२०७६ वैशाख ११ गते   वर्ष ३६, अङ्क २३
मिति(२०७६ वैशाख १२, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
लेखहरू
त्रिभुवन विश्वविद्यालयमा बेथितिको रास
निष्णु थिङ
देशको सबभन्दा जेठो त्रिभुवन विश्व विद्यालयबाट अहिलेसम्म लाखौँलाख विद्यार्थीहरू शिक्षितदीक्षित भए । तिनीहरूले त्रिविमा हँुदा त्रिविको कारणले कति सास्ती र नियोजित समस्या भोग्नु पर्‍यो होला, त्यसको लेखाजोखा गर्ने हो भने कथाका ठुल्ठुला ग्रन्थ बन्थे होलान् । त्रिभुवन विश्व विद्यालय ज्ञान र ज्ञान निर्माणको केन्द्र हो तर त्यसले जति यो देशलाई आवश्यक ज्ञान निर्माण र उत्खनन गर्नु पर्ने हो, त्यति गर्न सकेको छैन, बरु आफै विकृति, बेथिति र समस्याको केन्द्र बनेर थलिन थालेको छ । मुलुकलाई चाहिने ‘ब्रेन’ तयार गर्नु पर्ने थलो स्वयम् आफै सृजित विकृतिहरूको लहरोमा बेरिएर किङ्कर्तव्यविमुध हँुदा त्योसित जोडिएका लाखौँ विद्यार्थीका भविष्यमाथि खेलवाड हुन पुगेको छ । 
चवालिसौँ दीक्षान्त समारोह 
भर्खरै सम्पन्न भएको दीक्षान्त समारोहमा करिब ७४ हजार विद्यार्थीहरूमध्ये १०–११ हजारले मात्रै भाग लिए । प्रमुख अतिथि प्रा.डा. महेन्द्र पी. लामा, जो नेपाल–भारत प्रबुद्ध समूहको एक सदस्य हुन्, कुलपति प्रधानमन्त्री केपी शर्मा ओली र सहकुलपति शिक्षामन्त्री गिरिराज मणि पोखरेलले सारगर्भित मन्तव्य व्यक्त गरेका थिए । पौष २९ गतेको अन्नपूर्ण पोस्ट दैनिकले एउटा समाचार प्रकाशित गरेपछि मलाई यो लेख लेख्ने जाँगर चल्यो । त्यस पत्रिकाले फ्रन्टपृष्ठमा छापेको समाचारमा त्रिविले वार्षिक र सेमेस्टर प्रणालीमा उत्तिर्ण विद्यार्थीलाई एउटै डालोमा राखेर मूल्याङ्कन गरी विभिन्न पदकका लागि सिफारिस गरिएकाले वार्षिक प्रणालीका विद्यार्थीलाई अन्याय भएको विषय सार्वजनिक भयो । एकजना रत्नराज्य लक्ष्मी क्याम्पसबाट उत्तीर्ण विद्यार्थी अन्जु तामाङले पङ्क्तिकारलाई सोधेकी थिइन्– “दाइ, दीक्षान्त समारोहमा पदकका लागि के गर्नु पर्छ ?” मैले “बल्खुमा गएर आफ्नो ट्रान्सक्रिप्टको प्रतिलिपि सहित दावी गर्नु पर्छ । त्यहाँ गोप्य शाखामा शान्ति बज्राचार्यलाई गएर भेट्नु, उहाँले नै यो हेर्छ” भनेँ । उहाँले गएर भेट्नु भएछ र जबाफमा वार्षिक र सेमेस्टर प्रणालीका दुवै ट्रान्सक्रिप्टलाई एउटै डालोमा राखी तिनीहरूबीचमा तुलना गरेर सिफारिस हुने खबर पाएर एक प्रकारले निराश भएर फर्किनु भयो । त्यो कुरा मलाई बताउने बित्तिकै मैले बल्खुमा फोन गरेर शान्ति बज्राचार्यलाई वार्षिक र सेमेस्टर प्रणाली नै मौलिक रूपमा फरक भएकाले यो त राम्रो भएन नि भनेको थिएँ । तर उहाँले त्रिविको नीति एक सङ्काय एक विद्यार्थी भएकाले यस्तो गर्न खोजेको बताए । मैले अलग अलग प्रणालीबाट आउने विद्यार्थीलाई एकै तरिकाले मूल्याङ्कन हुँदा स्वाभाविक रूपले वार्षिक प्रणालीका विद्यार्थीलाई अन्याय हुने बताएर यो नीति परिवर्तन गरेर भए पनि न्यायिक तरिकाले सिफारिस हुनु पर्ने जोड गरे पनि उहाँले यो नीति बदल्न आफूले नसक्ने बताउँदै तैपनि ममाथि यो कुरा राख्छु भनेकी थिइन् । यो घटना हो कार्तिकको ।पछि बल्खुमा अर्को कामले जाँदा स्वयम् भेटेर यो सुझाएको थिएँ तर उहाँले पुरानै कुरामा अड्डी कस्नु भयो । ती बहिनी पनि दुई पटक गएर भनिछन् । केही डिग नहुने भएपछि मानसिक रूपमै त्रिविको एकलकाँटे र अव्यावहारिक निर्णय स्वीकार्दै दीक्षान्त समारोहमा भाग लिइन् । 
सिराहाको घटना
एक दिन पुरानो चिनजानको मित्र राजु विकसित अचानक पुतली सडकमा भेट भयो । भेट्ने बित्तिकै उहाँले हालखबर नै नसोधी आफ्नो गाँउको एकजना बहिनीको समस्या राख्नु भयो । यो बहिनीले बी.एड. गरेको त्रिविबाट र ट्रान्सक्रिप्ट पनि लिनु भयो बल्खुबाट तर एक महिना पछाडि बल्खुले फोन गरेर इमरजेन्सी छ भनेर ट्रान्सक्रिप्ट लिएर आउन बोलाए । उनी बल्खु पुगिन् । उनको सक्कली प्रमाण पत्र राखेर अब फेरि सुरुदेखि पढ्नुस् भनेर फर्काएपछि उनी बिलखबन्द परिछने । त्यही समस्या लिएर आएको बल्खु गएर भनेको मान्दै मान्दैन बा घ् यिनका भविष्य बिग्रिने भयो अब, तपाइँले केही गर्न सक्नु हुन्छ ? शक्तिजीले भने अनुसार तपाइँले पनि यस्तै समस्या भोग्नु भएको थियो रे, तर तपाइँले समाधान गरेरै छाड्नु भो रे घ् प्रत्युत्तरमा मैले हो भने । अनि ल सकेको सहयोग गरुँला, भोलि फोन गर्नु होला, बल्खु जानु परे जाउँला र परीक्षा नियन्त्रकलाई भेटेर यो समस्या राखौँला भनेर छुटे । त्यसपछि के भो उहाँले मलाई अहिलेसम्म फोन गर्नु भएको छैन । 
मेरो कहानी 
बि.एड.दोस्रो वर्षको परीक्षाफल प्रकाशित भयो । मेरो सिम्बल नम्बरको अन्तिम अङ्क ९४ थियो । ९३ र ९५ छ, मेरो छैन । अचम्म लाग्यो कसरी हुन सक्छ ? टिप रेकर्ड हेरेँ, त्यसमा पनि त्यस्तै छ, लब्धाङ्क पत्र सबैको छ, मेरो मात्रै छैन । मेरो त होशहवास नै उड्यो, यो के भएछ यस्तो ? परीक्षा दिएको मान्छे पास, फेल, नतिजा रोक्का, परीक्षामा अनुपस्थित, परीक्षामा कारवाही परेर यस्तो भएको केही उल्लेख छैन । गुरुहरूसित सल्लाह गरेँ, सबैजना छक्क परे । होइन, केही त हुनै पर्‍यो नि जाँच दिएको मान्छेको घ् यस्तो नहुनु पर्ने घ् ल तिमी काठमाडौँ गइहाल र निवेदन देऊ पनिकामा । त्यसपछि सुरु भयो मेरो सङ्घर्षका दिनहरू । गोप्य शाखामा गएन कि, नियन्त्रकलाई भेटेर आफ्नो समस्या राखेन कि, के के मात्रै गरिनँ । जति मलाई स्नातक तह पास गर्न लाग्यो, त्योभन्दा कैयौँ गुणा कठिन, पीडादायी र अप्ठेरो आफ्नो गायब भएको परीक्षाफल प्राप्त गर्न लाग्यो । मेरा जीवनका उर्जाशील दुई वर्ष बितेपछि बल्ल मैले परीक्षाफल पाएँ । त्यसका लागि मैले के के मात्रै गरिनँ, लेखे भने त्यो एउटा किताबै बन्ला । अहिले पनि मलाई मेरा ती दुई वर्षको समयावधि सम्झदा थक्थक् लाग्छ । त्यो दुई वर्षको कारणले गर्दा मेरा पछाडिका योजनाहरू पनि पर धकेलिए, स्नातकोत्तर पढाइ प्रभावित भयो । दुई वर्ष अगाडि नै सक्नु पर्ने कार्यहरू दुई वर्ष पछाडि सर्दा मैले जुन मूल्य चुकाउनु पर्‍यो, त्यसको पीडा त्रिविले कहाँ महशुस गर्ला ? दुःख मैले निकै पाएँ तर जुन समय मैले गुजारेँ, त्यो अवधिलाई त्रिविले क्षतिपूर्ति कदापि गर्न सक्ने छैन । परीक्षा दिएको विद्यार्थीले असफल भएकै किन नहोस्, तिनले आफनो नतिजा नपाउँदाको पीडा कस्तो हुन्छ ? मलाई राम्रारी ज्ञात छ । हुन त मैले पनिकाको कारणले जीवनमा साह«ै दुख खेपेको छु । एसएलसीमा मैले परीक्षा दिदा विष्णु थिङको नामले दिएको हुँ तर प्रमाण पत्र बनेर आउदा निष्णु थिङ भएर आयो । त्यसपछि मैले जीवनमा लाखौँ पटक आफनो नामको कि त स्पष्टीकरण दिनु परेको छ या पटक पटक दोहोर्‍याएर भन्नु परेको छ । परिचय गर्दा एकपटकमा मान्छेले मेरो नाम ठम्याउन सक्दैन । कस्तो नाम रहेछ निष्णु भन्छन् धेरैजसोले । कोही अर्थ सोधेर वाक्क बनाउँछन् भने युनिक नाम रहेछ भनेर गिल्ला पनि गर्छन् । एसएलसीपछिका पढाइमा फेरि पनिकाले विष्णुको नाममा लब्धाक पत्र पठाएर हैरान, सच्याउँदा सच्याउँदै मेरा उर्जा, समय र स्रोत कति खर्च भएको छ ? त्यसको लेखाजोखा नै छैन । स्नातकोत्तरमा जुन व्यवहार ममाथि भयो, त्यो उपयुक्त समय आएपछि लेखौँला । 
स्रोतको अभाव
त्रिविले अन्नपूर्ण पोस्टमा छापे अनुसार स्रोतको अभावमा वार्षिक र सेमेस्टर प्रणालीका विद्यार्थीलाई एकै मापदण्ड वमोजिम पदकमा सिफारिस गरेको जिकिर छ, जबकि त्रिविभित्र कति धेरै भ्रष्टाचार र आर्थिक अनियमितता छ भन्ने माथेमा आयोग, डा. गोविन्द केसीको अनसन र बेलाबेलाका विभिन्न समाचारहरूले पुष्टि गरेको छ । करोडौँ, अर्बौं रकमको हिनामिना हुने त्रिविमा मिहिनेतका साथ उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरूलाई पुरस्कृत गर्न, हौसला बढाउन र आफैमा त्रिविप्रति गौरवान्वित गराउन स्रोतको अभावको कुतर्क गर्नु दुखद मान्नु पर्छ । स्नातकोत्तर त्रिविबाटै गरे पनि त्रिविले मप्रति जुन व्यवहार गर्‍यो, जीवनमा कहिले पनि त्रिविप्रति गौरव गर्दिनँ । म जस्ता कति होलान् ? त्रिविले आफनो छवि बिगार्ने र आफनो अनुहारमा हिलो छ्याप्ने काम जारी राखेसम्म यो देशका कुनै पनि विद्यार्थी, अभिभावक र आम नागरिकले त्रिविप्रति गर्व त परै जाओस्, अपनत्व महशुस गर्ने छैन । दीक्षान्तमा वार्षिक प्रणालीका विद्यार्थीलाई पुरस्कृत नगर्नुको कारण स्रोत अभाव नै हो भने त्रिविको कुलपति र सहकुलपति यो देशका प्रधानमन्त्री र शिक्षामन्त्री हुन् । अहिले वाइडबडी प्रकरणमा करिब साढे तीन अर्ब, नेपाल आयल निगम लिमिटेडका पूर्व महानिर्देशक गोपाल बहादुर खड्काको १९ करोड, अजेय सुमार्गीको अर्बौं कालोधन, राष्ट्रपतिका लागि खर्चिन थालेको करोडौँ, विभिन्न मन्त्री, सांसदले राज्यबाट अर्बौं रकम दोहन गरिरहेको परिदृश्य हाम्रो सामु छरप्रस्ट छ । जब जनताका छोराछोरीले पुरस्कृत हुने दिन आउँछ, तब स्रोत अभावको हवाला दिन्छन् यो देशका गैरजिम्मेवार र भ्रष्ट मान्छेहरू । यदि रकम अभाव हो भने पनि सरकारले कतैबाट व्यवस्थापन गरेरै भए पनि सम्मान गरिनु पर्छ । उनीहरूलाई सम्मान गर्दा १०–१५ लाख खर्च होलान्, के जनतालाई थाहा छैन र, करौडौँ र अर्बौ भ्रष्टाचार नेताहरूले गरिरहेका छन् भनेर । यो कार्य गर्न त्रिविले विलम्ब नगरियोस् । यस्ता कार्यले त्रिवि र सरकारको छवि धुमिल हुँदैन, बरु सुधार हुन्छ । 
अदूरदर्शी त्रिवि
त्रिविले सेमेस्टर प्रणाली लागु गर्ने बेलामा यसको निकै विरोध भएको थियो । विभिन्न आरोपमध्येमा पूर्व तयारी राम्रोे र यस विषयमा त्रिविको दूरदर्शी सोच नभएको भन्ने पनि थियो, जबकि त्रिविले सेमेस्टर प्रणालीमा जानुभन्दा अगावै यस्ता सङ्क्रमण कालीन मोडहरूका बारेमा राम्रो अध्ययन र अनुसन्धान गरी सङ्क्रमण कालीन रोडम्याप तयार गर्नु पर्ने थियो । कुनै पनि परियोजना सञ्चालन पूर्व त्यसको आधार अध्ययन (बेसलाइन स्टडी), कार्यान्वयनको विस्तृत खाका, लक्ष्य हासिल गर्ने कार्ययोजना, त्यसबाट पाउने वस्तुगत उपलब्धि र त्यसले पर्न जाने विविध सकारात्मक र नकारात्मक असरहरूको गहन अनुसन्धान सहितको दस्तावेज तयार गरिन्छ । त्रिविले न त्यतिबेला सेमेस्टर प्रणाली लागु गर्नु पूर्व अध्ययन गरे, न त्यस्तो पहलकदमी लिइयो । त्यो काम भएको भए त्यतिबेला विरोध गर्नेहरूको मुखमा बुजो लाउनलाई पनि दस्तावेज सार्वजनिक गथ्र्यो होला भने अर्कातिर, यस्ता समस्या आउने थिएन, जुन यसपालिको दीक्षान्तमा देखियो । यस घटनाले त्रिवि दूरदर्शी छैन भन्ने पुष्टि गर्दछ । विश्व विद्यालय सञ्चालन गर्ने पदाधिकारीहरूले यस्ता कुरामा ख्याल नगर्नु गैर–जिम्मेवारिताको पराकाष्ठा हो । 
निचोड 
लाखौँ विद्यार्थी र यो देशको भविष्य बनाउने ध्येय राख्ने त्रिवि आफैमा गञ्जागोल, लथालिङ्ग, योजनाविहीन र रामभरोसे तरिकाले चलिरहेको छ भने यसले अर्काको भविष्य बनाउँछु भन्ने सोच त्यागे हुन्छ, बरु त्रिविले आफ्नै भविष्यका बारेमा चिन्ता लिनु पर्छ । आफ्नै भविष्य अँध्यारिदै गइरहेको बेलामा अर्काको भविष्य निर्माण गर्छु भन्ने कोरा सपना वाहेक केही हुन सक्दैन । पहिला आफू सद्दे हुनु नै प्रथम शर्त हो । यस सन्दर्भमा २००७ सालका एक जना मुक्ति सेनानी श्याम कुमार तामाङ पङ्क्तिकारलाई बेलाबेलामा देउवालाई कटाक्ष गर्दै भन्नु हुन्छ– “अलिकति कम भयो कि डोज चढाइहाल्नु पर्ने, फिट्टु खाएर आफ्नै ज्यान सम्हाल्न नसक्ने लखतरान भएको मान्छेले पार्टी, सरकार र देश कसरी चलाउँछ ? चलाउँछुभन्दा पत्याएर पटक पटक मौका दिने हामी कस्ता ?” त्रिविलाई यस्ता कुरा झिनामसिना र सानो कमजोरी लाग्न सक्छ । ख्याल रहोस्, क्यान्सर पनि सानो घाउबाटै सुरु हुन्छ । आफनो गिर्दो साखलाई जोगाउनु नै त्रिविको पहिलो र अहम् दायित्व हो ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप लेखहरू
पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयकबारे
नेपालमा दण्डहीनता र राजनैतिक भ्रष्टीकरण
साम्राज्यवादको हौवा वा विस्तारवादको सेवा ?
भारतीय साम्राज्यवाद विरुद्ध हालिएका पर्दाहरूको खण्डन
अन्ततः भारत साम्राज्यवादी देश नै
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal