२०७४ कार्तिक २९ गते, बुधबार   वर्ष ३५, अङ्क १
मिति(२०७४ म‌सिर ७, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
साहित्य
चलचित्र ”फागुन २४“बारे छोटो टिप्पणी
प्रेम सुवेदी
क. मोहन विक्रम सिंहद्वारा लेखिएको नाटक विजयीको बिहान “फागुन २४ गते”लाई कलाकार हेमराज आश्रमले चलचित्रको रूपमा निर्देशन गरेका छन् । उक्त चलचित्र देशका कतिपय हलमा प्रस्तुत गरिएको छ र प्रदर्शन कार्यलाई निरन्तरता दिने आयोजक संस्था रक्तिम सांस्कृतिक अभियान काठमाडौँ महानगरले जानकारी दिएको छ ।
चलचित्र क्षेत्रमा “फागुन २४” को त्यति चर्चा नभए पनि आयोजकको प्रयत्नप्रति सदभाव राख्नु वाञ्छनीय नै हुने छ ।
जहाँसम्म चलचित्रको विषयवस्तु तथा कला पक्षको प्रस्तुति छ, त्यसप्रति त्यति धेरै टीका टिप्पणी भएका छैनन् तर, टीका टिप्पणीभन्दा बाहिर त्यो चलचित्र छ भन्नु अर्को अतिशयोक्ति हुने छ । चलचित्र “फागुन २४”लाई सर्सती हेर्दा त्यसमा चलचित्रको गुण कम र नाटकको भूमिका बढी देखिन्छ । हुन त उपर्युक्त चलचित्रलाई २०४५ सालमा नाटकको रूपमा प्रस्तुत गरिएको र ती दृष्य पनि यो पङ्क्तिकारले हेर्ने मौका पाएकाले आफ्नो मानसपटलमा त्यो नाटक नै भन्ने बुझाइ भएर हो वा त्यसले चलचित्रको गुण प्राप्त गर्न नसकेकाले हो, त्यो विषयमा छलफल चल्दै जाने छ । चलचित्रको निर्माण त्यसमा रहेको कलापक्षको भूमिकालाई हेर्दा त्यति धेरै प्रशंसनीय देखिदैन । त्यसमा कला पक्ष एकदमै कमजोर नै देखिन्छ । जब कला पक्ष कमजोर हुन्छ, त्यसले समग्रमा विषयवस्तुलाई पनि कमजोर नै बनाउँछ । त्यसप्रति लेखक तथा निर्माताहरूको विशेष ध्यान पुग्नु पर्ने देखिन्छ ।
यता, प्रगतिशील कला साहित्यको क्षेत्रमा ठुलो खडेरी परी रहेको पृष्ठभूमिमा “फागुन २४” चलचित्र बजारमा आउनु आफैमा सकारात्मक पक्ष हो । तर त्यो भनेर मात्र चित्त बुझाउने संस्कारले हामीलाई सही ठाउँमा पुर्‍याउदैन । माओले भनेका छन्, “जुन साहित्य वा कलामा सौन्र्दय हुदैन, त्यो वास्तवमा कला साहित्य हुँदैन् ।” उपर्युक्त कथनलाई लेखक तथा विशेष गरेर निर्माताले ध्यान दिनु पर्ने देखिन्छ । चलचित्र “फागुन २४” ले दिन खोजेको सन्देश जति राम्रो छ, तर त्यो सन्देशलाई कला पक्षले आत्मसात गर्न त्यति सकेको देखिदैन । यसको अर्थ कला पक्षमा गरिएको मिहिनेतप्रति उपेक्षा गर्न खोजिएको होइन । जुन उचाइमा कलाको भूमिका हुनु पर्ने हो, त्यो भएन भन्ने नै हो ।
क. मोहन विक्रम सिंहले २०१० सालमा प्युठानमा भएको किसान आन्दोलनलाई मूल आधार बनाएर लेखिएको उक्त कथालाई चलचित्रका रूपमा प्रस्तुत गर्दा त्योसँग जोडिएका प्राविधिक तथा एकेडेमिक पक्षमा त्यति ध्यान नदिएको पाइन्छ । कथावस्तु उपयुक्त हुनु आफैमा सफलता मानिदैन चलचित्र क्षेत्रमा । त्यसको सफलतासँग विषयवस्तुका साथै मूलतः कला पक्षले महत्व राख्दछ भन्ने कुरामा त्यति गाम्भिर्यता देखिदैन ।
कुनै पनि विषयको प्रस्तुति समकालीन घटना, पात्र, संस्कृति तथा भेषभुषालाई अलग गरियो भने त्यसको सत्व गुमे जस्तै हुन्छ । चलचित्र “फागुन २४” मुख्यतः ती विषयमा चुकेको नै देखिन्छ । विशेष गरेर कलाकारहरूले प्रयोग गरेका भेषभुषा, भाषा र अन्य सामग्रीहरूले तत्कालीन समयको भावनालाई बोकेको देखिएन । त्यति मात्र होइन, दिउसो खेतबारीमा काम गरी रहेका किसान, घास–दाउरा गरी रहेका महिलाहरूको दृष्य पुरै अन्धकार जस्तै देखिन्छ । त्यो प्रविधिक रूपमा भएको गम्भीर त्रुटि नै हो, जसले चलचित्रलाई जीवन्त बनाउन सकेन । पात्रहरूको अलग अगल भूमिकाको सन्दर्भमा पनि त्यति संयोजन हुन नसकेको देखियो । जस्तो– घास–दाउराका बखत प्रयोग गरिएका डे«सहरू सबै ठाउँमा प्रस्तुत गर्नु पनि त्यति शोभनीय देखिएन ।
कला क्षेत्रमा देखिएका यी कमजोरीलाई हटाउने र त्यसलाई थप परिस्कृत गर्ने हो भने चलचित्रले रामै सन्देश दिने छ । त्यसका लागि आयोजकहरू गम्भीर हुनु पर्ने देखिन्छ । चलचित्र “फागुन २४” को कला पक्षमा देखिएका यी कमजोर पक्षलाई सच्चाउने दिशामा सहयोग पुगोस् भन्ने हेतुले नै यो टिप्पणी गरिएको हो । 
चलचित्रको अर्को महत्वपूर्ण पक्ष त्यसमा अन्तरनिहित विचार पक्षप्रति पनि थोरै कुरा राख्नु सान्दर्भिक नै हुने छ । क. मोहन विक्रम सिंहले किसान आन्दोलनलाई उठाउने उद्देश्यद्वारा प्रेरित भएर नै यो कथा लेख्नु भएको कुरामा कुनै शङ्का छैन । तर, त्यो कथालाई उहाँले समग्र देशमा चलेका समकालीन किसान आन्दोलनको एउटा पक्षको रूपमाभन्दा पनि यो नै यस्तो परिघटना बताउन खोजेको देखिन्छ कि त्यो बाहेक अन्य आन्दोलन त्यति महत्वका थिएनन् वा त्यसप्रति उहाँको दृष्टिकोण नपुगेको हो ? यो संवेदनशील विषय बनेको छ । नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा २००८ सालदेखि सुरु भएको किसान आन्दोलनको क्रममा नै प्युठानमा किसान आन्दोलन भएको कुरा देखिन्छ । देशका अन्य भागहरू मुख्य गरेर बारा, पर्सा, रौतहटका किसान विद्रोहहरूले देशका अन्य भागमा प्रभाव पारेको र विशेष गरेर सुदूर पश्चिम कञ्चनपुर कैलालीमा भीमदत्त पन्तको नेतृत्वमा भएको किसान विद्रोहप्रति त्यत्ति ध्यान दिएको पाइँदैन । भीमदत्त पन्तको नेतृत्वमा भएको विद्रोह वास्तवमा सामन्त, जमिन्दार तथा भारतीय विस्तारवादका विरुद्धमा प्रतिरोध थियो । तर त्यो विद्रोहप्रति तत्कालीन पार्टी नेतृत्वले उचित न्याय दिन त सकेन, बरु उल्टै त्यसप्रति घृणा फैलाउने काम गरेको पाइन्छ । यस विषयमा क. मोहन विक्रमले सिंहले किसान आन्दोलनलाई मूल आधार बनाएर चलचित्रको कथा लेख्दा त्यसप्रति थोरै पनि चर्चा गरेको देखिदैन ।
माथि उल्लेखित किसान आन्दोलनप्रतिको मौनताले स्वयं प्युठानको किसान आन्दोलनलाई अरू आन्दोलनबाट अलग गरेको देखिन्छ । निश्चय नै एउटा विषयमा कुनै निबन्ध वा कथा लेख्दा त्यसै सन्दर्भमा केन्द्रित हुनु स्वाभाविक हो, तर त्यसको पृष्ठभूमिप्रति नै नजरअन्दाज गर्नु सामान्य विषय होइन । यो विषय पनि ध्यान पुगोस् । 
चलचित्र “फागुन २४” मा प्रस्तुत विषयमा पनि कतिपय कुराहरू त्यति स्पष्ट देखिदैन । जस्तो– किसानहरूले साहु–महाजन वा जमिन्दार विरुद्ध जुन सङ्घर्ष गरेर विजय प्राप्त गरे, त्यो विजयी उत्सवमा किसानसँग साहु–महाजन तथा जमिन्दारहरू जुलुसमा हिडेको जुन दृष्य छ, त्यो त्यति सान्दर्भिक देखिदैन । किसानको सङ्घर्ष मूलतः साहु–महाजन शत्रुतापूर्ण नै थियो । तर त्यो दृष्यले सम्झौतापरस्त नीतिको नै पक्षपोषण गरेको देखिन्छ । शायद यो कला पक्षमा देखिएको कमजोरी हो वा लेखकको कथामा आधारित हो ? त्यो अलि अस्पष्ट नै छ । क्रान्तिकारी आन्दोलनको क्रममा देखिने अवसरवादप्रति जति वैचारिक, राजनैतिक आलोचना तथा भण्डाफोरको आवश्यकता छ, त्यो चलचित्रले त्यो विषयमा पनि स्पष्ट गर्न सकेको देखिदैन । आन्दोलनको क्रममा पलायन भएकाहरूको राजनैतिक आलोचनाका पक्ष त्यति ध्यान गएको देखिएन । यसका साथै चलचित्र “फागुन २४” मा संवादको पक्ष पनि प्रभावकारी देखिएन र गीत–सङ्गीतमा पनि उपयुक्त प्रकारको संयोेजन पाइएन ।
अन्त्यमा, चलचित्र “फागुन २४” ले जुन सन्देश दिन खोजेको छ, त्यसलाई सम्मान गर्दै किसान आन्दोलनलाई इतिहासको एउटा घटनाको रूपमा मात्र होइन, त्यसको आवश्यकता आज पनि त्यतिकै छ भन्ने कुरा लेखक तथा निर्माताहरूले ध्यान पुर्‍याउनु पर्ने देखियो । यो विषयमा पनि त्यति ध्यान पुगेको पाइदैन । (मूलबाटो डट कम २०७४ भाद्र ११ बाट)

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप साहित्य
कविता/गजल
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal