२०७४ कार्तिक ६ गते, बुधबार   वर्ष ३५, अङ्क २
मिति(२०७४ पौष ३, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार अन्तर्वार्ता
पुराना अंक
सम्पादकीय
मधेशी मोर्चाको बहुलट्ठीपूर्ण घोषणा
मधेशी मोर्चा र सङ्घीय गठबन्धनले, प्रचण्ड सरकारले ल्याएको नयाँ संशोधन विधेयकलाई पनि अस्वीकार गर्दै वैशाख ३१ गतेको स्थानीय निर्वाचन बिथोल्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । मधेशी मोर्चाको यो निर्णय अत्यन्त बहुलट्ठीपूर्ण, अविवेकी र आत्मघाती छ । यसको जतिसुकै निन्दा र भत्र्सना गरे पनि त्यो कम नै हुने छ ।
मधेशी मोर्चालाई पनि चुनावमा ल्याउने नाममा प्रचण्ड सरकारले ल्याएको नयाँ संविधान संशोधन विधेयक आफैमा राष्ट्रघाती प्रकृतिको छ । मधेशी मोर्चाले त्यसलाई पनि अस्वीकार गरेर आफूहरूले त्योभन्दा पनि ठुलो राष्ट्रघात हुने गरी संविधानमा संशोधन चाहेको प्रष्ट पारेका छन् । मधेशी मोर्चाको नियत र अभीष्ट धेरै पहिले नै स्पष्ट भई सकेको थियो । तर प्रचण्ड सरकारले त्यसलाई बुझ्न सकेन वा बुझेर पनि बुझ पचायो र मोर्चालाई फकाउने नाममा नयाँ संशोधन विधेयक ल्यायो । प्रचण्ड सरकारले मधेशी मोर्चासँगको आन्तरिक सहमतिमै नयाँ संशोधन विधेयक ल्याएको बताएको थियो । तर जब प्रचण्ड सरकारले आफैले संसदमा प्रस्तुत गरेको पुरानो राष्ट्रघाती संविधान संशोधन विधेयक फिर्ता लिदै संविधान संशोधन विधेयकको नयाँ प्रस्ताव संसदमा पेस गर्न थाल्यो । मधेशी मोर्चाले संसद नै बहिष्कार गर्दै नयाँ संशोधन विधेयकलाई पनि अस्वीकार गर्‍यो । यसबाट अब मधेशी मोर्चाको नियत र अभीष्ट थप प्रष्ट भएको छ– संविधानमा संशोधनको कुरा मधेशी मोर्चाले देशमा निर्वाचन हुन नदिई संविधानलाई असफल पार्ने बदनियतबाट नै उठाएको थियो । 
मधेशी मोर्चाको नियत र अभीष्ट स्पष्ट हुँदा हुँदै पनि चुनावमा आउने आसमा प्रचण्ड सरकारले संविधानमा संशोधनको प्रयास गरेर जुन समय व्यतित गर्‍यो, त्यो व्यर्थ थियो । मधेशी मोर्चालाई खुशी पार्ने नाममा सरकारले राष्ट्रघाती प्रावधानहरू राखेर संविधानमा संशोधनको निरन्तर प्रयास गरी रह्यो । देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामै गम्भीर आँच पुग्ने किसिमले संविधानमा संशोधनको प्रयास गरियो । मधेशी मोर्चालाई खुशी पार्ने नाममा प्रचण्ड सरकारले गरेका ती कार्यहरू अत्यन्त गलत थिए । यस्ता कार्यलाई सरकारले अब रोक्न जरुरी छ । अझै पनि सत्ता पक्षीय कतिपय नेताहरूबाट मधेशी मोर्चा चुनावमा आए स्थानीय चुनाव दुई चरणमा गर्न सकिने कुरा आई रहेको छ । मधेशी मोर्चाको अभीष्ट चुनावमा जानु र संविधानलाई कार्यान्वयनमा लैजानु नरहेको स्पष्ट भई सकेको अवस्थामा फेरि दुई चरणमा चुनावको कुरा गरेर मधेशी मोर्चालाई फकाउन खोज्नु त्यो मुर्खता शिवाय केही हुने छैन । 
देशमा दुई दशकपछि बल्ल स्थानीय चुनाव हुँदै छ । स्थानीय तहमा जन प्रतिनिधिहरूको अभावमा विकास निर्माणका कामहरूपछि परी रहेका थिए । अनियमितता र भ्रष्टाचार बढेको थियो । जनताले दैनिक प्रशासनिक काममा झमेला खेप्नु परी रहेको थियो । देशमा गणतन्त्र आई सकेको भएता पनि त्यसलाई नजिकबाट जनताले अनुभूत गर्न पाएका थिएनन् । स्थानीय निर्वाचनको घोषणाले जनतामा आशा पलाई रहेको छ । जनताले स्थानीय निर्वाचन प्रति उत्साहका साथ चासो व्यक्त गरी रहेका छन् । प्रमुख दल सहितका प्रायः राजनैतिक दलहरू पनि चुनावी रणनीति कोर्दै तयारीमा जुटी रहेका छन् । जति जति वैशाख ३१ नजिकिंदै गएको छ चुनावी रौनक र माहोल पनि बन्दै गइरहेको छ । यस्तो स्थितिमा चुनावको विपक्षमा उभिएर बिथोल्ने घोषणा गर्ने शक्तिहरू जन नजरमा घृणाको पात्र बन्ने निश्चित छ । मधेशी मोर्चाले स्थानीय चुनाव बिथोल्नका लागि आन्दोलनका कार्यक्रमहरू नै सार्वजनिक गरेको छ । उसको यो घोषणाले जनताको नजरमा उसलाई विकास विरोधी, परिवर्तन विरोधी र अरूकै इसारामा नाच्ने एक कठपुतली शक्तिका रूपमा पतित बनाई दिएको छ । निर्वाचन बिथोल्ने मधेशी मोर्चाको यो घोषणा स्वयं उसकै निम्ति पनि आत्मघाती हुने निश्चित छ ।
मधेशी मोर्चाले स्थानीय चुनाव बिथोल्ने घोषणा आफ्नो स्वविवेकबाट नभई भारतीय शासक वर्गको निर्देशन र उक्साहटमा गरेको बुझन कुनै गाह्रो छैन । संविधान संशोधनका लागि बारम्बार जुन अड्को मधेशी मोर्चाले थापी रहेको छ, त्यो भारतीय शासक वर्गको नेपाललाई सिक्किमीकरण गर्ने गुरुयोजनाको मार्गलाई सहज बनाउनका लागि नै गरी रहेको छ भन्ने कुरा उसले अघि सारेका मागहरूले नै प्रष्ट पार्दछन् । तराई मधेशका जनताको पक्ष र हितमा होइन, मधेशी मोर्चा भारतीय विस्तारवादी स्वार्थको रक्षाका लागि नै क्रियाशील रहेको छ भन्ने तथ्य अब दिनको घाम झैँ छर्लङ्ग भई सकेको छ । उनीहरूले अघि सारेका मागहरू देशको राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय अखण्डतामै गम्भीर आँच पुर्‍याउने खालका छन् । चुनाव हुन नदिई संविधान कार्यान्वयनलाई अलपत्र पार्ने बद्नियतबाट नै मधेशी मोर्चाले नयाँ नयाँ निहुँ बनाएर आन्दोलनको घोषणा गरी रहेको छ । यस्तो अवस्थामा मधेशी मोर्चालाई फकाउने नाममा राष्ट्रघाती प्रावधान सहित संविधानमा संशोधन गर्ने जुन प्रयत्न प्रचण्ड सरकारले गरी रहेको छ, त्यसलाई तुरुन्त रोक्नु पर्दछ । प्रचण्ड सरकारको त्यो व्यर्थको कसरत हो । मधेशी मोर्चाका गलत मागहरूसँग सम्झौता होइन, दृढतापूर्वक विरोध गरेर अघि बढ्ने हिम्मत सरकार र प्रमुख दलहरूले गर्नु पर्दछ । चुनाव बिथोल्ने मधेशी मोर्चाको घोषणाले जनतामा उनीहरूप्रति घृणा र आक्रोश बढाइृ रहेको छ । आफ्नो सुरक्षित राजनैतिक भविष्य खोज्ने हो भने मधेशी मोर्चाले चुनाव बिथोल्ने आफ्नो जन विरोधी र आत्मघाती घोषणालाई तुरुन्त फिर्ता लिनु पर्छ । देशको राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय अखण्डता विरोधी मागहरू फलाक्न अविलम्ब बन्द गर्नु पर्छ । होइन भने जनाक्रोशको शिकार बन्नबाट मधेशी मोर्चालाई कसैले रोक्ने सक्ने छैन । 

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal