२०७४ श्रावण ३२ गते, बुधबार   वर्ष ३४, अङ्क ३७
मिति(२०७४ भाद्र २, शुक्रवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
लेखहरू
सन्दर्भ ८ मार्च
– मनु वि.क.
८ मार्च अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभरिका महिलाहरूले मनाउने महिलाहरूको महान् चाड हो । यो ८ मार्च १९११देखि मनाउन थालिएको थियो । यो २०१७सम्म आई पुग्दा एक सय सातौँसम्म आई पुगेको छ । यस समयसम्म आई पुग्दा यसले विविध उतारचढावहरू पार गरेको छ ।
८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउनु पर्छ भनेर प्रस्ताव गर्ने महिला नेतृ क्लारा जेट्किन थिइन् । डेनमार्कको कोपनहेगनमा सम्पन्न महिलाहरूको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले क्लारा जेटकिनको ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रूपमा मनाउने प्रस्तावलाई पारित गरेको थियो । कोपनहेगनको उक्त सम्मेलनमा विश्वभरिका १७ देशहरूको १०० जना महिलाहरूको प्रतिनिधित्व रहेको थियो । त्यही निर्णय अनुसार २०११देखि विश्वभरिका महिलाहरू श्रमिक महिला दिवस मनाउन सुरु गरेका थिए ।
सधैँ असमानताले जकडिनु पर्ने ज्यालामा असमानता, असमान तलब, अत्यधिक काम मताधिकारबाट बञ्चित हुनु पर्ने, सुत्केरी विदा नपाउने, बालबच्चाको रेखदेखको अभाव जस्तो अवस्था महिलाहरूको थियो । जब महिलाहरू घरधन्दा मात्र नभएर घर बाहिर निस्कन थाले, महिलाहरूले यी समस्याहरू भोग्नु पर्‍यो । पूँजीवादको विकाससँगै महिलाहरू उद्योगधन्दामा काममा निस्कन थाले । तर महिलाहरूले हरेक असमानताको सामना गर्नु पर्‍यो । खास गरी युरोप र अमेरिकाका मजदुर महिलाहरूले कामको असमानताको अन्त्य, ज्यालाको असमानताको अन्त्य, मताधिकारको व्यवस्था, सुत्केरी विदा र बालबच्चा स्याहारको माग राखी खान्दोलन सुरु गरे । त्यो महिलाहरूको आन्दोलनलाई पूँजीवादी मालिकहरूले निर्ममतापूर्वक दमन गरे । आन्दोलनका क्रममा कैयौँ मजदुर महिलाहरू मारिए । तर आन्दोलन रोकिएन । महिलाहरूको मागका अगाडि पूँजीपतिहरू झुक्न विवश भए । महिलाहरूको न्यायपूर्ण मागको जीत भयो । महिलाहरूले यी अधिकारहरू प्राप्त गरे । महिलाहरूले यी अधिकारहरू प्राप्त गरेको घटना निकै ऐतिहासिक थियो । यहीसँग आधारित भएर महिलाहरूले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस २०११देखि मनाउन सुरु गरे । महिलाहरूले ८ मार्च महिला दिवसका रूपमा मनाउने सुरु गर्दाकै अवस्थामा १९१४–१८सम्म विश्वमा प्रथम विश्वयुद्ध भएको थियो । महिलाहरूले यस विश्वयुद्धको विरोधमा र शान्तिको पक्ष्ँमा यस दिवसलाई मनाए । १९१७ मा रूसमा समाजवादी क्रान्ति सम्पन्न हुने समयमा महिला दिवसलाई समाजवादी आन्दोलन सम्पन्न गर्नका लागि रोटी र शान्तिको मागका लागि यस महिला दिवसको उपयोग गरे । त्यस्तै विश्वभरिका महिलाहरूले दोस्रो विश्वयुद्धका समयमा शान्तिको पक्षमा नै यस महिला दिवसलाई उपयोग गरे । विश्वभरि चलेको न्याय, समानता र स्वतन्त्रताको आन्दोलनका रूपमा यस महिला दिवसलाई मनाउने गरिन्छ । 
यस महिला दिवसलाई नेपाली महिलाहरूले विभिन्न समयमा आन्दोलनकै रूपमा मनाउँदै आएको छ । श्रमिक महिला दिवस प्रजातन्त्र प्राप्तिको आन्दोलनको रूपमा, पञ्चायती शासन विरुद्धको आन्दोलनको रूपमा, गणतन्त्र प्राप्तिको आन्दोलनको रूपमा मनाउँदै आएको छ । महिला अधिकार स्वतन्त्रता, समानताको प्राप्तिको आन्दोलनको रूपमा यस श्रमिक महिला दिवसलाई मनाउँदै आई रहेको वर्तमान अवस्था छ । अहिले देशमा गणतन्त्र स्थापना भएको छ । महिला अधिकारहरू कानुनी रूपमा संविधानमै उल्लेख भएको छ । महिलाले कुनै पनि स्थानमा महिला भएकै कारणले लैङ्गिक विभेद गर्न पाइने छैन भन्ने उल्लेख गरेको छ । राष्ट्रका निकायहरूमा महिलाको उपस्थितिको विशेष व्यवस्था पनि गरेको छ । तर व्यावहारिक कार्यान्वयन हुन सकी रहेको अवस्था छैन । कार्यान्वयन गर्नका लागि सबै पक्षको उचित ध्यान जानु पर्ने अवस्था छ । कागजी रूपमा महिला अधिकारका कुराहरू व्यवस्था भए पनि व्यावहारिक रूपमा महिलामाथि हुने गरेका विभेदहरू कम हुन सकेको छैन । महिला समानताको विषयमा सामान्य धारणा बने पनि महिला विभेद कम हुन सकेको छैन । समानताका नाराहरू स्थापित भए पनि व्यावहारिक रूपमा असमानता कायमै छ ।
महिलामाथिका उत्पीडनहरू हत्या, हिंसा बेचविखन, शोषण, बलात्कार, मानसिक यातनामा कमी हुन सकेको छैन । महिला मुक्ति हुनका लागि चाहिने राजनैतिक आर्थिक अधिकार प्राप्त हुन सकी रहेका छैन । मिहिनेतकश महिलाहरू अहिले पनि एक छाक खान र एक आङ ढाक्नका लागि स्वदेशी तथा विदेशी भूमिहरूमा मानव अधिकाररहित काम गरी रहनु परेको छ । महिला भएकै कारण मालिक तथा सहकर्मीबाट गरिने शोषणको कुनै हिसाबकिताब छैन । नेपाली दिदी बहिनीहरूले विश्व बजारमा भोगेका पीडाहरू बढ्दै छन् । राज्यले महिलाहरूलाई विशेष किसिमको व्यवस्था गर्न सकेको छैन । श्रमिक महिलाहरूले राज्य छ कि छैन कुनै अनुभूति गर्न पाई रहेका छैनन् । वैदेशिक रोजगारमा गएका महिलाहरूले कामको सिलसिलामा भोग्नु परेका यातनाहरू नीच व्यवहार, यौन शोषण तथा हिंसाका घटनाहरू बढी रहेका छन् । श्रमिक महिलाहरूले न्यूनतम मानव अधिकारसम्म पाउन सकी रहेका छैनन् । राज्यले यस विषयमा कुनै ध्यान दिन सकेको छैन । ८ मार्च भनेको महिलाहरूले राजनैतिक मताधिकार प्राप्त गरेको दिनलाई सम्झँदै मनाइन्छ । महिलालाई पुरुषको बराबर रूपमा नहेरी उनीहरूलाई मानवकै रूपमा नहेरिएर व्यवस्थाले तल्लो दर्जाको रूपमा हेरेको थियो । दास र महिलाहरू समान थिए । तर जब मताधिकारको व्यवस्था भयो, महिलाहरूले प्रतिनिधि चुन्न र चुनिन पाउने व्यवस्था भयो । महिलाहरू पनि राज्यका हरेक निकायमा आउने अवसर मिल्यो । यसरी महिलाहरू राज्यका निकायमा आउँदा महिलाको पक्षमा नीति–नियमहरू बनाउन सजिलो भयो । अहिले कम्तीमा पनि समानता र स्वतन्त्रताको अवधारणाले स्थापित हुन पाउँछ ।
अहिले समान कामको समान ज्याला कतिपय अवस्थामा बाहेक महिलाले पाएका छन् । तर त्यो पर्याप्त छैन । आर्थिक शोषणमा पनि हरेक स्थानमा महिलाहरू रहेका छन् । आर्थिक उपार्जन र खर्चमा महिलाहरूको स्वतन्त्रता प्राप्त हुन सकेको छैन । महिलाहरू अहिले पनि उद्योग–कलकारखानाको मालिक हुन सकेका छैनन् । सफल व्यवसायी बन्ने वातावरण बन्न सकेको छैन । महिलाहरू कामदार मात्रै बनी रहेका छन् । विश्वमै धनी मानिसहरूको सूची भनेर निस्कँदा त्यसमा एक जना पनि महिलाको अनुहार आउन सक्दैन । किन त ? किनकि महिलाहरू केवल अति नै भए व्यवस्थापक, नभए कामदार नै रहेका छन् । महिलाहरूको श्रमलाई आर्थिक उपार्जनसँग जोडिएको छैन । महिलाहरूले बालबच्चा जन्माउने र हुर्काउने काम मात्रै गर्ने हो भन्ने रूपमा हेरिएको हुन्छ । अर्कातिर, महिलाहरू दलालको शोषणमा परी रहेका हुन्छन् । अहिले मजदुर अधिकार मजदुरको मानव अधिकार भन्ने कुरा देखाउने दाँत मात्र भएका छन् । पूँजीपतिहरू मालिकहरू विश्वव्यापी भएका छन् । विश्वव्यापी रूपमा उनीहरू सस्तो श्रम किन्न दौडधुपमा छन् । नाफा मनग्य होस्, श्रमको मूल्य सस्तो परोस् भन्ने ध्याउन्नमा हुलिरहेका मालिकहरू श्रमिकको मूल्य जहाँ सस्तो छ, त्यहीँबाट मजदुर किन्छन्, त्यसमा नेपाल जस्ता विकासोन्मुख देशका मजदुरहरू लैजाँदा उनीहरूलाई फाइदा हुन्छ । त्यसमा महिलाहरू त झनै सस्तो श्रममा बिक्री भई रहेका छन् । अचेल आफ्नै देश तथा विदेशमा मानव सप्लाईका लागि मान्छे सप्लाई केन्द्रहरू दलालको रूपमा रहेका छन् । देशमा पनि मानव सप्लाई केन्द्रहरूले भ्याकेन्सी भएका ठाउँहरूमा मान्छेको आपूर्ति गरी उनीहरूका तलबबाट मासिक तथा दैनिक श्रम शोषण गरी मोटाई रहेका छन् । मालिकलाई मन पर्‍यो, उसलाई निरन्तरता दिन्छ, मन परेन, आपूर्ति केन्द्रमा फोन गरी उसलाई तुरुन्त हटाइन्छ र अर्को मजदुर नियुक्ति गरिन्छ । एक कल फोन काफी छ, मजदुर राख्न र फाल्नका लागि राज्य यस विषयमा निदाएको छ । सडकमा मजदुर पुगेको छ । त्यसरी सडकमा पुग्ने क्रममा महिलाहरू त झनै दुःखदायी जीवन भोग्नु पर्ने भएको छ । विदेशी भूमिमा त झनै महिलाहरूको अधिकार कसैले रक्षा गर्न सक्ने अवस्थामा छैनन् । उनीहरू जे पर्छ, भोग्दै जाने मात्र अवस्थामा रहन्छन् । एक जना खाडी देश–विदेश पुगेर फर्केका आफन्तले भने महिलाहरू त सकेसम्म विदेश नगएकै जाती, त्यहाँ त मालिकले भनेको नमाने त कोठामा लगेर जे पनि गर्न सक्दछन् । मालिकको दमन सहन नसकेर बाहिर निस्केका महिलाहरू नेपाली देख्ने वित्तिकै यसरी रुन्छन्, जुन सम्झनै सकिन्न । यही हो, वैदेशिक रोजगारीमा पीडित महिलाहरूको कारुणिक कथा । यसरी महिलाहरू शोषण उत्पीडनमा परी रहेका छन् । ८ मार्चले यी कुराहरू उठाउन जरुरी छ ।
विश्वमा महिलाहरू युद्धको चपेटामा परेका धेरै छन् । युद्धले महिला तथा बालबालिकालाई निकै प्रभावित पारी रहेको छ । इराक तथा अफगानिस्तान होस् या अफगानिस्तान, पाकिस्तानमा महिलाहरूमाथि हमला भई रहेको छ । मध्य–पूर्व सिरिया जली रहेको छ । साम्राज्यवादी मुलुकहरूको स्वार्थमा परी रहेको सिरियाबाट महिला तथा बालबालिकाहरू भागी रहेका छन् । आमासँग भाग्न खोजी रहेका बच्चाहरू सीमामा आँसु बगाउँदै छोडिई रहेका छन् । युरोपमा छिरेका महिला तथा बालबालिकाहरूको जिविकोपार्जन अप्ठ्यारोमा परेको छ । युरोपियन युनियनले आप्रवासीप्रति कडा नीति अपनाउँदै छ । कैयौँ आप्रवासी महिलाहरू जीवन धान्नका लागि यौन व्यवसायी बन्न बाध्य भई रहेका समाचार आई रहेका छन् । जहाँ जाउँm, जता जाऊँ महिलाहरूलाई सहज हुन सकी रहेको छैन । आतङ्कवादीहरूको निशानामा पनि महिलाहरू नै परेका छन् ।
यसरी महिलाहरूमाथि तमाम खालका शोषण उत्पीडन कायमै छ । ८ मार्चको महत्व भनेको महिलाहरूको यी सबै शोषणहरूबाट मुक्ति, महिला स्वतन्त्रता र समानताका लागि हो । विश्वमा समाजवादीहरूले नै यी मूल्य–मान्यतालाई स्थापित गरे । रूसमा समाजवादी क्रान्ति सम्पन्न भएपछि महिलाहरूले सम्पत्तिमा समान अधिकार, सम्बन्ध विच्छेदको स्वतन्त्रता, आर्थिक तथा राजनैतिक अधिकार प्राप्त गरेका थिए । त्यस्तै, चीनमा सर्वहारा वर्गको शासनसत्ता स्थापना भएपछि महिलाहरूले यी अधिकारहरू प्राप्त गरेका थिए । नेपालमा पनि महिलाहरूको मुक्तिका लागि सबभन्दा वैज्ञानिक योजना प्रस्तुत गर्ने समाजवादी विचारधारा अवलम्बन गर्ने पार्टीहरूले नै हो । नेपालमा महिलाहरूले ८ मार्चलाई आन्दोलन र अधिकार प्राप्तिको आन्दोलनका रूपमा मनाउँदै आयौँ । गणतन्त्र स्थापनाको आन्दोलनमा पनि गणतन्त्र स्थापनाका लागि मद्दत पुग्ने गरी नै यसलाई मनाउँदै आएका हुन् । एकल वा संयुक्त रूपमा ८ मार्चलाई भव्यताका साथ मनाउँदै आएका छौँ ।
यस पालि अखिल नेपाल महिला सङ्घले यसलाई देशभरि मनाउने निर्णय गरेको छ । एक सय सातौँ ८ मार्च अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको विश्वको नारा “परिवर्तनका लागि दृढ बनौँ” रहेको छ भने अहिल नेपाल महिला सङ्घको नारा “मिहिनेतकश महिलाहरूको मुक्तिका लागि अक्टोबर क्रान्तिको झण्डालाई उँचो राखौँ, एक सय सातौैँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्यताका साथ मनाऔँ” भन्ने तय गरेको छ ।
मिहिनेतकश महिलाहरूको अवस्थामा सुधार आउन नसकिएको कुरामाथि नै उल्लेख गरिएको छ । महिलाहरू महिला हिंसा र अधिकारबाट बञ्चितीकरण जस्ता कुरा त्यतिकै छन् । कागजी रूपमा महिला अधिकार भने पनि त्यो सीमित हुने, खाने महिलाहरूले पाई रहेका छन् । मिहिनेतकश महिलाहरूले वास्तविक अधिकार प्राप्त गर्न सकेका छैनन् । अक्टोबर क्रान्तिले रूसमा १९१७ मा समाजवादी व्यवस्था स्थापना गर्‍यो । त्यो समाजवादी व्यवस्थाले महिलाहरूको आर्थिक तथा राजनैतिक अधिकारको सुनिश्चितता गरेको थियो । 
अहिले विश्वव्यापी रूपमा अक्टोबर क्रान्तिसम्बन्धी एक वर्षसम्मका लागि सञ्चालन भई रहेको शतवार्षिकी कार्यक्रम नेपालमा पनि नेकपा (मसाल) र त्यस सम्बद्ध राष्ट्रिय जनमोर्चा र जनवर्गीय सङ्गठनहरूले देश तथा विदेशमा विविध कार्यक्रम सहित मनाई रहेका छन् । यस सन्दर्भमा महिलाहरूले पनि सङ्गठन विस्तार, सदस्यता वितरण, भेला, प्रशिक्षण, सभा, अन्तक्र्रिया जस्ता कार्यक्रमहरू सञ्चालन गरी रहेको छ । यसै सन्दर्भमा “मिहिनेतकश महिलाहरूको मुक्तिका लागि अक्टोबर क्रान्तिको झण्डालाई उँचो राखौँ, एक सय सातौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्यताका साथ सफल पारौँ” भनेर अक्टोबर क्रान्ति शतवार्षिकी कार्यक्रम अन्तर्गत नै यस अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै छ । महिलाहरूले अधिकार पाए पनि वास्तविक अधिकार प्राप्त गर्न नसकेको यस अवस्थामा महिलाहरूले ८ मार्चलाई अधिकार प्राप्ति तथा अधिकार रक्षाको आन्दोलनको रूपमा मनाउन जरुरी छ । महिलाहरूले प्राप्त गरेका अधिकारहरूको रक्षा गर्दै थप अधिकार प्राप्ति र महिला मुक्तिको आन्दोलनलाई अगाडि बढाऊँ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप लेखहरू
८ मार्च र महिलाका समस्या
राजनीतिक संरचना र वर्ग आधार
नव उदारवादी नीति र यसका प्रभावहरू
साहित्य समाजको दर्पण होइन, पानी हो
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal