२०७५ असार ६ गते, बुधबार   वर्ष ३५, अंक २६
मिति(२०७५ आषाढ ८, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
लेखहरू
सिरियाली द्वन्द्वको वास्तविकता
समिर सिंह
इस्लामिक संस्कृति लगायत विभिन्न सांस्कृतिक सम्पदाका कारण पर्यटकीय आकर्षणको केन्द्रमा रहने सिरिया अहिले ध्वस्त हुँदै गई रहेको छ । सन् १९४० मा फ्रान्सको उपनिवेशबाट मुक्त भएपछि यो देश राम्रै्र गतिमा अघि बढी रहेको थियो । ७५ प्रतिशत खेतीयोग्य जमिन थियो । ३० प्रतिशत मानिसको बीचमा इन्टरनेटको पहँुच थियो । दमास्कस, अलेप्पो, पालमिरा जस्ता शहरहरूमा पर्यटकहरूको राम्रै आवतजावत हुने गर्दथ्यो । तर अहिले एकदम विपरीत अवस्था छ । बाटो, पानी, बिजुली, कारखाना सबै ध्वस्त भई सकेको छ । अलेप्पो शहरका सबै मुख्य मस्जिदहरू ध्वस्त भई सकेका छन् । पालमिरा शहरमा अवस्थित रोम सभ्यताको कालदेखि करिब ती हजार वर्ष पुरानो विश्व सांस्कृतिक धरोहर समेत ध्वस्त भई सकेको छ । क्रिश्चियन तथा सिया संरचनाहरू कुनै पनि बाँकी छैनन् । अहिले कुनै उत्पादन हुँदैन । खानपिनका सामग्रीहरू एकदम महङ्गो भई सकेको छ । स्वास्थ्य समस्याका कारण पोलियो जस्ता रोगहरू समेत देखा पर्न थालेका छन् । 
लेबनान, टर्की, इराक, जोर्डन, इजरायल जस्ता देशहरूबाट घेरिएको मध्य–पूर्वी यो देशमा हालसम्मको युद्धका कारण करिब पाँच लाखभन्दा बढी मानिस मरी सकेका छन् । ६० लाख मानिस विस्थापित भएका छन् । विस्थापितहरूमध्ये सबैभन्दा बढी २७ लाख मानिस टर्की पुगेका छन् । त्यस्तै, युरोपको जर्मनी, लेबनान, जोर्डन जस्ता देशहरूमा ठुलो मात्रामा सिरियनहरू विस्थापित हुन बाध्य भएका छन् । 
कुनै परिवारका सदस्यहरू आपसमा लडी रहने हो भने के होला ? त्यो परिवारको हित नचाहने तेश्रो व्यक्तिले त्यसको फाइदा उठाउन सक्छ । त्यो परिवारमा सदस्यहरूबीच अझ द्वन्द्व चर्काएर आफ्नो निहित स्वार्थ पूर्तिमा केन्द्रित हुन सक्छ । कुनै गाउँ वा समाजमा बलियो एकता भएन भने पनि त्यही अवस्था आउन सक्छ । देशको सार्वभौमिकता, अखण्डता कमजोर हुने त्यसको साथै जाति, धर्म, क्षेत्र, भाषाका आधारमा आपसमा लड्ने हो भने त्यो देशको हित नचाहने विदेशी शक्तिले त्यसको फाइदा उठाउन सक्छ । गतल नियत भएको त्यो शक्तिले आफ्नो स्वार्थ पुरा गर्न जस्तोसुकै अवस्थासम्म पनि पुग्न सक्छ । अहिलेसम्म संसारका विभिन्न देशहरूमा जात, धर्म, भाषा, क्षेत्रका आधारमा भई रहेका आपसी द्वन्द्व र त्यसका आधारमा हँुदै आएका विदेशी हस्तक्षेपले पनि त्यो कुराको पुष्टि गर्दछ र भर्खरैको उदाहरण हो– सिरिया । 
मध्य–पूर्वी देश सिरिया, जसको राजधानी दमास्कस हो, जहाँ मुस्लिम धर्म अन्तर्गत लगभग १३ प्रतिशत सिया तथा ८३ प्रतिशत सुन्नी समुदायका मानिसहरू बसोबास गर्दछन् । त्यहाँ ड्रज, क्रिश्चियन समुदायका मानिसहरू पनि बस्दछन् । २०११ को जनगणना अनुसार त्यहाँको जनसङ्ख्या दुई करोड २० लाख थियो । सिरियाका राष्ट्रपति बसर अल असद सिया अलावाइट समुदायबाट प्रतिनिधित्व गर्दछन् । उनका पिता हफिस अल असादको १९९७देखि २००० सम्मको शासन कालपछि उनी सत्तामा आएका हुन् । सद्दाम हुसेन इराकको राष्ट्रपति हुँदा उनी बाथ पार्टीको प्रतिनिधित्व गर्दथे । बसर अल असद पनि सोही पार्टीको प्रतिनिधित्व गर्दछन् । उनको झुकाव पनि सिया समुदायप्रति नै रहने गरेको छ । 
सिरियामा समस्याको सुरुवात त्यो बेलादेखि भयो, जब २००६देखि २०११सम्म त्यहाँ सुखाको स्थिति सिर्जना भयो । त्यस प्रकारको सुक्खाग्रस्त अवस्थाका कारण त्यहाँ बेरोजगारी, भोकमरी, अकालको अवस्थासम्म सिर्जना भयो । राजनीतिक रूपमा भ्रष्टाचार व्यापक रूपमा बढ्दै गयो, जसका कारण त्यहाँका जनतामा असद सरकारका विरुद्ध आक्रोशको स्थिति सिर्जना भयो । परिणाम यो हुन गयो कि २०११ बाट ट्युनिसियाबाट सुरु भएको अरब क्रान्ति (जसलाई जस्मिन क्रान्ति पनि भनिन्छ) बाट यो देश पनि प्रभावित हुन पुग्यो र मार्च २०११ मा यहाँ ठुलो सडक प्रदर्शन भयो । त्यो आन्दोलनले इजिप्ट, ट्युनिसिया जस्ता देशहरूको सत्ता परिवर्तन भयो तर सिरियामा त्यसो हुनु सम्भव भएन । आन्दोलन चर्कदै गएपछि असद सरकारले त्यहाँको न्यायपूर्ण आन्दोलनलाई अमानवीय प्रकारले दमन गर्न थाल्यो । दमन गर्ने राष्ट्रपति सिया समुदाय तथा अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गर्ने हुनाले बहुसङ्ख्यक सुन्नी समुदाय झनै आक्रोशित हुन थाले । यसरी विस्तारै त्यहाँको आन्दोलनले साम्प्रदायिक रूप लिन थाल्यो । असद सरकारको निर्मम आक्रमणका विरुद्ध विद्रोहीहरूद्वारा समेत हतियारको प्रयोग गर्न थालियो । 
सिरियामा सिया तथा सुन्नीबीच चर्किदै गएको साम्प्रदायिक भावनालाई पक्रदै विभिन्न आतङ्कवादी सङ्गठन तथा विदेशी शक्तिहरू आ–आफ्ना स्वार्थहरूमाथि केन्द्रित हुँदै बेग्लाबेग्लै प्रकारले धु्रवीकरणको माध्यमबाट अगाडि बढ्न थाले । २०११ मा सिरियन आर्मीबाट विद्रोह गरेर फ्री सिरियन आर्मी गठन भयो, जसले सेक्युलरिज्म जस्ता कुराहरू उठायो । २०१२ तिर त्यहाँ थुप्रै जेहादी (धार्मिक युद्ध गर्नेहरू) देखा परे । सुन्नी समुदायको वकालत गर्ने आई.एस.आई.एस. ले त्यहाँ आफ्नो नियन्त्रण गर्न सुरु गर्‍यो । इराकको फजुला तथा मसुल शहरमा आफ्नो प्रभाव विस्तार गरेको यो सङ्गठनले सिरियाको राका शहर कब्जा गर्दै आफ्नो गतिविधि अगाडि बढाउन थाल्यो । अबु बक्र अल बग्दादी यो सङ्गठनको नेता रहने गरेका छन् । त्यस्तै, अल–कायदाको शाखा, जबात अल नुस्रा (जसलेपछि आफ्नो नाम परिवर्तन गरेर जबात फतेह अल शाम भन्न थाल्यो) ले पनि आफ्नो प्रभाव बढाउन थाल्यो । त्यस्तै, टर्कीको समर्थन रहेको मुस्लिम ब्रदरहुड, जातीय सङ्गठन कुर्द (जसले कुर्दिस्तान भनेर स्थानीय सरकार चलाई रहेको छ), फ्रेन्ड्स अफ सिरिया ग्रूप लगायत लगभग ७५ आतङ्कवादी सङ्गठनहरू अहिले पनि त्यहाँ क्रियाशील छन् । इजरायलका विरुद्ध लडी रहेको सिया सङ्गठन, हिजबुल्ला (जसलाई असाद सरकारको समर्थन छ) ले पनि त्यहाँ आफ्नो प्रभाव जमाउन थाल्यो । 
सिरियामा च्याउ जस्तै कट्टरपन्थी सङ्गठनहरू निर्माण हुन थाले । इरान र साउदी अरबबीचको आपसी खटपट चली नै रहन्थ्यो । सेप्टेम्बर ११ बाट डराएको अमेरिका यी आतङ्कवादी सङ्गठनहरूलाई आफ्नो स्वार्थ अनुरूप प्रयोग गर्न कहाँ छुट्थ्यो र ? भू राजनीतिक दृष्टिले अत्यन्तै महत्व रहेको साउदी अरबलाई आफ्नो पक्षमा पार्दै अमेरिकाले आफ्नो चलखेल सुरु गर्‍यो । २०१२ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियाली विद्रोही समूहहरूलाई सहयोग गर्न अमेरिकाको केन्द्रीय जासुस एजेन्सी, सी.आई.ए. को प्रयोग गर्‍यो । विद्रोही समूहलाई विभिन्न प्रकारका हतियार तथा प्रशिक्षण दिएर सहयोग गर्न थालियो । एकदमै नकारात्मक पृष्ठभूमि भएको राबर्ट एस फोर्डलाई अमेरिकाले सिरियामा राजदूतको रूपमा नियुक्त गर्‍यो । सिरियाको स्थिति बिग्रदै जानुमा ती राजदूतको नकारात्मक भूमिका पनि एउटा कारण हो । अमेरिकन गतिविधिलाई ब्रिटेन, टर्की, कतार, जोर्डन जस्ता देशहरूले सहयोग गरे । यस प्रकारको सहयोगका आधारमा त्यहाँका विद्रोही सङ्गठनहरूले आफ्ना आतङ्कवादी गतिविधिहरूलाई झनै चर्काउन थाले । यस प्रकारका गतिविधिहरूबाट आतङ्कित हुँदै गएको असद सरकारले २०१३ मा सरिन ग्याँसबाट समेत आक्रमण गरेको आरोप लगाइन्छ । रङ तथा वासना नभएको सरिन ग्याँसका कारण सास फेर्न गाह्रो हुने, पसिना धेरै आउने, पेट दुख्ने, बान्ता हुने जस्तो लक्षणहरू देखा पर्दछ र अन्तमा मानिसको मृत्यु हुन्छ । यस प्रकारको विषम परिस्थिति रोक्न सोही वर्ष जेनेभा कन्फ्रेन्स समेत भयो तर त्यो उपलब्धिमूलक रहेन । 
२०१४ मा अल–कायदाबाट अगल भएको आई.एस.आई.एल. ले सर्वत्र सरिया कानुन लागु गर्नु पर्ने भन्दै कुर्द तथा एफ.एस.ए.माथि आक्रमण गर्न थाल्यो । त्यसको प्रतिक्रियास्वरूप सोही वर्षको सेप्टेम्बरतिर अमेरिकाले आई.एस.आई.एल. विरुद्ध आक्रमण गर्न थाल्यो । विद्रोही सङ्गठनहरू मजबुत हुन थालेपछि २०१५ तिर रूसले आफ्ना सेनाहरू पठाएर आई.एस.आई.एल., एफ.एस.ए., अल नुस्राहरूमाथि आक्रमण गर्न थाल्यो । 
सिरियामा विभिन्न शक्तिहरू अस्तित्वमा रहे पनि मुख्य शक्ति भनेको असद सरकार, एफ.एस.ए., आई.एस.आई.एस., कुर्द र अल नुस्रा हुन् । यी शक्तिहरूमध्ये एफ.एस.ए.लाई अमेरिकाको समर्थन रहने गरेको छ । कुन शक्ति कसका विरुद्ध सङ्घर्षमा उत्रिन्छ ? त्यसको कुन निश्चित नै हुँदैन । त्यहाँ कहिले विद्रोही पक्ष त कहिले सरकारी पक्ष बलियो हुने र त्यसका पछाडी अमेरिका तथा रूसले विभिन्न प्रकारले भूमिकाहरू खेल्दै गए । कैयौँ पटक शान्तिवार्ता, शान्ति सम्झौताहरू भए तर तिनीहरू सबै असफल हुँदै गए । विशेष गरेर २०१२ मा जेनेभा प्रथम, २०१४ मा जेनेभा द्वितीय, २०१५ मा भियना शान्ति वार्ता, २०१६ मा जेनेभा तेस्रो शान्ति सम्झौताहरू भए । तर मुख्य विषय असद सरकारको व्यवस्थापन कसरी गर्ने ? यो विषयमा सहमति हुन नसक्दा ती सम्झौताहरू असफल हुँदै गए । 
द्वन्द्व चर्किदै जाँदा ४ अप्रिल २०१७ मा सिरियन सरकारले खान सेकुवान शहरमा रासायनिक आक्रमण गर्‍यो । त्यसकै भोलिपल्ट अमेरिका, ब्रिटेन, फ्रान्सको सहयोगमा फेरि रासायनिक आक्रमण गरियो । त्यस्तै ६ अप्रिलको राती सामरिक रूपमा महत्व मानिएको अल शायरत एयरफिल्ड (सिरियन आर्मीको बेस) मा ५९ युएस टोमाहक मिसाइलद्वारा आक्रमण गरियो । 
सरकार र विद्रोहीहरूमध्ये कोही पनि कमजोर हुने अवस्था रहेन । सरकार कमजोर हुँदा रसिया, इरान आदि देशको समर्थन पाउने, विद्रोहीहरू कमजोर हँुदा अमेरिका, साउदी अरब आदि देशको समर्थन पाउने, यस प्रकारको विषम परिस्थिति सदैव रही रह्यो । केही विद्रोही सङ्गठनहरूका बीच शान्ति सम्झौता गर्‍यो भने पनि त्यहाँ ७५भन्दा बढी त्यस्ता सङ्गठनहरू छन् र सबैका बीच सहमति हुनै नसक्ने । यस प्रकारको जटिलता बढ्दै जाँदा यही वर्षको फेबु्रअरीदेखि फेरि त्यहाँ भीषण द्वन्द्व चर्किएको छ । राजधानी दमास्कसबाट १५ कि.मि. टाढा रहेको गुटा शहरमा विद्रोही सङ्गठन जैश–ए–इस्लामले कब्जा गरेको भन्दै असद सरकारद्वारा हेलिकप्टरबाट बेरल बमद्वारा आक्रमण गरियो । सरकारमाथि क्लोरिन नामक रासायनिक हतियार समेत प्रयोग गरिएको आरोप लागी रहेको छ र विद्राही तथा सरकार दुवैले एक–अर्कालाई सङ्घर्षविरामको सम्झौता उल्लङ्घन गरेको आरोप लगाई रहेका छन् । 
यसरी सिरियन द्वन्द्वको चर्चा गर्दा विभिन्न कारणहरू त्यसमा जोडिएको प्रष्ट हुन्छ । पहिलो कारण, त्यहाँको बेरोजगारी, भ्रष्टाचार र त्यसलाई दबाउन सरकारबाट भएको बर्बरता । दोस्रो कारण, धार्मिक मनमुटाव, जसका कारण विभिन्न आतङ्कवादी सङ्गठनहरूको चलखेल । तेस्रो कारण, अमेरिका तथा रूस जस्ता देशहरूको वैदेशिक हस्तक्षेप, जसलाई प्रोक्सी वार तथा कोल्ड वार पनि भन्ने गरिन्छ । चौथो कारण, अरब स्प्रिङ । पाँचौ कारण, सिया सङ्गठन हिजबुल्लाको बढ्दो प्रभाव जसले इजरायललाई ठूलो चोट पुर्याउदै आएको छ । जुन कुरा अमेरिकालाई मन परेको छैन । र, सबैभन्दा महत्वपूर्ण छैठौ कारण हो, ग्यासको राजनीति । 
असदले जनवरी २०११ मा एउटा ग्याँससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए । यदि यो सम्झौता कार्यान्वयन भएमा इरान, इराक, सिरिया जस्ता देशहरूलाई निकै फाइदा पुग्थ्यो भने टर्की, कतार जस्ता देशहरूलाई नोक्सान पुग्थ्यो । यस प्रकारको ग्याँसको राजनीति पनि सिरियामा युद्ध जन्मिनुको एउटा कारण हुन पुग्यो । अमेरिका ती देशहरूको ग्यासमाथि कब्जा कब्जा गर्न चाहन्छ र त्यही स्वार्थमाथि केन्द्रित हुुँदै उसको विभिन्न प्रकारको चलखेल चली रहेको छ । 
सिरियामा युद्धका सन्दर्भमा अर्को कुरा के देखियो भने त्यहाँ युद्धका नियमहरू कसैले पनि पालना गरेको छैन ः शान्ति सम्झौता गर्ने तर त्यसलाई कसैले पनि पालना नगर्ने, १९९७ मा नै उत्पादनमा प्रतिबन्ध लगाइएको सरिन जस्तो रासायनिक हतियारको प्रयोग गर्ने, सम्पूर्ण क्षेत्र नै ध्वस्त पार्ने क्लस्टर बमहरूको प्रयोग गर्ने, मानिसलाई जिउदै जलाउने, अपहरण गरेर हत्या गर्ने, मानिसहरूको सामूहिक हत्या गरेको भिडियो बनाएर प्रसारित गर्ने, बच्चाहरूको निर्मम हत्या गर्ने, महिलाहरूमाथि दुव्र्यवहार गर्ने जस्ता अत्यन्तै अमानवीय घटनाहरू त्यहाँ हुँदै आएको छ ।
अमेरिकाको स्वार्थ अनुरूप नचलेकै कारण इराक, अफगानिस्तान जस्ता देशहरू ध्वस्त भएर गए । उत्तर कोरिया अहिलेसम्म अमेरिकाको अगाडि झुकेको छैन । त्यस्तै, सिरिया पनि एउटा त्यस्तो देश हो, जसलाई अमेरिकाले परास्त गर्न सकेको छैन । विश्वभरि आफ्नो दादागिरी देखाउँदै आएको अमेरिका जुनसुकै कारणले भए पनि सिरियामा असफल भएको स्वीकार गर्नु पर्ने नै हुन्छ । 
असद सरकार सही छ, उसका गतिविधिहरू न्यायोचित छ—त्यस्तो निष्कर्ष त कसैको हुँदैन होला । तर मुख्य कुरा के हो भने सिरियामा बढ्दै गई रहेको जटिलताको समाधान सिरियाली जनताले नै गर्नु पर्दछ । कुनै बाह्य देश आएर उनीहरूको समस्या समाधान गरी दिने होइन । विश्वभरि आफ्नो साम्राज्य फैलाउँदै आई रहेको अमेरिकाको त चाहना नै यही हुन्छ कि मानिस धर्म, जात, भाषा, क्षेत्रको आधारमा आपसमा लडून् र त्यो द्वन्द्वको आधारमा आफ्नो स्वार्थ पुरा गर्न सकियोस् । सिरियाली द्वन्द्वको मूल कारण पनि यही हो ।
संयुक्त राष्ट्रिय सुरक्षा परिषदको भूमिकाले सिरियाली द्वन्द्वको समाधान हुने होइन । अमेरिका त द्वन्द्व झनै चर्किदै जाओस् भन्ने चाहन्छ । असद सरकार पनि जनविरोधी सरकार भयो नै । आई.एस.आई.एस., अल नुस्रा जस्ता कट्टरपन्थी सङ्गठनहरूले समाजमा झनै आतङ्क मच्चाउँदै गई रहेका हुन्छन् । त्यस कारण सिरिया जस्तो देशहरूमा प्रजातान्त्रिक तथा जनवादी शक्तिहरूको विजारोपण हुनुपर्दछ । त्यो शक्ति सिरियाली जनताका बीचबाट नै उदय हुनुपर्दछ र त्यो शक्तिले अहिले बढ्दै गई रहेको जटिलताको समाधान गर्न सक्ने छ । 
नेपाली जनताले पनि सिरियाली द्वन्द्वबाट केही शिक्षा त लिनु पर्ने नै हुन्छ । जात, क्षेत्र, धर्मको नाममा आपसमा लड्दाको परिणाम के हुँदो रहेछ त ? सङ्घीयताको नाममा हामीले आफ्नो देशको सार्वभौम सत्ता, अखण्डतालाई क्रमशः कमजोर बनाउँदै गई रहेका छाँै । त्यसरी हामी आफै कमजोर हुँदै जाँदा विदेशी हस्तक्षेप कसरी हुँदो रहेछ त ? सिरियाली द्वन्द्वका नराकारात्मक पक्षहरूबाट पनि शिक्षा ग्रहण गर्दै सर्वप्रथम आफ्नै देश त्यसका साथै विश्वव्यापी रूपमा प्रजातान्त्रिक, जनवादी तथा समाजवादी आन्दोलनको दिशामा अगाडि बढ्नु नै सही तथा न्यायोचित कदम हुने छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप लेखहरू
सङ्घीयता र राष्ट्रियता
दक्षिण अफ्रिकामा सर्वहारा वर्गको वर्गसङ्घर्ष
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal