काे मृत्यु पक्ष खोज्दछ । यसलाई दार्शनिकहरूले डरलाग्दो वैरागका रूपमा पनि परिभाषा गरेका छन् । ‘अति सर्वत्र वर्जयते’ भने जस्तै वैराग जीवनमुखी बन्न सक्दैन, जुन सिर्जनाविहीन हुन्छ । यसले जीव पक्षलाई सानोबाट ठुलोतिर, अँध्यारोबाट उज्यालोतिर, पराजयबाट विजयतिर, तलबाट माथितिर, नकारात्मकबाट सकारात्मकतिर अगाडि बढाउने काममा बाधा उत्पन्न गराउँछ । निश्चय नै जीवन पक्ष रोज्दै आएको मानवीय चेत यसमा अल्मलिनु हुँदैन । यो एउटा जीवन दर्शनको महत्वपूर्ण पक्ष हो । 
भवितव्यबाट हुने घटनाहरूले नेपाल आक्रान्त छ । सडक दुर्घटना नेपालको डरलाग्दो समस्या बनेको छ । आङ सिरिङ्ग हुने र सिङ्गो मुलुकलाई महिनौँ बेचैन बनाउने घटनाहरू यो देशमा घटिरहन्छन् । तर आलो घटना हुनाले घोराही–१७ दाङस्थित सहिद कृष्ण सेन इच्छुक वहुप्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थी, अध्यापनरत शिक्षक र गाडी स्टाफहरूको तुलसीपुर उपमहानगरपालिका–६ राम्रीमा भएको सडक दुर्घटना र त्यसमा २३ जनाको ज्यान गएको घटनाले मानवीय संवेदना भएको जोसुकैलाई आज पनि स्तब्ध बनाइरहेको छ । सो दुर्घटनामा ज्यान गुमाउने शिक्षक, विद्यार्थी, चालक, सहचालक सबैमा आ–आफ्ना जिन्दगीका सपनाहरू थिए । तिनीहरूको परिवार तिनीहरूले देख्ने भविष्यका सपनाहरूप्रति निश्चय नै आशावादी थियो । तर समयले निर्मम थप्पड हान्यो । ती २३ जना मृतकका आफू र आफ्ना परिवारलाई मात्र होइन, देशलाई नै काम लाग्ने सपनाहरू थिए । ती आज चकनाचुर भएका छन् ।
हाम्रो पूर्वीय दर्शनले लेखान्तमा विश्वास गर्दछ । “मान्छे जन्मदा नै उसले गर्ने कर्म र उसको उत्थान, पतन र मृत्यु भावीले लेखेर पठाएको हुन्छ । त्यसमा पश्चाताप गर्न जरुरी छैन” भन्दछ । भागवत गीताले मूल रूपमा “परमात्मामाथि विश्वास–भरोसा गर्ने, कर्म गर्ने फलको आशा नगर्ने” विचार प्रवाह गर्दछ । भागवत गीताले “जे भइरहेको थियो, ठिक भइरहेको थियो, जे भइरहेको छ, ठिक भइरहेको छ, जे हुँदैछ, त्यो पनि ठिक हुदैछ” भन्ने विचारलाई पनि जीवन, कर्म र मृत्युको केन्द्रीय तत्व मानेर विवेचना गर्दछ । हिन्दू ग्रन्थहरूमा पनि वियोगका शिव र सतिदेवीदृखि पुत्रवियोगले उत्पन्न गराउने भावविह्वलताका प्रसङ्गहरूमा महाभारतमा अभिमन्युको प्रसङ्ग आउँछ । कुरुक्षेत्रको लडाइँमा १७ वर्षका अर्जुन पुत्र अभिमन्युको चक्रव्यूहमा परेर मृत्यु हुन्छ । आफ्नो पराक्रमी पुत्र गुमाउनु परेकोमा अर्जुन भावविह्वल बनेर आफ्नो गाण्डिव धनु फ्याक्न पुग्दछन् र एउटा पाजी राज्यका निमित्त नलड्ने निष्कर्षमा पुग्दछन् । कृष्णले मृतक अभिमन्यूको हंशसित भेट गराउँछन् । अभिमन्यू जस्तै एउटा बालक उभिएको देखेर अर्जुनले ए प्रिय छोरा अभिमन्यु भनेर अँगालो मार्न खोज्छन् । अभिमन्यु अँगालोमा आउँदैनन् । एउटा आवाज आउँछ– “ए वीर अर्जुन, अब म तिम्रो छोरा होइन, जुन बेला थिएँ–थिएँ । अब मैले तिमीलाई गर्ने सम्बोधन वीर अर्जून हो ।” यी शब्दहरू सुनेपछि अर्जुन मृत्यु पक्षलाई माया गर्ने सांसारिक दृष्टि बेकार रहेछ भन्ने निष्कर्षमा पुग्छन् । त्यसपछि उनी जीवन पक्ष रोजेर गाण्डिव धनु उठाएर कुरुक्षेत्रको सङ्ग्राममा होमिन्छन् । 
यो एउटा हिन्दू ग्रन्थ महाभारतमा उल्लेख कथाको सानो अंश मात्र हो । महाभारतमा जीवन र मृत्युका विषयमा अनगिन्ती प्रसङ्गहरू सिनेमाको रिल जस्तै अगाडि आउने र जाने गर्दछन् । द्रोण गुरुको आफ्नो छोरा अस्वत्थामाप्रतिको माया, धृतराष्ट्रको आफ्ना सय भाइ छोराहरूप्रतिको माया, उनले १८ दिनको कुरुक्षेत्रको लडाइँँमा आफ्ना सबै छोराहरूको मृत्यु भएपछिको वेदनामा आफ्नो जेठो छोरो दुर्याेधन मार्ने भीम भनेर एउटा फलामको स्तम्भ चूर्ण पारेको घटना, राजा द्रूपतको छोरा धृष्टधुम्नप्रतिको प्रेम आदि धेरै प्रसङ्गहरू छन् । महाभारत महाकाव्यलाई गहिरिएर पढ्ने हो भने त्यसमा जीवन दर्शन, कर्म दर्शन, राजनीतिक दर्शन, इतिहास, दर्शन आदि सबैका बिम्बहरू भेटिन्छन् । कर्मपरायणताको मार्गमा समस्याहरू अगाडि आउँछन् । ती सबैको समाधानको काम कृष्णको भागवत गीताले गरेको देखिन्छ । त्यो युगको मानवीय चेतना र चारित्रिक विषेशतामा गीताले अवश्य प्रगतिशील महत्व राख्यो । आत्माको निरन्तरता र जीवन, जगतका क्रिया–प्रतिक्रियामा पदार्थ होइन, एक मात्र अलौकिक चैतन्यको भूमिकामा विश्वास दिलाउन खोज्ने अन्धविश्वासको जगमा उभिएको यो दर्शनले कर्मयोगमा जोड दिन्छ । यही नै गीताको सबभन्दा महत्वपूर्ण जीवनवादी धार हो । प्राकृतिक, मावन निर्मित वा भवितव्यका घटना तथा परिघटनाहरूले पैदा गराउने हृदयविदारक परिदृष्यका अगाडि आज गीताले मात्र समाधानको जबाफ दिन सक्दैन । यस्ता दुर्घटनाहरूलाई आधुनिक भौतिक विज्ञानले फरक ढङ्गले परिभाषा गर्दछ र यसले जगतलाई बोधगम्य मान्दछ । त्यस अनुरूप विकास, आविष्कार, गति र परिवर्तनका शृङ्खलाहरूमा हेर्दछ । त्यसकारण यस्ता घटनाहरूलाई मानव जातिको समेत प्रयत्नले सम्पूर्ण रूपमा निर्मूल पार्न नसके पनि न्यूनीकरण गर्न सक्दछ । यस्ता घटनाहरूबाट हुने मृत्युदर घटाउन र आयु बढाउन सक्दछ । यो प्रमाणिक तथ्य हो । विश्वका विकसित मुलुकहरूमा यस्ता भवितव्यका सडक दुर्घटनाहरू घट्दै गइरहेका छन् । ती देशहरूमा सडक, यातायात विभाग, ट्राफिक प्रहरी, यातायात मन्त्रालय सरकार सबैको व्यवस्थापन वैज्ञानिक प्रकारको छ । यो प्रश्नमा त्यति धेरै जनसङ्ख्या भएको भारत समेत नेपालभन्दा कैयौँ गुणा समृद्ध छ । 
नेपालमा सडकहरूको दुरावस्था एउटा संस्कृति र सस्ङ्कार जस्तै बनेको छ । फितलो प्राविधिक सर्वेक्षणका आधारमा बाटाहरू खनिन्छन् । विकास निर्माणमा वैज्ञानिक प्राविधिक पाटोभन्दा राजनीतिक पाटोलाई प्राथमिकतामा राखिन्छ । प्राविधिक रूपले एक साइडबाट जान पर्ने बाटो राजनीतिक हस्ताक्षेप र पहुँचका कारणले अर्काे साइडबाट खनिन्छ । यो पञ्चायत कालदेखिकै रोग हो । जस्तो– दाङ–प्युठान जोड्ने लोहारपानी देविस्थान हुँदै जाने बाटोको वैज्ञानिक सर्वेक्षण रातापानीबाट भएको थियो । तर राजनीतिक हस्तक्षेपका कारण पाच्छेभीर हुँदै तिरामबाट देविस्थान झारियो । जसको परिणाम पाच्छेभीरमा ठुला ठुला दर्दनाक दुर्घटनाहरू घटेका थिए । यो एउटा हाम्रो नजिकको उदाहरण मात्र हो । यस्ता समस्याहरू देशव्यापी छन् । वैधानिक रूपमा सात सय÷हजारमा पाइने गाडी चालक अनुमति पत्र यातायात विभागका कर्मचारीहरूले दश÷बीस हजार घुस लिएर आलाकाँचाहरूलाई उपलब्ध गराउँछन् । नेपालको ट्राफिक निकाय यति खराब छ कि चालक अनुमति पत्र नभएको चालकलाई पाँच सय÷हजार घुस लिएर गाडी चलाउन दिइन्छ । गाडी बिग्रे, पुराना भए र कन्डिसन राम्रो भएन भने यातायात व्यवसायीहरूले यस्ता गाडीहरू पहाडमा, त्यसमा पनि कच्ची बाटोमा चलाउँछन् । गाडीको हुटमा यात्रीहरू बसाल्छन्, प्रहरीचौकी आयो भने झार्छन्, अलि पर पुगेपछि फेरि चढाउँछन् । प्रहरीले संयोगले गस्ती गएको बेला फेला पार्‍यो भने यातायात व्यवसायीहरू घुस दिएर उम्कन्छन् । सिन्डिकेटका कारणले निश्चित सडकमा निश्चित यातायात माफियाहरूले अधिनायकत्व कायम गरेका हुन्छन् । राम्रा गाडी र राम्रा यातायात व्यवसायीहरूले प्रतिस्पर्धा गर्न पाउँदैनन् । यस्ता धेरै समस्याहरू छन् । एउटा लेखमा उल्लेख गर्न सकिदैन । राष्ट्रका अगाडि यस्ता समस्या आउँछन् तर यी समस्याहरूलाई नियमन गर्ने, अनुशासनको दायरामा ल्याउने, खराबलाई कारवाही गर्ने राम्रोलाई पुरस्कृत गर्ने दायित्व सरकारको हो र त्यसका मन्त्रालयहरूको हो । तर दुर्भाग्य घ् सरकार र सम्बन्धित मन्त्रालय नै कि त त्यस्तै माफियाको नेतृत्वमा छ, कि तिनीहरूले नचाउन सक्नेहरूको हातमा छ । यो यातायात मात्र होइन, देशको हरेक क्षेत्रको समस्या हो । 
त्यसैले देशमा विद्यमान खराब प्रणाली, खराब व्यवस्थापन, राज्य सञ्चालनका खराब संयन्त्र र प्रवृत्तिका कारण दुर्घटना न्यूनीकरण हुन सकेका छैनन् । त्यसकारण नहुन सक्ने दुर्घटना पनि भइरहेका छन् र मष्तिष्क बिझाउने दुर्घटनाको समाचार बाँचेकाहरूले सुन्नु परेको छ । आज हामीलाई जीवन, दर्शन र दार्शनिकहरूका महावाणीहरूको सहारा लिएर बाँच्नु परेको छ । स्वाभाविक मृत्युमा त ती दर्शनहरूले केही काम गर्छन् । यस्ता आफ्ना मानवीय लापरवाहीले हुने दुर्घटनाहरूले अवश्य हृदय रुवाउँछ तर पनि विकल्प के छ र ? यस्ता खराबीका विरुद्ध जुध्न पनि जीवनको मुत्यु वैराग र अँध्यारो पक्ष होइन, जीवन उत्साह र उज्यालो पक्ष नै चाहिन्छ । त्यही उत्साह र उज्यालोले भरिपूर्ण जीवन नै सार्थक जीवन हो । त्यहीँ सार्थक जीवन नै दुर्घटना बढाउने खराबीका विरुद्ध जुध्न सक्दछ । अनि, दुर्घटना न्यूनीकरणको दिशामा अगाडि बढाउन उत्प्रेरणा दिन्छ र भावी समाजलाई दुर्घटनाबाट बचाउन महत्वपूर्ण योग पुर्‍याउँछ । यही विचारमा नै मानव जातिको भावी जीवनको मूल्य सन्निहित छ । 
फेरि पनि राम्री दुर्घटनाका २३ जनाप्रति हार्दिक श्रदाञ्जली ¤

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal