२०७६ वैशाख ११ गते   वर्ष ३६, अङ्क २३
मिति(२०७६ वैशाख १२, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
लेखहरू
भारतीय साम्राज्यवाद विरुद्ध हालिएका पर्दाहरूको खण्डन
विमल पोखरेल
खुला छलफलमा धेरै साथीहरूलाई के लागेको देखियो भने आफू राजनीतिमा लागेदेखि भारतलाई विस्तारवादी भनेकोभनियै छ, कसरी साम्राज्यवादी भन्नु ? साथीहरूलाई बडो मुस्लिक परेको देखिन्छ । हाँक साप्ताहिकका लेखहरू पढ्दा पनि साथीहरूलाई त्यही भएको देखिन्छ । हामीले के बुझ्नु पर्दछ भने वास्तविकता जे हो, त्यही नै भन्नुपर्ने हुन्छ । नेपालमा २०६५ सालसम्म राजतन्त्र थियो । नेपाललाई राजतन्त्रात्मक देश भनिन्थ्यो । अब राजतन्त्र समाप्त भयो । नेपाललाई गणतन्त्रात्मक देश भनिन्छ । यो देशमा पूर्व राजा ज्ञानेन्द्र त छन् । उनले विभिन्न धार्मिक कार्य गर्दै आएका पनि छन् । देश दौडिरहेका छन् । गणतन्त्र रहुन्जेलसम्म अबका दिनमा ज्ञानेन्द्रले जे गरे तापनि देशलाई राजतन्त्रात्मक मुलुक भनिंदैन । भारत पनि हिजो विस्तारवादको तहमा थियो, त्यसलाई विस्तारवादी भनियो । अब त्यसले साम्राज्यवादी तहमा विकास गरेको छ । त्यसलाई साम्राज्यवादी नै भन्नुपर्दछ । यति सामान्य कुरामा पनि ठुलो पहरो खसे जस्तो गर्नु आवश्यक छैन । 
हाँक साप्ताहिकमा प्रकाशित लेखहरूमा भारत साम्राज्यवाद भइसकेको छ भन्ने लेखहरूको खण्डन गर्दै एम.एल.पी.डी. को चश्मा लगाएर हेरिएको, भारतीय कम्युनिस्ट पार्टी रेडस्टारको विश्लेषण आदिलाई तोडमोड गरिएको, विप्लब माओवादीको अन्धानुकरण गरिएको आरोप लगाइएको छ । ती आरोपहरू किन पनि आवश्यक छैनन् भने नेकपा (मसाल) ले कहिल्यै पनि अरूको अन्धनक्कल गरेर कुनै पनि नीतिहरू तय गर्ने गरेको छैन । नेकपा (मसाल) को इतिहासले के देखाउँछ भने पार्टीले मौलिक तरिकाले नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिको विश्लेषण गर्दै आएको छ । कसैको पनि नक्कल गर्ने गरेको छैन । पार्टीको लामो इतिहासमा कसैको नक्कल गरेको ठान्नु सही होइन । यदि त्यसरी नक्कल गर्ने थियो भने यति लामो बहस र छलफलको आवश्यकता नै पर्दैनथियो । दस्तावेजमा नक्कल गरे भइहाल्थ्यो । त्यसैले ती आरोपहरू सही छैनन् । 
उही अङ्कमा लेखिएको छ, ‘भावी दिनमा आर्थिक, कूटनीतिक, सामाजिक तथ्यहरूले भारत नयाँ साम्राज्यवादी शक्तिको रूपमा परिणत भएको निष्कर्ष निस्केमा हामीलाई भारत साम्राज्यवादी देश भन्न कुनै गाह्रो हुने छैन ।’ यो भनाइले के बताउँछ भने यदि पार्टीले भारत साम्राज्यवाद हो भन्ने निष्कर्ष निकाल्यो भने उहाँहरूलाई भारत साम्राज्यवादी देश हो भन्न कुनै गाह्रो पर्ने छैन । यो अत्यन्तै सकारात्मक कुरा हो । व्यापक रूपमा छलफल भएर निष्कर्ष निकालिने हो । त्यसैको लागि नै अहिले नेकपा (मसाल)भित्र र बाहिर पनि भारत साम्राज्यवाद हो कि होइन भन्ने कुरामा बहस भइरहेको छ । निश्चय पनि नेकपा (मसाल)को आठौँ महाधिवेशनले त्यसको निष्कर्ष निकाल्ने छ । एउटा कम्युनिस्ट पार्टीको कार्यकर्ताले पार्टीले निकालेको निष्कर्षलाई मान्नु नै सही हुन्छ । त्यस अर्थमा बहसलाई उहाँहरूले पनि सकारात्मक लिनु भएको देखिन्छ । तर लेखको सुरुमै भनिए जस्तो उहाँहरूलाई अहिल्यै साम्राज्यवादी भन्न बडो गाह्रो परेको देखिएको मात्रै हो ।
गत हप्ता हाँक साप्ताहिकमा प्रकाशित लेखमा भनिएका् छ, ‘भारत विस्तारवादी अवस्थामा नै छ कि यसको चरित्र आज साम्राज्यवादी तागतको रूपमा परिणत भयो भन्ने प्रश्नको उत्तर भारतको आयात निर्यात र उदाउँदो अर्थतन्त्रको लेखाजोखामा मात्रै भेट्टाउन सकिंदैन । माक्र्सवादी लेनिनवादी दृष्टिमा हरेक चिजको फैसला राजनीतिले गर्ने हुँदा त्यो पाटोबाट पनि विश्व राजनीतिमा समकालीन भारतको भूमिका कति छ ? त्यो आधारमा पनि हेर्न जरुरी देखिन्छ ।’ (भारत के हो ? नेकपा (मसाल) भित्रको बहस, हाँक साप्ताहिक, पेज नं. ५) निश्चय नै हरेक कुराको फैसला राजनीतिले गर्दछ । यति सही तर्क दिदादिंदै पनि लेखमा भारत विस्तारवादी नै हो भनिएको छ । भारतले आफ्नो राजनीतिलाई विश्व राजनीतिक रङ्गमञ्चमा कसरी उतार्न खोज्दै गइरहेको छ भन्ने कुरा यही लेखको तल प्रष्ट पारिएको छ । त्यति भयो भने त्यो कुराको धेरै लामो खण्डन गर्न आवश्यकता पर्ने छैन । 
उही लेखमा भनिएको छ, ‘विभिन्न अनुसन्धानहरूले यो देखाएका छन् कि विश्व राजनीतिमा बढ्दो चिनियाँ प्रभावले दक्षिण एसियामा भारतको परम्परागत प्रभाव क्षीण हुँदै गएको छ ।’ लेखको आशय भारतको अब विस्तारवादी भूमिका पनि धेरै नै कमजोर भयो भन्न खोजिएको त होइन ?लेखमा भनिए जस्तै यदि भारतको प्रभाव त्यसरी क्षीण हुँदै गएको हो भने त उसलाई विस्तारवादी मुलुक पनि किन भन्नुपर्छ र अब ?विश्व राजनीतिमा चिनियाँ प्रभाव बढेको देखाउनको लागि भारतीय प्रभाव घटेको देखाइनु सही होइन । हामीले अघिल्लो लेखमै छलफल गरिसकेका छौँ कि सबै साम्राज्यवादी मुलुकहरूको हैसियत एकै प्रकारको हुँदैन । हामीले अहिले नै भारतलाई अमेरिकाको तहमा खोजेर हुँदैन । भारत नयाँ साम्राज्यवादी देश हो । त्यसले आजको आजै अमेरिकाको तहमा आफूलाई विकसित गर्न सक्दैन । 
कहिलेकाहीँ साम्राज्यवादी देशहरू एकआपसमा लड्छन् । उनीहरू युद्धमै पनि उत्रिन्छन् । गत अमेरिकी राष्ट्रपतिको चुनावमा रूसले इन्टरनेटको माध्यमबाट अमेरिकी चुनावमा ठुलो धाँधली गरेको आरोप लागेको थियो । साम्राज्यवादी देशहरूले केबल साना देशहरूलाई मात्रै हस्तक्षेप गर्दैनन्, उनीहरूका स्वार्थ बाझिदा एक अर्कामा युद्धमै ओर्लिन्छन् । अमेरिकाले कहिलेकाहीं भारतलाई धम्की दिनुको अर्थ भारत अमेरिकाको छातामुनी छ भन्नु गलत हुन जान्छ । अमेरिकाले धम्की त चीन, रूस, जर्मनी सबैलाई दिइरहेको हुन्छ । अमेरिका चीनसितको व्यापार घाटा अत्यधिक बढेपछि उसले ठुलो मात्रामा भन्सार शुल्क बढायो । उनीहरूबीच ठुलो विवाद उत्पन्न भयो । उनीहरूका साम्राज्यवादी स्वार्थ बाझिंदा एक अर्कामा टकराब त गर्छन् नै । 
हाँकमा प्रकाशित लेखमा भारतीय राजनीतिमा अमेरिकी प्रभाव देखाउनको लागि धेरै प्रयत्न गरिएको छ । अमेरिकाले विश्वभर आफ्नो प्रभाव जमाउने प्रयत्न गर्दछ । भारतमा मात्रै होइन, चीनमा समेत अमेरिकाले त्यो प्रयास गर्छ ।माथि नै भनियो, रूसले अमेरिकाको राष्ट्रपतिको चुनावमा आफ्नो प्रभाव विस्तार गर्न धेरै हदसम्म प्रयत्न गर्‍यो । त्यसको अर्थ अमेरिका रूसका छातामुनी छ भन्ने कुरा होइन, हुन सक्दैन । कुन देशले कहाँ कस्ता खालका हस्तक्षेपका प्रयत्न गर्छन् भन्ने आधारमा मात्रै भारतलाई कमजोर देख्नु माक्र्सवादी लेनिनवादी दृष्टिकोण होइन । साम्राज्यवादी देशहरूले विश्व राजनीतिक रङ्गमञ्चमा आफ्नो पक्षमा समर्थन खोज्नु वा धम्की दिनु कुनै नौलो कुरा होइन । तिनीहरू त्यसो गरि नै रहन्छन् । स्वयं संयुक्त राष्ट्र सङ्घमा रहेका अमेरिका, बेलायत, रूस, चीन र फ्रान्सले भिटो प्रयोग गर्न पाउँछन् । भिटो प्रयोग गर्नु भनेको संयुक्त राष्ट्र सङ्घमा ती देशहरूको एक प्रकारको हस्तक्षेप हो । उनीहरूले आफ्नो प्रतिकूल कुनै निर्णय हुन लाग्यो भने भिटो प्रयोग गरेर संयुक्त राष्ट्र सङ्घबाट निर्णय हुन दिंदैनन् । 
सैन्य शक्तिको हिसावले भारत विश्वको चौथो शक्तिशाली देश हो । पहिलो अमेरिका, दोस्रो रूस, तेस्रो चीन र चौथो भारत हो । भारतले सैन्य क्षेत्रमा यति ठुलो विस्तार के को लागि गरिरहेको छ ? यति ठुलो सैन्य शक्ति रहेको भारतको दक्षिण एसियामा समेत भूमिका कमजोर बन्दै गएको छ भन्नु कत्तिको यथार्थ विश्लेषण हो भन्ने कुराको लागि थप तथ्यहरू आवश्यक पर्दैनन् । भारतको बढेको शक्तिलाई नदेख्नु बरु साथीहरूको कमजोरी हो । भारत साम्राज्यवादी होइन भन्ने तर्कहरू अगाडि सार्ने, भारतमा गरिबीको तथ्याङ्क अगाडि सार्ने, तर अर्कातिर भारतमा भएको त्यति ठुलो सैन्य शक्तिको प्रभाव नै नदेखेर होइन कि बुझ पचाउनको लागि भारतको वास्तविकतामाथि निरन्तर पर्दा हाल्ने काम भइरहेको छ । सैन्य शक्तिको हिसावले नेटोका सदस्यसमेत रहेका युरोपेली देशहरू फ्रान्स र बेलायत भारतभन्दा पनिपछि परिसकेका छन् । भारतले त्यति ठुलो सैन्य शक्ति के को लागि विस्तार गरिरहेको छ ? बुझ्न गाह्रो पर्दैन कि उसले विश्वमा आफूलाई एउटा शक्तिशाली देशको रूपमा उभ्याउन चाहन्छ र त्यसले लगातार आफूलाई त्यो दिशातिर लगिरहेको छ । तर साथीहरूले भारतको प्रभाव घटिरहेको देखाइरहेका छन् । केही समय पहिले ५१ अरब डलर रहेको भारतको रक्षा बजेट धेरै बढाइएको छ । भारतसँग लडाकु जहाजको सङ्ख्या मात्रै २ हजारभन्दा बढी छ । भारतसँग ४ हजार ४ सय ट्याङ्कसमेत रहेका छन् । भारतमा सक्रिय सैनिक १३ लाख र २८ लाख रिजर्ब फोर्स रहेको छ । सैन्य शक्तिको हिसावले भारतले आफूलाई निकै अबब्ल बनाउँदै लगेको छ । यति ठुलो सैन्य शक्ति रहेको भारतलाईमाथि उल्लेखित लेखमा भारत अझै अमेरिकाको वैशाखी मात्रै भएको बताइएको छ । 
भारत विश्वमा थप अधिकारको खोजीमा रहेको छ । यदि साथीहरूले भनेजस्तै भारत कमजोर बन्दै गएको हुने थियो त, उसले विश्व राजनीतिको रङ्गमञ्चमा थप अधिकारको खोजी गर्दैनथियो । भारतले जनसङ्ख्या, क्षेत्रीय आकार, अर्थतन्त्र, जी.डी.पी., आर्थिक सम्भाव्यता, सभ्यता, सांस्कृतिक विविधता, राजनीतिक प्रणाली र विगत तथा राष्ट्र सङ्घमा भारतको विद्यमान योगदानजस्ता उद्देश्यमूलक क्षेत्रका कारण भारतलाई संयुक्त राष्ट्र सङ्घको स्थायी परिषद्को सदस्यता लिनुपर्ने आवश्यक रहेको कुरा केही वर्षपहिले संयुक्त राष्ट्र सङ्घका लागि भारतीय स्थायी प्रतितिनिधि हरिदीपसिंह पुरीले बताएका थिए । यसको अर्थ के हो भने भारतले अन्तर्राष्ट्रिय राजनीतिक रङ्गमञ्चमा संयुक्त राष्ट्र सङ्घको स्थायी प्रतिनिधि पाउने दाबी गरिरहेको छ । उसको त्यो दाबी भारतले अन्तर्राष्ट्रिय प्रभाव विस्तार गरेको कारणले नै गरेको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०१५ को संयुक्त राष्ट्र सङ्घीय महासभामै भारत राष्ट्र सङ्घको स्थायी सदस्यको लागि दाबी प्रस्तुत गर्न पुगेका थिए । विश्व राजनीतिमा भिटो प्रयोग गर्ने सदस्य राष्ट्रको हैसियतमा पुर्‍याउनको लागि भारतले निरन्तर प्रयत्न गरिरहेको छ । अमेरिकाले भारतलाई समर्थन गर्ने बताएको थियो । भारतले विश्व राजनीतिक रङ्गमञ्चमा आफ्नो हैसियत बढाउनको लागि संयुक्त राष्ट्र सङ्घको स्थायी सदस्यको लागि दाबी प्रस्तुत गरिरहेको छ । हाम्रा साथीहरूले भारतको राजनीतिक प्रभाव एसियाली मुलुकहरूमा समेत घटिरहेको भन्दै लेखिरहनु भएको छ, जुन सरासर गलत हो भन्ने कुरा तथ्य र भारतको विश्व राजनीतिको प्रभावले बताउँछ । 
यदि भारतलाई साम्राज्यवादी देश भनियो भने अमेरिकी साम्राज्यवाद विरुद्धको सङ्घर्ष कमजोर बन्छ भन्ने तर्कहरू पनि ती लेखहरूमा अगाडि सारिएको छ । ती लेखहरूमा के कुरामा सहमति देखिन्छ भने नेपाललाई भारतबाट नै सबैभन्दा बढी खतरा छ र हामीले भारतका विरुद्ध नै बढी सङ्घर्ष गर्नु पर्दछ । त्यति भनीसकेपछि हाम्रो मुख्य लडाइँ त भारतीय साम्राज्यवादसित नै हुन्छ । हाम्रो पार्टीले अहिले नै भारतीय साम्राज्यवादका विरुद्ध ठुलो सङ्घर्ष गरिरहेको छ । यसको अर्थ अमेरिकी साम्राज्यवादका विरुद्धको सङ्घर्ष कमजोर हुन्छ भन्ने निष्कर्ष निकाल्नु सही हुँदैन ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप लेखहरू
पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयकबारे
नेपालमा दण्डहीनता र राजनैतिक भ्रष्टीकरण
साम्राज्यवादको हौवा वा विस्तारवादको सेवा ?
अन्ततः भारत साम्राज्यवादी देश नै
त्रिभुवन विश्वविद्यालयमा बेथितिको रास
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal