२०७५ असोज १७ गते, बुधबार   वर्ष ३५, अङ्क ४०
मिति(२०७५ कार्त्तिक ६, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
लेखहरू
शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण गरौँ
मोहनविक्रम सिंह
नेकपा (मसाल) को छैटौँ भेला हालै सम्पन्न भएको छ । त्यो भेलाको छलफल खालि दुई वटा एजेन्डाहरूमा मात्र सीमित रहेको थियो ः प्रथम, हालै सम्पन्न चुनावको समीक्षा । द्वितीय, पार्टी अनुशासनको मूल्याङ्कन । ती दुवै विषयहरूमा भेलामा विस्तृत रूपले छलफल भयो । भेलाले हामीलाई दुई वटा जिम्मेवारीहरू दिएको छ ः प्रथम, शक्तिशाली कम्युनिस्ट पार्टीको निर्माण गर्ने । द्वितीय, आठौँ महाधिवेशन सफल पार्ने । आगामी करिब एक वर्षका बीचमा हामीहरू ती जिम्मेवारीहरू पुरा गर्न एकताबद्ध भएर लाग्नु पर्दछ ।
अहिलेको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्थितिमा शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण गर्नु अत्यन्त कठिन कार्य हो । विश्व समाजवादी व्यवस्थाको पतन र पहिलेका धेरै कम्युनिस्ट पार्टीहरूको पतन वा उनीहरूले दक्षिणपन्थी संशोधनवादी दिशा लिएको अवस्थामा शक्तिशाली कम्युनिस्ट पार्टीको निर्माण सजिलो छैन । त्यसका लागि सर्वप्रथम, दक्षिणपन्थी संशोधनवादी सोचाइहरूका विरुद्ध कडा सैद्धान्तिक सङ्घर्ष गर्नु पर्ने छ । त्यसका साथै “वामपन्थी” सङ्कीर्णतावादी सोचाइका विरुद्ध पनि कडा सङ्घर्ष गर्नु पर्ने छ । ती दुवै प्रकारका प्रवृत्तिहरूले कम्युनिस्ट आन्दोलनमा बारम्बार गम्भीर समस्याहरू पैदा गर्दै आएका छन् । हाम्रो देशमा पनि दुवै प्रवृत्तिहरूका विरुद्ध सङ्घर्षको लामो इतिहास छ र त्यस प्रकारको सङ्घर्षका बीचबाट गएर नै हाम्रो पार्टीको विकास हुँदै आएको छ । त्यसकारण ती दुवै प्रकारका प्रवृत्तिहरूका विरुद्ध सङ्घर्ष एउटा निरन्तर चल्ने प्रक्रिया हो । त्यस कारण अहिले पनि हामीले पार्टीमा देखा पर्ने ती दुवै प्रकारका प्रवृत्तिहरूका विरुद्ध उच्च प्रकारको सतर्कता अपनाउनु पर्ने आवश्यकता छ र शक्तिशाली कम्युनिस्ट पार्टीको निर्माणका लागि त्यो एउटा निर्णयात्मक महत्वको कुरा हो । 
आज विश्व र नेपालको कम्युनिस्ट आन्दोलनमा पनि उपभोक्तावादी सोचाइ धेरै नै बढेर गएको छ र त्यो धेरै नै व्यापक भएको छ । त्यसले गर्दा कम्युनिस्ट आन्दोलनमा देश, जनता र मिहिनेतकश जनताभन्दा व्यक्तिगत लाभ र स्वार्थका पक्षमा नै काम गर्ने प्रवृत्तिहरू बढेर गएका छन् । त्यसको परिणामस्वरूप कैयौँ कम्युनिस्ट पार्टीहरू वा ठुलो सङ्ख्यामा कम्युनिस्टहरू क्रान्तिकारी सिद्धान्त र उद्देश्यहरूबाट विचलित हुँदै गई रहेका छन् । जुन कम्युनिस्ट पार्टी वा कम्युनिस्टहरू अहिलेसम्म त्यस प्रकारको विचलनबाट बचेका छन्, उनीहरूमा पनि त्यस प्रकारको प्रवृत्तिहरू बढ्दै जाने खतरालाई अस्वीकार गर्न सकिन्न । त्यो अवस्थामा क्रान्तिकारी सिद्धान्त र दृष्टिकोणका आधारमा कम्युनिस्ट पार्टीको निर्माण अत्यन्त कष्टदायक कार्य बनेको छ । त्यस प्रकारको उपभोक्तावादी सोचाइहरूको समस्या यो मात्र होइन कि ठुलो सङ्ख्यामा कम्युनिस्ट पार्टी वा कम्युनिस्टहरूले क्रान्तिकारी सिद्धान्तबाट पलायन गर्दछन् । त्यसका साथै त्यससित जोडिएको अर्को र झन् महत्वपूर्ण समस्या यो हो कि स्वयं उनीहरूको क्रान्तिकारी चिन्तनमा विचलन भएपछि उनीहरूले आफ्नो स्वार्थ अनुकूल हुने गरी पार्टीको सम्पूर्ण संरचना वा नीति र कार्यपद्धतिहरूलाई पनि परिवर्तन गर्ने गर्दछन् । संसारका र नेपालका पनि कम्युनिस्ट पार्टीहरूको त्यसरी विचलन भएका थुप्रै उदाहरणहरू छन् ।
हाम्रो पार्टीको इतिहासमा पार्टीभित्र कैयौँपल्ट राजावादी, काङ्ग्रेसपरस्त, दक्षिणपन्थी, संशोधनवादी वा उग्र“वामपन्थी” भडकावहरू देखा पर्ने गरेका छन् । कैयौँपल्ट उनीहरूका त्यस प्रकारका प्रयत्नहरूको परिणामस्वरूप हाम्रो पार्टीको सङ्गठन, भूमिका वा जनआधारमा गम्भीर प्रकारको क्षति पनि पुग्ने गरेको छ । त्यस प्रकारका भडकावहरूका विरुद्ध सैद्धान्तिक, राजनीतिक र सङ्गठनात्मक रूपले सङ्घर्ष गरेर नै हामीहरू आफ्नो पार्टीको अस्तित्व बचाउन सफल भएका छौँ । तर गत कालमा हामीले जुन प्रकारको स्थिति वा समस्याहरूको सामना गर्‍यौँ, ती सबै इतिहासका कुराहरू भई सके र अब हामीहरू त्यस प्रकारका सबै खतराहरूबाट मुक्त भई सक्यौँ भन्ने होइन । भविष्यमा नयाँ नयाँ रूपमा त्यस प्रकारका समस्याहरू पैदा हुन सक्दछन् । त्यस प्रकारको समस्याहरूको कुशलतापूर्वक र दृढतापूर्वक सामना गरेर नै हामीले आफ्नो पार्टीको अस्तित्वलाई बचाउन, क्रान्तिकारी दिशामा अगाडि बढ्न र शक्तिशाली कम्युनिस्ट पार्टीको निर्माण गर्न सक्ने छौँ ।
कम्युनिस्ट पार्टीभित्र देखा पर्ने कमजोरी वा समस्याहरूका कारणले कम्युनिस्ट पार्टीको विकासमा बाधा पुग्नुका साथै देशी वा विदेशी प्रतिक्रियावादी शक्तिहरू र सरकारहरूले पनि कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्न, समाप्त गर्न वा क्रान्तिकारी दिशाबाट हटाउन योजनाबद्ध प्रकारले प्रयत्न गर्दै आएका छन् र गर्नेछन् । कैयौँ देशहरूमा उनीहरूले बलको प्रयोग गरेर कम्युनिस्ट पार्टीहरूलाई समाप्त गर्ने प्रयत्न गर्दछन्, जस्तै कि इन्डोनेशिया । तर धेरै जस्तो अवस्थामा उनीहरूले नदेखिने प्रकारले वा छद्म प्रकारले पनि कम्युनिस्ट पार्टीहरूलाई समाप्त पार्ने वा क्रान्तिकारी सिद्धान्तबाट विचलित गर्ने प्रयत्न गर्दछन् । कतिपय अवस्थामा उनीहरूले कम्युनिस्ट पार्टीमा घुसपैठ गर्ने पनि गर्दछन्– पार्टीभित्रका असन्तोष, अन्तर्विरोध वा कमजोरीहरूलाई उपयोग गरेर पनि उनीहरूले क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने, त्यसमा फुट पार्ने प्रयत्न गर्दछन् । सी.आई.ए. ले संसारभरको कम्युनिस्ट आन्दोलन समाप्त गर्न त्यसरी प्रयत्न गरी रहेको छ । नेपालको सन्दर्भमा ‘रअ’ ले पनि त्यसका लागि लगातार प्रयत्न गरी रहेको हुन्छ । वास्तवमा ‘रअ’ ले नेपालमा सबै राजनीतिक पार्टी, प्रशासन, सेना आदि सबैतिर आफ्नो घुसपैठ गर्ने कार्य गरेको छ । कम्युनिस्ट आन्दोलनभित्र पनि त्यसले त्यस प्रकारको प्रयत्न गर्ने कुरा प्रष्ट छ । तर त्यसले नेपालको कुन कम्युनिस्टभित्र कति घुसपैठ गरेको छ ? हामीलाई थाहा छैन । जे होस्, त्यस प्रकारका सबै सम्भावनाहरूप्रति पनि हामीले उच्च प्रकारको सतर्कता अपनाउनु पर्ने आवश्यकता छ ।
पार्टीमा आन्तरिक रूपमा देखा पर्ने कमजोरीहरू वा देशी र विदेशी शक्तिहरूका षडयन्त्रकारी भूमिकाबाट शक्तिशाली कम्युनिस्ट पार्टीको निर्माणमा बाधा पुग्ने गर्दछ । कैयौँ व्यावहारिक समस्याहरूका कारणले पनि शक्तिशाली पार्टीको निर्माणमा बाधा पुग्ने कुराप्रति पनि हाम्रो ध्यान जानु पर्ने आवश्यकता छ । सङ्गठनको विस्तार वा सुदृढीकरणको कार्यमा कार्यकर्ताहरूको कमीले पनि ठुलो बाधा पुर्‍याउँछ । केही दशक यताको स्थितिमाथि विचार गर्ने हो भने पनि प्रष्ट हुन्छ, उपभोक्तावादी सोचाइहरूका कारणले पार्टीको काममा टिक्न नसकेर थुप्रै कार्यकर्ताहरूले पलायनको बाटो समातेका छन् । हाम्रा कार्यकर्ताहरूको एउटा ठुलो सङ्ख्याले आफ्नो आर्थिक समस्या वा रोजगारीको खोजिमा विदेशमा पलायन गरेका छन् । अरू पनि विभिन्न कारणले हाम्रा कार्यकर्ताहरूको सङ्ख्यामा कमी आउने गरेको छ । नयाँ पिँढीबाट आउने कार्यकर्ताहरूको पनि बढी ध्यान आफ्नो क्यारिएर बनाउने वा विभिन्न पेशाहरूमा लाग्नेतिर नै हुन्छ । त्यस प्रकारका व्यक्तिगत अवसरहरू सत्तामा भएका वा सत्तामा पुग्ने सम्भावना भएका राजनीतिक शक्तिहरूका पक्षमा गएपछि नै प्राप्त हुन्छन् । हाम्रो पार्टीमा अधिकतर अवस्थामा मानिसहरू सिद्धान्त, नीतिबाट प्रेरित भएर नै आउने गर्दछन् र हाम्रो पार्टीमा सामेल भएर व्यक्तिगत लाभहरू प्राप्त हुने सम्भावना अत्यन्त कम हुन्छ । त्यसैले हाम्रो पार्टीमा सामान्यतः, सिद्धान्त र नीतिप्रतिको आस्थाले बाहेक, कमै मानिसहरू सामेल हुन्छन् । यी कारणहरूले पनि हाम्रो पार्टीको सङ्गठनको विस्तारमा धेरै बाधा पुग्ने गर्दछ । 
आर्थिक समस्याले पनि हाम्रो सङ्गठनको देशव्यापी विस्तारमा धेरै बाधा पुग्दछ । पार्टीलाई बाह्य रूपमा सहयोग प्राप्त हुने सम्भावना अत्यन्त कम हुन्छ । पार्टीभित्रका आर्थिक स्रोतहरू अत्यन्त सीमित हुन्छन् र ती झन्‌पछि झन् कम हुँदै गई रहेका छन् । लेभी, कोटा, प्रतिशत आदि पनि लगातार कम हुँदै गई रहेका छन् । त्यसरी पार्टीमा आम्दानीको स्रोत घट्दै गएको छ भने खर्च पहिलेभन्दा कैयौँ गुणा बढेर गएको छ । त्यसले गर्दा पार्टीमा आर्थिक सङ्कटको स्थिति उत्पन्न भएको छ । यो स्पष्ट छ कि कार्यकर्ता र आर्थिक समस्याको असर सङ्गठनको विस्तारमा पर्दछ ।
पार्टी निर्माणको कार्यमा अर्को गम्भीर समस्या अनुशासनको हो । पार्टी अनुशासन नभइकन एकता कायम हुन सक्दैन । त्यसरी पार्टी अनुशासन र एकता कायम हुन सकेन भने पार्टीले राजनीतिक वा सङ्गठनात्मक जिम्मेवारी प्रभावशाली प्रकारले पुरा गर्न सक्दैन । एकातिर, पार्टीको कमजोर सङ्गठन, कार्यकर्ताको कमी, आर्थिक समस्या, प्रतिक्रियावादीहरूका चौतर्फी हमला, कैयौँ खुफिया सञ्जालको षडयन्त्रकारी भूमिका, त्यसमाथि पार्टीभित्रको अनुशासन र एकता नै खलबलियो भने त्यसको परिणाम अत्यन्त घातक हुने कुरा स्पष्ट छ ।
पार्टीको अनुशासनको समस्यालाई जनवादी केन्द्रीयताका आधारमा नै हल गर्न सकिन्छ र गर्नु पनि पर्दछ । माक्र्सवादी–लेनिनवादी सङ्गठनात्मक पद्धतिको आधारभूत सिद्धान्त हो– जनवादी केन्द्रीयता । पार्टीमा कैयौँ मतभेदहरू हुन सक्दछन् । पार्टी सदस्यहरूलाई मतभेदहरू राख्ने स्वतन्त्रता हुन्छ र त्यस प्रकारको स्वतन्त्रताको सधैँ रक्षा गर्नु पर्दछ । त्यो नै जनवादको सारतत्व पनि हो । त्यस प्रकारको स्वतन्त्रताको रक्षा गरेर नै पार्टीमा अनुशासन र एकता कायम रहन सक्दछ । लेनिनले मतभेद र एकताका बीचमा कसरी सामञ्जस्यता कायम गर्ने ? त्यसका लागि छलफलको स्वतन्त्रता र काममा एकताको सिद्धान्तको प्रतिपादन गरेका छन् ।
पार्टीमा छलफलको स्वतन्त्रता हुनुपर्दछ । तर कामका दौरानमा एकता हुनुपर्दछ । यी दुवैका बीचमा द्वन्द्वात्मक सम्बन्ध छ । कुनै विषयमा निर्णय गर्नुभन्दा पहिले छलफलको पुरा स्वतन्त्रता हुन्छ । तर एकपल्ट निर्णय भएपछि एकताबद्ध भएर काममा जुट्नु पर्दछ । त्यसो भएन भने, कामको दौरानमा पनि मतभिन्नता र विरोध गर्ने प्रक्रिया चली रह्यो भने पार्टीले कुनै पनि विषयमा सफलतापूर्वक काम गर्न सक्दैन । त्यसैले एकातिर, छलफलको स्वतन्त्रता र अर्कातिर, काममा एकता—ती दुवैका बीचमा सन्तुलन कायम गरेर नै पार्टीमा अनुशासन र एकतालाई कायम राख्न सकिन्छ, जसले पार्टी जीवनमा अत्यन्त ठुलो महत्व राख्दछ । त्यस प्रकारको अनुशासन र एकता भएन भने हामीले कुनै पनि महत्वपूर्ण कार्य पुरा गर्न सक्दैनौँ ।
माथिको सङ्क्षिप्त विवरणबाट स्पष्ट हुन्छ– एउटा शक्तिशाली कम्युनिस्ट पार्टीको निर्माण गर्ने हाम्रो उद्देश्यका अगाडि कैयौँ गम्भीर प्रकारका समस्याहरू छन् । यो कुरालाई अझै स्पष्ट शब्दमा भन्नु पर्दा हामीले त्यस प्रकारको कम्युनिस्ट पार्टीको निर्माणको कार्य अत्यन्त प्रतिकूल परिस्थितिमा गर्नु परी रहेको छ, तैपनि हामीले त्यस प्रकारको प्रतिकूल परिस्थिति वा समस्याको सामना गर्दै क्रान्तिकारी सिद्धान्त र माक्र्सवादी–लेनिनवादी सङ्गठनात्मक पद्धति अनुसार पार्टीको नीति, सङ्गठन वा कार्यप्रणालीलाई कायम राख्ने प्रयत्न गरी रहेका छौँ । तर त्यसरी प्रयत्न गर्ने सिलसिलामा हामीले अनुभव गरी रहेका छौँ, त्यो कार्य सजिलो छैन । अहिलेको मात्र होइन, दशकौँदेखि हामीले त्यस प्रकारको कठिन र प्रतिकूल समस्याहरूको समाधान गर्दै आएका छौँ । पार्टीको सम्पूर्ण इतिहास त्यस प्रकारका कठिन समस्या, प्रतिरोध वा तिनीहरूका विरुद्ध सङ्घर्षहरूले भरिएको छ । तर त्यसको साथै हामीले यो पनि स्वीकार नगरिकन रहन सक्दैनौँ कि कतिपय पल्ट हाम्रो प्रयत्न वा सङ्घर्षहरू असफल पनि हुने गरेका छन् । यो कुरा बेग्लै हो कि त्यस प्रकारका कैयौँ बाधा वा असफलताहरूका कारणले हामीले आफ्ना प्रयत्नहरूबाट पछाडि हट्ने गरेका छैनौँ र लगातार तथा दृढतापूर्वक अगाडि बढ्दै आएका छौँ । भविष्यमा पनि त्यसरी अगाडि बढ्ने छौँ र बढ्न सक्नेछौँ भन्ने कुरामा हामीलाई पुरा विश्वास छ ।
हामी अब आठौँ महाधिवेशनको तयारीमा लागेका छौँ र यो महाधिवेशन नहुँदासम्म हाम्रो मुख्य ध्यान महाधिवेशनमा नै केन्द्रित हुनुपर्दछ । तर हामी महाधिवेशनको तयारीमा लागे पनि देशमा उत्पन्न हुने राजनीतिक समस्या वा आन्दोलनबाट अलग हुन सक्दैनौँ । महाधिवेशनको तयारीका बीचमा पनि संसदभित्र वा बाहिर सबै जिम्मेवारी वा सङ्घर्षका कार्यक्रमहरूलाई आवश्यकता अनुसार अगाडि बढाउने हाम्रो नीति र प्रयत्न हुने छ, तैपनि मुख्य ध्यान महाधिवेशनलाई सफल पार्नेतिर नै हुनुपर्दछ । महाधिवेशनको तयारी पनि एक्लै अगाडि बढ्ने कुरा होइन । महाधिवेशनको सिलसिलामा पनि राजनीति नीति, कार्यक्रम आदि निर्धारित गर्ने, पार्टीभित्र तिनीहरूलाई स्पष्ट पार्ने वा उच्च रूपमा विकसित गर्ने तथा सङ्गठनात्मक अवस्थालाई व्यवस्थित गर्दै जानु पर्दछ । त्यसरी शक्तिशाली कम्युनिस्ट पार्टीको निर्माण र महाधिवेशनको तयारी एक–अर्कासँग अभिन्न रूपले जोडिएका कार्यहरू हुन् र ती दुवैलाई साथसाथै अगाडि बढाउने हाम्रो प्रयत्न हुनुपर्दछ ।
२०७४ फागुन १५ गते

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप लेखहरू
समाजवाद उन्मुख राज्य निर्माण र प्रगतिशील कार्यनीतिको सन्दर्भ
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal