काठमाडौँ । नेकपा (मसाल) ले सप्तरी घटनाप्रति गम्भीर दुःख व्यक्त गरेको छ । सप्तरीको मलेठमा ४ जनाको ज्यान जाने गरी घटेको अप्रिय घटनाप्रति गम्भीर दुःख प्रकट गर्दै मसालले मृत व्यक्तिहरूप्रति समवेदना र घाइतेहरूको समुचित उपचारको व्यवस्था गर्न माग समेत गरेको छ । नेकपा (एमाले) को मेची–महाकाली राष्ट्रिय अभियान विथोल्न आएका मधेशी मोर्चाका कार्यकर्ताहरूलाई नियन्त्रणमा लिने क्रममा झडप हुँदा २३ फागुनमा सप्तरीको मलेठमा प्रहरीले चलाएको गोली लागी चार जनाको मृत्यु भएको थियो । प्रहरीसँगको झडपको क्रममा रञ्जन मेहता, दिगम्बर यादव, पिताम्बर यादव र आनन्द साहको मृत्यु भएको र झण्डै दुई दर्जन आन्दोलनकारी घाइते भएका मधेशी मोर्चाले जनँएको छ । गृह मन्त्रालयले भने २३ फागुनको साँझ नै एक वक्तव्य जारी गर्दै घटनामा तीन जनाको मृत्यु भएको जनाएको छ । अभियान अन्तर्गत २३ फागुनका दिन एमालेले सप्तरी सदरमुकाम राजविराजभन्दा तीन किलोमिटर उत्तरमा पर्ने गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा जनसभाको आयोजना गरेको थियो । मधेशी मोर्चाका कार्यकर्ताले एमालेले मेची–महाकाली अभियानको घोषणा गरेदेखि नै अवरोध गर्ने चेतावनी दिई रहेको थियो । एमालेले २१ फागुनमा काँकडभित्ताबाट अभियानको सुरुवात गरेको थियो भने मधेशी मोर्चाले १९ फागुनदेखि नै सप्तरीमा अवरोधको तयारी गरेको थियो । २३ फागुनमा एमालेको सभा सकिए लगत्तै गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रको पूर्व र दक्षिण गहुँखेतमा प्रहरी र मोर्चाका कार्यकर्ताका बीच झडप भएको थियो । नेकपा (मसाल) ले सप्तरीको दुःखद घटना किन र कसरी हुन पुग्यो ? त्यसबारे अनुसन्धान वा छानबिन हुनु पर्ने आवश्यकतामा जोड दिएको छ । नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहद्वारा २०७३ फागुन २४ गते जारी वक्तव्यमा सो जोड दिइएको छ । महामन्त्री सिंहद्वारा जारी उक्त वक्तव्यमा अगाडि भनिएको छ–“नेकपा एमालेको मेची–महाकाली अभियानको विरुद्ध प्रदर्शनको सिलसिलामा प्रहरीको गोलीबाट ४ जना प्रदर्शनकारीहरूको मृत्यु हुनुको साथै करिब १ दर्जन प्रदर्शनकारीहरू घाइते भएको समाचार प्राप्त भएको छ । त्यो अप्रिय घटनाका लागि नेकपा (मसाल) ले गम्भीर दुःख प्रकट गर्नुका साथै मृत व्यक्तिहरूप्रति समवेदना प्रकट गर्दछ । त्यसका साथै सबै घाइतेहरूको समायोचित उपचार गर्नु पर्ने आवश्यकतामा जोड दिन्छ । सप्तरीमा भएको दुःखद् घटना किन भयो र त्यसका लागि को जिम्मेवार छ ? त्यससित सम्बन्धित तथ्यहरूबारे पनि हाम्रो केही ध्यान जानु पर्ने आवश्यकता छ । एमालेले जुन अभियानको कार्यक्रम सञ्चालन गरेको थियो, त्यो कुनै राजनीतिक पार्टीको अधिकारभित्रको कुरा हो । कुनै राजनीतिक दल वा सङ्गठनलाई देशको कुनै पनि भागमा शान्तिपूर्वक तरिकाले आफ्नो कार्यक्रम सञ्चालन गर्ने स्वतन्त्रता हुन्छ । यहाँ यो पनि उल्लेखनीय छ कि स्वयं मधेशवादी नेताहरूले पनि त्यस प्रकारको कार्यक्रम बिथोल्नु गलत भएको, उनीहरूको त्यस्तो नीति नरहेको र उनीहरूले आफ्ना कार्यकर्तालाई त्यस प्रकारको कुनै निर्देशन नदिएको कुरा सार्वजनिक रूपले स्पष्ट गर्दै आएका थिए । उनीहरूको त्यस प्रकारको अभिव्यक्तिबाट पनि एमालेको कार्यक्रममा बाधा पुर्याउने कार्यलाई स्वयं उनीहरूले पनि सही भन्न नसकेको कुरा प्रष्ट छ । तर उनीहरूको त्यस प्रकारको सार्वजनिक अभिव्यक्तिका बाबजुद उनीहरूका कार्यकर्ताहरूले व्यवहारमा एमालेको त्यो कार्यक्रमलाई बिथोल्न र मुठभेडको स्थितिको सृजना गर्न सङ्गठित रूपले नै प्रयत्न गरेका थिए । सप्तरीमा जुन दुःखद् घटना भयो र ठुलो सङ्ख्यामा मानिसहरूको मृत्यु भयो वा घाइते समेत भए, त्यस प्रकारको स्थितिलाई रोक्ने सम्भावना थियो वा थिएन ? त्यसका लागि कुनै पक्षको गलत वा उत्तेजक व्यवहारका कारणले त्यस प्रकारको घटना घट्न गएको ता थिएन ? त्यसबारे पनि अनुसन्धान वा छानबिन हुनु पर्ने आवश्यकता छ । सप्तरीमा भएको दुःखद् घटनाले त्यो प्रश्नसित सम्बन्धित मूल राजनीति पक्षलाई उपेक्षा गर्नु सही हुने छैन । भारतीय विस्तारवादले लामो समयदेखि नै योजनाबद्ध प्रकारले आफ्ना विस्तारवादी उद्देश्यहरू पुरा गर्न तरार्ईमा अशान्तिको स्थितिको सिर्जना गर्दै आएको छ । केही मुट्ठीभर मधेशवादीहरूले भारतको निर्देशनमा नै तरार्ईमा पृथकतावादी नीति अपनाउँदै आएका छन् । उनीहरूको मुख्य उद्देश्य हो– नेपालमा राष्ट्रिय विखण्डनको स्थितिको सृजना गर्नु । तर तरार्ईका मधेशी, थारू सहित आम जनता त्यस प्रकारका देशभक्त छन् र उनीहरू सबै प्रकारका पृथकतावादी नीतिका विरुद्ध छन् । त्यसका विपरित मधेशवादीहरूले तराईमा आफ्ना पृथकतावादी नीति अपनाउन अशान्तिको स्थितिको सृजना गर्ने प्रयत्न गर्दै आएका छन् । त्यही प्रकारको नीति अन्तर्गत नै मधेशवादीहरूले पहाडी भूभागबाट अलग गरेर सम्पूर्ण तरार्ईमा बेग्लै प्रदेशहरू बनाउन चाहन्छन् । त्यही उद्देश्य पुरा गर्न उनीहरूले संसदमा प्रस्तुत संविधान संशोधन विधेयकलाई परिमार्जन सहित पारित नगर्दासम्म संविधानको कार्यान्वयन र स्थानीय निर्वाचनमा समेत बाधा हाल्न चाहन्छन् । उनीहरूको त्यस प्रकारको नीति देशको राष्ट्रियता, अखण्डता र राष्ट्रिय हितका विरुद्ध छ । आफ्नो त्यस प्रकारको नीति अन्तर्गत नै उनीहरूले एमालेको अभियानलाई पनि बिथोल्ने प्रयत्न गरेका थिए । सप्तरीमा घटेको अप्रिय घटनाको लागि दुःख प्रकट गर्ने बेलामा त्यससित जोडिएको यो राजनीतिक वास्तविकताबाट ध्यान हटाउनु पनि सही हुने छैन । तराईमा देखा परेको त्यस प्रकारको अवाञ्छित स्थितिको निराकरणका लागि एकातिर मधेशवादी र पृथकतावादी नीतिहरूको दृढतापूर्वक सामना गर्नु पर्ने र अर्कातिर त्यहाँका जनतामा व्यापक चेतना ल्याउन प्रयत्न गर्नु पर्ने आवश्यकतामा नेकपा (मसाल) ले विशेष जोड दिन्छ ।” फर्कनुहोस् |