नेपालगञ्ज । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सङ्घीयता खारेज भएमा स्वयं सत्तापक्षहरू नै खुशी हुने बताउनु भएको छ । “नेपालमा सङ्घीयता खारेज भएमा राष्ट्रिय जनमोर्चा र राष्ट्रवादी शक्तिहरू मात्र होइन, स्वयं सत्तासिन कतिपय नेताहरू नै खुशी हुनेछन्” उहाँले भन्नु भएको छ– “विदेशी साम्राज्यवादी, विस्तारवादी र नेपालका केही पृथकतावादी तथा जातिवादीहरू बाहेक अरू सबै जनता खुसी हुनेछन् ।” राष्ट्रिय जनमोर्चा बाँकेद्वारा जनआन्दोलन दिवस चैत्र २४ गते नेपालगञ्जमा आयोजना गरिएको “सङ्घीयता र वर्तमान परिस्थिति” विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उक्त विचार व्यक्त गर्नु भएको हो । अन्तरक्रियामा राजमोका पूर्व महासचिव तथा पूर्व सांसद हरि आचार्यले २०४६ चैत्र २४ को निर्णायक जनआन्दोलनलाई बेवास्ता गर्दै सोही चैत्र २६ गते भएको सम्झौता र त्यसको परिणाम २०६२–६३ को जनआन्दोलन गर्नु परेको स्मरण गर्दै २०६२–६३ को जनआन्दोलनका शक्तिहरू अझै एकजुट भएर अगाडि बढ्नु आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा विचार राख्ने अन्य अतिथिहरूमा नेकपा (एमाले) बाँकेका अध्यक्ष अशोक कोइराला, नेकपा क्रान्तिकारी–माओवादीका केन्द्रीय सदस्य शिवसुन्दर शाही, नेकपा माक्र्सवादी बाँकेका अध्यक्ष खल्लु प्रसाद चौधरी लगायत हुनु हुन्थ्यो । राजमोका पूर्व केन्द्रीय सदस्य तुलसीराम सापकोटा, नेकपा (मसाल) बाँकेका प्रवक्ता जगदिश ढकाल लगायतको कार्यक्रममा आतिथ्यता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा नेपाल बार एसोसियसनका केन्द्रीय उपाध्यक्ष अधिवक्ता शालिकराम सापकोटा, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका पूर्व प्राध्यापक डा. जनार्दन शर्मा आचार्य, वरिष्ठ अधिवक्ता भोलासिंह हमाल, प्राध्यापक कमान सिंह बोहरा, पूर्व प्राध्यापक डा. गोपाल शर्मा अधिकारी लगायतले पनि आधार पत्रमाथि टिप्पणी गर्नु भएको थियो । राजमो बाँकेका उपाध्यक्ष कृष्णराज पाण्डेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा राजमोका केन्द्रीय सदस्य वासुदेव पोख्रेलले आधार पत्र वाचन गर्नु भएको थियो । राजमो बाँकेका सचिव गुणनिधि आचार्यको स्वागत र मान बहादुर भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । –जगदीश ढकाल फर्कनुहोस् |