२०७५ असोज ३ गते, बुधबार   वर्ष ३५, अङ्क ३८
मिति(२०७५ आश्विन ४, बुधवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
लेखहरू
के विवाहित छोरी माइतीगाउँमा बस्नु हुन्न ?
मनु वि.क.
हाम्रो समाजमा छोरीलाई अर्काको घरमा जाने जातका रूपमा व्यवहार गरिने कुरा नयाँ होइन । छोरीलाई आफ्नो वंशको रूपमा समेत हेरिदैन । छोरीले आमाबुबाका निम्ति केही गर्नु हुँदैन, पाप लाग्छ† छोरी पराइघरमा जानु पर्छ† गएपछि जे जस्तो अप्ठयारो, दुःखसुख जे भए पनि माइतमा भन्न आउनु हुँदैन† माइत सुनाउन आउनु हुँदैनसम्म भनिने चलन पनि नयाँ होइन । छोरी भएर जन्म लिएपछि बाआमाले, आफ्ना अभिभावकले जहाँ जस्तो र जसरी अर्काको छोराको जिम्मा लगाई दिन्छन्, त्यसलाई अलिकतासम्म आनाकानी नगरी त्यही जीवन बिताउनु पर्छ, नत्र माइतीको, खानदानको इज्जत जान्छ भन्ने कुरा पनि कुनै नयाँ होइन । अचेल अलिकता समाज खुकुलो भएसँगै अभिभावक बिना पनि केटा र केटीका बीचमा चिनजान भएर एउटा जीवन सँगसँगै बिताउने वा विवाह बन्धनमा बाधिने गरेका उदाहरणहरू बढेका छन् । त्यसरी विवाह गरेपछि पनि आफ्ना जीवनमा जे जस्ता समस्या आउँछन्, ती सबै कुरा त माइतीले सुन्नसम्म हुन्ने भन्ने मानसिकता रहेको सबैलाई थाहा छ । पराइघरमा सधैँभरि सबै बुहारीलाई अनुकूल वातावरण हुन्छ भन्ने भएन, कैयौँ बाधा–व्यवधानहरू नचाहँदा नचाहँदै पनि मानव जीवनमा आउँछन् । त्यसलाई वैवाहिक जीवनमा कथम्कदाचित केही समस्या निम्त्याएमा महिलाले त्यतिकै मनमनै पिर, दुःख गुम्स्याएर बस्नु पर्छ, माइतमा त केही सुनाउनु हुन्न भन्ने धारणा रहेको पनि नयाँ रहेन । 
 अति अप्ठ्यारो परेपछि सबभन्दा नजिकका आमाबा, दाजुभाइ सबैलाई नभनेर कसलाई भन्ने ? भनेपछि माइतीको इज्जत फालेको घर गरेर खान नसकेको भन्ने जस्ता भनाइहरू महिलाले सुन्नु र भोग्नु पर्छ । यी त भए छोरीप्रति माइती र समाजका धारणाका कुरा । तर यहाँ भन्न खोजिएको कुरा छोरीले माइतीगाउँमा बस्न हुन्छ कि हुँदैन भन्ने हो । एकजना बहिनी केही वर्ष पहिले आफ्नो बिहेघर छोडेर माइतीगाउँ आइन् । उनीसँगै श्रीमान छोराछोरी हुने भए । उनले सकी–नसकी दुःख गरिन् । माइतीगाउँमा माइतीको वरिपरि बस्दा आफूलाई हरेक हिसाबले सुरक्षित महशुस हुनु स्वाभाविक नै हो । उनले दुःख गर्नलाई रातदिन भनिनन् । उनका श्रीमानले पनि गर्ने नै भए । दुःख गरेर उनीहरूले अलिकता सजिलो महशुस गरेका छन्् भन्ने हामी बाहिरबाट देख्नेले देख्न सकिन्थ्यो । तर उनी त्यहाँ बस्न सकिनन् । माइतीघर बसेको होइन, माइतीगाउँमा बसेको हो । तर पनि आत्मसम्मानमा चोट पर्ने गरी सुनिने वा नसुनिने गरी एउटाले प्याच्च एउटा भन्छ, अर्कोले अर्को जबाफ लगाउँछ । नसुनिने गरी लगाएका वचनहरू पनि जान–अञ्जानमा सुनिने भए बस्न मन लागेन, छोडेर हिड्नु पर्‍यो । अर्की एकजना बहिनी पनि जहाँ बसे पनि आफ्नै दुःख गरेर खाने त हो नि भन्दै माइतीको नजिकै गएर बसिन् । केही समयपछि त्यहाँ छोड्न बाध्य पारियो । त्यहाँ छोडेर अन्यत्रै हिड्नु पर्‍यो ।
 विवाह गरेर गएका छोरीहरू माइती गाउँमा बस्नसम्म हाम्रो समा जका मान्छेहरूले सहन सक्दैनन् हाम्रो समाजमा माइतमा आएर दुःख देखाएमा परिवार सहित आएर बसेमा अनेक लान्छनाहरू लगाइन्छ, घर गरेर खान नसकेको, घरका सदस्यहरू बुढा, सासुससुरा, नन्दअमाजु रिझाउन नसकेको अल्छिनी भएको बेइज्जती बनेको भन्ने जस्ता आरोपहरू लगाउँछन् । घरज्वाइँ बस्नेका लागि त झन् कस्तो तल्लो रूपमा व्यवहार गरिन्छ भन्ने कुरा ‘अरूलाई केको पिर छ, घरज्वाइँलाई खानकै पीर’ भन्ने प्रचलित उखानबाटै थाहा हुन्छ । त्यसैले हाम्रो समाजमा घरज्वाइँ बस्नु हुन्न भन्ने मान्यता छ । छोरीले माइतीघर छोडेर जान हुन्छ तर ज्वाइँ ल्याएर बस्नु हुन्न, छोराले बुहारी ल्याएर मज्जाले बाआमा, दाइभाइसँग बस्नु हुन्छ तर, छोरी माइत बस्न हुन्न भन्ने धारणा छ । 
छोरीलाई बिहे हुने बेलासम्म अभिभावकले निर्वाह गर्नु पर्ने भूमिका निर्वाह गरे पनि वा नगरे पनि विवाह भएपछि त ‘मारे पाप पाले पुण्य’ भनेर दिने र आफूहरू उसको अनेक जिम्मेवारीबाट तरक्क तर्कने चलन छ । छोरालाई घरको वास्तविक उत्तराधिकारी, हरेक कर्मको जिम्मेवार र चल÷अचल सम्पत्तिको हकदार बनाउने पुरुष प्रधान समाज हाम्रो छ । बाआमा उनै हुन्, छोरा र छोरी जन्माउने तर छोरा र छोरीप्रति गरिने ब्यवहारप्रति भने संस्थागत रूपमै विभेदकारी छ । यहाँसम्म कि बिहे गरेर गएकी छोरी गर्भ बोकेर परिस्थितिवश सुत्केरी हुने समयमासम्म माइतमा सुत्केरी हुनु हुँदैन भन्ने रुढिवादी मानसिकता हट्न सकेको छैन । सुत्केरी जस्तो अवस्था कति संवेदनशील अवस्था हो भन्ने कुरा त हरेक बा आमालाई भएकाले थाहै छ, तैपनि छोरीको यस्तो अवस्था माइतीले विषेश गरी बुबा, दाजुभाइले देख्न हुँदैन भन्नेसम्मका पुराना धारणा बदलिन सकेका छैनन् । 
छोरा र छोरी बराबरी भन्ने कुरा त कहिले पुरा होलान् ? निकै परको कुरा छ । छोरी भएकै कारण हरेक हिसाबबाट बञ्चित हुनु पर्ने अवस्थामा सुधार आउन सकेको छैन । छोरीलाई दयामायाकोे रूपमा मात्र हेरेर दानदक्षिणा दिनु पर्ने, दयामाया गर्नु पर्ने पात्रका रूपमा मात्र व्यवहार गरिन्छ । संविधानमा पैत्रिक सम्पत्तिमा छोरा सरह छोरीलाई पनि अधिकार हुने छ भन्ने उल्लेख गरे पनि त्यसको कार्यान्वयन कहिले हुने हो ? छोरीले अझै कति लामो समय प्रतिक्षा गर्नु पर्ने हो ? त्यसको कुनै सीमा छैन । माइतीगाउँमा कुनै शरण माग्न नगई जहाँ गए पनि आफ्नै रगत पसिना पोखेर, पाखुरी बजारेर खाने त हो नि भनेर गाउँको कुनै एउटा कुनामा गएसम्म पनि अनेक कुराहरू काट्ने, ज्वाइँलाइ स्वास्नीकोपछि लागेर आएको केही नभएर आएको ‘जोइतिङ्ग्रे’ भएको भन्ने जस्ता अनेक तल्लो स्तरका जबाफहरू लगाउने केही हक, अधिकार नभएको भनेर हेला, घृणा गर्ने बानी–व्यवहारमा कमी आउने दिन कहिले आउला भन्नु पर्ने अवस्था छ । अचेल त अझै यतिसम्म भएको छ कि सम्पत्ति आफ्ना नाममा बनाएपछि दाइभाइले बाआमा नहेर्ने छोरीले आन्तिम समयसम्म हेर्नु पर्ने पनि भएका उदाहरणहरू थपिएका छन् । छोरीलाई बिहे गरेर जाँदा चाहेमा सक्नेले जति जे दाइजोका रूपमा दिन्छन्, त्यहाँभन्दा अरू केही नपाउने चलनको अन्त्य हुनु पर्छ । यदि पैत्रिक सम्पत्तिमा छोरीलाई पनि छोरा सरह हक अधिकार हुने हो भने छोरीले आमाबाबुबाट समान व्यवहार पाएको कुनै दयामयाको पात्र नभएको रूपमा आफूलाई लिने दिन आउँछ । छोरी पनि छोराभन्दा कुनै पनि कारणले कमी आउने छैन । प्रकृति एउटा यस्तो चीज हो, जुन निःशुल्क उपलब्ध छ । निजी बनाउने सन्दर्भमा विभिन्न नियम कानुनहरू बनाइयो र त्यसैको आडमा आफ्नो अधिकार स्थापित हुँदै गयो । कालान्तरमा बाबुको अंश छोरालाई बाँड्डै गइयो, छोरीलाई कुनै सन्तानको हिसाबमै गनिएन । यसले छोरीलाई अधिकार नभएको दोस्रो दर्जाको नागरिकका रूपमा व्यवहार भए यसले छोरा भएर जन्मेपछि अर्काकै पाउमा परेर जीवन धान्नु पर्ने बाध्यता रह्यो । बिहे भएर गएपछि अर्काकै घर गरेर खानु पर्छ भन्ने चलन छ, त्यसको अन्त्य हुनु पर्छ, घरमा राम्रो या नराम्रो जे भए पनि ‘दुःख देखाउनु हुन्न’ भन्ने जस्ता विचारले जरा गाडेको छ, त्यसको अन्त्य हुनु पर्छ । छोरा र छोरीलाई अधिकार र दायित्व बराबरी हुनु पर्छ । आमाबुबाप्रति, समाजप्रति छोरा सरह छोरीको पनि भूमिकामा कुनै मानेमा कमी छैन भन्ने कुरा त सबैलाई थाहा छ नि, त्यति भएपछि छोरा र छोरीप्रति गरिने व्यवहार पनि विभेदकारी हुनु हुँदैन । छोरीले आफ्नो बिहेघर बाहेक आफूलाई अनुकूल हुनेगरी जहाँ बस्न चाहे पनि चाहे माइतीगाउँ, चाहे माइतीघर जहाँ आफूलाई सजिलो हुन्छ, त्यहाँ बस्दा माइतीलाई के बेफाइदा हुन्छ ? समाजलाई के बेफाइदा हुन्छ ? बरु छोरीले पनि आफ्नो मनको अनुभूति गनेृ वातावरण बन्छ, अधिकार पाएकी छु है भन्ने कुराको बोध हुन्छ । समाजलाई फाइदा नै हुन्छ । छोरीलाई बिहे गरेर दिएपछि उसको लोग्ने घरमा बस्नु पर्छ भन्ने विचारको बरु कैयौ छोरीहरू आफ्ना दःखहरूले भित्रभित्रै जल्दा अकालमै मृत्यु भएका छन् । शारीरिक तथा मानसिक यातना सहेका छन् । जे भए पनि माइतीको इज्जत जोगाउनु पर्छभन्दा दुःख पोख्ने ठाउँ नपाएर छट्पटाउँदै बसेका उदाहरण छन् । योभन्दा त माइतमा भन्ने, दुःखसुख पोख्ने, माइती घरगाउँमा आएर बस्ने अधिकार भए त फाइदै हुन्छ समाजलाई । हुन त कसले नआउने भनेको छ र भन्ने कुरा पनि आउन सक्छ तर हाम्रो समाजमा छोरी माइत, माइती गाउँमा बस्न हुन्न भन्े मान्यता धारणाहरू हट्न सकेको छैन ।
कोही पनि छोरीज्वाइँ माइती गाउँ, माइतमा गएर बसेमा त्यति राम्रो मानिदैन, अनेक थरी होच्याउने पाराले कुरा काटिन्छ, जसले नराम्रो पाराले व्यवहार गरिन्छ, जसले गर्दा छोरीज्वाइँ माइत गएर नबस्ने परम्परा कायम छ । माइतीगाउँमा बस्दासम्म त्यहाँबाट हिड्नु पर्ने बनाउँछन् । त्यस्तो व्यवहार मानव अधिकार र स्वतन्त्रताको कुरा होइन । यी व्यवहार र धारणाहरूमा छिटो परिवर्तन आउनु पर्छ । छोरीले माइत बस्नु हुन्न, छोरी माइतीगाउँमा बस्नु हुन्न भन्ने जस्ता छोरीप्रति गरिने विभेदकारी धारणा र व्यवहारमा सक्दो छिटो परिवर्तन आउनु पर्छ । छोरा र छोरी दुवै बराबरी हुन् भन्ने कुरा व्यावहारिक रूपमा राम्ररी भन्न र कार्यान्वयन गर्नु पर्छ । छोरी आफ्नो इच्छा अनुसार माइतमा, माइती गाउँमा बस्न पाउनु पर्छ । किनकि छोरी र छोरामा प्रकृतिले विभेद गरेको छैन । मान्छेके तुच्छ स्वार्थले मात्र विभेद गरेकी छ । पैत्रिक सम्पत्तिको अचल सम्पति (अचेल त चल) जग्गा जमिनमा छोरा सरह छोरीको पनि अधिकार हुने भन्ने संविधानमा उल्लेख छ । यो तत्काल कार्यान्वयन हुनु पर्छ । यो भएपछि छोरीले माइत, माइतीगाउँमा बस्नु हुन्न भन्ने विचारहरू आफै बिलाएर जान्छन् ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप लेखहरू
मोदीलाई नेपालमा किन गर्ने स्वागत ?
सहिद मित्रमणि र सहिदको योगदान
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal