२०७५ मंसिर २६ गते, बुधबार   वर्ष ३६, अंक ५
मिति(२०७५ पौष ४, मंगलवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
लेखहरू
दक्षिण अफ्रिकामा सर्वहारा वर्गको वर्गसङ्घर्ष
अपत्य शर्मा
शताब्दीऔँदेखि शोषण, उत्पीडन, क्रुर दमन र रङ्गभेदवादी गोराहरूको भेदभाव र दासताको सिक्रीले जकडिएका दक्षिण अफ्रिकी श्रमजीवी वर्गले शताब्दीऔँदेखि रङगभेदी गोरा शासकका विरुद्ध सङ्घर्ष गर्दै जातिभेदवादी नरभक्षी गोरा शासनको अन्त्य गरे । दक्षिण अफ्रिकी सर्वहारा वर्गले गोराको शासनको अन्त्य भएपछि सुख र समृद्धिका दिन आउने अपेक्षा राखेका थिए । तर वर्ग समन्वयवादी नेल्सन मण्डेला र उनको अफ्रिकन नेसनल काङ्ग्रेस (एएनसी) ले दक्षिण अफ्रिकी सर्वहारा वर्गलाई धोका दिए र गोराहरूका अधिकारमा रहेका प्राकृतिक स्रोत र सोधनहरूमाथिको स्वामित्वलाई कुनै हानी–नोक्सानी पुर्‍याएनन् । दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टीका नेता तथा सहयोद्धा कृसहानीको हत्या मण्डेलाकै समयमा गोराहरूले गरे । आफ्ना सहयोद्धा कृसहानीको हत्या हुँदा पनि समन्वयवादी मण्डेला चुप रहे । किन कम्युनिस्ट नेताको हत्या गरियोभन्दा कम्युनिस्ट पार्टीले सर्वहारा वर्गको अधिकारलाई सुनिश्चित गर्ने र गोराहरूको अधिकारमा रहेका प्राकृतिक स्रोत र साधनहरूमाथि मजदुर वर्ग र अफ्रिकी जनताको हातमा अधिकार दिने सन्त्रासले गर्दा एएनसी र गोराहरूद्वारा दमन गरियो अर्थात् कम्युनिस्ट नेताको हत्या गरियो ।
एएनसी नेता तथा राष्ट्रपति ज्याकोब जुमा व्यापक जन दबाब र आफ्नो पार्टीभित्रै पनि एक्लै परेका र पार्टीभित्रैको दबाबका कारण राजीनामा दिन बाध्य भए । जुमाको सरकार ज्यादै भ्रष्ट भएकाले व्यापक विरोधका शृङ्खला जारी भए । हाल नयाँ राष्ट्रपतिमा सिरिल रामफोसा राष्ट्रपति भएका छन् । सन् २०१६ को अन्त्यमा दक्षिण अफ्रिकाको अर्थतन्त्र २००९ को स्थितिमै छ । विश्व बैङ्कका अनुमान अनुसार यो वर्ष दक्षिण अफ्रिकाको वृद्धिदर १.१ प्रतिशत छ । यो भनेको वैश्विक विस्तारको क्रममा ज्यादै कमजोर अर्थतन्त्रहरूमध्ये यो एक हो । रङ्गभेदी शासनको अन्त्य भएपछि दक्षिण अफ्रिकाको अर्थतन्त्र जर्जर अवस्थामा थियो भने आर्थिक असमानता पराकाष्ठामा पुगेको थियो । किनभने ५५ मिलियन जनतामा दश भागको एक भाग जनसङ्ख्या जुन गोराहरूको हो, त्यसले ९० प्रतिशत धन–सम्पत्तिमाथि अधिकार जमाएको अवस्थाको तथ्याङ्क स्टेलेनबोसच विश्वविद्यालयको अनुसन्धानले पत्ता लगाएको हो । ठुलो सङ्ख्यामा कालासँग केही पनि छैन ।
नेपालका स्वनामधन्य महापुरुषहरू दक्षिण अफ्रिकाको जस्तो संविधान भनेर प्रशंसा गरेर थाक्दैनन् । विदेशी जातिवादी रङ्गभेदवादी ठुला पूँजीपतिहरूले पूँजी लगानी गरेपछि बेरोजगारी हट्ने आर्थिक समृद्धि हासिल हुनु पर्नेमा पनि गरिब अफ्रिकी जनता र सर्वहारा वर्गले आफ्नो ज्याला बढाउने माग गर्दा अफ्रिकी कालाहरूकै शासन सत्तामा गोलीको सिकार हुनु पर्‍यो भन्नेबारे मौन छन् । अवश्य पनि दक्षिण अफ्रिकाका ठुला सहरहरूमा महङ्गा गाडी, चिल्ला सडक, ठुला भवनहरूले मुट्ठीभर ठुला पूँजीपतिको समृद्धि एकातिर देखिन्छ भने अर्कातिर, गरिबीको ताण्डव नृत्य सहरका तारे होटल र गाडीमा घुम्नेले नदेख्नु नौलो होइन ।
दक्षिण अफ्रिकाको इतिहासतिर हेरौँ । 
दक्षिण अफ्रिकाको जनसङ्ख्या ५,४३,००,७०४ छ । जातीय समूहहरूमा काला अफ्रिकी ८०.२ प्रतिशत मिश्रित जाति ८.८ प्रतिशत, गोरा ८.४ प्रतिशत, इन्डियन एसियन २.५ प्रतिशत, भाषाहरूमा ड्रसिजुलु, इसिहोसा, अफ्रिकानस, अङ्ग्रेजी, सिपेडी, सिट्सवाना, सिसोथो, सिटसोङ्गा, सिस्वाती, सिभेन्डा, इसिन्डेबेले यी सबै सरकारी भाषा हुन । धर्म ः प्रोटेस्टेन्ट ३६.६ प्रतिशत, जिथओनिस्ट क्रिस्चियन ११.१ प्रतिशत क्याथोलिक ७.१ प्रतिशत, नोनी १५.१ प्रतिशत छन् । 
भूगोल ः कुल क्षेत्रफल १२,१९,०९० स्क्वायर किलोमिटर । अफ्रिकी महादेशको दक्षिणी भेग, उत्तरमा नामिबिया, बोत्स्वाना र जिम्बाब्बे छन् भने पूर्वमा मोजाम्बिक र स्वाजिल्यान्ड छन् । राजधानी प्रिटोरिया हो । जेम हिरा, तामा, भानाडियम, नुन, नाट, ग्याँस एन्टिमोनी, कोइला, म्याग्निज निकेल, टिन, युरोनियम, प्लाटिनम । अर्थतन्त्र ः खानीहरूमा प्लाटिनम, सुन, क्रोमियम छन् । उद्योगहरू अटो आसेम्बली, मेटल वर्किङ, मेसिनरी, टेक्सटायल, फलाम र स्टिल, केमिकल, मल आदि । मुख्य बाली ः मकै, गहुँ, उखु, फलपूmल र सागपात । मौद्रिक एकाइ ः रान्ड । प्रतिव्यक्ति आय १३,२०० अमेरिकी डलर छ । आयात ः ८६.८ अरब अमेरिकी डलर, चीन १७.६ प्रतिशत, जर्मनी ११.२ प्रतिशत, संयुक्त राज्य अमेरिका ६.७ प्रतिशत, नाइजेरिया ५ प्रतिशत । निर्यात ः ८५.१ अरब अमेरिकी डलर, चीन ११.३ अमेरिका ७.३ प्रतिशत जर्मनी ६ प्रतिशत, नामिबिया ५.२, बोत्स्वाना ५.२ प्रतिशत । श्रमशक्ति ः कृषि ४ प्रतिशत उद्योग १८ प्रतिशत सेवामा ६६ प्रतिशत । 
दक्षिण अफ्रिकाका आदिवासीहरूमा बुसम्यान र ख्वाइख्वाई हुन् । बान्टुस, जुलु, खोसा, स्वाजी र सोथोले दक्ष्ँिण अफ्रिकाको उत्तर पूर्वीदेखि दक्षिणसम्म सत्रौँ शताब्दीमा अधिकार जमाए । डचहरूले केप आफ गुडहोय क्ष्ँेत्रमा सत्रौँ शताब्दीमा बस्ती बसाले । बेलायतले १८०६ मा केपमाथि अधिकार जमायो । धेरै डचहरू उत्तरतिर गएर दुई वटा गणतन्त्रहरू ट्रान्सभाल र ओरान्ज दुई राज्यको स्थापना गरे । १८६७ मा हिरा पत्ता लाग्यो भने १८.८६ मा सुन पत्ता लाग्यो । बेलायत र अरूले अतिक्रमण गरेपछि डच (बोरस) हरूले आक्रमण गरे । आङ्लो बोर युद्ध १८९९–१९०२सम्म चल्यो र बेलायतले जित्यो । बेलायतले मे ३१, १९१० मा दक्षिण अफ्रिकालाई बेलायती उपनिवेश केप र नाटालसँग ट्रान्सभाल र ओरेन्जको सङ्घ बनायो । जनमत सङ्ग्रहपछि सङ्घ गणतान्त्रिक दक्षिण अफ्रिका ३१ मई १९६१ मा भयो र कमनवेल्थबाट हट्यो । तर १९९४ मा पुनः कमनवेल्थमा सामेल भयो ।
डानियल मालानको नेसनल पार्टीले १९४८ मा भएको चुनावमा अलग जातिहरूको विकासका लागि रङ्गभेदवादी नीति बनायो । रङगभेद नीति अन्तर्गत कालाहरूलाई निश्चित पेसाहरूमा रोक लगाइयो र गोरा र कालाले गर्ने एउटै कामका लागि कालाहरूलाई थोरै ज्याला दिइयो । गोराहरूले मात्र भोट दिन पाउने र सार्वजनिक अफिस खोल्न पाउने नीति बनाइयो । एसिएन इन्डियनका वंशज र मिश्रित जातिलाई सीमित राजनैतिक अधिकार दिइयो । रङ्गभेदका विरुद्ध कालाहरूले गरेको सार्पेभिल्लेमा मार्च २१, १९६० सरकारी सेनाले ६९ जना काला प्रदर्शनकारीको हत्या गर्‍यो । रङ्गभेद विरोधी विद्रोह १९७६ मा भयो, जसमा कमसेकम ६०० मारिए, मारिनेमा धेरैजसो बान्टुस थिए । १९८६ मा नोबेल पुरस्कार विजेता विसय डेन्समन्ड टुटुले पश्चिमी मुलुकहरूले दक्षिण अफ्रिकालाई प्रतिबन्ध लगाएर रङ्गभेदको अन्त्य गर्न दबाब दिन आहन गरे । राष्ट्रपति पी.डब्लू. बोथाले सरकारको कार्यकाल सुरु गर्दा सल्लाहकारको भूमिका प्रदान गरे । मे १९ तारिखमा दक्षिण अफ्रिकाले छिमेकी मुलुकहरू बोत्स्वाना, जिम्बाब्बे र जाम्बियामा आक्रमण गर्‍यो । किनभने रङ्गभेद विरोधी पार्टी एएनसीका गुरिल्लाका गढ थिए । १९८८ को जुन ६–८ मा दक्षिण अफ्रिकी काला मजदुरहरूले हडताल गरे । राष्ट्रपति बोथाले राजीनामा दिए, जो १९७८देखि राष्ट्रपति थिए । अगस्त १४, १९८९ मा राजीनामा दिएपछि एफ.डब्लू. डी. क्लार्क राष्ट्रपति भए । १९९० मा रङ्गभेद विरोधी एएनसीमाथिको प्रतिबन्ध हटायो र यस पार्टीका नेता नेल्सन मण्डेलालाई फेब्रुअरी ११ मा २७ वर्षभन्दा बढी जेल बसेपछि रिहा गर्‍यो । फेब्रुअरी १९९१ मा राष्ट्रपति क्लार्कले रङ्गभेदवादी कानुनको अन्त्य गरेको घोषणा गरे ।
१९९३ मा नयाँ प्रजातान्त्रिक संविधानका लागि आधारभूत सिद्धान्तहरूमा सम्झौताकारहरू सहमत भए । १९९४ को अप्रिल २६–२९ मा भएको चुनावमा एएनसीले जित्यो र मण्डेलालाई राष्ट्रपति बनायो । जुलु इन्काथा फ्रिडम पार्टीले विशेष गरेर जुलु प्रान्तमा संसदमा बहुमत ल्यायो । इन्काथा पार्टीलाई रङ्गभेदी शासन कालमा दक्षिण अफ्रिकी सुरक्षा सेनाले सहायता गथ्र्यो । यस कारण एएनसी र इन्काथा दुवैको बीचमा भएको द्वन्द्वमा १४,००० मानिसहरू मारिए । एएनसीले जुन २, १९९९ मा भएको चुनावमा जीत हासिल गर्‍यो र एएनसीका नेता थाबो एमबिकी राष्ट्रपति भए । नोभेम्बर ३०, २००६ मा समलिङ्गी विवाहलाई कानुनी मान्यता दिएर दक्षिण अफ्रिका पहिलो अफ्रिकी मुलुक भएको थियो ।
एमबिकीका पहिलेका उपराष्ट्रपति ज्याकब जुमाले एएनसीभित्रको नेतृत्वको सत्ता सङ्घर्षमा एमबिकीलाई हराए र एमबिकीले सेप्टेम्बर २१, २००८ मा राजीनामा दिए । जुमाले राष्ट्रपति पदमा अप्रिल २२, २००९ मा भएको चुनावमा जीत हासिल गरे । मण्डेला डिसेम्बर ५, २०१३ मा मरे । जुमामाथि भ्रष्टाचारका अभियोग लगाइए पनि मई २१, २०१४ मा पुनः राष्ट्रपति चुनिए । मई ७ को संसदीय चुनावमा एएनसीले जीत हासिल गरेको थियो ।
रङ्गभेदको अन्त्य भए पनि वर्ग समन्वयवादी एएनसी पार्टीको सत्तामा सर्वहारा वर्गले ज्याला बढाउने सङ्घर्ष गर्दा गोलीको सिकार भएका विवरण लामा छन् । एएनसी सर्वहारा वर्गको पार्टी नभएकाले र पूँजीपति वर्गको वर्गस्वार्थ रक्षक पार्टी भएकाले मजदुर वर्गलाई गोलीले भुट्यो । अगस्ट १०, २०१२ मा मरिकाना नजिकै लोनमिन प्लाटिनमको खानीमा काम गर्ने मजदुरहरूले आफ्नो ज्याला बढाउने माग गरे । विरोधमा उत्रिएका खानी मजदुरलाई अगस्ट १० मा १० जना र अगस्ट १६ मा पुलिस अधिकारीहरूले गोली चलाएर ३४ जना मजदुरलाई मारे, सयौँ घाइते भए । लोनमिन प्लाटिनमको स्वामित्व आङ्ग्लो अमेरिकीको हो । त्यहाँ काम गर्ने मजदुरहरूले २०१४ मा पाँच महिना लामो हड्ताल गरे र इम्पाला प्लाटिनम होल्डिङमा भएको हडताल, जुनमा ज्याला बढाएर ७०,००० मजदुरका माग पुरा गरिए । २०१५ मा प्लाटिनको मूल्यमा कमी आएपछि लोनमिन र आङ्लो अमेरिकन कम्पनीले केही खानी बेच्ने र केही बन्द गर्ने घोषणा गरे ।
माथिको विवरणले के प्रष्ट हुन्छ भने दक्षिण अफ्रिका जस्तो प्राकृतिक स्रोत र साधनले सम्पन्न मुलुकका जनता र सर्वहारा वर्ग चरम गरिबी, बेरोजगारी र दमनको सिकार भई रहेछन् । कुनै पनि विदेशी कम्पनीले गरिब मुलुक सम्पन्न होस् भनेर पूँजी लगानी गर्दैन, मात्र सर्वहारा वर्गको श्रमशक्ति चुस्न र त्यस मुलुकका प्राकृतिक स्रोत र साधनहरूबाट पवित्र नाफा भएसम्म मात्र लगानी गर्छन् । जब घाटा हुन थाल्छ, अनि आफ्नो लगानी फिर्ता लग्छन् । दक्षिण अफ्रिकामा ८० प्रतिशत अफ्रिकी जनता गरिबीमा बाँची रहेछन् । सरकारी आँकडा अनुसार २७ प्रतिशत अफ्रिकी बेरोजगार छन् । अफ्रिकी सर्वहारा वर्गको वर्गसङ्घर्ष जारी छ र अन्तिम विजय हासिल नभएसम्म जारी रहने छ । 
नेपालका नीति निर्माताहरू दक्षिण अफ्रिकाबाट सिक्ने ढोल बजाउँछन् र विदेशी पूँजी लगानीले समृद्धि ल्याउने भन्दै रातो कार्पेट ओछ्याइएका छन् । दक्षिण अफ्रिकाको दरिद्रीकरणबाट पाठ सिक्ने कुनै लक्ष्य छैन, बरु उदारवादलाई आफ्नो आर्थिक आधार बनाउँदै लगेका छन् । समाजवाद उन्मुख समाजवादी आर्थिक आधारका विषय उल्लेख गर्नु गधालाई गाँजरको मुठो देखाएर दौडाउने नीति हो । नेपालका शोषित, पीडित जनता सत्य तथ्य छुट्याउन सक्ष्ँम छन् । ढिलो वा चाँडा्, धोकेबाजहरूलाई जन अदालतद्वारा दण्डित गर्नेछन् । जनताको शक्ति अजेय छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप लेखहरू
सङ्घीयता र राष्ट्रियता
सिरियाली द्वन्द्वको वास्तविकता
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal