२०७४ श्रावण ३२ गते, बुधबार   वर्ष ३४, अङ्क ३७
मिति(२०७४ भाद्र ७, बुधवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
लेखहरू
खोक्रा युवाहरूको देश
युवराज आचार्य
केही वर्ष अगाडिसम्म नेपालका ग्रामिण भेगहरूका एउटा बस्तीमै सयाँैको सङ्ख्यामा युवाहरू हुन्थे । प्रत्येक घरका घरमुली अथवा जेठोबाठो मान्छे रोजगारीको सिलसिलामा इण्डियामा अवश्य हुने गर्दथे । युवा तथा भर्खरका किशोरहरू छिटफुट मात्रामा खाडी देश, युरोप, अमेरिका, क्यानाडा, अस्ट्रेलिया लगायतका देशहरूमा रोजगारी तथा अध्ययनको सिलसिलामा जाने गर्दथे । यसरी विदेशिने क्रम गतको दश वर्षमा ह्वात्तै बढेको हामी भोगेका छौँ । पहिले र अहिलेको विदेश बसाँइको उद्देश्य फरक फरक भएको पाइन्छ । पहिले उनीहरू शरीरमा एकसरो लुगा लगाउन र घरखर्च बापत् नुन, चिनी, चियापत्ति लगायत सामान्य प्रकारका सामग्रीहरूको खाँचो टार्नका निम्ति विदेश जाने गर्दथे भने अहिले उनीहरू, सहरबजारमा पक्की घर बनाउन तथा किन्न, जग्गाजमिन किन्न, फेसन अनुसारका लुगाफाटाहरू लगाउन, हाइफाइ रेस्टुरेन्टहरूमा विभिन्न किसिमका स्वदेशी तथा विदेशी आइटमहरू मा रमाउनको निम्ति विदेश जान्छन । उच्च शिक्षा अध्ययन गर्नका निम्ति पनि जाने गर्दछन । यो चलन सदियौँदेखि नै चल्दै आएको चलन नै हो । हरेक देशका नागरिकहरू यसै गरी उनीहरूका विभिन्न स्वार्थ पूर्तिका निम्ति विभिन्न देशमा जाने गर्दछन । कतिपय मानिसहरू रोजगारी, व्यापार, उच्च शिक्षा अध्ययन, भ्रमण जस्ता प्रयोगमा विदेश जाने गर्दछन । सन् १९१९ ताका अहिलेका शक्तिसम्पन्न राष्ट्रहरू चीन, जापान, कोरिया जस्ता देशका धेरैजसो ग्रामिण भेगका युवाहरू अमेरिका र युरोपका विभिन्न देशमा विभिन्न उद्देश्यका साथ गएका थिए । अहिले त्यो दर ती देशहरूमा शुन्यप्राय छ ।
खास गरेर २०६२–६३ को आन्दोलनले युवाहरूलाई विदेश जाने युगको सुरुवातको वर्षको रूपमा पनि आफ्नो ऐतिहासिकता कायम राखेको छ । यसको दीर्घकालीन महत्व नेपाली समाजमा निकट भविष्यमै देखिनेवाला छ । त्यो समय धेरै कुर्नु पर्ने छैन । देशबाट सामन्ती संस्थाको अन्त्य भई सकेपछि निर्माण भएको गणतान्त्रिक सरकार र यसका नेतृत्वकर्ताहरू देशको वार्षिक बजेट निर्माण गर्दा देशको कुल बजेटको करिब ७० प्रतिशत बजेट तिनै युवाहरूले पसिना बगाएर उब्जेको रेमिट्यान्सबाटै तयार पार्दछन् । प्रायःजसो संसारभरका देशहरूमा यस्ता ठुला आन्दोलन तथा सङ्घर्ष पश्चात् तिनैको पृष्टभूमिमा विज्ञान तथा प्रविधिको विकास, विभिन्न भौतिक संरचनाको निर्माण तथा विकास, उद्योग–व्यवसायको स्थापना, कृषिको व्यावसायीकरण, अन्तर्देशीय व्यापार र राष्ट्रिय आत्मनिर्भरताको बाटोमा देशहरू अगाडि बढेको पाइन्छ । तर हाम्रो देशको अवस्था ठिक उल्टो कुरा देखिन्छ । हामीले दैनिक रूपमा उपभोग गर्ने हर सामान भारत र चीनबाट आयात गरिन्छ । यस्तो परनिर्भरतामा टिकेको देशको संविधानमा यही देशलाई पूँजीवादी देशको रूपमा व्याख्या गर्दै समाजवादउन्मुख भनेर उल्लेख गरिएको छ ।
के हुन् ती समाजवादी युग, पूँजीवादी युग भनेका ? किन चाहिए हामीलाई ? त्यसले हामीलाई के दिन्छ ? त्यसबाट हामीले के पाउँछौँ ? जे भए पनि आफ्नो तालले आफू बाच्न पाउनु पर्‍यो, पुग्यो । आखिर त्यो थाहा पाएर पनि के गर्नु ? जसले जेसुकै गरोस् के मतलब ? संविधान बन्यो । लोकतन्त्र आयो । आफू आफ्नो गरिन्छ, खाइन्छ, बसिन्छ । यी अहिले हाम्रो नेपाली समाजका आम युवा साथीहरूमा उठ्ने प्रश्नहरू हुन्, जुन धेरैजसो युवाहरूका बीचमा सर्वस्वीकार्य कुराहरू पनि हुन् । खासमा युवा अवस्था मानव जीवनको सबैभन्दा उर्जावान, सृजनाशील, परिश्रमी, बलवान तथा स्वप्नशील अवस्था हो । यसको मानव जीवनमा ठुलो महत्व छ । यस अवस्थाले जीवनको सम्पूर्ण अवस्थालाई प्रतिनिधित्व गरेको हुन्छ । त्यस कारण यस अवस्थामा स्वाभाविक रूपमा युवाहरू सही बाटोमा हिड्नु पर्ने हुन्छ । 
हामीलाई पसिना बगाउन कुनै सन्देह छैन । कुनै फिक्री छैन । खालि त्यस वापत् पैसा चाहियो । हामी चौकिदारी बस्ने, दुनियाका जुठा भाँडा माझ्ने, झाडु लगाउने, भेडा चराउने, मरेका मान्छे तह लगाउने लगायतका कामहरू गर्नका निम्ति कुनै कसुर बाँकी राख्दैनौँ । यति भए पुग्यो कि हाफ पाइन्ट, जुत्ता र नयाँ टिसर्ट लगाएर समुद्रको छालको दृष्यसँगै एउटा दामी फोटो खिचेर फेसबुकको भित्तामा राख्न पाए पुग्यो । राम्रो सफा रेस्टुरेन्टमा एक गिलास चिसो भरेर माउथ पाइप जोडेको फोटो खिच्न पाए भयो । हाम्रो सन्तुष्टि त्यसैमा छ । जिन्दगीको मज्जा त्यसैमा छ । जीवनको खुशी त्यसैमा छ । परिवारको खुशी त्यसैमा छ । साथीभाइभन्दा ठुलो मान्छे आफू नै भइएको छ । दिनमा १८ घण्टासम्म गल्ली गल्ली भौतारिएर पसिना बगाएको न त परिवारले देख्छ, न साथिभाइले नै । आखिर जीवन गुमराहमै चलेको छ । यस्तो जिन्दगी, जसलाई पछ्याउने बहुसङ्ख्यक युवाहरू छन् । आफ्नो जिन्दकी मृत्युको मुखमा राखेर भए पनि यो जिन्दगी प्राप्त गर्ने होडबाजीमा छन् । त्यो प्राप्त गर्नु नै जीवनको सबैभन्दा ठुलो सफलता भएको छ अहिलेको समयमा । 
अहिले फेसबुक र विभिन्न सामाजिक सञ्जालहरू नै आधिकारिक सूचनाका प्रमुख साधनहरू भएका छन् । यी सञ्जालहरूले युवाहरूको दैनिक क्रियाकलापहरूमा एक प्रकारको गतिशीलता ल्याएका छन् अर्थात् अहिलेका युवाहरू धेरै फास्ट मुभमेन्टमा आफ्ना गतिविधिहरू गर्दछन । हरेक सेकेन्ड सेकेन्डमा संसारभरका सत्य न्युजहरू अपडेट हुने, कसैको प्रशंशा गर्नेदेखि लिएर गम्भीर प्रकारका आरोप–प्रत्यारोप गर्ने र कसैको चरित्र हत्या गर्ने जस्ता कार्यहरूको निम्ति पनि यी सञ्जालहरू अति मात्रामा प्रयोग गरिन्छन् । 
दैनिक रूपमा फास्ट जेनेरेसनको उत्पति हुनुपर्दछ । सामाजिक सञ्जालको पनि सहि तरिकाले प्रयोग गर्नु सकारात्मक नै हुन्छ । तर तिनीहरूको प्रयोगसँगै सामाजिक सञ्जालमा आउने न्युज अपडेट, तिनमा गरिने बहस लगायतका विविध पक्षहरूप्रति हामीहरू सचेत हुन सकेका छैनाँै । कसैले केही कुरा भनेकै भरमा त्यसको सत्य तथ्य नबुझीकन सामाजिक सञ्जालमा हल्ला फिजाउन तल्लीन हुन्छाँै । दिनमा आफ्नो दैनिकी चलाउन गर्ने कर्मको आधा समया जति ती सञ्जालहरूमा खर्च गर्नमै तल्लिन हुन्छौँ । त्यसले हाम्रो जीवनको शैलीलाई पनि नकारात्मक असर पारेको छ । 
अहिले यातायातको सहज पहँुचमा हामी छौँ । हामी स्वदेशमा छाँै । विदेशमा छौँ । संसारका हरेक कुनामा छौँ । हामीले हाम्रो समाज देखेका छौँ । हाम्रो देश देखेका छौँ । विदेश देखेका, अनि भोगेका छौँ । हामीले जुन कुरा देख्छौँ, त्यो तुरुन्तै ओकल्न सक्छौ । जे कुरा पढेका छौँ, त्यो कुरा अरूलाई बुझाउन पनि सक्छौँ । पढ्ने र बुझ्ने कुराका बीचमा हामीसित भित्री वास्तविक कुराहरूकोभन्दा सतही कुराहरूको ज्ञान बढी हुने गर्दछ । हामी विषयवस्तुको सारलाईभन्दा बढी ध्यानपूर्वक त्यसको सोझो अर्थलाई हेर्छौँ । त्यसको परिणामस्वरूप समाजमा जुन कुराको प्रचार प्रसार बढी हुन्छ । त्यसैको पछाडि लाग्दछौँ । हामीलाई समाजका घटनाक्रममध्ये वर्तमानको परिस्थितिले बढी आक्रामक बनाउँछ, जबकि त्यसको भविष्यको परिणामका बारेमा हामी जानकार समेत बन्न चाहदैनाँै र हुँदैनौँ पनि । 
संसारभर कुनै कालखण्डहरूमा युवा शक्तिहरू देशकै मुहार फेर्ने प्रमुख शक्तिको रूपमा आन्दोलन र सङ्घर्ष गरेका इतिहास हामीसामु छन् । कुनै बेलाको सबल चीन दुर्बल बनेपछि युवाहरूको बलिदानी पूर्ण सङ्घर्षबाटै जनवादी गणतन्त्र चीनको रूपमा उदायो । रूसमा हजारौँ युवाहरूको बलिदानीले समाजवादी राज्यको स्थापाना भएको थियो । भियतनाम, जर्मनी, क्युबा, अर्जेन्टिना, फ्रान्स लगायतका कैयौँ देशहरूबाट सामन्तवादको अन्त्य हुँदा युवाहरूको बलिदानी गौरवपूर्ण रह्यो । अमेरिकी स्वतन्त्रता सङ्ग्राममा होस् वा भारतीय, बेलायती उपनिवेशबाट मुक्त हुनका निम्ति ती देशका युवाहरूको योगदानमा कुनै कमी छैन । हामीले केही यस्ता युवाहरूको इतिहास देख्दछौँ– चे ग्वेभारा अर्जेन्टिनामा जन्मेर क्युबा, कङ्गो लगायतका देशहरूमा सचेततापूर्ण उच्च प्रकारका मजदुर किसान आन्दोलनलाई उठाउन महत्वपूर्ण भूमिका खेल्ने युवा हुन् । तर नेपालको विषयवस्तु नितान्त फरक किसिमको छ । 
अर्ध सामन्ती र अर्ध औपनिवेशिक मुलुक नेपालका सामाजिक सञ्जाल, समाचार पत्र, टेलिभिजन तथा रेडियोहरूले बिल गेट्स बन्न सिकाउन समाचार बनाउँछन् । विदेशमा बगाएको पसिनालाई व्यक्तिको सफलताको कथा बनाई प्रसारण गरी दिन्छन् । बजारमा प्लास्टिक मिसिएका खाद्य पदार्थहरूको विज्ञापन बढी गर्छन् । तिर्खा मेटाउन विभिन्न केमिकलहरूको सेवन गर्ने ठुलो मान्छे हो भन्दै प्रचार गरी दिन्छन् । पश्चिमा छाडा संस्कृति र लवाइखुवाइलाई बढी प्रचार गरी दिन्छन् । हामी युवाहरू ती कुराहरूमा सोझै विश्वास गर्छौं र त्यी अनुरूपको आफ्नो दैनिकीलाई सुधार्न थाल्दछौँ । तर हामी बिल गेट्स बन्ने आधारहरू भए÷नभएको कुरा, स्वदेशमा रोजगारीको व्यवस्थाको कुरा, हामीले खाने खानेकुराहरूको गुणस्तरको कुरा, हाम्रो औकातको कुरा, हाम्रा ती चिसा कलकल झरनाहरूको कुरा, हाम्रा गुरुङ, मगर, थारू, मैथिली, भोजपुरी, राई, लिम्बु, तामाङ लगायतका संस्कार र संस्कृतिहरूका बारेको कुरा—सबैप्रति वेखबर छौँ । हामीलाई कुनै वास्ता नै छैन । 
देशको राजनीति, देशको शासन व्यवस्था लगायतका देशभित्र रहेका गरिब मजदुर किसान तथा श्रमजीवी जनताका बारेमा हामीलाई कुनै वास्ता छैन । हामी पूर्णतया वेखबर छौँ । हामी हाम्रा मौलिक हक–अधिकार र हामीले राज्यबाट पाउनु पर्ने सेवा तथा सुविधाप्रति वेखबर छौँ । हामीलाई कुनै चासो नै छैन । आज अन्याय के हो ? भ्रष्टाचार के हो ? दलाली के हो ? तस्करी के हो ? घुसखोरी के हो ? यी र यस्तै विषयवस्तुप्रति हामी वेखबर छौँ । हामी हाम्रो क्षणिक लोभ र स्वार्थमा यी सब भुली दिन्छौँ । तर हामी आन्दोलनमा सबैभन्दा अगाडि पुग्छौँ । बन्द–हड्ताल गर्न अगाडि सर्छौ । अरूको विगार्न अगाडि सर्छौ, ठुलो ठुलो स्वरमा हामी हाम्रा अधिकारका कुरा गर्छौ । यसो गर्दै गर्दा हामी ती कुराहरूप्रति वेखबर छौँ । यस्तो अवस्थामा हामी हाम्रा राज्य सञ्चालक शासकहरूको गोटी बन्न पुगेका छौँ । उनीहरू बिना हाम्रो कुनै पनि काम नबन्ने भएको छ । उनीहरूको साथ बिना हाम्रो जीवन अधुरो हुन्छ । अनि, हामी उनीहरूले जे गरे पनि, जस्तोसुकै असामाजिक काम कर्तुतहरू गरेता पनि त्यसै चुपचाप बस्न बाध्य छौँ । अहिले त सबैजनाको मुख नै बिग्री सक्यो । आँखा नै देख्न छोडी सक्यौँ । भैँसीको गोबर गन्हाउन थाली सक्यो । डोकोमाथि मुठो बाधेर ल्याउने खरबारीको घास त्यसै सुक्न लाग्यो । धेरैजसो पाखाबारीहरू बाझो भई सके । गाउँमा वृद्धवृद्धा बाहेक अरू पाउनै मुश्किल भई सक्यो । हामी कथित विकसित भई सक्यौँ । हामी फेसबुक चलाउँछौँ । हामी इन्टरनेटको माध्यमबाट संसारका जुनसुकै ठाउँका पनि घटनाहरू तत्काल थाहा पाउन सक्दछौँ । हामी अब सहरिया हुन थाल्यौँ । हाम्रा बालबच्चा सहरका महङ्गा बोर्डिङ स्कुलहरूमा पढ्न थाले । हाम्रा छोरीचेलीहरू सहरमा एस–आरामका साथ बाच्न सक्ने भए । हाम्रा बुबाआमाहरूले खुर्पेटो भिर्ने ढाडमा मोबाइल फोन भिर्न थाले । हाम्रा लागि अब देशका जुनसुकै कुनामा पुग्न कठिन खुड्किलाहरू हिड्न नपर्ने भयौँ । उकाली ओराली हिँड्दा त सास बढेर ज्यानै जाला जस्तो हुन थालिसक्यो । नया नया भाषाहरू अनि संस्कृतिहरू पनि हामी सिकिसक्यौ । हामीलाई सहरियाहरूले अब पाखे भन्न छोडी सके । हामीहरू अब उनीहरूको हैसियतमा आई सक्यौँ । अलि पुराना र कमजोर बुद्धि भएका सहरियाहरू त आर्थिक रूपले हामीभन्दा तल परी सके । अब योभन्दा ठुलो उपलब्धि हाम्रो लागि के हुन सक्छ ? योभन्दा मस्ती हाम्रा लागि के हुन सक्छ ? साच्चिकै हो, हामी अब अगाडि होइन, धेरै अगाडि बढी सक्यौँ । हामी विकसित समाजमा रमाउने भई सक्यौँ । त्यसैले होला, नेपालका ठुला दलहरूले देश पूँजीवादी युगमा छ र समाजवादी युगतर्फ अगाडि बढेको छ भन्न थालेका ।
त्यसैले अहिलेको समाजका हामी युवाहरू देशको सामाजिक परिस्थिति, जनताका जनजीविकाका सवालहरू, राष्ट्रिय स्वाभिमान, देशको बदलिदो राजनीतिक अवस्था, राज्यको शासन प्रणाली लगायतका हामी र हाम्रो समाजसँग प्रत्यक्ष रूपमा जोडिएका विषयवस्तुहरूप्रति जिम्मेवार बन्न नसक्नुले हामीलाई खोक्रा युवाहरू आफूलाई सावित गरेका छौँ । यो दोष हामीले आफूलाई लगाउने होइन, अहिलेको हाम्रो सोच, चिन्तन, हाम्रा क्रियाकलापहरूको परिणाम हाम्रा सन्ततिहरूले भोग्ने समयमा लगाउने छन् । त्यसैले आजैबाट सचेत बनौँ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप लेखहरू
स्थानीय तह निर्वाचन २०७४ को सन्दर्भ
राष्ट्रिय स्वतन्त्रता र देशको वर्तमान स्थिति
मतको अवमूल्यन
टुर्कीमा कुर्दहरूको जीवन–मरणको सङ्घर्ष ः सानो चर्चा
व्यक्तिगत सम्पत्ति
सात वर्षमा दुलही, १२ वर्षमा आमा
मृगौला पीडित भीम बहादुरलाई जापान नेपाली एकता समाजको सहयोग
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal