२०७५ जेष्ठ ८ गते, बुधबार   वर्ष ३५, अङ्क २२
मिति(२०७५ ज्येष्ड १५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार अन्तर्वार्ता
पुराना अंक
साहित्य
बिर्सी कहिल्यै नबिर्सने प्यारो साथी डी.बी.
– नारायण शर्मा
चर्किदो रहेछ छाती पनि
भक्कानिन्छ बोली पनि
सहयात्री साथी विदा लिई
संसारैबाट जाँदा तिमी......
छाती चर्किरहेछ, बोली भक्कानी रहेको छ । आफ्नो प्रिय सहयात्री गुमाउनु पर्दाको पीडा निकै दर्दनाक हुँदो रहेछ । सांस्कृतिक, सञ्चार र राजनैतिक आन्दोलन तिनै क्षेत्रमा सहयात्री आत्मिय मित्र दल बहादुर भण्डारीको निधनले, जीवन शर्माको उक्त गीतले बोकेको यथार्थतालाई गहिरो अनुभूत गराई रहेको छ । यी पङ्क्तिहरू कोरिरहेका बेला बुटवलको मगरघाटमा मित्र दल बहादुरको भौतिक शरिर चितामा जलेर खरानी भई सकेको छ । तर हाम्रँे मनभित्र अहिले पनि उहाँ जीवित हुनु हुन्छ । त्यो हसिलो अनुहार, अहिले पनि मेरो अगाडि बसेर कुरा गरी रहेको छ । उहाँ सँगसँगै बिताएका ती हरेक पल, रक्तिम यात्राका ती दिन, सञ्चार जगतका ती क्षणहरू राजनैतिक आन्दोलनहरूका ती घटनाहरू सबै–सबै नयन अगाडि घुमीरहेका छन् ।
बहुप्रतिभाका धनी
आत्मीय मित्र दल बहादुर भण्डारी बहु प्रतिभाका धनी हुनु हुन्थ्यो । विचारमा मात्र होइन, व्यवहारमा पनि क्रान्तिकारीपनले भरिपूर्ण मित्र हुनु हुन्थ्यो उहाँ । सामान्य देखभेट त हाम्रो पहिल्यैदेखि थियो, तर नजिकबाट हामी घुलमिल भने २०५२ सालको अन्त्यतिरबाट भएका थियौँ । त्यति बेला हामी रक्तिम सांस्कृतिक अभियानको केन्द्रीय टोलीमा रहेर यात्रारत थियौँ । २०५३ सालको शायद श्रावणको महिना थियो, हामीले सडक नाटक कुर्सीको खेल सुरू गरेका थियौँ– रूपन्देहीको बुटवलबाट । सडक नाटकको हाम्रो त्यो प्रयास रक्तिमको इतिहास पहिलो थियो । त्यसको तयारीदेखि प्रदर्शन गर्दासम्म मित्र दल बहादुरको महत्वपूर्ण योगदान रहेको थियो । बुटवलको अस्पताल लाइनमा हामीले उक्त सडक नाटक पहिलो पटक प्रदर्शन गरेका थियौँ । त्यसमा मित्र दल बहादुरजीले सद्भावना पार्टीको नेताको भूमिका निभाउनु भएको थियो । अफसोच ! बुटवल अस्पताल लाइनको जुन स्थानबाट हामीले सडक नाटकको सुरूवात गरेका थियौँ, २१ वर्षपछि त्यही स्थानमा सडक दुर्घटनामा परी मित्र दल बहादुर भण्डारीको जीवनकै नाटकको अन्त्य भयो ।
पछि हामीले केन्द्रीय स्तरमा नै धेरै टोलीहरू बनाएर देश तथा भारतका विभिन्न स्थानहरूमा समेत उक्त सडक नाटक प्रदर्शन गर्‍यौँ । त्यस बेला कहिलेसँगै त कहिले अलग अलग टोलीमा हुन्थ्यौँ हामी । त्यसरी यात्रारत रहँदा नै मैले उहाँलाई नजिकबाट चिन्ने र बुझ्ने मौका पाएको थिए । उहाँ एक निडर र लडाकु स्वभावको हुनुहुन्थ्यो । कसैले पनि अन्याय गरेको, हेपेको उहाँ पटक्कै सहनु हुन्थेन, झ्याप्पै जाई लाग्नु हुन्थ्यो । अभियान टोलीमा दल बहादुर भण्डारी साथमा रहँदा अन्य कलाकार साथीहरूले सुरक्षित महशुस गर्नु हुन्थ्यो । तर कहिलेकाही भने उहाँको त्यो लडाकु स्वभावका कारण टोली थप समस्यामा पनि पर्दथ्यो । कैयौँ पटक गाडी स्टाफहरूसँग भाडाको विषयमा झगडा परेर हामी बीच बाटोमै पनि झर्नु पर्दथ्यो । रक्तिम सांस्कृतिक अभियानले सञ्चालन गरेका अभियानहरूमा कैयौँ स्थानमा उहाँसँगै हिँडिएको छ, कैयौँ स्थानहरूमा सँगै कार्यक्रम प्रस्तुत गरिएको छ । उहाँसँगै कार्यक्रम गर्दाका ती हरेक पलहरू मेरा लागि अविश्मरणीय छन् । 
२०५३ कार्तिक महिनाको घटना हो, हामीले बागलुङ जिल्लामा रक्तिमको अभियान चलाई रहेका थियौँ । रक्तिमको केन्द्रीय समितिका प्रायः साथीहरू टोलीमा थियौँ । गल्कोटको आँखेत भन्ने स्थानमा रातीमा कार्यक्रम थियो । कार्यक्रमका लागि हामी साँझमा पुगेर एउटा घरमा विश्राम गरी रहेका थियौँ, नजिकै स्टेज निर्माण गर्दै हुनु हुन्थ्यो, स्थानीय साथीहरू । कार्यक्रम भाड्ने योजनाका साथ आएको काङ्ग्रेसीहरूको एक जत्थाले एक्कासी हामी बसिरहेको घर घेर्‍यो । उनीहरू खुकुरी, भाला र लाठीले सुसज्जित थिए । उनीहरू मार्ने काट्नेभन्दा तलका कुरै गर्दैनथे । त्यहाँ हाम्रा स्थानीय युवा साथीहरूको सङ्ख्या निकै कम थियो । समग्र परिस्थितिको मूल्याङ्कन गर्दा त्यहाँ कार्यक्रम दिन उचित नहुने निष्कर्षमा हामी पुग्यौँ । तर झम्के झोलको घोडा चढेर आएका त्यहाँका एक स्थानीय साथी हाम्रो निर्णयबाट आक्रोशित बन्दै भन्न थाले– “के हो तपाईहरू केन्द्रीय टोली भएर नि डराउने ? के हामी छैनौँ यहाँ ? एक मसाल बराबर दश काङ्ग्रेस, कसले के गर्न सक्छ यहाँ ?” जति गर्दा नि ती साथीलाई सम्झाउन नसकेपछि हामी कार्यक्रमका लागि तयार भयौँ । काङ्ग्रेसी जत्थाले आक्रमण गर्ने निश्चित देखेपछि हामीले टिमभित्र पनि आन्तरिक जिम्मा विभाजन गर्‍यौँ । मित्र दल बहादुर भण्डारी, डम्मर भण्डारी र मलाई “साथीहरूलाई सहयोग गर्ने” अर्थात् त्यो काङ्ग्रेसी जत्थासँग लड्ने जिम्मा पर्‍यो । हामीसँग नक्कली बाहेक सक्कली हतियार केही थिएनन् । मित्र डी.बी. (दल बहादुर भण्डारी) ले ढोकामा लगाउने गजवार लिनु भयो । साँझ त्यस्तै ८.३० बजेको थियो होला, हामीले कार्यक्रम सुरू गर्‍यौँ । तेस्रो प्रस्तुति दिदै गरेको अवस्थामा काङ्ग्रेसको त्यो जत्थाले हाम्रो स्टेजमा आक्रमण गर्‍यो । अन्य कलाकार साथीहरू पूर्व योजना अनुसार आ–आफ्नो जिम्माको काममा लाग्नु भो– डी.बी., डम्मर र म त्यही “साथीहरूलाई सहयोग गर्न” बस्यौँ । स्टेजको सुरक्षाका लागि भनेर आयोजकले खटाएका स्वयंसेवक पहिल्यै सुइकुच्चा ठोकेछन्, बाँकी हामी तीन जना मात्र । काङ्ग्रेसी जत्थाले स्टेजको पर्दा, माइक सबै तोडी सकेको थियो । झण्डै पचास जनाको सङ्ख्यामा आएका उनीहरू नाङ्गो खुकुरी नचाउँदै स्टेजमा उफ्री रहेका थिए । मित्र डीबी. डे«सिङ रूमबाट हातमा गजवार समाउँदै त्यो जत्थासँग भिड्न अगाडि बढ्नु भयो । मैले रोके डी.बी.लाई र भाग्न लगाए । खेतका कान्लैकान्ला उहाँ भागेको देखेपछि त्यो काङ्ग्रेसी जत्थाका केही मान्छे उहाँलाई समाउन दौडिए । उनीहरूले मित्र डी.बी. को आसकोट समाए पनि । तर डी.बी. त्यहाँबाट उम्कन सफल हुनु भयो, त्यो काङ्ग्रेसी जत्थाको हातमा डी.बी. जीको आसकोट मात्र पर्‍यो । यदि हामीले त्यहाँ स्टेजमा त्यो काङ्ग्रेसी जत्थालाई प्रहार गर्न थालेको भए डी.बी., डम्मर र म कोही पनि बच्ने थिएनौँ । त्यस दिनको आँखेतको हाम्रो कार्यक्रम असफल भयो । एक महिनापछि राजमो अध्यक्ष चित्र बहादुर केसीको उपस्थितिमा हामीले त्यही ठाउँमा सफल कार्यक्रम गर्‍यौँ । 
पहिलाका रक्तिमका अभियानहरू निकै अप्ठ्यारा हुने गर्थे, यद्यपि ती अप्ठाराबीचको यात्रामा पनि छुट्टै किसिमको आनन्द हुन्थ्यो । अहिले जस्तो प्रविधिको विकास भएको थिएन । गाउँगाउँमा मोटरबाटो पुगेको थिएन । बाजागाजा, डे«स र माइकका सामानहरू हामी आफै बोकेर हिँड्थ्यौँ । दिनभरि हिड्यो राती १ बजेसम्म कार्यक्रम गर्‍यो, अनि बिहान ७ बजे बाट फेरि हिड्यो । २०५३ सालको भदौदेखि कार्तिकसम्म हामीले त्यसरी नै बागलुङमा रक्तिमको अभियान चलाएका थियौँ । ती अभियानहरूमा हिंड्दा गरूङ्गो सामान बोक्न मित्र डी.बी. सधैँ अग्रसर हुनु हुन्थ्यो । 
मित्र डी.बी. कलाको क्षेत्रमा बहुप्रतिभाको धनी हुनु हुन्थ्यो । नृत्य, अभिनय, गायन र बाद्यबादन सबैमा उहाँ उत्तिकै पोख्त हुनु हुन्थ्यो । रक्तिमको बहुचर्चित गीति नाटक ठुली कतिपय स्थानहरूमा प्रदर्शन गर्दा त्यसमा उहाँले नृत्य र अभिनय गर्नु भएको थियो । हामीसँगै सांस्कृतिक कार्यक्रममा यात्रारत रहँदा भने उहाँ बढी वाद्यबादनमा केन्द्रित हुनु हुन्थ्यो । बाद्यवादनका प्रायः सबै साधनहरू उहाँले बजाउनु हुन्थ्यो । रक्तिममा प्रायः कलाकार साथीहरूले उहाँलाई “मादल स्पेसलिस्ट” को रूपमा चिन्दथे । रक्तिमका कार्यक्रमहरूमा मेरो प्रायः उद्घोषणको जिम्मा रहन्थ्यो । डी.बी. को हातमा मादल देखेपछि हामीलाई उद्घोषण गर्न पनि छुट्टै जोश आउथ्यो । नृत्य गर्ने कलाकार साथीहरू पनि निकै स्फूर्तिका साथ नाँच्दथे । रक्तिमको केन्द्रिय समितिमा सँगै रहँदाको बेलामा मात्र होइन, त्यसपछि पनि बुटवलमा रक्तिमले सञ्चालन गर्ने देउसीभैलो कार्यक्रमहरूमा हामीहरू सँगै हुने गथ्र्यो । हरेक देउसीभैलोमा मलाई बुटवल बोलाउन उहाँले विशेष जोड गर्नु हुन्थ्यो । पछिल्लो पटक २०७४ को देउसी भैलो पनि हामी बुटवलमा सँगै खेलेका थियौँ । यस पटकको देउसीभैलोमा हामी अलि फरक भूमिकामा थियौँ । उहाँ व्यवस्थापक र नेताको भूमिकामा हुनु हुन्थ्यो, उद्घोषकको मेरो जिम्मा यथावत थियो । भाइटीकाको दिन उहाँले नै मलाई आफ्नो स्कुटीमा राखेर शङ्करनगरस्थित मेरो बहिनीको घरसम्म पुर्‍याउनु भएको थियो । उहाँको स्कुटीमा त्यो नै मेरो पहिलो र अन्तिम यात्रा भयो । त्यही स्कुटीमा यात्रारत रहँदा बुटवलको अस्पताललाइनमा २ पौष २०७४ का दिन सडक दुर्घटनामा परी मित्र डिविको निधन हुन पुग्यो । 
कुशल सञ्चारकर्मी
कलाकारिताको क्षेत्रमा मात्र होइन सञ्चार जगतमा पनि मित्र डी.बी. ले आफ्नो छुट्टै पहिचान स्थापित गर्नु भएको थियो । उहाँ एक कुशल सञ्चारकर्मी हुनु हुन्थ्यो । हाँक साप्ताहिकलाई बुटवलमा वितरणको व्यवस्था मिलाउन उहाँको महत्वपूर्ण योगदान रहेको थियो । श्रमप्रति उहाँ अगाध आस्था र विश्वास राख्नु हुन्थ्यो । कुनै पनि कामलाई सानो र ठुलो भनेर उहाँले कहिल्यै वर्गीकृत गर्नु भएन । म बुटवलमा छँदा नयाँदिशा साप्ताहिक र साप्ताहिक भैरहवामा कार्यरत रहेका बेला उहाँले त्यस क्षेत्रमा एक हजारभन्दा बढी हाँक साप्ताहिक वितरण गर्नु हुन्थ्यो । बुधबारको दिन साँझ पत्रिका बुझेपछि राती अबेरसम्म त्यसलाई पट्याउनु हुन्थ्यो । बिहान ४ बजे उठेर साइकिलमा पत्रिका बोकी प्रत्येक ग्राहकहरूको घरघरमा पुग्नु हुन्थ्यो । २०६५ सालको अन्तिमबाट म काठमाडौँस्थित हाँक साप्ताहिकको डेस्कमा आए । एउटै क्षेत्र र पत्रिकामा काम गर्ने भएकाले पनि हामीहरूबीचको सम्बन्ध साँस्कृतिक यात्राको क्रममा जस्तै प्रगाढ बन्दै गयो । पत्रिकाको वितरण र विज्ञापन सङ्कलन गर्नुका साथै उहाँले समाचार रिपोर्टहरू समेत पठाउनु हुन्थ्यो । बुटवलका कुनै क्षेत्रमा घटनाहरू घटेको थाहा पाउनासाथ उहाँ त्यो स्थानमा पुग्नु हुन्थ्यो र तुरून्त फोनबाट भए पनि समाचार टिपाउनु हुन्थ्यो । एउटा कुशल सञ्चारकर्मीमा हुनु पर्ने गुणहरू उहाँमा विद्यमान थिए ।पछि उहाँले बुटवलमै बुद्ध टेलिभिजनमा समेत काम गर्नु भयो । नयाँदिशा साप्ताहिकलाई पुनः सुचारू गर्न पनि उहाँको महत्वपूर्ण योगदान रहेको थियो । पछिल्लो समय उहाँहरूको सक्रियता र पहलकदमीमा बुटवलबाट नयाँदिशा साप्ताहिको पुनः प्रकाशन सुरू भएको थियो । उहाँकै कुशल व्यवस्थापकीय क्षमताका कारण नयाँदिशा साप्ताहिकले लुम्बिनी–राप्ती क्षेत्रमा आफ्नो बजार विस्तार गरी रहेको थियो । रूपन्देहीमा प्रगतिशील पत्रकार सङ्घको शाखा गठन गर्न उहाँले म नेतृत्वमा आएको बेलादेखि नै मलाई निकै घच्घच्याई रहनु हुन्थ्यो । उहाँकै आन्तरिक सक्रियताबाट हामीले रूपन्देहीमा आफ्नो सङ्गठनको शाखा विस्तार गरेका थियौँ । 
मित्र डी.बी. जस्ता कुशल सञ्चारकर्मी बुटवलमा रहेकै कारण हामीले प्रगतिशील पत्रकार सङ्घका राष्ट्रिय भेला र बैठकहरू प्रायः बुटवलमा राख्ने गरेका थियौँ । पछिल्लो समयमा मित्र डी.बी. प्रगतिशील पत्रकार सङ्घ नेपाल रूपन्देही शाखाको सल्लाहकार र नयाँदिशा साप्ताहिकको व्यवस्थापक पदमा रहेर कार्यरत रहनु भएको थियो ।
साहसी राजनीतिकर्मी
आत्मीय मित्र डी.बी. एक साहसी, सिद्धान्तनिष्ठ र उर्जाशील राजनीति कर्मी हुनु हुन्थ्यो । सांस्कृतिक र सञ्चारको क्षेत्रमा मात्र होइन, राजनैतिक आन्दोलनहरूमा पनि उहाँ उत्तिकै सक्रिय हुुुनु हुन्थ्यो । राजनैतिक आन्दोलनहरूमा उहाँ अग्रभागमा रहेर सङ्घर्षरत रहनु हुन्थ्यो । जहाँ अप्ठ्यारो आई पर्छ, त्यस्तो ठाउँमा उहाँले अगाडि सरेर जिम्मेवारी लिनु हुन्थ्यो । अप्ठ्यारो देखेर तर्कने, भाग्ने उहाँको स्वभाव थिएन । २०६२ सालको घटना हो । आन्दोलनरत सात दलले तानाशाह ज्ञानेन्द्र शाहको शाही ‘कु’ का विरुद्ध मसाल जुलुश आयोजना गरेका थिए । बुटवलको राजमार्ग चौराहबाट झण्डै हजार जनाको सहभागितामा मसाल जुलुश सुरू भयो । जुलुशको अग्रभागमा सातै पार्टीका केन्द्रीय नेताहरू थिए । जुलुश सुरू भएपछि प्रहरीले जुलुशको पछिल्लो भागबाट मसाल खोस्दै गिरफ्तार गर्न थाल्यो । त्यो थाहा पाएपछि अघिल्लो भागमा रहेका आन्दोलनकर्मीहरू मसाल बोकेर छिटोछिटो दौडी रहेका थिए । प्रहरीले पछाडिबाट जुलुश तितरवितर पार्दै आई रहेको थियो । प्रहरी भरिएका ट्रकहरू जुलुशलाई तितरवितर पार्दैै अघि बढी रहेका थिए । मिलनचोकभन्दा थोरै अगाडि पुग्दा नपुग्दै प्रहरीको ट्रक जुलुशको अग्रभागसम्म नै आई सकेको थियो । मान्छेलाई नै किच्ला जस्तो गरी प्रहरीको ट्रक अगाडि आएपछि तर्कने क्रममा एमाले नेता रामनाथ ढकाल बाटोमा लड्नु भयो । नेता ढकालमाथि नै चढाउने गरी प्रहरीले ट्रक अगाडि बढेपछि सञ्चार कर्मीको भूमिकामा रहेका हामीहरूले पनि सहन सकेनौँ र ट्रकमाथि ढुङ्गा बर्साउन थाल्यौँ । ढुङ्गा बर्सिन थालेपछि ट्रक यसो रोकिएको थियो, त्यही मौकामा मित्र दल बहादुरले बली रहेको मसाल टिपेर ट्रकको क्याबिनमा फ्याँक्नु भयो । ट्रकको क्याबिन जल्न थालेपछि ड्राइभर पनि निस्किएर भाग्यो । डी.बी. ले त्यसरी प्रहार नगरेको भए प्रहरीको त्यो ट्रक अगाडि बढ्थ्यो र त्यसले रामनाथ ढकाललाई कुल्चने निश्चित थियो ।
मित्र डी.बी. को साहसीपन र लडाकु स्वभाव हरेक आन्दोलनहरूमा प्रष्ट रूपमा देख्न सकिन्थ्यो । कैयौँ आन्दोलनहरूमा हामी सँगसँगै प्रहरीसँग भिडेका छौँ । उहाँ क्रान्तिकारी विचार, भावना र व्यवहारले भरिपूर्ण राजनीतिकर्मी हुनु हुन्थ्यो । क्रान्तिकारी नीति सिद्धान्तप्रतिको उहाँको समर्पण अनुकरणीय थियो । अत्यन्त मिजासिलो स्वभाव, जनतासँग चाडै घुलमिल हुन सक्ने, गरिब दुःखी जनताका प्रिय पात्र हुनु हुन्थ्यो डी.बी. । पार्टी इतिहासमा बेला बेलामा देखा पर्ने गरेका विभिन्न भड्कावहरूमा उहाँ सधैँ क्रान्तिकारी नीति र सिद्धान्तको पक्षमा उभिनु भयो । कुनै नेता मन परेका कारणले उसैकोपछि लाग्ने गल्ती उहाँले कहिल्यै गर्नु भएन । उहाँ अलि खरो र हकि स्वभावको हुनु हुन्थ्यो । आफूलाई लागेको कुरा प्रष्टसँग राख्नु हुन्थ्यो । कसैको प्रलोभनमा फसेर विचार फेर्ने गल्ती उहाँले कहिल्यै गर्नु भएन । राजमो रूपन्देहीको सचिव पदमा रहेर उहाँले कुशलतापूर्वक आफ्नो जिम्मेवारी निभाउनु भएको थियो । पछिल्लो समय उहाँ राजमो रूपन्देहीको सल्लाहकार रहनु भएको थियो । 
सबैका प्रिय डी.बी.
एउटै पार्टी सङ्गठनका सहयात्री हुनुका साथै हाम्राबीचमा गहिरो मित्रता थियो । आफ्ना व्यक्तिगत र घरायसी समस्याका बारेमा पनि हामी भेटमा र फोनमा समेत छलफल गर्दथ्यौँ । हाँसो, मजाक हाम्राबीचमा निकै चल्थ्यो । उहाँका दुई छोरा, मेरा दुई छोरी उनीहरू नाबालक रहेकै बेला २०५६÷५७ सालतिरै हामीले एक–अर्कालाई सम्धी भन्दै जिस्काउथ्यौँ । यो जिस्काउने क्रम पछिसम्म नि जारी थियो । एक महिना अघि फोन गरेर उहाँले मेरो छोरीका लागि बुटवलतिरै एकजना साथीको छोरासँग बिहेको प्रस्ताव गर्नु भयो । मजाक शैलीमै मैले भने– “भनेसी अब हामी सम्धी सम्धी हुने आशा मारे भयो हैन ?” त्यसपछि दुवै लामो हाँसो हाँसेका थियौँ । उहाँले राखेको प्रस्तावका बारेमा म बुटवल गएर बसेर सल्लाह गरौँला भन्ने कुरा भएको थियो । मृत्यु हुनुभन्दा दुई दिन अघि पनि उहाँले फोन गरेर सोध्नु भएको थियो– “मैले राखेको प्रस्तावबारे के सोच बनाउनु भयो ?” मैले फेरि पनि त्यही आएर कुरा गरौँला भनेको थिए । तर अब बुटवल जाँदा उहाँसँग कहिल्यै भेट नहुने भयो । “के छ दाह«ीबा को खबर !” भन्दै त्यो हसिलो अनुहारले जिस्काएको सुन्न अब मैले पाउने छैन । आत्मीय मित्र डी.बी. बिनाको बुटवल कस्तो होला ? मनमा यस्तै अनगिन्ती तर्कनाहरू खेली रहेका छन् ।
मित्र डी.बी. को जीवनशैली अत्यन्त सरल थियो । सामान्य पोशाकमै बुटवल बजारमा हिंडडुल गर्नुहुन्थ्यो–टिपटप बन्ने रहर उहाँमा देखिदैनथ्यो । तडकभडकप्रति उहाँले कहिल्यै रूचि जगाउनु भएन । श्रमप्रति अगाध आस्था र विश्वास राख्ने उहाँ बुटवल क्षेत्रका राजनीतिक कर्मी, व्यवसायी, पत्रकार सबै सबैको प्रिय पात्र हुनु हुन्थ्यो । उहाँको शवयात्रा र श्रद्धाञ्जली सभामा देखिएको त्यो विशाल उपस्थितिले पनि त्यही बताई रहेको थियो । उहाँ साँच्चै नै बिर्सी कहिले नबिर्सिने खालको निकै प्यारो साथी हुनु हुन्थ्यो । त्यस्तो प्यारो साथी गुमाउनु पर्दा यो छाती चर्की रहेको छ, बोली भक्कानिई रहेको छ । तर पनि आफ्नो मनलाई सम्हाल्नु छ अब हामीले । सबै दुखी गरिब रमाउन सक्ने समानताको संसार निर्माणका खातिर मित्र डिविले जुन योगदान दिनुभयो त्यसबाट प्रेरणा र शिक्षा लिंदै महासमरको यो यात्रालाई निरन्तर अगाडि बढाउनु छ हामीले । क्रान्तिपथमा अविचलित रूपमा त्यसरी अगाडि बढेर नै मित्र डिविले देखेको सपनालाई साकार पार्न सक्ने छौँ हामीले । आत्मीय मित्र डिविको भौतिक शरीर अब हाम्राबीचमा छैन तर विचार र भावनामा अहिले पनि उहाँ हाम्रो मनमुटुभित्रै बसी रहनु भएको छ । अलविदा प्रिय मित्र डि.बी. । 
२०७४ पौष ८ गते,। काठमाडौँ

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal