२०७६ वैशाख ११ गते   वर्ष ३६, अङ्क २३
मिति(२०७६ वैशाख १२, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
सम्पादकीय
प्राकृतिक विपत्तिको सार्वजनिक सामना
२०७५ चैत्र १७ गते साँझ आएको आँधीहरीले बारा–पर्सामा ठुलो मात्रामा जनधनको क्षति हुन पुगेको छ । त्यसमध्ये बारामा सबैभन्दा बढी क्षति हुन पुगेको छ । तुलनात्मक रूपमा पर्सामा कम क्षति हुन पुगेको छ । सानो इलाकामा भए पनि बारामा भएको क्षति २०७२ सालको शक्तिशाली भूकम्पको स्मरण दिलाउने खालको छ । घरहरू यसरी नै भताभुङ्ग भएका छन् । झमक्क साँझ परेपछि आँधीहुरीको प्रकोप घना भएकाले बारा–पर्सावासी जनताले हारगुहार पाएनन् । पर्सामा त गुडिरहेको मोटरवाहन समेत उडाएको छ । त्यसले गर्दा जनधनको क्षति अकल्पनीय हुन पुगेको छ । यस प्रकारको प्राकृतिक प्रकोपपछि सिङ्गो देश शोकमग्न छ । के पहाड, के तराई, के हिमाल ? सबै स्थानबाट सहयोगी मन र हातहरू उठेका सामाचार आइरहेका छन् । सरकार, प्रशासन, सुरक्षाकर्मी, राजनीतिक दल, सङ्घ÷संस्थादेखि आम जनतासम्म उक्त प्रकोपबाट पीडित बारा–पर्साबासी जनताको सहयोगमा उठेका छन् । प्राकृतिक प्रकोपको सन्दर्भमा नेपाली जनताको माझमा अहिले जुन प्रकारको सामाजिक सद्भाव देखा परेको छ, त्यो स्वागतयोग्य छ र यस्तो सामाजिक सद्भाव कायम राखिराख्न सम्पूर्ण देशभक्त शक्तिहरूले ध्यान दिनु परेको छ । 
बारा–पर्साको प्रकोप प्राकृतिक हो । यसलाई रोक्नु सम्भव थिएन । तर यसले हामीलाई महत्वपूर्ण शिक्षा पनि दिएर गएको छ । यसबाट पाठ सिकेर हामीले आगामी दिनमा जनधनको क्षति न्यूनीकरण गर्न ध्यान दिनु परेको छ । त्यस सन्दर्भमा हाम्रो ध्यान दुई वटा विषयहरूमा जानु परेको छ । त्यसमध्ये एउटा यो हो– हामीले मौसमसम्बन्धी सूचना प्रणालीको क्षेत्रमा अहिलेभन्दा कैयौँ गुणा बढी र गुणस्तरीय काम गर्नु परेको छ । नेपाल यतिखेर स्याटेलाइट सञ्चालनको प्रारम्भिक चरणमा छ । हामीले यसको माध्यमबाट मौसमसम्बन्धी सूचना प्राप्त गर्न सक्दछौँ । त्यसैले उच्च क्षमताको गुणस्तरीय प्रविधि र यन्त्रको प्रयोगलाई हामीले प्राथमिकतामा राख्नु पर्दछ । देशका विभिन्न संवेदनशील स्थानमा मौसमसम्बन्धी सूचना दिने प्रविधि र यन्त्र जडान गर्नमा ध्यान दिनु पर्दछ । त्यस क्रममा केन्द्रीय स्तरबाट जल तथा मौसम पूर्वानुमान महाशाखालाई प्रविधिसम्पन्न बनाउनु पर्दछ । देशभरिका संवेदशील क्षेत्रमा त्यसका शाखा विस्तार गर्नु पर्दछ, जसले गर्दा उन्नत प्रविधिको माध्यमबाट मौसमसम्बन्धी सूचना समयमै प्राप्त गर्न सकियोस् । त्यस विषयलाई सरकारले अहिलेदेखि नै प्राथमिकतामा राख्नु पर्दछ र सोही अनुसार व्यवस्थापकीय काम गरिनु पर्दछ । अर्काे विषय हो– मानव निर्मित समस्या । बारामा जुन ठुलो आकारमा जनधनको क्षति भएको छ, त्यसको एउटा कारण त्यहाँको इँटाभट्टी हो भन्ने तथ्य सञ्चारमाध्यमले सार्वजनिक उल्लेख गरेका छन् । बारामा यदि इँटाभट्टीहरू बस्तीभन्दा केही टाढा भएको भए क्षति कम हुन सक्दयो । त्यति मात्र होइन, देशका विभिन्न स्थानमा इँटाभट्टी नजिकै मानव बस्तीहरू छन् । इँटाभट्टीमा काम गर्ने मजदुरहरू नै अस्थायी संरचना बनाएर त्यस वरिपरि रहने गरेका छन् । हामीले यस तथ्यबाट शिक्षा सिकेर आगामी दिनमा इँटाभट्टी जस्ता औद्योगिक संरचनालाई माव बस्तीबाट केही टाढा व्यवस्थापन गर्नु पर्दछ । 
यी सुरक्षाजन्य कामहरूलाई तदारुकताका साथ सम्पन्न गर्न सरकार र प्रशासनले ध्यान दिनु पर्ने आवश्यकता त छँदैछ, तत्कालका लागि भने हामीले बारा–पर्सामा राहत व्यवस्थापन गर्नु परेको छ । घाइतेहरूको तत्कालै उपचार गर्नु परेको छ । घरवास बनाउनु परेको छ । त्योभन्दा पहिला त्यहाँ खाद्य सामग्री, लत्ताकपडा, औषधि जस्ता सामग्रीहरू पुर्‍याउनु परेको छ । पीडित जनतालाई जति सक्दो चाडो राहत र सुरक्षा सामग्री पुर्‍याउन सर्वप्रथमत सरकार अघि सर्नु पर्दछ । त्यसका साथै स्थानीय प्रशासन, राजनीतिक दल, विभिन्न सङ्घ÷संस्था, सुरक्षाकर्मी र आम जनतालाई परिचालन गर्न आवश्यक संयोजन सरकारले गर्नु गर्दछ । यस सन्दर्भमा सस्तो प्रचारबाजीमा सीमित रहने गतकालको प्रवृत्तिको पुनरावृत्ति नहोस् भन्नेतिर हाम्रो ध्यान जानु पर्दछ । २०७२ सालको शक्तिशाली भूकपबाट भत्किएका घरहरू निर्माण गर्ने काम अझै पनि सम्पन्न नभएको तितो यथार्थबाट शिक्षा लिएर हामीले राहत वितरण र आवश्यक भौतिक संरचना निर्माणतर्फ ध्यान दिनु पर्दछ । प्राकृतिक विपत्तिको एक मात्र उपाय मानव समुदायको सार्वजनिक सहकार्य हो । त्यसको कुनै विकल्प छैन । उमेर, लिङ्ग, जाति, धर्म, वर्ग जस्ता मानव निर्मित विभेदबाटमाथि उठेर हामी सबै प्राकृतिक प्रकोपको सामना गर्नु सधैँ तम्तयार हुनुपर्दछ । बारा–पर्साको आँधीहुरीको शिक्षा यही हो– प्राकृतिक विपत्तिको सामना सार्वजनिक सहकार्यद्वारा गरौँ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal