२०७६ वैशाख ११ गते   वर्ष ३६, अङ्क २३
मिति(२०७६ वैशाख १२, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
समाचार
रक्तिम बालुङको जिल्ला भेला सम्पन्न
बागलुङ । चौथो राष्ट्रिय सम्मेलनको सङ्घारमा रहेको रक्तिम सांस्कृतिक अभियानले जिल्ला सम्मेलन तथा भेलाका कार्यक्रमहरू सम्पन्न गर्दै राष्ट्रिय सम्मेलनको प्रचार प्रसारलाई तीव्र गतिमा अगाडि बढाइरहेको छ । यसै सिलसिलामा रक्तिम सांस्कृतिक अभियान बागलुङको बाह«ौँ जिल्ला भेला सम्पन्न भएको छ । 
रक्तिमका केन्द्रीय सचिव दल बहादुर विकको प्रमुख आतिथ्यता र राष्ट्रिय जनमोर्चाका महासचिव जनक राज शर्माको विशिष्ट आतिथ्यतामा २०७५ माघ १९ गते बुर्तिवाङ बजारमा सो भेला सम्पन्न भएको हो । भेलामा राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद सदस्य तथा अखिल नेपाल युवक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष तिलक थापा, राजमोका राष्ट्रिय परिषद सदस्य गौरीश्वर पाण्डे, राजमो बागलुङका सदस्य बोम बहादुर थापा र रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य विमल पाण्डेको समेत आतिथ्यता रहेको थियो ।
भेलाले दान बहादुर थापाको अध्यक्षतामा नौ पूर्ण र दुई वैकल्पिक सहित ११ सदस्यीय रक्तिमको बागलुङ जिल्ला समिति निर्वाचित गरेको छ । निर्वाचित समितिको उपाध्यक्ष टिका सङ्गम विक, सचिव सविन अर्गेजा, सहसचिव सीता सापकोटा र कोषाध्यक्ष धन बहादुर थापा रहनु भएको छ । समितिका सदस्यहरूमा चन्द्र बहादुर घर्ती, देव नारायण बुढा, बेली सिंजाली र चन्द्रकली विक रहनु भएको छ । वैकल्पिक सदस्यका दुई स्थान हाललाई रिक्त राखिएको छ ।
भेला दान बहादुर थापाको अध्यक्षता, धन बहादुर थापाको सञ्चालन र सविन अर्गेजाको स्वागत मन्तव्यबाट अघि बढेको थियो । भेलाले चौथो राष्ट्रिय सम्मेलनको जिल्लामा व्यापक प्रचार प्रसार गर्ने, कम्तीमा पनि १५ जना प्रतिनिधि र सयौँको सङ्ख्यामा दर्शकहरू बागलुङबाट राष्ट्रिय सम्मेलन स्थल पोखरा लैजाने लगायतका निर्णयहरू समेत गरेको नवनिर्वाचित अध्यक्ष दान बहादुर थापाले बताउनु भयो ।

देश गृहयुद्धमा होमिन सक्ने राष्ट्रपति मदुरोको चेतावनी
कराकस । भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले आफ्नो देश गृहयुद्धमा होमिन सक्ने बताएका छन् । उनले स्पेनको एक टेलिभिजन अन्तर्वार्ताका क्रममा सो धारणा राखेका हुन् । उनले अन्तर्वार्तामा भनेका छन्– देश गृहयुद्धमा होमिने या नहोमिने भन्ने कुरा अमेरिका र उसका समर्थक मित्रराष्ट्रहरूको क्रियाकलापमा निर्भर रहने बताए । 
सो टेलिभिजन अन्तर्वार्तामा मदुरोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गरेमा राष्ट्रपति ट्रम्पले रक्ताम्य हात लिएर ह्वाइट हाउस छोड्नु पर्ने अवस्था आउने चेतावनी समेत दिएका एक समाचारमा जनाइएको छ । राष्ट्रपति मदुरोले भेनेजुएलामा हस्तक्षेप गर्न खोजेको भन्दै अमेरिका र समर्थनमा रहेका अन्य शक्तिराष्ट्रको उनले कडा शब्दमा आलोचना पनि गरेको समाचारमा जनाइएको छ । 
त्यसअघि विपक्षी नेता हुँवा गुइदो एक अन्तर्राष्ट्रिय गठबन्धन तयार पारेर देशभित्र मानवीय सहायता भित्राइने बताएका थिए । गत महिना गुइदोले आफूलाई भेनेजुएलाको राष्ट्रपति नै घोषणा गरेपछि अमेरिका लगायत अन्य देशहरूले उनलाई नै समर्थन गरेका थिए । आफूले विश्वका शक्ति राष्ट्रहरूको समर्थन प्राप्त गरेको भन्दै उनले आफू नै भेनेजुएलाको राष्ट्रपति भएको बताउने गरेका छन् । 
भेनेजुएलामा अहिले पनि सत्ताका लागि सङ्घर्ष सुरु भएको बताइएको छ । मदुरोले आफू नै निर्वाचनमा निर्वाचित राष्ट्रपति भएको बताउँछन् भने गुइदोको दावी पनि आफू नै हुँ भन्ने रहेको छ । उक्त टेलिभिजनले राष्ट्रपति निकोलास मदुरोलाई दुवै जनाले आ–आफ्नो अडान नछोड्दा के यो देश गृहयुद्धमा धकेलिने त होइन भनी गरेको प्रश्नमा उनले सो धारणा राखेका हुन् । सो प्रश्नको जबाफमा उनले भने– हो, यो कुरालाई कसैले नकार्न पनि सक्दैन र अहिले नै यो प्रश्नको जबाफ पनि कसैले दिन सक्दैन । तर अहिले पनि भेनेजुएलामा विदेशी शक्ति राष्ट्रहरूका कारण परिस्थिति असहज बन्दै गएको र भोलिका दिनमा यो परिस्थिति अझै बिग्रिएर कसैले नियन्त्रण गर्न नसक्ने अवस्थामा पनि पुग्न सक्ने उनकोे दाबी थियो । सोही अन्तर्वार्तामा उनले युरोपेली युनियनले यस अघि आइतबार अघि सारेको समय अगावैको आम निर्वाचनको प्रस्तावलाई पनि नकारेका थिए। यस अघि बढ्दै गएको राजनीतिक सङ्कटको समाधानका लागि समय अगावै आम निर्वाचन गर्नु पर्ने र त्यसलाई सत्तापक्ष र विपक्षीहरूले पनि मान्नु पर्ने धारणा राखेको थियो । 
राष्ट्रपति मदुरोले पनि यहाँको राजनीतिक सङ्कट समाधानको प्रयासस्वरूप समय अगावै निर्वाचन गर्न सकिने भनी युरोपेली युनियनले गरेको प्रस्ताव स्वीकार गर्ने सङ्केत गरेका थिए । विपक्षी आन्दोलनकारीले राष्ट्रपति निकोलस मदुरोका विरुद्धमा शनिबार बृहत् प्रदर्शन गरेर उनीहरूले आन्दोलनलाई थप चर्काउने चेतावनी दिँदै निर्वाचनको माग गरेका थिए । उनीहरूले राष्ट्रपति मदुरोलाई तत्कालै निष्पक्ष निर्वाचन गर्न माग गरेका थिए । उनीहरूले गरेको सो निर्वाचनको मागपछि शनिबार नै राष्ट्रपति मदुरोले पनि समय अगावै निर्वाचन गर्न सकिने प्रस्ताव गरेको बताइएको थियो । 
तर पनि मदुरोले दिएका भनिएको यो पछिल्लो अन्तर्वार्तामा भने विदेशीले अघि सारेको निर्वाचनको प्रस्तावलाई स्वीकार गर्न नसकिने बताएका अर्काे समाचार आएको छ । गएको शनिवार मात्र यस देशको राजधानी शहरमा राष्ट्रपति मदुरो र विपक्षी नेता गुइदोका समर्थकहरूको बेग्लाबेग्लै प्रदर्शनहरू आयोजना गरेका थिए । शनिबारको प्रदर्शनको क्रममा भेनेजुएलाका एक उच्च सैन्य अधिकारी फ्रान्सिस्को यानेजले गुइदोको समर्थनका लागि समेत आह्वान गरेका थिए । सो समर्थनपछि झन् गुइदो अघि बढेको बताइएको छ । 
मदुरोलाई सत्ताबाट हटाउन गुइदोले सैन्य अधिकारीहरूसँग गोप्य भेटवार्ताहरू गरेको र मदुरोको मुख्य समर्थक मानिएको चीनसँग पनि सम्पर्क बढाएको समाचारहरूमा बताइएको छ । विपक्षीहरूले तत्काल निर्वाचनको वातावरण नबनाएमा मदुरोलाई सहयोग गर्न नसक्ने चेतावनी दिएपछि मदुरोले यहाँको सङ्कट समाधानका लागि निर्वाचनको प्रस्ताव मान्न सक्ने अनुमान गरिएको थियो । भेनेजुएलामा पछिल्लो समयमा राजनीतिक सङ्कट बढ्दो छ । यहाँको राष्ट्रिय सभाका अध्यक्ष समेत रहेका गुइदोले राष्ट्रपति मदुरोलाई अवैध दाबी गर्दै आएका छन् । उनले केही दिन अगाडि आफैलाई अन्तरिम राष्ट्रपतिका रूपमा घोषणा गरेका थिए । उनको यो कदमलाई अमेरिका र अरू केही विदेशीहरूले समर्थन गरेपछि सङ्कट बढेको हो । (एजेन्सी)

मुख्य कमान्डर सहित सात लडाकु मारिए
काबुल । अफगानिस्तानको हेलमान्ड प्रान्तमा तालिबान लडाकुका कमान्डर सहित सात जना मारिएका छन् । अफगान सेनाले आइतबार जारी गरेको वक्तव्यमा अरू पाँच लडाकु घाइते भएका जनाइएको छ । वक्तव्यका अनुसार सरकारी सेनाले शनिबार चलाएको सुरक्षा कारवाहीमा परी उनीहरू मारिएका हुन् । 
सेनाले तालिबान लडाकु कमान्डर क्वारी जानान पनि सोही कारवाहीका क्रममा मारिएको समाचारमा जनाइएको छ । लडाकुहरूले आफ्ना अखाडामा राखेका अन्य बन्दोबस्तीका सामग्रीहरू पनि सो कारवाहीका क्रममा नष्ट गरिएको बताइएको छ । सेनाले सुरक्षाकर्मीतर्फको क्षतिका बारेमा भने कुनै जानकारी दिएको छैन । घटनाका बारेमा तालिबान लडाकुकोतर्फबाट पनि कुनै प्रतिक्रिया आएको छैन । (एजेन्सी)

भारतमा बेरोजगारीको समस्या उच्च
दिल्ली । भारतमा बेरोजगारी समस्या उच्च भएको एक अनुसन्धानले देखाएको छ । सरकारको नयाँ तथ्याङ्क अनुसार भारतको बेरोजगारी समस्या १९७० को दशक झैँ ग्रस्त देखिएको हो । भारतीय अर्थशास्त्री विवेक कलका अनुसार बेरोजगारी समस्याका कारण प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारलाई आगामी अप्रिलदेखि मे महिनासम्म सञ्चालन हुने आम चुनावमा ठुलो धक्का पुग्नेछ।
किनभने २०१३ को निर्वाचन अभियानका क्रममा भारतीय जनता पार्टीकातर्फबाट प्रधानमन्त्री बनेका मोदीले धेरैभन्दा धेरै रोजगारीको अवसर प्रदान गर्दै बेरोजगारी समस्या हल गर्ने वाचा गरेका थिए । पार्टीको नारा समेत त्यही थियो । प्रतिवेदनले भारतमा रोजगारीको ठुलो समस्या भएको बताएको छ । भारतमा रहेका जनसङ्ख्यामध्ये प्रत्येक पाँच जनामध्ये एक बेरोजगार भएको उल्लेख गरिएको छ । (एजेन्सी)

आर्थिक अवस्थाको ख्याल गर्न प्रधानमन्त्रीको आग्रह
खार्तुम । सुडानका प्रधानमन्त्री मुताज मुसाले आर्थिक अवस्थाको ख्याल गर्न सुडानी प्रदर्शनकारीहरूलाई आह्वान गरेका छन् । खार्तुममा शनिवार आयोजित एक कार्यक्रममा उनले भने ‘प्रदर्शनकारीको आवाज अवश्य सुन्नु पर्दछ र सम्मान गर्नु पर्दछ तर देशको आर्थिक अवस्था के छ त्यो पनि हेर्नु पर्छ ।’ 
आन्दोलनकारीहरूले तर्कपूर्ण मागहरू पनि उठाएको बताउँदै उनले ती मागहरूलाई सरकारले खुल्ला हृदयले पुरा गर्नेतर्फ लाग्ने पनि बताएको समाचारमा जनाइएको छ । उनले मुलुकको आर्थिक समस्यालाई पनि सँगसँगै मिलेर समाधान गर्ने सरकारको चाहना रहेको उल्लेख गरे । देशका आर्थिक समस्या जारी नै रहेको भन्दै ती मुद्दाको समाधान मिलेरै गर्ने पक्षमा सरकार रहेको पनि बताए । गत वर्षको डिसेम्बर १९देखि राजधानी खार्तुम सहित सुडानका विभिन्न ठाउँमा विरोध प्रदर्शनका कार्यक्रमहरू भइरहेका छन्, जसका कारणले देशमा आर्थिक अवस्थामा ह्रास आइरहेको समाचारमा जनाइएको छ । 
मूल्यवृद्धिका विरुद्धमा सरकारका विरुद्ध विपक्षीहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शन विगत लामो समयदेखि जारी नै रहेको छ । प्रदर्शनका क्रममा अहिलेसम्म कम्तीमा ३० जनाको मृत्यु भएको छ । निकै लामो समयको यो प्रदर्शनका कारण अरू कैयौँ घाइते भएको समाचारमा जनाइएको छ । त्यसैगरी यस आन्दोलनका कारण नागरिकका आधारभूत खाद्य लगायतका वस्तुहरूको पनि मूल्यवृद्धि भएको छ । (एजेन्सी)

रक्तिम चितवनको भेला सम्पन्न
भरतपुर । रक्तिम सांस्कृतीक अभियान चितवनको भेला २०७५ माघ १९ गते सम्पन्न भएको छ । रक्तिमका केन्द्रीय अध्यक्ष जनगायक जीवन शर्माको प्रमुख आतिथ्यतामा सो भेला सम्पन्न भएको हो ।
भेला आयोजक समितिकी सदस्य देवी शर्माको अध्यक्षता तथा माधव पौडेलको सञ्चालनमा भेला अगाडि बढेको थियो । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का प्रवक्ता राम प्रकाश पुरी विशिष्ट अतिथि रहनु भएको उक्त भेलामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य डम्बर पुरी, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्यद्वय डम्बर भण्डारी र खिमा पुन, राजमो चितवनका सल्लाहकार इन्द्र पौडेल, अखिल नेपाल उद्योग व्यापार सङ्घका केन्द्रीय कोषाध्यक्ष गोपाल गिरी, राजमो चितवनका उपाध्यक्ष अमर बहादुर क्षेत्री लगायतका अतिथिहरूका साथै जिल्लाका विभिन्न क्षेत्रबाट उपस्थित प्रतिनिधिहरूको सहभागिता थियो । 
भेलाले देवी शर्माको अध्यक्षतामा सात सदस्यीय रक्तिम सांस्कृतिक अभियान जिल्ला समिति चितवनको गठन गरेको छ, जसको सचिवमा दिपेन्द्र आचार्य, कोषाध्यक्षमा लक्ष्मी चालिसे, सदस्यहरूमा वसन्त ढकाल, कल्पना चालिसे, एलिसा गौतम र रञ्जु गौतम निर्वाचित हुनु भएको छ ।
नवनिर्वाचित समितिलाई रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि जीवन शर्माले बधाइ तथा शुभकामना दिनु भएको थियो । सो अवसरमा शर्माले रक्तिम सांस्कृतिक अभियानको गरिमा अझ बढी उचो बनाउन तथा सर्वहारा सांस्कृतिक चेतना वृद्धि गर्नमा नवनिर्वाचित समितिले योगदान गर्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले मन्तव्यकै क्रममा “रातो लालटिन” र “चाहिँदैन मलाई सिसाको महल” भन्ने बोलको गीत समेत गाउनु भएको थियो । सम्पूर्ण रक्तिमलाई माया गर्ने संसारभरका न्यायपूर्ण श्रमजीवी जनतालाई अविचलित रूपमा डटेर अन्यायको विरुद्धमा तथा न्यायको पक्षमा लाग्न समेत उहाँले अनुरोध गर्नु भयो । सो समितिलाई नेपाल कम्युनिस्ट पार्टी (मसाल) का प्रवक्ता राम प्रकाश पुरी, राजमो केन्द्रीय सदस्य डम्बर पुरी, रक्तिम सांस्कृतीक अभियानका केन्द्रीय सदस्य डम्बर भण्डारी, राजमो चितवनका उपाध्यक्ष अमर बहादुर क्षेत्री लगायतले बधाइ मन्तव्य दिनु भएको थियो ।

मिरुले लेक बचाउन सङ्घर्ष जारी 
लिवाङ । रोल्पा जिल्लाको साविक रुन्टीगढी–६ स्थित मिरुले लेकलाई उत्खनन् गरी चुनढुङ्गा खानी बनाउने कार्य रोक्नका लागि गठित स्थानीय सङ्घर्ष समितिको आन्दोलन उत्कर्षमा पुगेको छ । देउखुरी लमही नगरपालिका हस्नापुरमा रहेको सम्राट सिमेन्ट उद्योगले उक्त लेक काटेर चुनढुङ्गा खानी बनाउन रातारात बाटो निर्माण र अनुसन्धान कार्य सुरु गरेपछि स्थानीयहरू एकाएक सङ्घर्षमा उत्रेका हुन् ।
उनीहरूले आम गाउँलेहरूको भेला बोलाई रुन्टीगढी प्राकृतिक श्रोत–सम्पदा तथा विकास सरोकार सङ्घर्ष समिति समेत गठन गरेका छन । सङ्घर्ष समितिको संयोजक एवं रेडियो होलेरीका स्टेसन म्यानेजर केशवराज चन्दको संयोजकत्वमा गत मङ्सिर १३ गते स्थानीयहरूको भेलाबाट १५ सदस्यीय सङ्घर्ष समिति गठन भएको थियो । उक्त सङ्घर्ष समितिले मिरुले लेकसम्म पुग्ने सडक निर्माण कार्य र चुनढुङ्गा उत्खननका लागि निर्माण गरिएका संरचना र मेसिनहरू जडान गर्ने कार्य समेत बन्द गरिदिएका छन् ।
मिरुले लेक समुद्र सतहबाट दुई हजार एक सय ५० मिटरको उचाइमा अवस्थित रहेको छ । उक्त लेक उत्खनन गरिएमा रोल्पाको खारागाउँ, सिउधारा गाउँ, होलेरी बजार, निगालपानी गाउँ, डुम्रेगाउँ, सरेचौर गाउँ लगायतका मानव बस्तीहरू विस्थापित हुने वा जोखिममा पर्ने गाउँलेहरूको भनाइ छ । त्यसैगरी मिरुले लेक वरिपरि रहेका मिरुले लेक, सामुदायिक वन, काफलगैरा सामुदायिक वन, लालिगुराँस सामुदायिक वन, सरेचौर निगालपानी सामुदायिक वन, भारत देखिने सामुदायिक वन, तामपानी सामुदायिक वन, सल्लेरी सामुदायिक वन, पातलगढी सामुदायिक वन लगायतका सामुदायिक वनहरू प्रत्यक्ष जोखिममा पर्ने देखिन्छ । त्यसैगरी हापुरखोला मुहान, सेवारखोला मुहान, ग्वारखोला मुहान, खारा मुहान, चन्दनखोला मुहान, तापपानी मुहान लगायत सुकीदह समेत सुकेर मरुभूमीकरण हुने गाउँलेहरूको ठम्याइ रहेको छ । उक्त लेकमा पाइने बाँस, गुराँस, अगेर, भलाए, सैपा, उत्तिर, मियार, अ‍ैसेलु, धुपी लगायतका प्रजातिहरू नष्ट हुने, कालिज, तित्रो, चाखुरा, वट्टै, सारी, ढुकुर, काग, कोइली, दुम्सी, मलेवा, बाज, वौडे, चिल, लाम्पुछुरे, लाटेकोसेरो, बुद्रुङ लगायतका पङ्क्षीहरू लोप हुने खतरा रहेको छ भने संसारबाट नै लोप हँुदै गएका प्रकृतिको कुचिकारका रूपमा रहेको गिद्धको वासस्थान रहेको उक्त लेकबाट गिद्ध समेत लोप हुने विकराल खतरा रहेको छ । त्यसैगरी बाघ, भालु, बदेल, रतुवा, घोरल, रातो बादर, मलसाप्रे, स्याल लगायतका वन्यजन्तुहरू सङ्कटमा पर्ने उनीहरूले ठहर गरेका छन ।
उक्त मिरुले लेक बचाऊ सङ्घर्ष समितिको आह्वानमा भू तथा पर्यावरण सङ्घर्ष समितिका केन्द्रीय सदस्य महेश रिजालको नेतृत्वमा माघ १७ गते होलेरी रोल्पास्थित उक्त मिरुले लेकको स्थलगत अध्ययन र अवलोकन गरी सङ्घर्ष समिति र सरोकारवाला स्थानीय गाउँलेहरूसँग भेट गरी प्रकृति बचाऊ अभियानमा पूर्ण साथ रहने वचनबद्धता समेत टोलीले व्यक्त गरेको थियो ।

रानीपोखरी निर्माण प्राधिकरणले गर्ने
काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले रानीपोखरी पुनःनिर्माणको कार्य गर्ने भएको छ । सरकारले रानीपोखरी र बालगोपालेश्वर मन्दिर लगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनःनिर्माणसम्बन्धी सम्पूर्ण कार्य प्राधिकरणले गर्ने गरी जिम्मेवारी दिएपछि पुनःनिर्माण गर्ने भएको हो । परम्परागत शैली र मौलिकतालाई संरक्षण गरी रानीपोखरी वरिपरिको भाग प्रताप मल्लकालीन शैलीमा पुनःनिर्माण गरिने जनाइएको छ । 
रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण गुम्बज शैलीमा गर्ने कि ग्रन्थकुट शिखर शैलीमा गर्ने भन्ने विवाद थियो । विज्ञले दिएको सुझाव समेतका आधारमा प्राधिकरणले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभाग एवं काठमाडौँ महानगरपालिका लगायतसँग समन्वय तथा सहजीकरण गरी पुरानै शैलीमा पुनःनिर्माण गर्ने निर्णय छ । यही माघ १४ गतेको मन्त्री परिषदको बैठकले प्राधिकरणलाई पुनःनिर्माणको जिम्मेवारी दिइएको जनाइएको छ । 
प्राधिकरणले भूगर्भविदबाट रानीपोखरीमा पानी कसरी जम्मा गर्न सकिन्छ र कसरी अड्याउन सकिन्छ भन्ने अध्ययन गराएको थियो । विज्ञले ३०० फिट तलबाट पानी निकाल्न सकिने र कालीमाटीको प्रयोग गरी पानी अड्याउन सकिने प्रतिवेदन दिएका छन् । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुरातत्व विभाग काठमाडौँ महानगरपालिका, विज्ञ, सरोकारवाला सङ्घ÷संस्था, स्थानीय समुदाय लगायतसँगको परामर्श र समन्वयमा प्रताप मल्लकालीन शैली, प्रविधि र निर्माण सामग्रीको प्रयोग गरी पुनःनिर्माण गर्ने बताए ।

राजमोद्वारा गाउँँपालिकालाई ध्यानाकर्षण
दाङ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङले प्राकृतिक श्रोतसाधन तथा नदीजन्य पदार्थको अनियन्त्रित उत्खननका विरुद्धमा राजपुर गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । जिल्ला अध्यक्ष गणेश आचार्यले २०७५ माघ २२ गते ध्यानाकर्षण पत्र वाचन गरी गाउँपालिका अध्यक्ष लोकराज केसीलाई हस्तान्तरण गर्नु भएको थियोे ।
ध्यानाकर्षण पत्रमा प्राकृतिक श्रोतसाधन तथा नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा बाहिर निकासी तत्काल रोकिनु पर्ने तथा स्थानीय उपभोक्ताले सहज रूपमा उपभोग्य वस्तु पाउनु पर्ने कुरामा ध्यानाकर्षण गरिएको छ । उक्त पत्र बुझ्दै गाउँपालिका अध्यक्षले हामीले अनियन्त्रित उत्खनन रोक्ने कोशिस गरेको र विधि प्रक्रिया पुरा गरेर टेन्डर प्रक्रियाबाट उत्खनन गर्ने गरेको कुरा बताउनु भयो । 

विद्यालयमा शैक्षिक सामग्री वितरण
सन्धिखर्क । अर्घाखाँची मल्टिमिडिया प्रा.लि.द्वारा सञ्चालित सन्धिखर्क एफ.एम. ८९.८ मेगाहर्जले स्थापना भएको पहिलो वर्ष पुरा गरी दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा दलित बस्तीमा रहेको विद्यालयका छात्रछात्राहरूलाई एक कार्यक्रमको आयोजना गरी शैक्षिक सामग्री वितरण गरेको छ । रेडियोले सन्धिखर्क नगरपालिका वडा नम्बर ९ अर्घामा रहेको अर्घा भगवती आधारभूत विद्यालय दरवारका ७२ जना दलित समुदायका छात्रछात्राहरूलाई २०७५ माघ १८ गते शैक्षिक सामग्री वितरण गरेको हो । सामग्री वितरण कार्यक्रममा प्रमुख अतिथिको रूपमा मन्तब्य राख्दै सन्धिखर्क नगरपालीकाका उपप्रमुख ठाकुर कुमार विक किशोरले समग्र जिल्लाको विकास र समृद्धिको पक्षमा रेडियोले गरेको भूमिकाप्रति प्रशंसा गर्दे आगामी दिनमा अझै प्रभावकारी र रचनात्मक ढङ्गबाट अगाडि बढ्नु पर्ने भन्दै बताउनु भयो । धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको अर्घामा गरिएको कार्यक्रमले सकारात्मक सन्देश दिने बताउँदै विकले सञ्चार क्षेत्रको विकासका निम्ति नगरपालिका सधैँ सकारात्मक रहेको बताउनु भयो । 
विद्यालय ब्यवस्थापन समितिका सदस्य भक्त बहादुर परियारको अध्यक्षता रेडियोका स्टेसन म्यानेजर श्याम घिमिरेको स्वागत मन्तव्य र पत्रकार जितेन्द्र खत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष हिम बहादुर जिसी लेकाली, विद्यालयका प्र.अ. हरि बहादुर गन्धर्व, शिक्षक लक्ष्मी पोख्रेल लगायतले मन्तव्य राख्दै रेडियोले सूचना र सञ्चारको क्षेत्रमा गरेको कामको प्रशंसा गर्दे शुभकामना व्यक्त गर्नु भयो ।
सन्धिखर्क–२ चुत्राबेसीस्थित प्रशिद्ध धार्मिक स्थल शिद्वेश्वर शिवालय मन्दिर भक्तिटोलबाट प्रसारित एफ.एम. ले २०७४ माघ १ गतेबाट नियमित प्रसारण सुरु गरेको थियो । बिहान ५ देखी राती ११ बजेसम्म दैनिक १८ घण्टा सञ्चालनमा रहेको रेडियोले ज्ञान, मनोरञ्जन, सूचना र विभिन्न चेतनामूलक कार्यक्रमहरू उत्पादन गरी प्रसारण गरिएको स्टेसन म्यानेजर श्याम घिमिरेले बताए ।े

राउटे र मुसहरसम्म सम्मानित 
ललितपुर । नेपाल कृषि सहकारी केन्द्रीय सङ्घले आफ्नो एघारौँ साधारण सभाको अवसरमा शिर्षा साना किसान कृषि सहकारी संस्थाका सदस्य मदनसिंह राउटेलाई उत्कृष्ट किसानका रूपमा सम्मान गरेको छ । २०७५ माघ १७ गते सम्पन्न साधारण सभाका अवसरमा जङ्गलमा बस्दै आएका राउटे समुदायलाई उक्त सहकारीले सम्मान गरेको हो । पुरस्कृत हुने राउटेले बाख्रा र कुखुरा पालन गर्दै आएका छन् ।
त्यसैगरी सङ्घले लाटिकोइली सुर्खेतका छविलाल खड्कालाई पनि उत्कृष्ट किसानका रूपमा सम्मान गरेको छ । नेपालमै च्याउको बिउ उत्पादन गर्ने युवा किसान दुलारी, मोरङका सरोज नेपाललाई पनि सङ्घले सम्मान गरेको छ । साना किसान कृषि सहकारी संस्था मार्फत् महको व्यवसाय गर्दै आएको मकवानपुरको काँकडाका दिपनप्रजा (चेपाङ) पनि यस वर्ष उत्कृष्ट किसान बनेका छन् । इनर्वासिरा बारा साना किसान कृषि सहकारी संस्थाकी सदस्य सबरा खातुन यस वर्ष उत्कृष्ट किसान बन्न सफल भएकी छिन् । उनले गाईभैंसी र बाख्रा पालन गरिकी छिन् ।
कुनै समय मुसा मारेर खाने जाति पवित्रा देवी मुसहर अहिले बाख्रा पालेर राम्रो आम्दानी गर्न सफल भएका छन् । रघुनाथपुर धनुषा साना किसान कृषि सहकारी संस्थाकी सदस्य उनलाई पनि यस वर्षको उत्कृष्ट किसान पुरस्कार प्रदान गरिएको छ । त्यसैगरी गाईभैँसी पालन र तरकारी खेती गरिरहेका पदरिया, सिराहाका सदस्य दिनेश शाह पनि उत्कृष्ट किसानका रूपमा सम्मानित भएका छन् । उत्कृष्ट किसानहरूलाई अर्थमन्त्री डा. युवराज खतिवडाले प्रशंसा पत्र र नगद पाँच हजार रूपैया हस्तान्तरण गरेका थिए । यसैगरी नेपाल कृषि सहकारी केन्द्रीय सङ्घले साना किसान कृषि सहकारी सस्ंथा गुमी सुर्खेतकी प्रवन्धक दिपा राना, साना किसान कृषि सहकारी सस्ंथा रघुनाथपुर धनुषाका प्रबन्धक दिपनारायण पुर्वे र साना किसान कृषि सहकारी सस्ंथा महारानीझोडा झापाका प्रवन्धक चिरञ्जीवी भण्डारीलाई पनि सम्मान गरिएको थियो ।

सुनकाण्डमा खड्का पक्राउ
काठमाडौँ । साढे ३३ किलो सुन तष्करीमा जोडिएका फरार अभियुक्त हरिशरण खड्का संयुक्त अरब इमरेट्सको दुबईमा पक्राउ परेका छन् । खड्का विरुद्ध रेड कर्नर नोटिस जारी भएको थियो । उनलाई दुबईमा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
खड्का सुनम शाक्य हत्या र साढे ३३ किलो सुन तष्करीसँगै २०७३ पुष २० गते केन्द्रीय अनुसन्धान ब्युरोले बरामद गरेको साढे ३३ किलो सुन तष्करीमा समेत प्रतिवादी बनाएका आरोपी हुन् । खड्का झण्डै १४ वर्ष अघि कामदारका रूपमा दुबई पसेका थिए । दुबईबाटै उनले सुन तष्करीको कारोबार सुरु गर्दै गिरोहकै नाइकेको रूपमा उदाएका थिए । पक्राउ परेका खड्कालाई आवश्यक कानुनी प्रक्रिया पुरा गरेर नेपाल ल्याइनेछ ।

अक्षयकोष स्थापना तथा कविता प्रतियोगिता सम्पन्न
सन्धिखर्क । गङ्गेश्वरी प्रतिष्ठान छत्रदेव–६ अर्घाखाँचीले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय छत्रदेव–६ ठुलापोखरामा कीर्तिशेष ईश्वरी प्रसाद पाण्डे र गङ्गादेवी पाण्डेको सम्झनामा एक भव्य कार्यक्रको आयोजना गरी एक लाख रूपैयाको अक्षयकोष स्थापना तथा विद्यालय स्तरीय कविता प्रतियोगिता सम्पन्न गरेको छ । 
कार्यक्रमको विधिवतः उद्घाटन गर्दै छत्रदेव गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष कमल पौडेलले कीर्तिशेष ईश्वरी प्रसाद पाण्डे र गङ्गादेवी पाण्डेको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना तथा विद्यालय स्तरीय कविता प्रतियोगिता आयोजना गर्नु भएकोमा समस्त पाण्डे परिवारलाई धन्यवाद दिदै शैक्षिक विकासमा पाण्डे परिवारले पुर्‍याउनु भएको योगदानको मुक्त कण्ठले प्रशंसा गर्नु भएको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चा जिल्ला समिति अर्घाखाँचीका उपाध्यक्ष गोपाल पौडेलले काठमाडौँमा स्थायी रूपमा बसोवास रहेता पनि आफ्नो जन्मस्थानमा यसरी गरिएको सामाजिक कार्य पक्कै पनि उदाहरणीय भएको उल्लेख गर्दै विद्यार्थीहरूको चौतर्फी विकासका लागि विभिन्न प्रतियोगिताहरू अपरिहार्य भएकाले निरन्तरताको कामना गर्नु भएको थियो । कार्यक्रममा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्र.अ. शालिकराम उपाध्याय, लुम्बिनी वाङमय प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ साहित्यकार विष्णु वस्याल, सूर्यथुम संयुक्त क्याम्पसका प्रध्यापक देविराम पाण्डे, राष्ट्रिय जनमोर्चा छत्रदेवका अध्यक्ष नेत्र गैरे, नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीका कोषाध्यक्ष तथा प्रगतिशील पत्रकार सङ्घ अर्घाखाँचीका अध्यक्ष विनोद गैरे, प्रगतिशील पत्रकार सङ्घ गुल्मीका अध्यक्ष हरि न्यौपाने, स्थानीय स्वास्थ्य चौकी प्रमुख अस्मिता थापा, स्थानीय विद्यालयका प्रधानाध्यापक, बुद्धिजीवीका साथै स्थानीयहरूको उपस्थित रहेको थियो ।
औपचारिक कार्यक्रम उद्घाटन पश्चात सुरु भएको कविता प्रतियोगितामा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयवाट मीरा पाण्डे, रन्जिता भट्टराई र झरना पाण्डे, मालिका इङलिस बोर्डिङ स्कुलबाट सुजता रेग्मी, अस्मिता रेग्मी र विविषण श्रेष्ठ, भगवति आधारभूत विद्यालयवाट निरुता शाह, अनिषा डम्बरपाल र राजन पाण्डे, त्यस्तै सरस्वति आधारभूत विद्यालयवाट सरिता विकले भाग लिएका थिए, जसमध्ये मालिका इङलिस बोर्डिङ स्कुलकी अस्मिता रेग्मी प्रथम, सरस्वति आधारभूत विद्यालयकी सरिता विक द्वितीय, नेपाल राष्ट्रिय माध्यमिक विद्यालयकी रन्जिता भट्टराई तृतीय र भगवति आधारभूत विद्यालयका राजन पाण्डेले सान्त्वना स्थान हासिल गरेका थिए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई जनही दुई हजार १५ सय, एक हजार र पाँच सय, प्रमाण पत्र, अविर तथा फूलमालाले सम्मान गरिएको थियो । कार्यक्रम प्रतिष्ठानका संरक्षक चिरञ्जीवी पाण्डेको अध्यक्षता, प्रतिष्ठानका अध्यक्ष रामदेव पाण्डेको स्वागत मन्तव्य तथा सदस्य लक्ष्मणदेव पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राजमोको देशव्यापी विरोध सभा
रक्तिम राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा
महामन्त्री सिंहको आत्मालोचना
अध्यक्ष बुढाथोकी बिरामी
जापान नेपाली एकता समाजको टोकियोमा भेला
पूर्व मन्त्री सहित १३ विरुद्ध भ्रष्टाचार मुद्दा
निरन्तर जारी छ “जागौँ युवा लागौँ युवा” अभियान
सहिद र समय
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal