२०७५ श्रावण ३० गते, बुधबार   वर्ष ३५, अङ्क ३६
मिति(२०७५ भाद्र ५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
लेखहरू
जनप्रतिनिधिको दायित्व र सांस्कृतिक पक्ष
रामबहादुर बुढा
संविधान सभाबाट नेपालमा २०७२ असोज ३ गते संविधान घोषणा भएपछि गणतान्त्रिक संविधानका आधारमा पहिलो पटक २०७४ सालभित्रै तीन तह प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । यसबाट नयाँ संविधान कार्यान्वयन भएको छ । १५ वर्षदेखि जन प्रतिनिधिविहिन रहँदै आएको स्थानीय निकाय (तह) ले जन प्रतिनिधि प्राप्त गरेको छ । यस अवस्थामा जन प्रतिनिधिहरुको दायित्व र उनीहरुको सांस्कृतिक पक्षका बारेमा विचार विमर्श हुन जरुरी छ ।
जन प्रतिनिधिहरु फरक फरक पार्टीबाट निर्वाचित भएका छन् । फरक फरक सिद्धान्त, राजनीति र कार्यशैली बोकेका पार्टीहरुबाट आएका जन प्रतिनिधिहरुको सोचाइ, कार्यशैली र उनीहरुको सांस्कृतिक स्तर पनि फरक फरक हुन्छ । यहाँ खास गरी कम्युनिस्ट पार्टीले उम्मेदवार बनाई जन निर्वाचित भएकाहरुको दायित्व र सांस्कृतिक पक्षका बारेमा केही कुरा राख्न खोजिएको छ ।
परिस्थितिको आँकलन गरेर कम्युनिस्ट पार्टीले निर्वाचनमा भाग लिन पनि सक्छ र नलिन पनि सक्छ । कम्युनिस्ट पार्टीका निम्ति निर्वाचन एउटा कार्यनीतिक पक्ष हो । पहिलो कुरा त वुर्जुवा निर्वाचनमा कम्युनिस्ट पार्टीले खडा गरेका उम्मेदवार शोषित पीडित वर्गको प्रतिनिधित्व गर्ने उम्मेदवार र जनताका असल, इमान्दार उम्मेदवारले विजय प्राप्त गर्न नै मुश्किल हुन्छ । भ्रम, जाल, षडयन्त्र, पैसा, धाँधली, प्रशासनको दुरूपयोगका अगाडि त्यस प्रकारका उम्मेदवारहरुलाई जित्न गाह«ो हुन्छ । जबर्जस्त सङ्गठनको तागतले ती सबै तगाराहरुलाई पन्छाउन सके मात्र कम्युनिस्ट पार्टीले निर्वाचनको मैदानमा खडा गरेका उम्मेदवारहरुले विजय प्राप्त गर्न सक्ने हुन् । दोस्रो कुरा, कम्युनिस्ट पार्टीका तर्फबाट विजयी जन प्रतिनिधिहरुलाई विजय प्राप्त गरेपछि असल जन प्रतिनिधिका रूपमा काम गर्न मुश्किल छ । विभिन्न प्रतिक्रियावादी र अवसरवादी पार्टीहरुले निर्वाचित संस्थाहरुलाई व्यक्तिगत कमाउधन्दाका अखाडा बनाएका हुन्छन् । भ्रष्टाचार, घुसखोरी, अनियमितता गर्ने थलो बनाएका हुन्छन् । जन प्रतिनिधि र कर्मचारीको मिलेमतोमा अन्य ठेकेदार, व्यापारी, एन.जी.ओ. सञ्चालक लगायत निर्वाचित संस्थासित जोडिन आउने व्यक्ति वा संस्थासित उनीहरुले कमिसन र अन्य अवाञ्छित लेनदेनका काम गरी रहेका हुन्छन् । उदाहरणका निम्ति विगतमा कैयौँ जिविसका कर्मचारीहरुले कतिसम्म गर्थे भने आफूलाई अनुकूल पर्ने गरी सडक निर्माणमा बजेट विनियोजन गर्थे । जसले बढी पैसा दिन्छ, उसैलाई बजेट छुट्याई दिन्थे । कतिपय कर्मचारीहरुले आफै डोजर, भ्याकू किनेका हुन्थे । जिविसबाट छुट्याइएको बजेट अरूलाई भन्दा पहिला आफ्नो डोजर, भ्याकू प्रयोगमा लगाएका हुन्थे । राज्य पुनःसंरचना अन्तर्गत जिविसले प्रयोग गर्ने अधिकार गाउँपालिका, नगरपालिकामा सरेको छ । अनियमितताका खेलहरु पनि अब गाउँपालिका, नगरपालिकातिर सर्दैछन्, यद्यपि ती गतिविधि विगतमा गाविस र नगरपालिकामा पनि हुने गर्दथे । केन्द्रीय स्तरमा अझ ठुला ठुला अनियमितता, भ्रष्टाचार र कमिसनका खेल हुन्छन् । कम्युनिस्ट पार्टीले पठाएका जन प्रतिनिधिहरु त्यस्तो ठाउँमा गएर साँच्चिकै जनपक्षीय काम गर्न, फोहोरको डङ्गुर भरिएको ठाउँमा पसेर स्वस्थ, सफा हालतमा फिर्ता हुन निकै गाह«ो हुन्छ । त्यस कारण कम्युनिस्ट पार्टीले वुर्जुवा निकायमा पठाएका जन प्रतिनिधिहरुले उच्च सांस्कृतिक स्तर कायम राख्न जरुरी हुन्छ । जन प्रतिनिधिहरु व्यक्तिगत र पारिवारिक स्वार्थभन्दा माथि उठेर सामाजिक स्वार्थका लागि समर्पित हुनु पर्दछ ।
एक पटक भारतीय प्रधानमन्त्री नेहरू र युरोपतिरका एक देशको सरकार प्रमुखसित भएको वार्तालापबारे कतै मैले सुनेको थिएँ । युरोपियनले भनेछन्– ‘हाम्रो देशमा त कम्युनिस्ट पार्टी प्रतिबन्धित छ । यहाँ त संसदमा प्रतिनिधित्व पनि गर्दा रहेछन् ।” नेहरूले भनेछन्– “कम्युनिस्टहरुलाई ठेगान लगाउने तपाईहरुको भन्दा हाम्रो तरिका सही छ । उनीहरुलाई पार्टी खोल्न दिन्छौँ, प्रचार गर्न दिन्छौँ । एउटै टेबुलमा बसेर सँगै खाना खान्छौँ । संसदमा जितेर आए भने राम्रैसित सुविधा उपलब्ध गराउँछौँ । एउटै कोठामा सुताउँछौँ । दमन गरेर, गोली खर्च गरेर, अनावश्यक तनाव लिएर उनीहरुलाई ठेगान लगाउनुभन्दा माया गरेर, सँगै राखेर, खुवाएर, पिलाएर उनीहरुलाई ठेगान लगाउनु राम्रो भयो नि !” कम्युनिस्ट पार्टीको जनपक्षीय र क्रान्तिकारी चरित्रलाई समाप्त पार्न प्रतिक्रियावादी र अवसरवादीहरुले कम्युनिस्ट पार्टीका तर्फबाट गएका जन प्रतिनिधिहरुलाई विभिन्न प्रलोभनमा फसाउन सक्दछन् । तसर्थ उनीहरुले प्रतिनिक्रियावादी निकायभित्र पार्टीको क्रान्तिकारी उद्देश्यका लागि काम गर्न आएको हुँ भन्ने कुरा मनमा राखी रहनु पर्दछ ।
गरिब परिवारबाट आएको एउटा व्यक्ति पार्टीमा आबद्ध हुन्छ । दुःख, अभाव, गरिबी के हो भन्ने कुरा उसले राम्रैसँग जान्दछ । कार्यकर्ताहरुले दुःख गरेर उसलाई चुनावमा विजय गराउँछन् । चुनाव जितेपछि उसको सङ्गत समाजका कथित ठुलाबडाहरुसित हुन थाल्दछ । ठुला ठुला ठेकेदार, व्यापारी, अन्य पार्टीका नेताहरुको सङ्गतले उसका आनीबानीहरुमा पनि विस्तारै परिवर्तन हुन थाल्दछ । पहिले जनताका सबै घरहरु आफ्नै घर जस्तो लाग्थे । जनता र सबै कार्यकर्ताहरुसितको उसको सम्बन्ध हार्दिकतापूर्ण हुन्थे । अब आफ्नै व्यक्तिगत घर बलियो बनाउने इच्छा बढ्दै जान्छ । जनताको घर–आँगनमा हिजोसम्म सागसिस्नो मिठो लाग्दथ्यो । अब सुविधाजनक यात्रा, पार्टी र ठुला होटेलका खानाले जनताको घरका सुखोरुखो खानातिर मन जान छोड्छ । सङ्गतले नयाँ सम्बन्ध बलियो हुँदै जान्छ । पुरानो सम्बन्धहरु खुकुलो बन्दै जान्छ । विस्तारै वर्गीय सम्बन्ध पनि फेरिदै जान्छ र अन्तमा वर्गीय चिन्तन नै परिवर्तन हुन जान्छ । चिन्तनमा आएको परिवर्तनको परिणामस्वरूप उसका हिजोका मित्रहरु बिराना  लाग्दछन् र हिजोका जो शत्रु थिए, ती मित्र लाग्दछन् । यसरी पार्टी र जनताले आशा राखेको जन प्रतिनिधिको अवसान हुन पुग्दछ । कम्युनिस्ट आन्दोलनमा यस्ता बर्गेल्ती उदाहरणहरु छन् । कम्युनिस्ट आन्दोलनमा एउटा खास समयमा त्याग, समर्पण गरेको, यातना पाएको, जेल गएको व्यक्ति भनेर मात्र नहुँदो रहेछ । प्रतिक्रियावादी सत्ताको चास्नीले कतिपय व्यक्तिलाई आफ्नो सारा विगतको त्याग, समर्पण पनि बिर्साई दिएर व्यत्तिःगत लाभतिर उत्प्रेरित गराउँछ । त्यो सबै अप्ठ्यारोबाट जोगिन जन प्रतिनिधिले आफ्नो वैचारिक, राजनीतिक र सांस्कृतिक स्तर माथि उठाएको हुनु पर्दछ ।
कम्युनिस्ट पार्टीका तर्फबाट गएका जन प्रतिनिधिहरुले हमेशा यो कुरा मनमा राख्नु पर्दछ कि अरू प्रतिक्रियावादी र अवसरवादी पार्टीबाट गएका जन प्रतिनिधिहरुभन्दा हामी ताङ्खिवक रूपले नै बेग्लै हौँ, अरूहरु यही प्रतिक्रियावादी व्यवस्थालाई बचाउन, संरक्षण गर्न र यहीँभित्र बढीमा सुधारका काम गर्न गएका हुन् तर हामी आमूल परिवर्तनको पक्षमा प्रतिक्रियावादी संस्थालाई उपयोग गर्न आएका हौँ । उनीहरुले प्रतिक्रियावादी व्यवस्थाको भण्डाफोर गर्ने, त्यसप्रति घृणा जगाउने तथा भावी नयाँ जनवादी तथा समाजवादी व्यवस्थाप्रति आशा जगाउने गरी विभिन्न मञ्चहरुलाई उपयोग गर्नु पर्दछ । त्यही ढङ्गले नै उनीहरु बोल्नु पर्दछ । त्यसतर्फ नै उनीहरुका गतिविधि केन्द्रित हुनु पर्दछ । प्रतिक्रियावादी व्यवस्थाभित्रका विभिन्न काला कर्तुतहरु, बेथिति, बदमाशी, राष्ट्र विरोधी, जन विरोधी कूकार्यहरुको गहिरो अध्ययन गरी तिनलाई जनताको बीचमा आन्द्राभुँडी खोल्साएर देखाई दिनु पर्दछ । त्यसो गर्न सकेमामात्र प्रतिक्रियावादी व्यवस्थाका संस्थाहरुको क्रान्तिकारी उपयोग हुन सक्ने छ ।
जन प्रतिनिधिहरुले जनताको सेवा गर्नु नै मेरो कर्तव्य हो भन्ने ठान्नु पर्दछ । पद प्राप्त गरी सकेपछि जनताका बीचमा आडम्बरी बन्ने, “गमक्क पर्ने”, जनताका कुरा नसुन्ने बानी हुन्छ, कतिपय जन प्रतिनिधिमा । कम्युनिस्ट पार्टीले पठाएका जन प्रतिनिधिहरु पद प्राप्त गरी सकेपछि जनतासित जति सक्दो नरम, सरल, सुशील बन्नु पर्दछ । यदि ती जन प्रतिनिधिहरुले राम्रो काम गर्न सकेनन्, भ्रष्ट भए, बदनाम भए भने उनीहरुको व्यक्तित्व त खत्तम हुन्छ नै, त्यसले पार्टीको प्रतिष्ठा समेत खत्तम पारी दिन्छ । त्यसबाट पार्टीको जनाधार गुम्दै जान्छ । त्यसबाट पार्टीको क्रान्तिकारी आन्दोलनलाई क्षति पुग्दछ ।
जन प्रतिनिधिहरु आफ्ना काम, आय–व्यय, संस्थाका हिसाबमा पारदर्शी हुनु पर्दछ । कम्युनिस्ट पार्टीले पठाएका जन प्रतिनिधिहरुले अरूले भन्दा राम्रो, बढी र जनपक्षीय काम गर्ने प्रयत्न गर्नु पर्दछ । काममा प्रतिष्पर्धा गर्दै श्रेष्ठता हासिल गर्ने कोशिस गर्नु पर्दछ । योजना निर्माणमा सिपालु हुनु पर्दछ । नेपालको कर्मचारी यन्त्र ढिलाढाला र अनुत्तरदायी छ । आजै गर्न सकिने काम पनि “भोलि आउनुस्”, “पर्सि आउनुस्” भनेर जनतालाई हैरान पार्दछन् । जनतालाई त्यसबाट राहत प्रदान गर्न सकेमा पनि ठुलो काम हुने छ । जन प्रतिनिधिहरु योजना तर्जुमा गर्दा क्षेत्रीय, जातीय, नाता वा परिवार जस्ता सङ्कुचित दृष्टिकोणबाट माथि उठेर समग्रतामा योजना बनाउन सक्ने हुनु पर्दछ । गर्नु पर्ने काम धेरै हुन्छन् । प्राथमिकता केलाई दिने भन्ने कुरामा बढीभन्दा बढी जनताको हितलाई ध्यानमा राख्नु पर्दछ ।
कतिपय ठाउँमा राजनीतिक र साङ्गठनिक काममा कम ध्यान दिने, कोहीकोहीले त बिल्कुलै कम ध्यान दिने र केवल विकास, निर्माण, एन.जी.ओ., आई.एन.जी.ओ. को वैठकमा मात्र ध्यान दिने गरेको पाइन्छ । निश्चय नै जन  प्रतिनिधिहरुले विकास निर्माणमा ध्यान दिनु पर्दछ । तर एउटा पार्टी सदस्यका निम्ति विकास निर्माणभन्दा पार्टीको राजनीतिक र साङ्गठनिक काम महङ्खवपूर्ण हो । त्यस कारण एकातिर, विकास निर्माण र अर्कातिर, राजनीतिक साङ्गठनिक कामलाई सन्तुलन मिलाएर लैजान सक्नु पर्दछ । जन प्रतिनिधिहरुले जनतासित कहिल्यै पनि झुटो बोल्ने र झुटो आश्वासन दिने काम गर्नु हुँदैन । त्यसो गरेमा व्यक्ति र पार्टी दुवैप्रतिको विश्वास जनताले गर्न छाड्छन् । जन प्रतिनिधिहरु राजनीतिक दलका नेता हुन् । त्यस कारण उनीहरुले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको आन्दोलनमा भाग लिनु पर्दछ । जनतालाई सचेत बनाउने काममा लाग्नु पर्दछ । त्यस प्रकारका आन्दोलनहरुमा भाग मात्र लिएर पुग्दैन, उनीहरुले ती सङ्घर्षहरुको नेतृत्व समेत गर्न सक्नु पर्दछ ।
जन प्रतिनिधिहरु जुवातास, अनावश्यक मदिरा सेवन, गलत यौन आचरण जस्ता नाजायज कामबाट टाढा रहनु पर्दछ । आर्थिक कारोवार सफा हुनु पर्दछ । विकास निर्माणका रकम व्यक्तिगत रूपमा खर्च गरेर बदनाम बन्नु हुँदैन । जनताको सुझाव, आलोचना सुन्न सक्नु पर्दछ । जनताका जायज आलोचनालाई स्वीकार्नु पर्दछ र उचित सुझावहरुलाई लागु गर्ने तत्परता देखाउनु पर्दछ । जनताका गलत विचारलाई पनि तथ्य सहित स्पष्ट गर्ने कोशिस गर्नु पर्दछ । जन प्रतिनिधिहरु आवश्यकता अनुसार श्रममा भाग लिनु पर्दछ । उनीहरुले नोकरशाही प्रवृत्ति राख्नु हुन्न । नोकरशाह होइन, जनताका सहयोगी साथी र भरोसायोग्य अभिभावक बन्नु पर्दछ । कामले काम सिकाउँछ । नियमित रूपमा जनताबाट सिक्ने र सिकाउने काममा जन प्रतिनिधिहरु  लागी रहनु पर्दछ । माथि नै भने जस्तो नियमित रूपमा पार्टीका आन्दोलन, वर्ग सङ्घर्ष, प्रशिक्षण, आन्तरिक साङ्गठनिक काममा उनीहरुको संलग्नता हुनु पर्दछ ।
जन प्रतिनिधिले आफू निर्वाचित संस्थामा राख्ने धारणा, योजनाबारेमा सकभर पहिल्यै पार्टीभित्र छलफल गरेर जानु पर्दछ । भए÷गरेका काम–कारवाहीहरुको नियमित रूपमा पार्टीलाई जानकारी गराउनु पर्दछ । जन प्रतिनिधि भई सकेपछि जनता सबैले नमस्ते गर्न थाल्दछन्, विरोधीले पनि सम्मान गर्न थाल्दछन्, त्यसपछि म जस्तो ठुलो अब कोही छैन भनेर पार्टीका कार्यकर्ताहरुलाई हेप्ने, आफ्नै पार्टीलाई नटेर्ने, बेवास्ता गर्ने, पार्टी निर्णयलाई लागु नगरेर आफ्नो मनलागी गर्ने जस्ता छाडा र अराजक चरित्र पनि उनीहरुमा विकास हुन सक्दछ । त्यस कारण पार्टीका तर्फबाट पनि अनुगमन, नियन्त्रण, संयोजन गर्ने संयन्त्र बन्नु पर्दछ ।
जन प्रतिनिधिहरुले न्यायनिसाफ हेर्ने जिम्मेवारी पनि पुरा गर्नु पर्ने हुन्छ । अरू नयाँ संविधानले त गाउँपालिका उपाध्यक्ष र नगरपालिकाका उपमेयरको संयोजकत्वमा न्यायिक समिति गठन गर्ने र त्यसले स्थानीय स्तरमा न्यायनिसाफ हेर्ने अधिकार प्रदान गरेको छ । जन प्रतिनिधिहरुले कुनै पनि विवाद वा घटनाको निसाफ गर्दा वा निर्णय लिदा सतही अध्ययन, एकपक्षीय कुरा सुनेको भरमा वा आफन्त, साथी, पार्टी, भेगलाई काखी च्याप्ने गरी कहिल्यै पनि गर्नु हुँदैन । त्यसो गर्न नसकेमा जनताबाट जन प्रतिनिधिप्रतिको विश्वास गुम्ने छ । स्वयं व्यक्तिको व्यक्तित्व र पार्टीको प्रतिष्ठालाई त्यसले आघात पु¥याउने छ ।
नेकपा (मसाल) ले २०५४ को स्थानीय निर्वाचनपछि “जन प्रतिनिधिहरुका लागि निर्देशिका” जारी गरेको थियो । सो निर्देशिका अहिले पनि सान्दर्भिक छ । त्यसलाई अहिलेको परिस्थितिमा केही परिमार्जन, थपघट गरेर कार्यान्वयन गर्न सकेमा पार्टी र क्रान्तिकारी आन्दोलनको हितमा हुने छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप लेखहरू
आजको आवश्यकता–भूमिसुधारको व्यवस्था
उत्तरगंगा जलाशययुक्त जलविद्युत अयोजना
अमेरिकी मजदुरका रोजगारी र ज्याला
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal