२०७४ बैशाख १३ गते, बुधबार    वर्ष ३४, अङ्क २३
मिति(२०७४ वैशाख १४, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प : 2072 बैशाख 12
मूल लेख
समाजवादी व्यवस्था र महिला स्वतन्त्रता
सन्तबहादुर नेपाली
“सर्वहारा वर्ग तबसम्म पूर्ण मुक्ति प्रााप्त गर्न सक्दैन, जबसम्म उसले महिलाहरूको पूर्ण मुक्ति प्राप्त गर्न सक्दैन” – लेनिन
रूसी महान् अक्टोबर क्रान्तिले रूसी महिलाहरूको जीवनमा आमूल परिवर्तन ल्याई दियो । सामन्तवाद तथा पँुजीवादको चरम शोषणमा दबिएका महिलाहरूको अवस्थामा अभूतपूर्व परिवर्तन मात्र ल्याएन, पुरुष सरह समान अधिकार तथा कतिपय अवस्थामा विशेष सुविधा र विशेष अधिकारहरू प्राप्त भए । समाजवादी व्यवस्थाले संसारमा पहिलो पटक रूसी महिलाहरूलाई स्वतन्त्रता र मुक्ति प्रदान गर्‍यो । पूँजीवादले महिलाहरूलाई पुरुषको सम्पत्तिको अर्थमा लिन्छ र त्यति बेलाको पूँजीवादी जारशाही व्यवस्थामा पनि महिलाहरू पुरुषहरूका लागि “वस्तु” मानिन्थ्यो । आर्थिक, सामाजिक तथा राजनीतिक अधिकार महिलाहरूलाई सीमित रूपमा प्रदान गरिएको थियो । पूँजीवादलाई मजदुरहरूको आवश्यकता पर्दछ । आफ्नो उत्पादन वृद्धिका लागि सस्तो श्रम शक्ति आवश्यक पर्ने हुनाले महिलाहरूलाई पनि श्रम बजारमा उभ्याइन्छ । महिलाहरूबाट सस्तो श्रम लिइन्छ । त्यही सिलसिलामा पूँजीवादले आफ्नो आवश्यकता पुरा गर्न महिलाहरूलाई आंशिक रूपमा अधिकार दिन्छ । त्यसैलाई पूँजीवादीहरूले महिलाहरूको “स्वतन्त्रता” भन्ने गर्दछन् । तर रूसी समाजवादी व्यवस्थाले महिला स्वतन्त्रताको त्यो परिभाषालाई बदली दियो । 
पूँजीवादी दर्शन, पूँजीवादी विचार र पूँजीवादी राजनीतिक व्यवस्थाको एकछत्र वर्चस्वका विरुद्ध विभिन्न रूपमा विरोधका स्वरहरू १९ औँ शताब्दीको प्रारम्भदेखि नै उठ्न थालेका थिए । तर ती विरोधका स्वरहरू व्यवस्थित थिएनन् । सर्वहारा मजदुरहरूको हितका लागि काल्पनिक समाजवादले पनि समाजमा प्रभाव पार्‍यो । तर अगाडि बढ्न सकेन । १८४४ मा माक्र्स र एङ्गेल्सको पेरिसमा भेट भयो । दर्शन, राजनीति, अर्थव्यवस्था आदि थुप्रै विषयमा विचारहरू आदान प्रदान गर्दा उहाँहरू यो निष्कर्षमा पुग्नु भयो कि समाजवादको स्थापना अवश्यंभावी छ । त्यसका लागि सर्वहारा वर्ग, जो उदीयमान शक्ति हो, को नेतृत्वमा समाजवादी क्रान्ति हुने छ र विश्वमा साम्यवाद आउनु अपरिहार्य तथा अनिवार्य छ । ब्रिटेनमा त्यति बेला “न्याय सङ्घ” नामको संस्था थियो, जसले “सबै मानिस भाइ हुन्”, “आफ्ना छिमेकीप्रति प्रेम” गर्न र “पृश्वीमा इश्वरको राज्य” स्थापनाको वकालत गर्थे । उहाँ दुवै त्यो न्याय सङ्घमा सामेल भएर काम गर्न थाल्नु भयो । १८४७ मा लन्डनमा पहिलो अधिवेशन भयो । त्यो अधिवेशनले त्यो संस्थाको नाम परिवर्तन गरी “कम्युनिस्ट लिग” राख्यो । त्यसका साथै नारा पनि परिवर्तन गरी “संसारका मजदुरहरू एक होऔँ” भन्ने नारा निर्धारण गरियो । २९ अक्टोबर १८४७ मा लिगको दोश्रो अधिवेशन भयो । त्यो अधिवेशनमा साम्यवादी सिद्धान्तका विचारहरू दर्ता भए । त्यसको लक्ष्य पनि स्पष्ट गरियो ः वुर्जुवा वर्गको तख्ता पल्टाउनु† सर्वहारा वर्गको अधिनायकत्व स्थापित गर्नु† वर्ग विरोधमाथि टिकेको वुर्जुवा समाजलाई खतम गर्नु र वर्गरहित तथा निजी सम्पत्ति रहित एउटा नयाँ समाजको स्थापना गर्नु । यही अधिवेशनले माक्र्स र एङ्गेल्सलाई कम्युनिस्ट घोषणा पत्र तयार पार्ने जिम्मा दियो । उहाँहरू दुवैले रात–दिन खटेर १८४७ डिसेम्बरदेखि १८४८ जनवरी दुई महिनामा कम्युनिस्ट घोषणा पत्र तयार पार्नु भयो । कम्युनिस्ट घोषणा पत्र नै यस्तो दस्तावेज हो, जसले संसारभरिका उत्पीडित सर्वहारा जनताको मुक्तिका लागि ढोका खोली दियो । 
कम्युनिस्ट घोषण पत्रले महिला उत्पीडनका विरुद्ध पहिलो पटक वैज्ञानिक दिशाबोध गर्‍यो, जसलाई संसारभरिका क्रान्तिकारी महिलाहरूले त्यसलाई आत्मसात गरी महिला मुक्ति आन्दोलनलाई अगाडि बढाउने काम गरे । घोषणा पत्रमा लेखिएको छ ः “महिलाहरूलाई खुल्लमखुल्ला र कानुनी रूपले सामूहिक सम्पत्ति बनाउन खोज्छन् भनेर कम्युनिस्टहरूमाथि आक्षेप गरी हाम्रा पूँजीपतिहरू बडो सदाचारी बनेर त्यसप्रति क्रोध प्रकट गर्छन । योभन्दा बढी हाँसो उठने अरू के कुरा हुन सक्ला ? महिलाहरूलाई सामूहिक सम्पत्ति बनाउन कम्युनिस्टहरूलाई कुनै खाँचो छैन् । महिलाहरू त सनातन कालदेखि नै समाजको सामूहिक सम्पत्ति भएर आएका छन् । कम्युनिस्ट त केवल उनीहरूको बन्धनलाई तोडेर यस दुर्दशाबाट मुक्त गरी उनीहरूलाईमाथि उठाउन चाहान्छन् ।” कम्युनिस्ट घोषणा पत्रले महिलामाथिका सबै प्रकारका बन्धनहरू चुँडालेर स्वतन्त्र जीवन जीउनका लागि महिलाहरूलाई उत्प्रेरित गर्‍यो । पूँजीवादी राष्ट्रहरूमा चलेका मजदुर आन्दोलनमा समेत महिलाहरूले पुरुष सरह बराबरी रूपमा आन्दोलनमा सहभागी हुँदै आए । महिलाहरूलाई के कुराको ज्ञान भयो भने महिलामाथिको दमनका लागि पुरुष वा समाज मात्र जिम्मेवार छैन्, सिङ्गो पूँजीवादी व्यवस्था नै जिम्मेवार छ र पूँजीवादी व्यवस्थाको अन्त गरेर नै वास्तविक महिला मुक्ति प्राप्त गर्न सकिन्छ । 
अन्तर्राष्ट्रिय मजदुर आन्दोलन विकसित हुँदै जाँदा पेरिसमा १८७१ मा मजदुरहरूले राज्य सत्ता कब्जा गरे । जम्माजम्मी ७२ दिन मजदुरहरूले सत्ता सञ्चालन गरे । पेरिस कम्युनको हार भयो । तर पेरिस कम्युनले विश्वका सर्वहारा वर्गलाई यो बताई दियो कि मजदुर वर्गले चाह्यो भने पूँजीपति वर्गको राज्य सत्तालाई एकै धक्कामा तासको घर झैँ पल्टाई दिन सक्छन् । त्यो सामथ्र्य मजदुर वर्गमा छ । पेरिस कम्युनको हारका बारेमा माक्र्सले लेख्नु भएको थियो ः “पेरिस कम्युन असफल हुन सक्छ, तर त्यसले सुरु गरेको सामाजिक क्रान्तिको विजय हुने छ । त्यसको जन्म थलो सर्वत्र छ ।” आखिर माक्र्सले भने झैँ पेरिस कम्युन विघटनको ४६ वर्षपछि रूसमा सर्वहारा क्रान्तिको तुफान फेरि गर्जन पुग्यो । 
पेरिस कम्युनको वर्णन गर्दै कृष्णदास श्रेष्ठ लेख्दछन् ः “पेरिसमा क्रान्तिको सुरुवात महिलाहरूले गरेका थिए । पेरिस विद्रोहका दिन अर्थात १८७१ मार्च १८ तारिखका दिन बिहान सबेरै ३ बजे तत्कालीन प्रतिक्रियावादी सरकारले पेरिसका जनता विरुद्ध कार्वाही सुरु गर्‍यो । सरकार पक्षका सैनिकहरू पेरिसका विभिन्न भागहरूमा पठाई आकस्मिक रूपबाट धावा बोलियो । तत्कालीन प्रधानमन्त्री थियेर्स र अन्य मन्त्रीहरूले सही गरेका प्लेकार्डमा पेरिसवासीहरूसित सरकारलाई सहयोग गर्न अपिल गरियो... । 
सारा सुनसान र मौन थियो– मौनता भयानक र गहन थियो । भयानक आँधीबेहरी आउनुभन्दा केही अघिको मौनता थियो । सिंहनाद सहित पेरिस विद्रोहको भयानक हुरी चल्ने पूर्व बेलाको सङ्केत थियो । सो विद्रोहको सूत्रधारको रूपमा पेरिसका महिलाहरूले पहिलो कार्वाहीको थालनी गरे । पुरुषहरू पहिले मैदानमा उत्रियुन् भनी उनीहरू पर्खेर बसेनन् । उनीहरू नै पहिले सङ्घर्षको मैदानमा उत्रे । सडकमा निस्केर आई उनीहरूले सैनिकहरू चारैतिरबाट घेरेर तिनीहरूलाई सम्बोधन गरी यसरी हकारे– “यो लाजमर्दो कुरा भयो, तपाईहरू यहाँ के गर्दै हुनु हुन्छ ?” सिपाहीहरूले केही जबाफ दिएनन् । तिनीहरू मौन रहे । एक जना अफिसरले ती महिलाहरूलाई त्यहाँबाट जाऊ भने । तर महिलाहरू एक डेग चलेनन् । अनि, पेरिसका महिला र अन्य श्रमजीवीहरूकोतर्फबाट सो ऐतिहासिक कार्वाहीलाई अघि बढाइयो ।”
मजदुरहरूको मुक्तिमा नै महिलाहरूको मुक्ति सम्भव छ भन्ने कुरा पेरिसका महिलाहरूले बुझेका थिए । त्यसैले गर्दा नै उनी क्रान्तिमा ज्यान उत्सर्ग गरेका थिए । ती वीर महिलाहरूमा एक जना लुई मिचेल थिइन्, जसले सैनिक अदालतमा पनि “म आफ्नो पक्षमा प्रतिवाद गर्दिनँ । म सम्पूर्ण रूपमा सामाजिक क्रान्तिको अधीनस्थ छु र म के घोषणा गर्छु भने म आफूले गरेका सारा कामको जिम्मेवारी लिन्छु” भन्दै सिंह झैँ गर्जेकी थिइन् । पेरिसका क्रान्तिकारी महिलाहरूको क्रान्तिकारी परम्परा संसारभरिका क्रान्तिकारी महिलाहरूले अगाडि बढाउने काम गरे । 
रूसमा लेनिनको नेतृत्वमा १८९८ मा “रसियाली सामाजिक–जनवादी मजदुर पार्टी” को गठन, लोकवादी, अर्थवादी, कानुनी माक्र्सवादी, मेन्सेभिक जस्ता उग्र “वामपन्थी” तथा दक्षिणपन्थी अवसरवादका विरुद्धको सङ्घर्षमा खारिँदै बोल्सेभिक पार्टीको निर्माण, १९०५ को क्रान्तिकारी आन्दोलन, जारशाही सत्ता विरुद्ध १९१७ फेब्रुअरीको पूँजीवादी क्रान्ति र जारशाहीको अन्त्य पश्चात् केरेन्सकीको नेतृत्वको अस्थायी सरकारका विरुद्ध १९१७ को अक्टोबरमा भएको समाजवादी क्रान्तिमा लाखौँ लाख मजदुरहरूले सङ्घर्षमा भाग लिएका थिए । रूसी क्रान्तिकारी आन्दोलनमा पनि महिलाहरूको उल्लेखनीय सहभागिता रह्यो । १९१७ को अक्टोबर क्रान्तिपछि १२ नोभेम्बर १९१७ मा अखिल रूसी केन्द्रिय कार्यकारिणी समिति र जन प्रतिनिधि परिषदले एउटा आदेश जारी गर्दै सामन्ती विशेषाधिकार तथा प्रतिबन्धहरूलाई खारेज गरी दियो । ठुला ठुला नोकरशाहहरूको विशेषाधिकारहरू खारेज गरी दियो । सोभियत सत्ताले महिला र पुरुषलाई पूर्ण राजनीतिक स्वतन्त्रता प्रदान गर्‍यो । पुरुष सरह महिलालाई रचनात्मक काममा समान अवसर प्रदान गर्‍यो । लेनिनले भन्नु भयो ः “भन्ने गरिन्छ, सांस्कृतिक स्तरको सबैभन्दा राम्रो कसी महिलाहरूको कानुनी हैसियत हुन्छ । यो भनाइमा गहिरो सत्यताको एउटा अंश मौजुद छ । यस दृष्टिकोणबाट केवल सर्वहारा वर्गको अन्तर्गत नै, केवल समाजवादी राज्यभित्र, उच्चतम् सांस्कृतिक स्तर प्राप्त गर्न सकिन्थ्यो– जस्तो कि उनीहरू प्राप्त गरेका छन्” (महान् अक्टोबर समाजवादी क्रान्ति, इन्डिया पब्लिसर्स) ।
“सोभियत राज्यले मातृशिशु कल्याणमा निकैै ध्यान दिने गथ्र्यो । सारा देशमा प्रसुति गृह तथा प्रसव सहायता केन्द्रहरू स्थापना गरिएको थियो । त्यसमा सुत्केरी हुने महिलाहरूलाई निःशुल्क सेवा उपलब्ध गराइन्थ्यो । सबै कामदार महिलाहरूलाई सुत्केरी अवधिमा चार महिनाका लागि वेतन सहित विदा दिइन्थ्यो, जसले दुई वा त्योभन्दा धेरै बच्चाहरूको जन्म दिन्छिन् वा असामान्य सुत्केरीको हालतमा त्यो अवधि बढाइन्थ्यो । धेरै बच्चा जन्माउने आमाहरूलाई राज्यले विशेष महिनावारी भत्ता दिन्थ्यो । शिशुगृह र किन्डर गार्टन केन्द्रहरू व्यापक जालो बिछ्याइएको थियो” (विश्वको सङ्क्षिप्त इतिहास–२, प्रगति प्रकाशन, मास्को) । अक्टोबर क्रान्तिपछि समाजवादी व्यवस्थामा रूसी महिलाहरूले सामाजिक जीवनका सबै क्षेत्रमा पुरुष सरह समान अधिकार प्राप्त गरेका थिए । समान काम गर्ने अवसर प्राप्त थियो । समान कामको समान तलब मिल्थ्यो । समान प्रकारले सामाजिक तथा राजनीतिक अधिकारहरू प्राप्त थिए । विवाह र पारपाचुकेको सम्बन्धमा पुरुषलाई जत्तिकै समान अधिकार थियो । अक्टोबर क्रान्तिपछि रूसी महिलाहरूको इज्जत, प्रतिष्ठा र सम्मान यति धेरै थियो कि त्यो अन्य कुनै पनि मुलुकमा थिएन । रूसी महिलाहरू पूँजीवादी तथा समाजवादी क्रान्तिमा मात्र आफ्नो वीरता प्रदर्शन गरेनन, उनीहरू दोश्रो विश्वयुद्धमा समेत आफ्नो बहादुरी देखाए । 
एक जना लेखिका उषा हमालले सन् २००२ तिर २ वर्षको रूसको अजरबैजानमा बसेर प्राप्त गरेको अनुभव आफ्नो प्रकाशित पुस्तक “सागओल अजरबैजान” नामक यात्रा निबन्धमा रूसको अहिलेको अवस्थाको चित्रण गरेकी छिन् । त्यसमा रूसी महिलाहरूलाई राज्यबाट मिलेको सम्मानको यसरी बयान गरेकी छिन् ः “जुलिया भन्छे– त्यस बेला (समाजवादी काल) धेरै सन्तान जन्माउने आमालाई ‘हिरोइन मदर’ को संज्ञा सहित सरकारले विशेष सुविधा दिन्थ्यो । छुट्टी मनाउन सरकारले नै उनीहरूका लागि राम्रा सेनेटोरियमहरू बुक गथ्र्यो, गाडीको व्यवस्था गथ्र्यो । ‘हिरोइन मदर’ आफ्ना लालाबाला लिएर सडकै ढाकेर हिँड्थिन्, छाती चौडा पार्दै । समाजमा उनको मानै बेग्लै, रवाफै अर्को । ....अहिले कोही आमाले मेरा सन्तान धेरै भए, पाल्न गाह्रो भयो, लौ न मलाई सहयोग गर भनेर कुनै सरकारी निकायमा गुहार माग्न गइन् भने त्यहाँका प्रशासकहरू उनलाई हकार्छन् ः “कसले जन्माउन भन्यो हँ, तिमीलाई धेरै सन्तान ?” हालको रसियाली पूँजीवादले महिलालाई फेरि पहिलेकै अपमानित र उपेक्षित दृष्टिले हेर्न थालेको छ । पहिलेकै विभेदपूर्ण पूँजीवादी नीतिका आधारमा व्यवहार हुन थालेको छ । 
नेपालका महिलाको अवस्था अहिले पनि सामन्ती तथा दास प्रथात्मक समाजमा जस्तो रहेको छ । कम्लरी प्रथाले साना साना नानीहरू जमिन्दारका घरमा काम गर्नु पर्ने, कतिपय अवस्थामा बलात्कृत हुनु पर्ने समस्या अझै समाप्त भएका छैनन् । पश्चिमी नेपालमा मिन्स भएको अवस्थामा छाउगोठमा बस्दा बलात्कृत हुने, रोगी हुने तथा मृत्यु हुनेसम्मका घटनाहरूले के स्पष्ट गर्छ भने महिलाहरूको जीवन दासतुल्य छ । यस्तो संस्कृति रहेकोमा गर्व गर्नेहरूको पनि हाम्रो समाजमा कमी छैन् । अन्तरजातीय विवाह भएकै कारण पुरुषभन्दा तल्लो जातका महिलाहरू जीवनभरि नै अपमानित भई रहने र उनीहरूको सम्मान र प्रतिष्ठाका लागि कुनै पनि निकायले ध्यान नदिने गरेको यथार्थ हाम्रा अगाडि छन् । देउकी प्रथा, झुमा प्रथा, वादी प्रथा लगायतका कैयौँ प्रथाहरू छन्, जसका कारण सानो उमेरदेखि नै उनीहरू समाजमा अपमानित भई रहनु पर्छ र सामान्य नागरिकको जस्तो जीवन बिताउन नपाउने हुन्छ । कतिपय सभ्य भनिने जातिभित्र पनि अहिलेसम्म साना नानीहरूलाई देवी बनाएर पूजा गर्ने, बेलसित विवाह गर्ने जस्ता प्रथाहरू कायम छन् । त्यस प्रकारको प्रथाले साना कलिला नानीहरूमा कस्तो प्रभाव पार्छ ? त्यसबारे कुनै वास्ता गरिन्न । देशमा सयौँ मानव अधिकारवादी संस्थाहरू छन् । ती संस्थाहरू पनि त्यसबारे बोल्दैनन् । राजनैतिक दलहरू पनि बोल्दैनन् । हाम्रो देशको ऐन–कानुन बोल्दैन । बाल अधिकारसम्बन्धी सङ्घ÷संस्थाहरू पनि बोल्दैनन् । यिनीहरू किन बोल्दैनन् भने यो सम्बन्धित जातिभित्रको संस्कृति भएको हुनाले विरोध गर्नु व्यर्थ छ ।
मुस्लिम समुदायभित्र हाम्रो देशमा पनि भारत वा अन्य देशहरूमा जस्तो महिलाहरूलाई दासी बनाइएको पाइन्छ । पुरुषहरूको इच्छा बमोजिम उनीहरू कार्य गर्नु पर्छ । उनीहरू स्वतन्त्र हुन पाउँदैनन् । हालै इस्लामिक स्टेटका विद्रोहीहरूले महिलाहरूले हात र खुट्टा समेत बाहिर देखाउन नपाउने, आँखाको भाग समेत खुला राख्न नपाउने फतवा (आदेश) जारी गरेका छन् । त्यसको असर नेपालका कट्टर मुस्लिम समुदायमा पनि पर्दैन भन्न सकिन्न । बुर्का प्रथा त अहिले पनि व्याप्त छ नै । मुस्लिम समुदायका महिलाहरू कसरी बँधुवा दासी जस्ता भएर बस्नु परेको छ भन्ने कुरा त बङ्गलादेशकी नारीवादी लेखिका तसलिमा नसरिनका साहित्यहरूद्वारा थाहा लाग्छ । विद्रोही लेखहरूका कारण उनलाई धार्मिक कट्टरपन्थीहरूले मार्न खोजे । आज पनि उनी निर्वासित जीवन बिताएकी छन् । अफगानिस्तानमा महिलाहरूलाई शिक्षा दिनु पर्छ भनेर अभियान चलाउन खोजेको आरोपमा मलाला नामक केटीलाई मार्न खोजियो । उनी भागेर विदेशमा शरण लिन पुगेकी छिन् । नेपालका कट्टरपन्थी मुस्लिमहरू पनि महिलालाई शिक्षा दिने पक्षमा देखिदैनन् । त्यसै कारणले गर्दा उनीहरू केटाकेटीहरूलाई मदरसामा मात्रै पढाउन जोड दिन्छन् । महिलाहरूलाई उच्च शिक्षा हासिल गर्न दिदैनन् । यो बेग्लै कुरा हो कि त्यो समुदायमा थोरै भए पनि छोरीलाई पढाउनु पर्छ भनेर जागरण आएको छ र कतिपय सचेत मुस्लिमहरूले महिलाहरूलाई पनि पुरुष सरह अधिकार दिनु पर्छ भन्ने पक्षमा देखिन्छन् । तर त्यो संस्कृतिको अगाडि उनीहरू पनि नतमस्तक हुनु परेको पाइन्छ । 
मुस्लिम मात्र होइन, यहाँ हिन्दू भनिने जातिहरूभित्र पनि महिलामाथि चर्को विभेद छ । छोरीहरूलाई आफ्नो खुट्टामा उभिन सक्ने बनाउनका लागि पढाउने धेरै कम छन् । धेरै मानिसहरू छोरीलाई राम्रो पढेलेखेको, धनी वा आम्दानीको श्रोत राम्रो भएको केटासित विवाह गरी दिने लक्ष्यका साथ पढाउने गर्छन् । राम्रो हैसियतको केटो पाउनासाथ छोरीहरू विवाहको मण्डपमा बस्न बाध्य हुन्छन् । त्यस प्रकारका केटासित विवाह गरी दिनुलाई छोरीको भाग्य ठान्दछन । हिन्दूवादीहरू तुल्सीदासको बाटोलाई आजसम्म पनि पछ्याएका छन । तुल्सीदासले ढोल, गँवार, पशु र नारी पिटेर नै तह लगाउने चीज हुन् भनेका छन । आज पनि बाल विवाह खुलेआम हुने गर्दछन । १० वर्षे बालिकाहरू विवाहमा बाधिन्छन् तर कोही पनि कानुन अनुसार दण्डित हुँदैनन् । जातीय संस्कारका नाममा बाल विवाह गरी दिनेहरूलाई त्यतिकै छाडिन्छ । हिमाली भेगतिर केटीका बाबुआमालाई एक बोतल रक्सी खुवाउने र केटीलाई जबर्जस्ती उठाएर लैजाने र सिन्दुर हालेर विवाह गर्ने प्रचलन पनि छ । तर त्यस्ता व्यक्ति दण्डित हुँदैनन् । किनकि त्यो सम्बन्धित जातिको संस्कृतिभित्र पर्छ भन्ने गरिन्छ । त्यति मात्र होइन, त्यो भेगमा बहुपति प्रथा अहिले पनि केही मात्रामा कायम छ । यदि कसैका चार भाइहरू छन् भने ठुलो दाइले विवाह गरेपछि सबै भाइहरूको विवाहित महिलामाथि अधिकार हुने र सबै भाइको सामूहिक पत्नी हुने प्रचलन रहेको छ । त्यस प्रकारको प्रथाले महिलाको स्वास्थ्य र मनोभावनामा कस्तो असर पर्छ भन्ने कुरा राज्यले हेक्का राखेको पाइदैन । त्यसलाई पनि जातीय संस्कृति भनेर वास्ता गरिँदैन । कार्यस्थलमा महिलामाथि दुव्र्यवहारका कैयौँ घटना घटछन् । कसैले त्यसको विरोध गर्‍यो भने पनि त्यस्ता घटना गुपचुप मेलमिलापद्वारा दबाइन्छ । 
नेपाली महिलाहरू सांस्कृतिक आधारमा मात्र होइन, आर्थिक, सामाजिक, राजनैतिक, सबै क्षैत्रमा विभेदमा परेका छन् । महिला आन्दोलन तथा बाह्य दबाबका कारण संविधानमा महिलाहरू “समान” अधिकार पनि पाएका छन् । महिलाहरूको पक्षमा वकालत गर्ने कैयौँ सङ्घ÷संस्थाहरू पनि छन् । उनीहरू आवाज पनि उठाउँछन् । तर त्यसको परिणाम केही निस्कदैन । घरेलु हिंसा, सम्बन्ध विच्छेद, अंशबण्डा, नाता प्रमाणित, सन्तानमाथिको अधिकार, गर्भधारण गर्ने वा नगर्ने अधिकार—यस्ता सयौँ विषयमा महिलाहरू मुश्किलले न्याय पाउँछन् । कतिपय महिलाहरू त जीवनभरि सङ्घर्ष गर्दा गर्दै थाकेर बीचैमा छाडी दिन्छन् वा फैसला हुनुभन्दा पहिले नै उनीहरूको मृत्यु भई सकेको हुन्छ । महिलाहरूले आफूमाथिको असमानता, विभेद, अत्याचार, दमन, उत्पीडनको शृङ्खला युगौँदेखि भोग्दै आएका छन् । त्यो एउटा राष्ट्रिय संस्कृति बनेको छ । त्यो संस्कृतिले प्रतिक्रियावादीहरू मात्र होइन, हामी वामपन्थी, कम्युनिस्टहरू पनि जकडिएका छौँ । कम्युनिस्टहरू पनि महिलाहरूले अधिकार खोजे मात्र अधिकारका कुरामा समर्थन गर्छौं । महिलाहरूले विभेदहरू सहदासम्म हामी पनि व्यवहारमा विभेद मेटाउने कुरा गर्दैनौँ । 
महिलाहरूको चरित्रमाथि शङ्का गर्ने, टीका–टिप्पणी गर्ने, होच्याउने, उपल्लो पदका निम्ति अयोग्य ठान्ने, विश्वास नगर्ने, घरभित्र कैद गर्ने जस्ता संस्कृति वामपन्थीहरूभित्र पनि कमबेसी रहेको पाइन्छ । वामपन्थीहरू पनि कमबेशी पुरुषवादी सोचबाट ग्रस्त भएको पाइन्छ । महिलाहरू पनि पार्टीभित्र आफ्नो क्षमता र प्रतिभाको विकासका लागि पुरुषको सहयोगको आशा गर्दा गर्दै दब्बु बन्दै जान्छन् र स्वतन्त्रतापूर्वक काम गर्न हिच्किचाउँछन् । गणतन्त्र स्थापनापछि अहिलेसम्मका कैयौँ वामपन्थी नेतृत्वको सरकारका पालामा देखाइएको विभेदपूर्ण व्यवहार नै बुझ्नका लागि काफी छ । कुरा समानताका गर्ने तर व्यवहार असमानताका गर्ने गरेको तथ्य कसैबाट लुकेको छैन । क्रान्तिकारी कम्युनिस्टहरूमा पनि महिलाहरूप्रतिको दृष्टिकोणमा कैयौँ कमजोरीहरू रहेको पाइन्छ । यी सबै समस्याका पछाडि देशको अर्ध सामन्ती तथा अर्ध औपनिवेशक सामाजिक, आर्थिक, तथा राजनीतिक व्यवस्था जिम्मेवार छ । देशको उत्पादन प्रणाली जिम्मेवार छ । तर समाजलाई बदल्न खोज्नेहरू नै स्वयं नबदलिएपछि समाज परिवर्तनको सपना सुदूर भविष्यको विषय बन्न जाने छ । माक्र्सवादी विचारका आधारमा समाजमा विद्यमान सामाजिक, धार्मिक तथा सांस्कृतिक प्रथा, परम्परा वा प्रचलनहरू भनेका उपरी संरचना हुन जो आर्थिक उत्पादन प्रणालीको आधारमा निर्मित हुन्छ । उपरी संरचनामा सचेततापूर्वक परिवर्तन गर्न सकिन्छ । तर त्यसलाई दीर्घकालिक रूपमा स्थापित गर्न उत्पादन प्रणालीमा नै आमूल परिवर्तन हुन आवश्यक छ । महिलाहरूमाथिको उत्पीडनका लागि हाम्रो समाज, हाम्रा ऐन–कानुन, रीतिरिवाज, संस्कार आदि जिम्मेवार छन । तर महिला स्वयं पनि कम जिम्मेवार छैनन् । महिलाहरू, त्यसमा पनि शिक्षित महिलाहरू समेत महिलाहरूलाई दासी बनाई रहेका कुरीति, कुसंस्कार, परम्परालाई महत्व दिने गर्दछन् । विभिन्न चाडपर्वमा राम्रो पति पाउन वा पतिको दीर्घायुका निम्ति ब्रत बस्ने गर्दछन र आधुनिक इलेक्ट्रोनिक मिडियाबाट त झन्ै त्यसको प्रचार प्रसार गर्छन् । रुढिवाद तथा अन्धविश्वासमा आजका महिलाहरू झन् झन् जकडिएका छन् । महिला मुक्तिको आन्दोलनमा महिलाहरूलाई पनि वैज्ञानिक समाजवादी चिन्तन तथा दृष्टिकोण निर्माण गर्नु पर्ने आवश्यकता छ । उत्पीडित वर्ग नै आफ्नो जीवनशैलीमा परिवर्तन गर्न नउठेसम्म अरू कसैबाट परिवर्तनका कुरा गरी दिँदैमा त्यो दिगो हुन सक्दैन । एकातिर, आधारको रूपमा रहेको अर्ध सामन्ती तथा अर्ध औपनिवेशिक आर्थिक प्रणालीमा परिवर्तन ल्याउन नयाँ जनवादी क्रान्ति, अर्कोतिर, हाम्रो देशको समग्र सामन्ती तथा पूँजीवादी संस्कृतिका विरुद्ध सामाजिक तथा सांस्कृतिक आन्दोलन गरी दुई दिशाबाट पहल आवश्यक छ । त्यसका निम्ति सर्वहारा वर्गको पार्टी मात्र यस्तो पार्टी हो, जसले यी दुवै दिशामा पाइला अगाडि बढाउन सक्छ । सम्पूर्ण उत्पीडित वर्गको मुक्तिसँगै महिलाको मुक्ति हुन सक्छ । 
समाजवादी व्यवस्था नै यस्तो व्यवस्था हो, जहाँ महिलाहरू पुरुष सरह मुक्त र स्वतन्त्र जीवन बिताउन सक्छन्, खालि पुरुषहरूको भोगविलासको साधन र दासी बनेर बस्ने परम्पराबाट मुक्ति पाउने छन् । समाजवादी व्यवस्था बाहेकका कुनै पनि व्यवस्थामा महिलाहरूको उत्थान र समृद्धिका लागि कतिपय कानुन त बन्न सक्छन् तर व्यवहारमा तिनै कानुन पनि कार्यान्वयन हुन सक्दैनन् । समाजवादी व्यवस्थाभित्र पनि राज्यले कडाइका साथ महिलाहरूको अधिकारको रक्षा गर्दा गर्दै पनि कतिपय रीतिरिवाज वा संस्कृतिका कारणले महिलाहरू अधिकारको उपयोग गर्नबाट वञ्चित हुन सक्छन् । रूसमा समाजवादी व्यवस्था रहँदासम्म महिलाहरूलाई पुरुष सरह राज्यले दिएको सुविधा प्राप्तिका लागि समाजवादी सरकारले नै सङ्घर्ष जारी राखेको थियो । त्यसको उपलब्धि पनि चमत्कारिक रहेको थियो । तर ख्रुश्चेभद्वारा १९५६ मा समाजवादी व्यवस्था विघटन गरी पूँजीवादको पुनस्र्थापना गरेपछि महिलामाथि विभेद, उत्पीडन र अत्याचार सुरु भयो । समाजवादी साहित्यको अध्ययन गर्दा के थाहा पाइन्छ भने समाजवादी कालमा महिला उत्पीडनका एउटा पनि घटना घटेनन् । राज्यले वेश्यावृत्तिमा फसेका हजारौँ महिलाहरूको पुनस्र्थापना गरेको थियो । पूँजीवादको पुनस्र्थापनापछि रूसमा महिलाहरूको मान–सम्मान, मर्यादा, इज्जत, प्रतिष्ठा आज अतीतको कुरा भएको छ । पूँजीवाद आएपछि महिलाहरू पूँजीवादी उत्पादनका वस्तु (माल) बन्न पुगेका छन् । 
विश्वमा सर्वहारा वर्गको राज्य सत्ताले दुई पटक धक्का खाएको छ ः पहिलो, पेरिस कम्युनको पराजय र दोश्रो, रूस तथा चीनको समाजवादी व्यवस्थाको विघटन । पूँजीवाद पनि सामन्तवाद विरुद्धको लडाइँमा सयौँ चोटी धक्का खाएको थियो । कम्युनिस्ट घोषणा पत्र प्रकाशन भएको एक सय वर्षभित्र रूस, चीन, पूर्वी युरोप, लगायतका देशहरूमा समाजवाद स्थापना भएको थियो । पेरिस कम्युुनको हार भएपछि पूँजीवादीहरूले समाजवाद कहिल्यै आउन नसक्ने घोषणा गरेका थिए । स्वयं रूसमा समेत मेन्सेभिकहरूले मजदुरहरूको राज्यसत्ता आउन नसक्ने ठोकुवा गरेका थिए । तर पेरिस कम्युनको ४६ वर्षपछि रूस लगायत संसारको एक–तिहाइ भूभागमा रातो झण्डा फहराउन पुग्यो । रूसपछि चीनमा पूँजीवादको पुनस्र्थापना भएको ४० वर्ष मात्र पुगेको छ । अब पूँजीवादको स्थायी विजय भयो भनेर सोच्नु ठुलो मुर्खताको कुरो हुने छ । पूँजीवादले अहिले तीव्र सङ्कट झेल्दै छ । त्यसबाट उम्कन उसले युद्धलाई निम्तो दिँदै छ । यदि विश्वयुद्ध सुरु भयो भने पूँजीवाद र साम्राज्यवादको पतनका दिनहरू सुरु हुनेछन । विश्वका सर्वहारा जनता फेरि उठनेछन्, पूँजीवाद तथा साम्राज्यवादको किल्ला भत्काउने छन र विश्वमा समाजवादी व्यवस्था पुनःस्थापना गर्ने छन् । समाजवादी व्यवस्थामा नै महिलाहरू सबै प्रकारका शोषण र उत्पीडनबाट मुक्ति पाउने छन् । 
नेपालको महिला आन्दोलनको इतिहास वीरतापूर्ण घटनाहरूले भरिएको छ । लोकतन्त्रको लडाइँमा समेत महिलाहरूको सङ्घर्षशील भूमिका रहँदै आएको छ । तर महिला अधिकारको सवालमा उपलब्धि सन्तोषजनक रहेको छैन । महिलाहरू दिनहुँजसो कहिले बोक्सी, कहिले दाइजो, कहिले जातीय विभेद, कहिले अवैध सम्बन्धका नाममा हत्या गरिन्छन् । अर्कातिर, सामाजिक, आर्थिक, राजनैतिक तथा सांस्कृतिक क्षेत्रमा समेत चरम विभेद गरिएको छ र गरिन्छ । यस प्रकारको पूँजीवादी अधिकारले मात्र महिलाहरूको पूर्ण स्वतन्त्रता प्राप्त हुँदैन भन्ने कुरा अहिलेसम्मको इतिहासले देखाएको छ । यो अवस्थामा मुक्तिकामी महिलाहरू नयाँ जनवादी क्रान्तितर्फ अग्रसर हुनुको विकल्प छैन । नेपालको नयाँ जनवादी क्रान्ति विश्व समाजवादी व्यवस्थाको अभिन्न अङ्ग हो । नयाँ जनवाद समाजवादको पहिलो चरण हो । समाजवादी व्यवस्था, जसको नेतृत्व सर्वहारा वर्गले गर्दछ र सबै खाले प्रतिक्रियावादी ऐन–कानुन, प्रथा, परम्परा, संस्कार आदिलाई खारेज गर्न सक्दछ, ले मात्र महिला मुक्ति र स्वतन्त्रताको सुनिश्चितता गर्न सक्दछ ।
२०७३ पौष २९ गते

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal