२०७४ कार्तिक २९ गते, बुधबार   वर्ष ३५, अङ्क १
मिति(२०७४ म‌सिर २, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
लेखहरू
क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको रक्षाको प्रश्न
– गौरिलाल कार्की
क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्ने कम्युनिस्ट पार्टी अन्य बुर्जुवा पूँजीवादी तथा बामपंथी संशोधनवादी पार्टीभन्दा सिद्धान्त, विचार, सङ्गठन, कार्यशैली र जीवनशैलीको हिसाबले भिन्न हुन्छ । यो पार्टी माक्र्सवाद र लेनिनवाद र माओ विचारधारात्मक सिद्धान्तको आलोकमा सञ्चालन भएको हुन्छ । नेपालको सन्दर्भमा कम्युनिस्ट आन्दोलनको खाका आमूल परिवर्तनको दिशामा हुन जरुरी छ । त्यसलाई पुरा गर्न एउटा बृहत क्रान्तिको खाकामा न्युनतम लक्ष्य नौलो जनवादी क्रान्ति र रणनीतिक लक्ष्य समाजवादी क्रान्ति हुँदै साम्यवादसम्म पुग्नुपर्ने हुन्छ । तर अहिलेको तत्कालीन अवस्थाको कार्यनीतिक सवालमा न्यूनतम लक्ष्य नौलो जनवादी क्रान्तिको चरणमा त्यसको आधार तयार पार्न जनआन्दोलन तथा जनसङ्घर्षको अवस्थामा परिस्थिति रहेको छ । यस्तो परिस्थितिमा कम्युनिस्ट आन्दोलनको रूप के हुने ? भन्ने आज एउटा अहम् सवाल कम्युनिस्ट आन्दोलनको अगाडि खडा भएको छ । यस सन्दर्भमा हिजो भए गरेका आन्दोलनका उपलब्धिहरूको रक्षा गर्दै नौलो जनवादी क्रान्तिको आधार तयार पार्नु पर्ने हुन्छ । त्यसकारण ०६२ र ०६३ को आन्दोलनका उपलब्धिहरू गणतन्त्र, धर्म निरपेक्षता तथा समावेशिताको रक्षा गर्न सडक, संसद र स्थानीय तहका सरकारको समेत उपयोग गर्ने गरिएको छ । यी सबै उपयोगिताहरू वर्गसङ्घर्षको आयाममा जोडिएको हुनुपर्छ र त्यसको लक्ष्य पनि न्यूनतम कार्यक्रमको परिपूर्ति गर्न वा आधार तयार पार्ने दिशामा हुनुपर्छ । कम्युनिस्ट आन्दोलनको न्यूनतम आधार तयार हुन एउटा अनुशासित कम्युनिस्ट पार्टीको निर्माण हुनुपर्दछ । आन्दोलनको भट्टीमा खारिएर तथा आफूलाई सबै प्रकारका अवसरवादी चिन्तनबाटमाथि उठाएर नै एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्माण हुन्छ । त्यसको लागि पार्टीले ठोस बस्तु स्थितिको ठोस विश्लेषण गर्दै कार्यनीति तय गर्ने र आफ्ना नेता कार्यकर्ताको स्तर उठाउन वर्गसङ्घर्षको बाटोद्वारा उनीहरूलाई रूपान्तरण हुन सिकाउनु पर्छ । माओको प्रसिद्ध भनाइ “जनताको बीचमा जाउ उनीहरूबाट सिक र फेरि जनतालाई सिकाउ “को कार्यक्रम तय गरेर यस क्रममा नेता कार्यकर्तालाई पनि निम्न पूँजीवादी चिन्तनबाटमाथि उठाउन कोशिस गर्नुपर्छ । 
अहिले कम्युनिस्ट आन्दोलन वा वामपन्थी आन्दोलनमा दक्षिणपन्थी अवसरवादको ठूलो हिस्सा हावी भएको छ । जसको प्रभावको कारण समाजको शोषित वर्गको लागि गरिने सङ्घर्ष गौण र संसदीय उपलब्धिमा परिलक्षित गतिविधि तथा सङ्गठन निर्माण र एकताको लागि जोड दिने प्रवृत्तिको मुख्य बिकास भएको अनुभूति भइरहेको छ । दक्षिणपन्थी संशोधनवादीहरू के माक्र्सवादी सिद्धान्त र वर्गसङ्घर्षको राजनीतिलाई ध्वस्त पार्दै प्रतिक्रियावादी परस्त सिद्धान्त र वर्गसमन्वयको राजनीतिको ढोल पिटेर कम्युनिस्ट तथा वामपन्थी आन्दोलनमा काफी मात्रामा भ्रम सिर्जना गरिएको छ । त्यसको असर सिङ्गो कम्युनिस्ट आन्दोलनलाई परिरहेको छ । वास्तवमा कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताले क्रान्तिकारी र सर्वहाराकृत कार्यशैली र जीवनशैली अवलम्बन गर्ने, अन्याय, अत्याचार र राज्यका गलत क्रियाकलाप जनता बीच उजागर गर्दै सङ्गठन निर्माण गर्नु पर्ने हो तर त्यो काम ओझेलमा परेको छ । आज एकातिर संसदीय उपयोगकोबारे कार्यकर्तालाई प्रष्ट पार्न नसकेको कारण वा वर्गसङ्घर्षको आयाममा जोडेर कम्युनिस्ट आन्दोलनले दिशा तय गर्न नसकेको कारण र अर्कोतिर दक्षिणपन्थी संसोधनवादको झण्डै प्रतिक्रियावादी कार्यशैलीको प्रभावले सचेत पिढी अलमलमा परेका छन् । आज क्रान्तिकारी दृष्टिकोण निर्माण हुनुपर्ने कार्यकर्ताको कलिला मस्तिष्कमा कसरी पद र प्रतिष्ठित हुन सकिन्छ र राजनीतिको माध्यमबाट विलासिताको जीवन कसरी जिउन सकिन्छ भन्ने सोचको बिकास भएको छ । त्यसलाई निरुत्साहित गर्न यस सन्दर्भमा क्रान्तिकारी एवं जनमुखी कार्यशैली र औसत जनतासँग सुहाउँदो जीवनशैली कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताको हुनुपर्दछ । कम्युनिस्ट पार्टीले यही सैद्धान्तिक एवं वैचारिक आलोकमा नेता–कार्यकर्ताको जीवनशैली र कार्यशैली अवलम्बन गर्न हरहमेसा निर्देशन गरिरहेको हुनु पर्छ ।
कम्युनिस्ट आन्दोलनले वर्गसङ्घर्षको माध्यमबाट जनवादी सत्ता स्थापना गर्न सर्वहारा श्रमजीवी वर्गको नेतृत्व गर्दै क्रान्तिको अगुवाइ गरिरहेको हुन्छ । जबसम्म क्रान्तिको उच्चस्तरको आधार तयार हुँदैन तबसम्म त्यो आधार तयार पार्न सैद्धान्तिक र ब्यबहारिक दुवै रूपमा पार्टीको क्रान्तिकारी भूमिका हुन जरुरी हुन्छ । तर अहिले कम्युनिस्ट आन्दोलन वा वामपन्थी आन्दोलनभित्र संशोधनवादीहरूले एउटा कोणबाट राजनीतिक क्रान्ति सम्पन्न भइसकेको हुँदा आर्थिक सामाजिक रूपान्तरणका लागि पार्टीका नेता कार्यकर्ताहरू उत्पादन र समृद्धितर्फ लाग्नु पर्दछ, व्यवसायी बन्नुपर्दछ र अब “वर्गसङ्घर्ष” को औचित्य सकियो भन्दै कार्यकर्तालाई प्रशिक्षित गरिरहेका छन् । वास्तवमा यस किसिमको चिन्तन यथास्थितिवादी र दक्षिणपन्थी सोञ्च चिन्तनको उपजको रूपमा प्रकट भएको सहजै निष्कर्ष निकाल्न सकिन्छ । यो राजनीति बस्तुस्थितिमा कार्यकर्ताहरूलाई श्रमिकको रूपमा बिकास गर्दै उत्पादन वृद्धि गर्न र गराउन श्रमजीवी वर्गको सहभागिता र भूमिका अपरिहार्य रहेको विषयलाई प्रशिक्षित गर्दै वर्गसङ्घर्ष केन्द्रित आन्दोलनमा पनि परिचालन गर्न कम्युनिस्ट आन्दोलनले उत्तिकै ध्यान दिनु पर्दछ । ०६२ र ०६३ को परिवर्तनले राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना भएपनि अहिलेसम्म सामन्तवादी र नोकरशाही दलाल पूँजीपतिहरूको सत्तामा रजाइँ चलिरहेको छ । अन्याय, अत्याचार, भ्रष्टाचार मौलाएको छ । निजीकरण र उदारीकरणले राष्ट्रिय अर्थतन्त्र धराशायी बनिरहेको छ । लोकतन्त्रको नाममा साम, दाम, दण्ड र भेदको राजनीतिले सिमाना नाघेको छ । चुनावमा टिकट पाउन र चुनाव जित्नकै लागि मोटो रकमको चलखेल हुने गरेको छ । यो गलत राजनीतिबाट मुलुकलाई मुक्त गर्न क्रान्तिकारी शक्तिहरूको बीच कार्यगत एकता गर्दै वर्गसङ्घर्षको कडीबाट राजनीतिक, आर्थिक र वैचारिक सङ्घर्षलाई तीव्र रूपमा अगाडि बढाउन जरुरी छ । सडक, सदन र स्थानीय सरकारको मोर्चालाई सन्तुलित ढङ्गले उपयोग गर्दै वर्गसङ्घर्षको माध्यमबाट क्रान्तिको आधार तयार गर्नेबारे कार्यक्रम तय नगरी श्रमजीवि वर्गको मुक्ति सम्भव छैन भन्ने विषयलाई प्रशिक्षित गर्न जरुरी छ । यस्तो परिस्थितिमा एकपक्षबाट क्रान्तिकारी आन्दोलनको उठान गर्न अति आवश्यक भएको छ भने अर्को पक्षबाट अहिलेसम्म प्राप्त उपलब्धिको रक्षा गर्न संविधान कार्यान्वयन पनि गर्नु परेको छ ।
कम्युनिस्ट आन्दोलन सञ्चालन गर्न सङ्गठन परिचालनको मूल आधार लेनिनवादी सङ्गठनात्मक सिद्धान्त हो । वुर्जुवा पार्टीभन्दा कम्युनिस्ट पार्टी सञ्चालनको भिन्न आधार पनि यही नै हो । लेनिनवादी सङ्गठनात्मक सिद्धान्तले जनवादी केन्द्रियताको आधारमा सङ्गठन निर्माण गर्ने, व्यक्ति कमिटीको मातहत रहने, महाधिवेशन पार्टीको सर्वोच्च अङ्ग हुने, तोकिएको समयावधिमा नै विस्तारित बैठक, सम्मेलन र महाधिवेशनको आयोजना गरी बदलिएको बस्तुस्थिति अनुसार क्रान्तिको रूपरेखा, नीति र कार्यक्रम तर्जुमा गर्ने, बहुमतबाट निर्णय गरिने र अल्पमतको निषेध र कार्वाही होइन सम्मान हुने, पार्टीकोतर्फबाट गरिने हरेक निर्णय व्यक्तिले होइन कमिटीबाट गरी संस्थागत ढङ्गले गर्ने परिपाटीलाई अवलम्बन गर्ने, व्यक्तिगत रूपमा लिएको जिम्मेवारी पूरा गर्ने, पार्टीभित्र कामको नियमित रिपोटिङ, अनुगमन र मूल्याङ्कन हुने र गर्ने र आलोचना आत्मलोचनाको पद्धतिलाई जोड दिएको छ । लेनिनले कम्युनिस्ट पार्टी सञ्चालनका सन्दर्भमा अगाडि सार्नु भएको यी मूल्य र मान्यता कै आधारमा विश्वव्यापी रूपमा कम्युनिस्ट पार्टी सञ्चालन हँुदै आएका छन् ।
तर अहिले खुल्ला परिवेशमा कम्युनिस्ट पार्टी सञ्चालन गर्दा लेनिनवादी सङ्गठनात्मक सिद्धान्तका मूल्य, मान्यताहरूलाई दृढतापूर्वक आत्मसात गर्न ध्यान दिनुको सट्टा यसलाई बेवास्ता गरिदैछ, यसलाई आत्मसात् नगर्दा कम्युनिस्ट आन्दोलन सञ्चालनको विधि पद्धतिमा बुर्जुवाकरण हुँदै गएको टिप्पणी हुन थालेको छ । पार्टीभित्र आफ्नो जिम्मेवारीको काम पूरा गर्नुको सट्टा भाषण गर्ने फोरमतर्फ केन्द्रित हुने, पार्टी कामको मिहिन ढङ्गले अनुगमन नगर्ने, काम गरे पनि हुने, नगरे पनि केही पनि नहुने खालको दण्ड र पुरस्कारको पद्धति निष्प्रभावी बन्दा कम्युनिस्ट आन्दोलनको सर्वोत्तम सञ्चालन विधिमा खिया लाग्नु स्वाभाविक बन्न पुग्दछ । पार्टीको बैठकभित्र आलोचना र आत्मालोचना एजेण्डाको विधि र पद्धति स्थापित मान्यता लोभ हँुदै जाने हो भने कम्युनिस्ट पार्टी सञ्चालनको वैज्ञानिक विधि पद्धतिलाई तिरस्कार गर्न थाल्दा जनसङ्घर्ष कसरी व्यवस्थित ढङ्गले सञ्चालन हुन सक्छ ? यस्तो अवस्थामा सहज ढङ्गले भन्न सकिन्छ कम्युनिस्ट आन्दोलन व्यक्तिवादी, सङ्कीर्ण र बुर्जुवाकरणको दलदलमा फस्ने निश्चित छ ।
कम्युनिस्ट आन्दोलनभित्र गुटगत गतिविधिले पार्टीलाई छिन्न भिन्न बनाउने र अन्तत ः सङ्गठन विभाजनसम्म भएका घटना नेपालको कम्युनिस्ट आन्दोलनमा ताजै छन् । कम्युनिस्ट पार्टीको विभाजनले शक्ति क्षय हँुदै जाँदा त्यसको प्रत्यक्ष असरले नेपाली क्रान्तिलाई पूर्णता प्रदान गरी नेपाली जनताको समृद्ध बन्ने चाहना झन् पछाडी धकेलिंदै गएको यथार्थता छर्लङ छ । त्यसकारण कम्युनिस्ट आन्दोलनमा देखिएका भिन्न विचारहरू वा अन्तर्विरोधहरूको समयमा नै पहिचान गरी पद्धति अनुरूप त्यसको समाधानको लागि शीघ्र पहलकदमी गर्नुपर्ने हुन्छ ।
आज एकातिर चालू नेपाली क्रान्तिलाई पूर्णतामा पुर्‍याउन सामान्तवाद, दलाल नोकरशाही तन्त्रको विरुद्ध आन्दोलन सङ्गठित गर्नुपर्ने र अर्कोतिर नेपालको राष्ट्रियता, अखण्डता र अभिभाज्यतालाई चुनौती दिदै नेपाली भूमिभित्र जरा गाडेर बसेका साम्राज्यवाद तथा भारतीय बिस्तारवाद विरुद्धको आन्दोलनलाई प्राथमिकता साथ अगाडि बढाउन जरुरी छ । आज विश्व साम्राज्यवाद र पुंजीवादले श्रमजीविवर्गका बीचमा विभाजन ल्याउन साम्राज्यवाद र सोशल डेमोक्रेट्सको पक्षपोषण गर्ने श्रमिक अन्तर्राष्ट्रिय केन्द्रलाई ठूलो रकम प्रदान गरेर अनेक किसिमका आईएनजिओ मार्फत् तेश्रो विश्वका कम्युनिस्ट पार्टी र ट्रेड युनियनहरूलाई परिचालन गरिरहेको छ, पैसाको लोभमा परेर कतिपय प्रगतिशील ट्रेड युनियनहरू पनि साम्राज्यवाद र पूँजीवादका गतिविधिलाई मौन समर्थन गर्दै जानेर होस् नजानेर विश्व साम्राज्यवाद र पूँजीवादी आन्दोलनलाई सहयोग पुर्‍याउने र साम्राज्यवाद विरुद्ध आन्दोलन भुत्ते बनाउन लागेका छन्, जुन कम्युनिस्ट आन्दोलनको अग्रगतिका लागि गम्भीर चुनौतीको विषय बनेको छ ।
२०७४ असोज २८

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप लेखहरू
घटनालाई हेर्ने माक्र्सवादी–लेनिनवादी दृष्टिकोण
वाम–लोकतान्त्रिक सहयात्रा र “अधिनायकवाद”
दिल्लीबाट हेर्दा वाम एकता
अर्थतन्त्रका विविध पक्ष
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal