२०७४ चैत्र २८   वर्ष ३५, अङ्क १६
मिति(२०७५ वैशाख १०, आइतवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
लेखहरू
कम्युनिस्ट पार्टी निर्माणको समस्याबारे केही कुरा
– राम बहादुर बुढा
सशक्त, विशाल कम्युनिस्ट पार्टी निर्माण गर्ने चाहना राखेर मात्र त्यस्तो पार्टी निर्माण हुँदैन । अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय परिस्थिति, पार्टीले अपनाउने सैद्धान्तिक, राजनीतिक विषय, नियमित रूपमा घटने घटना र तीप्रति पार्टीले अपनाउने दृष्टिकोण तथा व्यवहार अर्थात् पार्टीको कार्यनीति, पार्टीका नेता÷कार्यकर्ताहरूको कार्यशैली, पार्टी सञ्चालनको तरिका, पार्टीको जन सम्बन्ध, पार्टी अनुशासनको अवस्था—यी लगायतका कुराहरूले कम्युनिस्ट पार्टी निर्माणलाई प्रभाव पारी रहेका हुन्छन् । 
अहिले विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा छ । सोभियत सङ्घको विघटन, चीनमा प्रतिक्रान्ति, पूर्वी युरोपका देशहरूमा समाजवादको अन्त्य भई सकेपछि विश्व कम्युनिस्ट आन्दोलन कमजोर अवस्थामा पुग्यो । त्यसको प्रत्यक्ष प्रभाव विश्वभरिका कम्युनिस्ट पार्टीहरूमा पर्‍यो । कैयौँ देशमा कम्युनिस्ट पार्टीहरूले त कम्युनिस्ट पार्टीको नाम नै परिवर्तन गरे । त्यसको प्रभाव स्वतः नेपालमा पनि पर्‍यो र सच्चा कम्युनिस्ट पार्टी निर्माणको कार्यले ठोस गति प्राप्त गर्न सकेन । विभिन्न प्रतिक्रियावादी पार्टी र कम्युनिस्ट पार्टीको मूल सिद्धान्त परित्याग गरी सकेका एमाले, माओवादी–केन्द्र जस्ता पार्टीहरू सङ्ख्यात्मक रूपमा वा बुर्जुवा चुनावी प्रतिस्पर्धामा ठुला देखिनु तर मसाल जस्तो कम्युनिस्ट सिद्धान्तको मूल मर्मलाई परित्याग गर्नु हुन्न भन्ने पार्टी कमजोर देखिनुमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको कमजोर अवस्थाको प्रभावले निकै हदसम्म काम गरेको छ । सोभियत सङ्घको विघटनपछि साम्राज्यवादीहरूको एकलौटी दादागिरी, साम्राज्यवादीहरूले विश्वव्यापी रूपमा सृजना गरेका उपभोक्तावादी संस्कृति र व्यक्तिवादी चिन्तनले कम्युनिस्ट पार्टी निर्माणमा व्यवधान पुर्‍याई रहेका छन् । पूँजीवादी–संशोधनवादीहरूले पनि कम्युनिस्ट सिद्धान्त अर्थात् माक्र्सवाद–लेनिनवादका आधारभूत सिद्धान्त, वर्गसङ्घर्ष, सर्वहारा अधिनायकत्व औचित्यहीन भएको बताई रहेका छन् । के कम्युनिस्ट आन्दोलनको भविष्य समाप्त भएकै हो त ? के साम्राज्यवाद र पूँजीवाद नै मानव जातिको अन्तिम र अमरणशील व्यवस्था हो र ? हैन, मानव जातिको विकासको इतिहासले त्यो कुरालाई अस्वीकार गर्दछ । मानव समाजको प्राचीन कालमा संसारैभरि गोत्रहरू थिए । गोत्रहरूको विकसित अवस्था कविलाहरू थिए । गोत्र र कविलाहरू विघटन भएर सामन्ती कालमा संसारभरि राजतन्त्र स्थापना भयो । विश्वभरि राजाहरू थिए । राजतन्त्रको अन्त्य हुँदै पूँजीवादी लोकतन्त्र कायम भयो । विगतका सामाजिक–राजनीतिक व्यवस्थाहरू जसरी परिवर्तन भए, ठिक त्यसरी नै वर्तमान सामाजिक–राजनीतिक व्यवस्था पनि परिवर्तन हुनु अनिवार्य छ । निजत्वको विकल्पमा आउने व्यवस्था भनेको सामूहिकत्व नै हो । कम्युनिस्ट आन्दोलनको अहिलेको कमजोर अवस्था अस्थायी हो । भविष्यको महान् परिवर्तनको निम्ति अहिलेदेखि नै सच्चा कम्युनिस्ट पार्टी निर्माणमा हाम्रो निरन्तर प्रयत्न हुनुपर्दछ । 
अहिले विश्वव्यापी रूपमा कम्युनिस्ट विरोधी वातावरण छ । कुनै बेला पञ्चायतको पक्षमा वातावरण थियो । काङ्ग्रेसका चर्चित नेताहरू परशु नारायण चौधरी, तुल्सी गिरी, विश्वबन्धु थापा लगायत पञ्चायत पसे । कम्युनिस्ट पार्टीका केशर जङ्ग पञ्चायत समर्थक बने । कमल राज रेग्मी लगायत कैयौँ पञ्चायत पसे । कुनै दिन यस्तो समय पनि थियो, केशर जङ्ग रायमाझीको सिफारिसमा नेपालीहरूले रूसमा डाक्टर, इञ्जिनियर पढ्न पाउथे । आखिर केशर जङ्ग कम्युनिस्ट पार्टी त्याग गर्न पुगे । व्यक्तिगत लाभ देखाएर मानिसलाई आफ्नो बनाएर मात्र राजनीति जोगिने रहेन छ भन्ने उदाहरण पञ्चायत र केशर जङ्गबाट बुझ्न सकिन्छ । रूपलाल विश्वकर्माले जीवनको अन्त्यतिर माक्र्सवाद असफल भएको घोषणा गरे । बाबुराम भट्टराईले पनि माक्र्सवाद त्यागेकै बताए । कैयौँ मानिसहरू कम्युनिस्ट आन्दोलनबाट पलायन हुने सम्भावना छ । कथित वामपन्थी गठबन्धनको हावा चली रहेका बेला त्यो सम्भावना अरू बढी छ । तर जतिसुकै कम्युनिस्ट विरोधी वातावरण भए पनि यो स्थिति सधैँ रही रहने छैन । वास्तवमा पूँजीवादी व्यवस्था भनेको धनलोलुपताको व्यवस्था हो । महान् समाजशास्त्री लुइस हेनरी मोर्गनले भने झैँ “यदि यो संसार परिवर्तनशील छ भने धनलोलुपताको अन्त्य हुनु अनिवार्य छ ।” पूँजीवादी व्यवस्था अन्यायपूर्ण र असमानतामा आधारित छ । त्यसले मानव समाजलाई न्याय, समानता र स्वतन्त्रताको निम्ति सङ्घर्ष गर्न, सङ्गठित हुन बाध्य बनाउँदै लैजान्छ । तसर्थ कम्युनिस्ट आन्दोलनको भविष्य उज्ज्वल छ । कतिपय पूँजीवादी चिन्तकहरू के ठान्छन् भने माक्र्सवाद नै यस्तो दर्शन हो, जसले सबैभन्दा बढी सामाजिक न्यायको वकालत गर्‍यो, जसले गर्दा पूँजीपतिहरू पनि मजदुरहरूलाई उचित ज्याला, बोनस, उद्योगमा सेयरको व्यवस्था लगायत सुविधाहरू दिन पुगे । पूँजीवादले नै मजदुरहरूको समस्या पनि हल गरी दिएपछि उनीहरू सङ्घर्षमा जान जरुरी हुँदैन र माक्र्सवादी–लेनिनवादी सिद्धान्तले भने जस्तो समाजवाद÷साम्यवाद पनि जरुरी हुँदैन । तर सत्य कुरा के हो भने पूँजीवादी व्यवस्थाले गर्ने ती सुधार केवल पूँजीवादी सङ्कटबाट जोगिन लगाइएका टालाहरू हुन् । पूँजीवादी व्यवस्था अन्यायपूर्ण भएकाले अनेकौँ सङ्कटहरू थपिँदै जान्छन् । भ्वाङहरू पर्दै जान्छन् । जतिसुकै पूँजीवादी सङ्कटका भ्वाङहरू टाल्दै गए पनि पूँजीवाद झन् झन् ठुला सङ्कटहरूमा पर्दै गएको छ । त्यसले समाजवाद जन्माउँदै छ । यही दृष्टिकोणबाट कम्युनिस्ट पार्टी निर्माणमा हामीले ध्यान दिनु पर्दछ ।
सिद्धान्तलाई व्यवहारमा परिणत गर्न नसक्नु पार्टी निर्माणमा अर्काे समस्या हुने गर्दछ । संसारभरि विभिन्न पार्टीहरू छन् । तिनका निश्चित सैद्धान्तिक–दार्शनिक आधारहरू हुन् । इस्लाम धर्मावलम्बी बाहुल्य देशका कैयौँ पार्टीहरूले इस्लामिक दर्शनलाई आधार बनाएर पार्टी निर्माणमा लागेका हुन्छन् । कुनै पार्टीहरू इसाईवादमा आधारित हुन्छन् । भारतमा भाजपा हिन्दूवादमा आधारित रहेर निर्माण भएको पार्टी हो । नेकपा (मसाल) को सिद्धान्त माक्र्सवाद, लेनिनवाद, माओ विचारधारा हो । यो सिद्धान्त माक्र्सवादकै विकसित रूप हो । माक्र्सवादले सर्वहारा, शोषित–पीडित वर्गको पक्षपोषण गर्दछ । माक्र्सवादले शोषित–पीडित वर्ग एकताबद्ध भई बुर्जुवा सत्तालाई बलपूर्वक कब्जा गरी शोषित–पीडित वर्गकै हित–स्वार्थको रक्षा गर्ने शासन–व्यवस्था कायम गर्नु पर्दछ भन्ने मान्यता राख्दछ । राप्रपाले हिन्दूवादका आधारमा पार्टी निर्माण गर्न खोजेकाले उसले हिन्दू पुजारी, सन्त–महन्तसित सङ्गत बढाउँछ । नेपाली काङ्गेस सामन्त, दलाल र नोकरशाही पूँजीपति वर्गको पार्टी भएकाले ती वर्गहरूको स्वार्थमा घुनपुत्लो लाग्न थाल्यो भने तिनै वर्गको पक्षबाट बोल्दछ र आफ्नो वर्गीय चरित्र देखाउँछ । एमाले, माओवादीले मूल रूपमा निम्न पूँजीपति वर्गको प्रतिनिधित्व गर्ने भएकाले उनीहरू तिनै वर्गप्रति उत्तरदायी देखिन्छन् र उनीहरूको वर्गीय चरित्र अनुसार सामन्त, दलाल, नोकरशाही पूँजीपति वर्गप्रति सम्झौतापरस्त व्यवहार अपनाउँछन् । राप्रपाले पुजारी, सन्त–महन्तसित सङ्गत बढाए जस्तै हामीले जुन वर्गीय राजनीतिको दस्तावेजमा उल्लेख गर्दै आएका छौँ, ती वर्गसित हामीले सङ्गत बढाएका छौँ कि छैनौँ ? ती वर्गका समस्याहरूको अध्ययन गरी तिनका समस्यालाई सूत्रबद्ध गरी तिनलाई प्रशिक्षित, सङ्गठित र आन्दोलित गर्ने काम गरेका छौँ कि छैनौँ ? यी हाम्रा लागि अहम् प्रश्नहरू हुन् ।
भूमिहीन, सुकुम्बासी, गरिब किसान, मजदुर, “मुक्त कमैया”, हलिया लगायत तमाम उत्पीडित वर्गको पक्षमा सङ्गठन र सङ्घर्षको योजना बन्नु पर्दछ । निम्न पूँजीपति वर्ग र मध्यम वर्गको सहानुभूति सहयोग प्राप्त गर्ने वातावरण निर्माण गर्न सक्नु पर्दछ । एक जना कार्यकर्ता साथीले आफ्नो विचार राख्दै भनेका थिए– सबभन्दा पहिला त हामी कताका हौँ भन्ने स्पष्ट हुनु पर्‍यो । उनको भनाइ वर्गीय आधारमा प्रष्ट हुनु पर्‍यो भन्ने थियो । एक जना वृद्ध मसाल समर्थक महिला, जसले पञ्चायत कालमा पार्टीका कैयौँ नेता÷कार्यकर्ताहरूलाई खाना खुवाउने काम गरेकी थिइन्, ले भनेकी थिइन् कि ए बाबु ¤ उहिले पञ्चायतका बेला मसालका मान्छे भनेपछि कति विश्वास लाग्थ्यो । माया लाग्थ्यो । उनीहरू आफ्ना लागिभन्दा पनि समाजका लागि लडेका हुन्थे । आजभोलि त व्यवहारमा मसालका मान्छेलाई काङ्ग्रेस, एमालेबाट छुट्टाउन मुश्किल हुन थाल्यो । ती वृद्ध महिलाको भनाइ सामान्य जस्तो भए पनि पार्टी निर्माणको सन्दर्भमा उनको भनाइले ठुलो अर्थ राख्दछ । सिद्धान्तलाई व्यवहारसँग गाँस्न सकिएन भने सच्चा कम्युनिस्ट पार्टी निर्माण हुन सक्दैन । सिद्धान्तलाई व्यवहारमा प्रयोग गर्नुको अर्थ हामी “श्राद्धमा विरालो बाँधे” जस्तो जडसूत्रवादी÷कठमुल्लावादी बन्नु हुँदैन । वर्तमान परिस्थितिमा उत्पन्न भएका समस्या र अन्तर्विरोधहरूको पहिचान गरी तिनको हल गर्न परिस्थितिको सापेक्षतामा सिद्धान्तलाई व्यवहारमा प्रयोग गर्नु पर्दछ ।
सही कार्यनीति तय गर्न नसक्दा कम्युनिस्ट पार्टी निर्माणमा समस्या आउँछ । उदाहरणका लागि संसदीय निर्वाचनको उपयोगको विषयलाई लिन सकिन्छ । संसदीय व्यवस्थालाई उपयोग गर्न र त्यसलाई क्रान्तिको हितमा प्रयोग गर्ने कम्युनिस्ट पार्टीको स्थापित मान्यता हो । तर व्यवहारमा संसदीय व्यवस्थाको उपयोग हैन, कम्युनिस्ट पार्टी र त्यसका नेता संसदीय व्यवस्थाबाट उपयोग हुँदै जाने र अन्ततः पार्टी दक्षिणपन्थी बन्ने, अनि बुर्जुवा पार्टी बन्ने वा पार्टी समाप्त हुने जस्ता दुर्घटना हुन सक्छन् । विश्वका धेरै कम्युनिस्ट पार्टीहरू त्यस्तै दुर्घटनाबाट जोगिन सकेका छैनन् । बुर्जवा निर्वाचन र संसदीय गतिविधिमा मात्र पार्टीको ध्यान केन्द्रित भयो भने सच्चा कम्युनिस्ट पार्टी निर्माण हुन सक्दैन । बुर्जुवा चुनाव भनेको पूँजीपतिहरूको पूँजीको प्रतिस्पर्धा हो, पूँजीपतिहरूको घात–अन्तर्घात र षडयन्त्रको प्रतिस्पर्धा हो । त्यस्तो चुनावमा सर्वहारा वर्गले श्रेष्ठता हासिल गर्न सक्दैन । बुर्जुवा चुनावमा प्रतिस्पर्धा गरेर बलियो र सच्चा कम्युनिस्ट पार्टी बनाउने ठान्यौँ भने त्यो सोह«ै आना गलत हुने छ । बुर्जुआ चुनावमा जुन चिजहरूको प्रतिस्पर्धा हुन्छ, त्यो सर्वहारा शोषित वर्गसित हुँदैन त, उनीहरू कसरी प्रतिस्पर्धा गर्न सक्दछन् ? त्यसैले बुर्जुवा चुनाव र संसदीय व्यवस्थालाई क्रान्तिकारी सङ्घर्षको पक्षमा उपयोग गर्न, आफ्नो पक्षमा जनमत सृजना गर्ने र जन सम्बन्ध कायम गर्ने माध्यमका रूपमा उपयोग गरिनु पर्दछ । पार्टीको वास्तविक उद्देश्य प्राप्तिको निर्णायक सङ्घर्ष संसद बाहिर खोजिनु पर्दछ । बल प्रयोगद्वारा सत्ता कब्जा गर्ने कम्युनिस्ट पार्टीको सिद्धान्त हो तर आत्मगत र वस्तुगत परिस्थिति अनुकूल नभएकाले सशस्त्र सङ्घर्षको कार्यनीति मसालले अपनाउन सकेको छैन । संसदीय सङ्घर्षमा पनि आशालाग्दो परिणाम आउन सकेको छैन । यी कारणहरूले गर्दा मसालको पङ्क्तिमा निराशा देखिन्छ । “हाँसको चाल न बकुल्लाको चाल” र “न मर्ने न मोटाउने” नेपाली उखान जस्तै भयौँ भन्ने साथीहरूलाई लागेको छ । अझ विरोधीहरूले थ्रेसहोल्ड कार्यान्वयन भएपछि त्यसबाट मसाल देशबाटै पत्तासाफ हुँदै छ भनेर प्रचार गरी रहेका छन् । यसरी उत्पन्न निराशामाथि विजय प्राप्त गर्दै पार्टीलाई साँच्चिकै कम्युनिस्ट पार्टी जस्तो बनाएर अगाडि बढ्नु हाम्रो आजको मुख्य चुनौती हो । लेख लेखेर, भाषण गरेर, बाटा–दोबाटा, चोक र चिया पसलमा गफ गरेर, विरोधीहरूसित जबाफ–सवाल गरेर मात्र हामीले यो निराशालाई चिर्ने वा विरोधीलाई जबाफ दिन सक्ने छैनौँ । दरिलो जन सम्बन्ध, व्यवस्थित पार्टी, ठोस योजना र कार्यक्रम, क्रान्तिकारी सङ्घर्षबाट मात्र हामीले विरोधीहरूलाई जबाफ दिन सक्ने छौँ, निराशालाई चिर्न सक्ने छौँ ।
कहिल्यै पनि कुनै व्यक्ति विशेषको स्वार्थलाई केन्द्रमा राखेर कार्यनीति तय गरिनु हुँदैन । यदि त्यसो गर्न थाल्ने हो भने बोलाइमा माक्र्सवाद र गराइमा व्यक्तिवाद हावी हुने छ । त्यसका विपरीत कार्यनीति तय गर्दा रणनीतिलाई केन्द्रमा राखेर र रणनीतिलाई मद्दत पुग्ने गरी गरिनु पर्दछ । हाम्रा समग्र व्यवहार, नीति, कार्यक्रम पार्टी र क्रान्तिको हितमा हुनुपर्दछ । व्यक्तिवादी प्रवृत्ति यस्तो हुन्छ कि जसले राम्रा काम र उपलब्धिको जस आफूले मात्र लिन खोज्छ, गल्ती, कमजोरी र दोषभरि अर्काको थाप्लोमा थुपारी दिन्छ । व्यक्तिवादले पार्टी र सम्पूर्ण क्रान्तिकारी आन्दोलनलाई भ्रष्टीकरण गर्दछ । उदारवादी र अराजकतावादी चिन्तन भनेको के हो ? तिनका स्रोतहरू के हुन् ? ती चिन्तनका विशेषताहरू कस्ता हुन्छन् ? पार्टीमा ती चिन्तन प्रणालीलाई कसरी परास्त गर्न सकिन्छ ? यी विषयहरूमा छलफल गर्दै तिनलाई हटाउन तयार भएर नै व्यक्तिवादलाई निरुत्साहित गर्न सकिन्छ । 
कम्युनिस्ट पार्टी निर्माणसित नेता र कार्यकर्ताको कार्यशैली पनि जोडिएको हुन्छ । विभिन्न गलत प्रवृत्तिहरू कम्युनिस्ट पार्टी निर्माणमा व्यवधान बनी रहेका हुन्छन् । कतिपय नेताहरूमा यस्तो प्रवृत्ति हुन्छ कि जसलाई अन्य नेता र कार्यकर्ताबाट केवल प्रशंसाको ध्वनि श्रवण गर्न मात्र रुचि लाग्छ । अरूबाट गल्ती औल्याइनु, आलोचना गरिनु, फरक मत राखिनु, यहाँसम्म कि कहिलेकाहीँ सुझाव मात्र दिइनु पनि अप्रिय लाग्दछ । यदि यो प्रवृत्ति पार्टीमा हावी हुने हो भने पार्टीभित्रका नेता÷कार्यकर्ताहरूको आलोचनात्मक दृष्टिकोण र सृजनशील क्षमता भुत्ते हुँदै जान्छ । कार्यकर्ताहरू झन् झन् निरीह प्राणी बन्दै जान्छन् । त्यसबाट पार्टीको उर्जाशील शक्ति क्षीण बन्दै जान्छ । पक्का छ– त्यसबाट कम्युनिस्ट पार्टी निर्माणमा ठुलो व्यवधान पुग्दछ । अर्काको कमजोरीलाई वा गलत विचारलाई गलत भन्न नसक्ने, बोलीलाई देव वचन ठान्ने, नेताको प्रशंसा गर्ने, खुशी पार्न लालायित हुने—यो प्रवृत्ति पार्टीभित्र हावी भयो भने कम्युनिस्ट पार्टीभित्र विचारको स्वस्थ प्रतिस्पर्धा हुन सक्दैन । छलफलमा स्वतन्त्रता, कार्यमा एकरूपता, आलोचना, आत्म आलोचना जस्ता जनवादी केन्द्रीयताका नियमहरूलाई प्रयोग गरेर पार्टीमा उत्पन्न हुन सक्ने उपर्युक्त कमजोरीहरूलाई सच्याउन सकिन्छ ।
गणेश प्रवृत्ति पार्टी निर्माणमा ठुलो समस्या रहने गर्दछ । नेतालाई आफूले गरेको कामको बढाइचढाइ रिपोर्टिङ गर्ने, अर्काको अनावश्यक कुरा काट्ने तर यथार्थता आफू काममा फिल्डमा नजाने जुन प्रवृत्ति हुन्छ, त्यो गणेश प्रवृत्ति हो । हिन्दू धर्मशास्त्र शिव पुराणका अनुसार एक पटक शिवले गणेश र कुमार दुई छोरालाई सुमेरु पर्वत घुमेर जो पहिले आउँछ, उसलाई विशेष वरदान दिने घोषणा गरेछन् । कुमार आफ्नो वाहन मयुर चढेर सुमेरु पर्वत घुम्न गएछन् । गणेश आफ्नो वाहन मुसामाथि चढेर शिव र पार्वती बसेको ठाउँ वरपर तीन पटक घुमेछन् र भनेछन्– “हे भगवान ¤ हे मातापिता ¤ तपाईहरू सबै देवताहरूको पनि देवता हो । सिङ्गो सुमेरु पर्वत पनि तपाईहरू नै हो । तपाईहरूको वरपर घुमेपछि सुमेरु पर्वत घुम्न जानु पर्दैन भगवान ¤ शिव खुशी भएर गणेशलाई विशेष वरदान दिएछन्– अबदेखि स्वर्ग, मत्र्य र पाताल तीनै लोकमा हरेक काम गर्दा वा पूजापाठ गर्दा सबभन्दा पहिले तिम्रै पूजापाठ हुने छ । कुमार सुमेरु पर्वत घुमेर आई पुग्दा यता गणेशले विशेष वरदान प्राप्त गरी सकेका थिए । नेपाली समाज हिन्दू चिन्तन र संस्कारबाट परिचालित र प्रभावित छ । त्यो प्रवृत्ति कम्युनिस्ट पार्टीभित्र पनि छिरेको हुन्छ । गणेश प्रवृत्ति निरुत्साहित गरेर मात्र पार्टी निर्माणलाई अगाडि बढाउन सम्भव हुन्छ ।
कतिपय नेता÷कार्यकर्ताहरू इमान्दार हुन्छन् । आफ्ना कुरा जेनतेन राख्न सक्दछन्, तर सहीलाई सही र गलतलाई गलत भनेर दृढतापूर्वक उभिन सक्दैनन् । इमान्दारितापूर्वक आफ्ना कुरा राखे पनि कतिपय व्यक्तिहरूले गलत कुरासित सम्झौता गर्ने सम्झौतापरस्त बानी पनि हुन्छ । यसले पनि पार्टीलाई क्षति पुर्‍याउँछ । कतिपयमा कस्तो प्रवृत्ति हुन्छ भने कुनै पनि व्यक्ति, विचार, घटना प्रवृत्तिप्रति या त अन्ध समर्थन या त अन्ध विरोध ।
कम्युनिस्ट पार्टी निर्माणमा यी लगायतका गलत प्रवृत्तिहरू व्यवधान बनेका हुन्छन् । यी गलत प्रवृत्तिहरूलाई पुरै परास्त गर्न सम्भव नभए पनि न्यूनीकरण गर्दै गएर मात्र कम्युनिस्ट पार्टी निर्माण गर्नु सम्भव हुन्छ । व्यक्तिगत लाभ–हानीलाई ध्यान नदिई समग्र पार्टी, क्रान्तिको हितलाई प्राथमिकतामा राखेर निर्णय गर्न सक्ने क्षमता भएका नेता÷कार्यकर्ताको निर्माण गरेर छलफलमा स्वतन्त्रता र कार्यमा एकरूपता, आलोचना, आत्मालोचनाको विधि जस्ता जनवादी केन्द्रीयताको नियमलाई लागु गरेर कार्यशैलीगत कमजोरीहरूलाई न्यूनीकरण गर्दै हटाउँदै जान सकिने छ । एउटा कुरा के स्पष्ट हुन जरुरी छ भने पार्टी, क्रान्तिको हितमाभन्दा पनि व्यक्तिगत लाभ–हानीको हिसाबकिताब गरेर धारणा निर्माण गर्ने व्यक्ति कम्युनिस्ट हुन सक्दैन ।
पार्टी निर्माणका लागि जन सम्बन्ध महत्वपूर्ण पक्ष हो । स्तालिनले लेखेका छन्– “यदि पार्टी गैर पार्टी जनतासित सम्बन्धित छैन भने, यदि त्यस पार्टी र गैर पार्टी जनताको बीचमा सम्बन्ध छैन भने, यदि गैर पार्टी जनता पार्टीको नेतृत्वलाई मान्दैनन् भने, यदि आम जनताका बीचमा पार्टीको नैतिक तथा राजनीतिक प्रतिष्ठा छैन भने पार्टीले वर्गको नेतृत्व गर्न सक्दैन ।” पार्टीका सबल पक्षहरूको व्यापक प्रचार गरेर जनताको समर्थन बटुल्ने, कमजोरी छन् भने त्यसलाई पनि जनताको बीचमा स्वीकार गर्दै त्यसलाई सच्याएर जाने आँट कम्युनिस्ट पार्टीमा हुनुपर्दछ । सच्चा कम्युनिस्ट पार्टी निर्माणको सन्बन्धमा छलफल गर्नु पर्ने धेरै विषयहरू छन् । अध्ययन, छलफल, साङ्गठनिक काम, सङ्घर्षलाई सँगसँगै अगाडि बढाएर एउटा अनुशासित, जुझारु कम्युनिस्ट पार्टी निर्माण गर्नेतिर ध्यान केन्द्रित गरौँ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप लेखहरू
राष्ट्रियताको प्रश्न ः प्रमुख मुद्दा
भावी वामपन्थी सरकारसँग भारतीय साइनो
विश्वास र सन्देहबीचको द्वन्द्वात्मक सम्बन्ध
आगामी विद्यार्थी आन्दोलनको बाटो
युवा पुस्ताको काँधमा आएको अभिभारा
परिवर्तित स्वरूपमा महिला शोषण
पुरुष सत्ताका विरुद्ध मुस्लिम महिलाहरूको सङ्घर्ष
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal