२०७४ माघ ३ गते, बुधबार   वर्ष ३५, अङ्क ६
मिति(२०७४ माघ ४, बुधवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
नेकपा (मसाल) केन्द्रीय समितिको बैठक सम्पन्न
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) को केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । बैठकले महामन्त्रीद्वारा प्रस्तुत तात्कालिक राजनैतिक प्रस्तावमाथि विस्तृत छलफल गरी पारित गरेको छ भने चुनावपछिको देशको राजनैतिक स्थिति तथा पार्टीका आगामी नीति र कार्यक्रम निश्चित गरेको छ । बैठकले पार्टी प्रवक्तामा राम प्रकाश पुरीलाई नियुक्त गरेको छ । 
बैठक पश्चात् नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहद्वारा २०७४ पौष २२ गते जारी प्रेस वक्तव्यमा उक्त कुरा जनाइएको छ । महामन्त्री सिंहद्वारा जारी उक्त वक्तव्यको पूर्णपाठ यस प्रकार रहेको छ–“नेकपा (मसाल) को केन्द्रीय समितिको बैठक हालै सम्पन्न भयो । त्यो बैठकले हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावहरूको समीक्षा गर्नुको साथै चुनावपछिको देशको राजनीतिक स्थिति तथा पार्टीका कतिपय आगामी नीति र कार्यक्रमहरूबारे पनि विस्तृत रूपले छलफल गरी आफ्ना नीतिहरू निश्चित गरेको छ । बैठकले पार्टीको आठौँ महाधिवेशनबारे पनि निर्णय गरेको छ ।
बैठकमा महामन्त्रीद्वारा प्रस्तुत तात्कालिक राजनीतिक प्रस्ताव प्रस्तुत गरिएको थियो । जनवादी तरिकाले विस्तृत छलफलपछि यो प्रस्ताव पारित भयो । त्यो प्रस्ताव छिट्टै सार्वजनिक हुने छ । प्रस्तावमा चुनावका बेलामा पार्टीले अपनाएका नीतिहरूको मूल्याङ्कन गर्दै तिनीहरूलाई सही ठहराएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा हाम्रो मुख्य जोड नेकाको नेतृत्वमा बनेको गठबन्धनलाई हराउने नै रहेको थियो । त्यो गठबन्धनमा राजावादी, पृथकतावादी र कट्टर हिन्दूवादी सामेल भएका थिए । नेकाभित्र पनि त्यस प्रकारका सोचाइहरू राख्ने तत्वहरूको बाहुल्यता थियो । उनीहरूले भारतीय विस्तारवादको ग्राइन्ड डिजाइन अनुसार काम गरी रहेका थिए । त्यो गठबन्धनको विजय भएको भए राजतन्त्रको पुनस्र्थापना हुने, नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा आँच पुग्ने तथा नेपाल हिन्दू राष्ट्र बन्ने समेत गम्भीर खतरा थियो । त्यसैले हाम्रो पार्टीले त्यो गठबन्धनको पराजयमा जोड दिनु परेको थियो । त्यो गठबन्धनको हार उनीहरूले अपनाएका नीतिहरूको पराजय हो र त्यसका साथै त्यो भारतीय विस्तारवादको पनि गम्भीर प्रकारको पराजय हो । चुनावमा उनीहरूको पराजयले वास्तवमा जनताले लोकतन्त्र, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताका विरुद्धका नीतिहरूलाई अस्वीकार गरेको कुरालाई पनि बताएको छ ।
चुनावमा वाम पक्षधर गठबन्धनको ठुलो विजय भएको छ । त्यो विजय सर्वप्रथम र मुख्य रूपले देशमा वामपन्थी जनमत अत्यन्त प्रवल भएको र अर्कातिर, संसदभित्र र बाहिर राष्ट्रियताको रक्षा, भारतीय विस्तारवादका विरुद्ध तथा दोस्रो संविधान संशोधनका विरुद्ध चलेको आन्दोलनले तयार पारेको जनमतको पनि परिणाम हो । त्यो सङ्घर्षमा एमालेको महत्वपूर्ण भूमिका रहेको थियो । माओवादी केन्द्रले नेकासित सम्बन्ध तोडेर वाम पक्षधर शक्तिहरूसित मिलेर गठबन्धनको निर्माण गरेकाले पनि चुनावमा वाम पक्षधर शक्तिहरूको विजयका लागि मद्दत पुग्यो । बताई रहनु पर्ने आवश्यकता छैन कि चुनावमा जुन नीतिहरूको विजय भयो, ती नीतिहरूको पक्षमा नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाले सधैँ दृढ र सम्झौताहीन नीति अपनाउँदै र सङ्घर्ष गर्दै आएका थिए । त्यसबाट पनि गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षता समेतका पक्षमा जनमत तयार पार्न महत्वपूर्ण मद्दत पुगेको थियो । 
हाम्रो पार्टीले वाम पक्षधर गठबन्धनसित चुनावी तालमेल गर्ने र तालमेल नभएका स्थानहरूमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने नीति अपनाएको थियो । बागलुङ र प्युठानमा औपचारिक रूपमा नै तालमेल गर्ने सहमति भएको थियो भने अर्घाखाँची, गुल्मी र डडेलधुरामा हामीले वाम पक्षधर गठबन्धनका उम्मेदवारहरूलाई समर्थन गर्ने नीति अपनाएका थियौँ । बैठकले त्यस प्रकारको तालमेलको नीतिका कारणले प्युठान र बागलुङमा राष्ट्रिय जनमोर्चा, एमाले र माओवादी केन्द्रका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरूको शानदार प्रकारले विजय भएको छ । त्यसबाट चुनावसम्बन्धी हाम्रो तालमेलको नीति सही भएको प्रमाणित भएको छ । प्रदेश नं. ४ र ५ मा समानुपातिकतर्फ हाम्रो १÷१ जना समानुपातिक प्रतिनिधिको विजय भएको छ । अन्यत्र हाम्रा कुनै उम्मेदवारले जितेका छैनन् । चुनावको परिणाम हाम्रो सङ्गठनको स्थिति र अवस्था अनुसार नै छ । देशव्यापी रूपमा हाम्रो सङ्गठनको स्थिति कमजोर भएकाले नै चुनावमा हामीले खास सफलता प्राप्त गर्न सकेनौँ । त्यो स्थितिमाथि ध्यान दिदै केन्द्रीय समितिको बैठकले सङ्गठनको विस्तारका लागि योजना र ठोस प्रकारले काम गर्नु पर्ने आवश्यकतामा जोड दिएको छ ।
प्रतिनिधि सभाको समानुपातिकतर्फको मत पहिलेभन्दा कम आएको छ । त्यसको मुख्य कारण के रह्यो भने चुनावमा सबैजस्तो जिल्लाहरूमा मुख्य जोड प्रत्यक्ष चुनावतर्फ नै दिइयो र समानुपातिकतर्फका उम्मेदवारहरूको प्रचारमा ध्यान कम गयो । आर्थिक स्थितिका कारणले कार्यकर्ताहरूको आवश्यकता अनुसार परिचालन हुन नसक्दा पनि केन्द्रीय समानुपातिकतर्फको भोटमा कमी आयो । ३ प्रतिशत थ्रेसहोल्ड कटाउन हामीलाई धेरै माथिल्लो तहको सङ्गठनको विस्तार र परिचालनको आवश्यकता थियो । त्यो दिशामा हामीले उल्लेखनीय काम गर्न सकेनौँ र त्यसबारे बनेका योजना पनि सफल हुन सकेनन् । त्यसबाट चुनावको सम्पूर्ण परिचालनको साथै प्रतिनिधि सभाको समानुपातिकतर्फको परिणाम पनि प्रभावित भयो ।
वाम पक्षधर शक्तिहरूको विजयबाट समाजवाद उन्मुख र प्रगतिशील नीतिहरूलाई व्यावहारिक रूप दिन प्रयत्न गर्नका लागि पनि सम्भावना देखा परेको छ । त्यसको अर्थ देशमा समाजवादी व्यवस्था कायम गर्नु नै सम्भव छ भन्ने होइन । त्यसका लागि विद्यमान अवस्थामा आमूल परिवर्तन गर्नु पर्ने आवश्यकता हुनेछ । त्यसको अर्थ हुन्छ– अर्ध सामन्ती र अर्ध औपनिवेशिक व्यवस्थाको अन्त, जनवादी सत्ताको निर्माण र उच्च स्तरमा औद्योगिक विकास । ती उद्देश्यहरू सर्वहारा वर्गको पार्टीको नेतृत्व, क्रान्तिकारी संयुक्त मोर्चा र लामो क्रान्तिकारी आन्दोलनपछि नै सम्भव हुन सक्दछन् । अहिले हामीले समाजवाद उन्मुख नीति र कार्यक्रमहरूको सम्भावनाको जुन कुरा गरी रहेका छौँ, त्यो समाजवादी व्यवस्थाभन्दा धेरै तलको र त्यसको प्रारम्भिक र सीमित रूप नै हो । समाजवाद उन्मुख नीति र कार्यक्रमको अर्थ सीमित रूपमा समाजवादी प्रकारका नीति र कार्यक्रमहरू लागु गर्ने प्रयत्न हो । अर्का शब्दमा त्यसको अर्थ सीमित र प्रारम्भिक रूपमा समाजवाद उन्मुख र प्रगतिशील नीतिहरूको कार्यान्वयनका लागि प्रयत्न गर्नु नै हो । तर त्यसका लागि पनि सीधा र सजिलो बाटो छैन । त्यसका लागि गर्ने प्रयत्नहरूलाई पनि देशी वा विदेशी प्रतिक्रियावादी शक्तिहरूले बाधा पुर्‍याउने वा असफल पार्न पुरा शक्ति लगाउने छन् । त्यो बाहेक स्वयं वाम पक्षधर शक्तिहरूमा पहिलेदेखि नै विद्यमान दक्षिणपन्थी, ढुलमूल, अवसरवादी वा सम्झौतापरस्त प्रवृत्तिहरूका कारणले त्यस प्रकारका नीतिको कार्यान्वयनमा बाधा पुग्ने छ । त्यो अवस्थामा समाजवाद उन्मुख वा प्रगतिशील नीतिहरूमा जनचेतना उठाउन, जनआन्दोलन सङ्गठित गर्न र जन दबाबको सृजना गर्न हामीले लगातार प्रयत्न गरी रहनु पर्दछ ।
एमाले र माओवादी गठबन्धनले चुनावमा नेकाको गठबन्धलाई हराउन महत्वपूर्ण योगदान दियो । त्यसबाट देशमा स्थिर सरकार र समाजवाद उन्मुख नीतिको पक्षमा आधार पनि तयार भएको छ । तर एकातिर, देशी वा विदेशी प्रतिक्रियावादी शक्तिहरूले वाम पक्षधर शक्तिहरूका बीचमा फुट पार्नका लागि खेल्ने षडयन्त्रकारी भूमिका र अर्कातिर, स्वयं वाम पक्षधर शक्तिहरूका बीचमा सत्ता वा भागबन्डाका लागि चल्ने प्रतिस्पर्धा वा दाउपेचका कारणले गठबन्धन टुक्रिने सम्भावनातिर पनि हाम्रो ध्यान जानु पर्ने आवश्यकता छ । त्यसो भयो भने चुनावमा जनताले उनीहरूमाथि जुन विश्वास गरेका थिए, त्यससित धोका हुने छ र त्यसका कैयौँ गम्भीर प्रकारका राजनीतिक दुष्परिणामहरू हुनेछन् । गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षतामाथि समेत गम्भीर आघात पुग्ने खतरा हुने छ । त्यस कारण वाम पक्षधर शक्तिहरूका बीचमा देखा पर्ने त्यस प्रकारका नकारात्मक प्रवृत्तिहरूप्रति हामीले सम्बन्धित पक्षहरूको ध्यान आकर्षित गराउन चाहन्छौँ ।
प्रतिनिधि सभा, प्रदेश सभा वा स्थानीय तहमा हाम्रा जुन जन प्रतिनिधिहरूको विजय भएको छ, उनीहरूलाई आफ्नो जिम्मेवारी पुरा गर्न बढीभन्दा बढी सहयोग गर्ने र आवश्यक निर्देशन दिने हाम्रो नीति हुने छ र हुनुपर्दछ । वर्तमान संसदीय प्रणालीद्वारा जनताका आधारभूत समस्याहरूको समाधान सम्भव छैन, तैपनि वर्तमान व्यवस्थालाई उपयोग गर्दै जनताको अधिकतम सेवा गर्ने तथा जनताको चेतना, सङ्गठन र सङ्घर्षको स्तरमाथि उठाउने हाम्रो प्रयत्न हुनुपर्दछ । त्यसका साथै जनताका बीचमा आन्दोलन सङ्गठित गरेर शोषित, पीडित जनता तथा विभिन्न समुदायहरूका माग पुरा गर्न जनआन्दोलन सङ्गठित गर्ने र वर्गसङ्घर्षलाई पनि अगाडि बढाउने हाम्रो नीति र प्रयत्न हुनुपर्दछ ।
यो स्पष्ट छ कि अहिले चुनावमा वाम पक्षधर शक्तिहरूको जुन जित भएको छ वा उनीहरूको जुन सरकार बन्ने छ, त्यसबाट देशमा आमूल परिवर्तन हुने छैन र जनताका आधारभूत समस्याहरूको पनि समाधान हुने छैन, तैपनि चुनावमा वाम पक्षधर शक्तिहरूको जुन जित भएको छ, त्यसको महत्वलाई कम आँक्नु पनि सही हुने छैन । विश्वभरका साम्राज्यवादी शक्तिहरू, भारतीय विस्तारवाद वा नेपालका प्रतिक्रियावादी शक्तिहरूले पनि त्यो विजयलाई गम्भीर रूपमा लिनेछन् र उनीहरूलाई असफल पार्न, उनीहरूलाई सत्तामा जान नदिन वा उनीहरूलाई सत्ताच्यूत पार्न उनीहरूले (देशी वा विदेशी प्रतिक्रियावादी शक्तिहरूले) पुरा शक्ति लगाउने छन् । संसारका विभिन्न देशहरूमा साम्राज्यवादी शक्तिहरूले चुनावमा वाम पक्षधर शक्तिहरूको विजय, उनीहरूले बनाउने सरकार, उनीहरूले अपनाउने प्रगतिशील नीति वा साम्राज्यवादका विरुद्ध र राष्ट्रियताको पक्षमा लिने अडानका कारणले उनीहरूलाई असफल वा पदच्यूत गर्न गरेका कारवाहीहरूका कैयौँ उदाहरणहरू छन् । नेपालमा पनि त्यस प्रकारको सम्भावनालाई अस्वीकार गर्न सकिन्न । वाम पक्षधर शक्तिहरूको वा उनीहरूको सरकारको पतन भयो भने गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षता समेतमा गम्भीर आघात पुग्ने सम्भावनाप्रति उच्च प्रकारको सतर्कता अपनाउनु पर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ ।
व्यवहारबाट नै सङ्घीयता देशका लागि उपयुक्त नभएको र सङ्घीयता नेपालको हितमा नभएको कुरा झन्‌पछि झन् प्रष्ट हुँदै गई रहेको छ । त्यसबाट देशमा जातीय र क्षेत्रीय विग्रह बढ्दै जानुका साथै राष्ट्रिय विखण्डनको स्थिति पनि तयार हुँदै गई रहेको छ । त्यो कुरा सबैभन्दा बढी तराईमा विष्फोटक रूपमा देखा परी रहेको छ । अहिले २ नं. प्रदेशमा पृथकतावादी तत्वहरूको जुन विजय भयो, त्यसले पनि स्थितिको गम्भीरतालाई बताउँछ । त्यो बाहेक प्रादेशिक संरचनाको बोझ धान्न नेपाल असमर्थ हुँदै गई रहेको कुरा पनि झन्‌पछि झन् प्रष्ट हुँदै गई रहेको छ । त्यसैले संसदभित्र र बाहिर पनि सङ्घीयताका विरुद्ध सङ्घर्षमा लगातार जोड दिनु पर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ ।
हाम्रो पार्टीले चुनावका बेलामा वाम पक्षधर शक्तिहरूको गठबन्धनसित चुनावी तालमेलको नीति अपनाएको थियो र अहिले पनि पारस्परिक सहमति हुने विषयमा उनीहरूसित कार्यगत एकता गर्ने हाम्रो नीति हुने छ । तर त्यसका साथै उनीहरूसित मतभेद भएका विषयहरूमा सङ्घर्ष गर्ने र आफ्नो स्वतन्त्र पहलमा पनि कार्यक्रमहरू अगाडि बढाउने हाम्रो नीति हुने छ । एमाले र माओवादी केन्द्रले पार्टी एकता गर्ने घोषणा गरेका छन् । तर हामीले त्यस प्रकारको एकतामा सामेल हुने कुनै निर्णय गरेका छैनौँ, तैपनि पार्टी एकतासित सम्बन्धित सैद्धान्तिक, राजनीतिक वा सङ्गठनात्मक प्रश्नहरूमा एमाले, माओवादी केन्द्र वा देशका अन्य कुनै वाम पक्षधर शक्तिहरूसित वा सार्वजनिक रूपमा पनि बहस गर्नका लागि हाम्रो ढोका खुला हुने छ । त्यस प्रकारको बहसको दौरानमा नै कुन पक्षसित पार्टी एकता हुने छ वा हुने छैन ? त्यो कुरा प्रष्ट हुँदै जाने छ । जे होस्, त्यसबारे हाम्रो यो दृढ मत छ कि माक्र्सवादी–लेनिनवादी सिद्धान्त, राजनीतिक लाइन र सङ्गठनात्मक प्रश्नहरूका आधारमा नै पार्टी एकता हुन सक्दछ र हुनुपर्दछ । त्यसरी कुनै पक्षसित पार्टी एकता हुन सक्यो भने त्यसलाई स्वीकार गर्ने हाम्रो नीति हुने छ ।
राष्ट्रिय सभाको चुनावमा पनि अन्य पक्षहरूसित सहमति गर्ने हाम्रो नीति हुने छ । कुनै पक्षसित त्यस प्रकारको सहमति हुन नसकेमा ४ र ५ नं. प्रदेशहरूबाट राष्ट्रिय सभाका लागि स्वतन्त्र रूपले आफ्ना उम्मेदवारहरू खडा गर्ने हाम्रो नीति हुने छ ।
बैठकले कतिपय व्यावहारिक कारणहरू र उहाँको अन्य कार्यव्यस्ततामाथि विचार गरेर अहिलेसम्मको केन्द्रमा प्रवक्ताको जिम्मेवारीमा रहेर काम गर्दै आउनु भएका का. विमल शर्मालाई त्यो पदबाट हटाएर उहाँको ठाउँमा का. रामप्रकाश पुरीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले अहिलेसम्मको का. विमल शर्माको कामको उच्च मूल्याङ्कन गर्दै उहाँलाई धन्यवाद पनि दिएको छ ।”

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
प्रदेश राजधानी आयोगको सिफारिसमा तोक्नु उचित ः राजमो
अत्यधिक चिसोले जनजीवन कष्टकर
रक्तिमले देशव्यापी सांस्कृतिक प्रशिक्षण शिविर चलाउने
डा. केसीको गिरफ्तारीको विरोध
छैटौँ राष्ट्रिय सम्मेलन सम्पन्न
किरात विशेष कार्यक्रम सम्पन्न
कतार नेपाली एकता समाज पाँचौँ राष्ट्रिय सम्मेलनतिर
अस्थायी स्थान तोक्ने तयारी
अन्तर्राष्ट्रिय सम्मेलन चैत्रमा
पर्वत र गुल्मी जोड्न कालीगण्डीमा पुल उद्घाटन
रसायन प्रयोग न्यूनीकरण गर्न माग
रहेनन् दल बहादुर भण्डारी
जापान नेपाली एकता समाजको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न
आन्तरिक समस्या समाधान गर्न सांस्कृतिक क्रान्ति ः मोहन विक्रम सिंह
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal