२०७४ माघ २४ गते, बुधबार   वर्ष ३५, अङ्क ९
मिति(२०७४ फाल्गुन १२, शुक्रवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
लेखहरू
युवा पुस्ताको काँधमा आएको अभिभारा
– दिवस पौडेल
विगत शताब्दीका अनगिन्ती सहिदहरूका महान् आकाङ्क्षाहरू पुरा गर्ने अभिभारा युवा पुस्ताको काँधमा आई लागेको छ । हामीले विश्वास गर्न सक्नुपर्दछ । हामीलाई रोक्ने हर प्रयासहरू निसन्देह नै विफल हुने छन । माओत्सेतुङले भन्नु भएको थियो– भविष्य उज्यालो छ, बाटो कठिन छ । हाम्रो सम्पूर्ण पार्टीलाई एकताबद्ध गराऔँ, सबै जातिका जनतासित एकताबद्ध होऔँ, हिम्मत गरौँ, बलिदानदेखि नडराऔँ र विजयका लागि सबै, अप्ठेराहरूलाई परास्त गरौँ । 
नेपालको कम्युनिस्ट पार्टी करिब ७० वर्ष पुग्न लागेको छ । यसबीचमा यस कम्युनिस्ट पार्टीले थुप्रै व्यवस्था परिवर्तनका आन्दोलनमा भूमिका निर्वाह गरेको छ । यो लामो इतिहासमा थुप्रै टुटफुट र विभिन्न अवरोधको सामना पनि गर्नु परेको छ । सो अवधिको सबैभन्दा महत्वपूर्ण उपलब्धि २०६२–६३ को जनआन्दोलनले देशमा राजतन्त्रको अन्त गरेको छ भने संविधान सभाबाट संविधान जारी भई त्यो कार्यान्वयनको चरणमा पुगेको छ । यसरी २०६३ फागुन २६–३० मा सम्पन्न नेकपा (मसाल) को सातौँ महाधिवेशनले निर्दिष्ट गरेको एउटा महत्वपूर्ण कार्यनैतिक कार्यभार पुरा भएको छ । उक्त महाधिवेशनले हाम्रँे अधिकतम उद्देश्य समाजवाद र साम्यवादमा पुग्ने, आधारभूत कार्यक्रम नयाँ जनवाद बताएको छ । यसरी संविधान सभाबाट संविधान जारी भएर कार्यान्वयनको चरणमा रहेको अवस्थामा सर्वहारा वर्गको अधिकतम उद्देश्य समाजवाद र साम्यवादमा पुग्ने गोरेटो कसरी निर्धारण गर्ने हो ? यो आजको चुनौतीको विषय हो ।
चिनियाँ कम्युनिस्ट पार्टीको सातौँ महाधिवेशनमा माओले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा भनिए जस्तो विगतको आन्दोलनका अनगिन्ती सहिदहरूको सपना पुरा गर्ने दायित्व ७० वर्ष पुरानो कम्युनिस्ट आन्दोलनको इतिहासले हाम्रो काँधमा पनि सुम्पेको छ । तर १९४५ मा चिनियाँ कम्युनिस्ट पार्टीको अध्यक्ष माओले सो कुरा बताई रहँदा चीनमा क्रान्तिको उभार उत्कर्षमा थियो । चिनियाँ कम्युनिस्ट पार्टीले विशाल जनताको विश्वास आर्जन गरी रहेको थियो भने कोमिन्ताङ सरकारसँग उसले संयुक्त रूपमा जापान विरोधी प्रतिरोध युद्धमा सहकार्य गरी रहेको थियो । त्यसको केही वर्षमै माओ नेतृत्वको चिनियाँ कम्युनिस्ट पार्टीलाई कसैले रोक्न सकेन । उसले विशाल चीनमा अन्तरिम संयुक्त सरकारबाट पनि अगाडि बढेर जनवादी सत्ता कायम गर्न सफल भयो । तर हाम्रँे परिस्थिति अलि बेग्लै छ । हामीले ७० वर्षको कम्युनिस्ट आन्दोलनमा थुप्रै जनसङ्घर्षहरूमा सामेल भएका छौँ तर सङ्ख्यात्मक हिसाबले आज पार्टी कमजोर अवस्थामा छ ।
पार्टीले सातौँ महाधिवेशनको राजनैतिक प्रस्तावमा भनेको छ– “....अहिले सशस्त्र सङ्घर्ष सुरु गर्नका लागि आवश्यक परिस्थिति तयार भएको छैन । त्यस कारण तत्काल सङ्घर्षको प्रधान रूप शान्तिपूर्ण आन्दोलन नै हुनुु पर्दछ तर त्यसको उद्देश्य दीर्घकालीन सशस्त्र सङ्घर्षका लागि आधार तयार पार्ने हुनुपर्दछ । त्यस प्रकारको तयारी जनआन्दोलनद्वारा जनताको चेतना र सङ्घर्षको स्तर उठाएर नै गर्नु पर्दछ । सबै तत्कालीन आन्दोलनको मुख्य उद्देश्य नयाँ जनवादी क्रान्तिका लागि आधार तयार पार्ने हुनुपर्दछ ।” 
यसरी पार्टीको महत्वपूर्ण भूमिका जनआन्दोलन नै हुने बताइएको छ । हामीले संसदको उपयोग वा बहिष्कार जुनसुकै अवस्थामा पनि जनआन्दोलन र जन सङ्घर्षले नै हाम्रो अधिकतम उद्देश्यको निम्ति स्थिति सहज हुने बताइएको छ । २०४८ सालको संसदीय चुनाव बहिष्कार गर्दा जनताका तात्कालिक र आधारभूत समस्याको समाधान समेत संसदको परिधिभित्र होइन, संसद बाहिर हुने वा जनताको व्यापक जन सङ्घर्षबाट पुरा हुन सक्ने भएकाले तत्काल संसदको उपयोग नगर्ने नीति लिइएको थियो ।पछि संसदको उपयोग क्रान्तिकारी उद्देश्यका लागि गर्ने परिभाषा अख्तियार गर्‍यौँ । अहिले भएका तीन तहको निर्वाचनमा पनि राष्ट्रिय जनमोर्चाको नीति सैद्धान्तिक हिसाबले प्रष्ट छ ।
चुनावसम्बन्धी नीतिलाई प्रष्ट पार्न २०७४ असोज २५ मा जारी गरिएको नेकपा (मसाल) को वक्तव्यमा भनिएको छ– “संसदीय व्यवस्था अन्तर्गत हामीले गतकालमा चुनावमा जति शक्ति लगाए पनि हामीले प्राप्त गर्ने मत वा विजय अत्यन्त कम रहने गरेको छ । त्यही प्रकारले अहिलेको चुनावको परिणाम जस्तो आए पनि जनआन्दोलनलाई दृढतापूर्वक अगाडि बढाउने हाम्रो नीति र प्रयत्न हुनुपर्दछ । यो कुरामाथि पनि हाम्रो ध्यान जानु पर्ने आवश्यकता छ कि गतकालमा कैयौँपल्ट लामो समयसम्म हामीले चुनावमा भाग लिने गरेका थिएनौँ, त्यो अवस्थामा पनि सङ्गठन र आन्दोलनलाई अगाडि बढाउने गरेको गौरवपूर्ण इतिहास पनि हाम्रा अगाडि छ । त्यस प्रकारको उच्च र क्रान्तिकारी स्पिरिटका साथ नै अहिलेको चुनावमा पनि भाग लिने नीति अपनाउनु पर्दछ ।”
यसरी स्पष्ट रूपमा संसदको उपयोग वा बहिष्कार जुनसुकै कालमा पनि जनआन्दोलन मुख्य विषय बनेको छ । चुनावसम्बन्धी उपरोक्त नीति र सातौँ महाधिवेशनको राजनीतिक विश्लेषणका आधारमा समेत स्पष्ट कार्यदिशा भनेकै विभिन्न जन सङ्घर्षद्वारा जनआन्दोलनलाई उठाउने र सशस्त्र सङ्घर्षको आधार सिर्जना गर्ने नै हो भनी बुझ्न सकिन्छ । चिनियाँ कम्युनिस्ट पार्टीको सातौँ महाधिवेशनको राजनैतिक प्रस्तावमा माओले चिनियाँ जनताको मुक्तिको सपनालाई साकार पार्न कोमिन्ताङ सरकारसँग कार्यगत एकता गर्दा समेत उनीहरूको सरकारमा निश्चित पदहरू लिएर सामेल भएर जाने कुरालाई अस्वीकार गर्नु भया,े बरु त्यसको सट्टामा संयुक्त सरकार बनाउन सकिने बताउनु भएको थियो । संयुक्त सरकारको अर्थ हुन्छ– संयुक्त नीति, संयुक्त कार्यक्रम र न्यूनतम संयुक्त गन्तव्य । १९४५ मा चिनियाँ कम्युनिस्ट पार्टीसँग विशाल जनसेना, करोडौँ जनसङ्ख्याको मुक्त इलाका थिए तर पनि कोमिन्ताङ सरकार र कम्युनिस्ट पार्टीसँग जापान विरोधी संयुक्त मोर्चामा पनि दुई कार्यनीतिहरू विद्यमान थिए । 
नेपालको सन्दर्भमा पनि जनआन्दोलनलाई विकास गर्न हामीले संसद र सरकारसम्बन्धी माक्र्सवादी–लेनिनवादी दृष्टिकोण नै अपनाउनु पर्ने हुन्छ अर्थात् कार्यनीतिले रणनीतिको सेवा गरोस् । कार्यनीतिमा त्यति मात्र लचक बन्न सकिन्छ, जति लचक बन्दा आधारभूत कार्यक्रममा सहयोग पुग्दछ । नेकपा (मसाल) को सातौँ महाधिवेशनले नेकपा एमालेलाई दक्षिणपन्थी संशोधनवादी र माओवादीलाई सोही दिशामा अगाडि बढेको पार्टीको रूपमा विश्लेषण गरेको छ । दक्षिणपन्थीहरू प्रतिक्रियावादी तत्वमा परिणत हुने पनि उत्तिकै सम्भावना रहन्छ । त्यसै गरेर एमालेलाई निम्न पूँजीवादी र आंशिक रूपमा राष्ट्रिय पूँजीको प्रतिनिधित्व गर्ने पार्टीको रूपमा चित्रण गरिएको छ । उनीहरूको दलाल पूँजीपति वर्गको वर्गीय शक्तिमा परिवर्तन हुने सम्भावना उत्तिकै रहन्छ । यसर्थ आधारभूत कार्यक्रम नयाँ जनवादका लागि तात्कालिक सङ्घर्षलाई तेज बनाउन आवश्यक कार्यनीति तय गर्नु पर्ने हुन्छ ।
उपर्युक्त प्रकारको परिस्थितिमा नेकपा (मसाल) आठौँ महाधिवेशनको सङ्घारमा उभिएको छ । सातौँ महाधिवेशनले निर्दिष्ट गरेका केही कार्यक्रमहरू संविधान सभा, गणतन्त्र र संविधानको निर्माण सम्पन्न भएका छन् भने अब आठौँ महाधिवेशनले हाम्रो आधारभूत कार्यक्रम नयाँ जनवाद र त्यसका लागि सशस्त्र सङ्घर्ष र त्यसको आधार तयार पार्न तात्कालिक जन सङ्घर्षको ठोस कार्यदिशा तय गर्नु पर्ने छ । यसरी देशको अवस्थामा आएको आधारभूत परिवर्तनका आधारमा न्यूनतम कार्यक्रमलाई पुरा गर्न तात्कालिक राजनीतिक कार्यदिशाको सही उपभोग गर्दै अधिकतम कार्यक्रमसम्म पुग्ने बलियो आधार छ ।
त्यसैले माओले १९४५ मा भने जस्तो “हामीलाई रोक्ने हर प्रयास निसन्देह नै विफल हुनेछ ।” हाम्रो भविष्य उज्ज्वल छ । क्रान्तिकारी आन्दोलनको भविष्य उज्जवल छ र जनताको मुक्ति–अवश्यम्भावी छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप लेखहरू
राष्ट्रियताको प्रश्न ः प्रमुख मुद्दा
भावी वामपन्थी सरकारसँग भारतीय साइनो
कम्युनिस्ट पार्टी निर्माणको समस्याबारे केही कुरा
विश्वास र सन्देहबीचको द्वन्द्वात्मक सम्बन्ध
आगामी विद्यार्थी आन्दोलनको बाटो
परिवर्तित स्वरूपमा महिला शोषण
पुरुष सत्ताका विरुद्ध मुस्लिम महिलाहरूको सङ्घर्ष
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal