२०७४ कार्तिक २९ गते, बुधबार   वर्ष ३५, अङ्क १
मिति(२०७४ म‌सिर २, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
सम्पादकीय
ज्ञानेन्द्र शाहको आपत्तिजनक अभिव्यक्ति
पूर्व राजा ज्ञानेन्द्र शाहले दिपावली पर्वको अवसरमा देशवासीको नाममा सम्बोधन गर्दै “देश अहिले नेतृत्वविहीन अवस्थामा छ, देशको अवस्था बिग्रेको छ, जनताले चाहेमा देशलाई फेरि नेतृत्व दिन म तयार छु” भन्ने अभिव्यक्ति दिएका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहको यो अभिव्यक्ति अत्यन्त आपत्तिजनक छ । गणतन्त्र, धर्म निरपेक्षता र संविधानका पक्ष्ँधर सम्पूर्ण शक्तिहरू मिलेर यसको सशक्त विरोध गर्नु पर्दछ, साथै गणतन्त्रको प्राप्तिपछि सरकारको बागडोर सम्हाल्दै आएका प्रमुख राजनैतिक दलहरूले पनि आफ्नो कार्यशैली र प्रवृतिमा गम्भीर समीक्षाका साथ सुधार गर्नै पर्ने अवस्था पूर्व राजा ज्ञानेन्द्र शाहको उक्त अभिव्यक्तिले सिर्जना गरी दिएको छ ।
यो कुरा सत्य हो कि सरकारमा रहेका राजनैतिक शक्तिहरूको भ्रष्ट चरित्र, राष्ट्रियता विरोधी र अप्रजातान्त्रिक कार्यशैलीका कारण नै आज देश यो दूरावस्थामा पुगेको हो । देशको राष्ट्रियता दिन–प्रतिदिन कमजोर हुँदै गई रहेको छ । सरकारमा रहेका राजनैतिक दलका नेताहरूमा भ्रष्ट चरित्र हावी हुँदै जाँदा जनतामा घृणा बढ्दै गई रहेको छ । आफ्नो व्यक्तिगत महत्वाकाङ्क्षा, गुटगत स्वार्थ र पार्टीगत फाइदालाई मात्र हेरेर देशको राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताप्रति घात गर्ने काम प्रमुख दलहरूबाट हुँदै आएको छ । प्रमुख दलहरूका नेताहरूमा देखिएको यो भ्रष्ट र अलोकतान्त्रिक चरित्रका कारण जनतामा निराशा छाएको कुरा सत्य हो । अहिले पूर्व राजा ज्ञानेन्द्रले जनताको त्यही निरासालाई क्यास गर्ने प्रयास गरेका छन् । तर उनको यो दिवा सपना मात्र हो, त्यो कदापि पुरा हुने छैन ।
नेपालमा राजतन्त्रको अन्त्य नेपाली जनताले नै गरेका हुन् । २०६२–६३ को जनआन्दोलनमा जनता राजतन्त्रको अन्त्यका लागि नै जनसागर बनेर सडकमा उत्रिएका थिए, त्यही ज्ञानेन्द्र शाहको निरङ्कुशताको विरुद्धमा । निरङ्कुश राजतन्त्रले युगौँदेखि शोषणको जातोमा पिल्सिदै आएको नेपाली जनताले पक्कै पनि बिर्सेका छैनन् । पञ्चायती कालरात्री र ज्ञानेन्द्र शाहकै निरङ्कुशताका ती दिनहरू नेपाली जनताका आँखा अगाडि अझै पनि झलझली नाची रहेको हुनुपर्दछ । राजतन्त्र कालको त्यो शोषण, त्यो दमन, त्यो अत्याचार त्यो बर्बरता जनताले चाहेर पनि बिर्सन सक्ने छैनन् । यदि बिर्सदा हुन त २०६२–६३ को जनआन्दोलनमा जनता त्यसरी सडकमा उत्रने थिएनन् । त्यही जनआन्दोलनले नै नेपालबाट राजतन्त्र अन्त्य गर्ने म्यान्डेड दिएको थियो । ज्ञानेन्द्र शाहले अहिले शायद आफ्ना विरुद्धमा सडकमा उर्लिएको त्यो जन सागरलाई बिर्सेका छन् र राजतन्त्र ब्युँताउने सपना बोकेर दौडी रहेका छन् । अहिले प्रमुख दलका नेताहरूको गलत कार्यशैलीका कारण जनतामा दलहरूप्रति जुन घृणा उत्पन्न भएको छ, त्योभन्दा कैयौँ गुणा बढी घृणा नेपाली जनताले राजतन्त्रलाई गर्छन् भन्ने तथ्यलाई ज्ञानेन्द्र शाहले एक पटक स्मरण गर्नु आवश्यक छ ।
ज्ञानेन्द्र शाहको “देशको नेतृत्व आफूले लिन तयार रहेको” अभिव्यक्ति त्यस्तो बेलामा आएको छ, जुन बेला सरकारको नेतृत्वमा नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवा छन् । निरङ्कुश राजतन्त्रप्रतिको देउवामोह कुनै लुकेको विषय होइन । विगतमा देउवा, सरकार प्रमुख रहेकै बेलामा प्रजातन्त्रलाई दरबारमा लगेर बुझाउने कार्य गरेका थिए । अहिले पनि देउवाको कार्यशैलीले गणतन्त्र र धर्म निरपेक्षता जस्ता जनआन्दोलनका उपलब्धिहरूलाई उल्टाउने दिशा समाती रहेका छन् । प्रतिगामी शक्तिहरूसँग गठजोड गर्दै मुख्यतः भारतीय विस्तारवादको निर्देशनमा नै देउवा परिचालित भई रहेको देखिन्छ । एकातिर, देउवा स्वयङ्को गणतन्त्र विरोधी विगतको चरित्र र अर्कातर्फ, नेकाको नेतृत्व पङ्क्तिमा बढ्दै गएको धर्म निरपेक्षता र गणतन्त्र विरोधी मतवालाहरूको पकडले त्यसै पनि जनआन्दोलनका उपलब्धिहरूलाई सङ्कटमा पार्दै लगी रहेका थिए । त्यसैमाथि अहिले दिपावली–२०७४ को अवसरमा आएको ज्ञानेन्द्र शाहको अभिव्यक्तिले आशङ्का गर्नै पर्ने अवस्था सिर्जना गरी दिएको छ– कतै ज्ञानेन्द्र शाह र देउवाका बीचको भित्री साँठगाँठबाट नै त ज्ञानेन्द्र शाहको यो अभिव्यक्ति आएको होइन ?
देश यति बेला प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सङ्घारमा छ । जनताले अब गम्भीर भएर सोच्नु पर्ने बेला आएको छ । जुन पार्टी र नेताहरूका कार्यशैली र चरित्रका कारण पूर्व तानाशाह ज्ञानेन्द्र शाहले “देशको नेतृत्व लिन तयार रहेको” अभिव्यक्ति दिने साहस गरे, ती पार्टी र नेताहरूलाई अब चुनावी मैदानमै जनताले सबक सिकाउनु पर्छ, तिनका विरुद्धमा मतदान गरेर । गणतन्त्रको रक्षाका खातिर, धर्म निरपेक्षता र संविधान सभाबाट निर्माण भएको संविधानको रक्षाका खातिर, देशको राष्ट्रियता र सार्वभौमिकताको रक्षाका खातिर जनताले आसन्न निर्वाचनमा आफ्नो अभिमतको प्रयोग गर्दा निकै गम्भीरपूर्वक विचार गरेर मात्र गर्नु पर्दछ । प्रतिगामी शक्तिहरूले देशलाई फेरि निरङ्कुश राजतन्त्रात्मक व्यवस्थातर्फ फर्काउनका लागि अनेक प्रयत्न गरी रहेका छन् । ज्ञानेन्द्र शाहको पछिल्लो अभिव्यक्ति त्यही प्रयत्नको एक प्रकट रूप हो । प्रतिगामी शक्तिहरूका ती सारा प्रयत्नहरूलाई असफल पार्ने गरी जनताले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो मतको प्रयोग गर्नु पर्दछ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal