२०७४ कार्तिक २९ गते, बुधबार   वर्ष ३५, अङ्क १
मिति(२०७४ म‌सिर २, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
लेखहरू
सात वर्षमा दुलही, १२ वर्षमा आमा
– वसन्त प्रताप सिंह
बझाङ । कोटभैरव गाविसकी सुर्मा बादी भर्खर सात वर्षकी भइन् । अघिल्लो वर्ष नै सुर्माको सोही गाउँका राजु बादीसँग मगनी भई सकेको छ । १५ वर्षका राजुको परिवार विवाह खर्च जुटाउन लागी परेको छ । राजुले भने– ‘विवाह खर्च जुटाई सकेका छैनौँ । खर्चको जोहो भए यही दसैँमा, नभए मङ्सिरमा बिहे हुन्छ होला ।’ 
सरकारले महिलाको बिहे गर्न उपयुक्त उमेर २० वर्षलाई मानेको छ । यौन, प्रजनन र स्वास्थ्यका हिसाबले ‘बिहेवारी २० वर्षपारि’ भन्ने नारा नै तय गरिएको दुई दशक पुग्न लागी सक्यो । तर, बझाङका बादी समुदायलाई न सरकारको नियम–कानुन थाहा छ, न त उपयुक्त बिहे गर्ने उमेरबारे नै जानकारी छ । यहाँ शताब्दियौँ पुरानो समाजको झल्को दिने गरी कलिला काखेनानीहरूलाई दुलाहा–दुलही बनाइन्छ । 
भाँडाकुटी खेल्दै गरेको अवस्थामा भेटिएकी सुर्मालाई भने आफ्नो विवाह हुने कुरा थाहै रहेनछ । दसैँमा विवाह हुने र अघिल्लो वर्ष बोका काटेर उनको मगनी भएको कुरा छिमेकी सङ्गीता बादीले सम्झाएपछि भने उनी तर्सिइन् । ‘नाइँ म त बिहे गर्ने होइन’ उनले सवितासँग बालसुलभ पारामा कुरा गरिन्– ‘बिहे गर्दिन खोजे भने म त भागेर फुपूको घर जाने हो ।’ 
बझाङको जयपृथ्वी नगरपालिकामा रहेका ४१ परिवार बादीमा सुर्माकै उमेरका धेरैको विवाह भई सकेको छ भने कतिपयको मगनी भई सकेको छ । आठ जना बालिकाको यसै वर्ष विवाहको तयारी गरिएको बादी समुदायकी अगुवा सबिता बताउँछिन् । ‘धेरैजसोको त ३–४ वर्षको उमेरमै मगनी भई सक्छ’ उनले थपिन्– ‘मगनी भएपछि ७–८ वर्षकै उमेरमा विवाह गराई दिन्छन् । जति रोइकराइ गरे पनि कसैले सुन्दैनन् । यहाँको चलन नै यस्तै छ ।’ उनकै समुदायमा अरू ५–६ जना बालिकाको पनि गत वर्ष नै मगनी भई सकेको छ । खर्च जुटेपछि ती बालिकाको चाँडै बिहे गरी दिने तयारीमा छन् उनका अभिभावक । परम्परादेखि चली आएकाले यो संस्कारलाई आफूहरूले पनि निरन्तरता दिएको बादीहरू बताउँछन् । ‘बाजे–बराजुका पालादेखि यस्तै चलेको हो । सरकारको नियम–कानुनबारे हामीलाई के थाहा ?’ थलाराका अमर बादीले भने– ‘हामीले पनि चलन कसरी छोड्न सक्छौँ र ?’ 
आर्थिक हिसाबले अति विपन्नभित्र पर्ने यो समुदायका बालबालिका विद्यालय नै जाँदैनन् । विद्यालय जान चाहनेहरूको पनि कलिलै उमेरमा विवाह गरी दिएपछि पढाइ छुट्छ । सानै उमेरमा विवाह गर्ने र बच्चा जन्माउने हुँदा कतिपयको प्रजनन स्वास्थ्यमा समेत समस्या देखिने गरेको स्थानीय कस्तुरी बादीले बताइन् । उनी भन्छिन्– ‘६–७ वर्षको उमेरमा बिहे गरेका बालिका १२–१३ वर्षको उमेरदेखि नै बच्चा जन्माउन थाल्छन् । वर्षैपिच्छे बच्चा जन्माएपछि तिनको शरीर कस्तो होला ?’ कलिलै उमेरमा विवाह हुनाले अधिकांश बादी महिलाको पाठेघर खस्ने, पिसाब चुहिने, हातखुट्टा सुन्निनेजस्ता समस्या भएको उनी बताउँछिन् । 
त्यसो त बादी समुदायमा परिवार नियोजनसम्बन्धी कुनै ज्ञान पनि छैन । त्यसैले उनीहरू कुनै योजना नगरी सन्तान जन्माउँछन् । तीमध्येकै एक हुन्– काली बादी । उनी २० वर्षको उमेरमा ४ वटा सन्तानकी आमा बनी सकेकी छिन् । काली थप्छिन्, ‘लोग्नेलाई बच्चा भए पुगी हाल्छ । जन्माउन, हुर्काउन कति दुःख हुन्छ भन्ने कसैले सोच्दैनन् । सानैमा बिहे हुन्छ । बच्चा पेटमा बसी हाल्छ, नपाई सुखै छैन ।’ 
माटोका भाँडा बनाएर र नाचगान गरेर जीविकोपार्जन गर्ने यस समुदायको परम्परागत पेसा लोप भएपछि बादीहरू मागेर खान बाध्य छन् । उचित खानपान, सरसफाइ र स्वास्थ्यसम्बन्धी सुविधाको अभाव रहेको यस समुदायका महिलाको आयु अन्य समुदायका महिलाकोभन्दा निकै कम छ । २८ परिवारका करिब दुई सय ७० जनाको बसोवास रहेको थलारामा ६० वर्षमाथिका महिलाको सङ्ख्या एक मात्र छ भने ५० वर्षभन्दा माथिका महिला दुई जना मात्र रहेका छन् । 
बादी समुदायका मानिसको औसत आयुबारे आधिकारिक तथ्याङ्क उपलब्ध नभए पनि यहाँका अधिकांश मानिसको ४०देखि ४५ वर्षको उमेरमा नै मृत्यु हुने बादी अगुवा मदन बादी बताउँछन् । उनी भन्छन्– ‘५० वर्षभन्दामाथि बाँच्नेहरू एकदमै कम छन् । धेरैजसो ४०–४५ कै बीचमा बितेका छन् ।’ यस समुदायमा संस्कृतिकै रूपमा रहेको मदिराको कुलत पनि छिटो मृत्युको कारण हो भने अर्को मुख्य कारण बालविवाह नै हो । मदनले थपे– ‘मगनी हुँदा खसी, कुखुरा काट्ने, रक्सी खाने चलन छ । त्यसैको लोभले पनि केही आमाबाबुले २–३ वर्षकै उमेरमा छोरीको मगनी स्वीकार गर्ने गर्छन् । केटा पक्षले पैसा जम्मा भएपछि लिन आई हाल्छन् । कतिपय त चार–पाँच वर्षमै लिएर जान्छन् ।’
बादी समुदायको यो चलन रोक्न विभिन्न प्रयास भने नभएको होइन । कोटभैरव गाविसको बादी बस्तीबाट १० मिनेटको दूरीमा इलाका स्तरको प्रहरी चौकी छ । पाँच–छ वर्षको उमेरमै दूधे बालिकाको बिहे भई रहँदा प्रहरी मूकदर्शक भएर बस्छन् । थलारा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक नारायण चन्द आफूहरूले धेरै प्रयास गरे पनि बादी समुदायमा प्रचलित यो परम्परा रोक्न नसकेको स्वीकार गर्छन् । ‘दुवै पक्षको कुरा मिली सकेको हुन्छ । हाम्रो परम्परा बिथोल्न आउने भनेर उल्टै हकार्छन्’ उनले भने– ‘यो त बालविवाह हो, कानुनले यसो गर्न मिल्दैन भनेर रोक्न जाँदा प्रहरीमाथि नै आक्रमण समेत भयो ।’ 
कोटभैरवलाई बालविवाहमुक्त गाविस घोषणा गर्ने लक्ष्य रहेको भए पनि बादी समुदायमा हुने यस्तो प्रचलनले गर्न नसकिएको कोटभैरव स्वास्थ्य चौकीका जन स्वास्थ्य निरीक्षक धन बहादुर भट्टले बताए । 
(सञ्चारिका फिचर सेवा) (वसन्तप्रताप, बझाङमा कार्यरत पत्रकार हुन् ।)

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप लेखहरू
स्थानीय तह निर्वाचन २०७४ को सन्दर्भ
राष्ट्रिय स्वतन्त्रता र देशको वर्तमान स्थिति
मतको अवमूल्यन
टुर्कीमा कुर्दहरूको जीवन–मरणको सङ्घर्ष ः सानो चर्चा
व्यक्तिगत सम्पत्ति
खोक्रा युवाहरूको देश
मृगौला पीडित भीम बहादुरलाई जापान नेपाली एकता समाजको सहयोग
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal