२०७५ श्रावण ३० गते, बुधबार   वर्ष ३५, अङ्क ३६
मिति(२०७५ भाद्र ४, आइतवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
लेखहरू
अमेरिकी साम्राज्यवादको अन्तरिक्ष सेना
– अपत्य शर्मा
विश्व प्रभुत्वको सपना देख्ने युरोपेली मुलुक, एसियाका मुलुक र अमेरिक साम्राज्यवादीका सपना असफलतामा नै टुङ्गिएका थिए र छन् । संयुक्त राज्य अमेरिकाले विश्व प्रभुत्वको सपना देख्दै आइरहेछ र त्यसका लागि, साम, दाम, दण्ड, भेदको नीति पनि चलाउँदै आएको छ । विश्वव्यापी रूपमा चलिरहेका जातीय, क्षेत्रीय गृहयुद्ध, आतङ्कवाद, रङ्गभेद आदिले गर्दा शान्तिपूर्ण तरिकाले जिउने शान्तिप्रेमी जनतालाई आपसमा लडाएर आम नरसंहार र लुट मच्चाउने मुख्य सूत्रधार अमेरिकी साम्राज्यवादी तथा सहअपराधी विकसित पुँजीवादी मुलुकहरु नै हुन् । युरोपेली मुलुकका सुरक्षाको जिम्मा अमेरिका (नाटो मुलुक) ले लिएको थियो । तर अहिले राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोको सैनिक खर्च सबै ब्यहोर्नु परेकाले अब नब्यहोर्ने जनाइसकेका छन् । नाटोका सदय मुलुकहरुले नाटोको खर्च ज्यादै थोरै गर्ने गरेकाले ट्रम्प क्रोधित बनेका हुन् । संयुक्त राज्य अमेरिकाको विश्वव्यापी डलर प्रभत्वुका विरुद्ध युरोपेली युनियनका मुलुकहरुले साझा युरो मुद्रा प्रचलनमा ल्याएका छन् । साझा व्यापार, साझा मुद्रा, साझा बेराकटोक आवागमनको समझदारीमा चलेको युरोपेली युनियनमा हालीमुहाली जर्मन र फ्रान्सको चल्ने गरेको थियो । अरू आर्थिक रूपले टाट पल्टेका युरोपेली मुलुकहरुले युरोपेली युनियनका आर्थिक र राजनैतिक निर्देशन र नियन्त्रणमा चल्नु परेकाले जन असन्तोष पनि सँगै बढ्दै गएको  थियो । युरोपेली युनियनबाट अलग भएर बेलायत बाहिरिने या युनिययनभित्रै रहनेबारे भएको जनमत सङ्ग्रहमा बाहिरिने मत बेसी भएकाले बेलायत युरोेपेली युनियनबाट बाहिरिसकेको छ । अरू युरोपेली मुलुकहरु पनि निस्कने या रहने दोधारमा देखिन्छन् । 
अमेरिकी डलर आधिपत्यका विरुद्ध चीन, रुस आदि ब्रिक्स मुलुकहरु पनि लागेका छन् । ब्राजिल, रुस, भारत र चीनले पहिलो शिखर बैठक २००९ मा भएको थियो । त्यस बैठकको मुख्य उद्देश्य के यिो भने भूमण्डलीय आर्थिक प्रणालीलाई फेर्ने र पश्चिमी जगतको कूटनैतिक प्रभुत्वलाई प्रतिवाद गर्नु थियो । दक्षिण अप्रिकाले २०१० मा यो समूहमा प्रवेश गरेको हो । यी नवोदित पुँजीवादी आर्थिक शक्तिहरुले दक्षिण अफ्रिकालाई सामेल नगरुञ्जेल ब्रिक (ब्राजिल, रुस, इन्डिया र चीन) नामाकरण गरेका थिए भने पछि दक्षिण अफ्रिकालाई सामेल गरेपछि ब्रिक्स नाम राखेका हुन् । ब्रिकको प्रारम्भिक चरणमा नै एउटा नयाँ विकास बैङ्क स्थापना गर्ने विषयमा छलफल भएको थियो । यसरी विकास बैङ्कको स्थापना  गर्ने विषयमा छलफलल गर्नुको मतलब विश्व बैङ्कको विरोधमा विकास बैङ्कको स्थापना गरेका हुुन् । तर विश्वको दोस्रो ठुलो अर्थतन्त्र भएको शक्तिशाली मुलुक चीन नै भएकाले विकास बैङ्कको नियन्त्रण पनि चीन नै हुन्छ भनेर ब्रिक्सका अरू सदस्य मुलुक सशङ्कित छन् र विशेष प्रगति भएको देखिदैन तर पनि चीनको मुद्रा युयानले पनि विस्तारै आफ्नो ओपेक मुलुक र रुस आदि मुलुकमा स्थान पाउँदै गएको छ अर्थात् ती मुलुकहरुले डलरकै जस्तो मान्यता दिने बताएका छन् । चीनले आफ्नो लगानी एसिया अफ्रिका र ल्याटिन अमेरिकी मुलुकमा पनि बढाउने प्रयासमा छ ।
संयुक्त राज्य अमेरिकाले विश्व प्रभुत्वको देख्न छोडेको छैन । अर्कातिर, आफ्ना मित्रशक्तिहरु, जसले लामो समयदेखि सामाजिक, आर्थिक र राजनैतिक क्षेत्रमा सहकार्य गर्दै आएकोमा अब अमेरिकाका तिनै मित्रशक्तिहरु पनि ट्रम्पका चर्को अन्तःशुल्क, चीन अस्ट्रेलिया, मेक्सिको तथा अन्य युरोपेली मुलुकहरुलाई लगाएर व्यापार युद्ध चलाएका हुनाले सबै अमेरिकी नेतृत्वबाट बाहिरिदै गएका देखिन्छन् । दोस्रो विश्वयुद्धपछि अमेरिकी राष्ट्रपति रुजबेल्ट, टु्रमैन, आइजनहावर, केनेडी, जोन्सन आदिले युरोपमाथि नेतृत्वकारी भूमिका खेलेका थिए । अमेरिका विश्व व्यवस्थाको केन्द्रमा थियो । विश्व युद्धभन्दा पहिले शताब्दीऔँदेखि विश्व व्यवस्थाको केन्द्रमा रहेको युरोपमा अहिले युरोपलाई सशक्त नेतृत्व दिने शक्ति युरोपमा पनि देखिंदैन । विश्व रङ्गमञ्चमा युरोप र अमेरिका नेतृत्वविहीन जस्ता देखिएका छन्, जबकि रुसमा पुटिन, चीनमा सी जिनपिङको राज्ययन्त्रमाथिको कडा नियन्त्रणका साथ विश्व रङ्गमञ्चमा विशेष भूमिका खेल्ने प्रयासमा छन् । रुस, चीन र भारतले वर्तमान नयाँ विश्वव्यवस्थाको नेतृत्व गर्ने प्रयास गरे तापनि आफ्नै वरिपरिका मुलुकका पनि प्रिय छैनन् र नेतृत्व कायम राख्ने दक्षता देखिदैन ।
ट्रम्पको र युरोपका मुलुकहरु विशेष गरेर बेलायत, फ्रान्स र जर्मनका बीचमा अन्तरविरोध प्रत्यक्ष रूपमा इरानसँगको आणविक सम्झौतालाई लिएर विवाद देखिएको छ । किनभने संयुक्त राष्ट्र सङ्घका सुरक्षा परिषदका स्थायी सदस्य अमेरिका, रुस, चीन, बेलायत र फ्रान्सको लामो समयको लगातारको प्रयासस्वरूप इरानसँगको आणविक  कार्यक्रम सम्बन्धी सम्झौता भएको थियो । अमेरिकालाई छाडेर सुरक्षा परिषदका ती मुलुकहरु राजनैतिक तथा रणनीतिक स्थिरताका लागि नयाँ सम्झौता र वर्तमानमा रहेका सम्झौतालाई नवीकरण गर्ने पक्षमा पनि देखिदैनन् । यसकारण ट्रम्प मध्य–पूर्वमा आफ्नो पक्षलाई आफ्नो अनुकूल परिस्थिति बनाउन साउदी अरब र इज्रायललाई अमेरिकाले आफ्नो आडिलो मित्र बनाएको छ । त्यति मात्र नभएर अमेरिका इरान र सिरियामा आफ्ना कठपुतली सत्ता कायम गर्न भरमग्दुर कोशिस गर्दै आएको छ । सिरियामा आफ्ना कठपुतली सरकार बनाउन सशस्त्र समूहलाई अत्याधुनिक हातहतियारले सुसज्जित पारिरहेछ, जबकि रुस र इरान सिरियामा बसरको सत्तालाई समर्थन गरेर जोगाउन लागी परेका छन् । जहाँसम्म इरानको प्रश्न छ, चीन, रुस, बेलायत, जर्मनी र भारत इरानको पक्षमा सत्ता परिवर्तन गर्ने पक्षमा देखिदैनन् । यसो हुनुमा पनि ती देशका आर्थिक र राजनैतिक स्वार्थ लुकेका छन् । 
इरानमा चीनको ठुलो लगानी छ । विशेष गरेर चीनले इरानमा ठुल्ठुला तेलको स्रोतहरुको विकास र प्रशोधन उद्योगमा व्यापक लगानी गरिरहेछ र चीनले तेल पनि इरानबाटै ठुलो परिमाणमा तेल आयात गर्छ । इरान विश्वको सबैभन्दा ठुलो प्राकृतिक ग्याँस भएको क्षेत्र हो, जसमा चीनले ग्याँस उत्पादनमा पनि ठुलो लगानी छ । इरान खाद्य आपूर्तिका लागि रुस र चीनमा निर्भर छ । चीनको बेल्ट एन्ड रोडको केन्द्र इरान पनि भएकाले चीन इरानसँग अभिन्न रूपले गाँसिएको छ । जहाँसम्म रुसको प्रश्न छ, रुसले इरानलाई रुसी हातहतियार, ट्याङ्क र लडाकु हवाइजहाज पनि बेच्दै आएको छ । अर्कातिर, रुस र इरान दुवै मुलुक अमेरिकी आर्थिक नाकाबन्दीको शिकार भएका छन् । रुसका लागि इरान र सिरिया ज्यादै महŒवपूर्ण रणनैतिक क्षेत्र हुन् । किनभने ती क्षेत्रमा आफ्नो उपस्थिति कायम राख्नुको तात्पर्य मध्य–पूर्व र पूर्वी युरोपमा आफ्नो प्रभुत्व कायम गर्न सकियोस् । इरान, रुसको हातहतियारको बजार हो भने संयुक्त राज्य अमेरिकाका लागि सउदी अरब हातहतियारको ठुलो बजार हो । मध्य–पूर्वमा अमेरिका, इज्रायल र सउदी अरब एउटा खेमामा छन् भने अर्को खेमामा चीन, रुस तथा प्रमुख युरोपेली राष्ट्रहरु छन् ।
अमेरिकी खेमा तथा रुसी खेमाका बीचमा जसरी अन्तर्विरोध छ, त्यस्तै इरानको र साउदी अरबको पनि अलग अलग स्वार्थ छन् । सउदी अरब सुन्नी इस्लामपन्थी मुलुक हो भने इरान कट्टरपन्थी इस्लाम सियापन्थी मुलुक हुन् । यी दुई इस्लामिक पन्थका बीचको सङ्घर्ष आ–आफ्ना सुन्नी–सिया इस्लामलाई व्यापक रूपमा बढीभन्दा बढी स्थानमा स्थापित गर्नु रहेको छ ।
अमेरिकी साम्राज्यवादी शक्तिले विश्वव्यापी रूपमा आफ्नो उपस्थिति जनाउनुका साथै प्रभुत्व कायम गर्ने प्रयास मात्र नभएर (पृथ्वीलाई) जल, स्थल र वायुमण्डल नै पनि ज्यादै प्रदुषित पारिरहेछन् । जमिनमुनिको आणविक परीक्षण, वायुमण्डलमा यी परीक्षण गर्नुका साथै आणविक कचरा समुद्रमुनि समुद्रमा फाल्नाले मानव जातिका लागि मात्र बाँच्न असम्भव बनाउँदै गएका नभएर सम्पूर्ण अभयचर, जलचर, स्थलचर प्राणीको लागि बाँच्न असम्भव बनाउँदै लगेका छन् । केही विकसित पुँजीवादी मुलुकहरुले जलवायु परिवर्तन सम्बन्ध सम्बन्धी विषयमा संवेदनशीलता व्यक्त गरेता पनि यसमा संयुक्त राज्य अमेरिका संवेदनशील नभएर यसका विरुद्ध उभिएको छ । अब त साम्राज्यवादी अमेरिकीको विश्व प्रभुत्वको सपना पुरा गर्न नसके पनि अन्तरिक्षमा पनि आफ्नो साम्राज्यवादी विध्वंश नङ्ग्रा फैलाउनमा लाग्दैछ । 
राष्ट्रपति ट्रम्पले संयुक्त राज्य अमेरिकाको रक्षा विभागको एउटा छैटौँ सैनिक वाहिनी स्थापना गर्न आह्वान गरेका छन् । यस वााहिनीले (शाखा) अन्तरिक्षको सुरक्षा गर्ने बताएका छन् । २०१८ को जुन महिनामा एउटा अन्तरिक्ष सेनाको निर्माण गर्ने आदेश पाएको कुरा ज्वाइन्ट चिफ अफ स्टाफका अध्यक्ष जनरल जोसेफ एफ. डुनफोर्ड जेआरले बताएका छन् । यस सम्बन्धमा पेन्टागनका प्रेस सेक्रेटरी डाना डब्लु. ह्वाइटले रिपोर्टरहरुलाई इमेलद्वारा के जानकारी दिए भने काङ्ग्रेससँग ठुलो सम्झौता बहुकम्पनीहरुसँग ज्यादै ढिलो काम हुन्छ । तर पेन्टागनको अनिच्छा एकातिर छ भने अर्कातिर, केही विधान सभाका सदस्य र एरोस्पेस विज्ञहरु के भन्छन् भने रुस र चीनबाट खतरा बढ्दो छ ।
अलावामाका रिपब्लिकन सदस्य मिक डी. रोगर्स र टेनेसीका डेमोक्रेट सदस्यले काङ्ग्रेसमा ठुलो दबाब दिएका छन् । उनीहरु तर्क गर्छन्– नयाँ सैनिक अन्तरिक्ष शाखाको आवश्यकता छ । उनीहरु थप भन्छन्– रुस र चीनले एन्टी सेटलाइट भू उपग्रह हतियारहरुको विकास गरिरहेछन्, जसले गर्दा अमेरिकी भू उपग्रहलाई खतरा पु¥याउने छन् । अमेरिकी नेसनल इन्टेलिजेन्सका डाइरेक्टर डेनियल आर. कोटले २०१८ को फेब्रुअरी १३ मा प्रकाशित वल्र्डवाइट थ्रेट असेस्मेन्ट अफ द यू.एस. इन्टेलिजेन्स कम्युनिटीको तर्फबाट प्रकाशित प्रतिवेदन अनुसार अमेरिकाका मित्रराष्ट्र र सामरिक साझेदार मुलुकहरु अमेरिकाको अन्तर्राष्ट्रिय प्रतिबद्धताहरुलाई पालना गर्ने अमेरिकी क्षमता र (विश्वास) इच्छाप्रति आश्वस्त नभएकाले आफ्ना नीतिहरुलाई पुनसंयोजन गर्ने अवस्थामा पुगेका छन् । रुस र चीनको भू उपग्रह र अन्तरिक्ष युद्धका बारेमा डेनियल आर. कोटको प्रतिवेदन अनुसार अमेरिका र अमेरिकी मित्रशक्ति (गठबन्धनका) मुलुकहरुको सैनिक क्षमता र प्रभावकारितालाई सिथिल पार्ने र भविष्यमा आइपर्दा प्रयोग र प्रहार पनि गर्ने उद्देश्यले चीन र रुसले अन्तरिक्षमा उपग्रह नष्ट गर्ने एकीकृत हतियार प्रणाली तैनाथ गरेका छन् । केही वर्षभित्रै ती पूर्ण प्रयोगको स्थितिमा पुग्नेछन् । ती हतियारमा अन्तरिक्षबाट अन्तरिक्षमा र अन्तरिक्षबाट पृथ्वीमा प्रहार गर्न समेत सकिने छन् । सार्वजनिक र कूटनीतिक रूपमा रुस र चीनले अन्तरिक्षलाई शान्तिपूर्ण रूपमा मात्रै उपयोग गर्ने र त्यहाँ हतियार प्रणाली विकास नगरिने र अन्तरिक्षमा हतियार लैजाने पहिलो मुलुक नहुने घोषणा गरेको भए पनि व्यवहारमा भने उनीहरुले त्यसो नगरिरहेको उल्लेख छ ।
रुसी अर्बपति इगोर असुर्बेलीको असगार्डिया राम्रो प्रोजेक्ट हो, जसले विश्वको पहिलो अन्तरिक्षमा मानिस पठाउने मुलुक हो भनेर विचार गरिन्छन् । रुसका नागरिकहरुले एउटा दर्खास्त दिनु पर्छ । अमेरिकी राष्ट्रपति ट्रम्पको अन्तरिक्षमा एउटा अन्तरिक्ष सेना बनाउने योजनाको आलोचना गरेर एउटा वक्तव्य जारी गरेको थियो । असगार्डिया शुद्ध रूपले अन्तरिक्षलाई शान्तिपूर्ण रूपले प्रयोग गर्न बनाइएको हो, जहाँ पृथ्वीको द्वन्द्वलाई अन्तरिक्षमा प्रतिस्थापनका लागि होइन ।
अमेरिकी साम्राज्यवादीहरुले आफ्ना प्रतिद्वन्द्वी शक्तिहरुलाई जुनसुकै परिस्थितिमा पनि परास्त गर्ने योजनाहरु लागु गर्न गोप्य रूपले अर्बौं खर्च गरिरहेछ । वर्तमान अन्तरिक्ष सेनाको चर्चा गर्नुभन्दा केही दशक पहिले नै स्टार वार र न्युट्रोन बमको चर्चा व्यापक रूपले चलाएको थियो । इरान रुस र चीनले पनि व्यापक रूपले अमेरिकाले गर्न सक्ने तोडफोडदेखि जल, स्थल वायु भूमिगत सुरुङ युद्ध र अन्तरिक्ष युद्ध आदिको सामना गर्न आ–आफ्ना तयारी अवश्यै गरेका छन् । युद्धको जीत अमेरिकाको पोल्टामा जान्छ वा रुस, चीन, इरान आदि मुलुकको पोल्टामा ? साम्राज्यवादी, विस्तारवादी तथा क्षेत्रीयतावादीका लागि युद्ध अनिवार्य हुन्छ । यी साम्राज्यवादी, विस्तारवादीका लागि युद्ध जित्न उच्च कोटीका अत्याधुनिक आणविक गैर आणविक स्वचालित विद्युतीय हातहतियारले ९९ प्रतिशत लडाइँ जित्न सकिन्छ भन्ने सिद्धान्त छ भने जनताको शासक, शोषक मालिक दुश्मन वर्गसँग जस्तोसुकै अत्याधुनिक हातहतियार चुस्त सैनिक शक्ति भए पनि कमजोर हातहतियार भए पनि शोषित, शासित दमित वर्गको नैतिक बल, सर्वहारावादी शाहस, सिर्जनशीलता, वर्गीय चेतना र वर्गीय घृणाले ओतप्रोत जनसेनाले जस्तोसुकै बलियो दुश्मन शक्तिलाई पनि परास्त गर्न सक्छ भन्ने उदाहरणहरु जनताको इतिहासमा अङ्कित छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप लेखहरू
देशको चेहरा र नेपालको मध्यम वर्ग
साल्ट टे«डिङ कर्पोरेसनको बारेमा
अरुण तेस्रो आयोजना किन राष्ट्रघाती ?
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal