२०७५ असोज ३ गते, बुधबार   वर्ष ३५, अङ्क ३८
मिति(२०७५ आश्विन ४, बुधवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
कैलालीमा “बोक्सी” को आरोपमा युवतीमाथि निर्घात कुटपिट ः
अन्धविश्वासले जन्माएको अमानवीय घटना
काठमाडौँ । देशमा “वामपन्थी” हरूको प्रचण्ड बहुमत सहितको सरकार, संविधानमा समाजवाद उन्मुख राष्ट्र उल्लेख, स्थानीय तहमा पनि “वामपन्थी” जन प्रतिनिधिहरूकै बाहुल्यता तर पनि २०७४ फागुन २४ गते कैलालीको घोडाघोडी न.पा. ५ देउकलीमा जुन घटना घट्यो, यसले नेपाली समाजको अहिलेको चेतना स्तरलाई छर्लङ्ग पारेको छ । एक्काइसौँ शताब्दीको वैज्ञानिक युगमा पनि नेपाली समाज अन्धविश्वास र रुढिवादको जालोभित्र कसरी जकडिएर बसेको रहेछ भन्ने तथ्यलाई थप उजागर गरेको छ, कैलालीको उक्त घटनाले ।
कैलालीको दुर्गम थारू बस्तीको एक विपन्न परिवारकी १८ वर्षीय राधा चौधरीलाई बोक्सीको आरोपमा सयौँ गाउँलेका बीचमा घण्टौँसम्म कुटपिट गरियो । कक्षा १२ मा अध्ययनरत रहेकी राधा २५ फागुनको बिहान आफ्नै आँगन सफा गर्दै थिइन् । छिमेकी किस्मत चौधरीको नेतृत्वमा आएको सात जनाको समूहले एकाएक उनका हातखुट्टा बाँधेर र घिसार्दै लगे । राधाका आमा बुबाले निकै अनुनय विनय गरे छोरीलाई त्यसरी लैजान नदिन, तर उनीहरूको पुकार त्यहाँ कसैले सुनेन । बोक्सीको आरोपमा गरिब परिवारकी राधालाई त्यसरी बाँधेर घिसार्दै नजिकै रहेको किस्मत चौधरीको घर–आँगनमा पुर्‍याइयो, जहाँ बोक्सी फुकाउने जिम्मा लिएका भोलेबाबा भनिने राम बहादुर चौधरी सहित सयौँ गाउँले पहिल्यै जम्मा भई सकेका थिए । त्यही गाउँलेहरूका बीचमा बोक्सी फुकाउने नाममा राधामाथि भोलेबाबा र किस्मत चौधरीले कुटपिट गरी रहे, घण्टौँसम्म । टाउको, मुख, घाँटी, छाती, पेट, खुट्टा राधाको शरीरभरि त्यसरी घण्टौँसम्म कुटपिट भई रहँदा पनि गाउँलेहरू रमिते बनेर बसी रहे, कसैले बचाउने चेष्टा गरेनन् । आखिर असह्य यातना दिएर राधालाई आफू “बोक्सी” भएको स्वीकार्न बाध्य बनाइयो ।
यस्तै अन्धविश्वास र कुसंस्कारका आडमा आफूलाई दैवी शक्ति प्राप्त व्यक्ति बताउँदै त्यसरी राधामाथि कुटपिट गर्ने राम बहादुरलाई प्रहरीले पक्राउ त गर्‍यो तर स्थानीय जन प्रतिनिधिहरू सहितका गाउँलेहरूले चर्को दबाब सिर्जना गरेपछि २४ घण्टा पनि नबित्दै राज बहादुरलाई छोडियो । घोडाघोडी नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरी र वडा अध्यक्ष प्रेम रोकाय लगायतले दबाब दिएकै कारण जबरजस्ती मिलापत्र गराएर राम बहादुरलाई हिरासत मुक्त गराइएको थियो ।पछि देशव्यापी रूपबाट विरोधमा आवाज उठेपछि कथित भोलेबाबा भनिने राम बहादुर चौधरी र किस्मत चौधरीलाई प्रहरीले पुनः गिरफ्तार गरेर कानुनी कार्वाहीको प्रक्रिया अघि बढाई रहेको छ । 
कैलालीको घोडाघोडीमा घटेको उक्त घटनालाई केवल व्यक्तिगत र स्थानीय घटना मात्र मान्न कदापि सकिदैन । त्यो एउटा अन्धविश्वास र रुढिवादले सिर्जना गरेको गम्भीर प्रकारको सामाजिक समस्या हो । बोक्सीको आरोपमा कुटपिट गर्ने र मलमुत्र खुवाउने गरेका घटना देशका अन्य भागमा पनि घट्दै आएका छन्, यस कारण यो एक राष्ट्रिय समस्या नै हो । बोक्सीको आरोपमा निर्दोष युवतीलाई मरणासन्न हुने गरी घण्टौँसम्म कुटिएको कैलालीको उक्त घटनाले हाम्रो समाज, यहाँका आफूलाई कम्युनिस्ट दावी गर्ने “वामपन्थी” भनिने प्रमुख पार्टी सबैको यथार्थ तस्बिर छर्लङ्ग पारी दिएको छ । वास्तवमा कसैले आफ्नो पार्टीको नाम कम्युनिस्ट राख्दैमा ऊ कम्युनिस्ट हुन सक्दैन । विचार, सिद्धान्त, व्यवहार र आचरणमा उनीहरू अझै पनि कम्युनिस्ट बन्न नसकेको ज्वलन्त नमूना हो, कैलाली घटना । संविधानमा समाजवाद उन्मुख राष्ट्र लेख्दैमा देश समाजवादतर्फ उन्मुख हुन सक्दैन । त्यसका लागि सांस्कृतिक र सामाजिक रूपान्तरण पनि सोही अनुरूप हुनु नितान्त जरुरी हुन्छ । हामी कहाँ राजनैतिक आन्दोलनहरू त प्रशस्तै भए, तर सांस्कृतिक र सामाजिक परिवर्तन अझै हुन सकेको रहेन छ भन्ने पछिल्लो प्रमाण हो, कैलाली घटना । घोडाघोडी नगरपालिका कैलालीका मेयर ममता प्रसाद चौधरी, घटनास्थल रहेको वडाका अध्यक्ष प्रेम रोकाया एमालेकातर्फबाट उम्मेदवार रहेर विजयी भएका थिए । गत स्थानीय निर्वाचनमा उनीहरूका निकटतम प्रतिद्वन्द्वी अर्को वामपन्थी भनिने पार्टी माओवादी केन्द्रका थिए अर्थात् चुनावी जनमतलाई आधार मान्य हो भने बोक्सीको आरोपमा युवतीमाथि निर्घात कुटपिट भएको उक्त क्षेत्र “वामपन्थी” हरूको “आधार इलाका” जस्तो देखिन्छ । तर त्यही ठाउँमा अन्धविश्वास र रुढिवादको त्यस्तो चरम रूप देखिनुको अर्थ के हो ? त्यसले यही बताउँछ कि उनीहरू सबै नाम मात्रका वामपन्थी थिए । वामपन्थीमा हुनु पर्ने जुन प्रकारको वैज्ञानिक समाजवादी चेतना हो, त्यस्तो उनीहरूमा एक अंश पनि रहेन छ ।
कैलालीको घोडाघोडीमा घटेको उक्त अमानवीय घटनाका दोषीहरूलाई कानुन बमोजिम कडाभन्दा कडा कार्वाही त गर्नु पर्छ नै, तर दोषीलाई कार्वाही गरेर मात्र सरकारको दायित्व पुरा हुने छैन । समाजमा यस खालका घटनाहरू किन घटी रहेका छन् ? यसका पछाडि समाजको कुन मनोविज्ञानले काम गरी रहेको छ ? रुढिवाद र अन्धविश्वासमा जेलिएको समाजको मनोविज्ञानलाई कसरी परिवर्तन गर्ने ? राज्यको ध्यान तिनै विषयहरूमाथि पनि केन्द्रित हुनु पर्छ । सामन्ती चेत र संस्कारलाई दिल दिमागमा बोकेर देशलाई समाजवादतर्फ उन्मुख गराउन सकिदैन भन्ने तथ्यलाई सत्तासित “वामपन्थी” हरूले ख्याल गर्नु जरुरी छ । पहिला आफैभित्र निहित सामन्ती चेत र संस्कारलाई मिल्काउने, अनि जनचेतनालाई पनि सांस्कृतिक रूपमै परिवर्तन गर्न ठोस योजना र कार्यक्रम बनाएर लागु गर्ने । यसरी अघि बढ्न सकियो भने मात्र समाजमा व्याप्त अन्धविश्वास र रुढिवादलाई पन्छाउन सकिने छ र देशलाई विकास र समृद्धिको मार्गमा अघि बढाउन सकिने छ ।

गम्भीर प्रकारको सामाजिक र राष्ट्रिय समस्या ः राष्ट्रिय जनमोर्चा
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले कैलालीको घोडाघोडीमा बोक्सीको आरोपमा राधा चौधरीमाथि गरिएको निर्मम कुटपिटको घटनालाई “गम्भीर प्रकारको सामाजिक र राष्ट्रिय समस्या” बताएको छ ।
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं प्रवक्ता तथा प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेलद्वारा २०७४ फागुन २७ गते जारी पे्रस वक्तव्यमा उक्त कुरा बताइएको छ । उपाध्यक्ष पौडेलद्वारा जारी उक्त वक्तव्यमा अगाडि भनिएको छ– “कैलालीको घोडाघोडी नगरपालिकामा राधा चौधरीमाथि बोक्सीको आरोपमा निर्मम र अमानवीय कुटपिटको घटनाबाट राष्ट्रिय जनमोर्चा स्तब्ध भएको छ । त्यसले हाम्रो देशमा महिलामाथि हुने गरेको पारिवारिक हिंसाको अत्यन्त निच प्रकारको घटनालाई त बताउँछ नै । तर त्यो घटनालाई हामीले खालि व्यक्तिगत र स्थानीय घटनाको रूपमा मात्र लिनु सही हुने छैन । त्यो एउटा गम्भीर प्रकारको सामाजिक र राष्ट्रिय समस्या पनि हो । त्यस कारण त्यस प्रकारका घटनाहरूप्रति देशका सबै राजनीतिक पार्टी, सामाजिक सङ्घ÷संस्था, मानव अधिकारवादी र सरकार समेतको गम्भीर ध्यान जानु पर्ने आवश्यकता छ ।
यहाँ यो उल्लेखनीय छ कि कैलालीको घोडाघोडीको त्यो घटना हुने बेलामा जनताको ठुलो समूह त्यहाँ उपस्थित थियो र छ घण्टासम्म त्यसरी कुटपिट गर्ने काम गरिएको थियो । तर उनीहरूले त्यस प्रकारको कुटपिटलाई रोक्ने प्रयत्न गरेनन् ।पछि त्यसबारे पुलिसलाई रिपोर्ट गर्दा पनि कुनै कारवाही गरेन र दोषीलाई बिना कारवाही रिहा गरियो ।पछि नगरपालिकाका मेयरद्वारा त्यति गम्भीर प्रकारको घटनालाई मेलमिलाप गराई टुङ्ग्याउने प्रयत्न गरियो । उक्त विषयमा राष्ट्रिय स्तरमा आवाज उठेपछि नै दोषीलाई पक्रेर अनुसन्धान सुरु गरिएको छ । त्यस प्रकारको कुटपिट हुँदा उपस्थित जनसमूहले रोक्ने प्रयत्न नगर्नु, प्रहरीले कुनै कारवाही नगर्नु र नगरपालिकाका प्रमुखले समेत त्यो मुद्दालाई मेलमिलाप गराएर टुङ्ग्याउने प्रयत्न गर्नु सामान्य कुरा होइनन् । यी कुराहरूप्रति हाम्रो गम्भीर ध्यान जानु पर्ने आवश्यकता छ ।
कैलालीको त्यो घटनाको दोषीलाई कडा सजाय दिन, कुटिएकी युवतीको उपचारको आवश्यक ध्यान दिन र उनलाई क्षतिपूर्ति दिन प्रभावशाली कदम उठाउन हामीले सरकारसित अनुरोध गर्दछौँ ।” 
त्यस्तै, अखिल नेपाल महिला सङ्घ की अध्यक्ष मीना पुनले समेत यस विषयमा २०७४ फागुन २५ मा एक विज्ञप्ती जारी यस सम्बन्धमा भन्नु भएको छ– 
“१२ कक्षामा अध्यनरत राधा चौधरीलाई कथित भोले बाबा भन्ने राम बहादुर चौधरी र रूपा चौधरीले घन्टौँसम्म निर्घात कुटपिट र लछारपछार गरेकाले उनी पटक पटक घटना स्थलमा बेहोस भएको र गम्भीर घाइते भएको घटनाप्रति हाम्रो सङ्गठन अखिल नेपाल महिला सङ्घको गम्भीर ध्यान आकर्षण भएको छ । उक्त घटना मानव अधिकारको गम्भीर उल्लङ्घन र महिला हिंसाको पराकाष्ठा हो । उक्त घटनाको घोर विरोध गर्दछौँ । घटनामा संलग्न दोषीहरूलाई तत्काल कडा कारवाहीको माग गर्दछाँै ।
गम्भीर चिन्ताको विषय यो छ कि घटनामा सयौँ गाउँले भेला भएका छन् तर उनीहरूमध्ये एक जनाले पनि उक्त अमानवीय घटनाको विरोध गरेका छैनन् । हात बाँधेर रमिते बनेर बसेका छन् । त्यस घटनालाई पनि सही मान्न सकिदैन । यस प्रकारको घटनाले सिङ्गो मुलुक र एक्काइसौँ शताब्दीको मानव सभ्यताको धज्जी उडाएको छ ।
घटनाको उजुरी दिन गएका पीडितलाई स्थानीय पुलिस प्रशासनले उजुरी लिन नमानेको कुरा पनि बाहिर आएको छ । घटनाको दोषी राम बहादुरलाइ पुलिसबाट छुटाएर घोडाघोडी नगरपालिकाका मेयरले संरक्षण दिएको भन्ने तथ्य पनि बाहिर अएको छ । घटनाको छानबिन गरी संलग्न सबैलाई हदैसम्मको कारवाही गर्न अखिल नेपाल महिला सङ्घ जोडदार माग गर्दछ । घाइतेलाइ उपचार र उचित क्षतिपूर्तिको व्यवस्था मिलाई दिन नेपाल सरकारको सम्बन्धित निकायसँग माग गर्दछ ।”
त्यसैगरी, राजमो कैलालीले पनि एक प्रेस विज्ञप्ती जारी गर्दै घटनाको निन्दा एवं भत्र्सना गरेको छ । राजमो कैलालीका अध्यक्ष लक्षीराम आचार्यद्वारा २०७४ फागुन २७ मा जारी उक्त वक्तव्यमा अगाडि भनिएको छ– 
“२०७४ फागुन २४ गतेका दिन कैलालीको घोडाघोडी नगरपालिका वडा नं. ५ देउकलियामा कथित बोक्सीको नाउँमा राधा चौधरीमाथि गरिएको निर्घात कुटपिट तथा अमानवीय कुकृत्यको घोर निन्दा एवम् भत्र्सना गर्दछौँ । घटनाको मुख्य नाइके राम बहादुर चौधरी तथा पार्वती चौधरीलाई सामान्य सावर्जनिक मुद्दा मात्र नभई मानवता विरोधी अपराध मुद्दा लगाई हदैसम्मको कानुनी कारवाही हुनु पर्नेमा हाम्रो पार्टी जोड दिन चाहन्छ । 
साथै घटनामा संलग्न अन्य मतियारहरूलाई समेत कानुनी कारवाहीको आवश्यकतामाथि जोड दिन्छौँ । पीडित राधा चौधरीको उचित स्वास्थ्य उपचार तथा समाजमा ससम्मान बस्न पाउने वातावरण निर्माण गर्न सरकार समक्ष माग गर्दछौँ ।”
यस्तै, अखिल (छैठौँ) का अध्यक्ष विमल पोखरेलले पनि २९ फागुनका दिन एक वक्तव्य जारी गर्दै यस विषयमा भन्नुभएको छ–
“यसै हप्ता अन्तर्राष्ट्रिय महिला दिवस मनाई रहेका बेला कैलालीको घोडाघडी नगरपालिकामा वडा नं ५ की कक्षा ११ पढ्ने राधा चौधरीलाई केही मान्छेको सहयोगमा घरबाटै घिसार्दै लगेर कथित भोलेबाबा बताउने राम बहादुर चौधरीले बोक्सीको आरोपमा अत्यन्तै अमानवीय तरिकाले ६ घन्टासम्म मरणासन्न हुने गरी कुटपिट गरेका छन् । सयौँ गाउँलेको अगाडि त्यसरी कुटपिट गरिनु रामबहादुरको निकृष्ट अपराधिक काम हो ।
त्यो अपराधलाई सयौँ गाउँलेहरूले रमिता हेर्नु अत्यन्तै निम्नस्तरको अन्धविश्वास रहेको प्रष्ट हुन्छ । घटनाका अपराधी राम बहादुर चौधरी, त्यो घटनामा मतियार बनेका व्यक्तिहरूलाई कडाभन्दा कडा कारवाही गर्न माग गर्दछौँ ।
अन्धविश्वासबाट ग्रसित गाउँमा जनचेतनामूलक कार्यक्रम सन्चालन गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
फोरमका शर्त राष्ट्रघाती प्रकारका ः नेकपा (मसाल)
राजमोद्वारा श्रद्धाञ्जली व्यक्त
विश्वभरि मनाइयो एक सय आठौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश
अन्तक्र्रिया कार्यक्रम सम्पन्न
संसदमा सांसद पौडेलको मन्तव्य
राजमोद्वारा श्रद्धाञ्जली व्यक्त
हत्याको निन्दा
४ नं. का मुख्यमन्त्रीलाई ज्ञापन पत्र
चार सय बालबालिकामा कडा कुपोषण
आठ वर्षसम्म कारागारमा राख्न सकिने
महिला सङ्घको टोल समिति गठन
न्यायाधीश चोलेन्द्रद्वारा इजलास बहिष्कार
खाडीबाट प्रवासीको चिठी प्रधानमन्त्रीलाई
युवक सङ्घका सम्मेलन तथा भेलाहरू सम्पन्न
युवक सङ्घको १ नं. प्रदेश भेला सम्पन्न
एकता समाजको एरिया समिति गठन
एउटै विद्यालयमा दुई प्रधानाध्यापक
विपत् व्यवस्थापनको तयारी सुरु
समाचारहरु
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal