२०७५ असार २७ गते, बुधबार   वर्ष ३५, अंक २९
मिति(२०७५ आषाढ ३२, आइतवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
अन्तर्वार्ता
कम्युनिस्ट आन्दोलनको भविष्य उज्ज्वल छ
रामप्रकाश पुरी, प्रवक्ता, नेकपा (मसाल)
(प्रगतिवादी साहित्यमा रुचि राख्ने जो कोहीका लागि पनि परिचित नाम हो– रामप्रकाश पुरी । नेपालको कम्युनिस्ट आन्दोलनमा समेत ढाई दशकदेखि निरन्तर क्रियाशील उनै युवा प्रगतिवादी साहित्यकार रामप्रकाश पुरीलाई नेकपा (मसाल) ले हालै पार्टी प्रवक्ता नियुक्त गरेको छ । 
पिता सर्मु पुरी र माता धनवति पुरीको कोखबाट २०२९ श्रावण १६ गते वाफिकोट–६ काँडा रुकुममा जन्मनु भएका रामप्रकाश पुरीले २०४६ सालदेखि विद्यार्थी सङ्गठनबाट राजनैतिक यात्राको शुभारम्भ गर्नु भएको थियो । विद्यार्थी कालदेखि नै साहित्यिक क्षेत्रमा समेत विशेष अभिरुचि राख्दै आउनु भएका पुरी हाल प्रगतिशील लेखक सङ्घको केन्द्रीय उपाध्यक्ष र अखिल नेपाल प्रगतिशील लेखक सङ्घको महासचिव हुनु हुन्छ । २०४८ सालमा अखिल (छैठौँ) बाँकेको अध्यक्ष रहनु भएका पुरी २०५२ सालमा केन्द्रीय सदस्य चयन हुन भएको थियो । उहाँले २०५३ सालमा अखिल नेपाल राष्ट्रिय जनमोर्चा बाँकेको सचिव पदमा रहेर आफ्नो जिम्मेवारी पुरा गर्नु भएको थियो भने २०७३ सालदेखि नेकपा (मसाल) भक्तपुरको प्रवक्ता रहनु भएको थियो । 
देशमा चलेका राजनैतिक आन्दोलनहरूमा कहिले गृह जिल्ला रुकुम त कहिले बाँके र कहिले काठमाडौँ अनि भक्तपुरमा रहेर रामप्रकाश पुरीले नेतृत्वदायी भूमिका निभाउँदै आउनु भएको छ । २०५४ सालदेखि लगातार १५ वर्ष राजमो रुकुमको अध्यक्ष पदमा रहेर आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आउनु भएका पुरी २०६७ सालमा राजमोको केन्द्रीय सदस्यमा चयन हुनु भएको थियो । विभिन्न सङ्घर्षहरूमा सहभागी रहँदा उहाँ पटक पटक प्रहरी हिरासतमा समेत पर्नु भएको छ । सानैदेखि साहित्यमा विशेष अभिरुचि राख्ने प्रगतिवादी साहित्यकार रामप्रकाश पुरीका हालसम्म तीन महाकाव्य (विचरण, अक्षुण र सङ्कल्प), तीन उपन्यास (नानीकी आमा, सच्चाइएको गीत र वनमाराका बुटाहरू) र दुई खण्डकाव्य (ग्रहण नलागोस् र स्मृति) प्रकाशित भई सकेका छन् । ती बाहेक पत्रपत्रिकाहरूमा अनगिन्ती फुटकर लेख÷रचनाहरू प्रकाशित छन् । पछिल्लो समयमा हाँक साप्ताहिकको समेत उहाँ नियमित स्तम्भकार हुनु हुन्थ्यो । राष्ट्रिय शिक्षा पुरस्कार र राप्ती सिर्जना पुरस्कार लगायतका विभिन्न पुरस्कारबाट पुरस्कृत समेत भई सक्नु भएका प्रगतिवादी साहित्यकार पुरी २०६९ चैत्रमा प्रगतिशील लेखक सङ्घको केन्द्रीय सदस्य र हाल उपाध्याँको जिम्मेवारीमा रहनु भएको छ । 
आफ्ना साहित्यिक कृतिहरू मार्फत्् नेपालको प्रगतिवादी साहित्यिक आन्दोलनमा अमूल्य योगदान पुर्‍याउँदै आउनुु भएका उनै प्रगतिवादी युवा साहित्यकार रामप्रकाश पुरी नेकपा (मसाल) को केन्द्रीय प्रवक्तामा चयन भएपछि हामीले देशको समसामयिक परिस्थिति र कम्युनिस्ट आन्दोलनका बारेमा विस्तृत कुराकानी गरेका थियौँ । प्रस्तुत छ– नेकपा (मसाल) का नवनियुक्त प्रवक्ता रामप्रकाश पुरीसँग गरिएको उक्त कुराकानीका महत्वपूर्ण अंशहरू)
नेकपा (मसाल) को केन्द्रीय प्रवक्ता बन्नु भएछ, कस्तो महशुस गर्नु भएको छ ?
– एउटा कम्युनिस्ट पार्टीका प्रत्येक जिम्मेवारीहरू अत्यन्त महत्वपूर्ण र गरिमायुक्त हुन्छन् । किनभने ती जिम्मेवारीहरू पुरा हुन सकेमा नै कम्युनिस्ट पार्टीले आफ्ना उद्देश्यहरू पुरा गर्न सक्दछ । यसर्थ जिम्मेवारीहरू सानो वा ठुलो भन्ने हुँदैन । आजसम्मको इतिहासमा कम्युनिस्टहरूले जे जति लक्ष्यहरू हासिल गरेका छन्, त्यो उनीहरूको जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता र प्रवृत्ति भएकाले सम्भव भएका हुन् । उनीहरूको जिम्मेवारीप्रतिको सम्मान र लगावका कारणले मात्र महान परिवर्तनहरू भएका थिए । कामका दौरानमा पार्टीले आवश्यकता अनुसार व्यवस्था गरे बमोजिम चल्नु, गर्नु र रहनु कम्युनिस्ट अनुशासन र नैतिकता हो । पद वा प्रतिष्ठासित जोडेर कुनै पनि जिम्मेवारीलाई हेर्नु हुँदैन र त्यसरी लिनु पनि हुँदैन । कुनै जिम्मेवारी प्राप्त गरेपछि त्यसलाई पुरा गर्न इमान्दारिताका साथ प्रयत्न गर्नु नै महत्वपूर्ण कुरा हो । जिम्मेवारीप्रति अनुत्तरदायी रहने तर पदको तौल नापजाँच गर्ने कुरा कम्युनिस्ट संस्कार होइन, यस्ता संस्कारहरूलाई कहिल्यै पनि स्थान दिइनु हुँदैन । हामी यसमा स्पष्ट नै छौँ । जहाँसम्म म नेकपा (मसाल) को केन्द्रीय प्रवक्ता भएको कुरा छ, यो एउटा गम्भीर जिम्मेवारी हो । खासगरी पार्टी नेतृत्वका विचार र निर्णयका विषयहरूलाई सार्वजनिक जीवनमा स्थापित गराउन मैले यथाशक्य र सम्भव भएजतिका प्रयत्नहरू गर्नु पर्दछ । पार्टी जीवनका विभिन्न कार्यक्षेत्रहरूमध्ये यो एउटा कार्यक्षेत्र हो । पार्टीले यसलाई पहिलेदेखि नै सार्वजनिक जीवनमा ल्याएकाले चर्चाको विषय भएको मात्र हो । तर यथार्थमा नेकपा (मसाल) जस्तो कम्युनिस्ट पार्टीमा हरेक जिम्मेवारीहरूको आफ्नै महत्व र गहनता हुन्छ । तीमध्ये कुनैमा आवश्यकता अनुसार अरू कमरेडहरूलाई जस्तै मलाई पनि जिम्मेवारी प्राप्त हुन्थ्यो । त्यसरी जिम्मेवारी प्राप्त गर्दा मलाई कहिल्यै पनि हिननताबोध भएन र तिनीहरूलाई मैले हार्दिकता र प्रशन्नतापूर्वक आत्मसात गर्दै आएको छु । अहिलेको जिम्मेवारी पनि त्यसैको एक निरन्तरता हो अर्थात् यो समयमा पार्टीले आफ्नो आवश्यकताका आधारमा मलाई दिएको जिम्मेवारी हो, जसलाई मैले पुरा गर्ने प्रयत्न गर्नु पर्दछ ।
देशको वर्तमान राजनैतिक अवस्थालाई नेकपा (मसाल) ले कसरी विश्लेषण गर्दछ, सङ्क्षिप्तमा बताई दिनु होस् न ।
– नेपाली जनताले लामो समयदेखि हक र अधिकारका विभिन्न सङ्घर्षहरू गर्दै आएका छन् । ती सङ्घर्षहरूमध्ये २०६२–६३ को जनआन्दोलन एउटा महत्वपूर्ण सङ्घर्ष हो । यसले संस्थागत रूपमा जरा गाडेर बसेको राजतन्त्रलाई समाप्त पार्नका लागि ऐतिहासिक भूमिका खेल्यो र नेपालमा गणतान्त्रिक युगको ढोका खोल्यो । लोकतान्त्रिक अधिकारहरूको सुनिश्चितताका लागि संविधानका निर्माताहरू जनताबाट निर्वाचित हुनु पर्छ भन्ने नेकपा (मसाल) ले लामो समयदेखि गर्दै आएको संविधान सभाको सङ्घर्षलाई यस आन्दोलनले मूर्तता दियो । नेपालमा संविधान सभासम्बन्धी सङ्घर्षको लामो इतिहास कुनै शक्तिको छ भने त्यो नेकपा (मसाल) वा यसको नेतृत्वको नै छ । इतिहासको त्यो वास्तविकतालाई कसैले छिपाउन सक्दैन । अहिले त्यो इतिहासतर्फ नजाऔँ । तर नेपालमा दुई पटक संविधान सभाका चुनावहरू भए र दोश्रो पटक गठन भएको संविधान सभाले नेपालको संविधान २०७२ निर्माण गर्‍यो । यो संविधानको स्थिति र हैसियत जे भए पनि यसको निर्माण जनताद्वारा निर्वाचित जन प्रतिनिधिहरूले गरेका हुन् । यो संविधानमा व्यवस्था गरिएका सङ्घीयता लगायतका कतिपय विषयहरूसित नेकपा (मसाल) का तीव्र मतभेदहरू छन् । तर यसका बाबजद पनि गणतन्त्र, धर्म निरपेक्षता लगायतका कैयौँ राम्रा पक्षहरू पनि यसमा व्यवस्था भएका छन् । ती व्यवस्थाहरू स्वतन्त्र र सार्वभौमिक सम्पन्न गणतान्त्रिक नेपाल निर्माण गर्नका लागि अत्यन्त आवश्यक पक्षहरू हुन् । यी कुरा नेपाली जनताका सङ्घर्षहरूका ठोस उपलब्धिहरू हुन् । यिनको संरक्षण र विकास देशको अगाडि उभिएको अहिलेको समस्या हो । सबैलाई थाहा छ कि नेपालमा संविधान जारी गर्दा भारतीय शासक वर्ग सन्तुष्ट थिएन । किनभने भारतले नेपालप्रतिका आफ्ना विस्तारवादी उद्देश्य पुरा गर्न मार्गप्रशस्त हुने गरेर नै संविधानको निर्माण गराउन चाहन्थ्यो । तर नेपालको संविधानले उनीहरूको त्यो विस्तारवादी उद्देश्यलाई पुरै प्रतिनिधित्व गर्दैनथ्यो । त्यसैले भारतले नेपालको संविधान कार्यान्वयनमा ठुलो बाधा हाल्दै आई रहेको छ । भूकम्पको सामना गरी रहेका नेपाली जनतालाई भारतीय नाकाबन्दीको सामना गर्नु पर्ने स्थिति त्यत्तिकै आएको थिएन । मधेशवादीहरूले उठाएका विषयहरूमा भारतको समर्थन र सहयोग रहनुमा उसको विस्तारवादी नियतको नाङ्गो पराकाष्ठा हो । राष्ट्रियतामाथिको चुनौतीको यो सिलसिला संविधान संशोधनका लागि भारतीय दबाब र मधेशवादीहरूको मागका रूपमा प्रकट भयो । उक्त संशोधनलाई समर्थन गर्ने र नगर्नेबीचको सङ्घर्ष राष्ट्रियताका लागि हुने वैधानिक सङ्घर्ष बन्न गएको थियो । आज पनि त्यो स्थिति कायम नै छ ।
नेपालमा स्थानीय, प्रदेश र प्रतिनिधि सभाका चुनावहरू सम्पन्न भएका छन् । संविधान कार्यान्वयनको दिशामा यो एउटा सानो पहलकदमी थियो । यी सबै चुनावहरूमा वाम पक्षधरहरूले बहुमत हासिल गरेका छन् । विभिन्न वाम शक्तिहरूले आफ्नै पहलकदमी वा संयुक्त रूपमा पनि विगतमा राष्ट्रियता र जनजिविकाका मुद्दाहरूलाई उठाउँदै आएकाले अब देशमा उनीहरूको शक्तिको वर्चस्व रहेको स्थितिमा एउटा यक्ष प्रश्न खडा भएको छ ः के वाम पक्षधरहरूले देशको वर्तमान अवस्थामा कुनै परिवर्तन ल्याउने छन् ? शायद यसको जबाफ दिनका लागि वाम पक्षधरहरूले आफ्नो व्यवहार प्रस्तुत गर्नु पर्ने छ । उनीहरूले आफ्नो सरकारका कार्यक्रम र नीतिहरू मार्फत् यसको जबाफ दिनु पर्ने छ । तर योभन्दा अगाडि हामीले हेरौँ र हामी देख्छौँ कि देशी विदेशी प्रतिक्रियावादीहरूले वाम पक्षहरूलाई त्यस प्रकारको सरकार सञ्चालन गर्न वा संविधानमा उल्लेख भएको समाजवाद उन्मुख प्रगतिशील कार्यहरू गर्नबाट रोक्न सबै प्रकारका षडयन्त्र र हतकण्डा अपनाउने सुरसार गरी रहेका छन् । देशको वर्तमान राजनीतिक अवस्थाको यो एउटा वास्तविकता हो । यो वास्तविकताले स्पष्ट गर्दछ कि संविधानको कार्यान्वयन अहिलेको मुख्य विषय हो । यो मुख्य विषय बन्नुको पछाडि धेरै कारणहरू छन् । जस्तै कि गणतन्त्र, धर्म निरपेक्षता र अरू लोकतान्त्रिक अधिकारहरूलाई व्यावहारिक रूप दिन बाँकी नै छ । यिनीहरूलाई संस्थागत रूप दिनबाट रोक्नका लागि राजावादी, कट्टर हिन्दूवादी, पृथकतावादी तथा देशी–विदेशी प्रतिक्रियावादीहरू एकताबद्ध भएर अगाडि आई रहेको अवस्था छ । यो कुरा हामीले संविधान निर्माणको प्रकृया, संविधानको घोषणा र निर्वाचनहरूमा स्पष्ट देखेका छौँ । यी गम्भीर चुनौतीका बीचबाट वाम पक्षधरहरूलाई जुन चुनावी सफलता मिलेको छ, त्यसलाई कम्युनिस्ट जनमतका हिसाबबाट, नेपालको र विश्वकै राजनीतिक परिवेशबाट विचार गर्दा यो एउटा महत्वपूर्ण कुरा हुन गएको छ । देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरूले यसलाई निस्तेज गर्न धेरै प्रयास गर्ने सङ्केतहरू अगाडि आई रहेका छन् । यसले वाम पक्षधरहरूलाई चुनावी सफलतापछि सामना गर्नु पर्ने अवस्थाहरूको बोध गराउँछ । देशको सङ्क्रमण कालीन स्थितिमा परिवर्तनहरू आउन अझै केही प्रकृयाहरू बाँकी छन् । यसका लागि वर्तमान संविधानको छिटोभन्दा छिटो कार्यान्वयन हुनु आवश्यक छ ।
नेकपा (एमाले) र माओवादी–केन्द्रबीच भएको चुनावी गठबन्धन र पार्टी एकताको घोषणालाई कसरी लिनु भएको छ ? के यो कम्युनिस्टहरू वा वाम पार्टीबीचको एकता हो ?
– जहाँसम्म एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धनको कुरा छ, त्यो कुरा र पार्टी एकता एउटै कुरा होइनन् । कार्यनीतिक सवालहरूमा बेग्ला–बेग्लै अवस्थामा बेग्ला–बेग्लै शक्तिहरूसित कार्यगत एकता गर्ने मान्यतालाई हामीले स्वीकार गर्दछौँ । उनीहरूको चुनावी गठबन्धन देशको वर्तमान स्थितिको एउटा आवश्यकता पनि थियो । त्यो आवश्यकता यस कारण उत्पन्न भएको थियो कि देशमा राजावादी, कट्टर हिन्दूवादी, पृथकतावादी तथा प्रतिक्रियावादी शक्तिहरूले आफूलाई शक्तिशाली बनाउनका लागि राष्ट्रियतालाई नै बन्धकमा राख्ने र संविधानमा राष्ट्रघाती प्रकारको संशोधन गर्ने ठुलो कसरत गरे । यसमा माओवादी–केन्द्र समेत सामेल भएको देउवा सरकारले भूमिका खेल्न थाल्यो । यहाँसम्म कि प्रधानमन्त्री देउवाले भारतलाई यो विश्वास दिलाउन पुगे ः एक पटक संसदबाट अस्वीकृत भई सकेको संविधान संशोधनको विषयलाई फेरि संसदमा बहुमत पुर्‍याएर संशोधन गर्ने । अब तपाई विचार गर्न सक्नु हुन्छ, स्थितिको कसरी विकास भई रहेको थियो । यदि काङ्ग्रेस पक्षीय गठबन्धनले चुनावमा विजय हासिल गरेको भए देउवाले भारतलाई जुन विश्वास दिलाएका थिए, त्यो पुरा गर्ने, धर्म निरपेक्षतालाई समाप्त गरी नेपाललाई हिन्दू राज्य बनाउने र गणतन्त्रमाथि गम्भीर आघात पुर्‍याउने कामहरू हुने सम्भावना थियो । वाम गठबन्धनको चुनावी परिणामबाट मुलुकलाई तत्कालका लागि यस्तो हुनबाट रोकेको छ भने यो त सकारात्मक कुरा नै भयो । यी सबै विषयप्रति दूरदर्शितापूर्वक विचार गरेर चुनावको समयमा नै वाम गठबन्धनलाई सकारात्मक रूपमा लिइएको भनी महामन्त्रीको वक्तव्य आएको थियो, जसलाई घटनाक्रमहरूले सही सिद्ध गरे ।
उहाँले विचार र व्यवहार मिल्नेहरूका बीचको एकतालाई स्वाभाविक बताउनु भएको छ । २०४७÷४८ तिर पार्टी एकतासम्बन्धी हाम्रो पार्टी र अरू पक्षहरूबीचमा छलफल चली रहँदा उहाँको यो विचार सैद्धान्तीकरण भएको थियो । आज हामीले एकतासम्बन्धी जुन मत व्यक्त गर्दछौँ, त्यो त्यही विचारमा आधारित मान्यता हो । त्यही वैचारिक धरातलमा टेकेर हामीले एमाले र माओवादी–केन्द्रबीचको पार्टी एकतालाई विश्लेषण गर्नु पर्दछ । उनीहरूका बीचमा धैरै वैचारिक र व्यावहारिक कुराहरू मिल्न सक्ने स्थिति देखिएको छ । साँच्चै भन्ने हो भने विचार र व्यवहार मिल्नेहरूको एकता हुनु स्वाभाविक छ । त्यसैले उनीहरूबीचमा हुने एकतालाई हामीले स्वाभाविक रूपले लिनु पर्दछ । 
एमाले—माओवादी र नेकपा (मसाल) का बिच साङ्गठनिक एकता हुने चर्चा पनि सुनिएको थियो नि, यसमा कति सत्यता छ ?
– हाम्रो पार्टीको यो स्पष्ट र निश्चित दृष्टिकोण छ कि पार्टी एकता माक्र्सवादी–लेनिनवादी सिद्धान्त, राजनैतिक लाइनका आधारमा नै हुन्छ र हुनुपर्दछ । उक्त प्रश्नहरूमा हामीले बेग्ला–बेग्लै पक्षहरूसित छलफल गर्दै आएका छौँ र भविष्यमा पनि त्यस प्रकारको बहस हुने छ । त्यो सैद्धान्तिक प्रश्न हो र सार्वजनिक रूपमा पनि त्यस प्रकारको बहस हुन सक्ने छ । त्यो बहसले कुन पक्षपिसत पार्टी एकता हुन सक्ने वा नहुने कुरा प्रष्ट गर्दै जाने छ । जहाँसम्म एमाले र माओवादी केन्द्रसित पार्टी एकताको प्रश्न छ, त्यसबारे अहिले कुनै सम्भावना देखिन्न । तर पार्टी एकताको प्रश्नमा उनीहरूसित पनि सैद्धान्तिक रूपले बहस गर्न सकिने छ ।
अन्य ‘वाम’ पार्टी र नेकपा (मसाल) बीचको तात्विक अन्तर कसरी प्रष्ट्याउनु हुन्छ ?
– नेपालमा विभिन्न वाम समूहहरू रहेका छन् । उनीहरू र नेकपा (मसाल) बीचमा थुप्रै वैचारिक, सैद्धान्तिक र साङ्गठनिक संरचनासम्बन्धी अन्तरहरू छन् । नेकपा (मसाल) ले कार्यनीति तय गर्दा माक्र्सवादी–लेनिनवादी धरातलमा उभिएर ठोस स्थितिको ठोस विश्लेषणको आधारमा गर्दछ । यसले आफ्ना गतिविधिहरूलाई सर्वहारा वर्गको उद्देश्य प्राप्तिका निम्ति केन्द्रित गर्दै आई रहेको छ । यसका रणनीतिक कार्यक्रमहरू सर्वहारा वर्गको राज्यसत्ता निर्माण गर्नका लागि हुन्छन् । त्यसैले यसले अपनाउने कार्यनीतिहरू ती रणनीतिहरूको उद्देश्यलाई पुरा गर्ने दृष्टिकोणबाट प्रभावित भएका हुन्छन् । यसलाई यसरी पनि भन्न सकिन्छ कि नेकपा (मसाल) एउटा माक्र्सवाद–लेनिनवाद र माओ विचारधारालाई आफ्नो पथप्रदर्शक सिद्धान्त मान्ने एउटा कम्युनिस्ट पार्टी हो । यसले वर्तमान व्यवस्थाका राजनीतिक निकायहरूलाई कार्यनीतिक रूपमा मात्र उपयोग गर्दछ । नेपालका कतिपय वाम शक्तिहरूसित रणनैतिक रूपमा नै हाम्रो भिन्नता छ भने कतिपय पक्षहरूसित तात्कालिक कार्यनीतिका प्रश्नका हाम्रो मतभिन्नता छ ।
देश भर्खर प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गरी नयाँ सरकारको पर्खाइमा छ । नयाँ सरकार गठनसम्बन्धी तपाईहरूको ठोस दृष्टिकोण के हो ?
– यी चुनावहरूमा वाम गठबन्धनले बहुमत हासिल गरेको छ । एमाले र माओवादी केन्द्रका विचार र सिद्धान्तबारे छलफल गर्ने कुरा अलग हो । तर उनीहरूले जुन चुनावी सफलता हासिल गरे त्यसले विश्वको राजनीतिमा महत्व राख्दछ । उनीहरूलाई विश्व साम्राज्यवादको विगविगीको बीचमा पनि कम्युनिस्ट जनमत जुन किसिमले प्राप्त भयो । त्यसबाट संसार र देशभित्रका प्रतिक्रियावादीहरू त्रस्त छन् । त्यसैले सकेसम्म वाम गठबन्धनलाई सरकार गठन गर्न नदिने वा अपदस्थ गर्न हतकण्डाहरू अपनाउने कुरा निश्चित छ । हामीले यो स्थितिमा प्रगतिशील पक्षको सरकार गठनका लागि समर्थन गर्ने नीति अपनाउँछौँ । देशको राष्ट्रियता, सार्वभौमिकता, गणतन्त्र, धर्म निरपेक्षता, समाजवाद उन्मुख लगायतका प्रगतिशील कार्यहरू गर्नका लागि पनि चुनावबाट विजय भएका शक्तिहरूमध्ये, जो सरकार गठनको क्षमताको नजिक रहेका छन्, तिनीहरूमध्ये प्रगतिशील पक्ष भनेको वाम गठबन्धन नै हो, जसले सरकार बनाउन आवश्यक छ ।
के अब बन्ने सरकारमा तपाईहरूको वैधानिक मोर्चा पनि सामेल हुने छ ?
– यस विषयमा अहिले केही भन्नु त्यो समयभन्दा पहिलेको कुरा हुने छ । कुनै खास बेलाको राजनैतिक स्थितिमाथि विचार गरेर सरकारमा सामेल हुन सक्ने नीतिलाई हाम्रो पार्टीले स्वीकार गरेको छ । तर त्यसको अर्थ कुनै पनि सरकारमा स्वतः सामेल हुने भन्ने होइन । कुनै खास बेलाको स्थिति, राजनैतिक आवश्यकता, सरकारको स्वरूप वा पारस्परिक छलफलका आधारमा नै कुनै सरकारमा सामेल हुने वा नहुने कुराको टुङ्गो लाग्दछ । त्यसैले अहिलेसम्म आगामी बन्ने सरकारमा सामेल हुने वा नहुनेबारे हाम्रो पार्टीले कुनै निर्णय गरेको छैन ।
जनताको लामो सङ्घर्ष पश्चात् बनेको संविधान सभाबाट निर्मित नेपालको संविधानमा देश अब “समाजवाद उन्मुख” रहने उल्लेख छ । भनेपछि तपाईहरूले चाहे अनुसारको समाजवादतर्फ नै देश अब अघि बढेको हो ?
– वर्तमान अवस्थामा हामी अर्ध औपनिवेशिक र अर्ध सामन्ती अवधिबाट गुज्री रहेका छौँ । नेपालको सामाजिक व्यवस्थाको स्थिति, उत्पादन प्रणालीको अवस्था र जनताको चेतनाको स्तरबाट हामी कुन युगमा छौँ भन्ने कुरा थाहा हुन्छ । तर यसका बाबजुद पनि नेपालमा पटक पटक राजनीतिक आन्दोलनहरू भएका छन् र ती आन्दोलनहरूले राजनीतिक निकायहरूमा पहुँच राख्ने वर्ग पूँजीवादी हुने कुरालाई स्थापित गरी दिएका छन् । त्यसैले नेपालको राजनीतिक सत्ता पूँजीवादी प्रकारको हुन्छ तर पूँजीवादी नै हुँदैन । किनभने उत्पादन प्रणाली र सामाजिक व्यवहारहरूमा अर्ध सामन्तीको स्थिति छ । यसलाई हामीले यसरी बुझ्न सक्यौँ भने नेपालको संविधानमा लेखिएको ‘समाजवाद उन्मुख’ भन्ने कुरा महत्वपूर्ण कुरा नै हो । पूँजीवादी व्यवस्थाले समाजवादी व्यवस्थाका लागि आधार तयार पार्दछ भने समाजवाद उन्मुखको कुरा प्रगतिशील कुरा नै हो । पूँजीवादी सरकारले गर्ने सुधार र प्रगतिशील कार्यहरूले कम्युनिस्ट समाजवादी क्रान्तिका लागि सकारात्मक टेवा पुग्दछ । हामीले भनेको यति मात्र हो । हामीले चाहे अनुसारको समाजवादतर्फ देश अगाडि बढेको भनी हामीले भनेका छैनौँ, हामीले चाहे अनुसारको समाजवाद प्राप्त गर्नका लागि उच्च औद्योगिक विकास, नयाँ जनवादी व्यवस्थाको निर्माण र विद्यमान अर्ध सामन्ती तथा अर्ध औपनिवेशिक व्यवस्थाको अन्तको आवश्यकता पर्दछ । समाजवाद उन्मुखको अर्थ त यो हो कि विद्यमान आर्थिक, राजनीतिक अवस्थाको सीमाभित्र पनि अधिकतम प्रगतिशील परिवर्तनहरू, मिहिनेतकश, शोषित र उत्पीडित जनतामाथिका शोषण, उत्पीडन बढीभन्दा बढी कम गर्ने प्रयत्न, उनीहरूको अवस्थामा सुधार, मजदुर, किसान, महिला, जनजाति, दलित, मधेशी, मुश्लिम वा पिछडिएका क्षेत्रहरूका हितहरूको संरक्षण र विदेशी आर्थिक वा राजनीतिक प्रभुत्वबाट निस्कन केही प्रयत्न र राष्ट्रिय हितको पक्षमा अडान । हामीले यो कुरा स्पष्टताका साथ बताई रहेका छौँ । हामीले लिएको नीति के हो ? के समाजवाद र समाजवाद उन्मुखको अर्थ सम्बन्धीमाथि उल्लेखित कुराहरूले स्पष्ट गर्दैनन् र ?
तपाईहरूले २०४९ सालको स्थानीय निर्वाचनदेखि लगातार संसदीय निर्वाचनमा भाग लिई रहनु भएको छ । केपी ओली नेतृत्वको सरकारमा त सामेल नै हुनु भयो । वुर्जुवा संसदीय व्यवस्थाप्रतिको यो निरन्तर सहभागिताले पार्टीको क्रान्तिकारी नीति, सिद्धान्त र छविमा कत्तिको असर पारेको महशुस गर्नु भएको छ ?
– एउटा सही कम्युनिस्ट पार्टीले मात्र आफूलाई जहाँ प्रवेश गराए पनि कुशलतापूर्वक आफूलाई बाहिर निकाल्न सक्छ । अभिमन्यु जस्ता भएर मर्ने कम्युनिस्ट पार्टीको स्थिति हुँदैन । पस्न जान्ने तर निस्कन नजान्ने अभिमन्युहरू विश्वमा र नेपालको कम्युनिस्ट आन्दोलनमा पनि प्रशस्त मात्रामा देखा परे । तर नेकपा (मसाल) नै त्यो एउटा सच्चा कम्युनिस्ट पार्टी हो, जो प्रतिकुल परिस्थितिमा पनि आफूलाई मात्र होइन, आन्दोलन, विचार, सिद्धान्त र जन समुदायलाई समेत आफू सँगसँगै हिडाउन सफल भएको छ । यो उसका सही नीतिहरूका कारणले मात्र सम्भव भएको हो । यो सत्य हो कि लामो समयदेखि पार्टीले संसदीय निर्वाचनमा भाग लिएको छ र संसदमा आफ्ना प्रतिनिधिहरू पठाएको छ । यो पनि सत्य हो– संसदमा सबैभन्दा बढी जनपक्षीय मुद्दाहरूको उठान गर्ने शक्ति पनि यसको वैधानिक मोर्चा थियो । यसका साथै यो पनि सत्य हो कि यसको वैद्यानिक मोर्चाबाट संसदमा पुगेका ती कुनै पनि प्रतिनिधिहरू कुनै पनि विवादास्पद विषयहरूमा मुछिएनन् वा तानिएनन् । क. चित्र बहादुर केसी ओली सरकारमा सहभागिता हुनु भएको थियो । यो एउटा सुन्दर इतिहास हो कि हाम्रो यो समयमा क. केसी जस्तो स्वच्छ छवि भएको उच्च व्यक्तित्वलाई सरकारमा पठाएर कम्युनिस्टहरू सरकारमा सामेल भएर के गर्न हुन्छ वा के गर्न हुँदैन भन्ने अभ्यास गर्न सफल भयौँ । क. केसी जुन अवस्थामा पार्टीको छवि लिएर सरकारमा जानु भएको थियो, फर्कदा उहाँले अरू केही थप छविहरू पनि थपेर पनि फर्किनु भयो । त्यो महत्वपूर्ण छवि थियो ः देश र जनताका विरुद्ध आफू सामेल भएको सरकारले विधेयक ल्याउँदा पनि त्यसका विरुद्धमा मतदान गर्दै देश र जनताका पक्षमा दृढतापूर्वक उभिनु । यो कुरा कसैले गरेको थिएन, तर क. केसी जस्तो उच्च व्यक्तित्व र छवि आर्जन गरेको व्यक्तित्वबाट सहजतापूर्वक यो कार्य हुन सम्भव भयो । त्यसै गरी क. केसी सरकारमा रहँदा कसैको पनि गलत प्रभावमा पर्नु भएन । उहाँले गलत तरिकाबाट राज्यको शक्तिलाई दुरूपयोग गर्ने कुरालाई सशक्त प्रकारले इन्कार गरी दिनु भयो । उहाँको यो व्यवहार कतिपय आफ्नाहरूलाई मन परेन होला, त्यो कुराको उहाँले प्रवाह गर्नु भएन । हामी संसद र सरकारमा वैधानिक मोर्चा मार्फत् सहभागी भयौँ । हामीले जे गर्‍यौँ, त्यो देश, जनता र पार्टीका लागि सकारात्मक योगदान दिने किसिमले गर्‍यौँ । यी सबै कार्यहरू गर्दा हाम्रा सिद्धान्त, विचार, नीति र छविमा कुनै आँच आएको छैन । केही मानिसहरूले गलत ढङ्गले हाम्रो मान्यताहरूमाथि आक्रमण गर्ने हेतुले अफवाह फैलाए पनि त्यो कुरा सत्य होइन । किनभने हाम्रो अगाडि इतिहास साक्षीको रूपमा खडा छ ।
भर्खरै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन परिणामले त तपाईहरूको साङ्गठनिक अवस्था कमजोर बन्दै गएको देखायो नि, आफ्नो लोकप्रियता कम हुनुको मुख्य कारक केलाई मान्नु हुन्छ ?
– विश्वमा कम्युनिस्ट आन्दोलन नै रक्षात्मक अवस्थामा रहेको बेलामा हामीले वर्तमानमा जुन जनमत प्राप्त गरेका छौँ, यो चानचुने जनमत होइन । एउटा सही कम्युनिस्ट पार्टीका लागि जनताले राजनीतिक चेतनाका आधारमा मात्र मत दिने हुन् । साम, दाम, दण्ड, भेदका साथ चुनावी मैदानमा आएका सबैजसो पक्षहरू आफू एक्लै उक्त मैदानमा आएका थिएनन् । उनीहरू देशी–विदेशी शक्तिहरूका साथमा, पूँजीपतिहरूको साथमा, पैसाको साथमा नै जनताको मत बटुल्न उक्त मैदानमा खडा भएका थिए । तर हामी विशुद्ध आफ्नो राजनीतिक उद्देश्यका साथमा उनीहरूसित टकराएका थियौँ । त्यसरी टकराउँदा हामीलाई विश्वास गर्ने जनताको तप्का पनि उल्लेख्य छ भन्ने कुरा हामीले भुल्नु हुँदैन ।
यसका साथसाथै हामीले आवश्यक भूमिका निर्वाह गर्न सकेनौँ भन्ने कुरा पनि हो । यसमा धेरै कुराले प्रभाव पारेका हुन्छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति पनि हाम्रा लागि प्रतिकूल अवस्थामा रहेको, जनतामा क्रान्तिकारी चेतनाको कमी, हाम्रो कमजोर जनाधार, हाम्रो साङ्गठनिक स्थिति पनि कमजोर रहेको आदि पक्षहरूले गर्दा यस प्रकारको चुनावी परिणाम हामीलाई प्राप्त भयो । लोकप्रियता कम भएको भन्ने कुरा सत्य होइन । लोकप्रियता भन्ने कुरा आफैमा सत्य होइन । किनभने लोकप्रिय हुने सबै कुराहरू राम्रा र अव्वल हुन्छन् भन्ने होइन । खरिद गरिएको लोकप्रियता र जनताको सचेतताबाट व्यक्त हुने लोकप्रियताको तुलना हुन सक्दैन । एउटा कम्युनिस्ट पार्टीले लोकप्रियताका यी पक्षहरूलाई राम्ररी छुट्याउन सक्छ र सक्नु पनि पर्दछ ।
संसारका विभिन्न देशहरूमा वुर्जुवा सरकारमा सामेल भएका पार्टीहरू प्रायः संसदीय दलदलमै भासिएर क्रान्तिकारी नीति, सिद्धान्त र स्प्रिट तिलाञ्जली दिएको देखिन्छ । नेकपा (मसाल) बाट त्यो इतिहास दोहोरिने छैन भनेर जनतालाई कसरी विश्वस्त पार्नु हुन्छ ?
– सङ्घर्षको कालक्रममा को के हुन्छ भन्नेबारेमा यो सत्यलाई पनि यहाँहरूको अगाडि राख्नु उपयुक्त हुन्छ । अक्टोबर क्रान्ति सम्पन्न गरी लामो समयसम्म सोभियत सत्ता चलाएको त्यो बोल्सेभिक पार्टी आज रूसमा खोजेर पनि पाइदैन । चीनमा महान् जनवादी क्रान्ति गरेको त्यो क्रान्तिकारी पार्टी पनि त्यहाँ रहेन । यति कुरा गरी सकेपछि विभिन्न सत्ता प्रलोभनमा परेर सत्तामा जानेहरू त्यतैतिर भासिनेहरूको त झन् के कुरा भयो र ? भनाइको अर्थ त यो हो कि क्रान्तिकारी सत्ता स्थापना गरी सो सत्ता समेत चलाएका शक्तिहरू समेत समाप्त हुन सक्दछन् । त्यो एउटै कारणले हो ः सही सिद्धान्त र रणनीति तथा त्यस बमोजिम कार्यनीति । नेकपा (मसाल) ले लिएको कार्यनीति सही भएका कारणले नै यसको अस्तित्व कुनै न कुनै रूपमा व्यक्त भई रहन्छ । चुनाव वहिष्कार गर्दा, चुनाव उपयोग गर्दा वा सरकारमा सामेल हुँदा समेत यसको कार्यनीति सही भएकाले यो एउटा वास्तविक क्रान्तिकारी शक्तिको रूपमा रही रहन सफल भएको छ । हामी जनतालाई दृढ विश्वासका साथ यो कुरा बताउन चाहन्छौँ कि नेकपा (मसाल) नै त्यो एउटा शक्ति हुने छ, जसले नीति, सिद्धान्त र क्रान्तिकारी स्प्रिटमा एकनासको प्रवाह कायम गरेर वर्तमान राज्य व्यवस्थाका राजनीतिक निकायहरूलाई प्रयोग गर्दै सःकुशल बाहिर निस्कन सक्ने छ । यो कुरा यसको सम्पूर्ण विगतले प्रमाणित गर्दै आएको छ ।
दिन–प्रतिदिन दुर्बल बनी रहेको नेपालको सच्चा कम्युनिस्ट आन्दोलनलाई सबल पार्न के छन्, तपाईहरूसँग त्यस्ता ठोस योजनाहरू ?
– सच्चा कम्युनिस्ट आन्दोलनको विकास हुनाका लागि हामीले हाम्रा अग्रजहरूले गरेको त्याग, तपस्या, सङ्घर्ष र साधनाको जगमा टेकेर उच्च क्रान्तिकारी आदर्शका साथ खटनपटनमा लाग्नु पर्छ । जनताका बीचमा जाने र उनीहरूलाई कम्युनिस्ट मान्यताबारे प्रशिक्षित गर्नु पर्छ । ग्रामीण वर्गसङ्घर्षमा व्यापक रूपले ध्यान केन्द्रित गर्नु पर्छ । जनताका विभिन्न समस्याहरूसित जोडिएर काम गर्नु पर्छ । यो काम आम कार्यकर्ता, जन प्रतिनिधिहरू सबैले गर्नु पर्छ । पार्टीका सबै जनवर्गीय सङ्गठनहरू राम्रोसँग परिचालित होउन्, पार्टी सदस्यहरूले आफ्नो जिम्मेवारीको महशुस गर्नु आवश्यक छ । फलामे अनुशासन र उच्च क्रान्तिकारी आदर्शका साथ क्रान्तिको लामो यात्रा हिड्न सक्ने धैर्यता पनि आर्जन गर्दै जानु पर्छ । यी सबै कुराहरूलाई एकै ठाउँमा मिलाएमा बोल्सेभिक स्प्रीट निर्माण हुन्छ । यी योजनाहरूमा प्रत्येक पार्टी सदस्यले कति योगदान दिएको छ ? त्यसले नै शक्तिशाली कम्युनिस्ट पार्टीको भविष्यलाई सुनिश्चित गर्न सक्छ । जिम्मेवारी बोध बिनाको चाहनाबाट यो कुराको परिकल्पना हुन सक्दैन । 
नेपाल र विश्व कम्युनिस्ट आन्दोलनको समग्र भविष्य कस्तो देख्नु हुन्छ ?
– अहिले विश्वमा र नेपालमा पनि क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको शक्तिको स्थिति कमजोर भएको सत्य हो । तर विश्व स्तरमा र नेपालमा पनि कम्युनिस्टप्रतिको जनमतको उज्यालो पक्षलाई पनि हामीले हेर्नु पर्दछ । वर्तमानमा अपनाइने कार्यनीतिले भविष्यमा उक्त उज्यालो पक्षलाई साकार रूप दिन सक्दछ । त्यसका लागि क्रान्तिप्रतिको आधारहीन विश्वासलेभन्दा वस्तुगत कार्यनीतिहरूले ठुलो भूमिका खेल्दछन् । कम्युनिस्ट आन्दोलन शोषित पीडित जनसमुदायको मुक्तिको बाटो भएकाले देशमा र विश्वमा पनि यसको भविष्य सुदृढ हुँदै जाने कुरा निश्चित छ । त्यसैले वर्तमानका अँध्यारा पक्षहरूबाट विचलित नभएर सुदूर भविष्यका अनेक सम्भावनाहरू क्रान्तिकारीहरूले हेरेर नै काम गर्दै जानु पर्छ । किनभने कम्युनिस्ट आन्दोलनको भविष्य उज्ज्वल छ ।
अन्त्यमा हाँक साप्ताहिक मार्फत्् विशेष जोड दिएर भन्न चाहेका त्यस्ता केही विषय छन् कि ?
– अहिले चुनावमा वाम पक्षधर शक्तिहरूको जुन विजय भएको छ । वास्तवमा त्यो गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षताको नै विजय हो । त्यसबाट समाजवाद उन्मुख र प्रगतिशील नीतिहरूका पक्षमा पनि आधार तयार भएको छ । हामीले चुनावका यी सबै उपलब्धिहरूको रक्षा गर्दै आन्दोलनलाई अरू उच्च र व्यापक दिशामा अगाडि बढाउनु पर्ने आवश्यकता छ । त्यसका लागि हामीले सम्पूर्ण जनता र तपाईहरूको हाँक साप्ताहिकबाट पनि समर्थनको आशा गर्दछौँ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal