२०७५ असोज ३ गते, बुधबार   वर्ष ३५, अङ्क ३८
मिति(२०७५ आश्विन ५, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
महिला हिंसाका घटना ः संवेदनहीनता किन ?
काठमाडौँ । केही दिन अगाडि काठमाडौँमा एक युवती सामूहिक बलात्कारको शिकार भएको खबर सार्वजनिक भयो । पीडित युवतीले प्रहरीमा जाहेरी दिइन् तर प्रहरीकै मिलेमतोमा घटनालाई गुपचुप बनाउने प्रयास गरियो । 
पूर्वी नेपालको इटहरीमा उस्तै प्रकृतिको दोस्रो घटना घट्यो । एक बालिकामाथि भएको बलात्कार घटनालाई त्यहाँका प्रहरी इन्सस्पेक्टरले अनुसन्धानको विषय बनाउनुको सट्टा पीडित पक्षलाई नै ‘मिल्न’ धम्की दिए । प्रहरीकै संलग्नतामा घटनालाई गुपचुप बनाउने प्रयास गरियो । 
त्यस्तै, सुदूर पश्चिमकै कञ्चनपुरमा केही वर्ष अगाडि एउटा हाडनाता करणीसम्बन्धी घटना घटेको थियो । बालिका बलात्कारको शिकार बनेका कारण गर्भधारण गर्नु पर्‍यो । त्यो घटनामा बालिकाको भविष्यको मूल्य पाँच हजार तोकेर घटना गोप्य राखियो । बलात्कारी भने एउटा धनाढ्य परिवारको भएकै कारण घटना लुकाइयो । 
यी तीन घटना उदाहरण मात्र हुन्, महिला तथा बालबालिकामाथि भई रहेका हिंसाका घटना र ती घटनाप्रति संवेदनहीनताका ।
राजधानी काठमाडौँमा भएको बलात्कार काण्डमा संलग्न व्यक्तिहरू उच्च घरानिया भएको सञ्चार माध्यममा सार्वजनिक भएका छन् । जसले लाखौँ रूपैयाँको आर्थिक लोभ देखाएर र प्रहरीलाई समेत मिलाएर घटना गुपचुप बनाउने प्रयास गरे । तर सूचना र सञ्चारको बढ्दो पहुँचका कारण राजधानीको मुटुमै भएको जघन्य अपराध लुक्न सकेन । सञ्चार माध्यमहरूको निरन्तर खबरदारीपछि प्रहरीको उच्च तहबाटै घटना छानबिन भई रहेको बुझिएको छ । यो त भयो राजधानी जस्तो सेवा–सुविधा उपलब्ध रहेको ठाउँ, अत्यधिक सचेत मानिस बस्ने ठाउँ एवं सूचना र सञ्चारको पहुँच रहेको ठाउँको घटना ।
यस्तै, घटनाहरू दुर्गम भेगका गाउँबस्तीमा समेत भई रहेका समाचार बेलाबेलामा सार्वजनिक भई रहन्छन् । तर लोकलाज, डर वा घटनाबारे कहिँ उजुरबाजुर गरे पनि न्याय पाइदैन भन्ने आशङ्काका कारण प्रायःजसो यस्ता घटनालाई लुकाउने गरिएको पाइन्छ । अझ कम उमेरका बालबालिकाहरूमाथि हुने यस्ता हिंसाका घटनाहरू अझ दर्दनाक छन् । 
पछिल्लो समयमा महिला तथा बालिकामाथि हुने बलात्कारका घटना असामान्य ढङ्गबाट वृद्धि भई रहेका छन् । कतिपय बलात्कारका घटनामा बलात्कारपछि पीडितको हत्या समेत हुने गरेको छ । बोक्सीको आरोपमा असहाय महिलाहरू मारिनेदेखि लिएर हदैसम्मको निकृष्ट व्यवहार सहन बाध्य छन् । 
पछिल्लो समयमा नेपालमा महिला तथा बालबालिकामाथि हुने हिंसाका घटना बढ्दै गएको तथ्याङ्कले देखाएको छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार नेपालमा आ.व. २०७३÷७४ को एक वर्षको अवधिमा ११ हजार छ सय २९ वटा घरेलु हिंसाका घटना घटेका छन्, जुन आ.व. २०७२÷७३ माभन्दा दुई हजार दुई सय ३१ ले बढी हो । आ.व. २०७१÷७२ मा आठ हजार दुई सय ६८ वटा घरेलु हिंसाका घटना घटेको नेपाल प्रहरीको तथ्याङ्कमा छ ।
यस्तै, नेपालमा एक वर्षको अवधि आ.व. २०७३÷७४ मा एक हजार एक सय ३१ वटा जबरजस्ती करणीका घटना घटेका छन्, जुन आ.व. २०७२÷७३ माभन्दा ८८ वटाले बढी हो । आ.व. २०७२÷७२ मा एक हजार ८९ वटा जबरजस्ती करणीका घटना घटेका थिए । आ.व. २०७१÷७२ मा नौ सय ८१ वटा जबरजस्ती करणीका घटना घटेका थिए । आ.व. २०७३÷७४ मा जबरजस्ती करणी उद्योगका पाँच सय ३६, १०७२÷७२ मा चार सय ५२ र २०७१÷७२ मा पाँच सय ६२ वटा घटना घटेको छ । 
यस्तै, नेपालमा पछिल्लो समय मानव बेचविखनका घटना बढ्दो छ । प्रहरीको तथ्याङ्कले समेत घटना बढेको देखाउँछ । प्रहरीको तथ्याङ्क अनुसार आ.व. २०७३÷७४ मा दुई सय २७ वटा मानव बेचविखनका घटना घटेका छन् । आ.व. २०७२÷७३ मा दुई सय १२ र २०७१÷७२ मा एक सय ८१ वटा मानव बेचविखनका घटना घटेका थिए । अहिले विभिन्न प्रलोभनमा पारी विदेश लैजाने बहानमा मानव बेचविखन गर्ने क्रम बढ्दो रहेको छ । विदेशमा महिलाहरूले पाएका यातना र हिंसाका घटनाहरू बेला बेलामा सार्वजनिक हुने गरेका छन् ।
यौन व्यवसाय, सर्कस लगायत विभिन्न प्रयोजनका लागि भारत तथा खाडी मुलुकहरूमा बर्सेनी लगभग पाँच हजार महिला तथा बालबालिका बेचिने तथ्याङ्क सार्वजनिक हुँदै आएको छ । त्यस्तै, रोजगारीका लागि खाडी लगायत विभिन्न देश पुगेर घरेलु श्रमिकका रूपमा काम गर्ने महिलाहरूको शोषण एवं अत्याचार पनि बेलाबेलामा सार्वजनिक हुने गरेका छन् । 
महिला भएकै आधारबाट मानव अधिकारको उपभोगमा गरिने विभेद, शारीरिक तथा मानसिक रूपबाट दिइने पीडा, प्रतिबन्ध लगायत जुनसुकै तरिकाबाट महिलाको आत्मसम्मानमा पुर्‍याइने सबै किसिमको आघातलाई महिला हिंसाका रूपमा लिइन्छ । समाजमा महिला हिंसाको स्थिति कायम रहन विभिन्न तत्वले भूमिका निर्वाह गरी रहेका हुन्छन् । 
समाजमा व्याप्त पितृसत्तात्मक सोच, अन्धविश्वास, पुरातन संस्कार एवं परम्परा, विभेदपूर्ण कानुन, लैङ्गिक असमानता, आर्थिक परनिर्भरता, अशिक्षा, गरिबी, नीति निर्माणको तहमा महिला प्रतिनिधित्वको न्यूनता जस्ता विषय नै महिलामाथि हिंसा हुनुका प्रमुख कारणका रूपमा देखिएका छन् । पितृसत्तात्मक नेपाली समाजमा महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा गरिने व्यवहार अहिले पनि जारी छ । महिला र पुरुषबीच विद्यमान यही सामाजिक विभेदका कारण पनि महिलामाथि हिंसा भई रहेको छ । महिलामाथि हत्या, बलात्कार, यौन दुव्र्यवहार, अपहरण, बेचबिखन, कुटपिट, आगो लगाउने, विष ख्वाउने, एसिड खन्याएर कुरूप बनाउने, दैनिक घर–व्यवहारमा भेदभाव गर्ने, संस्कार एवं परम्पराका नाममा अधिकारबाट वञ्चित गर्ने÷गराउने, आत्मसम्मानमा चोट पुग्ने बोली र व्यवहार गरिने आदि घटना भई रहेका छन् । 
महिला हिंसाका विरुद्ध बेलाबेलामा आवाजहरू उठ्ने गरेका पनि छन् । प्रत्येक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म १६ दिने महिला हिंसा विरुद्धको अभियान चलाइन्छ । १९९९ डिसेम्बर १७ मा संयुक्त राष्ट्र सङ्घ महासभाले २५ नोभेम्बरलाई अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको दिवसका रूपमा मनाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेसँगै हरेक वर्षको २५ नोभेम्बरका दिन विश्वभर महिला हिंसा विरुद्ध दिवस मनाइन्छ । तर प्रत्येक वर्ष महिला हिंसा विरुद्धको अभियानलाई महिला अधिकारकर्मीले भव्य रूपमा मनाए पनि र सरकारले विभिन्न प्रतिबद्धता जाहेर गरे पनि महिला हिंसाको अवस्था भने जस्ताका तस्तै छ । 
यसरी विभिन्न सङ्घ÷संस्थाले जतिसुकै कार्यक्रम गरे पनि बलात्कार भएका पीडित महिलाहरूले समाजमा एउटा कलङ्कित जीवनयापन गरी रहेका हुन्छन्, यहाँसम्म कि उसको घर–परिवारले समेत साथ छोडेको अवस्था हुन्छ । तर बलात्कार गर्ने पुरुष त्यही समाजमा एउटा सामान्य रूपमा जीवनयापन गरी रहेको हुन्छ । महिला तथा बालबालिकामाथि भई रहेका हिंसाका घटनाप्रतिको संवेदनहीनताका कारण पीडितले थप पीडा खप्न बाध्य छन् । 
यस्तो खालको घटनालाई पूर्ण रूपले निर्मूल पार्नका लागि मानिसमा चेतना जगाउनुका साथै महिला तथा बालबालिकामाथि गरिने हिंसाका घटनाका पीडकलाई कठोर कानुनी कारवाही गरिनु पर्छ । अपराध लुकाउन खोज्नेहरूलाई थप सजायको भागिदार बनाइनु पर्छ । महिला तथा बालबालिकामाथि हुने हिंसाका घटनाप्रति समाज, नियम, कानुन, व्यवहार सबैमा अत्यन्त संवेदनशील बन्न जरुरी छ । – लक्ष्मी चौधरी

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
वाम गठबन्धनको इमान्दारितामा आशङ्का
चुनावी सहमति कार्यान्वयन नगरिएकोमा नेकपा (मसाल)द्वारा दुःख प्रकट
जनजाति सम्मेलनको राष्ट्रिय परिषद जेठ ५–७ अर्घाखाँचीमा हुने
प्रदेश संसदको पहिलो बैठकमै सङ्घीयताको सशक्त विरोध
अप्रिल–जुनमा मूल प्रवाहको नगर सम्मेलन हुँदै
एकता समाजको प्रतिनिधि मण्डल दूतावासमा
मसालद्वारा मालदिभ्स घटनाको भत्र्सना
दोषीलाई कार्वाहीको माग
त्रिभुवन विमानस्थलको विस्तार पुनः सुरु
दुर्घटनामा वार्षिक दुई हजारले ज्यान गुमाउने
जातीय समता समाजको भेला सम्पन्न
युवक सङ्घका जिल्ला भेलाहरू सम्पन्न
अध्यक्ष भण्डारीलाई युएर्ईबाट सम्मान सहित बिदाइ
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal