२०७५ असार २७ गते, बुधबार   वर्ष ३५, अंक २९
मिति(२०७५ आषाढ ३२, आइतवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
लेखहरू
आगामी विद्यार्थी आन्दोलनको बाटो
युवराज आचार्य
नेपालमा २०१६देखि २०४६सम्म राजा महेन्द्रले लादेको निर्दलीय पञ्चायती व्यवस्थाको समयमा विद्यार्थी सङ्गठनहरूको उदय भयो । सर्वप्रथम २०२२ सालमा नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियनको स्थापना भयो । त्यसपछि २०२९ सालमा नेपाली काङ्ग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ स्थापना भयो । नेपाल कम्युनिस्ट पार्टीको स्थापना भए पश्चात् माक्र्सवाद, लेनिनवाद र माओ विचारधाराको वैचारिक तथा सैद्धान्तिक पक्षहरूलाई गरिब–दुखी जनताका बीचमा पुर्‍याउने उद्देश्यका साथ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको स्थापना गरिएको भएता पनि त्यसैको प्रतिधु्रवमा नेपाली काङ्ग्रेसले पनि विद्यार्थी आफ्नो पार्टी निकट विद्यार्थी सङ्गठनको स्थापना गरेको थियो । यस प्रकार विद्यार्थी सङ्गठनको इतिहास बित्दै जादा माउपार्टीहरूको टुटफुटसँगै कहिले टुट्ने त, कहिले जुट्ने हुदै आजका दिनसम्म आई पुगेका छन । त्यो एतिहासिक परिस्थितिदेखि अहिलेको अवस्थामा आई पुग्दा थुप्रै प्रकारका विद्यार्थी आन्दोलन तथा सङ्घर्षहरू भएता पनि अहिलेको वर्तमान अवस्थामा विद्यार्थी आन्दोलनमा देखिएको सुस्तता, नैरास्यता तथा विभिन्न सरकारी तथा गैर सरकारी निकायहरूले विद्यार्थी आन्दोलनमा लगाएको बन्देजले निकट भविष्यमै नेपाली समाजलाई खतरनाक अराजकताको स्थितिमा पुराउने निश्चित छ । त्यसैले यस लेखमा हिजोको विद्यार्थी आन्दोलन, त्यसको उद्देश्य र त्यो क्रान्तिकारी ऐतिहासिक विरासतलाई बचाउँदै खास गरेर गरी खाने जनताको मुक्तिका निम्ति अबको विद्यार्थी आन्दोलनले कसरी सकारात्मक भूमिका खेल्नु पर्दछ ? त्यस विषयमा यो लेख केन्द्रित रहने छ । 
मानिसले बाल्यकालदेखि नै औपचारिक तथा अनौपचारिक शिक्षाको आरम्भ गर्दछ । विभिन्न शिक्षाशास्त्रीहरूको कुरालाई आधार मान्दा बालकको पहिलो पाठशाला घर हो र उसको पहिलो शिक्षिका आमा हुन् । तथ्यगत रूपमा यो कुरा साँचो पनि हो । मानिस जन्मेपछि उसले आफ्नो घरबाटै शिक्षा प्रारम्भ गर्दछ । त्यस बाहेक उसले विद्यालय गएर आफ्नो औपचारिक शिक्षा थालनी गर्दछ । जब ऊ किशोरावस्था हुँदै युवा अवस्थामा प्रवेश गर्दछ, उसले विभिन्न विद्यालय तथा विश्वविद्यालयमा आफ्नो रुचि र क्षमता अनुरूपको शिक्षा आर्जन गर्दछ । यस्तै प्रकारले नै सामान्यतया एक विद्यार्थीको जीवनमा शिक्षाको औपचारिक रूपमा प्रवेश हुन्छ । वास्तविक रूपमा मानिसले उसको जीवन जिउनका निम्ति सरल र अनुशाशित मार्गको खोजीमा शिक्षाको प्रारम्भ गर्ने गर्दछ । उसको यो चाहना हुन्छ कि उसले आफूले चाहेको जस्तो शिक्षा आर्जन गर्न पाओस्, उसले आफूले शिक्षा प्राप्त गरी सके पश्चात् आफू आत्मनिर्भर बन्न सकोस् र अरूलाई पनि सही मार्गमा ल्याउन सकोस् । यो कुरा उसका बाबुआमाको चाहना पनि हो । यस प्रकारको मानिसको चाहना अनुकूल शिक्षाका निम्ति व्यावहारिक शिक्षाको अनिवार्यता हाम्रो समाजमा छ । हामीले देख्ने गरेका छौ कि अध्ययन तथा औपचारिक शिक्षा लिन लागेका मानिस र तिनका अभिभावकहरूको चाहना भनेको सबैभन्दा सस्तो र व्यावहारिक शिक्षा लिन पाइयोस् भन्ने नै हो ।
यहाँनेर एउटा महत्वपूर्ण प्रश्न हामीसामु आउछ कि हाम्रो समाजको अहिलेको अवस्थामा के त्यो कुरा सम्भव छ त ? यस प्रश्नको उत्तर फरक फरक विचार बोक्ने मानिसहरूको मुखबाट फरक फरक प्रकारका प्राप्त गर्न सकिन्छ । तर मूल रूपमा दुई वटा कुराहरू सत्य हुन् ः एउटा, विचारले अहिले विश्वभर हरेक प्रणालीहरूमा विश्व व्यापारीकरण र पूँजीवादीकरणको अवस्था छ । यस अन्तर्गतको शैक्षिक संरचनाले गरिब तथा सर्वहारा वर्गका मानिसहरूका छोराछोरीहरूलाई यिनीहरूले चाहेको जस्तो निःशुल्क र व्यावहारिक शिक्षा प्रदान गर्न सक्दैन, उल्टै यसले पूँजीपतिहरूका भक्तिभजन गाउने र उनीहरूकै निम्ति आवश्यक पर्ने दास जनशक्तिहरू उत्पादनमा प्राथमिकता दिन्छ । त्यस्तै अर्काे विचारले अहिलेको विज्ञान र प्रविधिको युगमा मानिसहरूलाई शिक्षाको जरुरत पर्दछ । त्यसका निम्ति शिक्षण संस्थालाई चाहे जतिसुकै पैमानामा शुल्क तिर्न किन नपरोस्, शुल्क भुक्तानी गर्न सक्नेले मात्र त्यो शिक्षा लिन पाउँछ भन्छ । यस प्रकारको अवस्थामा हाम्रो वास्तविक आवश्यकता के हुने र कुन प्रकारले परिस्थितिको वास्तविकतालाई हामीले हाम्रो अनुकूल बोध गर्ने भन्ने कुरा प्रधान छ । हामीले देखेको सत्य यो हो कि अहिले विश्वमा पूँजीवादी शोषणको युग चली रहेको छ । त्यस प्रकारको युगको प्रत्यक्ष प्रभाव शिक्षा क्षेत्रमा परेकाले वास्तविक रूपमा गरी खाने वर्गकोभन्दा सीमित साम्राज्यवादी, पूँजीवादी वर्गको नै सबैखाले शिक्षामा पहुँच हुने छ । उनीहरूले जसोतसो गरेर शिक्षा लिएका गरिब तथा सर्वहारा वर्गका छोराछोरीहरूलाई आफ्ना बौद्धिक दासको रूपमा मात्र उपभोग गर्नेछन् । तिनीहरूको ध्यान उनीहरूले नै प्रयोग तथा विकास गरेको वैज्ञानिक शिक्षा लिनबाट गरिबका छोराछोरीहरूलाई बञ्चित गर्नका निम्ति नै केन्द्रित हुने छ । अहिले त्यही कुरा भई रहेको पनि छ । त्यस कारण हरेक संसारभरका राज्य र ती राज्यहरूमा चली रहेका शासन व्यवस्थामा गरिबका छोराछोरीहरूले ती पूँजीवादीहरूका छोराछोरीले जत्तिकै शिक्षाको अवसर पाउनु पर्दछ । यो सामाजिक रूपमा सचेत विद्यार्थीहरूले मात्रै बोध गर्न सक्दछन् । त्यसका निम्ति ती सचेत विद्यार्थीहले विभिन्न विद्यालय तथा विश्व विद्यालयहरूमा अध्ययन गर्ने दुई÷चार जना मात्रै शोषित–पीडित जनताका छोराछोरी होइन, लाखौँलाख शोषित–पीडित जनताका छोराछोरीहरूलाई तिनै पूँजीवादीहरूको सङ्गठित अपराधको विरुद्धमा जाई लाग्नको निम्ति सङ्गठित गर्नु पर्ने हुन्छ । त्यसको परिणाम शसक्त क्रान्तिकारी विधार्थी सङ्गठन निर्माण हुने छ, जुन अहिलेको युगिन आवश्यकता हो ।
अहिले सम्पूर्ण विश्वको विज्ञान मूलतः पूँजीपतिहरूको हातमा छ । त्यसैले उनीहरूले आफ्नो अनुकूलता अनुरूपको घातक प्रकारका विज्ञान र नया खोजहरूको विकास गरेका छन् । खास गरेर विज्ञान र अनुसन्धान, व्यावहारिक शिक्षाका उपज हुन् । यस प्रकारको व्यावहारिक तथा वैज्ञानिक शिक्षा प्राणालीलाई आफ्नो कब्जामा राख्दै आफ्नो अनुकूलता अनुरूप विज्ञानको विकासका निम्ति आवश्यक पर्ने जनशक्ति उत्पादनमा पूँजीपतिहरू रातोदिन लागी परेका छन् । त्यसले गर्दा अल्प विकसित तथा अविकसित मुलुकका शिक्षण संस्थाहरूमा उनीहरूले आफ्ना दासहरू उत्पादन गर्नका निम्ति गम्भीर हस्तक्षेप गर्ने काम गरेका छन् । सामन्तवादको अन्त्य गर्दै समाजवादी राज्य व्यवस्थाका निम्ति लागी परेका देशहरूका वाहेक विकास हुन नसकेका र राजनीतिक अस्तव्यस्तताको भुमरीमा फसेका गरिब राष्ट्रहरूको उच्च शिक्षालाईमाथि उठ्न नदिनका निम्ति उनीहरूले अनुदान तथा सहयोगको नाममा विश्व विद्यालयहरू नै कब्जा गर्ने र अस्तब्यस्त पार्ने काम गरेका छन् । उनीहरूले ती विश्व विद्यालयहरूको शैक्षिक नीतिलाई निजीकरण गर्दै सुलभ शिक्षालाई गरिब तथा गरी खाने वर्गको पहँुचबाट टाढा बढाई दिने काम गरेका छन् । यस प्रकारको परिस्थितिको उपज ती देशहरूका सम्पन्न परिवारका निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरू निश्चित अध्ययन पुरा गरे पश्चात् विदेशिने गरेका छन् । नेपालको सन्दर्भमा विदेशी दाताहरूको ठिक त्यही प्रकारको नियतिकै कारण नेपालकै ठुलो तथा पुरानो विश्व विद्यालय त्रिभुवन विश्व विद्यालय शैक्षिक स्खलन र अस्तव्यस्तताको शिकार भएको छ ।
त्रिविमा उनीहरूको कब्जा र उनीहरूको नीतिगत रवैयाको कारण समग्र देशकै शिक्षा प्रणाली परिवर्तनको आवाज तथा आन्दोलनलाई सङ्कुचित पार्ने काम गरेका छन् । यस प्रकारको स्थितिले गदा जनताका छोराछोरीहरू सुलभ, वैज्ञानिक तथा व्यावहारिक शिक्षाको पहँुचबाट टाढा भएका छन् । हामीले देख्ने गरेका छाँै कि अहिले नेपालका अधिकांश हुनेखाने वर्गका छोराछोरीहरू प्लस टूसम्मको अध्ययन सके पश्चात् सकेसम्म प्राविधिक शिक्षासँग सम्बन्धित विषयहरूमा उच्च शिक्षाको निम्ति विदेश पस्ने गरेका छन । अन्ततः उनीहरू विदेशमा शिक्षा प्राप्त गरी सकेपछि उतै हराउने गरेका छन । तर गरिब वर्गका छोराछोरीहरू उच्च शिक्षा अध्ययन गर्नका निम्ति साहु–महाजनसँग जीवनभर तिर्न ठिक्क हुने ऋण लिएर बुर्जुवा प्रकारको उच्च शिक्षा अध्ययन गर्न बाध्य छन् । यस प्रकारको परिस्थितिले के देखाउँछ भने साम्राज्यवादी तथा पूँजीपतिहरूले विश्वभरको शिक्षा प्रणालीलाई आफ्नो अधिनमा राख्ने, समग्र विज्ञानको विकासलाई आफ्नो अधिनमा राख्ने, समग्र शिक्षा प्रणालीलाई आफ्नो अनुकूल निर्धारण गर्ने काम गरेका छन् । त्यसैले शिक्षा आम जनताको पहुँचमा पुर्‍याउनका निम्ति यस्तो परिस्थितिको खारेजी हुनु अनिवार्य छ ।
नेपालको सन्दर्भमा हाम्रा शासक वर्गहरू मुख्यतः दुई वटा कुराहरूमा चुकेका छन् ः एक, उनीहरू शिक्षाको व्यापक निजीकरण गर्नमा तल्लिन छन् र अर्को, समग्र शिक्षा प्रणालीलाई कमिसन, घुसखोरी, दलाली र भ्रष्टीकरण गर्नमा उद्यत छन् । यदि कुनै पनि देशको शिक्षा प्रणाली कुनै व्यक्ति तथा समूहहरूको पूर्ण नियन्त्रणमा रहन्छ भने त्यो शिक्षाको निजीकरण हो । नेपालमा शैक्षिक व्यवस्थाको सुरुवात भएदेखि हालसम्मका हाम्रा शासकहरू शिक्षाको निजीकरण गर्नमा तल्लिन देखिन्छन । नेपालमा अहिलेसम्मका कुनै पनि सरकारहरूले शिक्षालाई पूर्ण जिम्मेवारीका साथ जनताका बीचमा पुर्‍याउन सकेका छैनन् र त्यो चाहना पनि गरेका छैनन् । उनीहरूले कमिसन र घुसखोरीको आधारमा समग्र शिक्षा प्रणालीलाई निजी व्यक्ति तथा संस्थाको हातमा सुम्पने काम गरेका छन, जसले गर्दा गरिब जनताका छोराछोरीहरूले सकी–नसकी महङ्गो शुल्क तिर्न बाध्य छन् । त्यसरी महङ्गो शुल्क तिरेर निजी शिक्षा प्रणाली अन्तर्गत सरकारले निर्धारण गरेको पाठ्यक्रम अनुसारको शिक्षा लिदा पनि समग्र शिक्षा प्रणाली नै उत्पादनमुखी नभएको हुँदा आज शिक्षित जनशक्ति आफ्नो जीवन धान्नका निम्ति विभिन्न देशमा तेस्रो दर्जाको काममा पसिना बगाउन बाध्य छन ।
तुलनात्मक रूपमा उत्पादनमुखी र व्यावहारिक प्राविधिक शिक्षालाई केही हदसम्म लागु गरिएको भएता पनि त्यसमा गरिब जनताको पहुँच पहाड फोर्ने काम जत्तिकै गाह्रो छ । गरिब र निम्न आयस्तर भएका जनताका छोराछोरीले केही सङ्ख्यामा मात्रै सीमित गरिएका प्राविधिक विषयहरू, खास गरेर प्रतिस्पर्धीहरूको चर्काे लस्करको कारण अध्ययन गर्न सकी रहेका छैनन् । त्यस्तै, अहिले हाम्रो देशमा चली रहेका सीमित प्राविधिक शिक्षाहरूमा व्यापक रूपमा भ्रष्टाचार, कमिसन, घुसखोरी र दलाली चली रहेको छ । हाम्रा शासकहरूले सीमित पूँजीपतिहरूलाई क्याम्पस सञ्चालनका निम्ति सम्बन्धन दिदा यस प्रकारका अनैतिक, अव्यावहारिक र अपाच्य क्रियाकलाप गर्ने गरेका छन्, जसको सिधा प्रभाव गरिब जनताका छोराछोरीमाथि पर्ने गरेको छ । त्यसैले सचेत विद्यार्थी तप्काले त्यस प्रकारको अवस्थाप्रति सचेत रहँदै सङ्घर्ष गर्नु जरुरी छ । सामान्यतः यो कुरा सबैले ठान्दछन् ।
नेपालमा मुख्य रूपमा दुई प्रकारका विद्यार्थी सङ्गठनहरू विद्यार्थी आन्दोलनमा सक्रिय छन् । तीमध्ये एक प्रकारका विद्यार्थी सङ्गठनहरू पूर्णतः सामन्ती, पूँजीवादी, अवसरवादी, दक्षिणपन्थी, घोर संशोधनवादी र आफ्नो पार्टी नेतृत्वप्रति चरम दलाली गर्ने खालका छन् । सङ्ख्याका हिसाबले ती ठुला छन् । अर्को प्रकारका विद्यार्थी सङ्गठनहरू क्रान्तिकारी सोचका साथ शिक्षाको प्रगतिशील रूपान्तरण तथा परिवर्तनका निम्ति सङ्घर्ष गर्ने, त्यसका साथै सबै प्रकारका शैक्षिक विकृति र विसङ्गतिहरूका विरुद्ध सशक्त सङ्घर्ष गर्नु पर्छ भन्ने खालका छन् र उनीहरू सङ्ख्याको हिसावले साना छन् । पहिलो खालका सङ्गठनहरूले शैक्षिक मुद्दाहरू गौण रूपमा उठाउने र उठाए पनि सम्झौता गर्ने, अनि त्यसको नाफाको भागिदार पनि हुन भ्याउने गर्दछन् । त्यसका साथै समग्र विद्यार्थी आन्दोलनलाई भ्रष्टीकरण र दलालीकरण गर्न प्रयत्नशील छन् भने दोश्रो विद्यार्थी सङ्गठनहरूले सही प्रकारका शैक्षिक मुद्दाहरू उठाई शैक्षिक विकृतिहरूका विरुद्ध सम्झौताहीन सङ्घर्ष गर्दै आफनो क्रान्तिकारी यात्रालाई अगाडि बढाई रहेका छन् । त्यस कारण आज यस्ता तमाम समस्याहरूको समाधानका निम्ति सर्वप्रथम सङ्गठनहरूको नीति, चरित्र र व्यवहारका विरुद्धमा दोश्रा सङ्गठनहरू कटिबद्ध रूपमा लाग्नु पर्ने देखिन्छ । यस अर्थमा समग्र विद्यार्थी आन्दोलनलाई नै व्यापक शुद्धीकरण आवश्यक छ ।
विश्वव्यापी रूपमा चली रहेका यस प्रकारका धनी र पूँजीपतिमुखी शिक्षा प्रणालीहरूले गरिब जनताको हित गर्न सक्दैनन् । विश्वभर नै देखिने गरेर राज्यका शासक वर्गहरूले शिक्षामा जुन प्रकारले हस्तक्षेप गर्दैछन्, त्यसका विरुद्ध सङ्घर्ष आवश्यक छ । कुनै पनि ठाउँको शिक्षा प्रणाली त्यस राज्यको समग्र शिक्षा प्रणालीमा आधारित हुन्छ । हामीले देख्ने गरेका छौँ कि आज संसारका सबैजसो देशहरूमा विद्यार्थी सङ्गठनहरू त्यस प्रकारको शिक्षा प्रणालीको खारेजीका निम्ति सङ्घर्ष गर्दै आई रहेको बताई रहेता पनि पनि वास्तविक रूपमा धेरैजसो विद्यार्थी सङ्गठनहरूले गरिब जनताका छोराछोरीहरूको हितमा होइन, समग्र कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट विचारधाराको विरुद्ध पूँजीवादीहरूको भक्ति भजन गाउने गरेका छन् । अहिलेका विश्वका अधिकांश मुलुकका विद्यार्थी आन्दोलनहरू सीमित पैसा, कमिसन, पद, प्रतिष्ठा र पहुँच स्थापनाको निम्ति सञ्चालन भएका छन् । लेनिनको पालाको सोभियत रूसको विद्यार्थी आन्दोलन, माओको पालाको चीनको विद्यार्थी आन्दोलन र अन्य कतिपय प्रगतिशील विद्यार्थी आन्दोलनहरू वास्तविक रूपमा गरिब जनताको पक्षमा थिए । तिनीहरूले राज्यको समग्र क्रान्तिकारी आन्दोलनको रूपमा प्रचार प्रसार गरी गरिब जनतालाई मुक्तिका निम्ति एकजुट हुन भूमिका खेलेका थिए । हामीलाई यो कुरा थाहा छ कि विद्यार्थी आन्दोलन मूलतः गरिब सर्वहारा वर्गको आन्दोलनको सहायक हो । कुनै पनि मुक्तिगामी आन्दोलनले विद्यार्थी आन्दोलनको हुँकारसँग बलिदानीपूर्णको सहयोगको अपेक्षा गरेको हुन्छ । त्यसले विद्यार्थी आन्दोलनलाई आफ्नो अभिन्न अङ्गको रूपमा विकसित गर्न चाहन्छ । त्यो कुरा व्यावहारिक रूपमा आवश्यकता र सम्भव पनि छ । अर्को कुरा, विद्यार्थी सङ्गठन वास्तविक रूपमा क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको प्रमुख प्रचारक संस्था पनि हो । त्यही उद्देश्यका साथ नै क्रान्तिकारी विद्यार्थी सङ्गठनको निर्माण गरिन्छ । त्यस कारण आजको विश्व भूराजनीति र देशको राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई अझ उचाइमा पुर्‍याउनका निम्ति सङ्गठित विद्यार्थी सङ्गठनले विश्वभरका गरी खाने वर्गको शासन सत्ता स्थापना गर्ने हुँकार बोकेर यी पूँजीवादीहरूका विरुद्ध चट्टानी अठोट बोकेर क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्नु पर्ने हुन्छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप लेखहरू
राष्ट्रियताको प्रश्न ः प्रमुख मुद्दा
भावी वामपन्थी सरकारसँग भारतीय साइनो
कम्युनिस्ट पार्टी निर्माणको समस्याबारे केही कुरा
विश्वास र सन्देहबीचको द्वन्द्वात्मक सम्बन्ध
युवा पुस्ताको काँधमा आएको अभिभारा
परिवर्तित स्वरूपमा महिला शोषण
पुरुष सत्ताका विरुद्ध मुस्लिम महिलाहरूको सङ्घर्ष
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal