२०७४ बैशाख १३ गते, बुधबार    वर्ष ३४, अङ्क २३
मिति(२०७४ वैशाख १४, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प : 2072 बैशाख 12
लेखहरू
साहित्य समाजको दर्पण होइन, पानी हो
– गेहराज थापा
शब्द र अर्थ सहितको कलात्मक प्रस्तुति हुनुका साथै समाजोपयोगी सकारात्मक एवं हितकारी भाव समेत अन्तरित गरेको (हुनु पर्ने) मौखिक, लिखित वा साङ्केतिक अभिव्यक्तिको रूपमा बुझ्न सकिने साहित्यलाई पुरानो जमानामा समाजको दर्पण भनियो र अद्यापि परम्परागत रूपमा यसलाई समाजको दर्पण नै भन्ने गरेको पाइन्छ । तर यो कथन अपर्याप्त वा एकपक्षीय छ र यसलाई आंशिक रूपमा मात्र सही छ भन्न मिल्छ । साहित्यलाई अलि व्यापक अर्थमा चिनाउने हो भने यसलाई समाजको दर्पण भन्नुको बदला समाजको पानी भन्नु पर्ने देखिन्छ । यसरी साहित्य समाजको पानी हो भन्ने मान्यताको औचित्य पुष्टि गर्नका लागि निम्न लिखित (र, यस्तै अन्य) वस्तुगत विशेषतामा आधारित तथ्यहरूलाई प्रस्तुत गर्न सकिन्छ । 
१. अपरिहार्यता ः जीवन जिउनका लागि दर्पण होइन, पानी नै आवश्यक र अपरिहार्य हुन्छ । साहित्य सभ्य मानव जीवनका लागि अपरिहार्य हुन्छ भन्ने पनि स्वीकार गरिएकै कुरा हो । त्यसैले साहित्य, सङ्गीत र कला नभएको मानिस सिङ र पुच्छर नभएको पशु सरह हुन्छ भनिएको हो । यदि हामी मानव जीवनका लागि साहित्यको अपरिहार्यतालाई इमानदारिताका साथ स्वीकार गर्छौं भने साहित्यलाई समाजको दर्पण नभनेर साहित्य समाजको पानी हो भन्नु पर्छ । 
२. रचनात्मक भूमिका ः एकातिर, साहित्य वा काव्यकारलाई “जहाँ न पहुंचे रवि, वहाँ पहुँचे कवि” भनेर काव्यकारको असीमित कल्पना र सिर्जनात्मक क्षमतालाई स्वीकार गरिन्छ भने अर्कातिर, ‘साहित्य समाजको दर्पण हो’ भनेर साहित्यकारलाई मात्र एउटा फोटोग्राफरको रूपमा हेर्ने परस्पर विरोधाभाषी काम गरिएको छ । पुरानो दर्पण पक्षीय कथनमा जुनसुकै साहित्यिक रचनामा पनि समाजकै प्रतिबिम्ब मात्र हुन्छ, लेखक÷साहित्यकारको कुनै भूमिका हुँदैन भन्ने आभाष पाइन्छ । यसरी साहित्य समाजको दर्पण हो भन्ने मान्यताले समाज रूपान्तरणमा साहित्यकारको पनि आफ्नो पानी अर्थात् असीमित क्षमता र प्रभावोत्पादक भूमिका हुन्छ भन्ने सत्यलाई समेत नजरअन्दाज गरेको छ । अतः साहित्यकार र अमर साहित्यिक कृतिहरूका प्रशंसनीय तथा प्रभावकारी भूमिका, प्रेरणा र परिवर्तनको वस्तुगत ऐतिहासिकतालाई स्वीकार गर्ने हो भने साहित्य समाजको दर्पण होइन, पानी हो भन्नु पर्ने हुन्छ । 
३. गुण–दोष ः जस्तो प्रकारले पानी शुद्ध पनि हुन सक्छ, अशुद्ध पनि हुन सक्छ, लाभदायक पनि हुन सक्छ, हानीकारक पनि हुन सक्छ, त्यस्तै प्रकारले साहित्य पनि शुद्ध वा अशुद्ध, उपयोगी वा अनुपयोगी हुन सक्छ । साहित्य समाजको दर्पण हो भन्ने दृष्टिकोण साहित्यमा हुन सक्ने यस प्रकारका गुण–दोषबारे बिलकुल मौन तथा उदासीन छ । त्यसैले साहित्य समाजको पानी हो भन्ने बुझी फोहर र दुषित पानी (साहित्य) को प्रयोग नगरी निर्मल र स्वच्छ पानी (साहित्य) को प्रयोग गर्ने प्रयास गर्नु पर्दछ । यसका लागि स्रष्टाहरूले जे पायो, त्यही वा मनगढन्ते तरिका प्रयोग नगरी साहित्यमा के लेख्ने ? किन लेख्ने ? कसका लागि लेख्ने ? कस्तो लेख्ने ? भन्ने कुरालाई समेत ध्यान दिई साहित्य सिर्जना गर्नु पर्दछ । 
४. रस ः यदि हामी साहित्यमा रस हुन्छ, शितलता हुन्छ, तरलता हुन्छ, धारा–प्रवाह हुन्छ र यसको झरना, सरिता तथा सागर पनि हुन्छ भन्ने स्वीकार्दछौँ भने साहित्यलाई समाजको दर्पण हो भन्नुको बदला ‘साहित्य समाजको पानी हो’ भन्नु नै उपयुक्त हुन्छ । 
५. व्यापकता ः जस्तो प्रकारले जलरूपी पानीको प्रत्यक्ष र अप्रत्यक्ष रूपमा व्यापक अस्तित्व हुन्छ, त्यस्तै प्रकारले साहित्यरूपी पानीको पनि व्यापक रूपमा प्रत्यक्ष र अप्रत्यक्ष अस्तित्व हुन्छ । प्रत्यक्ष अस्तित्वमा जल जल नै हुन्छ, अनि साहित्य साहित्य नै हुन्छ र त्यसले आफ्नो मौलिक विशेषता मात्र जाहेर गर्न सकेको हुन्छ । तर अप्रत्यक्ष अस्तित्वमा त्यस्तो हुँदैन । अप्रत्यक्ष अस्तित्वमा जलरूपी पानी विभिन्न फलपूmलहरूको रस बनेर स्याउ, सुन्तला, कटहर, केरा आदिलाई रसिलो, भरिलो र मिठो बनाए जस्तै साहित्यरूपी पानीले पनि विभिन्न मौखिक र लिखित अभिव्यक्तिहरूलाई सरस र मिठासपूर्ण बनाउँदै सामाजिक, राजनीतिक, ऐतिहासिक आदि अन्य विधा÷व्यक्तित्वहरूमा पनि अपरिहार्य भएर घुसेको हुन्छ । उदाहरणका लागि कुनै उच्च कोटीको राजनीतिक व्यक्तित्वमा पनि उल्लेख्य मात्रामा साहित्यिक सुझबुझ भएको पाइन्छ । 
६. वैयक्तिक भिन्नता ः हाम्रो नेपालीमा एउटा कथन छ– कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्धि । यस कथनले मानिसको बुद्धि वा प्रतिभालाई पानीको सापेक्षतामा तुलना गर्दै विभिन्न कुण्डका पानीमा मात्रात्मक र गुणात्मक हिसाबले भिन्नता भए झैँ विभिन्न व्यक्तिको प्रतिभामा पनि मात्रात्मक तथा गुणात्मक भिन्नता हुन्छ भन्ने अभिप्राय बताउँछ । यसरी विभिन्न साहित्यिक प्रतिभा वा साहित्य (कार) हरू पनि कुण्ड कुण्डका पानी जस्तै भएकाले तिनीहरूमा पनि मात्रात्मक र गुणात्मक भिन्नता हुन्छ । समाजका विभिन्न साहित्यकार र उनीहरूका कृतिहरू अध्ययन गर्दा यस प्रकारको भिन्नता स्पष्ट रूपमा भेटिन्छ । यस अर्थमा पनि साहित्य समाजको पानी हो भन्न सकिन्छ । 
७. प्रतिबिम्बन ः पाठक वा सम्पर्क व्यक्तिलाई सामाजिक वस्तुस्थितिको स्पष्ट प्रतिबिम्ब देखाउने अर्थमा साहित्यलाई समाजको दर्पण भनिएको हो भने पनि पानीले दर्पणको काम समेत अझ व्यापक, सहज र स्पष्ट रूपमा गर्न सक्ने सत्यलाई स्वीकार गर्दै साहित्यलाई समाजको पानी भन्न सकिने हुन्छ । 
८. सफाइ र स्वस्थता ः जलरूपी पानीले कालो, मैलो, दाग, मयल वा खराबी पखाल्न सके झैँ साहित्यरूपी पानीले पनि समाजमा मानव मनका विकार र अशुद्धिहरूलाई पखालेर सफा, सुन्दर र स्वस्थ बनाउन सक्दछ । यस प्रकारले कालोमैलो पखालेर सुन्दर, स्वच्छ र स्वस्थ बनाउने सामथ्र्य दर्पणमा हुँदैन । यस अर्थमा पनि साहित्यलाई समाजको पानी भन्न सकिन्छ । 
९. उर्जा ः जलरूपी पानीको प्रवाहबाट समाजका लागि विद्युतीय उर्जा निकाल्न सकिए झैँ साहित्यरूपी पानीको प्रवाहबाट समाज रूपान्तरणका लागि भावनात्मक, आत्मिक तथा नैतिक उर्जा प्रदान गर्न सकिन्छ । 
१०. प्रमुख र गौण कार्य ः जस्तो प्रकारले जलरूपी पानीको प्रमुख कार्य सम्पूर्ण जीव जगतलाई जीवन्त राख्नु हुन्छ र यसको गौण कार्यको रूपमा यसमा हुने परावर्तनलाई लिन सकिन्छ । त्यस्तै प्रकारले साहित्यरूपी पानीको प्रमुख कार्य पनि मानव जगतको मानसिक फाँटलाई सिञ्चित गरी हराभरा र प्रफुल्ल पार्नु नै हो । प्रतिबिम्बन त एउटा स्वाभाविक र गौण प्रक्रिया मात्र हो । 
 ११. स्तर–पहिचान ः पानी शब्दले पाइन, क्षमता वा स्तरलाई बुझाउँछ । कुनै पनि समाज वा राष्ट्रको विकास र त्यहाँको साहित्यको विकास अनुक्रमानुपाती हुन्छन् अर्थात् तिनीहरूको बीचमा प्रत्यक्ष विचरणको सम्बन्ध हुन्छ । त्यसको परिणामस्वरूप अविकसित समाजमा साहित्य पनि अविकसित र उपेक्षित हुन्छ । तर विकसित समाज वा राष्ट्रहरूमा साहित्य पनि समृद्ध र मर्यादित हुन्छ । यसरी साहित्यले समाजको विकास स्तर बताउन सक्ने भएकाले पनि साहित्य समाजको पानी हो ।
१२. अमृतको अर्थ ः अमृतको वास्तविक अर्थ र पर्यायवाची शब्द पानी नै हो । साहित्यलाई अमृतको सङ्ज्ञा दिन सकिन्छ र साहित्यलाई साहित्यामृत वा साहित्य–सुधा पनि भन्ने गरिन्छ । अमृतले नश्वरत्वलाई अमरत्वमा बदल्न सक्दछ । संसारमा सबै कुरा नाशवान् छन्, यहाँ यदि कुनै कुरा अविनाशी वा अमर रहन सक्दछ भने त्यो हाम्रो असल कार्य वा कृति मात्र हुन सक्दछ । त्यसैले आज हामी संसारमा विभिन्न महापुरुष तथा महान्् साहित्यकारका कालजयी कृतिहरूलाई अजर र अमर रूपमा पाई रहेका छौँ । यस अर्थमा यदि साहित्यलाई अमृत (जल) स्वीकार गरिन्छ भने साहित्य समाजको दर्पण होइन, पानी हो । 
१३. सिर्जनात्मक गुण र सौन्दर्य ः साहित्यरूपी पानीमा हराभरा पार्न सक्ने, उत्पादन वृद्धि गर्न सक्ने, आवर्तन गर्न सक्ने, परावर्तन गर्न सक्ने, इन्द्रेणी पार्न सक्ने तथा थोपा–थोपा र कण–कणदेखि लिएर झरना, सरिता, सरोवर, समुद्र आदि सबैमा मनोहर सौन्दर्य दिन सक्ने, सर्वत्र सुन्दर अस्तित्व कायम गरेर रहन सक्ने, नव सृजना र जागरणको स्रोत बन्न सक्ने जस्ता अनेकौँ अविराम गुणहरू पाइन्छन् । यी सबै विशेषताहरू दर्पण होइन, पानीमा नै पाइन्छन् । यस अर्थमा पनि साहित्य समाजको पानी हो । 
१४. दर्पण पुरानो मान्यता हो ः पुरानो जमानामा कुनै राज्य वा सरकारका नीति–नियम वा ऐन–कानुनसम्बन्धी छुट्टै पुस्तक हुँदैनथे । त्यस बेला मानिसहरू ऐन–कानुनका पुस्तकको ठाउँमा नीति–शास्त्र वा साहित्यका पुस्तकहरू हेर्ने गर्दथे र तिनलाई नीति–दर्पण वा साहित्य–दर्पण भनेर मान्ने गर्दथे । तर आज साहित्यलाई त्यसरी राज्य वा समाजको दर्पण मान्नु पर्ने अवस्था छैन । यसको अर्थ अहिले साहित्यको कुनै महत्व छैन भन्ने पनि होइन । समाज वा राज्यको थिति–रीति, विधि–विधान, नियम–कानुन आदि सबैको आधार बनेर मार्ग निर्देशन गर्ने र पाइन चढाउने काम साहित्यबाट नै भएको थियो र अद्यापि समाजमा जागरण र सिर्जनाको जल सिञ्चन गर्ने साहित्य नै हो । तर पानीको मूल्य नभए झैँ अहिले राज्यले साहित्यलाई खास महत्व र मूल्य दिएको छैन । तसर्थ अब जन समुदायले साहित्य समाजको पानी हो भन्ने बुझी यसको मर्यादा, प्रयोग र विकास गर्न आवश्यक छ । 
१५. यथार्थवादी मान्यता ः यथार्थवादले साहित्यमा काल्पनिक वा मनोगत प्रतिबिम्बन हुनु हुँदैन भन्दै साहित्यमा सामाजिक घटना–परिघटना एवं वस्तुस्थितिहरू दूधको दूध र पानीको पानी हुने गरी आउनु पर्छ भन्ने वस्तुगत मान्यता राख्दछ । 
१६. स्वच्छन्दतावादी मान्यता ः स्वच्छन्दतावादीहरू कुनै झरना वा नदीको पानी जस्तै साहित्यको स्वतन्त्र र प्राकृतिक धारा प्रवाह गर्ने कार्य गर्दछन् । यो धारा–प्रवाह कतै तीव्र गतिमा, कतै मन्द गतिमा, कतै छिचरो त कतै गहिरो बन्दै आफ्नो सागरतिर लक्षित हुन्छ । 
१७. परिष्कारवादी मान्यता ः परिष्कारवादीहरू कुनै स्रोतको पानीलाई फिल्टर गरेर वा अन्य कुनै तरिकाले प्रशोधन गरेर शुद्ध र स्वच्छ बनाए झैँ साहित्यिक रचनालाई शुद्ध, परिमार्जित÷परिष्कृत र उपयोगी बनाउनु पर्ने कुरामा जोड दिने गर्दछन् । 
१८. प्रातिभ रमणीयता ः जस्तो प्रकारले पानीमा पौडी खेल्दा वा स्नान गर्दा मानसिक÷बौद्धिक स्फूर्ति र आनन्द प्राप्त हुन्छ, त्यसै गरी साहित्यिक सृजनाहरूबाट पनि हामीलाई प्रातिभ रमणीयता प्राप्त हुन्छ । यस अर्थमा पनि साहित्य समाजको पानी हो । 
१९. स्रष्टाको पानी ः स्रष्टाको पानी÷पाइन वा अन्तर्निहित प्रतिभा अनुसार साहित्यिक रचनाको स्तर रहेको हुन्छ । स्रष्टाहरू समाजका अभिन्न र प्रभावकारी व्यक्तित्वहरू हुन् । व्यक्तिहरूको समूह नै समाज हो । साहित्यबाट स्रष्टाको व्यक्तित्व÷पाइन पहिचान गर्न सकिने भएको हुँदा पनि साहित्यलाई समाजको पानी भन्न मिल्दछ । 
२०. खोलो खहरे मात्र हुँदैन ः केही प्राचीन आचार्यहरूले काव्य उन्मादको रचना हो, त्यस कारण यो समाजका लागि अस्वस्थ र हानीकारक हुन्छ (खहरेको फोहोर पानी जस्तो) भन्ने खालको तर्क राखेको पाइन्छ । तर वास्तवमा यो अलि कमजोर तर्क नै हो किनभने खोलो भनेको वर्षात्को धमिलो पानीबाट बनेको खहरे मात्र हुँदैन, प्राकृतिक मूलको अजस्र प्रवाहबाट बनेको स्वच्छ नदी पनि हुन्छ ।
२१. तरलता नै पहिचान ः जस्तो प्रकारले पानीका विभिन्न स्रोतहरू कुण्ड, इनार, झरना, ताल, नदी, समुद्र, महासागर आदिमा पानीको फरक–फरक मात्रा र गुण पाउन सकिन्छ, तर सबैको अवस्था तरल नै हुन्छ, त्यसै गरी साहित्यका विभिन्न रचना तथा कृतिहरूमा पनि परिमाणात्मक र गुणात्मक अन्तर रहने भएता पनि तिनीहरूबीचको समानता वा पहिचान भनेको पनि तरलता नै हो । 
२२. उचाइ, प्रवाह र प्रभाव ः उचाइ धेरै हुँदा पानीको दबाब तथा प्रवाह तीव्र हुँने र कम हँुदा मन्द हुँने भए झैँ कुनै विषयवस्तुप्रति स्रष्टाको सोच वा कल्पना–स्तम्भको उचाइ अनुसार नै सम्बन्धित साहित्यिक रचनाको दबाब, धारा–प्रवाह, गति तथा प्रभावकारिता हुने गर्दछ । २३. पान गर्न योग्य ः दर्पण वा प्रतिबिम्ब कुनै पनि हालतमा पान गर्न योग्य हुँदैन । तर साहित्यको रसपान गरे भैँm वस्तुगत जगत्मा अनिवार्य आवश्यकताको रूपमा पान गरिने वस्तु भनेकै पानी हो ।२४. अवस्था र विशेषता ः प्राकृतिक रचनाको पानीका तीन अवस्था (ठोस, तरल, ग्यास) का आ–आफ्ना विशेषताहरूको सादृष्यतामा साहित्यिक रचनाका शब्दहरूका तीन अवस्था (अभिधा, लक्षणा, व्यञ्जना)का आ–आफ्ना विशेषताहरूलाई क्रमशः दाँज्न सकिन्छ । यसरी तुलना गर्दा अभिधालाई रूप–रङ र आकार निश्चित भएको पानीको ठोस (हिउँ) अवस्थासँग, लक्षणालाई जस्तो भाँडोमा राख्यो उस्तै रूपरङ र आकार लिने पानीको तरल अवस्थासँग तथा व्यञ्जनालाई स्वतन्त्र अस्तित्वमा उडान गर्ने पानीको बाफ वा बादलसँग दाँजेर बुझ्न सकिन्छ । पानीेको सामान्य अवस्था तरल अवस्था नै हो । यस बाहेक पानी बनाउनका लागि बरफको तापक्रम बढाउनु पर्छ भने बाफको तापक्रम घटाउनु पर्ने हुन्छ । यसरी हेर्दा साहित्यिक रचनाको मूल प्रवाहमा लक्षणा शक्ति (तरलता) हावी हुनु बढी उपयुक्त हुने देखिन्छ । तर साहित्यका शब्द–शक्तिको यस्तो तुलना दर्पणसँग गर्न भने पटक्कै मिल्दो हुन सत्तैmन । 
२५. परम्परा, संस्कृति र सभ्यताको संवाहक ः समाजको परम्परा, संस्कृति र सभ्यताको वाहक भनेको साहित्यरूपी नदीको मूल–प्रवाह नै हो । साहित्य (कार) ले परम्परा वा संस्कृतिसँग क्रिया÷क्रिडा गरेर कुनै न कुनै रूपमा नयाँ सभ्यताको जन्म दिई रहेको हुन्छ र त्यसको वृद्धि र विकासबाट नै फेरि नयाँ परम्परा वा संस्कृतिको प्रादुर्भाव हुने गर्दछ ।२६. रिक्तता÷अभावपूर्ति र सन्तुलन ः साहित्यकारको साहित्यिक प्रवृत्ति तथा गतिशीलता पनि पानीकै जस्तो हुन्छ । पानीले आफ्नो बाटामा भएका शुष्क, गहिरा तथा अँध्यारा ठुला–साना खाडलहरूभित्र पसेर सबैलाई सरस, समानुपातिक र सन्तुलित तरिकाले भरिपूर्ण पारेर मात्र अगाडि बढ्ने गरे झैँ साहित्यकारले पनि रवि नपुग्ने विकृत–विसङ्गत, अभावग्रस्त र अँध्यारा ठाउँहरूलाई नै प्राथमिकता दिँदै समानुपातिक र सन्तुलित ढङ्गबाट माया र ममताका साथ आफ्नो यात्रालाई निरन्तरता दिने गरेको हुन्छ । मानौँ, पानीको नदी जस्तै ‘मेरो माया उधै सलल’ भन्दै काव्यकारले पनि तल्लो–तह हेर्दै दीनहीन, शोषित, उत्पीडित तथा अभावग्रस्तहरूको मायामा आफ्नो साहित्यिक यात्रालाई गतिशील बनाई रहेको हुन्छ ।
२७. त्रि–आयामिक संरचना ः जस्तो प्रकारले पानीको परिमाण थोरै–धेरै जे–जति भए पनि त्यसको लम्बाइ, चौडाइ (सतह) र उचाइ (गहिराइ) हुन्छ, त्यस्तै प्रकारले कुनै साहित्यिक रचना जे–जस्तो भएता पनि त्यसको पनि लम्बाइ–चौडाइ मात्र नभएर तीन वटै आयामहरू लम्बाइ, चौडाइ (बाह्य पक्ष) र उचाइ÷गहिराइ (आन्तरिक पक्ष) हुन्छ । विभिन्न सृजनाका पक्षहरूको परिमाण र गुणमा फरक पर्नु त स्वाभाविकै हो ।
२८. तरङ्गको उत्पत्ति ः एउटा कवि–मन पानीको तलाउ जस्तो हुन्छ । स्थिर तलाउमा कुनै वस्तुले छुँदा लहर पैदा भए झैँ कविको मनलाई पनि कुनै उद्दीपकले स्पर्श गर्‍यो भने कवि मन तरङ्गित हुन्छ । यसै मानसिक तरङ्गलाई अर्को शब्दमा भन्नु पर्दा कविको कल्पना भन्न पनि सकिन्छ ।
कविको मानसिक सरोवरमा लहर उत्पन्न गर्ने उद्दीपकहरू दुई प्रकारका हुन सक्दछन्– नयाँ उद्दीपक र पुरानो (स्मृतिको) उद्दीपक । जे होस् , कुनै पनि उद्दीपकद्वारा कविमन तरङ्गित हुनु भनेको कुनै काव्य सिर्जनाका लागि पूर्वाधार तयार हुनु नै हो ।
२९. द्वि–पक्षीय क्रिया ः दर्पणमा एउटा परावर्तनको क्रिया मात्र हुन्छ, तर पानीमा तरङ्ग उत्पन्न हुनुको अतिरिक्त अन्यक्रियाहरूमध्ये दुई थरि क्रियाहरू उल्लेखनीय छन्– परावर्तन र आवर्तन । दुवै क्रियाका परिणामहरू (चित्र) हेर्न र देख्नका लागि दृष्टिका कोणहरू फरक फरक पारेर हेर्ने गर्नु पर्छ । यसरी परावर्तन र आवर्तनबाट पानीमा बन्ने चित्रहरू (पानी–चित्र) मा परावर्तन क्रियाबाट बाहिरी वस्तुस्थितिको दृष्य र आवर्तन क्रियाबाट पानी भित्रकै (आन्तरिक) दृष्य निर्मित भएको हुन्छ । त्यसै गरी कुनै लेखक वा स्रष्टाको रचना (पानी–चित्र) मा पनि परावर्तन र आवर्तनबाट जस्तै गरी बाह्य समाजको झलक तथा लेखकको आफ्नो मौलिकपन प्रतिदर्शित भएको हुन्छ । यसरी सम्पूर्ण रूपमा भन्नु पर्दा कुनै साहित्यिक रचनामा दुई पक्ष हुन्छन्– बाह्य पक्ष र आन्तरिक पक्ष । तर लेखकको प्रवृत्ति वा दृष्टि अनुसार कुनै रचनामा बाह्य पक्ष हावी हुन्छ त, कुनै रचनामा आन्तरिक पक्ष प्रबल भएको पनि हुन्छ ।
३०. पानी–चित्र र पाठक÷विश्लेषक ः लेखकको उपर्युक्त पानी–चित्र (साहित्यिक रचना)लाई कुनै पाठकले अथ्र्याउँदा वा विश्लेषण गर्दा पनि परावर्तनबाट प्राप्त चित्रका लागि एउटा कोणबाट हेर्नु पर्छ भने आवर्तनबाट प्राप्त चित्रका लागि अर्को कोेणबाट हेर्नु पर्छ । यसो गरेमा लेखकको रचनामा भएको सामाजिक पक्ष र उनको मौलिक पक्ष दुवैबारे राम्रोसँग स्पष्ट हुन सकिन्छ । तर उपयुक्त दृष्टिकोण नअपनाई अथ्र्याउने वा व्याख्या–विश्लेषण गर्ने नाममा कहिले पानीको तापक्रम घटाउँदै ० डिग्री सेन्टिग्रेडको हिउँमा पुर्‍याउने त कहिले तापक्रम बढाउँदै १०० डिग्री सेन्टिग्रेडको बाफमा पुर्‍याउने जस्तो गर्दा गलत प्रविधिको कारणले हट्न गएको लेखकको पानी–चित्र नदेख्दा विश्लेषकले भ्रममा परेर त्यसलाई ‘लेखकको मृत्यु’ भन्ने घोषणा गर्न पनि बेर लाउँदैन । तर त्यसलाई त उस्तादले गरेको ‘लेखकको हत्या’ भने पनि हुने हो ।
३१. ज्यादतीले विकृति निम्त्याउँछ ः कुनै पनि क्षेत्रमा भएको ज्यादतीले विकृति निम्त्याउने गर्दछ । वस्तुगत रूपमा पानीको कुरा गर्दा तापक्रम घटाएर ० डिग्रीमा लैजाँदा तरल पानीमा विकृति आउँछ र ठोस हिउँ बन्दछ, त्यस्तै १०० डिग्रीमा लैजाँदा पनि अवस्था विकृत भएर बाफ बन्दछ, यद्यपि दुवै अवस्थामा पानीको अणु–संरचना बदलिएको हुँदैन । तर पनि अवस्थाको हिसाबले दुवै चरम विकृति नै हुन् भन्न सकिन्छ । त्यस्तै पानीमा केही अम्लीय अशुद्धि मिसाएर प्लाटिनमका इलेक्ट्रोडहरू राखी विद्युत–विच्छेदन गर्ने हो भने तरल पानीबाट पानीभन्दा बिलकुलै फरक फरक गुण भएका दुई थरी तत्वहरू हाइड्रोजन ग्यास र अक्सिजन ग्यास निस्कन्छन् । यसरी विकृतीकरण गर्दा तरल पानीको अस्तित्व मेटियो भन्दैमा पानी नै अस्तित्वहीन हो भन्नु नितान्त गलत कुरा हुन्छ । यसै वस्तु–तथ्यलाई बुझेर कुनै साहित्यिक रचनाको व्याख्या–विश्लेषण गर्दा त्यसको अवस्थामा (तरलतामा) कुनै विकृति नआउने गरी निश्चित परिधि र प्रक्रिया अपनाउने गर्नुु पर्दछ । रचनाको व्याख्या–विश्लेषणका लागि अवस्था परिवर्तन ग्राह्य हुँदैन अथवा यसमा भौतिक वा रासायनिक कुनै पनि प्रकारको परिवर्तन गरियो भने त्यसले मौलिकतालाई विस्थापित गरी विकृति नै निम्त्याउने हुन्छ ।
३२. आँखाको पानी र साहित्यको रस ः जीवनका अनेकौँ आरोह र अवरोह पार गर्ने क्रममा विभिन्न अवस्थामा मानिसका आँखामा रसाउने पानीहरू नै पूर्वीय साहित्यमा स्रष्टाका रचनाका वास्तविक रसहरू हुन् । मानिसका आँखामा कहिले प्रेमको पानी, कहिले घृणाको पानी, कहिले रिसको पानी, कहिले दुःखको पानी, कहिले हाँसोको पानी, कहिले डरको पानी, कहिले उत्साहको पानी, कुनै न कुनै पानी रसाई रहेकैे हुन्छ । यसरी विभिन्न कारणबाट आँखामा रसाउने पानीको आधारमा नै साहित्यमा रसहरू निर्धारित भएका हुन् । पूर्वीय साहित्यमा जम्मा नौ रसहरूलाई मान्यता दिइएको छ । ती रसहरू हुन् ः शृङ्गार, हास्य, करुण, वीर, रौद्र, भयानक, वीभत्स, अद्भुत र शान्त । जसरी जीवन छँदासम्म आँखामा पानी रहेको हुन्छ, त्यसै गरी साहित्य छँदासम्म त्यसमा कुनै न कुनै रस रहेको हुन्छ ।
३३. मूल्याङ्कन र समीक्षा ः कुनै साहित्यकार तथा उनको कृतिको मूल्याङ्कन, समीक्षा वा समालोचना गर्दा अपनाउनु पर्ने मानकहरू (स्तर, शुद्धता, स्वच्छता, सरसता, तरलता, आवश्यकता, प्रभावकारिता, उपयोगिता आदि) गुणात्मक र सङ्ख्यात्मक दुवै हिसाबले दर्पणकोभन्दा पानीको विशेषताका आधारमा निर्धारण गर्न सकिने हुँदा पनि साहित्य समाजको दर्पण हो भन्नुको बदला साहित्य समाजको पानी हो भन्नु बढी सान्दर्भिक र उपयुक्त हुन्छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप लेखहरू
सन्दर्भ ८ मार्च
८ मार्च र महिलाका समस्या
राजनीतिक संरचना र वर्ग आधार
नव उदारवादी नीति र यसका प्रभावहरू
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal