२०७४ असोज ४ गते   वर्ष ३४, अङ्क ४०
मिति(२०७४ आश्विन ७, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख समाचार
पुराना अंक
लेखहरू
गर्दैनौँ बालविवाह
भगीरथ अवस्थी
बैतडी । सुर्नया गाउँपालिका–३ भौनेलीकी धना भाट एक वर्ष अघिसम्म विवाहको कुरा सुन्ने बित्तिकै लाजले रातो मुख लगाउँथिन् । अहिले तिनै धना विवाहको विषयमा खुलेर छलफल गर्ने भएकी छिन् । विद्यालय पढ्ने किशोरी धना आफ्ना दाँैतरीहरूलाई पनि सम्झाउँछिन्– ‘२० वर्ष उमेर नपुगी विवाह गर्नु हँुदैन ।’
एक वर्ष अघिसम्म विवाहबारे छलफल नगर्ने धना अहिले कसरी बालविवाह विरुद्ध अभियान चलाउने समेत भइन् त ? धना थप्छिन्– किशोरी वृत्त समूहमा छलफल गर्न थालेपछि बालविवाह विरुद्ध बोल्न जान्ने भएका हौँ । बालविवाहले महिलाको जीवनमा पार्ने असरबारे पनि उनीहरू छलफल गर्छन् । 
धना जस्तै जानकी चन्द पनि बालविवाह न्यूनीकरणमा लागेकी किशोरी हुन् । बालविवाहले छोरीले शिक्षा ग्रहण गर्न नपाउने, स्वास्थ्यमा नकारात्मक असर पर्ने जस्ता कुरा थाहा पाई सकेपछि बालविवाह न्यूनीकरण अभियानमा लागेको जानकीले बताइन् । उनीहरूको गाउँका किशोरीको समूह नै छ ‘चम्किला तारा किशोरी वृत्त’ । जहाँ १२देखि १९ वर्ष उमेर समूहका ३० जना किशोरी छन् । किशोरी समूहले गर्ने कामबारे प्रस्ट्याउँदै जानकीले थपिन्– ‘हामी गाउँमा बालविवाह भई रहेका खबर पाउनासाथ रोक्ने प्रयास गर्छौं । अहिलेसम्म गाउँमा ४ वटा बालविवाह रोकी सकेका छौँ । बालविवाहले पार्ने असरबारे किशोरीका आमाबुवालाई सम्झाउँछौँ ।’ 
सन् २०१४ मा बालिका दुलही होइनन् भन्ने राष्ट्रिय सञ्जालले साविक पाँच वटा गाविसमा गरेको एक अध्ययन अनुसार बैतडीमा ५९.५ प्रतिशत विवाह हुने गरेको देखाएको थियो । बालविवाहको भयावह तथ्याङ्क देखिएपछि सरकारी तथा गैर सरकारी निकायले बालविवाह न्यूनीकरणका लागि किशोरी वृत्त समूह गठन गरी अभियान चलाएका हुन् । महिला तथा बालबालिका कार्यालयको अगुवाइमा जिल्लाका ११ वटा गाविसमा किशोरी वृत्त समूह र ३० वटा गाविसमा किशोरी समूह गठन गरेको थियो । 
समूहमा आबद्ध भएपछि आज–भोलि जिल्लाका किशोरी वृत्त समूहमा आबद्ध किशोरी बालविवाह रोक्नमा केन्द्रित छन् । बालविवाह विरुद्धको अभियान सुरु भएको करिब एक वर्षको अवधिमा जिल्लामा ३०भन्दा बढी बालविवाह किशोरीहरूकै सक्रियतामा रोकिएको महिला तथा बालबालिका कार्यालयले जनाएको छ । ‘बालविवाहले पार्ने असरबारे किशोरी वृत्तका सदस्यलाई हामीले सिकाएका छौँ । अहिले गाउँगाउँमा बालविवाह रोक्ने क्रम सुरु भएको छ’ महिला विकास अधिकृत अनिता बुढाएरले बताइन् ।
जिल्लाको दक्षिणी क्षेत्र मेलौली नगरपालिकाको सलेनामा रहेको प्रगतिशील किशोरी वृत्त समूहकी सचिव कुन्ती भट्टले गाविसमा बालविवाह रोक्न गाविस स्तरीय बालविवाह न्यूनीकरण समिति नै गठन भएको बताइन् । किशोरी वृत्तको पहलमा सलेनामा ३ वटा बालविवाह रोकिएको उनले जानकारी दिइन् । कुन्तीले थपिन्– ‘हामीले विद्यालयबाट बालविवाह तय भएका बालिकाको जन्मदर्ताको प्रमाण पत्र माग्यौँ । अनि, २० वर्षभन्दा मुनि बिहे गरेमा कानुनी कारबाही हुन्छ भन्ने कुरा अभिभावकलाई बतायौँ । त्यसपछि विवाह रोकियो ।’ 
जिल्लाको पाटन नगरपालिका सिद्धेश्वरमा किशोरी वृृत्तको पहलमा १५भन्दा बढी बालविवाह रोकी सकिएको सिद्धेश्वर किशोरी वृत्तकी सचिव भुवी विष्टले जानकारी दिइन् । उनी भन्छिन्– ‘हामीले गाविसमा बालविवाह न्यूनीकरणका लागि चलाएको अभियान २ वर्षभन्दा बढी भई सकेको छ । हाम्रो अभियानले यसबीचमा धेरै सफलता हासिल गरेको छ । हामी सिद्धेश्वरलाई बालमैत्री गाउँ घोषणा गर्न सफल भएका छौँ । बालविवाह गर्न तयार भएका अभिभावक पनि बालविवाह न्यूनीकरण अभियानमा लागी रहेका छन् । यसले हामीलाई खुसी तुल्याएको छ’ उनले भनिन्– ‘बालविवाहले सबैभन्दा बढी प्रभावित हामी किशोरी नै हुन्छौँ । त्यसैले हाम्रो समस्या समाधानका लागि हामी नै अग्रसर भएका हौँ ।’
जिल्लाकै सिद्धपुर गाविसमा गठित किशोरीवृत्तकी अध्यक्ष राधिका भट्ट प्रत्येक हप्ताको शनिबार गाउँका किशोरीलाई जम्मा गरेर बालविवाहको असरबारे बताउँछिन् । ‘हामीले बालविवाह विरुद्धको अभियान सञ्चालन गरेयता गाउँमा बालविवाह भएको छैन । अभिभावकले बिहेको कुरा निकाल्नासाथ किशोरी आफैँ प्रतिवाद गर्छन्’ उनी बताउँछिन्– ‘विवाह गर्ने निर्णय अभिभावकको हातमा मात्रै हुने कुरालाई हामीले परिवर्तन गरेका छौँ । अहिले हामी बालिकाले पनि उच्च शिक्षा ग्रहण गर्न पाउनुपर्छ । छोरी पनि समाजमा ठूलो मान्छे हुन सक्छन् भन्ने कुरा सिकाउँदैछौँ ।’ 
किशोरीले बालविवाह विरुद्धको अभियान सञ्चालन गरेयता छोरीलाई पनि पढाउनु पर्छ भन्ने मान्यताको विकास हँुदै गएको जनता मावि सिद्धेश्वरका शिक्षक पुण्डरिक शर्मा बताउँछन् । उनी भन्छन्– ‘पहिला पहिला छोरीलाई १५ वर्ष भयो भने पराइघर पठाउनु पर्र्छ भन्ने मान्यता थियो । राम्रोसँग पढ्दै गरेका बालिकाको सुटुक्क बिहे गरी दिन्थे । अहिले नानीहरूले अभियान चलाएपछि अभिभावकले छोरीलाई पनि छोरासरह पढाउनु पर्छ भन्ने बुझ्न थालेका छन् ।’ 
जिल्लाका अहिले धेरैजसो गाविसमा किशारी वृत्त समूह बालविवाह न्यूनीकरण अभियानमा लागी रहेका छन् । ‘उनीहरूले घर, विद्यालय, समूह बैठक सबै ठाउँमा सहभागिता जनाएर बालविवाह न्यूनीकरणका लागि पैरवी गरी रहेका छन्’ संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाही किशोरी वृत्त समूहकै अगुवाइमा जिल्लालाई नै २०७५ सालभित्र बालविवाहमुक्त जिल्ला घोषणा गर्ने तयारी भई रहेको बताउँछन् । 
बालविवाहले पार्ने असरबारे किशोरीलाई तालिम दिएपछि उनीहरूले गाउँगाउँमा अभियान सुरु गरेको महिला विकास अधिकृत अनिता बुढाऐरको अनुभव छ । बालविवाह सर्वाङ्गीण विकासको बाधक भएकाले हामीले किशोरी मार्फत् नै बालविवाह रोक्ने अभियान सुरु गरेका हौँ । केही हदसम्म रोक्न सफल भएका छौँ । सबै ठाउँमा बालविवाह रोकियो भनेपछि समाजमा बालविवाह गर्ने चलन हराउँछ ।’
बालविवाहले महिलाको प्रजनन स्वास्थ्यमा गम्भीर समस्या ल्याउने भएकाले यसको अन्त्य गर्नु पर्ने जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीले बताए । उनी थप्छन्– ‘सानो उमेरको विवाहले महिलाले सानै उमेरमा बच्चा जन्माउनु पर्छ । प्रजनन अङ्गहरू विकसित नहँुदै बच्चा जन्माउँदा महिलाले धेरै समस्या भोग्नु पर्ने हुन्छ । त्यसैले महिलाको समग्र विकासका लागि बालविवाह अन्त्य हुनु पर्छ । जिल्ला स्वास्थ्य कार्यालयले पनि आफ्ना कार्यक्रम मार्फत् बालविवाह रोक्नका लागि पहल गरी रहेको छ ।’
(सञ्चारिका फिचर सेवा) (भगीरथ, बैतडीमा कार्यरत पत्रकार हुन् ।)

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप लेखहरू
देउवाको भारत भ्रमण र स्वाधीनताको प्रश्न
समावेशीकरण र महिला सहभागिताको अवस्था
संयुक्त राष्ट्र र मानव जातिको भविष्य
अमेरिकी साम्राज्यवादको भेनेजुयलाको तेलमा गिद्देदृष्टि
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal