२०७५ असार ६ गते, बुधबार   वर्ष ३५, अंक २६
मिति(२०७५ आषाढ ८, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
सम्पादकीय
हवाइ सेवा सुरक्षित र गुणस्तरीय बनाऊ
बङ्गलादेश एयरलाइन्सको विमान २०७४ फागुन २८ गते त्रिभुवन एयरपोर्टमा दुर्घटनाग्रस्त हुँदा ४९ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । घाइतेहरूको राजधानीका विभिन्न अस्पतालमा उपचार भई रहेको छ । सामान्यतः दक्षिणतिरबाट अवतरण हुने सो विमान विमानस्थलकै स्वीकृति अनुसार नै फागुन २८ गते दिउसो उत्तरतिरबाट अवतरण हुँदै थियो । तर सफलतापूर्वक सो विमान अवतरण हुन सकेन र रनवेबाट बाहिर दुर्घटनाग्रस्त हुन पुग्यो, जसले गर्दा यति ठुलो जनधनको क्षति हुन पुग्यो । फेरि पनि झिनो सन्तोषको कुरा छ– दुर्घटनाग्रस्त विमानका चालकले त्यहाँ पार्किङ भई रहेका अन्य विमानहरूसित ठोक्किनबाट सो विमानलाई बचाए, अन्यथा यदि त्यहाँ पार्किङ गरिएका विमानमा सो विमान ठोक्किएको भए अहिलेभन्दा अकल्पनीय दुर्घटना घट्न सक्दथ्यो ।
केही महिना अघि त्रिभुवन विमानस्थलमा आपतकालीन सेवासम्बन्धी रिहर्सल पनि गरिएको थियो । तर फागुन २८ गतेको दुर्घटनाका समयमा उक्त आपतकालीन सतर्कता सेवा त्यति प्रभावी हुन सकेन । त्यहाँ नेपाली सेना पुगेको केही समयपछि मात्र दमकलहरू पुगेका थिए । यदि नेपाली सेना पुगेकै समयमा दमकलहरू पनि पुगेका भए केही यात्रीको जीवन रक्षा हुन सक्ने अनुमान गरिएको थियो । विमानस्थलबाट स्वीकृति लिएर पनि उत्तरतिरबाट सो विमानले सफल अवतरण किन गर्न सकेन ? शायद यसको जबाफ सो विमानको ब्ल्याक बक्सले दिन सक्ला । जे होस्, यो भयानक दुर्घटना घटी सकेको छ र ठुलो जनधनको क्षति भई सकेको छ । अबको आवश्यकता भविष्यमा यस प्रकारका दुर्घटनाबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउने नै हो ।
नेपालमा पहिलो विमान दुर्घटना सन् १९५५ मा भएको थियो । त्यसपछि हालसम्म ८५ वटा विमान दुर्घटना भई सकेका छन् । त्यसमध्ये आन्तरिक उडानतर्फकै ४६ दुर्घटना भएका छन् । त्यस क्रममा ३१ वटा हेलिकोप्टर र ८ वटा अन्य जहाजहरू ध्वस्त भएका छन् । नेपालको विमान सेवामा तमाम कमजोरीहरू भएको आम रूपमा थाहा भएको विषय हो । सुरक्षासम्बन्धी कमजोरीलाई सच्याउन २००९देखि सुझाव दिदै आएता पनि त्यसलाई प्रभावशाली प्रकारले कार्यान्वयन नसकेको भन्दै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले २०१३ डिसेम्बरदेखि नेपाली हवाइ सेवालाई कालो सूचीमा राखेको छ । त्यस क्रममा डिसेम्बर ५, २०१३देखि त नेपाली जहाजलाई युरोपियन आकाशमा उड्नलाई समेत प्रतिबन्ध लगाई सकेको छ । यस प्रकारको स्थितिमा नेपाली वायुसेवाको सुरक्षाको क्षेत्रमा पर्याप्त सुधार गर्न सरकारले नै उल्लेखनीय काम गर्नु पर्ने आवश्यकता छँदै छ ।
धावनमार्ग गुणस्तरीय नहुनु, भौगोलिक बनावटले नै समस्या उब्जाई दिनु, कतिपय रुटमा क्षणभरमै मौसम खराब हुनु, जहाजहरू पुराना हुनु, स्वयं विमानस्थलमा पशुपङ्क्षीसम्मले सुरक्षा चुनौती उभ्याई दिनु जस्ता समस्या नेपाली वायुसेवामा देखिएका छन् । त्यस वाहेक व्यवस्थापन, सुरक्षासम्बन्धी अन्य समस्याहरू पनि वायुसेवा क्षेत्रमा छँदै छन् । सुरक्षासम्बन्धी कमजोर स्थितिकै कारण विमानस्थलबाट कैयौँ किलो सुन तष्करी हुने गरेका छन् । त्यसो त विमान स्थलमै घुसखोरीका समस्या पनि कम छैनन् । यी सबै समस्याले गर्दा हाम्रो वायुसेवा अपेक्षाकृत गुणस्तरीय हुन सकेको छ । देशभरिमा एउटा मात्र अन्तर्राष्ट्रिय स्तरको विमानस्थल भएकाले हवाइ जामको समस्या पनि त्यत्तिकै छ । त्यो समस्यालाई समाधान गर्न तत्कालै देशका विभिन्न स्थानमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नु, आन्तरिक हवाइ सेवाका लागि बेग्लै विमानस्थलको व्यवस्था गर्नु, ती विमानस्थलका व्यवस्थापन र सुरक्षासम्बन्धी काममा गुणस्तरीयता र चुस्तदुरुस्त वा तदारुकता कायम गर्नु आवश्यक छ ।
हाम्रो देशको यातायात क्षेत्रमा तमाम समस्याहरू छन् । पछिल्लो एक वर्षयता सडक यात्रा असुरक्षित बन्दै जाँदा हवाइ सेवालाई तुलनात्मक रूपमा भरपर्दो मान्न थालिएको थियो । फलस्वरूप आन्तरिकतर्फको हवाई सेवामा ४० प्रतिशतभन्दा बढी यात्रुको चाप बढेको थियो । तर यस खालका दुर्घटनाले गर्दा हवाइ सेवामा पनि तमाम असुरक्षा रहेको महशुस हुन थालेको छ । यसले गर्दा अन्तर्राष्ट्रिय क्षेत्रका सामु नेपाली हवाइ सेवाको छवि धुमिल त भएको छ नै, त्यसका साथै जनताको सुरक्षित तवरले यात्रा गर्न पाउने नैसर्गिक अधिकार पनि गुमेको छ । यो स्थितिलाई तत्कालै अन्त गर्न सरकारले दु्रत गतिमा कदम चाल्नु पर्ने आवश्यकता छ ।
हामी यस दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौँ र घाइतेहरूको समुचित उपचार गर्न सरकारसित माग गर्दछौँ । त्यसका साथै नेपाली हवाइ सेवालाई सुरक्षित, भरपर्दो र गुणस्तरीय बनाउन सरकारसित यथाशीघ्र ठोस कदम चाल्न माग गर्दछौँ, जसले गर्दा अन्तर्राष्ट्रिय स्तरमा नेपाली हवाइ सेवाको छविलाई सुधार गर्न सकियोस् र सुरक्षित तवरले यात्रा गर्न पाउने जनताको अधिकारको पनि ग्यारेन्टी गर्न सकियोस् ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal