२०७५ असोज १७ गते, बुधबार   वर्ष ३५, अङ्क ४०
मिति(२०७५ आश्विन ३०, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
सम्पादकीय
व्यवहारमा परिवर्तनको अनुभूति दिलाऊ
तीनै तहको निर्वाचन लगत्तै देश नयाँ युगमा प्रवेश गरेको दावी गरिएको छ । नेपालकै इतिहासमा एक पटक असफल भएर पनि दोस्रो संविधान सभाद्वारा २०७२ असोज ३ गते संविधान जारी भएको थियो । सोही संविधान अनुसार नै तीनै तहको चुनाव सम्पन्न भएको हो । यस क्रममा पछिल्लो पटक प्रतिनिधि सभाको चुनावद्वारा देशमा दुई–तिहाइभन्दा बढी मतका साथ वामपक्षीय सरकार स्थापना भएको छ । सातमध्ये छ वटा प्रदेशमा पनि वामपक्षीय सरकार नै अस्तित्वमा आएको छ । एक सय चार वर्षसम्मको जहानियाँ राणा शासन, ३० वर्षसम्मको निरङ्कुश पञ्चायती व्यवस्था र २०४६ सालपछि पनि एक पटक फेरि निरङ्कुश राजतन्त्र, त्यस क्रममा राज्य र विद्रोहीको दोहोरो हिंसासम्म व्यहोरेका नेपाली जनताका लागि अहिलेको ताजा परिवर्तन पक्कै पनि सुखद् अपेक्षा गरिनु स्वभाविकै हो । त्यसो त केन्द्र र प्रदेशका सरकारहरूले सय दिन पनि पुरा गर्न पाएका छैनन् । त्यसका बाबजुद वामपक्षको उमङ्ग र उत्साह यतिसम्म उचाइमा छ, उनीहरूले देश समाजवादी चरणमा प्रवेश गरेको दावी गरिरहेका छन्, आर्थिक समृद्धि शासनको तात्कालिक कार्यभार दावी गरिएको छ । नेपाली जनता विस्फारित नेत्रले यी परिघटनाहरूको सामना गरिरहेका छन् । एकातिर, शासक वर्गले समाजवादी आर्थिक समृद्धिको सपना बाँडिरहेको छ भने अर्कातिर, सरकारकै अर्थमन्त्रीले राष्ट्रको ढुकुटी रित्तो भएको घोषणा गरिसकेका छन् । यस्तो अन्तर्विरोधी परिदृष्यका माझ नेपाली जनताले वामपक्षीय शासक वर्गको पनि परीक्षण गर्नु पर्ने जिम्मेवारी निर्वाह गरिरहेका देखिन्छन् ।
गत कालमा नेपालका शासक वर्गले तथ्याङ्कमा आर्थिक समृद्धि बढेको दावी गर्दथे । यता, अहिलेका शासक वर्गले भने सिधै राजनीतिक घोषणाद्वारा आर्थिक समृद्धिको सपना बाँडिरहेको छ । तथ्याङ्कमा कुल गार्हस्थ उत्पादन (जी.डी.पी.) र प्रतिव्यक्ति आयमा वृद्धि तथा उचाइ छुँदै गरेको सेयर बजारलाई आधार बनाएर गत कालका शासक वर्गले यस्तो दावी गर्दथे । तर व्यवहारमा भने त्यसको वास्तविकता विश्वासिलो हुँदैनथ्यो । सेयर बजारले उचाइ छोएको दावी गरे पनि उद्योग–व्यवसाय फस्टाउँदैनथे । जी.डी.पी. बढेको दावी गरिए पनि व्यापार घाटा निरन्तर बढेकै हुन्थ्यो । काङ्ग्रेस सरकारले आफ्नो शासनकाल दुई अङ्कको आर्थिक वृद्धिको नजिक पुगेको दावी गरिरहेकै बेला देश गृहयुद्धमा होमिएको थियो । विदेशी निवेशले आर्थिक वृद्धि दर बढेको र रोजगारीको अवसर बढेको दावी गरिएकै बेला सीमित राष्ट्रिय स्वामित्वका उद्योग–व्यवसायहरू निजीकरण भएका हुन्थे र वेरोजगारी यतिसम्म बढेको हुन्थ्यो, त्यसको सामना गर्न वैदेशिक रोजगार विभाग नै स्थापना गर्नु परेको हुन्थ्यो । यसरी आर्थिक समृद्धि राजनीतिक घोषणा र तथ्याङ्कमा होइन, जनताको दैनिक जीवनमा महशुस गरिनु पर्दथ्यो । तर गतकालमा त्यस्तो हुन सकेन र अहिलेसम्म त्यस्तो हुन सकेको छैन ।
यतिखेर देश आर्थिक समृद्धितर्फ अघि बढिरहेको दावी गरिएकै बेला सामाजिक, सांस्कृतिक सूचकहरूले भने अन्तै सङ्केत गरिरहेका छन् । गत एकाध महिनायताको मिडिया रिपोर्ट हेर्ने हो भने स्थिति निराशजनक देखिन्छ । बोक्सीको आरोपमा महिलाहरूलाई प्रताडित गरिनु, बालिकाहरूसम्मको बलात्कार हुनु, विश्व स्वास्थ्य सङ्गठनका काम गरेको विदेशी नागरिकसम्म बालबालिका यौन दुराचारीको रूपमा पक्राउ पर्नु, महिलाहरूको विदेशमा वेचविखन बढेर जानु, अझै पनि छाउपडी, कमलरी जस्ता प्रथाहरू कायमै रहनु—यस खालका तमाम समस्याहरू हाम्रो समाजमा अहिले पनि ज्युँकात्युँ छन् । अहिले सतहमा आएका यस खालका परिघटना सहितको वर्तमान समाज निरङ्कुश पञ्चायती शासनकाल र त्यसभन्दा पहिलेको सामाजिक यथार्थभन्दा कुन अर्थमा फरक छ ? आम जनताले तीन तहको निर्वाचनपछिको स्थितिमा आफूलाई कति फरक महशुस गरिरहेका छन् ? यसको उत्तर शासक वर्गले दिनै पर्ने छ ।
पक्कै पनि देशमा राजनीतिक परिवर्तन भएको छ । इतिहासमै पहिलो पटक नेपाली जनताले गणतन्त्र, धर्म निरपेक्षता र सीमित रूपमा भएपनि स्थानीय स्वायत्तता प्राप्त गरेका छन् । यो इतिहासकै महत्वपूर्ण र गम्भीर उपलब्धी हो । यसलाई बचाउनु पर्दछ । प्रतिक्रियावादी, पुनरुत्थानवादीहरूका विरुद्ध उच्च स्तरको सतर्कता कायम राखेर हामीले २०६२–६३ को जनआन्दोलनका उपलब्धीहरूलाई सुरक्षित गर्न सक्दछौँ । यसको साथसाथै हामीले देशलाई स्वाधीन र राष्ट्रिय आत्मनिर्भर अवस्थामा पुर्‍याउन सर्वाधिक ध्यान दिनु पर्ने हुन्छ । त्यस क्रममा सर्वप्रथम त देशको सार्वभौम सत्ता स्वतन्त्र र स्वाधीन बनाइनु पर्दछ । त्यसका लागि कुनै पनि विस्तारवादी तथा विदेशी हस्तक्षेपबाट देशलाई मुक्त बनाइनु पर्दछ । द्वितीय, देशमा राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र कायम गरिनु पर्दछ । त्यसपछि मात्र नेपाली जनताले दैनिक जीवनमा महशुस हुने गरी परिवर्तनको अनुभूति गर्नेछन्, त्यसपछि मात्र बेरोजगारीको समस्या समाधान हुने छ र त्यसपछि मात्र सुखी जीवनको अपेक्षा सहित वैदेशिक रोजगारीमा गएका युवायुवतीको लास सन्दुकमा आउने सिलसिला बन्द हुने छ । त्यसैले राजनीतिक घोषणा र तथ्याङ्कमा होइन, व्यावहारिक जीवनमा अनुभूति हुने गरी काम गर्न सम्बन्धित पक्ष्ँले बेलैमा ध्यान दिनु पर्दछ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal