२०७६ वैशाख ११ गते   वर्ष ३६, अङ्क २३
मिति(२०७६ वैशाख १२, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
मूल लेख
के युरोप यथास्थितिमा रहिरहन सक्छ ?
अपत्य शर्मा
युरोपेली मुलुकहरूले डलर साम्राज्यवादका विरुद्ध युरो साम्राज्य र अमेरिकी बजारको सट्टा आफ्नै युरोपेली सङ्घको बजार, रक्षा, बैङ्क आदिको निर्माण गरेका छन्, तापनि युरोपेली सङ्घको एकता नै पनि रहिरहने देखिंदैन । बेलायतले युरोपेली सङ्घबाट बाहिरिने प्रयास गर्दैछ । युरोपेली सङ्घमा रहिरहने या बाहिरिने अझै टुङ्गो लागेको छैन । रहने र बाहिरिने विषय विवादितै छ । युरोपले सधैँ अमेरिकी साम्राज्यवादीको नेतृत्व स्वीकारेर एसिया, अफ्रिका र ल्याटिन अमेरिकी मुलुकहरूमा सैनिक हस्तक्षेपदेखि आर्थिक नाकाबन्दीको कदमहरूलाई समर्थन गर्दै आएका थिए । यसकारण युरोपेली मुलुकहरू पनि नरसंहारका सहअपराधी विकसित पुँजीवादी मुलुक हुन् । तर ट्रम्पको सत्तारोहणपछि युरोपेली सङ्घका मुलुकहरूले ट्रम्पका आर्थिक, राजनैतिक नीतिका विरुद्ध देखिएका छन् । युरोपलाई आफ्नो पक्षमा गर्न अमेरिका, चीन र रूस लागिपरेका छन् । युरोपलाई आफ्नो पक्षमा ल्याउन, आफूप्रति निष्ठावान बनाउन अमेरिका, रूस र चीनले सक्दो प्रयास गरिरहेका छन् । किनभने सम्पन्न युरोपको ५०० मिलियन उपभोक्ता छन् । यति ठुलो उपभोक्ता भएको बजारलाई आफ्नो नियन्त्रणमा लिने उद्देश्य राखेर चीनका राष्ट्रपति सी जिनपिङले इटाली र फ्रान्सको भ्रमण गरिसकेका छन् । सीले भ्रमण गर्नुको तात्पर्य ती देशका कमजोरी र धनसम्पत्तिको अध्ययन गर्नु रहेको विश्लेषण गरिंदैछ । जहाँसम्म रूसको प्रश्न छ, युरोपेली संसदले के प्रस्ताव पास गरेको छ भने युनियनले रूसलाई रणनीतिक साझेदारको रूपमा हेर्नु हुँदैन, बरु एउटा मानवतावादीको शत्रु भनेको छ । रूसले क्रिमियालाई आफ्नो मुलुकमा मिलाएपछि अमेरिकाले रूसमाथि आर्थिक प्रतिबन्ध लगाएको र युरोपेली मुलुकहरूले पनि आर्थिक प्रतिबन्ध लगाएको पाँच वर्ष बिते पनि रूस र युरोपेली मुलुकका बीचको खाडल भए तापनि रूसले नाफा हुने व्यापार सञ्चालन गर्दै आएको बताइन्छ । युरोपेली मुलुकहरूमध्ये विशेष गरेर अस्ट्रिया, इटाली र नेदरल्यान्डले रूससँगको व्यापार जारी राखेका छन् । रूसले युरोपका बीचमा आफ्नो आर्थिक चलखेल गर्न छाडेको छैन । रूसका अनलाइन सक्रिय सङ्गठन आवाजले फ्रेन्च भाषामा रस्सा टुडेले छलकारी र वास्तविक खबर प्रसारित गरिरहेको पश्चिमी समाचार माध्यमले जनाएका छन् । यो अनलाइन रूसी सरकारको भएको बताइँदैछ । किनभने फ्रान्समा भएको एलो भेस्ट (पहेँलो इस्टकोट) हरूका विरोध प्रदर्शनहरूबारे विशेष गरेर हिंस्रक सङ्घर्षहरू देखाउने गरेको छ र यो युटुबमा खुबै लोकप्रिय सावित भएको छ । यसरी रूस युरोपेली मुलुकका सम्बन्धमा हस्तक्षेप गर्दैछ ।
युरोपमा रूसको जस्तो हस्तक्षेपकारी काम नगरेर चीनले अलग्गै किसिमको नीति लिएको छ । चीनले युरोपमा हस्तक्षेपकारी आफ्नो आर्थिक अवधारणालाई अगाडि ल्याएको छ । चीनको नयाँ सिल्क रोडलाई अगाडि ल्याउनुका साथै मार्कोपोलो (इटालीको भेनिस सहरमा १२५४ मा जन्मिएका) ले युरोपबाट एसियासम्म (१२७१–९५) को यात्रा गरे । विश्व प्रसिद्ध यात्री मार्कोपोलो चलाख थिए र मङ्गोलियन र चिनियाँ भाषा पनि सिकेर मार्कोपोलो व्यापारी परिवारमा जन्मिएका थिए । उनका बाबु र काका धेरैजसो भूमध्यसागरका पश्चिमी किनारमा व्यापार गर्दथे । उनीहरू चीन गएका र चीनका सम्राट कुबैल खान (युनडिनास्टी)सँग पनि भेटेका थिए । बाबु र काकाले यात्राको वर्णन गर्दा जवान मार्कोपोलो खुब चाख लिएर सुन्दथे । मार्कोले पनि चीन जाने अठोट गरे । १२७१ मा १७ वर्षका मार्कोले उनका बाबुले कुबैल खानको चिठी पोपलाई दिन भनेर ल्याएका थिए, जबकि पोप चौथो मरिसकेका थिए र नयाँ पोप नियुक्त भएका थिएनन् । नयाँ पोप ग्रिगोरी दसले दिएको एउटा चिठी र मूल्यवान उपहारहरू लिएर पोलोहरू भेनिसबाट पूर्वतिर लागे । यो उनीहरूको दोस्रो चीन यात्रा थियो । उनीहरूले भूमध्यसागर काला सागर (ब्लाइक सी) हुँदै युफ्रेटसको जमिनी भाग हुँदै टिग्रिस नदीहरू पार गरेर शताब्दीऔँ प्राचीन सहर (मध्यपूर्वको) बगदाद पुगे । उनीहरू पूर्वबाट दक्षिण हुँदै वैभवशाली समुद्री बन्दरगाह हुँदै फारसको खाडीमा पुगे । त्यहाँबाट उत्तरपूर्व हुँदै निर्जन इरानको पठार र बरफले ढाकिएको पामिर पार गरे । थकाइ, रोग, भोक र तिर्खा झेल्दै डाकुहरूबाट जोगिंदै जङ्गली जनावरको खतरा मोलेर अन्त्यमा चीनको सिनज्याङ पुगे । उनीहरू भित्री मङ्गोलियाको सङ्ड्रमा पुगे । त्यहाँ कुबैल खानको ग्रीष्मकालीन दरबार थियो । यो १२७५ ए.डी. को समय हो । 
कुबैल खानले उनीहरूलाई हार्दिकतापूवर्पक स्वागत गरे र उनीहरूलाई डाडु लगे, जसलाई अहिले बेजिङ भनिन्छ । चलाख मार्कोले चिनियाँ चालचलन रीतिरिवाज सबैसँग परिचित भएर चाँडै नै कुबैल खानका विश्वास पात्र भए । मार्कोलाई विशेष दूत बनाएर चीनका धेरै ठाउँहरू भारत, दक्षिण पूर्वी एसिया जस्तै भियतनाम, बर्मा र सुमात्रा पनि गए । चीनको धनसम्पत्ति विलासी शाही दरबार र समृद्ध सहरहरू देखेर मार्कोपोलो आश्चर्यचकित मात्र भएनन्, उनले गम्भीरतापूर्वक रीतिरिवाज, भूगोल र संस्कृतिको पनि अनुसन्धान गरेर कुबैल खानलाई रिपोर्ट गरे । मार्कोपोलोले १७ वर्षसम्म चीनमा बिताएपछि कुबैल खानले मार्कोलाई घर फर्कने अनुमति दिए । १२९८ मा मार्कोपोलोले भेनिस र जिनोआका बीचमा लडाइँ हुँदा उनले युद्धमा भाग लिएर गिरफ्तार भए । जिनोइजको जेलमा लेखक रुस्टिचेल्लो डा. पिसालाई भेटे । लेखकले पोलोको यात्राका कथाहरूको वर्णन टिपे । यो वर्णन भएको पुस्तक त्यसपछि युरोपमा प्रसिद्ध भयो र पश्चिमी जगतले यसैलाई यात्राको पथप्रदर्शक माने । 
माथि मार्को पोलोबारे विशेष उल्लेख गर्नु ऐतिहासिक भएकोले मात्र नभएर चीन र इटालीको प्राचीन सम्बन्ध देखाउँदै चिनियाँ राष्ट्रपति सीले चीनको वन बेल्ट वन रोडको विशेष महत्वप्रति ध्यानाकर्षण गर्नुलाई औल्याउनु हो । सीको उद्देश्य चीन र युरोपलाई आर्थिक रूपले जोड्नुको साथै एथेन्सको बन्दगाह किन्नु र दक्षिणी युरोपको ढोका खोल्नु निर्णायक मानेका छन् । ग्रीसलाई पैसाको अत्यन्त खाँचो छ र यसलाई जर्मनीले कुनै गलत छैन भनेको छ ।
चिनियाँ राष्ट्रपति सीको युरोपेली सङ्घको संस्थापक सदस्य इटालीको भ्रमण गर्दा जारी संयुक्त विज्ञप्तीमा सही गर्दै चीनको “वन बेल्ट वन रोड” को योजनालाई स्वीकार गरिएको छ । यसरी चीनको युरोपको मुटुसम्म पुग्ने क्षमताप्रति भने वासिङटन र बु्रसेल्सले असन्तुष्टि व्यक्त गरिसकेका छन्, जबकि फ्रान्सका राष्ट्रपति इमानौल म्याक्रोनले जर्मनी र युरोपेली युनियनका विधायकलाई सीसँगको बैठकमा भाग लिन आमन्त्रण गरेका थिए, ताकि युरोप र चीनका बीचमा बहुपक्षीय सम्बन्धमा छलफल गर्न सकियोस् । युरोपका यस्ता गतिविधिले अमेरिकी साम्राज्यवादी खुशी हुने प्रश्नै उठ्दैन । अमेरिका आफूलाई युरोपको सबैभन्दा ठुलो मित्र सम्झन्छ र चीनसँगको व्यापार युद्धमा साथ देओस् भन्नेमा छ । किनभने अमेरिका र चीनको बीचमा आएको अन्तर्विरोधले युरोपमा आर्थिक बृद्धिमा सुस्तता आएको छ । विश्वको सामान्य अवस्थामा वासिङटनको युद्धमा युरोपेली मित्रहरूलाई समावेश गरिंदै आएको छ । वर्तमान राष्ट्रपति ट्रम्पको अमेरिकाले युरोपलाई प्रतिस्पर्धी अथवा सामन्तको मोहीलाई जस्तै व्यवहार गरिरहेको विश्लेषण गरिंदैछ । किनभने ट्रम्प प्रशासनले हप्ता बित्न नपाउँदै एउटा न एउटा कुरालाई लिएर सताइरहेको हुन्छ । फेबु्रअरीको मध्यमा म्युनिखमा भएको सुरक्षा सम्मेलनमा अमेरिकी उपराष्ट्रपति मिक पेन्सले युरोपेली युनियनका सरकारहरूलाई इरानियन आणविक सम्झौताबाटपछि हट्नू भन्ने आदेश दिनुका साथै अमेरिकी आर्थिक प्रतिबन्धप्रति ढुलुमल नहुनू भने र यदि प्रतिबन्धलाई बेवास्ता गरेका युरोपेली कम्पनीहरूले पनि दण्डित हुुनु पर्नेछ, जबकि युरोपेली युनियनले इरानसँग भएको आणविक सम्झौताबाटपछि नहट्ने जनायो । 
सिरियाबाट अमेरिकाले आफ्ना सेना फिर्ता बोलायो तर फ्रान्स र बेलायतका रक्षा अधिकारीहरूलाई सिरियामा नै बस्नु भनेपछि बेलायत र फ्रान्स रिसाए । वरिष्ठ अमेरिकी कूटनीतिज्ञले पश्चिमी युरोपका सहभागीहरूलाई कडाइका साथ बयान दिए कि अमेरिका र ट्रम्पप्रति संवदेनशील नभएको भने ।
जर्मनी र युरोपेली युनियनले चीनको ठुलो टेक कम्पनी वायरलेस नेट दुवै (५ जी)लाई विकास गर्न दिएपछि जर्मनीलाई अमेरिकी राजदूत रिचार्ड ग्रिनेलले प्रतिशोध गर्ने धम्की दिए भने युरोपेली युनियनका लागि अमेरिकी राजदूत गोर्डन सोन ल्यान्डले प्रतिशोध गर्नेछन्, यदि ब्रुसेल्सले अमेरिकी कम्पनीहरूको युरोपेली सैनिक योजनाहरूमा सीमित गर्‍यो भने । ब्लुमबर्ग न्यूजका अनुसार ट्रम्पले अमेरिकी सैनिक युरोपेली मुलुकहरूमा राखे वापत् ५० प्रतिशत सहुलियत दिनु पर्छ भन्ने चाहेको बताएको छ । फ्रेन्च इतिहासकार पिएरे नोराका अनुसार युरोप विश्वको मालिक थियो । अहिले बाहिर धकेलिएको छ । तर युरोपले हार स्वीकार्नु हुँदैन । त्यस्तै, वरिष्ठ युरोपेली समझदार अधिकारी के भन्छन् भने युरोपेली युनियनभित्र रूसको हस्तक्षेप क्षेत्र धम्की, अमेरिकी शस्त्रीकरणले स्वतन्त्रतासम्बन्धी कानुन र कम्पनीहरूलाई कमजोर पार्नेछ । हामीले विश्वासपूर्वक दृढताका साथ हाम्रो युरोपियन आर्थिक सार्वभौम सत्ताको रक्षा गर्नुपर्छ र हामीले सामूहिक रूपले पुनः सशस्त्र हुनु पर्छ ।” यसका लागि एकता र राजनैतिक इच्छाशक्तिको आवश्यकताको खाँचो रहेको छ र युरोपेली युनियनभित्र यो एउटा कठिन युद्ध हुनेछ । किनभने हालै आगामी युरोपेली संसदीय चुनावमा फ्रेन्च राष्ट्रपति इम्मानौल माक्रोनले आफ्नो मञ्च चलाएका छन् र उनका भनाइहरू प्रत्येक युरोपेली मुलुकहरूमा लगातार प्रकाशित भइरहेका छन् र उनका पक्षमा सकारात्मक देखिएका छन् । माक्रोनका पक्षमा युरोपेली युनियनप्रति सन्देह गर्ने हङ्गेरीका प्रधानमन्त्री भिक्टोर अर्बान र रुमानियाका लिम्भु ड्रागनिया रहेका छन् । तर एउटा सशक्त वकालतकर्ता जर्मनी गायब छ । क्रिस्चियन डेमोक्रेटिक युनियन नयाँ नेता एन्निग्रेट क्राम्प–कारेनबौर (छोटकरीमा ए.के.के.) एन्जेला मार्केलका उत्तराधिकारी भावी जर्मनका चान्सलर के विश्वास गर्छन् भने माइक्रोन ज्यादै महत्वाकाङ्क्षी, अपर्याप्त, व्यावहारिक छ । चान्सलर मार्केलले माक्रोनको मञ्चमा फ्रान्सको एउटा बढी केन्द्रीकृत युरोपको प्रतिबद्धतालाई बिना सन्देह चुनौती दिइन् । 
मार्केल संयुक्त राष्ट्र सङ्घमा एउटा स्थायी पद युरोपेली युनियनको हुनु पर्छ र विशेषाधिकार पाउनु पर्छ भन्नेमा छिन् । हाल युरोपेली मुलुकहरूमा फ्रान्स र बेलायतले मात्र विशेषाधिकार (भिटो) पाएका छन् । चान्सलर मार्केल के कुरामा जोड दिन्छिन् भने युरोपियन संसदको बैठक बु्रसेल्समा मात्रै गर्ने कुराको विरोध गर्दै यो चलन हटाउनु पर्ने भन्दै महिनादिने सत्रहरू स्ट्रासबर्गमा गर्नु पर्नेमा जोड दिन्छिन् । 
उपर्युक्त विवरणहरूले अमेरिका, युरोपेली युनियन र चीनका बीचमा मात्र ठुलो अन्तर्विरोध देखिए तापनि युरोपेली युनियनभित्रै पनि अन्तर्विरोधहरू देखिन्छन् । यी अन्तर्विरोधहरू नाफा र नोक्सानको कसीमा एक–अर्काको स्वार्थ बाझियो भने एक–अर्काको गलाकाटुमा परिवर्तन हुन्छ, होइन भने त्यो शत्रुतापूर्ण सङ्घर्षमा फेरिदैन । विगत र वर्तमानलाई हेर्ने हो भने उपनिवेशलाई लिएर सङ्घर्षहरू भएका छन् । साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरू एउटै स्थितिमा नबसेर परिवर्तित हुन सक्छन् । तर साम्राज्यवादी, विस्तारवादी तथा प्रतिक्रियावादी शक्ति एक भएर राष्ट्रवादी, अन्तर्राष्ट्रवादी, सर्वहारावादी शक्तिलाई कुनै पनि अवस्थामा दमन गर्न एक हुन्छन् । वर्तमानमा भेनेजुएलाको आन्तरिक मामिलामा अमेरिकी साम्राज्यवादीको सार्वभौमसत्ता सम्पन्न मुलुकमाथि हस्तक्षेप गर्ने नीतिको युरोपका सबै मुलुकहरूले समर्थन गरेको सर्वविदितै छ । साम्राज्यवादीका लागि युद्ध गृहयुद्ध अनिवार्य रूपले आवश्यक हुन्छ । किनभने हातहतियारका ठुला उत्पादकका उत्पादन युद्धमै खपत हुन्छन् । यसकारण साम्राज्यवादी तथा विकसित पुँजीवादी प्रतिक्रियावादीहरू बृद्ध हुन सक्दैनन्, जसरी विषालु सर्पले आफ्नो काँचुली फेर्छ तर विषालु दाँत फेर्दैन । 

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal