२०७५ माघ २ गते, बुधबार   वर्ष ३६, अङ्क १०
मिति(२०७५ माघ ५, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य अन्तर्वार्ता
पुराना अंक
सम्पादकीय
बुद्धको देशमा बम्जन प्रकरण
“लिटिल बुद्ध”, “बुद्ध ब्वाय”, “मैत्रेयी बुद्ध” जस्तो कथित उपाधिले बोलाउने गरिएका राम बहादुर बम्जनको आश्रमबाट तीन जना आनी (चेला) हरू बेपत्ता भएको, कतिपयको हत्या र बलात्कार समेत भएको समाचार सञ्चार माध्यममा आएका छन् । बम्जनको बारा, सिन्धुली, सिन्धुपाल्चोक र सर्लाहीमा आश्रमहरू भएको थाहा लागेको छ । ती आश्रमहरूमा सयौँ बिगाह जमिन भएको बताइएको छ । उनीसित आधुनिक ल्यान्ड क्रुजर कार सहित सयभन्दा बढी मोटरसाइकल तथा केही हतियार समेत हुन सक्ने बताइन्छ । १३ वर्ष अघि बाराको रतनपुरीबाट एकाएक चर्चामा आएका बम्जनसित अहिले यति धन–सम्पत्ति छ, एउटा आश्रमदेखि अर्को आश्रममा जाँदा उनले हेलिकोप्टर प्रयोग गर्दछन् । उनका आश्रमहरूमा कैयौँ आनीहरू बलात्कृत भएको, पुरुष चेलाहरूमाथि निर्मम कुटपिट र हत्यासम्म भएको तथा कैयौँ बेपत्ता हुने गरेको खबर सार्वजनिक भएका छन् । कतिपय चेलाहरू बम्जनको अप्राकृतिक क्रियाकलापबाट आजित भएर भागेका छन् । त्यसमध्ये कतिपयले प्रतिकार गरेर भागेका छन् ।
बम्जन प्रकरणसित जोडिएका हत्या, बलात्कार र बेपत्ताको प्रकृति हेर्दा हाम्रो देशमा पनि धर्मको नाममा विकृतिहरू मौलाउन थालेको आभाष मिल्न थालेको देखिन्छ । छिमेकी देश भारतमा यस्ता कैयौँ कथित धर्मगुरुहरूको बेलाबेलामा भण्डाफोर हुने गरेको पाइन्छ । विश्वभरि धर्मसित सम्बन्धित त्यस्ता कैयौँ विकृतिहरू बारम्बार सतहमा आइरहेका हुन्छन् । अब त्यस्ता प्रकरणहरू नेपालमा पनि देखिन थालेका छन् । धार्मिक विश्वाससित जोडिएर आउने यस खालको विकृतिलाई समयमै रोक्न सकिएन भने त्यसले समाजमा अपराधको आवृत्तिलाई बढाउने निश्चित छ । त्यसकारण बम्जन प्रकरण जस्ता विषयमा प्रशासनले समयमै ध्यान दिनु पर्दछ । यस्ता मामिलाको समयमै छानबिन गरेर दोषीमाथि कानुन अनुसार सजाय दिनु पर्दछ ।
प्रकृतिसितको असहायपनको प्रतिक्रियास्वरूप धर्मको उत्पत्ति भएको थियो । प्राचीन समयमा जब मानिसहरूले प्रकृतिसित प्रत्यक्ष अन्तरक्रिया गर्दथे, यस्तो अन्तरक्रियाको क्रममा जब मानिसहरू आफूलाई असहाय पाउँथे, त्यतिबेला प्रकृतिको पूजा गरिन्थ्यो । कालान्तरमा प्रकृति पूजाले आधुनिक धर्मको रूप आफूलाई परिवर्तन गरेको थियो । सहज र प्राथमिक प्रकारको प्रकृति पूजाको स्थानमा जब देवताहरूको परिकल्पना गरेर शास्त्रहरूको रचना गर्न थालियो, तबदेखि आधुनिक धर्मको समय सुरु भयो । यतिखेर हामी आधुनिक धर्मको बोलवाला समाप्त भइनसकेको समयमा छौँ । अहिलेको युगमा विज्ञान तथा सूचना प्रविधिको उच्च विकासका साथै रुढिवाद, अन्धविश्वासहरू लगातार समाप्त हुँदै गइरहेका छन् । तर वर्गयुक्त समाजमा अभाव, गरिबी, मानसिक अशान्ति कायमै रहँदा त्यसबाट मुक्तिको असफल प्रयासको क्रममा धर्मको शरणमा पुग्नेहरूको कमी छैन । यस्तै सिलसिलामा हाम्रो देशमा बम्जन प्रकरण सतहमा आएको छ । बम्जनको कथित आश्रममा पुग्नेहरूमध्ये कैयौँ मानिसहरूको आर्थिक स्तर कमजोर थियो तथा कतिपय मानसिक अशान्तिको अवस्थाबाट गुज्रिरहेका थिए । उनीहरू यस्तो स्थितिमा मुक्तिको अपेक्षा सहित आश्रममा पुगेका थिए । तर त्यस्तो परिस्थितिको फाइदा उठाएका थिए, कथित धर्मगुरुको आवरणमा आफूलाई ढाकेका राम बहादुर बम्जनले ।
१३ वर्ष अघिदेखि बम्जनलाई नयाँ युगको बुद्धको रूपमा देश–विदेशमा प्रचार गरिएको थियो । वास्तवमा उनको बुद्ध धर्मप्रति कुनै लगाव नभएको पीडितहरूले बताउने गरेका छन् । मानिसहरूको हत्या, निर्मम कुटपिट, बलात्कार र बेपत्ता जस्ता घटना घटाएर उनले बुद्ध धर्मप्रति हिलो छ्याप्ने काम गरेका छन् । संसारका विभिन्न धर्ममध्ये बौद्ध धर्मको बेग्लै स्थान छ । अन्य धर्महरूभन्दा बौद्ध धर्मले रुढिवाद र परम्पराका विरुद्ध तर्क–प्रमाणको पक्ष लिन्छ । एक हदसम्म भौतिकवादी पद्धति अपनाउँछ । अन्य धर्ममाभन्दा बौद्ध धर्ममा काल्पनिकता, अलौकिकता कम, भौतिकता बढी छ । तर दुःखको विषय छ, बौद्ध धर्मका अहिलेका धर्मावलम्बीहरूले आफ्नो इतिहासबाट आफैलाई टाढा पुर्‍याई रहेका छन् । विश्वभरि नै बुद्धका ठुलाठुला मूर्ति बनाएर त्यसको पूजा गरिनु गौतम बुद्धका शिक्षाको उल्लङ्घनसम्बन्धी एउटा उदाहरण हो । बम्जन प्रकरणले पनि बताएको छ– स्वयं गौतम बुद्ध जन्मिएको देशमा नै बौद्ध धर्मको आवरणमा व्यभिचार मौलाई रहेको छ । बम्जन जस्ता अपराधिक मनोवृत्तियुक्त व्यक्तिले नारी अस्मिताको विरुद्ध हमला बोलिरहेका छन् । यो सिङ्गो नेपाली समाजका लागि चिन्ताको विषय हो ।
प्रशासनले धर्मको नाममा हुने यस खालका विकृति, विसङ्गतिलाई रोक्न तदारुक हुनुपर्दछ । सर्वप्रथम आर्थिक अभावले नै मानिसलाई प्रत्यक्ष, अप्रत्यक्ष रूपमा धर्मको शरणमा पुर्‍याउँछ । अर्कातिर, शहरीकरणको चपेटामा परेका मानिसहरू मानसिक अशान्तिको हल खोज्दै धर्मको शरणमा पुग्दछन् । यी सबै घटनाहरू धर्मप्रतिको सहज विश्वास वा अन्धविश्वासका कारण घट्छन् । धर्म व्यक्तिको निजी मामिला हो । तर धर्मको नाममा कसैले पनि कसैको नाजायज फाइदा उठाउन नपाओस् । त्यसतर्फ हामी सबैको ध्यान जानु पर्दछ । प्रशासनले यस्ता प्रकरणप्रति चनाखो हुनुपर्दछ । घटनाको तत्कालै छानबिन गरेर दोषीलाई कानुनको दायरामा ल्याउनु पर्दछ । त्यसका साथै अन्धविश्वास, रुढिवादका विरुद्ध सचेतना वा प्रगतिशील चेतना प्रसार गर्ने अभियान सञ्चालन गर्न सबैले ध्यान पुर्‍याउनु पर्दछ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal