२०७४ श्रावण ३२ गते, बुधबार   वर्ष ३४, अङ्क ३७
मिति(२०७४ भाद्र ७, बुधवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
लेखहरू
माक्र्स जयन्तीको सन्दर्भ
रामबहादुर बुढा
कार्ल माक्र्सको जन्म १८१८ मई ५ का दिन जर्मनको ट्रियर नगरमा भएको थियो । उनको मृत्यु १८८३ मा भएको थियो । माक्र्स मानव जातिको इतिहासमा एक महान् चिन्तक हुन् । दर्शन, राजनीति, अर्थशास्त्र लगायत मानव समाजसित जोडिएका धेरै क्षेत्रलाई माक्र्सको विचारले प्रभावित गरेको छ । अर्को वर्ष ५ मईका दिन माक्र्सको जन्म भएको दुई सय वर्ष पुरा हुँदै छ । यो वर्षको ५ मईलाई संसारभरिका माक्र्सवादीहरूले एक सय उनान्सयौँ माक्र्स जयन्तीका रूपमा मनाए ।
२००७ तिर जीवराज आचार्यले थारू भाषामा “हम्र व हमारा बत्वा” अर्थात् “हामी र हाम्रा कुरा” शीर्षकमा कविता लेखेका थिए । त्यो कविताको सार यो थियो कि बिरालाका बच्चाहरू जन्मेपछि तिनका आँखा बन्द नै रहन्छन्, केही दिनसम्म अन्धो हुन्छन् । बिरालाका बच्चाहरूले आँखा नदेखेका कारण ढाडे बिरालाले उनीहरूलाई मार्छ । त्यसरी त्यो कविताले अरूबाट नमारिकन आँखाले देख्न सक्नु पर्दछ, आँखा खोल्नु पर्दछ भन्ने सन्देश दिएको छ । यो सन्दर्भ यहाँ किन गाँसियो भने माक्र्सले सर्वहारा श्रमजीवी वर्गलाई अरूबाट नठगिन, नमारिन आँखा खोल्नु पर्ने शिक्षा दिएका छन् । समाजमा अन्याय, अत्याचार, शोषण, गरिबी असमानता छ ।
यी सबै शोषण, विभेद, असमानता र अन्यायबाट कसरी मुक्ति पाउने होला ? यो प्रश्नको जबाफमा संसारका प्रायः धर्म÷दर्शनले ती सबैबाट मुक्ति पाउन कुनै अलौकिक शक्ति ईश्वर, परमेश्वर, देवीदेवताको शरणमा जाऊ भनेर अर्ति÷उपदेश दिन्छन् । यस जुनीमा जतिसुकै दुःख पाए पनि वा जतिसुकै अन्याय अत्याचारमा परे पनि सुख–दुःख, न्याय, अन्याय छुट्टाउने तराजु लिएरमाथि स्वर्गलोकमा कुनै दैवीय शक्ति बसेका छन् । उनले हेरी रहेका छन् र अर्को जुनीमा त्यसको न्यायोचित हिसाब उनैले दिनेछन् । तसर्थ, दुःख, अन्याय, शोषणमा परे पनि उनै दैवीय शक्तिको सम्झना गरी रहनु पर्दछ । उनकै प्रार्थना गरी रहनु पर्दछ । माक्र्सवाद नै एउटा यस्तो दर्शन, सिद्धान्त र राजनीति हो, जसले शोषण, दमन, अन्याय, असमानता र विभेदबाट मुक्ति पाउन कुनै अलौकिक शक्तिको शरणमा जान भनेन, बरु सर्वहारा मिहिनेतकश वर्गले मुक्तिको शक्ति आफैभित्र खोज्ने शिक्षा दियो । यसले मिहिनेतकश वर्गलाई यो धर्तीको वास्तविक मालिक तिमी आफै हौ भनेर ज्ञान दियो । यसले सर्वहारा वर्गले राज्यसत्ताको मालिक बन्नु पर्दछ र मात्र वास्तविक मुक्ति पाइन्छ भनेर आँखा खोल्न सिकायो । 
माक्र्स र एङ्गेल्सको विचारलाई माक्र्सवाद भनिन्छ । माक्र्सवादी दर्शनलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद भनिन्छ । द्वन्द्वात्मक भौतिकवादलाई मानव जातिको इतिहासमा प्रयोग गर्दा ऐतिहासिक भौतिकवाद भनिन्छ । कार्ल माक्र्सले द्वन्द्वात्मक भौतिकवादलाई केवल प्रकृतिको अध्ययन गर्ने दर्शनमा मात्र सीमित नगरेर यसलाई मानव समाज र मानव चिन्तनमा समेत प्रयोग गरे । माक्र्सले चालिस वर्ष लगाएर “पूँजी” नामक महान् ग्रन्थ तयार पारे, जसले पूँजीवादी शोषणको आन्द्राभुँडी खोलेर देखायो । “पूँजी” मा माक्र्सले द्वन्द्वात्मक भौतिकवादी दर्शनको प्रयोग गरे ।
मानव समाजको निरन्तर विकास हुँदै आएको छ । कुन त्यस्तो निर्णायक र मुख्य तत्व छ, जसका कारण मानव समाजको परिवर्तन हुँदै आएको छ ? यसको जबाफमा धेरै प्रकारका विचार पाउन सकिन्छ । अध्यात्मवादीहरू यो सबै दैवीय शक्तिको करामात हो भन्दछन् । माक्र्सवाद नै एउटा यस्तो दर्शन हो, जसले मानव समाज परिवर्तनको मूल कारक उत्पादन प्रणाली हो भन्दछ । मानिसले आफूले खान, लाउन, बस्नका लागि श्रममा भाग लिदै आएको छ । श्रमले मानिसलाई अन्य पशुभन्दा बेग्लै र उन्नत बनायो । श्रमले मानिसलाई समाज दियो । समाजले भाषा दियो । श्रमले नै मानिसलाई नयाँ नयाँ ज्ञान दियो र आजको मानिस बनायो । श्रममा भाग लिने क्रममा मानिसले उत्पादनको साधन प्रयोग गर्‍यो । उत्पादनको साधन परिष्कृत हुँदै जाँदा उत्पादनमा वृद्धि भयो । उत्पादनमा वृद्धि भएपछि अतिरिक्त उत्पादन जन्मियो । अतिरिक्त उत्पादनले निजी स्वामित्व जन्मायो । निजी स्वामित्वले वर्ग जन्मायो । वर्गले राज्य जन्मायो । वर्गहरूको अन्त्य हुँदै जाँदा राज्य पनि समाप्त हुँदै जाने छ । मानव समाज साम्यवादमा पुग्ने छ ।
माक्र्सवाद एउटा आन्दोलन हो । यो कैयौँ हण्डर, ठक्कर र पराजयका बाबजुद अन्ततः जित्ने आन्दोलन हो । संसारको इतिहासलाई हेर्‍यौँ भने कजाउने वाला हार्दै आएको छ, कजाइने वालाले जित्दै आएको छ । कुनै बेलाको गोत्रीय वा कविलायी समाजमा महिलाहरू आफ्नो समूहका प्रमुख हुन्थे । समूहका प्रमुख महिलाले पुरुषहरूलाई काममा पठाउँथे, शिकार खेल्न, कन्दमूल, फलफूल खोज्न, समूहको सुरक्षा गर्न र पछिल्लो समय खेतीपातीमा समेत काममा कजाइने पुरुषहरू टाठाबाठा हुँदै गए । महिलाहरूको नेतृत्व खोसिन थाल्यो । पुरुषहरू शासक बन्दै गए, जसलाई एङ्गेल्सले महिलाहरूको ऐतिहासिक पराजय बताएका छन्, यद्यपि माक्र्सवादीहरू लैङ्गिक समानताका पक्ष्ँधर हुन् । काम कजाउने महिलाहरू कजाइने पुरुषको अगाडि हार्नु परेको थियो । दास युगमा दास मालिकहरू आफूलाई ठुलावडा ठान्थे । दासहरूलाई जन्तुजनावर जस्तै बिक्री–वितरण गर्थे । दास मालिकहरू दासहरूलाई काममा गोरु, गधालाई जस्तै जोताउथे । आखिर कजाइएका दासहरूका अगाडि दास मालिकले हार्नु पर्‍यो । सामन्ती युगमा सामन्त÷जमिन्दारहरूले किसानहरूलाई काममा कजाउँथे । उनीहरूले पनि किसानहरूको अगाडि हार्नु पर्‍यो । आजको युग पूँजीवादी युग हो । पूँजीपति साम्राज्यवादीहरू आफूलाई अजम्बरीको बुटी खाएको ठान्दछन् तर उनीहरू पनि मजदुर वर्गका अगाडि नहारी सुखै छैन, किनभने इतिहास भन्छ– कजाउने वाला हार्छ, कजाइने वाला जित्छन् । 
उत्पादक शक्ति र उत्पादन सम्बन्धलाई समष्टिगत रूपमा उत्पादन प्रणाली भनिन्छ । मानवीय श्रम र उत्पादनका साधनहरूलाई समष्टिगत रूपमा उत्पादक शक्ति भनिन्छ । उत्पादन, उपभोग र वितरणका सन्दर्भमा मानिसहरूका बीचमा जुन सम्बन्ध स्थापना हुन्छ, त्यसलाई उत्पादन सम्बन्ध भनिन्छ । आदिम साम्यवादी युगमा मानिसहरूका बीचको सम्बन्ध समानताको सम्बन्ध थियो । उनीहरू सामूहिक श्रम गर्थे र सम्पत्तिमाथि सामूहिक स्वामित्व थियो । दास, सामन्ती र पूँजीवादी व्यवस्थामा मानिसहरूका बीचको सम्बन्ध वर्गीय असमानतामाथि आधारित हुन्छ ।
निश्चित युगमा निश्चित सामाजिक सम्बन्ध स्थापना भएको हुन्छ । जस्तो कि दास युगमा दास र दास मालिकका बीचको सम्बन्ध शोषण र असमानता सहितको सम्बन्ध हुन्छ । उत्पादक शक्तिको विकासले तात्कालीन उत्पादन सम्बन्धलाई तोडी दिन्छ । नयाँ उत्पादन सम्बन्ध समाजमा स्थापना हुन पुग्दछ । दासयुगमा दासहरू (श्रमशक्ति) बढ्दै जानु, सङ्गठित हुँदै र शक्तिशाली हुँदै जानु तथा त्यतिखेरका उत्पादनका साधनहरू, खेतीपाती र पशुपालनका औजारहरू परिस्कृत हुँदै जानु समग्र रूपमा उत्पादक शक्ति बलियो बन्नु थियो । उत्पादक शक्तिको त्यस प्रकारको विकासले तत्कालीन उत्पादन सम्बन्धलाई परिवर्तन गरी दियो र समाजमा दास व्यवस्थाको अन्त्य भई सामन्ती व्यवस्था कायम भयो । सामन्ती व्यवस्थामा नयाँ सामाजिक सम्बन्ध कायम भयो । सामन्त र किसानबीचको सम्बन्ध किसानहरू (श्रमशक्ति) चेतनशील सङ्गठित र सङ्घर्षशील बन्दै जानु तथा उत्पादनका औजारहरू बदलिदै जानु, जस्तो कि हाते मेसिनका ठाउँमा ठुला औद्योगिक मेसिनको विकास, यातायात र सञ्चारको साधनको विकास हुनु उत्पादक शक्तिको विकास थियो । सामन्ती व्यवस्थाको गर्भबाटै विकास भएको त्यस प्रकारको उत्पादक शक्तिका विकासले तत्कालीन सामन्ती व्यवस्थाको जमिन्दार र किसानबीचको सम्बन्धलाई अन्त्य गरी दियो । सामन्ती व्यवस्था अन्त्य भयो, पूँजीवादी व्यवस्था कायम भयो । पूँजीपति र मजदुरबीचको नयाँ सामाजिक सम्बन्ध स्थापना भयो । मजदुर वर्ग (श्रमशक्ति) को विश्वव्यापी एकता, सङ्गठन र सङ्घर्ष तथा उत्पादनका साधनहरूको तीव्र विकासले पूँजीवादी व्यवस्थामा उत्पादक शक्ति बलियो हुँदै गएको छ । उत्पादक शक्तिको विकासले निश्चित रूपमा विद्यमान उत्पादन सम्बन्धमा परिवर्तन ल्याउने छ र समाजवादको युग आउने छ । सर्वहारा विश्व दृष्टिकोण, वर्गसङ्घर्ष, सर्वहारा अधिनायकत्व, सर्वहारा अन्तर्राष्ट्रवाद, सशस्त्र सङ्घर्षको अनिवार्यता जस्ता माक्र्सवादका आधारभूत सिद्धान्तहरू अहिले पनि पुराना भएका छैनन् । उदाहरणका निम्ति सर्वहारा दृष्टिकोणकै कुरा गरौँ । वर्गीय समाजमा दृष्टिकोण पनि वर्गीय हुन्छ । जमिन्दारले मेरो खेतमा यति उति किसानहरूले काम गर्दछन्, मैले खेतमा काम गर्न दिएको छु र उनीहरूको परिवारले खान पाएका छन् भनी रहेको हुन्छ । त्यस्तै, पूँजीपतिले यति जना मजदुरहरूलाई रोजगारी दिएको छु, एक सय जना मजदुरले रोजगारी पाएमा छन् भने हरेक मजदुरसित कमसेकम पनि चार जनाको परिवार भएमा मैले चार सय जना मानिसहरू पाली रहेकी छु भनेर ध्वाँस पिटी रहेको हुन्छ । तर यथार्थता के हो भने ती मजदुरहरू आफ्नै पसिना खर्चिएर बाँची रहेका हुन्छन्, बरु ती मजदुरहरूको पसिनाले पूँजीपति कारमा दौडी रहेको हुन्छ, जहाजमा उडी रहेको हुन्छ र विलासिताको जिन्दगी बिताई रहेको हुन्छ । त्यसरी पूँजीपतिले भन्छ– मैले मजदुर पालेको छु तर यथार्थता त मजदुरहरूले पूँजीपति पाली रहेका हुन्छन् । वर्गीय दृष्टिकोण भनेको यही हो । मलाई मालिकले पालेको हैन, मेरो पसिनाले मालिक पालिएको छ भन्ने दृष्टिकोण निर्माण गर्दै मिहिनेतकश वर्गलाई सङ्गठित गर्दै गएर नै मजदुरहरूको मुक्तिको मार्ग तय गर्दै जान सकिने छ । माक्र्सवादी आन्दोलन अर्थात् कम्युनिस्ट आन्दोलन पसिनाको मूल्यको खोजीको आन्दोलन हो । जहिलेसम्म श्रमजीवी वर्गले आफ्नो पसिनाको मूल्य कसैबाट नखोसिई आफैले प्राप्त गर्ने छैन, यो आन्दोलन निरन्तर चली रहने छ ।
माक्र्स र एङ्गेल्सले कम्युनिस्ट पार्टीको घोषणा पत्र लेखेपछि संसारमा धेरै ठुला ठुला उथलपुथलहरू भए । रूसमा समाजवादी क्रान्ति सम्पन्न भयो । चीन, पूर्वी युरोप लगायत विश्वका धेरै देशहरूमा कम्युनिस्ट पार्टीले सत्ता आफ्नो हातमा लिए । तर १९९० को दशकमा सोभियत रूस, पूर्वी युरोपमा समाजवादी सत्ता ढल्यो । १९७६ मा चीनमा प्रतिक्रान्ति भयो । समाजवादले खाएका यी ढक्काहरूलाई देखाएर प्रतिक्रियावादी र संशोधनवादीहरूले समाजवाद असफल भएको प्रचार गरी रहेका छन् । त्यो समाजवादको असफलता नभएर संशोधनवादीहरूको असफलता हो । उत्पादक शक्तिहरूको विकासले उत्पादन सम्बन्धमा गर्दै गई रहेको परिवर्तनबाट समाजवादको भविष्य उज्यालो छ भन्ने कुरा नै स्पष्ट हुन्छ ।
माक्र्सवादको सिर्जनात्मक विकास गर्नु पर्छ भन्ने तर माक्र्सवादको सिर्जनात्मक प्रयोगका सन्दर्भमा लेनिनवाद र माओत्सेतुङ विचारधाराको विकासलाई अस्वीकार गर्ने प्रवृत्ति पनि देखिएका छन् । त्यस खालको प्रवृत्तिले सारमा माक्र्सवादको सही ढङ्गले प्रयोगलाई अस्वीकार गर्दछ । स्तालिनले पार्टीको गैर पार्टी जनतासितको सम्बन्ध कमजोर भयो भने पार्टी पनि कमजोर हुनेछ भनेका छन् । माओले जनता बिनाको कम्युनिस्ट पार्टी पानी बिनाको माछा सरह हुन्छ भनेका छन् । जन सम्बन्ध कायम राख्ने नाममा पार्टीको क्रान्तिकारी चरित्र ह्रास हुने खतरा र पार्टीको क्रान्तिकारी चरित्रलाई कायम राख्ने नाममा पार्टीको जन सम्बन्ध विच्छेद हुँदै जाने खतरा—यी दुवै खालको खतराबाट कम्युनिस्ट पार्टीलाई जोगाउन जरुरी छ । पार्टीले जनतासितको सम्बन्ध सुदृढ गर्दै जाने र क्रान्तिकारी चरित्रलाई पनि कायम राख्ने गरी पार्टीका नीतिका कार्यक्रम बनाउन जरुरी छ ।
नेपालमा अहिले राजनीतिक क्रान्ति पुरा भई सक्यो, आर्थिक क्रान्ति मात्र गर्नु पर्दछ भन्ने विचारको प्रचार गरिएको छ । यो विचार माक्र्सले भने झैँ टे«ड युनियनवादी र लेनिनले भने झैँ अर्थवादी विचार हो । सारमा यो संशोधनवादी विचार हो । यो विचार माक्र्सवादी दर्शन ऐतिहासिक भौतिकवादका विरुद्धमा छ । मानव समाज विकासको नियमका विरुद्ध छ । समाजमा वर्गहरू रहेसम्म राजनीतिक क्रान्तिको आवश्यकता हुन्छ । माक्र्सवादले शोषणका रूपहरूको अध्ययन गर्न र त्यसका विरुद्धमा सङ्घर्ष गर्ने शिक्षा दिन्छ । माक्र्सको पालामा प्रतिष्पर्धात्मक पूँजीवादी शोषण थियो । लेनिनको पालामा प्रतिस्पर्धात्मक पूँजीवादले साम्राज्यवादी शोषणको रूप लिएको थियो । अहिले पूँजीवादी शोषण निकै चर्को र जटिल बन्दै गएको छ । कम्युनिस्टहरूको आजको ऐतिहासिक दायित्व वर्तमान शोषणका रूपहरूको अध्ययन गर्ने र त्यसका विरुद्धमा सङ्गठित शक्ति तयार पार्दै जानु हो ।
कसैले चाहोस् वा नचाहोस्, वर्तमान मानव समाजको गति समाजवादी, साम्यवादी दिशातिरै अगाडि बढी रहेको छ । माक्र्सवादले एउटा मात्र मानव जातिको कल्पना गरेको छ । वर्तमान पूँजीवादी विकासको यातायात, सञ्चार र फरक फरक समुदायको तीव्र घुलमिलले एउटै मानव जातिको निर्माणतिर समाजलाई डोर्‍याउँदै लगेको छ । माक्र्सवादले राज्यविहीन विश्वको परिकल्पना गरेको छ । पूँजीवादको विकासले राज्य–राज्यबीचको बन्धनहरूलाई कमजोर बनाउँदै लगेको छ । समाजवाद भनेको सम्पत्तिमा सामूहिकीकरण हो । पूँजीपतिहरू एक्लै उद्योग, व्यवसाय चलाउँदा टिक्न नसकिने डरले बहुराष्ट्रिय कम्पनी मार्फत् सम्पत्तिको सामूहिकीकरण गर्दै गएका छन् । समाजवादी व्यवस्थाका लागि उनीहरूले झन् आधार तयार पार्दै लगेका छन् । पूँजीपतिहरूको मात्र सम्पत्ति सामूहिक गरेर पुग्दैन, मजदुरहरूको पनि सम्पत्तिमा स्वामित्व कायम गर्ने उद्देश्यका लागि चेतना, सङ्गठन र सङ्घर्ष विकास गरेर जानु जरुरी छ । क्रान्तिको भविष्य छैन भनेर जतिसुकै डङ्का पिटे पनि विश्वभरि विभिन्न प्रकारका विद्रोहहरू भई रहेका छन् । साम्राज्यवादीहरू झन् झन् सङ्कटमा फस्दै गई रहेका छन् । विश्वमा साम्राज्यवादी देशहरूका बीचमा, साम्राज्यवादी र उत्पीडित राष्ट्रका बीचमा, शक्तिशाली राष्ट्र र “आतङ्कवादी” बीचमा अन्तर्विरोध, क्षेत्रीयतावादी र जातिवादी अन्तर्विरोध—यी तमाम अन्तर्विरोधहरूलाई साम्राज्यवादीहरूले समाधान गर्न सकेका छैनन् । अन्तर्विरोध गहिरिदै गएका छन् । श्रमिक वर्गको विद्रोह विगतमाभन्दा झन् छिटो विश्वव्यापी रूपमा डढेलो लागे झैँ सल्किएर जान सक्ने समय पनि आउन सक्छ । किनभने यातायात, सञ्चार र प्राविधिक विकासले मजदुरहरूलाई पनि विश्वव्यापी रूपमा धेरै नजिक ल्याई रहेको छ । भविष्यको त्यो क्रान्तिका लागि क्रान्तिकारी विचार र सङ्गठनलाई बलियो बनाउँदै लैजानु पर्ने आवश्यकता छ । कम्युनिस्ट पार्टीको यही दायित्वभित्र माक्र्स जयन्तीको सार्थकता अन्तरनिहित छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप लेखहरू
स्थानीय चुनावमा दलहरूको प्रचार रणनीति
नागरिक सुरक्षाको सवाल र दायित्व
खबरदार ! हाम्रो रोजगारी नखोस
नेपालमा प्रधान न्यायाधीशमाथि महाभियोग र पूँजीवादी लोकतन्त्र अवसानतिर
नेपालमा प्रधान न्यायाधीशमाथि महाभियोग र पूँजीवादी लोकतन्त्र अवसानतिर
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal