२०७४ श्रावण ३२ गते, बुधबार   वर्ष ३४, अङ्क ३७
मिति(२०७४ भाद्र २, शुक्रवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
लेखहरू
राजनीतिक संरचना र वर्ग आधार
– दुर्गानाथ खरेल
मानव समाज सबैभन्दा व्यवस्थित समाज हो । प्रकृतिमा अन्य जनावरहरूले सामूहिकता प्रदर्शन गर्न खोजे पनि मानवले जत्तिको व्यवस्थित सामूहिकता प्रदर्शन गर्न सक्ने अवस्था कुनै जीवको पनि छैन । मानव समाजमा आवश्यकताका वस्तुहरू उत्पादन र वितरण गर्ने काम निश्चित नियम–कानून र अनुशासनको प्रयोग गरेर गरिन्छ । मानव समाजमा पनि खाने लगाउने र बस्ने तथा शिक्षा, स्वास्थ्य र रोजगार प्राथमिक आवश्यकता हुन् । ती आवश्यकता पुरा गर्न धेरै पहिलेदेखि निश्चित नियमका आधारमा तयार पार्ने गरिएको छ । उत्पादन र वितरण बाहेकका नियमहरू उपरी संरचना हुन् र तिनीहरूको पनि महत्वपूर्ण भूमिका हुने गर्दछ । उपरी संरचनाको पनि आधारमा महत्वपूर्ण भूमिका हुन्छ । त्यसले आधारलाई परिवर्तन हुन नदिन हुने परिवर्तनका सीमा निश्चित गर्न र परिवर्तनका गतिमा तीव्रता वा ढिलाढाला बनाउने भूमिका निर्वाह गर्दछ । आधार र उपरी संरचनामा विरोधी वर्गको स्वार्थ अनुसार आफ्ना आफ्ना विरोधी स्वार्थबाट प्रेरित हुने भएको हुनाले सङ्घर्षको रूपमा प्रदर्शन हुन्छ । परिवर्तनमा आधारको मुख्य र उपरी संरचनाको सहयोगी भूमिका हुन्छ । उत्पादन र वितरणको आधारमा उभिएर राजनीति, धर्म, नैतिकता जस्ता उपरी संरचनाहरूले समाजमा काम गरी रहेका हुन्छन् । उत्पादनमा उत्पादक शक्तिहरूको विकास छिटो छिटो हुन्छ । उनीहरूले गरेको उत्पादनको वृद्धि अनुसार वितरण व्यवस्थामा पनि छिटो छिटो परिवर्तन हुन पाउन्न । त्यसलाई उपरी संरचनाका कारणले वर्गीय स्वार्थको अनुसार उपयोग गरेको हुन्छ । त्यसको लागि सचेत, सङ्गठित र अनुशासित शक्तिको दृढता आवश्यक पर्छ । परस्पर विरोधी वर्गको शक्ति सन्तुलनको आधारमा जुन बढी सचेत सङ्गठित, अनुशासित र दृढ हुन्छ, उसैको वर्ग स्वार्थ पुरा हुन्छ र अर्को विरोधी पक्षबाट आफ्नो विजयका लागि परिपक्व अवस्थाको प्रतिक्षा गर्नै पर्छ ।
राजनीति र धर्म दुवै उपरी संरचना हुन् । तर यिनीहरू दुवै आधारमा आफ्नो स्वार्थका जरा यति बढी गहिरोसम्म पुर्‍याएका हुन्छन् कि उनका विरोधमा गएर स्वार्थ पुरा गर्नु पर्ने वर्गले आफ्ना विरोधी स्वार्थको बलियोसँग छाप लगाएर काम गरी रहेका हुन्छन् । यस्तो हुनाको मुख्य कारण परम्पराप्रति समर्पण नै हो । उत्पादन शक्तिका रूपमा काम गर्नेहरूको सङ्ख्या सबैभन्दा धेरै छ तर विश्व दृष्टिकोण, सङ्गठन र आफ्नो वर्गीय मुक्तिका विषयमा सम्पन्न वर्गको छाप परेको कारण ईश्वरीय शक्ति, अर्को जुनी, परम्परा र यथास्थितिको भारी बोकेर हिँड्न खोज्ने हुनाले त्यसैले थिचेर चल्नै नसक्ने गरी थला पारेको हुन्छ । आफूलाई शक्तिहीन सम्झन्छन् र जसका विरुद्ध आफ्नो शक्ति प्रदर्शन गर्नु पर्ने हो, उसैलाई आफ्नो मुक्तिदाता सम्झन्छन् । जहिलेसम्म आफ्नो व्यक्तिको र आफ्नो वर्गको शक्तिसँग परिचित भई त्यसको परिचालन गर्ने हिम्मत गर्दैनन्, त्यति बेलासम्म यो क्रम रही रहन्छ । वर्ग चेतना र वर्ग शक्ति यति धेरै महत्वपूर्ण हुँदा हुँदै पनि आफ्नो अस्तित्व मेटाउन आफै कस्सिने बनाउन धार्मिक र राजनैतिक शक्तिहरूले सफलता पाई रहेका छन् र वर्गीय मुक्तिलाई पन्छाउन सफल भएका छन् । जतिसुकै प्रयत्न गरे पनि किसान र मजदुर जस्ता उत्पादक शक्तिमा वर्ग चेतना बढी रहेको छ र तिनीहरूको सचेत प्रयत्नले सामन्ती व्यवस्था समाप्त भएको मात्र होइन, पूँजीवादी व्यवस्थाको अस्तित्वको सङ्कट पनि झन्‌पछि झन् गहिरिँदै गई रहेको छ । वर्ग चेतना र विश्व दृष्टिकोण एक–अर्कासँग सम्बन्धित छ । विश्व दृष्टिकोणमा हुने परिवर्तनले वर्ग चेतनालाई बलियो र सशक्त बनाउँदै सङ्गठित प्रयत्न गर्न अग्रसर बनाउँछ । वर्गीय मुक्तिका लागि व्यवस्थित आन्दोलन उठाउने र राजनैतिक रूपले सशक्त आन्दोलन उठाएर राज्यसत्ता कब्जा गर्न प्रेरणा दिन्छ ।
वर्ग चेतना र वर्गसङ्घर्ष रहरले मात्र बढ्ने चिज होइन, शोषक र शोषित वर्गको उद्देश्य नै एक–अर्काको विरुद्धमा हुने भएकाले उत्पादन कार्यको सिलसिलामा विरोधी प्रवृत्ति प्रकट भई वृद्धि हुँदै जाने गर्दछ । सुरुमा त्यो आर्थिक सङ्घर्षको रूपबाट विरोध र विरोधी गतिविधि देखा पर्ने गर्दछ । त्यहीबाट विकास भएर राजनैतिक गतिविधिमा रूपान्तरित हुन्छन् र सत्ता सङ्घर्ष अगाडि बढ्दै जान्छ । राजनैतिक सङ्घर्ष वर्गसङ्घर्षकै रूप भएको हुनाले सङ्घर्षकै सिलसिलामा वैचारिक सङ्घर्षले वर्गसङ्घर्षद्वारा सत्ता कब्जा गर्नुभन्दा पहिले र कब्जा गरेपछि गरिने सङ्घर्षको लागि पनि व्यवस्थित र अनुशासित बनाउने काममा सहयोग गर्छ । वैचारिक सङ्घर्ष आर्थिक सङ्घर्ष, राजनैतिक सङ्घर्ष र वैचारिक सङ्घर्ष गर्दै वर्गसङ्घर्ष रोकिन पनि सक्दैन । शोषित वर्ग उदीयमान शक्ति भएकाले विजय पनि निश्चित हुन्छ । राजनैतिक सङ्घर्षका अगुवाहरूले विश्व दृष्टिकोण परिवर्तन गराउन र वर्ग सचेत भई सङ्गठित र अनुशासित हुने प्रेरक शक्तिको भूमिका निर्वाह गरी रहेका हुन्छन् । समाजमा आमूल परिवर्तनका लागि काम गर्ने राजनैतिक कर्मीहरूले सम्पन्न वर्गका विरुद्ध आन्दोलन उठाएर राज्यसत्ता कब्जा गर्ने उद्देश्य पुरा गर्न दुई वटा काममा ध्यान दिनु पर्छ । एउटा आफ्नो श्रम बेचेर आफ्ना घटीभन्दा घटी आवश्यकता पुरा गर्नका लागि कुनै न कुनै उत्पादनको काम गर्ने, त्यसका साथै केही समय बचाएर विरोधी वर्गका विरुद्ध सङ्घर्ष गर्न सामूहिक काममा खट्ने । यी दुवै काममा ध्यान नदिएसम्म कसैले पनि क्रान्तिकारी कामको जिम्मा पुरा गर्न सक्दैन । किनभने श्रमजीवी वर्गको प्रतिनिधिको हैसियतमा श्रममा खट्नु पर्छ र वर्गीय हितका लागि सङ्गठनले दिएको जिम्मा पुरा गर्नका लागि पनि समय अवश्य दिनु पर्छ ।
धेरैजसो राजनीतिक पार्टीहरूले आफूलाई र आफ्ना कार्यकर्ताहरूलाई पुरै पार्टीको काममा खट्न लाग्ने र खट्न लगाउने गर्दछन् । त्यसो गर्दा वर्गीय जिम्मा पुरा गर्ने काम छाडिएको हुन्छ । उपरी संरचनामा मात्र ध्यान केन्द्रित गरेर वर्ग आधारको जिम्मा छाडेपछि अवसरवादी र सम्पन्न वर्गको भूमिका मात्र पुरा हुन्छ । आधारमा परिवर्तन नभएसम्म उपरी संरचनामा परिवर्तन हुन सक्दैन । आफू संलग्न नभई उपरी संरचनामा मात्र अझिँल्दा आधारमा परिवर्तनको वस्तुस्थिति तयार पार्ने काम हुन सक्दैन । आफू पनि श्रमजीवी बन्नुको सट्टा अवसरको खोजी गर्ने हुन पुगेर मजदुरको मुक्ति मजदुर बाहेक अरूले गर्न सक्दैन भन्ने मूल वाक्यको बेवास्ता हुन पुग्छ । त्यस कारण दुवै काममा उत्तिकै ध्यान पुर्‍याउनु पर्छ । वर्गसङ्घर्षको काम तुरुन्तै पुरा हुने काम होइन । आफ्नो जीवनभरि र धेरै पुस्तासम्म सञ्चालन गरी रहने काम भएको हुनाले आधारभूत आवश्यकता श्रम बेचेर मात्रै पुरा गर्न नलाग्दासम्म उद्देश्य पुरा गर्न सकिन्न । आफू र आफ्नो वर्ग आधारमा ध्यान नदिइकन उपरी संरचनामा प्रतिस्पर्धा गर्ने हो भने राजनीति त हुन सक्ला तर वर्ग र वर्गसङ्घर्षको औचित्य पुष्टि हुन सक्दैन । आफूले आफ्ना आवश्यकता पुरा गर्न श्रम गर्नेतिरभन्दा कसैलाई शोषण गर्नतिर गएको र शोषण गरी रहेको अवस्था भेटिन्छ । आवश्यकता पुरा गर्ने दुई वटा विकल्प बाहेक तेस्रो छोटो र सजिलो उपाय हुन सक्दैन । ती विकल्पहरू कि श्रम बेच्न खट्ने कि ठग्न र झुक्काउन तथा अवसरको खोजी गर्नतिर आफ्नो ध्यान केन्द्रित गर्ने त्यस विषयमा स्पष्ट हुनु पर्ने पहिलो आवश्यकता हो । साधारण श्रमजीवी जनताभन्दा राजनीतिक व्यक्तिहरू बढी सचेत हुन्छन् । त्यो चेतनालाई प्रयोग गरेर जनताको पिछडिएको चेतनाबाट फाइदा उठाउन सजिलो हुन्छ । तर सचेत व्यक्तिको हैसियतमा आपूm भए पनि जनताको निम्न चेतना स्तरबाट फाइदा उठाउन लागियो भने त्यही हो– अवसरवादी चरित्र ।
सम्पन्न वर्गीय राज्यसत्ताको संरचनामा हजारौँ वर्षदेखि व्यक्तिगत सम्पत्तिको आधार खडा गरेका र परम्परागत तरिकाले आफ्नो श्रेष्ठता कायम गरेर समाजमा हैकम चलाएका धेरै व्यक्तिहरू हुन्छन् । उनीहरूको वर्ग संरचनाका कारणले राजनीतिमा विशेष गरी शोषक वर्गका प्रतिनिधिको हैसियत कामय रहेको हुन्छ । तर शोषित वर्गका व्यक्तिहरू दिनदिनै सङ्ख्यामा वृद्धि भई रहेको भए पनि वर्ग चेतना, वर्ग आधार र वर्ग सङ्गठनमा आफ्नो अस्तित्व खडा गर्न नसकेर सम्पन्न वर्गकै मातहतको व्यक्तिका हैसियतमा समय बिती रहेको हुन्छ । त्यस्ता व्यक्तिहरूको सङ्ख्या समाजमा प्रशस्त हुन्छ । शिक्षा, आवास जस्ता आधारभूत आवश्यकताबाट वञ्चित भएका त्यस्ता हजारौँ व्यक्तिहरूमा वर्ग चेतना र वर्ग अस्तित्वको आधार खडा गर्न त्यति सजिलो हुन्न, बरु आफू पनि सम्पन्न वर्गीय चेतनाको आधारमा तिनै व्यक्तिहरूको काँधमा सवार हुन सजिलो हुन्छ । धेरै राजनीतिक व्यक्ति र सङ्गठनहरूले त्यही सजिलो बाटोबाट आफ्नो सम्पन्न वर्गीय आवश्यकता पुरा गर्न ध्यान दिन्छन् । श्रमजीवी व्यक्तिहरू महत्वपूर्ण व्यक्तिहरू हुन् भन्ने क्रान्तिकारी सिद्धान्त अँगाल्ने सबैको साझा विश्लेषण भएको हुनाले नाम आफ्नो पनि त्यही कित्तामा पार्न क्रान्तिकारी अलङ्कार लगाउने तर काम गर्दा श्रमजीवीमाथि घोडा चढेर आफू प्रतिक्रियावादीको प्रतिनिधित्व गर्ने धेरै क्रान्तिकारीहरू समाजमा हुने कारण पनि त्यही हो । त्यस कारण धन बहादुर नाम राखेर धनी र बल बहादुर नाम राखेर बलियो भइन्न भन्ने कुरा श्रमजीवीहरूले राम्ररी बुझ्न आवश्यक छ । समाजका धेरै मान्छेहरू अरूलाई झुक्काएरै भए पनि आफू सुविधासम्पन्न हुने खेलमा सामेल हुने भएकाले आफ्नै बुद्धि विवेकको प्रयोग गरेर व्यक्तिको र सङ्गठनको समेत मूल्याङ्कन गर्न नसक्ने हो भने धोकाको शिकार बन्ने सम्भावना बढी हुन्छ । विश्वास गर्दा शङ्का पनि गर्ने र प्रमाण खोजेर विश्वास गर्नै पर्ने वा अविश्वास गर्नु पर्ने निर्णय गर्ने अभ्यास सबैले गर्न सक्नु पर्छ ।
दश हजार वर्ष पहिलेदेखि व्यवहारमा प्रयोग हुँदै आएको व्यक्तिगत सम्पत्तिका आधारमा शासक बन्ने र त्यही व्यक्तिगत सम्पत्तिको अभावमा शासित बन्ने चलन चल्दै आएको हुनाले व्यक्तिगत सम्पत्ति थप्ने काममा सफल हुने कुरा पनि सहज जस्तो नै लाग्दछ । अप्ठेरो पर्ने काम व्यक्तिगत सम्पत्ति कमाउन सक्ने क्षमतावान भए पनि सामूहिक सम्पत्तिका लागि र सामूहिक हितका लागि आफ्नो सम्पूर्ण क्षमताको प्रयोग गर्न लाग्ने व्यक्तिका लागि हो । पारिश्रमिक लिने र नाफा कमाउने उद्देश्य एउटै होइनन् । पारिश्रमिक लिएर आफ्ना आवश्यकता पुरा गराउने योग्यता क्षमता र लगनशीलतासँग सम्बन्धित कुरा हो । ऊ सधैँ शोषणमा परेको हुन्छ । किनभने श्रममा लगाउने व्यक्तिले नाफा कमाउनका लागि मात्र काम गर्ने अनुमति दिन्छ । उसलाई नाफा नहुने भयो भने बेरोजगारीको समस्या ब्यहोर्न पर्छ । शोषण गर्न सकिन्छ भन्नेसँग सम्बन्धित हुन्छ । लगानी बढी बनाउने, सस्तोमा उत्पादन गर्ने, सस्तोमा काम लगाउने धेरैलाई काम गराउने र बढी नाफा कमाउने उद्देश्य शोषणसँगसम्बन्धी हुन्छ । जति धेरैलाई र जति थोरै पारिश्रमिक दिएर काम गराइन्छ, त्यति धेरै पूँजी आफूसँग जम्मा हुन्छ । यी दुई वटा परस्पर विरोधी उद्देश्यमा आधारित व्यवस्थाहरू हुन् । त्यसैले सधैँभरि वा जीवनभरि शोषितको कित्तामा रहने सजिलो काम पक्कै पनि होइन । उच्च स्तरका टाठाबाठा मान्छेहरू आफू ठगिने काम गर्दैनन् । सिधासाधा नबुझेका र धेरै पुस्तादेखि व्यक्तिगत सम्पत्तिका मालिक नभएका व्यक्ति, अवसरवादबाट वञ्चित भएका व्यक्तिहरू सजिलै ठगिन्छन् । त्यस्ता शोषितहरूलाई नठग्ने सिद्धान्तले उनीहरूलाई सचेत सङ्गठित र अनुशासित बनाउनु पर्ने जिम्मेवारी आफ्नो भएको मानेर काम गर्नु पर्छ, जुन ज्वारभाटाका विरुद्ध जुध्ने कठिन जिम्मेवारीको काम हो ।
राजनीति उपरी संरचना हो । यो राज्यसत्तासँग सत्तास्वार्थसँग जोडिएको छ । सत्ता सञ्चालकहरू उपल्लो स्तरका व्यक्तिहरू हुन् । सर्वसाधारण श्रमजीवी वर्गका व्यक्तिहरू सरह काम गरेर सत्ता अडाउन सकिन्न । त्यस कारण अनेक किसिमका कूटनीति, तिकडम आदि गर्नु पर्ने र गर्नै पर्ने हुन्छ । त्यो क्षमता सम्पन्न वर्गले सजिलै प्रयोग गर्ने र श्रमजीवी वर्गले धेरै अभ्यास अनुभव, नक्कल र चलाकीका साथ उच्च बौद्धिक क्षमताको प्रयोग समेत गर्नु पर्ने हुन्छ । त्यो सम्पूर्ण क्षमता सर्वहारा वर्गको वर्गीय हित अन्तर्गत हुँदासम्म त्यो पार्टी कम्युनिस्ट पार्टी हुन्छ । अवसरवादको दलदलमा भासिई हाल्छ । त्यसैले पार्टीलाई क्रान्तिकारी बनाउने कि अवसरवादी बनाउने भन्ने कुरा त्यो पार्टीमा खास गरी नेतृत्व पङ्क्तिमा सर्वहारा वर्ग र अझै सर्वहारा वर्गका प्रतिनिधि छन् कि छैनन् भन्ने कुराले सबैभन्दा बढी महत्व राख्दछ । राजनीतिक रूपले धेरै आन्दोलनबाट खारिएको स्थापित पार्टी र त्यसको नेतृत्व बिना पार्टीको क्रान्तिकारी चरित्र बचाई राख्न सकिन्न । पूँजीवादको विकास भई नसकेको समाजमा निम्न पँुजीपति वर्गको बाहुल्यता हुन्छ । त्यो ढुलमूल र अवसरवादी वर्ग हो । त्यस्ता धेरै व्यक्ति कम्युनिस्ट पार्टीमा भएको अवस्थामा पार्टीलाई अवसरवादबाट बचाउन धेरै मिहिनेत गर्नु पर्ने हुन्छ । त्यो वर्ग पूँजीपति वर्गबाट अप्ठेरोमा परेको हुनाले क्रान्तिकारी हुन्छ । सर्वहारा हुनुबाट बच्ने उसको प्रयत्न हुन्छ, जबकि सर्वहारा वर्ग नभइकन क्रान्तिको विश्वासिलो व्यक्ति बन्न सक्दैन । त्यो वर्गले अवसरको खोजी गरी रहेको अवस्थामा सर्वहारा वर्गको कम्युनिस्ट पार्टीलाई धोका दिन कति पनिपछि पर्दैनन् । त्यसैले पार्टीलाई अवसरवादबाट बचाउन वर्ग र वर्गीय हितलाई सर्वोपरि महत्व दिन आवश्यक हुन्छ । खासै मजदुर किसान वर्गमा पार्टीलाई पुर्‍याउने र सर्वहारा वर्गले त्यसको नेतृत्व गर्ने कुरालाई बढी महत्व दिनु पर्छ ।
धेरै उद्योगधन्दाको विकास भएको समाजमा उद्योगधन्दामा काम गर्ने मजदुरहरू सर्वहारा भएर उनीहरूको रोजगारीका कारणले वर्गीय चरित्र बचाउन सक्ने अवस्था रहेन । भए पनि पूँजीवादीको विकास भई नसकेको समाजमा रोजगारीको अवस्था कम भएकाले सर्वहारा वर्गको अस्तित्व बनाउन नै अप्ठेरो हुने हुनाले निम्न पूँजीवादी वर्गबाट क्रान्तिकारी राजनैतिक पार्टीमा व्यक्तिहरूलाई भर्ती गर्नु पर्ने हुन्छ । अवसरको खोजी गर्ने वर्ग भएकाले पार्टीमा आउँछन् पनि उनीहरू स्थिर भर पर्दा र दृढ मनस्थितिका वर्ग होइनन् । सचेत सङ्गठित र अनुशासित हुने क्रममा आफ्नो सम्भावित अवसरको समेत महत्वका साथ खोजी गर्छन् । त्यसैले धेरै सङ्ख्याका त्यस्ता क्रान्तिकारीहरूले धोका दिन्छन् । त्यस कारण राजनीतिक संरचना तयार गर्दा वर्ग आधारलाई सबैभन्दा बढी महत्वका साथ ध्यान पुर्‍याउनु पर्छ । आधारभूत वर्गमा नपुर्‍याएसम्म राजनीतिक स्थायित्व हुन सक्दैन । त्यसो गर्दा पनि मजदुर वर्गीय नेतृत्व र सर्वहारा वर्गीय अधिनायकत्वलाई बढी महत्वका साथ विचार पुर्‍याउनु पर्दछ । आधारभूत वर्गमा राजनैतिक चेतना उच्च बनाएर अनुशासन कायम गर्न सक्ने हो भने त्यो राजनैतिक शक्तिमा स्थायित्वको सम्भावना हुन्छ । त्यस कारण वर्ग आधारको सबैभन्दा बढी महत्व हुन्छ । उपरी संरचना निर्माण नगरिकन राज्यसत्ता कब्जा गर्ने र राज्यसत्ता सञ्चालन गर्ने उद्देश्य पुरा हुन्न । राजनीतिक शक्ति, राजनीति व्यक्ति र राजनैतिक पार्टी त हुनै पर्छ । त्यसको निर्माण र सञ्चालन गर्ने सिलसिलामा भौतिकवादी विश्व दृष्टिकोण निर्माण गर्ने विरोधी वर्गको भण्डाफोर गर्नुका साथै आपसी विश्वासका साथ सामूहिक स्वार्थका लागि योजनाबद्ध तरिकाले काममा लाग्ने विषयलाई महत्व दिनु पर्छ । परम्पराले विश्वास गर्ने कुरालाई बढी महत्व दिने गरेको भए पनि राजनैतिक व्यक्तिलाई विश्वास गर्दा गर्दै प्रमाण जुटाउने काममा पनि उत्तिकै ध्यान पुर्‍याउनु पर्छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप लेखहरू
सन्दर्भ ८ मार्च
८ मार्च र महिलाका समस्या
नव उदारवादी नीति र यसका प्रभावहरू
साहित्य समाजको दर्पण होइन, पानी हो
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal