२०७६ वैशाख ११ गते   वर्ष ३६, अङ्क २३
मिति(२०७६ वैशाख १२, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
लेखहरू
पुँजीवाद साम्राज्यवादको अवस्थामा
हिमलाल पुरी
१. समाज विज्ञानको इतिहासमा इतिहासको भौतिकवादी धारणा अर्थात् ऐतिहासिक भौतिकवाद एउटा महान् उपलब्धि हो । ऐतिहासिक भौतिकवाद माक्र्सवादको देन हो । ऐतिहासिक भौतिकवादको उजागरले समाज विज्ञान प्रकृति विज्ञान जस्तै विज्ञान बन्न पुगेको छ । यसकारण अब कुनै पनि समाज व्यवस्थाको उत्पत्ति, विकास र त्यसको विनासलाई स्पष्टसँग जान्न सम्भव भएको छ । ऐतिहासिक भौतिकवादले मानव समाजलाई त्यसको विकासको आधारभूत विशेषताका आधारमा पाँच अवस्थामा बताएको छ । ती अवस्थाहरू हुन्– (१) आदिम साम्यवादी व्यवस्था, (२) दास व्यवस्था, (३) सामन्तवादी व्यवस्था, (४) पुँजीवादी व्यवस्था र (५) वैज्ञानिक साम्यवादी व्यवस्था । यी मुख्य समाज व्यवस्थाहरूमा पनि कैयन् चरणहरू छन् ।
२. सबै आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक व्यवस्थाहरू मानिसका दिमाग वा मानिसको अन्तर्दृष्टिका उपज होइनन् भन्ने कुरा सावित भइसकेका छन् । तिनीहरू उत्पादन र वितरण प्रणालीको आधारमा निर्धारण भएका हुन् । अब यो पनि सावित भइसकेको छ कि सबै सामाजिक परिवर्तन र राजनीतिक क्रान्तिहरू पनि उत्पादन र वितरण (विनिमय) प्रणालीमा हुने परिवर्तनहरूमा निहित हुन्छन् । अब तिनीहरूको खोज पनि अर्थ व्यवस्थामा हुनु पर्छ । अर्थव्यवस्था उत्पादन र वितरण प्रणालीको समष्टि हो । अर्थव्यवस्था अथवा उत्पादन र वितरणको व्यवस्थामाथि उपरी संरचनाहरू जस्तो– सामाजिक, राजनीतिक, सांस्कृतिक, न्यायिक, धार्मिक इत्यादि व्यवस्थाहरू निर्भर गर्दछन् । भौतिक साधनहरूको उत्पादनको विकासको आधारमा नै ती समाज व्यवस्थाहरू निर्धारण हुन्छन् । सामान्य रूपमा यी व्यवस्था र विशेष रूपमा पुँजीवादी समाज व्यवस्थालाई बुझ्नका लागि कार्ल माक्र्सको महान् कृति ‘पुँजी’ र भ्ला.ई. लेनिनको कृति ‘साम्राज्यवाद ः पुँजीवादको उच्च तथा मरणासन्न अवस्था’ ले धेरै नै मद्दत गर्दछन् । यो लेख पनि पुँजीवाद र त्यसको उच्च रूप साम्राज्यवादमा नै केन्द्रित हुनेछ ।
३. पुँजीवाद ऐतिहासिक रूपले सामन्तवादपछि र समाजवादपूर्वको आर्थिक–सामाजिक व्यवस्था हो । यो व्यवस्था उत्पादनका साधनहरूको निजी स्वामित्व र अतिरिक्त श्रमको शोषणको आधारमा बनेको हुन्छ । उत्पादनका साधनहरूको निजी स्वामित्व र अतिरिक्त श्रमको शोषणको केन्द्रीय तत्व अतिरिक्त मूल्य हो । त्यसकारण, पुँजीवादी उत्पादनको लक्ष्य र पुँजीपतिहरूको समृद्धिको श्रोत अतिरिक्त मूल्य हो । यही अतिरिक्त मूल्य नै नाफाको जननी हो । नाफा नै पुँजीवादको प्राण हो । यही नाफाबाट पुँजीपति वर्गको पुँजी निर्माण हुन्छ ।
४. पुँजीवाद उत्पादन विकासको विभिन्न अवस्था वा स्तरबाट गुज्रदै अघि बढेको छ । पुँजीवादको पहिलो अवस्था प्रारम्भिक पुँजीवाद हो । यो प्रतियोगितामुक्त अवस्था हो । यो अवस्थामा पुँजीपति वर्ग, तिनको पुँजीको मात्रा, अनि तिनको उत्पादन पनि कम हुन्छ । त्यसकारण उत्पादन र वितरणमा पुँजीपति वर्गलाई कुनै समस्या हुँदैन । उत्पादक शक्तिको विस्तारै विकास हुन्छ । प्रविधिको विकास हुन्छ । यसले उत्पादनको स्तरमा बृद्धि हुन्छ । यसले उत्पादनमा केन्द्रीकरण र साथै सामाजीकरण हुँदै जान्छ । उत्पादनको केन्द्रीकरणले उत्पादन र वितरणमा एकाधिकार स्थापित हुँदै जान्छ । उत्पादनको सामाजिक स्वरूप र वितरण (उपभोग) को निजी स्वरूपका बीचमा अन्तर्विरोध हुन्छ । किनकि उत्पादनको विकासले ठुला–ठुला उत्पादन कम्पनीहरूमा सयौँ, हजारौँ श्रमिकहरूले मिलेर काम गर्दछन् । यो उत्पादनको सामाजिक स्वरूप हो । तर उत्पादित वस्तुहरूको स्वामित्व भने मालिकको हुन्छ । बजारमा वितरणका लागि वस्तुहरू जोसँग पैसा छ, उसले मात्र खरिद गर्छ, उपभोग गर्छ । यो वितरणको निजी स्वरूप भयो । उत्पादनको यो सामाजिक स्वरूप वितरणको निजी स्वरूपका बीचमा अन्तर्विरोध हुन्छ । पुँजीवादी व्यवस्थाको यो आधारभूत अन्तर्विरोध हो । यही अन्तर्विरोध सामाजिक तथा राजनीतिक रूपमा पनि प्रकट हुन्छ । यो पुँजीवादको असाध्य अन्तर्विरोध हो । पुँजीवादले यो अन्तर्विरोधलाई समाधान गर्न जति जुक्ति लगाए पनि यो समाधान हँुदैन । अनि यो पुँजीवादी एकाधिकार साम्राज्यवादतर्फ अघि बढ्छ । साम्राज्यवाद कुनै छुट्टै व्यवस्था नभई पुँजीवादको विकासको उच्च चरण हो । 
५. पुँजीवादका मुख्य वर्गहरू सर्वहारा वर्ग र पुँजीपति वर्ग हुन् । यिनीहरूका बीचमा असाध्य वर्गसङ्घर्ष चल्दछ । उत्पादन विकास, विज्ञान–प्रविधिको विकास र वर्गसङ्घर्षले पुँजीवाद एकाधिकार हुदै साम्राज्यवादतर्फ समाज व्यवस्था अघि बढ्छ । यस अवस्थामा उत्पादनको केन्द्रीकरण र अन्तर्राष्ट्रियकरण तीव्र हुन थाल्दछ । अन्तर्राष्ट्रिय साझा बजार निर्माण हुन्छ । सैन्य औद्योगिक संर्वद्धन हुन थाल्छ । स्वयं अर्थव्यवस्था सैन्यीकरण हुन्छ । हतियारको होडबाजी चल्छ । पुँजीवादी एकाधिकारीहरूले शान्ति र द्वन्द्व व्यवस्थापनको विरोध गर्दछन् र युद्ध निम्त्याउँछन् । राजकीय एकाधिकारी पुँजीवादको सुदृढ हुन्छ । यतिबेला जनवादी आन्दोलनमा पनि उभार आउँछ ।
६. पुँजीवादी राज्यभित्र समस्याका पुराना रूप तीव्र भइरहेका हुन्छन् । समस्याका नयाँ रूपहरूले जन्म पनि लिइरहेका हुन्छन् । विनिमय प्रणालीमा अवरोध उत्पन्न हुन्छ । यसले सङ्कटको स्थिति पैदा हुन्छ । सङ्कट समाधान गर्न राज्यलाई कठिन हुन्छ । यसै क्रममा साम्राज्यवाद र विकासमान देशका बीचमा सङ्घर्ष पनि तीव्र हुन्छ । राजनीतिक तथा विचारधारात्मक सङ्कट पनि बढ्छ । पुँजीवादी उत्पादनका सङ्गठनका नयाँ रूपहरू प्रकट र विस्तार हुन्छन् । पुँजीवादले आफूलाई बचाउन र अरू सुदृढ गर्ने युक्ति गर्दैै जाँदा शोषण झन् विस्तार र परिस्कृत हुँदै जान्छ । सामाजिक, वर्गीय र अन्ततः राजनीतिक ध्रुवीकरण बढ्छ । पुँजीपति र मजदुरको आयको बीचमा ठुलो अन्तर पर्छ । पुँजीपतिको सङ्ख्या घट्दै र मजदुरको सङ्ख्या बढ्दै जान्छ । मध्यम वर्ग, साना पुँजीपति तथा बुद्धिजीवीहरू सर्वहाराकरण हुँदै जान्छन् । समाजमा नयाँ सामाजिक अन्तर्विरोधहरू उत्पन्न हुन्छन् ।
७. विज्ञान तथा प्रविधिको विकासले गर्दा पुँजीवादमा आर्थिक समृद्धिको सम्भावना अहिले पनि विद्यमान छ । तर पुँजीवादी सामाजिक सम्बन्धका कारणले समाजमा विद्यमान भौतिक र आत्मगत पक्षलाई पुँजीवादले सम्पूर्ण रूपमा र समाजको हितमा उपयोग गर्न सक्दैन । सामाजिक विकासलाई पनि उपयुक्त र युक्तिसङ्गत ढङ्गले उपयोग गर्न सक्दैन । पुँजीवादले राजनीतिक र विचारधारात्मक रूपले पुँजीवादलाई न्यायसङ्गत ठहर्‍याउन वा समाजवादको खण्डन गर्न असमर्थ भएको छ । पुँजीवादी उत्पादन सम्बन्धको स्थानमा समाजवादी उत्पादन सम्बन्ध स्थापना गर्ने आवश्यकता छ । तर राज्यशक्ति र त्यसको सैन्य शक्ति लगाएर पुँजीवादलाई बचाइराख्न प्रयास गर्दछन् ।
८. पुँजीवादमा आम सङ्कट देखा परेको छ । अर्थव्यवस्था, राजनीति र विचारधाराको क्षेत्रमा त्यो सङ्कट देखा परेको छ । त्यसले गर्दा विश्व पुँजीवादी प्रणाली जुन अहिले साम्राज्यवादको स्तरमा छ, उपरी रूपबाट बलियो देखिए पनि सारभूत रूपमा विघटनको प्रक्रियामा छ । लेनिनले त साम्राज्यवादलाई पुँजीवादको चरम अवस्था बताएका छन् । पुँजीवाद यति जीर्ण भइसकेको छ कि यसमा बारम्बार सङ्कट देखा पर्दछन्, देखा परेका छन् । विश्व पुँजीवादमा हरेक दशकमा आर्थिक मन्दी वा सङ्कट आइरहेका छन् । यी सङ्कटहरू तीव्रतर हुँदै गइरहेका छन् । यस प्रकारका सङ्कटहरू स्वयं पुँजीवादभित्रका अन्तर्विरोधका परिणामहरू हुन् । यी अन्तर्विरोधहरूको अध्ययनको आधारमा विश्वका कम्युनिस्ट पार्टीहरूले पुँजीवाद र पुँजीवादी क्रान्ति, सङ्घर्ष र समाजवादसम्बन्धी आफ्ना नीतिहरू निरूपण गर्दछन् । पुँजीवादका अन्तर्विरोधले विश्व पुँजीवादी प्रणालीको प्रभुत्व निर्वाध रूपमा बढेको छैन । यसको क्षेत्र सङ्कुचित र विखण्डित हुँदै पनि गएको छ । त्यसको स्वाभाविक परिणाम उपनिवेशवादको ध्वंश हुन्छ । सारमा पुँजीवादी प्रणालीमा व्याप्त हुँदै आएको पुँजीवादी आर्थिक सङ्कटले अलग अलग कडीमा वा आयाममा पुँजीवादी विकासको सम्भावनालाई अझै रोक्न सकेको छैन । केही पुँजीवादी देशहरूमा विकास उच्च स्तरमा पुग्न सक्छ । यहाँ पुँजीवादको विकासको अर्थ समृद्धि र साथमा त्यसको अन्तर्विरोधहरूको पनि समृद्धि बुझ्नु पर्छ । पुँजीवादी आर्थिक सङ्कट हल गर्नका लागि राजकीय एकाधिकारी पुँजीवादको उपयोग गर्ने प्रयत्न गरिन्छ । तर यसले अन्तर्विरोधहरूलाई झन् गहन बनाउँछ र समाजको क्रान्तिकारी रूपान्तरणको लागि भौतिक आधार तयार गर्दछ ।
९. विश्व पुँजीवादी आर्थिक सङ्कट तीन मुख्य अवस्थाहरू हुँदै अगाडि बढेको छ । पहिलो अवस्था, पहिलो समाजवादी राज्यको गठन र उपनिवेशवादको सङ्कटको समसुरुवात । यो समयमा प्रथम विश्वयुद्ध भएको थियो र रूसमा १९१७ मा अक्टोबर क्रान्तिको अवधि थियो । दोस्रो अवस्था, धेरैजसो देशमा पुँजीवादसँग सम्बन्ध तोड्नु । यो समयमा लोकतान्त्रिक र विश्व समाजवादी प्रणालीको गठन साथै उपनिवेशवादी प्रणालीको विघटन । तेस्रो अवस्था, पुँजीवादी प्रणालीको प्रभाव क्षेत्र सङ्कुचित हुनु । यो कुनै विश्वयुद्धको परिणाम होइन कि सम्पूर्ण पुँजीवादी अन्तर्विरोधहरू गहन हुनुको परिणाम हो । यसरी प्रत्येक नयाँ अवस्थाको आरम्भमा विश्वमा पुँजीवादको स्थान तथा भूमिका गुणात्मक परिवर्तनबाट निर्धारण भएको छ । यो कुरा विश्वका ठुला–ठुला साम्राज्यवादी राष्ट्रको आर्थिक तथा राजनीतिक प्रभावको बृद्धिसँग सम्बन्धित छ । पुँजीवादी आर्थिक सङ्कट लामो समयको दौरानमा पुँजीवादका अन्तर्विरोधी विकासका जटिल प्रक्रियाहरूको परिणाम हो । किनकि पुँजीवादले आर्थिक तथा सामाजिक परिघटनाहरूका सम्पूर्ण क्षेत्रहरूलाई आफ्नो अधिनस्त पार्ने र पुँजीवादको सम्पूर्ण अस्थिरतालाई गहन बनाउने सङ्कटको विश्वव्यापी प्रवृत्तिले हो । यसले गर्दा साम्राज्यवाद विरोधी राष्ट्रिय मुक्ति आन्दोलन बढ्दै जान्छ । साम्राज्यवादी शक्तिहरूको बीचमा र विकासशील तथा नवउपनिवेशवादी देशहरूको बीचमा पनि अन्तर्विरोध बढेको छ । तर आधुनिक पुँजीवाद (साम्राज्यवाद) ले आफूलाई नयाँ परिस्थिति अनुकूल ढाल्न समाजवादी वा लोक कल्याणकारी प्रस्तुत गर्न खोजेको छ, जुन पुँजीवादको आधारभूत विशेषताको विरुद्ध छ । कैयन् सुधारका कार्यक्रम घोषणा गर्छ । कल्याणकारी कोषको स्थापना गर्छ । विकास, कल्याण, मानव अधिकार, सेवा इत्यादिको पक्षधरता बताउँछ । तर पनि पुँजीवादी प्रणाली स्थायी हुन सक्दैन ।
१०. एकाधिकारी पुँजीवाद पुँजीवादको विकासको सबैभन्दा उच्च अवस्था हो । पुँजीवादको यही अवस्था नै साम्राज्यवाद हो । युरोपमा औद्योगिक क्रान्तिले गर्दा पुँजीवादको विकासमा ठुलो मद्दत गर्‍यो । त्यसमा विज्ञान तथा प्रविधिको विकासले झन् ठुलो योगदान गरेको छ । त्यसले गर्दा उत्पादक शक्तिहरूको विकास भयो । उत्पादन शक्तिको विकासले उत्पादनको केन्द्रीकरण भयो । उत्पादनको केन्द्रीकरणको साथमा उत्पादन प्रणालीको सामूहिकीकरण अर्थात्् सामाजिकीकरण भयो । उत्पादनको केन्द्रीकरणले पुँजीपति वर्गको सङ्ख्या कम हुँदै गयो । तर पुँजीपति वर्गमा उत्पादनको लाभ केन्द्रित भयो । यता उत्पादनको स्वरूपको सामाजीकरणले मजदुर वर्गको ठुलो सङ्ख्या एकीकृत बन्यो । तर यो वर्गलाई लाभको अंश कम प्राप्त भयो र यो वर्ग सर्वहाराकरण हुँदै गयो । पुँजीपति वर्ग र सर्वहरा वर्ग—यी दुई मुख्य वर्गको बीचमा तीव्र द्वन्द्वको स्थिति तयार भयो । यो स्थिति यी दुई वर्ग र आर्थिक क्षेत्रमा मात्र सीमित रहेन । यसले सामाजिक, राजनीतिक तथा सांस्कृतिक सम्बन्धमा समेत फेरबदल ल्यायो । यसले पुँजीवादको एकाधिकारी स्वरूपलाई झन् मजबुत बनाएको छ । यसले आर्थिक, राजनीतिक तथा समाजिक क्षत्रेको द्वन्द्वको स्तर तीव्र र फराकिलो बनाएको छ । त्यसको परिणामस्वरूप शोषण र अन्यायमा झन् बृद्धि भयो । त्यो शोषण र अन्यायलाई व्यवस्थापन गर्न पुँजीवादी प्रजातन्त्रले प्रतिक्रियावादी चरित्र ग्रहण गर्‍यो । यही प्रतिक्रियावादी पुँजीवादको आर्थिक तथा राजनीतिक स्वरूपको संयुक्त अवस्था साम्राज्यवाद हो । त्यसकारण आजको साम्राज्यवादको बारेमा विचार गर्दा आर्थिक स्थितिको साथै राजनीतिक स्थितिका बारेमा पनि विचार गर्नु पर्छ ।
११. साम्राज्यवादको अवस्थामा एकाधिकार र वित्त पुँजीको प्रभुत्व बलियो हुन्छ । यस अवस्थामा पुँजीको निर्यातले विशेष महत्व राख्दछ । भूगोल हड्पेर र वस्तुको बजार हड्पेरभन्दा पुँजी निर्यात गरेर शोषणको स्तर तीव्र बन्छ । पुँजी निर्यात साम्राज्यवादको मुख्य विशेषता भएपछि पहिलाको साम्राज्यवादको स्वरूपमा परिवर्तन भएको छ । यो स्वरूपको साथमा शोषणको दर तीव्र भए पनि साम्राज्यवादको सारभूत चरित्रमा परिवर्तन भएको छैन । ऐतिहासिक भौतिकवादको दृष्टिमा साम्राज्यवाद एक परिजीवी, मरणोन्मुख अवस्थामा पुगेको छ । साम्राज्यवादको विकासको यो अवस्थामा पुँजीवादी देशहरूमा आर्थिक तथा राजनीतिक असमान विकासको समस्याहरू जटिल बनेका छन् । यसले आर्थिक असमानता बढ्नुको साथै राजनीतिक द्वन्द्वलाई बढाएको छ । यो राजनीतिक द्वन्द्व विश्वव्यापी बनेको छ । यो राजनीतिक द्वन्द्वले स्वयं साम्राज्यवादी देशहरूका बीचको द्वन्द्व पनि तीव्र भएको छ । विश्वमा प्रभुत्व जमाउन साम्राज्यवादी देशहरूको विदेश नीति आक्रमण हुने गरेको छ । यस नीतिको साथमा अर्थ व्यवस्थमा सैनिकीकरण अर्थात्् युद्ध क्षेत्रमा ठुलो लगानी पनि बढ्दै गएको छ ।
१२. एकाधिकारको विस्तारले पुँजीको केन्द्रीकरण र उत्पादनको सामाजीकरण पनि विस्तार हुन्छ र भएको छ । त्यसले सृजना भएको धु्रवीकरणमा वर्गसङ्घर्ष तीव्र हुन्छ । यो तीव्र वर्गसङ्घर्षमा उपरी रूपबाट विश्व साम्राज्यवाद जति शक्तिशाली देखिए पनि यसको अन्त्य र समाजवादको पूर्वाधार निर्माण हुन्छ । रूसको महान् अक्टोबर समाजवादी क्रान्ति त्यही परिस्थितिमा भएको थियो । उपनिवेशवादी राजनीतिक व्यवस्थाको ध्वंश र समाजवादी व्यवस्थाको स्थापना ऐतिहासिक आवश्यकता बन्छ । तर अहिले विश्व कम्युनिस्ट आन्दोलनको मन्दी, एक धु्रवीय बनेको साम्राज्यवाद, विश्व समाजवादको विघटनको स्थितिले साम्राज्यवादीहरू उपरी रूपबाट शक्ति र विकासको स्थितिमा देखिए पनि वास्तवमा साम्राज्यवाद वर्गसङ्घर्षको सुषुप्त ज्वालामुखीमाथि खडा छ । साम्राज्यवादले आफ्नो परिस्थिति बलियो बनाउन, आर्थिक उत्पादनको स्थिति कायम राख्न वा बढाउन, मजदुर माथिको शोषण बढाउन विज्ञान प्रविधि तथा एकाधिकारी पुँजीवादका उपलब्धिहरूको व्यापक उपयोग गरिरहेको छ । तर राजकीय बनेको एकाधिकारी पुँजीवादको मुख्य समस्या समाधान गर्नु सम्भव छैन । त्यो समस्या झन् बढ्दै गएको छ । त्यसले वर्गसङ्घर्षलाई हल गर्ने होइन, झन् बढाएको छ । यो सङ्घर्षमा साम्राज्यवादको कुनै भविष्य हुने छैन । 
१३. विश्व साम्राज्यवादले आफूलाई जीवित राख्न निजीकरण, खुला बजार, विश्वव्यापीकरण र डि–रेगुलेसनको नीति अपनाएको छ । त्यसको कारण कुनै पनि राष्ट्र, कुनै पनि भूखण्ड, समाज÷समुदाय र व्यक्ति विशेष समेत साम्राज्यवादको शोषणको पञ्जाबाट मुक्त छैनन् । त्यति मात्र होइन, यसले बजारका नयाँ नयाँ क्षेत्र पहिल्याएर र विज्ञान–प्रविधिको अधिकतम उपयोग गरेर शोषणलाई तीव्र र विस्तार गरेको छ । आफ्ना त्यस प्रकारका नीतिहरू लागु गर्न अविकसित राष्ट्रमाथि क्षेत्रीय वा द्विपक्षीय गठबन्धन, सन्धि, महासन्धि, संयुक्त राष्ट्र सङ्घ, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू समेत परिचालन गरेर साम्राज्यवादलाई बलियो बनाउन प्रयत्न गरेका छन् । यस प्रकारको भूमिकाले शोषण र अन्याय समेत विश्वव्यापी भएको छ । लेनिनले साम्राज्यवादलाई पुँजीवादको उच्च र मरणासन्न अवस्था बताउनु भएको छ । पुँजीवादको बाल्यावस्था प्रतियोगिता विहीन अर्थात्् प्रारम्भिक अवस्था हो । युवावस्था प्रतियोगितात्मक अवस्था हो । बृद्धा यानी अन्तिम अवस्था एकाधिकार अवस्था हो । यही एकाधिकारको अवस्था साम्राज्यवाद हो । यो एकाधिकारको अवस्थाको पुँजीवाद अर्थतन्त्रमा मात्र सीमित छैन । यो राज्य र शैन्यशक्तिसँग गाँसिएको छ र पुँजीवादीको यो अवस्था साम्राज्यवाद विश्व व्यवस्था बनेको छ । तर यो जतिसुकै सुदृढ, विश्वव्यापी भए पनि यसको आफ्नो उच्च विकास र असाध्य अन्तर्विरोधका कारणले साम्राज्यवादको अन्त्य र समाजवादको स्थापना त्यत्तिकै अपरिहार्य छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप लेखहरू
नागरिकता वितरण ः अतीतदेखि अहिलेसम्मको वृत्तान्त
विश्व साहित्यका एक अमर नक्षत्र गोर्कीलाई सम्झिँदा
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal