२०७४ कार्तिक ६ गते, बुधबार   वर्ष ३५, अङ्क २
मिति(२०७४ पौष ३, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार अन्तर्वार्ता
पुराना अंक
अन्तर्वार्ता
हाम्रो प्रयास कम्युनिस्ट शासन कायम गर्ने नै छ
मोहनविक्रम सिंह
० तपाईलाई नेपाली कम्युनिस्ट आन्दोलनका भिष्म पितामह भनेर पनि सम्बोधन गरिन्छ । अहिले चुनावको पूर्वसन्धामा वामशक्ति र लोकतान्त्रिक शक्तिहरूबीच धु्रवीकरण भएको छ । नेपाली राजनीतिमा यसको दीर्घकालीन परिणाम के होला ?
–अहिलेको धु्रवीकरणलाई वाम र लोकतान्त्रिक शक्तिहरूका बीचको धु्रवीकरण नै हो भनेर भन्न मिल्दैन । त्यसको अर्थ वामपन्थी शक्तिहरू लोकतान्त्रिक शक्तिहरूभन्दा बेग्लै हुन् भन्ने बुझिन्छ । नेपालको राजनीतिमा वामपन्थी शक्तिहरूले पनि लगातार लोकतन्त्रका लागि सङ्घर्ष गर्दै आएका छन्् र त्यसको लामो इतिहास छ । त्यो अवस्थामा यसलाई एकातिर, वामपन्थी शक्ति र अर्कातिर, नेकाको नेतृत्वमा बनेको गठबन्धन भन्नु नै बढी उपयुक्त हुन्छ भन्ने मलाई लाग्दछ । वास्तवमा आज देशको राजनीतिमा एउटा ध्रुवीकरण अवश्य भएको छ । एकातिर, देशमा लोकतन्त्र, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताका पक्षमा उभिने शक्तिहरू छन्् भने अर्कातिर, एक वा अर्को प्रकारल ती सबै विषयहरूका विरुद्ध काम गर्ने शक्तिहरू छन्् । वास्तवमा आज नेकाको नेतृत्वमा बनेको गठबन्धनले एक वा अर्को प्रकारले लोकतन्त्र, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताका विरुद्ध हमला गर्ने काम गरी रहेका छन्् । यी दुई शक्तिहरूका बीचको धु्रवीकरण आजको राजनीतिक एउटा वास्तविकता हो । जहाँसम्म नेकाको नेतृत्वमा बनेको गठबन्धन वा स्वयं नेकाको सम्बन्ध छ, विगतमा कतिपय राजनीतिक समस्याहरूका लागि हामीहरूले उनीहरूले मिलेर सङ्घर्ष गर्ने गरेका छौँ, जस्तै कि पञ्चायती तानाशाहीका विरुद्धको सङ्घर्ष वा २०६२–६३ मा प्रतिगमनका विरुद्धको सङ्घर्ष । तर पहिले मैले भनी सकेका विषयहरूमा जुन धु्रवीकरणको स्थिति उत्पन्न भएको छ, त्यो अवस्थामा नेकासित एकता होइन, सङ्घर्ष नै आवश्यक भएको छ । चुनावमा उनीहरूको विजय भयो भने त्यसबाट लोकतन्त्र, गणतन्त्र, राष्ट्रयता र धर्म निरपेक्षतामा समेत गम्भीर आँच पुग्ने सम्भावना छ । त्यो अवस्थामा जसले आफूलाई लोकतान्त्रिक बताई रहेका छन्, उनीहरूले वास्तवमा लोकतन्त्रको पक्षमा होइन, त्यसका विरुद्धमा नै बढी काम गर्ने सम्भावना छ ।
० वाम गठबन्धनको औचित्य के हो जस्तो लाग्छ ? केवल शक्ति आर्जनका लागि हो कि देशको कम्युनिस्ट शासनतर्फ उन्मुख हुन खोजेको हो ?
–जसले आफूलाई वाम शक्तिहरू बताई रहेका छन्, उनीहरू माक्र्सवादी–लेनिनवादी सिद्धान्त या कम्युनिस्ट पार्टीका मान्यताहरूबाट विचलित भई सकेका शक्तिहरू नै हुन् । त्यो अवस्थामा उनीहरूद्वारा देशमा कम्युनिस्ट शासन स्थापनाको कुनै सम्भावना छैन र त्यो हुन पनि सक्दैन । निश्चय नै हाम्रो पार्टी, नेकपा (मसाल) ले माक्र्सवादी–लेनिनवादी सिद्धान्त र कम्युनिस्ट मान्यताहरूमाथि विश्वास गर्दछ र तिनीहरूको कायान्वयन गर्नु पर्ने आवश्यकतामा जोड दिन्छ । तर हामीले पनि बारम्बार यो स्पष्ट गर्दै आएका छौँ कि अहिलेको देशको विशिष्ट र ऐतिहासिक अवस्थामा कम्युनिस्ट शासनको स्थापना सम्भव छैन । अहिले हाम्रो पनि कार्यनीति लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्नेतिर नै छ । त्यो अवस्थामा नेका पक्षीय गठबन्धनले वाम गठबन्धनले चुनावमा जित्यो भने देशमा लोकतन्त्र समाप्त हुने छ र कम्युनिस्ट शासन कायम हुने छ वा कम्युनिस्ट अधिनायकवाद नै कायम हुने छ भन्ने जुन प्रचार गरी रहेका छन््, त्यसमा कुनै आधार वा सत्यता छैन ।
० यहाँले भर्खरै भन्नु भयो, देशमा तत्काल कम्युनिस्ट शासनको स्थापनाको कुनै सम्भावना छैन । तर स्वयं तपाई आफै अर्ध भूमिगत रूपमा कम्युनिस्ट शासन स्थापना गर्न सङ्घर्ष गरी रहेको देखिन्छ । यहाँको कुरामा अलि विरोधाभाष देखिएन र ?
–हामीहरूले निश्चित रूपले देशमा साम्यवादी व्यवस्था ल्याउनका लागि सङ्घर्ष गरी रहेका छौँ । त्योभन्दा पहिले समाजवाद र देशको अहिलेको ऐतिहासिक अवस्थामा नयाँ जनवादी व्यवस्था ल्याउनका लागि हामीले सङ्घर्ष गरी रहेका छौँ । त्यो हाम्रो रणनीति हो । अहिलेको आधारभूत उद्देश्य हो । त्यसका लागि देशमा विद्यमान अर्ध सामन्ती र अर्ध औपनिवेशिक व्यवस्थालाई समाप्त गर्नु पर्ने आवश्यकता छ र त्यसका लागि लामो क्रान्तिकारी आन्दोलनको आवश्यकता छ । तर कम्युनिस्ट पार्टीले आफ्नो कुनै कार्यक्रम कुनै खास अवस्थाको ऐतिहासिक र वस्तुगत स्थितिको विश्लेषण गरेर नै बनाउँछ । अहिले हामीले तत्काल साम्यवाद र समाजवादको कुरा त परै छ, नयाँ जनवादी क्रान्तिलाई सफल पार्न सक्ने अवस्थामा पनि छैनौँ ।
देशको अहिलेको आवश्यकता देशमा विद्यमान सामन्ती व्यवस्थालाई समाप्त गर्नु र देशको राष्ट्रियताको रक्षा गर्नु नै हुने छ । देशमा चल्ने गरेका विभिन्न आन्दोलनहरूका कैयौँ उपलब्धिहरू रहेका छन्् । तिनीहरूमध्ये २०६२–६३ को आन्दोलनका उपलब्धिहरू पनि धेरै महत्वपूर्ण छन्् । त्यसको परिणामस्वरूप नै संविधान सभाको चुनाव भयो, राजतन्त्र समाप्त भएर गणतन्त्रको स्थापना भयो । हाम्रो देशको राष्ट्रियताका अगाडि भारतीय विस्तारवादद्वारा लगातार खतरा छ । संविधान सभाले जुन संविधान निर्माण गर्‍यो, त्यसलाई उनीहरूले समर्थन गरेका छैनन् र त्यसमा कैयौँ संशोधनहरू गराउन खोजी रहेका छन्् । ती संशोधनहरूको परिणामस्वरूप पहाडि भूभागबाट तराई बेग्लै हुने छ । नागरिकता नीति झन् खुकुलो हुने छ र अङ्गीकृत नागरिकहरूलाई पनि वंशजका नागरिक सरह अधिकार प्राप्त हुने छ ।
तराईलाई पहाडी भूभागबाट बेग्लै बनाउनुको उद्देश्य त्यसलाई स्वतन्त्र बनाउनु र अन्तमा भारतमा मिलाउनु नै हो । नागरिकता नीतिलाई खुकुलो पार्दै लैजानुको उद्देश्य नेपालका ठुलो सङ्ख्यामा भारतीयहरूलाई नागरिक बनाउँदै लैजानु र अन्तमा नेपालमा स्वयं नेपालीहरूलाई नै अल्पमतमा पार्नु हो । त्यसको परिणामस्वरूप नेपाल फिजी बन्ने छ । अङ्गीकृत नागरिकहरूलाई वंशज नागरिक सरह अधिकार दिलाउनुको अर्थ उनीहरूलाई देशका उच्च पदहरूमा पुग्नका लागि बाटो खुला गर्नु हो । भारतद्वारा वा त्यसकातर्फबाट मधेशवादीहरूले जनसङ्ख्याका आधारमा निर्वाचत क्षेत्रको निर्माणमा लगातार जोड दिने गरेका छन्् । प्रथम संशोधन विधेयकले त्यसका लागि बाटो खुला पनि गरी सकेको छ । त्यसका पछाडिको उद्देश्य जनसङ्ख्याका आधारमा तराईमा बहुमत निर्वाचन क्षेत्रहरू बनाएर संसदमा बहुमत बनाउनु र त्यसद्वारा सिक्किमको संविधान सभाले जस्तै नेपाललाई भारतमा मिलाउन निर्णय गर्न आधार तयार पार्नु हो । त्यही उद्देश्यले दोस्रो संविधान संशोधनको विधेयक संसदमा प्रस्तुत गरिएको थियो । त्यो अस्वीकृत भयो ।
० तपाईले भन्नु भयो कि हामीले नयाँ जनवादी शासन व्यवस्था स्थापनाका लागि सङ्घर्ष गरी रहेका छौँ । त्यो जनवादी शासन व्यवस्था भनेको कस्तो व्यवस्था हो ?
–नयाँ जनवादी शासन व्यवस्था मूल रूपमा पूँजीवादी व्यवस्था नै हो । संसारका विभिन्न देशहरूमा चलेको पूँजीवादी प्रजातान्त्रिक क्रान्तिले सामन्ती व्यवस्थालाई समाप्त गर्दछ र पूँजीवादी अर्थतन्त्रलाई कायम गर्दछ । नेपालको अहिलेको अवस्थामा, खास गरेर पूँजीवादको विकास नभएको अवस्थामा एकैपल्ट समाजवादी व्यवस्थामा जानु सम्भव छैन । त्यसका लागि देशमा पहिले पूँजीवादी प्रजातान्त्रिक क्रान्ति सम्पन्न हुनु आवश्यक छ । नयाँ जनवादी क्रान्तिले नै देशमा पूँजीवादी प्रजातान्त्रिक क्रान्तिलाई सफल पार्न सक्ने छ ।
पूँजीवादी प्रजातान्त्रिक क्रान्तिको अर्थ हुन्छ– एकातिर, सामन्तवाद र अर्कातिर, साम्राज्यवादका विरुद्ध सङ्घर्ष नेपालमा राजतन्त्रको अन्त भयो । तर सामन्ती व्यवस्था अझै पनि कायम छ । प्रकट रूपमा नेपाल स्वतन्त्र छ । तर साम्राज्यवाद र भारतीय विस्तारवादको नियन्त्रण अझै विद्यमान छ । नेपालमा सही अर्थमा पूँजीवादी प्रजातन्त्र कायम गर्नका लागि एकातिर, सामन्तवाद र अर्कातिर, साम्राज्यवाद र भारतीय विस्तारवादको प्रभुत्वलाई समाप्त गर्नु पर्ने आवश्यकता छ । त्यसका लागि उनीहरूका विरुद्ध लामो र क्रान्तिकारी सङ्घर्ष गर्नु पर्ने आवश्यकता छ । तर त्यो कार्य कुनै सामन्तवाद, साम्राज्यवाद वा भारतपरस्त राजनीतिक शक्तिको नेतृत्वमा हुन सक्दैन, त्यो कार्य कम्युनिस्ट पार्टीको नेतृतवमा नै हुन सक्दछ ।
कम्युनिस्ट पार्टीको नेतृत्वमा त्यो क्रान्ति हुने भएको हुनाले हामीले त्यसलाई नयाँ जनवादी व्यवस्था भनेका छौँ । त्यो कालमा राष्ट्रिय पूँजीवादी वर्गको स्वामित्वका उद्योगधन्दा वा किसानहरूको जमिनमाथिको स्वामित्व पनि कायम रहन्छ । अहिले देशमा कायम भएको गणतन्त्र पनि वास्तविक अर्थमा पूँजीवादी गणतन्त्र होइन । देशमा अर्ध सामन्ती वा अर्ध औपनिवेशिक व्यवस्था कायम हुँदासम्म वास्तविक अर्थमा पूँजीवादी गणतन्त्र नै कायम हुन सक्दैन । त्यही कारणले अहिलेको संविधान पनि वास्तविक अर्थमा पूँजीवादी संविधान होइन, तैपनि नेपालको अहिलेको विशिष्ट अवस्थामा अहिले कायम भएको राजतन्त्र निरङ्कुश राजतन्त्रभन्दा प्रगतिशील भएकाले हामीले त्यसलाई समर्थन गर्दछौँ र त्यही प्रकारले संविधानलाई पनि सामान्यतः समर्थन गरेका छौँ । संविधानमा सामेल गरिएको सङ्घीयतासित हाम्रो विरोध छ । सङ्घीयताका विरोध गर्दै हामीले वर्तमान संविधानमा सामेल गरिएका गणतन्त्र वा धर्म निरपेक्षतालाई पनि समर्थन गरेका छौँ ।
० तपाईले एकातिर, सङ्घीयताको विरोध गरी रहनु भएको छ भने अर्कातिर, त्यही सङ्घीय संरचना अनुसारको निर्वाचनमा सहभागी भई रहनु भएको छ । यसको तात्विक अर्थ के हो ?
–सर्वप्रथम ता सङ्घीय प्रणालीबारे नै केही स्पष्टताको आवश्यकता छ । नीतिगत रूपमा हामीले सङ्घीय प्रणालीको पुरै विरोध गर्दैनौँ । संसारका कैयौँ देशहरूमा सङ्घीयता प्रणाली छन्् र त्यहाँको विशिष्ट अवस्थामा तिनीहरूको औचित्यता वा उपयोगिता पनि छ । तर नेपालजस्तो सानो, पिछडिएको, बहुजातीय र तीनतिरबाट भारतीय विस्तारवादद्वारा घेरिएको देशका लागि सङ्घीयता उपयुक्त छैन । वास्तवमा नेपाली जनताले वा नेपालका कुनै राजनीतिक पार्टीले, कम्युनिस्ट वा काङ्ग्रेसले सङ्घीयताको माग गरेर आन्दोलन गरेको कुनै इतिहास छैन । तर त्यो व्यवस्था भारतीय विस्तारवादद्वारा नेपालमा लादिएको हो । भारतीय विस्तारवादकातर्फबाट मधेशवादीहरूले त्यो नारा उठाए र भारतीय दबाबमा बिना कुनै गृहकार्य नेपालका प्रमुख राजनीतिक दलहरूले त्यो व्यवस्थालाई अपनाए ।
सङ्घीयताको परिणामस्वरूप देशमा जातीय र क्षेत्रीय विग्रह तथा राष्ट्रिय विखण्डनको स्थिति उत्पन्न हुन्छ । सङ्घीय व्यवस्थाले जति जति नेपालमा प्रभाव पार्दै गई रहेको छ, त्यो क्रममा नै नेपालमा जातीय र क्षेत्रीय विग्रह वा राष्ट्रिय विखण्डनको स्थितिको पनि सृजना हुँदै गई रहेको छ । त्यसैले हामीले सुरुदेखि नै त्यसको विरोध गर्दै आएका छौँ, तैपनि संविधानमा सङ्घीय व्यवस्था कायम गरिएको भए पनि हामीले अहिले बनेको संविधानलाई समर्थन गरेका छौँ । किनभने सङ्घीयताको विरोधको नाममा गणतन्त्रको पनि विरोध गर्नु सही हुँदैनथ्यो ।
संविधानमा व्यवस्था गरिएको प्रादेशिक संरचना सङ्घीयताको प्रधान पक्ष हो । संविधान निर्माण गर्ने बेलामा हामीले त्यस प्रकारको सङ्घीय संरचनालाई पुरै खारेज गर्नु पर्ने संशोधन राखेका थियौँ । तर संविधान सभामा हाम्रो पर्याप्त बहुमत नभएको हुनाले त्यसलाई खारेज गराउन हामी असफल भयौँ, तैपनि अहिले सङ्घीय व्यवस्था अनर्गत र प्रादेशिक सभाहरूको पनि जुन चुनाव भई रहेको छ, त्यसमा हामीले भाग लिई रहेका छौँ । त्यसको ठिक अर्थ बुझ्न संसदीय प्रणालीप्रतिको हाम्रो दृष्टिकोण र नीतिलाई बुझ्नु पर्दछ । सिद्धान्ततः हामीले कहिल्यै पनि संसदीय प्रणालीलाई स्वीकार गर्दैनौँ र गरेका पनि छैनौँ । त्यो व्यवस्थालाई हामीले सिद्धान्ततः स्वीकार गरेर होइन, त्यसमा सहभागी भएर जनताको चेतना उठाउने, जनताका बीचमा सङ्गठनको विस्तार गर्ने वा विरोधी राजनीतिक शक्तिहरूको भण्डाफोर गर्ने उद्देश्यले नै हामीले त्यसमा भाग लिने गरेका छौँ । त्यही कुरा अहिलेको सङ्घीय संरचना वा त्यस अन्तर्गतको प्रादेशिक संरचनाको चुनावका सन्दर्भमा पनि सत्य हो । हामीले नीतिगत रूपमा तिनीहरूलाई स्वीकार गर्दैनौँ । तर स्वयं तिनीहरूका विरुद्ध सङ्घर्षलाई अगाडि बढाउन र जनताको चेतना उठाउन नै हामीले तिनीहरूमा भाग लिने गरेका छौँ ।
० तपाईले भन्नु भए जस्तै नेकपा एमाले र माओवादी केन्द्र सैद्धान्तिक रूपले कम्युनिस्ट पार्टी रहेनन् । तर अहिले उनीहरूसँगको गठबन्धनमा तपाईको पार्टी पनि सामेल छ । अनि, कसरी फरक भयो त ?
–हामीले आन्दोलन वा देशको आवश्यकता अनुसार राजनीतिक रूपमा समानता नभएका कैयौँ पक्षहरूसित पनि कार्यगत एकता वा चुनावी तालमेल गर्ने गर्दछौँ । जस्तो किमाथि मैले भनी सकेँ, कैयौँपल्ट हामीले नेकासित पनि कार्यगत एकता गरेका छौँ । २०६२–६३ को आन्दोलनमा मधेशवादीसित पनि हामीले कार्यगत एकता गरेका थियौँ । महाकाली सन्धिका विरुद्ध राप्रपासित पनि कार्यगत एकता गरेका थियौँ । राजा महेन्द्रका पूर्व–पश्चिम राजमार्ग वा कोदारी मार्गको निर्माण गर्ने कार्यहरूलाई पनि हामीले समर्थन गरेका थियौँ । त्यसरी आधारभूत रूपमा नै सैद्धान्तिक वा नीतिगत भिन्नता भएका राजनीतिक शक्तिहरूसित पनि कुनै खास बेलामा परस्परमा सहमति भएका प्रश्नहरूका हामीले कार्यगत एकता गर्ने नीति अपनाउँछौँ ।
स्थानीय चुनावका बेलामा हामीले नेकासित पनि चुनावी तालमेल गरेका थियौँ । प्युठानमा नै एकाध स्थानमा उनीहरूसित तालमेल भएको थियो । त्यही सन्दर्भमा नै अहिले एमाले र माओवाद केन्द्रसित भएको चुनावी तालमेललाई पनि बुझ्नु पर्दछ । सैद्धान्तिक र राजनीतिक रूपमा उनीहरूसित हाम्रा गम्भीर प्रकारका मतभेदहरू छन््, तैपनि कैयौँपल्ट हामीले उनीहरूसित कार्यगत एकता वा चुनावी तालमेल गर्ने गरेका छौँ । प्रचण्डले केपी शर्मा ओलीको सरकारलाई अपदस्थ गराएर नेकासित गठबन्धन गर्ने वा संसदमा दोस्रो संविधान संशोधन विधेयक प्रस्तुत गर्ने जुन कार्य गरे, त्यसको हामीले विरोध गरेका थियौँ । तर त्यसबाट अलग हुने जुन निर्णय गरे, त्यसलाई हामीले समर्थन गरेका छौँ । गत कालमा एमाले वा माओवादी केन्द्रका विरुद्ध हामीले कैयौँपल्ट सङ्घर्ष गर्ने गरेका छौँ । तर हामीले कहिल्यै पनि कुनै राजनीतिक शक्तिसित कुनै पूर्वाग्रह नराखिकन आवश्यकता अनुसार एकता वा सङ्घर्षको नीति अपनाउँछौँ । उनीहरूले कम्युनिस्ट पार्टीको निर्माण गर्ने जुन घोषणा गरेका छन््, त्यससित हाम्रो मतभिन्नता छ । देशमा एकीकृत कम्युनिस्ट पार्टीको निर्माणको आवश्यकतालाई हामीले सिद्धान्ततः स्वीकार गर्दछौँ । तर के उनीहरूद्वारा त्यस प्रकारको पार्टीको निर्माण सम्भव होला ? त्यसमाथि हामीले विश्वास गरेका छैनौँ ।
० अहिले वाम गठबन्धनलाई एकथरि राजनीतिक विश्लेषकहरूले तासको घरको रूपमा सङ्ज्ञा दिएका छन्् । तपाईलाई के लाग्दछ ?
–भविष्यमा उनीहरूको अवस्था के हुने छ ? त्यो कुराको चर्चा गर्नेतिर हामी लाग्दैनौँ । तर तत्कालका लागि, जस्तो कि मैले भनी सकेँ, त्यसको सकारात्मक राजनीतिक महत्व छ ।
० प्रचण्डहरूले अहिले भने जस्तो के नेपालमा कम्युनिस्ट शासन स्थापना हुन सक्दैन त ?
–हाम्रो कोसिस कम्युनिस्ट शासन कायम गर्नेतिर नै छ । बुर्जुवाहरूका लागि त्यस प्रकारको शासन व्यवस्था अत्यन्त नराम्रो कुरा हुने छ । तर व्यापक जनताको हितमा त्यो राम्रो व्यवस्था हो र त्यसले जनतामाथि भएका सबै शोषण, उत्पीडनहरूको अन्त्य गर्ने छ । तर त्यसो भए पनि त्यसका लागि आवश्यक जनचेतना वा जनशक्तिको निर्माण भई सकेको छैन । प्रतिक्रियावादीहरूले फैलाएका कैयौँ भ्रमहरू अझै जनतामा विद्यमान छन्् । तिनीहरूलाई साफ गर्न लामो समय लाग्ने छ । त्यसैले हामीले तत्काल कम्युनिस्ट शासन व्यवस्थाको स्थापना गर्नु सम्भव देख्दैनौँ । कम्युनिस्ट शासन व्यवस्था भन्ने कुरालाई पनि हामीले अमूर्त अर्थमा लिनु हुन्न । त्यो साम्यवादी व्यवस्था पनि हुन सक्दछ वा समाजवादी र नयाँ जनवादी व्यवस्था पनि हुन सक्दछन्् । कतिपय देशहरूमा बुर्जुवा प्रणाली अन्तर्गत नै त्यसको सीमाभित्र रहेर कम्युनिस्टहरूको सत्ता पनि कायम हुन सक्दछ । तर अहिले नेकाले कम्युनिस्ट शासनको नाममा जुन हौवा पैदा गरेको छ, त्यसमा कुनै सत्यता छैन ।
नेपालमा कम्युनिस्टहरू धेरैपल्ट सत्तामा पुगेका छन्् । कैयौँपल्ट उनीहरूको बहुमत पनि कायम भएको छ । तर ती सबै कालमा नेकाले हल्ला गरे जस्तो कुनै कम्युनिस्ट शासन त कायम भएन । त्यसैले उनीहरूले जुन रूपमा कम्युनिस्ट शासनको हल्ला गरेका छन््, त्यसका पछाडिको उद्देश्य उनीहरूले नेपालमा लोकतन्त्र, गणतन्त्र, राष्ट्रियता वा धर्म निरपेक्षतामाथि आँच पुर्‍याउने जुन प्रयत्न गर्दैछन््, त्यस प्रकारका कार्यहरूमाथि पर्दा हाल्ने एउटा प्रयत्न मात्र हो । वास्तवमा आज देशमा लोकतन्त्र समाप्त हुने र तानाशाही व्यवस्था कायम हुने खतरा वामपन्थीबाट होइन, स्वयं नेका र त्यसको तत्वाधानमा बनेको गठबन्धनबाट नै छ । अहिलेका प्रधानमन्त्री शेर बहादुर देउवाद्वारा राजासित साठगाँठ गरेर संसदीय प्रणालीलाई समाप्त पार्न वा देशलाई प्रतिगमनतिर लैजान प्रयत्न गरेका कैयौँ उदाहरणहरू हाम्रा अगाडि छन्् । त्यस प्रकारको पृष्ठभूमिमा नेकाद्वारा लोकतन्त्रलाई समाप्त गरेर देशमा एका वा अर्को प्रकारको तानाशाही व्यवस्था कायम गर्ने सम्भावना प्रति आँखा चिम्लनु सही हुने छैन । यस सन्दर्भमा अर्को एउटा तथ्यप्रति पनि हाम्रो ध्यान जानु पर्ने आवश्यकता छ । वी.पी. कोइराला, गणेश मानसिंह वा गिरिजा प्रसाद कोइरालाले प्रजातन्त्रलाई अग्रगमनको दिशामा लैजान सङ्घर्ष गरेको इतिहास हाम्रो अगाडि छ । तर त्यसको ठिक विपरीत देउवाले देशलाई बारम्बार प्रतिगमनको दिशामा लैजान प्रयत्न गरेका उदाहरणहरू पनि हाम्रा अगाडि छन्् । त्यसरी के भन्न सकिन्छ भने अहिलेको नेका वी.पी., गणेश मान वा गिरिजा प्रसादको नेकाभन्दा बेग्लै छ ।
० तपाईलाई कम्युनिस्टका गुरु भनेर चिनिन्छ । तर यहाँकै चेलाहरूले मोहन विक्रम सिंह एक जडसूत्रवादी नेता भनेर आरोप लगाउने पनि गरेका छन्् । किन यहाँले देशका सबै कम्युनिस्टहरूलाई गोलबन्द गरेर नेतृत्व दिन सकी रहनु भएको छैन ?
–जडसूत्रवादको आरोप तथ्यहरूसित मेल खादैन । जडसूत्रवादको अर्थ हुन्छ– सिद्धान्तहरूमा कट्टरपन्थ वा आवश्यकता अनुसार कार्यनीतिक रूपमा पनि त्यसमा लचिलो हुन नसक्नु । तर हामीहरू आवश्यकता अनुसार आफ्ना नीतिहरूमा बारम्बार लचिलो हुने गरेका छौँ । राजा महेन्द्रका पूर्व–पश्चिम राजमार्ग र कोदारी राजमार्गको निर्माणलाई समर्थन गर्नु, नेकासित बारम्बार कार्यगत एकता गर्नु, महाकाली सन्धिका विरुद्ध राप्रपासित पनि कार्यगत एकता गर्नु, सङ्घीयताको प्रश्नमा मतभेद हुनुका बाबजुद वर्तमान संविधान वा गणतन्त्र समेतलाई समर्थन गर्नु । बारम्बार कडा विरोध वा सङ्घर्षको स्थिति भएता पनि माओवादी वा एमालेसित कार्यगत एकता वा चुनावी तालमेलको नीति अपनाउनु आदि प्रश्नहरूबाट हाम्रो पार्टी जडसूत्रवादी नभएको कुरामा कुनै शङ्का रहन्न ।
जहाँसम्म देशका विभिन्न राजनीतिक शक्तिहरूलाई एकसूत्रमा बाध्ने प्रश्न छ, त्यो कार्य बाहिरबाट जति सरल देखिन्छ, वास्तवमा त्यति सरल छैन । त्यस प्रकारको एकताका लागि सर्वप्रथम सैद्धान्तिक र राजनीतिक प्रश्नहरूमा एकता हुनु आवश्यक छ । तर अहिलेको विभिन्न वाम घटकहरूका बीचमा बेग्ला–बेग्लै प्रकारका जुन वैचारिक भिन्नताहरू देखा परेका छन््, तिनीहरूलाई हल गर्नु त्यति सजिलो छैन । तर त्यो स्थितिमा पनि हामीले बारम्बार तात्कालिक प्रश्नमा समझदारी हुन सक्ने विषयहरूमा बारम्बार अन्य पक्षहरूसित काम गर्ने प्रयत्न गरेका छौँ ।
० मोहन विक्रम सिंह जस्तो सिद्धान्तनिष्ठ नेता पनि परिवारवादबाट मुक्त हुन नसेकको आरोप छ नि ? अरू नेताहरूलाई पन्छाएर आफ्नो श्रीमती दुर्गा पौडेललाई चुनावी प्रतिस्पर्धामा पठाउनु भएको आक्षेप पनि छ ?
–पहिले परिवारवाद भनेको के हो ? त्यसलाई सही सन्दर्भमा बुझ्नु पर्ने आवश्यकता छ । प्रथमतः देशका धेरैजसो नेताहरूले आफ्नो परिवार वा पत्नीहरूलाई आफ्नो पार्टी वा राजनीतिक कार्यहरूबाट अलग राख्ने गरेका छन्् । तर हाम्रो मान्यता के छ भने पार्टीका नेताहरूले, खास गरेर कम्युनिस्ट नेताहरूले वा कार्यकर्ताहरूले आफ्ना परिवारका व्यक्ति वा छोराछोरीहरूलाई पनि पार्टी वा राजनीतिक कार्यहरूमा सक्रिय पार्ने प्रयत्न गर्नु पर्दछ । त्यस सन्दर्भमा सर्वप्रथम यो प्रश्न उठ्छ, आफ्नो परिवारका व्यक्तिहरूलाई पार्टी, राजनीतिक वा आन्दोलनहरूमा सक्रिय पार्ने सही वा उनीहरूलाई ती सबैबाट अलग राखेर घर–गृहस्थी वा अन्य पेशामा मात्र लगाई राख्नु । त्यसरी विचार गर्ने हो भने मैले आफ्ना परिवारका व्यक्तिहरूलाई सम्भव भएसम्म पार्टी र आन्दोलनको नजिक ल्याउने प्रयत्न गरेको छु । जहाँसम्म दुर्गाको प्रश्न छ, उनी मेरी पत्नीको नाताले चुनावमा उठेकी होइनन्, उनको आफ्नै राजनीतिक पृष्ठभूमि र व्यक्तित्व छ । मसित विवाह हुनुभन्दा करिब १५–१६ वर्ष पहिलेदेखि नै पार्टी वा राजनीतिक आन्दोलनहरूमा, पञ्चायती व्यवस्थाको कालदेखि भूमिगत वा खुला रूपले काम गर्दै आएकी थिइन् । आफ्नो त्यस प्रकारको कार्यका आधारमा नै उनी महिला सङ्घकी अध्यक्ष बनेकी थिइन्, साथै राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष र संविधान सभामा समानुपातिकतर्फबाट सभासद पनि । त्यस प्रकारको अवस्थामा खालि मेरी पत्नी भएको नाताले मात्र उनलाई चुनाव वा अरू सबै अवसरबाट बञ्चित गर्नु पर्दछ भन्ने कुरा सही हुन्छ जस्तो लाग्दैन ।
नाताकै कुरा गर्ने हो भने का. चित्र बहादुर केसी मेरो नजिकको नाता पर्नु हुन्छ । का. गोविन्द सिंह थापा मेरो साख्खै मामा पर्नु हुन्छ । त्यही प्रकारका अरू पनि थुप्रै मेरो नाता पर्ने व्यक्तिहरू हाम्रो सङ्गठनका विभिन्न तहहरूमा आबद्ध हुनु हुन्छ । के त्यो परिवारवाद हुन्छ ? यदि परिवारको सिद्धान्तलाई यान्त्रिक रूपले मान्ने हो भने हाम्रो पार्टी वा परस्परमा नाता पर्ने कैयौँ व्यक्तिहरू सँगसँगै पार्टीका विभिन्न पदहरूमा छन्् । के ती सबैलाई आपसमा नाता परेको हुनाले पार्टीबाट या पार्टीका विभिन्न पदहरूबाट हटाउनु सही हुन्छ ? त्यसरी समग्र रूपमा के भन्न सकिन्छ भने दुर्गा पौडेलको सन्दर्भमा परिवारवादको जुन कुरा उठेको छ, त्यो निराधार छ ।
० एउटा पाको कम्युनिस्ट नेताको नाताले अब यो मुलुकको राजनीतिक भविष्य कस्तो देखी रहनु भएको छ ?
–वास्तवमा आज देशको स्थिति बाहिरबाट जति सरल देखिन्छ, त्योभन्दा कैयौँ गुणा बढी गम्भीर छ । एकातिर, देशको लोकतन्त्र र अर्कातिर राष्ट्रियता दुवै गम्भीर खतराको मुखमा उभिएका छन्् । संविधान सभाले पारित गरेको संविधानमा सामेल गरिएका गणतन्त्र र धर्म निरपेक्षता दुवैका अगाडि गम्भीर खतरा पैदा भएको छ । अर्कातिर देशको राष्ट्रियता र स्वतन्त्र अस्तित्वमा पनि गम्भीर खतरा पैदा भएको छ । अहिलेको स्थितिमा त्यस प्रकारको खतराको मुख्य स्रोत भारतीय विस्तारवाद नै हो । त्यसले एकातिर, नेपालका राजावादी र कट्टर हिन्दूवादीहरूलाई मद्दत गरी रहेको छ भने अर्कातिर, मधेशवादीहरूलाई प्रोत्साहित गरेर नेपालको राष्ट्रियताका विरुद्ध हमला गर्ने काम गरी रहेको छ । नेकाले आगामी चुनावमा बहुमत वा दुई–तिहाइ प्राप्त गरेर पहिले संसदद्वारा अस्वीकृत भएको संविधान संशोधन विधेयकलाई पारित गराउने जुन प्रतिबद्धता प्रकट गरेको छ, त्यसले स्थितिलाई अरू गम्भीर बनाउँछ । बताई रहनु पर्ने आवश्यकता छैन, नेपालमा अहिले ती दुवै प्रकारका खतराहरूको मुख्य माध्यम नेका र त्यसको नेतृत्वमा बनेको गठबन्धन नै भएको छ ।
अहिले बनेको वाम गठबन्धनले त्यस प्रकारको खतरालाई पुरै रोक्न सक्ने छ भनेर सोच्नका लागि आधार छैन । गत कालमा उक्त प्रश्नहरूमा उनीहरू पनि कैयौँपल्ट ढुलमूल रहने गरेका छन्् । अहिलेको खास स्थितिमा, खास गरेर अहिलेको चुनावको सन्र्भमा उनीहरूको पक्ष वा उनीहरूले खेली रहेको भूमिका बढी सकारात्मक भएको कुरा स्पष्ट छ, तैपनि स्थायी रूपमा त्यो गठबन्धनमाथि पुरै भर गर्नु सही हुने छैन । त्यस कारण देशमा एकातिर, लोकतन्त्र, अर्कातिर राष्ट्रियताका अगाडि पैदा भएको खतराका विरुद्ध व्यापक जनचेतना उठाएर र तलैदेखि व्यापक जनआन्दोलन सङ्गठित गर्ने प्रयत्न गरेर नै हामीले त्यो खतरालाई रोक्न सक्ने छौँ र रोक्नु पनि पर्ने छ । तर त्यसको एउटा अर्को उज्ज्वल पक्ष पनि छ । भारतले सरदार पटेलको समयदेखि नै नेपाललाई भारतमा गाभ्नका लागि प्रयत्न गर्दै आएको छ । त्यसको नविनतम कडी पहाडबाट तराईलाई अलग गरेर त्यहाँ बेग्लै प्रदेशहरू बनाउनु हो । उनीहरूले खालि एउटै तरिकाले मात्र आफ्नो विस्तारवादी नीतिलाई अगाडि बढाउँदैनन् । उनीहरूले बेग्ला–बेग्लै तरिका वा माध्यमद्वारा आफ्ना उद्देश्यहरू पुरा गर्ने प्रयत्न गर्दछन्् । त्यो तरिकामध्ये एउटा मुख्य हो– नेपालका बेग्ला–बेग्लै राजनीतिक शक्तिहरूलाई किन्ने । अहिलेको चुनावलाई पनि उनीहरूले आफ्नो उद्देश्य पूर्तिको एउटा मुख्य माध्यम बनाएका छन्् ।
अझ स्पष्ट शब्दमा भन्ने हो भने एउटा निर्णयात्मक माध्यम नै त्यो चुनावमा उनीहरू पक्षका राजनीतिक सङ्गठनहरूले बहुमत प्राप्त गर्न सकेमा आफ्ना विस्तारवादी नीतिहरू पुरा गर्न उनलाई धेरै सजिलो हुने छ । तर कुराको अर्को पक्ष पनि छ– पहिले भनिए जस्तै अर्को उज्ज्वल पक्ष । नेपालका जनताले आफ्नो राष्ट्रिय जागरण वा आन्दोलनको बलमा भारतका विस्तारवादी योजनाहरूलाई बारम्बार असफल पार्दै आएका छन्् । अर्कातिर नेपालमा लोकतन्त्रलाई समाप्त गरेर देशलाई प्रतिगमनतिर लैजाने षडयन्त्रहरूलाई पनि नेपाली जनताले बारम्बार असफल पार्ने र लोकतान्त्रिक आन्दोलनलाई अरू उच्च स्तरमा लैजाने कार्य गर्दै आएका छन्् । त्यसरी एकातिर, लोकतन्त्र र अर्कातिर, राष्ट्रियताका पक्षमा नेपाली जनताको गौरवपूर्ण इतिहास रहेको छ । त्यसका आधारमा भविष्यमा पनि लोकतन्त्र वा राष्ट्रियताको रक्षाका लागि वा ती दुवैलाई अरू सुदृढ पार्नका लागि उनीहरू लगातार सङ्घर्षमा अगाडि बढी रहने छन्् भन्ने कुरामा हामीलाई विश्वास त्यसरी गत कालमा झैँ हामीहरू सफल हुँदै जाने छौँ भन्नका लागि पनि आधार छ ।
० यहाँको राजनीतिक यात्राको प्रसङ्ग गासौँ । यहाँ एक प्युठानको सम्भ्रान्त परिवारमा जन्मनु भयो । तर कसरी यो कम्युनिस्ट आन्दोलनमा आफूलाई समर्पित गर्नु भयो ?
–माक्र्सवादी–लेनिनवादी सिद्धान्तहरू पढ्दै गएपछि नै ममा कम्युनिस्ट दर्शन र आन्दोलनप्रति आस्था बढ्दै गयो । त्यसले नै मलाई कम्युनिस्ट आन्दोलनमा दृढतापूर्वक र लगातार बढ्नका लागि प्रेरणा र शक्ति दियो ।
० अन्तमा, आगामी चुनावलाई कसरी नियाली रहनु भएको छ ?
–आज देशमा जुन लोकतन्त्र कायम भएको छ त्यो पनि पर्याप्त छैन र त्यसलाई अरू उच्च र क्रान्तिकारी रूपमा विकसित गर्नु पर्ने आवश्यकता छ भन्ने हाम्रो मान्यता छ । नेपाल बाह्य रूपमा स्वतन्त्र जस्तो देखिए पनि वास्तविक अर्थमा त्यो स्वतन्त्र छैन । किनभने त्यो साम्राज्यवाद र विस्तारवादको प्रभूत्वमा छ, तैपनि अहिले देशमा जे जति लोकतन्त्र कायम भएको छ वा जुन सीमासम्म नेपाल स्वतन्त्र छ, त्यसको रक्षा गर्नु अहिलेको हाम्रो राष्ट्रिय दायित्व भएको छ । एकातिर, भारतीय विस्तारवाद र अर्कातिर, नेकाको नेतृत्वमा बनेको गठबन्धनद्वारा हाम्रो देशको लोकतन्त्र र राष्ट्रियतामा गम्भीर खतरा उत्पन्न भएको छ । त्यस कारण लोकतन्त्र र राष्ट्रियता दुवैको रक्षाका लागि नेकाको नेतृत्वमा बनेको गठबन्धनलाई चुनावमा पराजित गर्नु अहिलेको राष्ट्रिय आवश्यकता भएको छ । त्यसका लागि मैले सम्पूर्ण जनतासित अपिल गर्दछ । (नेपाल तारा डट कमबाट)

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal