२०७५ जेष्ठ ८ गते, बुधबार   वर्ष ३५, अङ्क २२
मिति(२०७५ ज्येष्ड १५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार अन्तर्वार्ता
पुराना अंक
लेखहरू
सहिद मित्रमणि र सहिदको योगदान
– विमल पोखरेल
मित्रमणि आचार्यको हत्या भएको ३३ वर्ष पुगेको छ । आचार्य अनेरास्ववियु (छैठौँ) आठौँ केन्द्रीय समितिका केन्द्रीय सदस्य, रामपुर कृषि क्याम्पस चितवनका स्ववियु सभापति र पञ्चायत विरोधी आन्दोलनका योद्धा थिए । मित्रमणि आचार्यको साङ्गठनिक कामकै सिलसिलामा चितवनको मेघौली गएको बेला पञ्च–काङ्ग्रेसी गुण्डाहरूले उनी बसेको घर घेरा हालेर साङ्घातिक आक्रमण गरी २०४२ वैशाख १८ गते हत्या गरेका थिए । हामी सर्वप्रथम सहिद मित्रमणि आचार्य, देशको विद्यार्थी र प्रजातान्त्रिक आन्दोलनमा प्राणको आहुति दिएका सबै सहिदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । 
मित्रमणि आचार्य २०१९ असार ११ गते प्युठानको रम्दी गाविस वडा नम्बर २ मा रेशमराज र पितम्बरा देवीको कोखबाट जन्मेका थिए । उनले तिघ्रा प्राविबाट प्रारम्भिक अध्ययन गरेका थिए भने रातामाटाबाट एसएलसीसम्मको अध्ययन गरेका थिए । त्यहाँ उनी विद्यार्थी सङ्गठनमा सङ्गठित र सक्रिय भएका थिए । २०३६ सालमा उनी पक्लिहवा कृषि क्याम्पसमा अनेरास्ववियु (छैठौँ) मा सङ्गठित भएका थिए । २०३८ मा पक्लिहवा क्याम्पसमा स्ववियु सभापतिमा निर्वाचित भएका थिए भने सङ्गठनको रूपन्देही जिल्ला सचिव भएका थिए । २०४० माघमा चितवन जिल्ला समितिको कोषाध्यक्ष, फागुनमा उपाध्यक्ष र त्यही वर्ष अनेरास्ववियु (छैठौँ) मध्य तराई उपकेन्द्रको सचिव, आठौँ केन्द्रीय समितिको केन्द्रीय सदस्य भएका थिए । २०४१ सालमा रामपुर कृषि क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा निर्वाचित भएका थिए । विद्यार्थीको बीचमा लोकप्रिय र नेतृत्व क्षमता भएका आचार्य रूपन्देहीको पक्लिहवा र चितवनको रामपुर कृषि क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा निर्वाचित भएका थिए । दुई वटा क्याम्पसमा स्ववियु सभापति निर्वाचित हुनुले पनि उनमा उच्च स्तरको नेतृत्व क्षमता भएको पुष्टि हुन्छ । मित्रमणिको विचार र नेतृत्व क्षमताबाट अत्तालिएका र स्ववियु चुनावमा उनीसँग हार ब्यहोरेका पञ्च–काङ्ग्रेसी गुण्डाहरूले अत्यन्तै पाशविक तरिकाले हत्या गरेका थिए । 
साङ्गठनिक कामको सिलसिलामा २०४२ वैशाख १८ गते चितवनको मेघौली गएको बेला काङ्ग्रेसी गुण्डाहरूले एउटा किसानको घरमा घेरा हालेर खुडा, खुकुरीबाट आक्रमण गरी रक्ताम्य बनाएका थिए । उनको टाउकोमा खुकुरीले हानेका ४ वटा गहिरो चोट थिए । उनलाई दिउसो ३ बजे त्यहाँका जनताले भरतपुर अस्पतालमा पुर्‍याएका थिए । अचेत अवस्थाका मित्रमणिको राती करिब २ः३० बजे निधन भयो । उनलाई आक्रमण गर्ने कार्यमा पक्लिहवा क्याम्पसमा नेविसङ्घकातर्फबाट स्ववियु सभापतिका उम्मेदवार भई मित्रमणिसँग पराजित कृष्णराज अर्याल अगुवा थिए । नेविसङ्घकै मोहन श्रेष्ठ, भार्गव धिताल, पूर्ण बहादुर गुरुङ, रुद्र बहादुर गुरुङ, नन्दलाल घले लगायत दर्जनौँ गुण्डाहरूले मित्रमणिमाथि आक्रमण गरेका थिए । दिनदहाडै घर घेरा हालेर साङ्घातिक आक्रमण गरेर खुडा खुकुरीले शरीर मरणासन्न गरी छियाछिया बनाइएको थियो । उनको हत्यामा संलग्न हत्याराहरूलाई कारवाही गरिएन । हत्यामा संलग्न भार्गव धिताल, सीताराम बास्तोला, रवीन्द्र नारायण दासलाई जनताले समातेर प्रशासनलाई बुझाएका भए पनि कारवाही गरिएन । 
मित्रमणि आचार्यको हत्यापछि चितवनमा हजारौँको सङ्ख्यामा शवयात्रा निस्किएको थियो । नेकपा (मसाल) ले उक्त हत्याकाण्डको कडा भत्र्सना गरेको थियो । उक्त हत्याकाण्डको विरोधमा उत्रन सबैलाई आह्वान गरेको थियो । हत्याकाण्डको विरोधमा मनमोहन अधिकारी, तुलसीलाल अमात्य, नर बहादुर कर्माचार्य, साहना प्रधान, शम्भुराम श्रेष्ठ, कृष्णराज बर्मा, नारायण मान बिजुक्छेले संयुक्त वक्तव्य प्रकाशन गरी हत्याकाण्डको भत्र्सना गरेका थिए । उनीहरूले राजाबाटै निष्पक्ष जाँचबुझ आयोग गठन गर्न र दोषीलाई कडा कारवाही गर्न माग गरेका थिए । वैशाख २२ गते चितवनको पर्साढाप, भरतपुर, काठमाडौँको पुतली सडक, प्रदर्शनी मार्गका सबै क्याम्पसहरूमा विशाल प्रदर्शन भएको थियो । 
मित्रमणि आचार्य एक विद्यार्थी नेता, सङ्घर्षशील योद्धा, समाजका अगुवा मात्रै होइनन्, पत्रकार र साहित्यकार पनि थिए । उनले २०३८ मा पक्लिहवा कृषि क्याम्पसमा ‘चम्किलो तारा’ नामक स्ववियु मुखपत्रको सम्पादन गरेका थिए भने २०३९ मा धादिङमा जागिर गर्दाखेरि ‘कृषक सभा’ नामक पत्रिका प्रकाशन गरेका थिए । उनले निबन्ध र कविता पनि लेख्ने गर्दथे । विदेशिएका नेपालीहरू ः एक दृष्टि निबन्ध र विषमता शीर्षकको कविता उत्कृष्ट छन् । उनले तत्कालीन विद्यार्थी आन्दोलन र आफ्नो साङ्गठनिक क्रियाशीलताका विषयमा आफ्ना साथीहरू कृष्णसेन इच्छुक, हरि आचार्य लगायतलाई अत्यन्तै मर्मस्पर्सी पत्रहरू लेखेका छन् । 
पञ्चायत कालीन कालरात्रीमा विद्यार्थी आन्दोलन गर्नु आफैमा कठिन कार्य थियो । पञ्चायती शासनको जगजगी भए पनि देशभर पञ्चायत समर्थक विद्यार्थीहरूले एउटा क्याम्पस पनि जित्न सक्दैनथे । पञ्चायत विरोधी विद्यार्थीकै जित हुन्थ्यो । मित्रमणिले पनि शानदार जित हासिल गरेका थिए । उक्त जितले काङ्ग्रेसीहरू अत्तालिएका थिए । पक्लिहवा र रामपुर दुवै क्याम्पसमा नेविसङ्घलाई हराएर मित्रमणिले जित हासिल गरेपछि नेविसङ्घका गुण्डाहरूले मित्रमणिको हत्या गर्ने योजना बनाएका थिए । वैशाख १८ गते मेघौलीको पर्साढापमा हुने विद्यालयका अभिभावकको भेलामा मित्रमणि जाने खबर पाएपछि ६०–७० जना काङ्ग्रेसी गुण्डाहरू त्यहाँ पुगिसकेका थिए । तिनीहरू पक्लिहवा र रामपुर क्याम्पसमा मित्रमणिबाट हार ब्यहोरेका काङ्ग्रेसका गुण्डाहरू नै थिए । 
२०३६ सालको विद्यार्थी आन्दोलन पाकिस्तानको सरकारले त्यहाँका पूर्व प्रधानमन्त्री जुल्फीकर अली भुट्टोलाई फासी दिएको विरोधमा भएको प्रदर्शनबाट सुरु भएको थियो । उक्त आन्दोलनमा चरम दमन भएपछि आन्दोलन पञ्चायत विरोधी सङ्घर्षका रूपमा सोझियो । आन्दोलनले उच्च रूप लिदै गएपछि तत्कालीन राजा वीरेन्द्रले जनमत सङ्ग्रह घोषणा गरे । एकातिर, बहुदल पक्षधर शक्तिहरूको विभाजन र अर्कातिर, पञ्चायतले चुनाव नै कब्जा गरेका कारण बहुदलको हार भयो । पञ्चायती व्यवस्था झनै उत्साहित बन्न पुग्यो । पञ्चायतको जितको उत्साहलाई विद्यार्थी आन्दोलनले निरन्तर प्रहार गर्‍यो । पञ्चायतले लगातार विद्यार्थी आन्दोलनमाथि दमन गर्‍यो । चितवनमै २०३९ मा शिव पौडेलको हत्या गरिएको थियो । काठमाडौँमा टङ्क प्रसाद आचार्यको हत्या गरिएको थियो । बहुदल आएपछि पञ्चहरूलाई कारवाहीको माग गर्दै आन्दोलनमा उत्रिएका भूमिराज सापकोटालाई २०४७ सालमा बागलुङमा हत्या गरियो । 
नेपालमा प्रजातान्त्रिक आन्दोलनको कालखण्डमा धेरै सहिद भएका छन् । १९९७ मा गङ्गालाल र २००८ सालमा चिनियाँ काजी श्रेष्ठ सहिद भए । उनीहरू दुवै विद्यार्र्थी थिए । पञ्चायत कालमा अन्य धेरै विद्यार्थी सहिद भए । २०४६ सालको आन्दोलनमा देशभर दर्जनौँ आन्दोलनकरीहरूले सहादत प्राप्त गरे । सरकारले १९ जनालाई सहिद घोषणा गर्‍यो । महाकाली सन्धिको विरोधमा भएको आन्दोलनमा सिन्धुलीकी कक्षा ८ की विद्यार्थी सम्झना दाहाललाई गोली हानी हत्या गरियो । माओवादी सशस्त्र सङ्घर्षप्रति अखिल (छैठौँ) को सधैँ असहमति रह्यो । तर त्यो सङ्घर्षमा हजारौँ व्यक्तिहरू सहिद भए । ती सबै क्रान्तिकारी चरित्रबाट ओतप्रोत थिए । २०६० मा रूपन्देहीमा विद्यार्थी नेता देवीलाल पौडेलको क्याम्पस हाताभित्रै गोली हानी हत्या गरियो । त्यस बाहेक २०६२–६३ को आन्दोलनमा दीपक कामी, सुरज विश्वास, राजन गिरी लगायतका विद्यार्थीहरू सहिद भए । उक्त आन्दोलनमा सरकारले २६ जनालाई सहिद घोषणा गरेको थियो । आन्दोलनमा होमिएका काभ्रेका विद्यार्थी मुकेश कायस्थ १२ वर्षदेखि अचेत अवस्थामा छन् । सरकारकोतर्फबाट २०६३ सालको आन्दोलनका घाइतेहरूको उपचार र केही सहयोग गरियो । घाइतेहरूलाई उपचार, यातायात र पढाइमा सहुलियत दिइयो । तर २०४६ का घाइतेहरूले त्यो सुविधा पनि प्राप्त गरेका थिएनन् । 
नेपालले माघ १६ गते सहिद दिवस मनाउने गर्दथ्यो । १९९७ मा राणाहरूले शुक्रराज, धर्मभक्त, दशरथ चन्द र गङ्गालाललाई हत्या गरिएको सम्झनामा उक्त दिन सहिद दिवस मनाइन्थ्यो । तर वर्तमान सरकारले सहिद दिवसको सार्वजनिक विदा र कार्यक्रमलाई हटाएको छ । नेपालमा कसलाई सहिद मान्ने भन्ने पनि ठुलो विवादको विषय बन्दै आएको छ । कर्मचारी सहिद, शिक्षक सहिद, धार्मिक सहिद, मजदुर सहिद आदि इत्यादि प्रचलनमा ल्याइएको छ । तत्कालीन माधव कुमार नेपालको सरकारले मोदनाथ प्रश्रितको नेतृत्वमा सहिद मापदण्ड निर्धारण समिति गठन गरेको थियो । उक्त समितिले आफ्नो प्रतिवेदन दिएको थियो । समितिले प्रजातन्त्र र देशका लागि बलिदान गरेका मान्छेलाई सहिद मान्नु पर्ने निष्कर्ष सहितको प्रतिवेदन बुझाएको संयोजक प्रश्रितले बताएका छन् । तर सरकारले त्यस अनुसार काम अगाडि बढाएको छैन । गृह मन्त्रालयले सहिदको सूची राख्नु पर्ने, सहिद परिवारलाई सेवा–सुविधा दिनु पर्ने मापदण्ड वा कार्यक्रम ल्याउनु पर्ने हो । केही राहत दिने बाहेक अन्य कार्यक्रम ल्याइएको छैन । 
पञ्चायत कालमा पिष्कर, छिन्ताङ, दशरथपुरमा ठुल्ठुला हत्याकाण्डहरू भएका थिए । माओवादी द्वन्द्वका बेला पनि धेरै सामूहिक हत्याकाण्डहरू भएका थिए । पञ्चायतका विरुद्ध, प्रजातन्त्रका लागि लडेका व्यक्तिहरूलाई सहिदकै रूपमा मानिदै आएको छ । २०६३पछि सहिद घोषणा गर्ने क्रम निकै बढेको छ । गत शेर बहादुर देउवाको सरकारले मात्रै २ सय ६६ जनालाई सहिद घोषणा गरेको थियो भने तत्कालीन पुष्प कमल दाहालको सरकारले ८ हजार ५ सयलाई सहिद घोषणा गरेको थियो । सरकारको गृह मन्त्रालय र शान्ति तथा पुनर्निर्माण मन्त्रालयले सहिदका बेग्लाबेग्लै सूची बनाउने गर्दथे । यसरी भटाभट सहिद घोषणा गर्ने प्रतिस्पर्धा नै चलेको थियो । त्यसरी सूची बनाउँदा दोहोरिएको भन्दै विवाद भएको थियो । कुनै मापदण्ड वा तयारी विना सहिद घोषणा गर्ने गरियो । त्यसले सहिदको सम्मान त भएन नै, सरकारसित सहिदको तथ्याङ्क पनि छैन । सहिद घोषणा गरेर मात्रै सरकारको दायित्व पूरा हुन्छ कि सहिदका परिवारलाई सहयोग र जीविकोपार्जनको व्यवस्था पनि गर्नु पर्छ ? त्यो सरकारले गम्भीर भएर सोच्ने विषय हो ।
हरेक प्रजातान्त्रिक आन्दोलनमा राज्यले आन्दोलनकारीमाथि दमन गर्छ । हत्या गर्छ । आन्दोलनकारीहरूले प्रजातन्त्र र जनताका लागि ठुलो बलिदान गरेका हुन्छन् । तर उनीहरूले प्रजातन्त्र र देशको लागि बलिदान गरेर सहिद भए पनि परिवारलाई ठुलो क्षति पुग्दछ । परिवारका सदस्यमाथि ठुलो बज्रपात हुन्छ । अभिभावक, सहारा गुम्छ । बलिदानपछि व्यक्तिको प्राप्ती गर्न सकिदैन । तर आफ्नो ज्यानको कुनै पर्वाह नगरी लडेका व्यक्तिका परिवारलाई राज्यले कुनै राहत दियो कि दिएको छैन ? यो महत्वपूर्ण प्रश्न हो । केही राहतले मात्रै सहिद परिवारको गुजारा हुन सक्दैन । परिवारलाई जीवन निर्वाह गर्ने रोजगारी वा पेशा व्यवसायको ग्यारेन्टी गरिनु पर्दछ । 
राजनीतिक रूपमा सहिदको योगदानबाट प्राप्त उपलब्धि अनुसार जनताको पक्षमा काम भयो कि भएन ? भौतिक र मानवीय विकास भयो कि भएन ? गरिबी, भोकमरी, अशिक्षाले पीडित जनताको पक्षमा के कति योगदान भयो ? यी महत्वपूर्ण पक्ष हुन् । राजनीतिक दल, दलका नेता र सरकारले त्यस दिशामा ध्यान दिनु पर्दछ । तर राज्यले त्यस दिशामा ध्यान दिएको छैन । 
सहिद मृत्युपछि प्राप्त हुने उच्च स्तरको उपाधि हो । अत्यन्तै सम्मानित शब्द हो । सहिद हुनेहरूप्रति ठुलो श्रद्धाभाव प्रकट गरिन्छ । सहिद परिवारप्रति उच्च सम्मान प्रकट गरिन्छ । दास विद्रोहमा हजारौँ दासहरू सहिद भए । मानव जातिले दास युगबाट मुक्ति प्राप्त गर्‍यो । सामन्ती राजाहरूका विरुद्ध ठुलठुला भीषण लडाइँहरू भए । सामन्तवादबाट मानव समाजले मुक्ति प्राप्त गर्‍यो । पूँजीवादले पनि अरबौँ गरिब जनतालाई शोषण गरिरहेको छ । हजारौँ सहिदहरूको बलिदानबाट प्राप्त भएका समाजवादी राज्यसत्ताहरू ढलेका छन् । यसरी मानव समाजमा वर्गसङ्घर्षको लडाइँ जारी छ । हरेक लडाइँमा सहिदहरू हुने गर्दछन् । आफू सहिद भएर बाँकी मानव जातिको मुक्तिलाई योगदान गर्ने सहिदहरूको सिङ्गो मानव जातिले सम्मान गर्नु पर्दछ । 
अखिल (छैठौँ) मित्रमणि आचार्य लगायत देशको विद्यार्थी आन्दोलन र प्रजातान्त्रिक आन्दोलनका सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छ । सहिदले देखाएको बाटोमा निरन्तर अगाडि बढ्ने प्रण गर्दछ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप लेखहरू
मोदीलाई नेपालमा किन गर्ने स्वागत ?
के विवाहित छोरी माइतीगाउँमा बस्नु हुन्न ?
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal