२०७४ कार्तिक ६ गते, बुधबार   वर्ष ३५, अङ्क २
मिति(२०७४ पौष ३, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार अन्तर्वार्ता
पुराना अंक
लेखहरू
दुर्गा पौडेल ः एक परिचय
दुर्गा पौडेल
—क—
दुर्गा पौडेल राष्ट्रिय जनमोर्चाको केन्द्रीय उपाध्यक्ष र प्रवक्ता हुनु हुन्छ । उहाँ विघटित संसदमा संसदीय दलको सचेतक हुनु हुन्थ्यो । अहिले उहाँ प्युठानबाट प्रतिनिधि सभामा राष्ट्रिय जनमोर्चा, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को साझा उम्मेदवार हुनु हुन्छ । प्युठानबाट प्रादेशिक सभाका लागि प्रदेश नं १ बाट नेकपा एमालेका हरि प्रसाद रिजाल र प्रदेश नं २ बाट नेकपा माओवादी केन्द्रबाट कृष्णध्वज खड्का पनि राष्ट्रिय जनमोर्चा, एमाले र माओवादी केन्द्रका साझा उम्मेदवार हुनु हुन्छ । उहाँहरू तीनै जनाले आपसमा मिलेर प्युठान जिल्लाको विकासका लागि काम गर्ने प्रतिबद्धता प्रकट गर्नु भएको छ । २०७४ मङ्सिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उहाँहरूको विजयबाट देशको वामपन्थी र लोकतान्त्रिक आन्दोलनका साथै प्युठान जिल्लाको विकासमा पनि धेरै मद्दत पुग्ने छ भन्ने हामीले आशा गरेका छौँ ।
दुर्गा पौडेल नेपालको वामपन्थी, लोकतान्त्रिक आन्दोलनको साहसी, जुझारु र निडर नेता हुनु हुन्छ । उहाँ १३ वर्षको उमेरमा पञ्चायती तानाशाही व्यवस्थाका विरुद्ध भूमिगत रूपले राजनैतिक गतिविधिमा सक्रिय हुनु भयो । पञ्चायती कालदेखि नै प्रतिगमन विरुद्धको सङ्घर्ष वा देशको राष्ट्रियता, सार्वभौमिकता अखण्डताका विरुद्ध चलेका सङ्घर्षका कार्यक्रमहरूमा अग्रिम पङ्क्तिमा रहेर सङ्घर्ष गर्दै आउनु भएको छ । नेपालको महिला आन्दोलनमा पनि उहाँको महत्वपूर्ण भूमिका रहेको छ । उहाँले त्रिभुवन विश्व विद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गर्नु भएको छ । प्युठानको कम्युनिस्ट आन्दोलनबारे शोधपत्र ‘प्युठानको कम्युनिस्ट आन्दोलन ः एक अध्ययन’ तयार पार्नु भएको छ । शोधपत्रमा उहाँले प्युठानका सबै कम्युनिस्ट सङ्गठनहरूको निष्पक्ष प्रकारले अध्ययन गर्नुका साथै प्युठानमा २००७ सालदेखि चलेको लोकतान्त्रिक आन्दोलन, आर्य समाज तथा प्युठानको विकाससित सम्बन्धित विभिन्न समस्या, सम्भावना र आवश्यकताबारे पनि विस्तृत रूपले चर्चा गर्नु भएको छ । आफ्नो शोधपत्रमा यो देखाउने प्रयत्न गर्नुभएको छ कि प्युठानमा विकासका व्यापक सम्भावनाहरू छन् र तिनीहरूलाई मूर्त रूप दिनु पर्दछ । बिना राजनैतिक भेदभाव सबै राजनैतिक दल, सङ्घ÷संस्था र जनताले पनि एकताबद्ध भएर काम गर्नु पर्ने आवश्यकता छ । 
उहाँ विगत ३३ वर्षदेखि लगातार राजनीतिमा सक्रिय हुनुहुन्छ । राजनीतिमा सक्रिय रहेकै अवस्थामा २०५७ सालमा नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहसित २०५७ मा विवाह भएको हो । विवाहपछि राजनीति र प्युठान जिल्लाको विकासमा पनि लगातार सक्रिय हुनु भएको छ । उहाँको पहलकदमीमा प्युठानमा पर्यटनको विकासका लागि गुरुयोजना, गौमुखी क्षेत्रका १० वटा गाविसमा पर्यटन र ग्रामीण विकासको गुरुयोजना, ओखरकोट विश्वकोष परियोजना र ओखरकोटमा पर्यटनको विकासका गुरुयोजनाहरू बनेका थिए (ती सबै ओखरकोट पुस्तकमा प्रकाशित भएका छन् ।) उहाँको संसदीय विकास कोषको रकमबाट पनि जिल्लामा दर्जनौँ विकासका कार्यहरू सम्पन्न भएका छन् । 
— ख — 
दुर्गा पौडेलको जन्म बुबा विष्णु प्रसाद पौडेल र आमा बुद्धदेवी पौडेलको कोखबाट २०२८ असोज ५ गते भएको हो । पिताको घर प्युठानको साविक चुँजा गाविसको ८ नम्बर वडा, हाल मल्लरानी गाउँपालिकाको वडा नं २ मा थियो ।पछि उहाँले कपिलवस्तुको निग्लिहवा गाविस अन्तर्गत कुश्मामा बसाइ सर्नु भएको थियो । मोहन विक्रम सिंहसित विवाह भएपछि उहाँ झिम्रुक गाउँपालिका ओखरकोटको बासिन्दा हुनु हुन्छ । दाइ शिव प्रसाद पौडेलको प्रेरणा र प्रोत्साहनले उहाँले २०४१ सालदेखि पञ्चायती व्यवस्था विरोधी राजनीतिमा भूमिगत रूपले प्रवेश गर्नु भयो ।पछि मोहन विक्रम सिंहको नेतृत्व र प्रशिक्षणमा उहाँ लगातार अगाडि बढ्दै जानु भयो । १३ वर्षको उमेरमा अखिल (छैठौँ) को एकाइ समिति सदस्य बनेर राजनीतिमा प्रवेश गरेकी पौडेलले कहिल्यैपछि फर्केर हेर्नु भएन र लगातार अगाडि बढदै आउनु भएको छ । 
२०४२ सालमा उहाँ अखिल छैठौँको जिल्ला कोषाध्यक्ष, त्यही सालमा अनेमसङ्घ कपिलवस्तुकी जिल्ला सचिव बन्नु भयो र २०४४ सालमा अखिल भारतीय सांस्कृतिक टोलीमा सामेल भएर भारतको धेरै स्थानको भ्रमण गर्नु भयो । २०४५ सालमा कपिलवस्तुको जिल्ला विकास समितिको तत्वावधानमा जिल्लाको विकासका मागहरू राखेर चलेको आन्दोलनमा सामेल भएपछि गिरफ्तार भएर साढे तीन महिना कपिलवस्तुको जेलमा बस्नु भयो । २०४५ सालमा गोरखपुरमा सम्पन्न अनेमसङ्घको दोस्रो राष्ट्रिय सम्मेलनमा उहाँ केन्द्रीय समितिको सदस्य र कोषाध्यक्ष चुनिनु भयो । २०४६ सालको जनआन्दोलनमा उहाँ कपिलवस्तुमा सहभागी हुनु भयो । २०५० मा सम्पन्न अनेमसङ्घको तेस्रो सम्मेलनमा उहाँ केन्द्रीय उपाध्यक्षमा चुनिनु भयो ।पछि केही समयसम्म सङ्घकी कार्यवाहक अध्यक्ष बनेपछि २०५६ सालमा सम्पन्न अनेमसङ्घको चौथो राष्ट्रिय सम्मेलनमा उहाँ सङ्घको अध्यक्षमा चुनिनु भयो । 
२०५१ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले आफ्नो एक जना केन्द्रीय नेतालाई कपिलवस्तुको निग्लिहवा गाविसको जर्लैया र तिलौराकोटको सगरहवा जङ्गलको १६० विगाह जमिनमा जङ्गल फाँडेर एग्रो फरेस्ट्री गराउन निकासा दिएपछि दुर्गा पौडेलको अध्यक्षतामा बनेको पर्यावरण बचाऊँ समितिले ४ वर्षसम्म त्यसका विरुद्ध सङ्घर्ष चलायो । त्यो सङ्घर्षमा हजारौँ जनताको सहभागिता रहेको थियो । अन्तमा सर्वोच्चको फैसलाबाट त्यो एग्रो फरेस्ट्री खारेज भयो । शायद नेपालको पर्यावरणको इतिहासमा त्यो नै सङ्गठित रूपले चलेको पहिलो र सफल पर्यावरण आन्दोलन थियो । अहिले पनि कपिलवस्तुमा उहाँका दाइ शिव प्रसाद पौडेलको अध्यक्षतामा बिभिन्न राजनीतिक शक्तिहरूले संयुक्त रूपले बालुवा, रोडा र ढुङ्गाको उत्खनन्, निकासी वा तष्करीका विरुद्ध पर्यावरणको आन्दोलन चली रहेका छन् । 
दुर्गा पौडेल २०४५ सालमा केन्द्रीय समितिमा चुनिएपछि उपाध्यक्ष, कार्यवाहक अध्यक्ष र अध्यक्ष हुँदै करिब एक दशकभन्दा बढी समयसम्म अखिल नेपाल महिला सङ्घको केन्द्रीय नेतृत्वमा रहनु भयो । त्यही अवधिमा नै सम्पत्तिमा महिलाहरूको समान अधिकारका लागि महत्वपूर्ण सङ्घर्ष चलेको थियो । २०४९ फागुनमा त्यही विषयमा काठमाडौँमा अन्तर्राष्ट्रिय विचारगोष्ठी सम्पन्न भएको थियो । तीन महिनासम्म देशका विभिन्न गाउँ र जिल्ला तह हुँदै केन्द्रमा चलेको त्यो विचारगोष्ठी नेपालको इतिहासमा नै आफ्नो प्रकारको एक मात्र विचारगोष्ठी थियो । 
उहाँको नेतृत्वमा नै २०५१ सालमा महिला अधिकार पत्र राष्ट्रिय अभियान सुरु भयो र कैयौँ कार्यक्रमहरू सहित देशव्यापी रूपमा एक वर्षसम्म चल्यो । २०५२ को चैत्रमा महिला अधिकार पत्र पारित भयो । तत्कालीन राजा ज्ञानेन्द्रले सङ्कटकालीन अवस्थाको घोषणा गरेर सबै राजनैतिक गतिविधिमाथि प्रतिवन्ध लगाएको अवस्थामा २०५८–५९ मा अखिल नेपाल महिला राष्ट्रिय अभियान सञ्चालन भएको थियो । उहाँले २०४५ सालमा अनेमसङ्घको द्वितीय सम्मेलनमा प्रस्तुत गरेको महिला घोषणा पत्र र २०५२ को चैत्रमा सम्पन्न अनेमसङ्घको केन्द्रीय समितिमा प्रस्तुत गरेको महिला अधिकार पत्र नेपालको महिला आन्दोलनका ऐतिहासिक दस्तावेजहरू हुन् । 
उहाँको एक दशकको नेतृत्व कालमा अनेमसङ्घ धेरै नै उचाइमा पुगेको थियो । उहाँको नेतृत्व कालमा संसदको ग्यालरीमा नै महिलाहरूले महिला अधिकारका लागि संयुक्त नाराबाजी गरेका थिए । त्यो नेपालको संसदीय इतिहासको नै पहिलो घटना थियो । उहाँको नेतृत्व कालमा नै अनेमसङ्घको निर्णय अनुसार राष्ट्रिय जनमोर्चाका सांसदहरूद्वारा ‘महिलाका विरुद्ध सबै प्रकारका भेदभावलाई उन्मूलन गरी पूर्ण स्वतन्त्रता र समानता प्रदान गर्न बनेको गैर सरकारी विधेयक २०५३’ दुई पल्ट संसदमा प्रस्तुत गरिएको थियो । 
महिला नेतृत्वमा उहाँको करिब एक दशकको कार्यकाल नेपालको महिला आन्दोलनको अत्यन्त उज्ज्वल र महत्वपूर्ण काल थियो । २०५९ सालमा व्यावहारिक कारणले राजनीतिमा केही समय सक्रिय हुन नसक्ने अवस्था भएपछि उहाँले अध्यक्ष पदबाट राजीनामा दिनु भएको थियो । उहाँको नेतृत्व कालमा महिला मुक्ति आन्दोलन पुस्तक प्रकाशित भएको थियो । पुस्तकमा उहाँका कार्यकालसित सम्बन्धित सबै काम र दस्तावेजहरूको विवरण दिइएको छ । 
— ग — 
२०५६ सालमा बुटवलमा सम्पन्न राष्ट्रिय जनमोर्चाको प्रथम राष्ट्रिय सम्मेलनमा दुर्गा पौडेल केन्द्रीय सदस्यमा निर्वाचित हुनु भयो भने २०६८ मा पोखरामा सम्पन्न द्वितीय राष्ट्रिय सम्मेलनमा उहाँ उपाध्यक्ष र २०७२ मा बुटवलमा सम्पन्न तृतीय राष्ट्रिय सम्मेलनमा पनि पुनः उपाध्यक्षमा निर्वाचित हुनु भयो । २०५६ सालमा सम्पन्न संसदीय चुनावमा उहाँ राष्ट्रिय जनमोर्चाकोतर्फबाट कपिलवस्तु र २०६४ मा सम्पन्न संविधान सभाको चुनावमा काठमाडौँबाट उम्मेदवार बन्नु भएको थियो । २०७० को संविधान सभाको चुनावमा उहाँ समानुपातिक उम्मेदवार भएर संविधान सभामा निर्वाचित हुनु भएको थियो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीको नेतृत्वमा उहाँले पहिले संविधान सभामा रपछि रूपान्तरित संसदमा महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । संविधान निर्माणपछि संविधानमा संशोधन गर्नका लागि भारतीय विस्तारवादले नाकाबन्दी लगायो । त्यसका विरुद्धको सङ्घर्षमा पनि उहाँ सक्रिय हुनु भयो । संसदमा ५ नं. प्रदेशलाई टुक्राउन संविधान संशोधन विधेयक प्रस्तुत भएपछि ५ नं. प्रदेशलाई अखण्ड राख्नका लागि उहाँले ५ नं प्रदेशका सबै जिल्लाहरूमा पुगेर आन्दोलनमा भाग लिनु भयो । 
— घ —
दुर्गा पौडेलको पुर्खौली घर प्युठानको चुँजामा भएकाले पहिलेदेखि नै प्युठानसित उहाँको भावनात्मक सम्बन्ध थियो । मोहन विक्रम सिंहसित विवाह भएपछि व्यावहारिक रूपले नै प्युठानसित उहाँको घनिष्ठ सम्बन्ध कायम भयो । मोहन विक्रम सिंहले जिल्ला बाहिर कतै बसाइँ नसरेकाले पनि उहाँको प्युठानसित स्थायी र आत्मीय प्रकारको सम्बन्ध रहन गएको छ र उहाँले आफ्नो गाउँ ओखरकोट, गौमुखी क्षेत्रका आसपासका गाउँहरूमा र पुरै प्युठानको विकासका लागि प्रयत्न गर्दै आउनु भएको छ । उहाँ मोहन विक्रम सिंहकी राजनीतिक सहयोद्धा हुनाका साथै आफ्नो गाउँ र जिल्लामा मोहन विक्रम सिंहका) विकाससम्बन्धी सपनाहरूलाई व्यावहारिक रूप दिन पनि पुरै लाग्नु भएको छ । विवाहपछि प्युठानका विकासका लागि उहाँले सिलसिलेवार रूपमा गरेका प्रयत्नहरूको विवरणबाट त्यो कुरामा कुनै शङ्का रहन्न । 
२०६६ मा उहाँको अध्यक्षतामा काठमाडौँमा ओखरकोट पर्यटन एवं ग्रामीण विकास समिति (अबदेखि सङ्क्षिप्तमा ओखरकोट विकास समिति मात्र) स्थापना भयो (द.नं ६६÷१२) । त्यो समितिले ओखरकोट र आसपासका गाविसहरूमा पर्यटन र ग्रामीण विकासका लागि कैयौँ कार्यक्रमहरू बनाएको छ र त्यसका लागि प्रयत्न गर्दै आएको छ । त्यो समितिले ओखरकोट, बाँदीकोट, नारीकोट, खुङ, अर्खा, रजवारा, पुँजा, लिवाङ, तुषारा र बाङ्गेमरोठ समेत साविकका १० गाविसहरूलाई मिलाएर गौमुखी पर्यटन विकास क्षेत्र बनाउने ठेगान गरेको छ । त्यो समितिले ती १० वटै गाउँहरूमा जाने गरी पर्यटकीय पैदल मार्ग बनाउने योजनाका साथै बागलुङ ढोरपाटनदेखि बुर्तिवाङ, गौमुखी, ओखरकोट, इस्नाथान, दियाल्नाचौर, लुङ, भित्रीकोट राजाको दरबार र भिङ्ग्री हुँदै स्वर्गद्वारीसम्मको पर्यटकीय पैदल मार्गको जी.पी.एस. सर्भे पनि गरेको छ । ओखरकोट विकास समितिको तत्वाधानमा २०६७ माघमा नेपाल पर्यटन बोर्डको हलमा प्युठानको विकाससम्बन्धी अन्तरक्रिया कार्यक्रमआयोजना गरिएको थियो, जसमा काठमाडौँमा बसोवास गरेका र प्युठानबाट काठमाडौँ आएका थुप्रै मानिसहरूको उपस्थिति थियो । त्यो कार्यक्रममा दुर्गा पौडेलले आफ्नो वक्तव्यमा प्युठानको विकाससम्बन्धी समस्या र आवश्यकताबारे विस्तृत रूपले चर्चा गर्नु भएको थियो । त्यही समितिको तत्वाधानमा २०६८ सालमा ‘युथ नेटवर्क फर सोसियल एन्ड इन्भाइरोमेन्टल डेभलोपमेन्ट’ काठमाडौँद्वारा ओखरकोट, बाँदीकोट, नारीकोट, खुङ, अर्खा, रजवारा, पूजा, लिवाङ र बाङ्गेमरोठसमेत १० गाविसहरूमा सर्भेक्षण गरेर पर्यटन र ग्रामीण विकासका लागि प्रतिवेदन तयार पारिएको छ । प्रतिवेदनमा उक्त गौमुखी, इस्नाथान, दियाल्नाचौर, ओखरकोट आदि स्थानहरूमा पर्यटनको विकासका साथै १० वटै गाविसहरूमा पर्यटन र ग्रामीण विकासका लागि महत्वपूर्ण सुझावहरू दिइएका छन् । 
काठमाडौँमा उहाँले दुई कार्यकालसम्म राष्ट्रिय जनमोर्चा प्युठान–काठमाडौँ सम्पर्क मञ्चको अध्यक्ष भएर काम गर्नुभएको थियो ।सम्पर्क मञ्चको कार्यकालमा उहाँले आफ ्नो ध्यान प्युठानको विकासमा पनि केन्द्रित गर्नुभयो । उहाँको त्यही कार्यकालमा प्युठान–काठमाडौँ सम्पर्क.मञ्चले ओखरकोट विकास समिति, प्युठान उद्योग वाणिज्य सङ्घ समेतसित समन्वय गरेर प्युठानको खलङ्गामा प्युठानको विकाससम्बन्धी २ दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गर ्यो । कार्यक्रमको पहिलो दिन पुरै प्युठानको विकास र दोस्रो दिन गौमुखी क्षेत्रका १० वटा गाविसहरूको विकासबारे छलफल गरिएको थियो । त्यो कार्यक्रममा प्युठानका सबै राजनैतिक दलहरू र प्रशासकीय विभागहरूका ड प्रमुखहरूको सहभागीता रहेको थियो । 
प्युठानमा सम्पन्न त्यो विकाससम्बन्धी अन्तरक्रियाको लगत्तैपछि दुर्गा पौडेलले जिल्ला विकास प्युठानमा पर्यटनको विकासका लागि गुरुयोजना बनाउन स्वीकृतिका लागि निवेदन दिनुभयो । प्युठान जिविसले नेपाल पर्यटन बोर्डलाई त्यसका लागि सिफारिस गरेपछि त्यो योजना बन्यो । त्यसपछि ओखरकोट विकास समितिको पहलमा प्युठान जिविस, नेपाल पर्यटन बोर्ड, त्रिभुवन विश्वविद्यालय, युथ नेटवर्क फर सोशियल एण्ड इन्भाइरोमेन्टल डेभलपमेन्ट, काठमाडौँ समेतको सहयोगमा प्युठानको जिल्लाव्यापी सर्वेक्षण गरेर २०७० श्रावणमा प्युठानमा पर्यटनको विकासका लागि गुरुयोजना तयार भयो । अहिलेसम्म नेपालका करिब ८ जिल्लाहरूमा मात्र पर्यटन विकासका लागि गुरुयोजनाहरू बनेका छन् । प्युठानको गुरुयोजनालाई कार्यान्वय गरिएमा प्युठानमा पर्यटनको उच्च रूपमा विकास हुन सक्नेछ । प्युठान जिविसमा त्यसबारे छलफल पनि भएको थियो । 
दुर्गा पौडेलको संसदीय कोषको सहायताबाट र प्युठान जिविसको तत्वावधानमा २०७०मा ‘इनभाइरोमेन्ट प्रोफेसनल ट्रेनिङ एण्ड रिसर्च इन्सिच्युट’ काठमाडौँद्वारा ओखरकोटमा पर्यटनको विकासका लागि गुरुयोजना तयार पारियो । त्यसले ओखरकोटको ढांडमा रक गार्डेन, ओखरकोटको कोटमा भ्यू टावर, ओखरकोटको गाउँमा रिङ्गरोड, पार्क आदि समेतको निर्माणका लागि योजनाहरू बनाएको छ । तिनीहरूमध्ये रक गार्डेन र रिङ्गरोडको निर्माणका कार्यहरू सुरु भैसकेका छन् । ओखरकोट विकास समितिको तत्वावधानमा ओखरकोट र आसपासका गाउँहरूबाट करिब ५० जनालाई स्याङ्जाको सिरुवारी, कास्कीको घान्द्रुक, तनहुँको वन्दीपुर आदि ठाउँमा पर्यटन भ्रमणमा पठाएर पर्यटनबारे रुचि पैदा गर्ने काम गरिएको थियो । ओखरकोट, अर्खा र स्वर्गद्वारीको धनवाङ समेतका करिब ४० पुरुष महिलाहरूलाई होमस्टेको तालिम दिने काम गरिएको थियो । ओखरकोट, चौके, मच्छि, दियाल्नाचौर आदि स्थानहरूमा होमस्टेहरूको स्थापना भएको छ । 
दुर्गा पौडेलको ४ वर्षको संसदीय कोष वा पूर्वाधार विकासकोषको उहाँका भागमा परेको कोषबाट जिल्लाका पहिलेका दुवै निर्वाचन क्षेत्रहरूमा बाटो, पानी, विद्युत, सडक, पर्यटन, विद्यालय आदिसम्बन्धी कैयौँ कार्यहरू सम्पन्न भएका छन् । त्यो बाहेक उहाँको पहलमा प्युठानमा अन्य कैयौँ रचनात्मक कार्यहरू सम्पन्न भएका छन् वा त्यसका लागि उहाँले बिभिन्न मन्त्रालयमा पहल गरेर बजेट निकासा गराउनु भएको छ । 
दुर्गा पौडेलको अध्यक्षतामा बनेको ओखरकोट विश्वकोष परियोजना अन्तर्गत जिल्लाका कैयौँ गाउँहरूमा अध्ययन र अनुसन्धानको योजना बनेको छ । त्यस अन्तर्गत करिब ४० जना विज्ञहरूले प्युठानका विभिन्न गाउँहरूको राजनैतिक इतिहास, संस्कृति, शिक्षा, पर्यावरण, कृषि, जङ्गल, जलवायु आदि विभिन्न विषयहरूमा अध्ययन र अनुसन्धान गरेर अनुसन्धानमूलक विभिन्न लेखहरू तयार पारेका छन् । ती सबै लेखहरू ‘ओखरकोट’ लेखसङ्ग्रहमा प्रकाशित भएका छन् । प्युठानको स्वर्गद्वारी, खलङ्गा बजार, माडी खोला, गौमुखी, इस्नाथान, ओखरकोट, दियाल्नाचौर, बाङ्गेको भुल्के आदि पर्यटकीय स्थानहरूका तस्वीरहरू समेतको पुस्तक पनि प्रकाशित भैसकेको छ । त्यसका साथै उक्त सबै स्थानहरूलाई समावेश गरेर एउटा डकुमेन्टरी तयार भएको छ, जसलाई यू–ट्युबमा पनि राखिएको छ । 
ओखरकोट विश्वकोष परियोजनाका लागि नेपाल सरकारबाट रु. १५ लाख सहयोग प्राप्त भएको थियो । तर त्यसका लागि अझै करिब रु. २ करोड खर्च लाग्ने अनुमान गरिएको छ । त्यो योजना पुरा भएपछि त्यसलाई नेपाली र अङ्ग्रेजीमा १०÷१० खण्डमा प्रकाशित गर्ने योजना छ । उक्त कार्यक्रम पुरा भएपछि त्यो नेपालको नै एउटा राष्ट्रिय महत्वको कार्य हुनेछ । त्यसबाट ग्रामीण क्षेत्रमा विकासका लागि योजनाहरू बनाउन महत्वपूर्ण मद्दत पुग्ने छ । 
माथिको सङ्क्षिप्त विवरणबाट अन्य कतिपय नेताहरूको काठमाडौँ गएपछि वा उच्च पदहरूमा पुगपछि आफ्नो गाउँ र जिल्लालाई बिर्सने चलनभन्दा बेग्लै दुर्गा पौडेलले आफ्नो गाउँ र जिल्लाको विकासका लागि लगातार प्रयत्न गर्दै आउनु भएको कुरा प्रष्ट छ । सीमित साधन र बजेटका कारणले उहाँले कैयौ योजनाहरू पुरा गर्न सक्नुभएको छैन । अवसर मिलेमा जिल्लाको विकासमा उहाँबाट धेरै काम हुन सक्ने कुरा प्रष्ट छ । उहाँले अहिलेसम्म जुन कामको जिम्मा लिए पनि वा जुन काम दिए पनि त्यसमा पुरै लाग्ने र पुरा गर्ने गर्नुभएको छ । महिला सङ्घ, राष्ट्रिय जनमोर्चा, सङ्घर्षका बिभिन्न कार्यक्रमहरू, प्युठान–काठमाडौ सम्पर्क मञ्च, प्युठानको विकाससम्बन्धी कार्यहरूमा जिम्मेवारी पुरा गर्दै आएकाले भविष्यमा पनि प्रतिनिधि सभामा निर्वाचित भएपछि उहाँले प्युठानको विकाससहित सबै जिम्मेवारीहरू इमान्दारिता र दृढतापूर्वक पुरा गर्नु हुने छ भन्ने हामीलाई पूर्ण विश्वास छ । 
— ङ —
अन्तर्राष्ट्रिय क्षेत्रमा पनि दुर्गा पौडेलको महत्वपूर्ण भूमिका रहँदै आएको छ । सन् २००१ मा उहाँले जर्मनीको बर्लिनमा रोजा लक्जमबर्ग र कार्ल लिब्निेख्तको श्रद्धाञ्जली कार्यक्रममा सामेल भएर श्रद्धाञ्जली वक्तव्य दिनु भएको थियो । त्यो कार्यक्रममा करिब १० लाख जनताको सहभागिता थियो । २००२ मा उहाँले जर्मनीका महिलाहरूको पोलिटिकल काउन्सिलमा भाग लिनु भएको थियो र त्यो कार्यक्रममा उहाँले ‘महिलाहरूले संसारलाई जोड्छन्, महिलाहरूले अन्तर्राष्ट्रिय रूपमा सङ्घर्ष गर्छन्’ भन्ने वक्तव्य दिनु भएको थियो । वि.सं. २०७१ मा बेल्जियममा सम्पन्न नेपाली एकता समाजको युरोपीयन सम्मेलनमा सहभागी हुनु भएको थियो । त्यो बेला उहाँले पेरिस गएर मोहन विक्रम सिंह र प्युठानको कम्युनिस्ट आन्दोलनबारे पेरिस विश्व विद्यालयमा पी.एचडी. गरी रहेका एकजना फ्रेन्च विद्यार्थीलाई भेटेर उक्त विषयमा महत्वपूर्ण जानकारी दिनु भएको थियो (त्यो शोधपत्र फ्रेन्च भाषामा तयार भई सकेको छ) ।
वि.सं. २०७३ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा चीन गएको सरकारी भ्रमण दलको उहाँ सदस्य हुनु हुन्थ्यो । संसदका विभिन्न समितिहरूमा रहेर पनि उहाँले महत्वपूर्ण काम गर्नु भएको थियो । २०७२ सालमा काठमाडौँमा सम्पन्न विश्व महिला सम्मेलनमा एसियन को–अर्डिनेटरको रूपमा भाग लिनु भयो । त्यो विश्व सम्मेलनको लगत्तैपछि विश्व महिला सङ्घका अन्तर्राष्ट्रिय को–अर्डिनेटरहरूको बैठकमा भाग लिन जर्मनी जानु भएको थियो । उहाँ २०७३ सालमा बङ्गलादेशको कम्युनिस्ट पार्टीको महाधिवेशनमा भाग लिन जानु भएको थियो । यी बाहेक उहाँले भारत र अन्य देशहरूमा सम्पन्न कतिपय अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिनु भएको छ । २०७४ मा एसियन सांसदहरूको सम्मेलनमा भाग लिन नेपालको संसदकोतर्फबाट कम्बोडिया जानु भएको थियो । 
— च —
दुर्गा पौडेलले कैयौँ कृतिहरूको रचना वा प्रकाशन गर्नु भएको छ । उहाँले जनशिक्षा गृह मार्फत् मोहन विक्रम सिंहका कैयौँ रचना प्रकाशन गर्नु भएको छ र आउने दिनमा उहाँले कैयौँ महत्वपूर्ण रचनाहरू प्रकाशन गर्ने योजना बनाउनुभएको छ, जसमध्ये मोहन विक्रम सिंहका २५ खण्डमा सङ्कलित रचनाहरूको सङ्ग्रह, ‘भूमिगत’ (आत्मकथा), साहित्यिक रचनाहरूको सङ्ग्रह, का. जलजला उपन्यास आदि प्रमुख छन् । 
उहाँले सन् २००२ मा जर्मनीका लेखकहरूद्वारा जर्मन भाषामा लेखिएको नेपालको महिला आन्दोलनसम्बन्धी कृतिको अनुवाद ‘ओमेन्स अफ नेपाल मार्च फरवार्ड’ शिर्षकमा प्रकाशित गर्नु भएको थियो । उहाँ स्वयम् र मोहन विक्रम सिंह समेतका महिलासम्बन्धी कैयौँ लेख, अन्तर्वार्ता, दस्तावेज, कार्यपत्र आदिको सङ्कलन दुवैको नामबाट ‘महिला आन्दोलनको अग्रिम दिशा’ शीर्षकमा प्रकाशित भएको थियो । उहाँका महिलासम्बन्धी लेख र दस्तावेजहरूको अङ्ग्रेजी अनुवाद ‘ओमेन्स मेनिफेस्टो एन्ड चार्टर आफ ओमेन्स राइट’ महिला घोषणा पत्र र महिला अधिकार पत्र पुस्तकको रूपमा प्रकाशित भएको छ । 
प्युठानबाट प्रतिनिधि सभामा चुनिएपछि उहाँले देशको राजनीति, महिलाहरूको हक, अधिकार, महिला आन्दोलन र प्युठानको विकासमा समेत महत्वपूर्ण योगदान दिनु हुने छ र दिन सक्नु हुने छ भन्ने कुरामाथि पुरा विश्वास लिएका छौँ । प्रदेश सभाबाट हरि प्रसाद रिजाल र कृष्णध्वज खड्काले समेत चुनावमा जितेपछि जिल्लाको विकासमा धेरै नै मद्दत पुग्ने छ भन्ने आशा गर्न सकिन्छ । उहाँहरूले लिएको राजनीतिक धारका कारणले संविधानको कार्यान्वयन, गणतन्त्र, राष्ट्रियता, सार्वभौमिकता र अखण्डता तथा धर्म निरपेक्षताको पक्षमा समेत महत्वपूर्ण योगदान पुग्ने छ भन्ने हामीले विश्वास गरेका छौँ । उहाँहरू तीनै जनालाई २०७४ मङ्सिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा विजय बनाउनका लागि हामीले प्युठानका सम्पूर्ण जनतासित अपील गर्दछौँ ।
राष्ट्रिय जनमोर्चा
चुनाव प्रचार प्रसार समिति, प्युठान

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप लेखहरू
हुने छैन जितगढी किल्लाको अवसान
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal