२०७६ वैशाख ११ गते   वर्ष ३६, अङ्क २३
मिति(२०७६ वैशाख १२, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
लेखहरू
विश्व साहित्यका एक अमर नक्षत्र गोर्कीलाई सम्झिँदा
नारायण योगी
विश्वविख्यात रूसी लेखक मेक्सिम गोर्कीको यस वर्ष १५१ औँ जन्म दिवस परेको छ । यस सन्दर्भ पारेर राप्ती गाउँपालिकाका केही साहित्यप्रेमी साथीहरू जुटेर एक साहित्यिक संस्था स्थापना गरेर साहित्यिक क्षेत्रमा खास गरेर राप्ती गाउँपालिकाभित्र साहित्यिक गतिविधि तीव्र पार्ने कुरासँग त्यो संस्था बढी जिम्मेवार हुनेछ । अहिले त्यो केवल एक भेला आयोजक समितिको रूपमा बनाइएको छ रपछि अर्थात् वैशाख १८ गते मजदुर दिवसको अवसर पारेर त्यो संस्था गठनको प्रक्रियाले पूर्णता पाउनेछ । संस्थाबारे यत्ति नै ।
गोर्कीको साहित्यिक रचनाहरू, विशेषतः विश्वप्रसिद्ध उपन्यास “आमा” का बारेमा विश्वका अधिकांश अध्ययनशील मानिसहरूलाई जानकारी छ नै । मैले पनि “आमा” उपन्यास प्रवासमा काम गर्दा सन् १९८५ तिर आद्योपान्त पढेको थिएँ । मैले त्यतिबेला “आमा” पढेर निकै उर्जा प्राप्त गरेको अनुभूति अहिले पनि स्मरणमा ताजै छ । त्यसपछि “मेरो विश्वविद्यालय”, “मेरो बाल्यकाल” र “मेरा जीवनको मार्ग”, साथै अन्य कथाहरूको अध्ययन गर्ने अवसर जुर्‍यो ।
गोर्कीको जन्म २८ मार्च (रसियन पात्रो अनुसार २९ मार्चलाई मान्ने चलन छ ) १८६८ मा निझ्नी नोब्गोरोडको गाउँमा एउटा निम्न मध्यम वर्गीय परिवारमा भएको थियो । उनको बाल्यकालको वास्तविक नाम अलेक्सी मेक्सिमोभिच पेसकोभ थियो । निभ्mनी नोब्गोरोडलाईपछि सरकारले गोर्की नगर राख्यो । अहिले त्यो गोर्की नगरको नामले जानिन्छ ।
गोर्कीको पिता अलेक्सेई मेक्सिमोभिच पेसकोभ थिए भने आमा बार्बरा बसिल्येब्ना पेसकोभ थिइन । 
गोर्कीको जीवन बाल्यकालदेखि युवा अवस्थासम्म पुग्दा निकै कठिन र कष्टपूर्ण रूपमा बितेको उनले लेखेका तीन वटा पुस्तकबाट जानकारी प्राप्त हुन्छ । 
उनको बाजे सोभियतको एउटा फौजी सिपाही थिए ।पछि अफिसर पनि बने । उनी निकै क्रुर स्वभावका भएकाले आफूभन्दा तलका जवानलाई क्रुरतापूर्वक यातना दिने गर्नाले उनलाई सरकारले साइबेरियामा पठाइदियो । गोर्कीको पिताको जन्म साइबेरियामै भएको कुरा उनको मावली बज्यैले बताएकी छिन् ।
उनको पिताको जीवन पनि निकै कष्टकर नै रहेको कुरा उनको मावली बज्यैको भनाइबाट झल्किन्छ । उनी सानो छँदा नै आमाको मृत्यु भयो भने ९ वर्षको उमेरमा उनको पिताको देहावसन भयो । उनको पिता युवावस्था पुग्दा राम्रो सिकर्मी भइसकेका थिए ।पछि उनको विवाह बार्बरासँग भयो । यता गोर्कीका मामाहरूले उनको पितालाई निको मान्दैनथे र एकपटक त उनको ज्यानै लिने उद्देश्यले उनलाई बरफको ठुलो पोखरीमा ढकेलिदिए । यसरी मेक्सिमोभिच पेसकोभ बल्लबल्ल मृत्युको मुखबाट जोगिए । यस घटनाका कारण पेसकोभको परिवारलाई निझ्नी नोब्गोरोडमा बस्न सक्ने अवस्था रहेन र उनी रूसको आस्त्राखान शहरमा गएर काम गर्न थाले । आस्त्राखानमा जाँदा गोर्कीको उमेर पाँच वर्षको थियो । ठिक त्यही वर्ष ठुलो हैजाको प्रकोप फैलियो र त्यही रोगका कारण गोर्की पिताको अकालमै मृत्यु भयो र गोर्की बाबु बिनाका टुहुरा बने । 
गोर्कीले “मेरो बाल्यकाल“ पुस्तकमा आफ्नो पिताजीको अन्तिम स्मृतिका बारेमा स्मरण गर्दै लेखेका छन् –“पिताजी अलि अलि अँध्यारो सानो कोठाको भुइँमा झ्यालनेर सुत्नु भएको थियो । सेतो लुगा लगाउनु भएको उहाँ निकै लामो देखिनु हुन्थ्यो । उहाँको नाङ्गो खुट्टाका बेडौल नराम्रा बडारिएका औँलाहरू फैलिएका थिए । ...दयालु अनुहार विदीर्ण थियो । यस्तो अवस्था मैले जीवनमा कहिल्यै देखेको थिएन । मानिसहरू रोइरहेका थिए । मावली बज्यैले पटक पटक दोहोराएर भनेका यी शब्दहरू “तिम्रो पिताजी बितिसकेका छन् बाबु, जाऊ र धित मरुञ्जेल हेरेर आऊ बाबु, अब तिमीले कहिल्यै आफ्नो बाबालाई भेट्न पाउने छैनौँ । तिम्रो पिताजी, अकाल र असमयमै बिते बाबु, असमयमै बिते” मेरो मानस पटलमा नाँचिरहन्छन् भनेका छन् । 
यसरी गोर्की पाँच वर्षमै टुहुरा बने । यता उनको आमा बार्बरालाई भ्रम भयो भने कि गोर्कीको स्याहार गर्दागर्दै उनको पतिलाई हैजाले समात्यो र उनको पतिको मृत्यु भयो र उनको पतिको मृत्युको लागि उनले आफ्नो छोरालाई नै दोषी मानिन् र गोर्कीप्रति कठोर व्यवहार अपनाउन थालिन् ।
पिताको मृत्यु पश्चात् गोर्कीको जीवनमा मावली बज्यै अकुलिता इबारोब्नाको प्रवेश भयो । उनको प्रवेशले गोर्कीको साहित्यिक व्यक्तित्व निर्माणमा निकै अह्म भूमिका निर्वाह गरायो । अकुलिनामा राम्रा राम्रा गहकिला कथाहरू सुनाउन सक्ने अद्भूत कला थियो । उनले सो प्रसङ्गको स्मरण गर्दै लेखेका छन्– “मावली बज्यैको एक–एक शब्दहरू महमा मिस्सिए समान निकै मिठा हुन्थे । हरेक शब्दहरू फूल जस्तै सुगन्धित मगमग बसाउने रसिला, सिधै ती शब्दहरू मन–मस्तिष्क गडिहाल्थ्यो । जब उनी मुस्कुराउँथिन्, ती उनका काला आँखाका पुतलीहरू अनायासै फैलिन्थे । यसरी उनको आँखामा अवर्णनीय चमक देखा पर्दथ्यो । उनी हाँस्दा दाँतका बलिया चाँदी जस्ता पङ्क्तिहरू झल्किन्थे । उनको चाउरी परेका अनुहारमा रेखाहरू बाक्लै देखिए पनि अनुहारमा काती त्यत्तिकै थियो ।” 
उनी अगाडि थप्छन्– “मलाई भान भयो कि उनी मेरो जीवनमा आउनु अगावै म कुनै अँध्यारो कोठामा निद्रामा मस्त थिए । उनले मलाई ब्युँझाएर उज्यालोमा पुर्‍याइदिइन् । मेरो वरिपरिका चिजहरूलाई एउटा धागोमा उनिदिइन् । मेरो वरिपरिका हरेक वस्तुलाई उनेर माला बनाइदिइन् । उनी मेरो जीवनभरिका लागि भित्र, मेरो हृदयको निकै निकट, सुबोध, सबैभन्दा प्रिय व्यक्ति बनिन् । जीवनप्रतिको उनको निस्वार्थ भावनाका कारण मलाई नयाँ प्रेरणा दिएर ओतप्रोत गराइन् र मलाई शक्तिशाली बनाइन्, जसका कारण म आफ्नो कठिनतम बेलामा पनि भविष्यका सबै चीजहरूलाई सामना गर्न सके ।”
गोर्कीको बाल्यकालमा उनको मावली बज्यैले गोर्कीको आन्तरिक जीवनमा रहेको सुनेको विराट् साहित्यिक व्यक्तित्वलाई जगाउने काम गरिन् । त्यस्तै, उनी पानीजहाजमा काम गर्दादेखि जहाजको भान्से स्मुरीले उनलाई किताबहरू ल्याएर दिन्थ्यो । पढेर सुनाउन भन्दथ्यो । उसका बारेमा उनी लेख्छन्–“उनले सधैँ मसँग यही भन्दथे, “पढ, खुब पढ्, यदि तिमीलाई कुनै किताब पढ्दा बुझिएन भने, सात पटक पढ, यदि सात पटक पढेर पनि बुझिएन भने, बाह्र पटक पढ..... यदि तिमी अलि ठुला भएका भए तिमीलाई मैले धेरै कुराहरू सिकाउने थिएँ । ......तिमी किताब पढ, किताबमा कामका कुराहरू नै लेखिएको हुुनु पर्छ । किताब बेकामका चीज होइनन्..... यदि म धनी भएको भए तिमीलाई पढ्नका लागि स्कुलमा भर्ना गरिदिने थिए । अशिक्षित मानिसलाई पशु जस्तै ठान । तिमीले चाहेमा उसको काँधमा हलो राखेर जोत वा उसलाई टुक्राटुक्रा पारेर समाप्त पार, उसले केवल कुकुरले पुच्छर हल्लाए झैँ सधैँ केवल मालिक अगाडि–पछाडि गरिरहन्छ ।” गोर्कीलाई जब त्यो जहाजको काम छोड्नु पर्‍यो, त्यतिबेला स्मुरीले यसो भनेका थिए– “किताब पढ्नू, किताबभन्दा संसारमा ठुलो साथी कोही छैन ।” त्यसैले गोर्कीले किताबका सन्दर्भमा यो भनेका छन्– “संसारको कैयौँ अविष्कारमध्ये किताबको आविस्कार पनि महत्वपूर्ण आविष्कार हो ।” उनी त्यहाँबाट मावली बाजेबज्यैकहाँ आए । त्यहाँ आएर उनले सुरुमा चरा समात्ने काम गरे । त्यो कामबाट आय भए पनि बाजेले सधैँ भन्ने कुरा “तिमी यो चरा समात्ने काम गरेर कहिल्यै अगाडि जान सक्दैनौँ”, यो कुराले उनलाई दुःखी तुल्याउँथ्यो ।पछि उनी बज्यैको बहिनीको घरमा गए । त्यहाँ एक जना दर्जीको परिवार बस्दा रहेछन् ती दर्जी निकै प्रसिद्ध रहेछन् । उनको जहानलाई उनले किताबको पसल खोलिदिएका रहेछन् । त्यहीबाट उनले लुकीलुकी किताब ल्याएर पढ्दा रहेछन् । यस्तै, जहाँ काम गर्दथे, त्यो घरकी बुढी मालिक्नीले किताब पढ्न लागेको देखेपछि निकै गाली गर्ने, पिट्नेसम्मको काम गर्दी रहिछन् । उनले किताब पढ्ने आफ्नो चाखका कारण के के समस्या बेहोर्नु पर्‍यो ? त्यसबारेमा उनी लेख्छन्– किताब पढ्ने बानीका कारण मैले के कस्ता कुराहरू सहनु परेन ? अपमानका निष्ठुरी वचनहरू सहनु पर्‍यो । हृदयमा कैयौँ घाउहरू बने, जसलाई सम्झ्दा मेरो मन विकल पनि हुन्छ । साथै हाँसो पनि लाग्छ । उनले किताब पढेपछिको आफ्नो मनोभावका बारेमा यसरी व्यक्त गर्दछन्– “किताबलाई मैले अलग राखिदिन्थे । गणितको प्रश्नमा जसरी मैले त्यसमा दिमाग खियाउन थाल्दथेँ, यसरी मैले निकालेको निष्कर्ष सही सावित हुन्थ्यो । जसरी कुनै पात्रलाई हर प्रकारका सुविधा प्राप्त हुनेछ, स्वर्गमा जस्तै वा कुनै पात्रलाई नर्कमा जानु पर्नेछ । त्यसै गरेर उनलाई सधैँ के कुराले पिरोल्थ्यो भने जति पनि परिश्रमी र राम्रा सज्जन मानिसहरू छन्, उनीहरू सधैँ दुःखजिलो गरेर जीवन चलाइरहेका र खराब मानिसद्वारा प्रताडित छन् । किन यस्तो भइरहन्छ ? उनले यसको हल, कुनै चमत्कारद्वारा उनीहरूका सबै दुःख दूर भएर गएको असत्यको हार, सत्यको जीत भएको देखाउने गर्दथे, आफ्ना विभिन्न रचनाहरूमा ।
गोर्कीको औपचारिक शिक्षा ३ कक्षासम्म मात्र रहेको देखिन्छ । उनी स्कुलमा पढ्न जानुका साथै जीवन धान्नका लागि विभिन्न आयमूलक काम पनि गर्दथे । जस्तै– कवाड जम्मा गरेर बेच्दथे । त्यो कामका बारेमा स्कुलमा पढ्ने सहपाठीलाई थाहा भयो र उनको उपनाम “चोर” राखियो । यसैगरी स्कुल पढ्न जाँदा उनले लगाउने मिलेका कपडा नभएका कारण उनले पुराना बाजेबज्यैका कपडा लाएर जाँदा उनी भद्दा नमिल्दो देखिने भएकाले उनको नाम “इँटको एक्का” पनि राखिदिएका कारण र स्कुलमा बेलाबेला अपमानित हुनु पर्दा उनको स्कुलको पढाइ छुट्न गयो । उनलाई स्कुलमा “आवारा चोर” को सङ्ज्ञा पनि दिइएको थियो । यस प्रकार उनी १०–११ वर्षको छँदा नै उनको आमाको मृत्यु भएपछि र उनको मावली बाजेले विभिन्न ताना कस्न थालेपछि उनी त्यो घरबाट निस्किएर कहिले फेन्सी पसलमा, कहिले होटलमा कहिले कवाडी, कसैको घरमा भाँडा माझ्ने रपछि पानीजहाजमा काम गरे र निकै धेरै अनुभवहरू सँगाल्दै गए ।
उनले विश्वका नाम चलेका साहित्यकारहरू राबिन्सन क्रुसो, सेक्सपियर, बाल्जाक, गौनकोर्ट, ग्रिनवुड, ड्युमा, मौन्तेपिन, जाकान्ने, गावोरियो, एमर बुआगेबे, रुहलान, प्रसिद्ध रूसी कवि लेर्मोन्तोभ, रसी साहित्यकार पुस्किन, तोल्सतोय, अन्तोन चेखभ आदि विभिन्न लेखकका रचना पनि अध्ययन गरे । गोर्कीले आफ्नो २४ वर्षको युवा अवस्थामै लेखकको रूपमा स्थापित भइसकेका थिए । सुरुमा उनी नरोदवादी विचारका मानिसहरूको सम्पर्कमा रहे ।पछि माक्र्सवादी अध्ययन मण्डलमा सामेल हुँदै क्रान्तिकारी विचार बोकेको बोल्सेभिक पार्टीको सम्पर्कमा आएर भूमिगत रूपमा पार्टीको काममा लागे । १९००पछि उनी बोल्सेभिक पार्टीको मुखपत्र इस्क्रा (झिल्को) को अध्ययन गर्न थाले र यसरी माक्र्सवादी विचारको नजिक हुन पुगे । १९०१ मै उनले “कोल्टे” कुपमण्डुक, फोमा गोर्देयेभ कथा र “ उनीहरूसित” उपन्यास लेखे, जोपछि प्रशिद्ध भए । १९०५ को वर्ष गोर्की र सम्पूर्ण रूसका लागि नै सुखद रह्यो । जारलाई पिता समान मानेर लाखौँ मानिसहरू ९ जनवरी १९०५ मा आफ्ना माग लिएर राजदरबार अगाडि गए तर जार सरकारले उल्टो सेना–पुलिस लगाई निर्ममतापूर्वक दमन गरेर जनताको कत्लेआम गर्‍यो । यसको विरोधमा गोर्कीले वक्तव्य जारी गरे । यो वक्तव्यका कारण उनी गिरफ्तार भए । तर उनलाई रिहा गर्नु पर्छ भनेर संसारभर र स्वयं रूसमा ठुलो आन्दोलन भएपछि उनलाई छाड्न सरकार बाध्य भयो र उनी रिहा भए । १९०६ मा गोर्की अमेरिकाबाट रूस फर्किए र उनलाई सामाजिक जनवादीहरूको पाँचौँ महाधिवेशनमा भाग लिनका लागि लन्डनमा बोलाइयो । उनको त्यहाँ लेनिनसँग भेट भयो ।पछि १९०८ मा काप्रीद्विपमा लेनिनले गोर्कीसँग भेट गरेर केही समय सँगै रहे । त्यतिबेला नै लेनिनले उनलाई आफ्ना सबै अनुभवहरू लेख्नका लागि अनुरोध गरे । तत्पश्चात् गोर्कीले “मेरो बाल्यकाल”, “जीवनको बाटोमा” र “मेरो विश्वविद्यालय” लेखे । आफ्नो प्रवासको दौरानमा गोर्कीले धेरै कथाहरू लेखे । जस्तै– इटलीका कथाहरू, रोमास्टिक र मोर्दोभका उल्लेखनीय छन् । १९१३ मा गोर्की ७ वर्षको प्रवासनपछि रूस फर्किए र त्यहाँको अक्टोबर क्रान्तिमा सरिक भए । उनले “आमा” उपन्यास १९०७ मा लेखे । उनकी पहिलो पत्नी पे.प. पेसकोवा थिइन, जससँग लामो जीवन बिताएनन् उनले ।पछि दोस्रो पत्नी म.प. अन्द्रेयेवासँग अन्तिम अवस्थासम्म सँगै रहे । गोर्कीको मृत्यु १९५५ मा ७८ वर्षको उमेरमा फ्लु रोगका कारण भयो ।
अब गोर्कीको उपन्यास “आमा” कथा, अन्य साहित्यिक रचना उनको विलक्षण एवं विराट् व्यक्तित्वका बारेमा विश्वविख्यात लेखक, साहित्यकार अन्यले के भने ? त्यसबारे सङ्क्षेपमा चर्चा गरौँ ।
१९०७ मा “आमा” उपन्यास प्रकाशन भइसकेपछि न्यूयोर्क टाइम्स लेख्दछ– “आमा” पढ्दा हामी क्रान्तिकारीहरूसँग नै घुलमिल हुन्छौँ । आमाले सत्य र आशावादका साहित्यिक कृतिहरू बाँड्दै हिंड्दा हामी पनि उहाँसँगै यात्रा गरिरहेका हुन्छौँ । वास्तवमा उहाँ मार्फत् नै हामीले जनतालाई पहिचान गर्दछौँ । त्यस्तै विश्वविख्यात साहित्यकार हार्वड फास्टले १९४७ मा लेखेका छन्– अहिले झण्डै एक पुस्तापछि त्यो किताब फेरि पढ्दा पनि मेरो रसानुभूतिमा कत्ति कमी आएन । यो एउटा महान् र सन्त मानवद्वारा रचित एउटा महान् र सुन्दर कृति रहिरहनेछ र स्पष्ट रूपमा यो मानव जातिको आशा र सम्भावनाको अद्वितीय पुस्तक हो । त्यस्तै उनी अगाडि लेख्छन्– “निश्चित रूपमा “आमा” रसियाली जनताको बीचमा सबभन्दा प्रिय कृतिको रूपमा रहि रहनेछ । आजसम्म (अर्थात् यो कुरा लेख्दा १९४७) २८ भाषाहरूमा यस कृतिका १०६ संस्करण प्रकाशित भइसकेका छन् । अङ्ग्रेज र अमेरिकन पाठकका बीचमा आमा सबभन्दा प्यारो र सबभन्दा बढी पढिएको कृतिको रूपमा रहेको छ । साथै सम्भवतः यो उहाँको सबभन्दा प्रतिनिधिमूलक कृति पनि हो । 
अर्को पुस्ताले पनि परिचय प्राप्त गरेको यो कृति अमेरिकामा धेरै वर्षदेखि छापिएको छैन । जसले यसलाई पहिलो पटक पढ्नेछन्, उनीहरूले एउटा मुख्य साहित्यिक अन्वेषण गर्नेछन् र तिनीहरूले, जसले यसलाई अगाडि पढिसकेका छन्, फेरि पढ्दा पुरानो असल साथीसँगको पुनर्मिलनको आनन्द प्राप्त गर्नेछन् । त्यस्तै रूसका साहित्यकार बोरिस बुसोभ लेख्छन्–“१९०७ मा प्रकाशित गार्कीको “आमा” उपन्यासमा पनि क्रान्तिकारी मानवतावादको यही समस्या अगाडि राखिएको छ । के कुरा किटेर भन्न सकिन्छ भने विश्व साहित्यको सम्पूर्ण इतिहासमा सायद नै कुनै त्यस्तो साहित्यिक रचना भेटाइएला, जसले गोर्कीको यस उपन्यासले जति धेरै पाठकहरूलाई आकर्षित गरेको होस् र जसले करोडौँ मानिसहरूको भाग्यमाथि प्रवल र प्रत्यक्ष प्रभाव पारेको होस् ।”
लोभ तोल्सतोयले लेख्छन्– “कुनै पनि साहित्यिक रचनाको एकरूपताको आधार न त्यसको पात्र, न त वातावरण नै हुन्छ, अपितु लेखकको नैतिक दृष्टिकोण नै यस्तो एकरूपताको आधार हुन्छ । गोर्कीको नैतिक दृष्टिकोण “आमा” उपन्यासको मुख्य पात्र पेलागेया निलोभ्नाको चरित्रमा अभिव्यक्त भएको छ । यसै सन्दर्भमा बोरिस बुसोभ लेख्छन्– “आमा” जस्तो उपन्यास मेक्सिम गोर्कीले नै लेख्नु कुनै संयोगको कुरा होइन, मात्र सङ्घर्षकर्ताले सङ्घर्षकारीबारे पनि भरपर्दो पुस्तक लेख्न सक्छ । किशोर अवस्थादेखि नै आफ्नो वरिपरिको वातावरण विरुद्धको सङ्घर्षले मात्र मान्छेलाई मान्छे बनाउँछ” भन्ने बुझ्न थालेको साहित्यकार मात्र जीवनको रूप परिवर्तन मार्गमा अग्रसर मान्छेको प्रबल मानसिक उत्थानको चरित्र नियन्त्रण गर्न समर्थ हुन्छ । 
भारतका मूर्धन्य प्रगतिशील साहित्यकार प्रेमचन्द मुन्सीले गोर्कीको मृत्यु पश्चात् आफ्नी श्रीमतीसँग उनका बारेमा चर्चा गर्दै भनेका छन्– “जब घरघरमा शिक्षाको प्रचार प्रसार भयो भने के गोर्कीको प्रभाव घरघरमा नहोला र ? के उनी पनि तुल्सी र सुरदासको जस्तै पुँजिने छैनन् ?”
भारतीय अर्का लेखक कृष्णचन्दर लेख्छन्– “गोर्कीको पात्र न केवल अमानवीय, निर्धनता, पतनको परिस्थितिमा पनि उनीहरू रहन्छन्, जसमा पुँजीवादी व्यवस्थाले उनीहरूलाई त्यहाँ पुर्‍याइदिन्छ, गोर्कीका पात्रहरू यस्तो अवस्थासँग टक्कर लिन्छन् । आफूलाई बदल्न र समृद्ध मानवको रूपमा तयार पार्दै अगाडि बढ्छन् । गोर्कीलाई विश्वास थियो कि सामाजिक व्यवस्था बदलिएर समाजवादी व्यवस्था आएपछि मानिसले यस धर्तीमा मात्र सर्वलोकमा विजय प्राप्त गर्नेछ, हजारौँ ग्रहमा पनि विजय प्राप्त हुनेछ । गोर्कीको आगमनसँगै विश्व साहित्यमा एउटा नयाँ उषाको किरणको श्रीगणेश हुन्छ ।”
गोर्की र उनको प्रतिनिधिमूलक विश्वविख्यात कृति आमा र उनका अन्य रचनाहरूको बारेमा जति लेखे पनि कम हुन्छ । तसर्थ हामीले उनका साहित्यिक रचनाहरूको प्रचार प्रसार गर्नुका साथै उनको समाजवाद बाटोमा लाग्नका लागि सम्पूर्ण शोषित उत्पीडित वर्गहरू सचेतना पैदा गर्दै अगाडि बढ्नु आजको अहम् कार्य हो भन्ने कुरा राख्दै पुनः गोर्कीप्रति श्रद्धासुमन अर्पण गर्दछु ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप लेखहरू
नागरिकता वितरण ः अतीतदेखि अहिलेसम्मको वृत्तान्त
पुँजीवाद साम्राज्यवादको अवस्थामा
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal