२०७५ जेष्ठ ८ गते, बुधबार   वर्ष ३५, अङ्क २२
मिति(२०७५ ज्येष्ड १३, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार अन्तर्वार्ता
पुराना अंक
लेखहरू
समाजवाद उन्मुख राज्य निर्माण र प्रगतिशील कार्यनीतिको सन्दर्भ
रामप्रकाश पुरी
गत पौषमा सम्पन्न नेकपा (मसाल) केन्द्रीय समितिको बैठकद्धारा पारित राजनीतिक प्रस्तावमा लेखिएको छ– “समाजवाद उन्मुख राज्यको निर्माणको अर्थ हुन्छ– विद्यमान आर्थिक, राजनीतिक अवस्थाको सीमाभित्र पनि अधिकतम प्रगतिशील परिवर्तनहरू । मिहिनेतकश, शोषित र उत्पीडित जनतामाथिका शोषण, उत्पीडन बढीभन्दा बढी कम गर्ने प्रयत्न, उनीहरूको अवस्थामा सुधार, मजदुर, किसान, महिला, जनजाति, दलित, मधेशी, मुस्लिम वा पिछडिएका क्षेत्रहरूको हितहरूको संरक्षण, विदेशी आर्थिक वा राजनीतिक प्रभुत्वबाट निस्कन केही प्रयत्न र राष्ट्रिय हितको पक्षमा अडान । तर यसरी सीमित रूपमा प्रगतिशील वा समाजवाद उन्मुख राज्यको निर्माण वा प्रगतिशील कार्यहरू पुरा गर्नु पनि सजिलो छैन । प्रथम, त्यस प्रकारका प्रयत्नहरूमा देशी वा विदेशी प्रतिक्रियावादी शक्तिहरूले बाधा पुर्‍याउने प्रयत्न गर्नेछन् । संसारका कैयौँ देशहरूमा चुनावको माध्यमद्वारा आएका वाम पक्षधर शक्तिहरूले केही प्रगतिशील कदम उठाउने प्रयत्न गरे भने वा साम्राज्यवादका विरुद्ध राष्ट्रियताको पक्षमा सामान्य प्रकारका नीतिहरू अपनाउन खोजे भने पनि देशीय प्रतिक्रियावादी वा साम्राज्यवादी शक्तिहरूले बाधा पुर्‍याउने, ती सरकारहरूलाई गिराउन षडयन्त्र गर्ने वा सत्ताच्यूत गर्ने गरेका कैयौँ उदाहरणहरू छन् । नेपालमा पनि त्यस प्रकारको सम्भावनालाई अस्वीकार गर्न सकिन्न ।”
विषयवस्तुलाई सही ढङ्गले आत्मसात गर्ने हो भने समाजवाद उन्मुखसम्बन्धी यो धारणामा कुनै भ्रम छैन । तर विषयवस्तुलाई गलत ढङ्गले अथ्र्याउने र आत्मसात गर्ने हो भने संसारमा यो कुरा मात्र होइन, माक्र्सवादी–लेनिनवादी सिद्धान्त र दर्शनमा समेत दिग्भ्रम पैदा हुन सक्दछ । दिग्भ्रमको समस्या आलोचनाका लागि आलोचनाको रूपमा वा कुनै भडकाववादी धारको रूपमा देखा पर्दछ । कैयौँ इमान्दार पक्षहरू दिग्भ्रमको शिकार भएका हुन्छन् भने कतिपय पक्षहरू दिग्भ्रम पैदा गराउने उद्देश्यका साथ क्रियाशील भएका हुन्छन् । त्यसैले दिग्भ्रमलाई इमान्दार पक्षहरूले चिर्नु पर्दछ र वास्तविकताको पहिचान गर्न प्रयत्न गर्नु पर्दछ । पार्टीको राजनीतिक प्रस्तावमा समाजवाद उन्मुखसम्बन्धी व्यक्त भएको धारणाबारे जनतालाई हामीले स्पष्ट गर्दै दिग्भ्रम हुनबाट रोक्नु पर्दछ । समाजवाद उन्मुख भनेको के हो ? राजनीतिक प्रस्तावमा भनिएको माथिको उल्लेखित भनाइलाई आधार बनाएर अरू केही थप छलफल गरौँ ।
समाजवाद उन्मुख र समाजवाद अलग अलग कुरा हुन् भन्ने कुरा सामान्य नै हो । कम्युनिस्टहरूले आफ्नो सम्पूर्ण राजनीतिक जीवनमा समाजवादका लागि नै काम गर्दछन् । उनीहरूले केवल साङ्गठनिक भूमिकामा रहेर मात्र होइन, वस्तुस्थितिको ठोस विश्लेषण र व्याख्या गर्दै राजनीतिक भूमिका पनि खेल्नु पर्दछ । नेपालको सन्दर्भमा मात्र होइन, संसारमा पनि यो इतिहास निर्माण भएको छ कि कम्युनिस्ट आन्दोलनको स्थिति अत्यन्त नाजुक रहेको अवस्थामा पनि समाजवादका सपनाहरू देखिएका छन् र सो अनुसार कार्यनीतिहरू तय गरिएका छन् । कार्यनीति सडक र सदनको राजनीतिमा भिज्ने र त्यसबाट क्रान्तिकारी उपलब्धिहरू प्राप्त गर्ने किसिमले तय भएको पाइन्छ । उपलब्धिहरू केवल आफ्नो सङ्गठनलाई नै प्राप्त हुनु पर्छ भन्ने हुँदैन, तात्कालिक अग्रगामी राजनीतिक परिवर्तन र ती परिवर्तनहरूको संस्थागत विकासको प्रश्नलाई पनि उपलब्धिको रूपमा लिन सक्नु पर्दछ । देश, जनता र समाजमा परम्परागत र रुढिवादी राजनीतिक संस्कार वा नीति–नियमहरूको तुलनामा यस्ता उपलब्धिहरूको सकारात्मक प्रभाव परेको हुन्छ । यस्ता उपलब्धिहरूले देश वा समाजको आगामी राजनीतिक यात्रा वा विकास नयाँ किसिमले हुनका लागि ठुलो आधार खडा गर्दछन् । त्यसैले त्यस्ता उपलब्धिहरूको संस्थागत विकासका लागि कम्युनिस्टहरूले पनि गम्भीर र महत्वपूर्ण ढङ्गले भूमिका खेल्नु पर्दछ । यस्तो भूमिका खेल्नका लागि उनीहरूले राज्यका राजनीतिक निकायहरूलाई कार्यनीतिक रूपमा प्रयोग गर्नु पर्दछ । खासगरी तत्कालीन अवस्थामा आन्दोलन र सङ्घर्षहरूबाट प्राप्त भएका उपलब्धिहरूको रक्षा र संस्थागत विकासको सन्दर्भमा यो कुरा बढी आवश्यक हुन्छ । तर यसको अर्थ अन्य अवस्थामा राज्यका राजनीतिक निकायहरूको प्रयोग गर्नु हुँदैन भन्ने होइन । देश र जनताका निम्ति आवश्यकता अनुसार त्यस विषयमा कम्युनिस्ट र उनीहरूको सङ्गठनले आवश्यक निर्णय गर्दै अगाडि बढ्नु पर्दछ ।
समाजवाद उन्मुख राज्य भनेको समाजवादी राज्य होइन । तर समाजवाद उन्मुख भनेको नेपालको वर्तमान स्थिति पनि होइन । संविधानले कस्तो खालको समाजवाद उन्मुख राज्यको परिकल्पना गर्‍यो ? त्यो हाम्रो विषय होइन । हाम्रो विषय यति मात्र हो कि संविधानमा सो प्रावधानको व्यवस्था भएको छ । संविधानमा व्यवस्था गरिएको समाजवाद उन्मुख राज्यको परिकल्पनालाई यथार्थमा बदल्नका लागि कम्युनिस्टहरू त सक्रिय हुने कुरा छँदै छ, तर पूँजीवादीहरू पनि खुला हृदयले सक्रिय हुनुपर्दछ । संसारमा समाजवादी व्यवस्थाको उदय पूँजीवादको धरातलमा टेकेर नै भएको छ । यो कुरा पनि स्पष्ट छ कि पूँजीवादीहरूको आफ्नो व्यवस्था भनेको पूँजीवादी व्यवस्था हो । यदि यसो हो भने उनीहरूले नेपालको वर्तमान सामाजिक, आर्थिक र राजनीतिक स्थितिमा व्यापक रूपमा सुधार र परिवर्तन ल्याउनका लागि काम गर्नु आवश्यक छ । पूँजीवाद भनेको राम्रो औद्योगिक विकास हो, यसका लागि सामन्तवाद सम्पूर्ण रूपले ध्वस्त हुन आवश्यक छ । पूँजीवाद भनेको राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता र सार्वभौमिकता सहितको राष्ट्रिय अर्थतन्त्रमा निर्भर रहेको सामाजिक व्यवस्था हो । वर्तमानमा स्वयम् पूँजीवाद पक्षधरहरूका लागि पनि नेपालमा यस प्रकारको व्यवस्था कायम नभएकाले उनीहरूले नेपालको संविधानमा उल्लेख भए बमोजिमको समाजवाद उन्मुख राज्यको निर्माण गर्नु अनिवार्य हुन जान्छ । नेपालको वर्तमान सामाजिक व्यवस्था अर्ध सामान्ती र अर्ध औपनिवेशिक अवस्थामा रहेकाले र यसबाट पूर्ण मुक्ति पाउनका लागि नेपालका सबै पूँजीवादी र कम्युनिस्टहरूले सक्दो साझा प्रयास गर्न सक्दछन् । तर नेपालको आर्थिक र सामाजिक संरचनामा सामन्तवादको व्यापक प्रभाव रहेकाले परिवर्तनका लागि योग्य भूमिका खेल्ने भरपर्दो पूँजीवादी शक्तिको स्थिति धेरै नै कमजोर रहेकाले पूँजीवादको आवश्यक विकासका लागि वाम पक्षीय शक्तिहरूले सक्दो सबै जायज भूमिकाहरू खेल्न आवश्यक छ । नेपालमा अर्ध सामन्ती र अर्ध औपनिवेशिक स्थितिलाई समाप्त पारेर मात्र पूँजीवादको अवस्थालाई सुदृढ गर्न सम्भव हुन्छ । त्यसैले समाजवाद उन्मुख राज्य बनाउनका लागि सर्वप्रथम पूँजीवादका लागि काम गर्न आवश्यक हुन्छ ।
समाजवादतर्फ उन्मुख हुनाको लागि कमसेकम पूँजीवादको स्थापना हुनु अनिवार्य नै छ । त्यो पूँजीवाद कमसेकम नेपालको अहिलेको व्यवस्थाभन्दा विकसित, अग्रगामी र प्रगतिशील छ । यस सन्दर्भमा अहिलेको अर्को सम्भावना यो पनि हो ः त्यस्तो पूँजीवादको विकास गर्नका लागि नेपालमा वाम पक्षीय शक्तिहरूले केही प्रगतिशील कार्य र सुधारका कार्यहरू गर्न सक्दछन् । उनीहरूको समाजवादी राज्यसम्बन्धी कुन प्रकारको धारणा छ ? त्यो समाजवाद उन्मुख राज्य निर्माणसम्बन्धी छलफलको सिलसिला होइन । एउटा राम्रो पूँजीवादी राज्यमा समाजवाद निर्माणका थुप्रै आधारहरू खडा भएका हुन्छन् । त्यसैले त्यस्तो पूँजीवादी राज्यमा समाजवादी क्रान्तिको आवश्यकता हुन्छ वा त्यस्तो पूँजीवादी व्यवस्था जो स्वयम् कम्युनिस्टहरूले नै नेतृत्व र सञ्चालन गरेका हुन्छन्—लाई समाजवादी राज्यमा शान्तिपूर्ण सङ्क्रमण गर्न आवश्यक हुन्छ । ती दुवै अवस्थामा समाजवाद उन्मुख राज्य निर्माणको लागि कार्य गर्ने भन्ने हुँदैन । समाजवाद उन्मुख राज्य निर्माणका लागि काम गर्ने भनेको एक प्रकारले राम्रो पूँजीवादको विकास गर्ने भन्ने कुरा हो, जुन पूँजीवादमा समाजवादी व्यवस्थाका लागि व्यापक आधारहरू निर्माण भएका हुन्छन् ।
लेनिनले संसद (डुमा) को प्रयोगमा पनि ढोका खुला गरेका छन् । त्यस अनुसार उनले कम्युनिस्टहरूले राजनीतिक निकायहरूमा प्रवेश गर्ने र भूमिका खेल्नु पर्ने अवस्थाहरूबारे पनि स्पष्ट गरेका छन् । संसदको भण्डाफोर एउटा कार्यक्रम हो, तर यसका साथसाथै अधिकतम सुधारका कार्यहरू गर्नका लागि पनि प्रयत्न गर्नु पर्छ भन्ने कुरामा उनको जोड हो । उनको कार्य व्यवहारलाई हामीले हाम्रो वर्तमान जीवनमा सही ढङ्गले प्रयोग गर्नु आवश्यक हुन्छ । लेनिनको त्यो कार्य व्यवहार द्वन्द्वात्मक सिद्धान्तमाथि आधारित थियो । नेकपा (मसाल) ले अपनाउने कार्यनीति त्यही द्वन्द्वात्मक सिद्धान्तमाथि आधारित कार्य व्यवहारको सिलसिला हो ।
समाजवाद उन्मुखको अर्थलाई हामीले वर्तमानमा अधिकतम सुधार र राजनीतिक कार्यभारको रूपमा लिनु पर्दछ । पार्टीको राजनीतिक प्रस्तावमा भनिए जस्तै समाजवाद उन्मुख राज्यका निम्ति काम गर्न ठुला ठुला चुनौतीहरू छन् । त्यो काम वाम पक्षीय शक्तिहरूले गर्नु पर्ने भएकाले साम्राज्यवादी तथा प्रतिकृयावादी शक्तिहरूले त्यसका विरुद्ध षडयन्त्र गर्ने कुरा स्पष्ट छ । त्यसो हो भने हामीले साम्राज्यवादी र प्रतिकृयावादी शक्तिका विरुद्ध सङ्घर्ष गर्नका लागि विभिन्न वाम पक्षीय शक्तिहरूसँग सम्भव भए जतिका कार्यगत एकता र कोअर्डिनेसनहरू बनाएर काम गर्नु पर्दछ । यो वर्तमान स्थितिको सबभन्दा प्रगतिशील कार्यनीति हुन्छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप लेखहरू
शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण गरौँ
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal