२०७५ साउन २, बुधबार   वर्ष ३५, अंक ३०
मिति(२०७५ श्रावण ५, शुक्रवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
विश्वकप फुटबल २०१८ ः विश्वकप फुटबल ः कसले रच्ला इतिहास ?
– सुमन अधिकारी
बुटवल । रसियामा जारी विश्वकप फुटबल प्रतियोगिताको सेमी–फाइनल समीकरण पुरा भएसँगैको विजेता बन्ला भनेर कौतुहलता बढेर गएको छ । गत शुक्रवार र शनिवार खेलिएका क्वाटर–फाइनलका खेलबाट प्रतियोगिताको सेमी–फाइनलमा पुग्ने टिमको टुङ्गो लागेको हो । अन्तिम चारमा स्थान सुरक्षित गरेकामध्येबाट आगामी असार ३१ गते हुने फाइनलका दुई टिम भिडने छन् । यो पटकको विश्वकपको उपाधि दौडमा दुई नयाँ राष्ट्र रहेका छन् । बेल्जियम र क्रोएसियाले अहिलेसम्म विश्वकप फुटबलको उपाधि जितेका छैनन् । त्यसो त यी दुई टिम अहिलेसम्म फाइनलमा पुग्न सकेको छैन । सेमी–फाइनलमा भिडने चार वटै टिम युरोपिन राष्ट्रका हुन । 
एक्काइसौँ संस्करणको रसिया विश्वकपमा नयाँ इतिहास रच्न आत्म विश्वासका साथ पूर्व विश्व विजेता दुई टिम फ्रान्स र इङ्ग्ल्यान्ड तथा एक पटक पनि विश्व कप नउचालेका क्रोएसिया र बेल्जियम खेलमा मैदान उत्रदैछन् ।
जारी विश्व कपको सेमी–फाइनल समीकरण पुरा हुँदा यस अघि विश्व कप जितेका दुई राष्ट्र मात्रै यहाँसम्मको यात्रा पार गर्न सफल भएका छन् । यस अघि विश्व कपको उपाधि उचाल्ने फ्रान्स र इङ्ग्ल्यान्ड गरी दुई राष्ट्र हुन् । फ्रान्सले १९९८ मा आफैँले आयोजना गरेको विश्वकप फुटबलको उपाधि उचालेको थियो । फ्रान्सले फाइनलमा ब्राजिललाई ३–० गोलले पराजित गर्दै १९९८ मा पहिलो पटक विश्व कपको उपाधि उचालेको थियो । त्यसयता फ्रान्सले विश्व कपको उपाधि जित्न सकेको छैन ।
यता, इङ्ग्ल्यान्डले पनि १९६६ मा आफैँले आयोजना गरेको विश्व कप फुटबलको उपाधि उचालेको थियो । प्रतियोगिताको फाइनलमा इङ्ग्ल्यान्डले जर्मनीलाई ४–२ गोलअन्तरले पराजित गर्दै पहिलो पटक विश्व कपको उपाधि चुमेको थियो । त्यसपछि इङ्ग्ल्यान्डले अहिलेसम्म विश्वकपको उपाधि जित्न सकेको छैन ।
जारी विश्व कपको क्वाटर–फाइनलमा फ्रान्स, उरुग्वे, ब्राजिल, बेल्जियम, स्विडेन, आयोजक रसिया, क्रोएसिया र इङ्ग्ल्यान्ड पुगेका थिए, जसमा, बेल्जियमले ब्राजिललाई २–१ गोलले, फ्रान्सले उरुग्वेलाई २–० गोलले, इङ्ग्ल्यान्डले स्वीडेनलाई २–० गोलले र क्रोएसियाले रसियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै सेमी–फाइनलमा सिट सुरक्षित गरेका हुन् । 
विश्वकप फुटबल सुरु हुनुभन्दा पहिले अनुमान गरिएका प्रायः टिम बाहिरिई सकेका छन् । पाँच पटक विश्व कपको उपाधि उचालेको राष्ट्र ब्राजिल, चार पटकको विजेता जर्मनी, समान २–२ पटक विश्व कप जितेका अर्जेन्टिना र उरुग्वे तथा एक पटक विश्व कप विजेता स्पेन जारी विश्व कपबाट बाहिरिई सकेका छन् ।
सेमी–फाइनलको ढोकासम्म पुग्ने क्रममा फ्रान्सले प्री क्वाटर–फाइनलमा अर्जेन्टिनालाई ४–३ गोलअन्तरले पराजित गर्दै क्वाटर–फाइनलमा प्रवेश गरेको थियो । त्यस्तै, उरुग्वेले पोर्चुगललाई २–१ गोलअन्तरले पराजित गर्दै विश्व कपको अन्तिम आठमा आफ्नो स्थान बनाएको थियो । यता, आयोजक रसियाले स्पेनलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै विश्व कपको क्वाटर–फाइनलमा प्रवेश गरेको थियो ।
प्री क्वाटर–फाइनलमा क्रोएसियाले डेनमार्कलाई पेनाल्टीमा ३–२ गोलले पराजित गर्दै क्वाटर–फाइनलमा प्रवेश गरेको हो । त्यस्तै, ब्राजिलले मेक्सिकोलाई २–० गोलले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । त्यस्तै, बेल्जियमले जापानलाई ३–२ गोलले र स्विडेनले स्विट्जरल्यान्डलाई १–० गोलअन्तरले पराजित गर्दै विश्व कपको क्वाटर–फाइनलमा प्रवेश गरेका हुन् । प्री क्वाटर–फाइनलको अन्तिम खेलमा इङ्ग्ल्यान्डले पेनाल्टीमा कोलम्बियालाई ४३ गोलले पराजित गर्दै क्वाटर–फाइनलमा पुगेको हो ।
फ्रान्स ः १९९८ मा विश्व कप जितेको फ्रान्ससँग युवा र उत्कृष्ट फुटबलरको कमी छैन । अग्रपङ्क्तिमा एन्टोइन ग्रिजम्यान, केलियन एमबाप्पे र ओलिभर गिरोडको बलियो ‘ट्रायो’ जम्दा मिडफिल्डमा पल पोग्बा र रक्षापङ्क्तिमा बार्सिलोनाका सामुएल उम्टिटीको सुदृढ ‘ब्याकअप’ रहने छ । 
फ्रान्सले विश्वकपको प्री क्वाटर–फाइनलमा अर्जेन्टिनालाई ४–३ गोलअन्तरले पराजित गर्दै क्वाटर–फाइनलमा प्रवेश गरेको थियो । फ्रान्सले समूह चरणको खेलमा भने अस्ट्रेलियालाई २–१ ले, पेरुलाई १–० गोलअन्तरले पराजित गरेको थियो भने समूह चरणको अन्तिम खेलमा डेनमार्कसँग गोलरहित बराबरी खेलेको थियो ।
बेल्जियम ः यसैगरी सधैँ उत्कृष्ट प्रदर्शन गरे पनि उपाधिसम्म पुग्न नसकेको बेल्जियमले यस पटक सफलता चुम्ने हरसम्भव प्रयास गर्नेछ । फिफा वरियताको तेस्रो स्थानमा आसिन बेल्जियम यस्तो टोली हो, जो सधैँ उच्च लयमा रहन्छ । समूहगत चरणदेखि नै सशक्त प्रदर्शन गरिरहेको बेल्जियमले यस पटक पनि उपाधिमा बलियो दाबेदारी प्रस्तुत गरेको छ ।
रोमेलु लुकाकु, इडेन हाजार्ड, केभिन डी. ब्रुन, थिबउट कर्टोइज, मिची बात्सुई जस्ता विश्व फुटबलमा स्थापित खेलाडीको साथ पाएको बेल्जियम कुनै पनि टोलीलाई कठिन चुनौती दिन सक्षम छ । क्वाटर–फाइनलमा बेल्जियमले बलियो टिम ब्राजिललाई २–१ गोलअन्तरले पराजित गरेको हो । जारी विश्व कपमा अपराजित रहेको बेल्जियमले प्री क्वाटर–फाइनलमा जापानलाई ३–२ गोलअन्तरले पराजित गरेको थियो । समूह चरणमा भने बेल्जियमले आफ्नो खेलमा पनामालाई ३–० ले, दोस्रो खेलमा ट्युनिसियालाई ५–२ गोलले र अन्तिम खेलमा इङ्ग्ल्यान्डलाई १–० गोलअन्तरले पराजित गरेको थियो ।
बेल्जियम यो भन्दा अघि १९८६ मा भएको विश्व कपको सेमी फाइनलसम्म मात्र पुग्न सकेको छ । बेल्जियमले अहिलेसम्म विश्व कपको सेमी–फाइनल भन्दा अघिको यात्रा पार गरेको छैन । त्यसैले यो पटक बेल्जियम इतिहास रच्ने दाउँमा छ ।
क्रोएसिया ः जारी विश्व कपमा क्रोएसियाले १९९८ को विश्व कपको झल्को दिएको छ । प्रतियोगितामा शानदार प्रदर्शन गर्दै सेमी–फाइनलसम्मको यात्रा तय गरेको छ । क्रोएसिया २० वर्षपछि विश्व कप फुटबलको सेमी–फाइनलमा पुगेको हो । 
यसअघि १९९८ मा क्रोएसिया विश्व कपको सेमी–फाइनलमा पुगेको थियो । क्रोएसियाले लिग चरणको आफ्नो पहिलो खेलमा नाइजेरियालाई २–० गोलअन्तरले पराजित गरेत गरेको थियो । दोस्रो खेलमा अर्जेन्टिनालाई ३–० र अन्तिम खेलमा आइसल्यान्डलाई २–१ गोलअन्तरले पराजित गर्दै खेलविज्ञहरुको अनुमानमा पानी खन्याउन पुगेको थियो । प्री क्वाटर–फाइनलमा भने डेनमार्कलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै क्वाटर–फाइनलमा पुगेको थियो । क्वाटर–फाइनलमा आयोजक रसियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै सेमी–फाइनलसम्मको स्थान बनाएको हो ।
इङ्ग्ल्यान्ड ः इङ्ग्ल्यान्ड रसियामा जारी विश्व कप फुटबलको सेमी–फाइनलमा प्रवेश गर्ने क्रममा स्विडेनलाई २–० गोलअन्तरले पराजित गरेको हो । इङ्ग्ल्यान्ड २८ वर्षपछि विश्व कपको सेमी–फाइनलमा पुग्न सकेको छ ।
यस अघि इङ्ग्ल्यान्ड १९९० मा इटालीमा भएको विश्व कपमा सेमी–फाइनलसम्म पुगेको थियो । सेमी–फाइनलमा जर्मनीसँग पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित भएको थियो । इङ्ग्ल्यान्डले  १९६६ मा पहिलो पटक विश्व कप ट्रफी उचालेको थियो भने त्यसपछि १९९० मा इङ्ग्ल्यान्ड सेमी–फाइनल पुगेको थियो ।
विश्व कपमा नयाँ पुस्ता 
ब्राजिलले विश्वकप फुटबलको सर्वाधिक पाँच पटक ट्रफी जितेको छ । ब्राजिलको यो कीर्तिमान अन्य कुनै राष्ट्रले तोड्न सकेका छैनन् र यस पटक पनि त्यो तोडिने अवस्था छैन । उपाधि उचाल्ने राष्ट्रमध्ये यो विश्व कपको क्वाटर–फाइनलमा चार टिम पुगेकोमा दुई वटा बाहिरिएका छन । क्याटर–फाइनलमा ब्राजिलसँगै उरुग्वे, फ्रान्स र इङ्ग्ल्यान्ड पुगेका थिए । 
पछिल्लो पटक ब्राजिलले २००२ मा जापान र दक्षिण कोरियाले आयोजना गरेको विश्व कपको उपाधि उचालेको थियो । २००२ मा विश्व कप जित्दाका कुनै पनि खेलाडी पनि जारी विश्व कपमा छैनन् । त्यस्तै, १९९८ मा फ्रान्सले विश्व कपको उपाधि उचालेको थियो । उरुग्वेले १९५० र इङ्ग्ल्यान्डले १९६६ मा विश्व कपको उपाधि उचालेको थियो । अहिले जारी विश्व कपको क्वाटर–फाइनलसम्म आइपुग्दा यसअघि विश्व कपको ट्रफी उचाल्ने खेलाडी छैनन् । 
विश्व कपको प्री क्वाटर–फाइनलसम्म भने विश्व कपको उपाधि उचालेका खेलाडी थिए । प्री क्वाटर–फाइनलमा स्पेनले आफ्नो स्थान बनाउँदा २०१० को विश्व कप जिताएका मुख्य र चर्चित खेलाडी थिए । आन्डे«स इनिएस्टा, कप्तान सर्जियो रामोस, जेरार्ड पिके, सर्जियो बुस्क्वाएट्स, डेभिड सिल्भा, पेपे रेइना लगायतका खेलाडीले २०१० को विश्वकप स्पेनलाई जिताएका थिए । तिनै खेलाडी जारी विश्व कपको प्री क्वाटर–फाइनलसम्म थिए । तर स्पेन रसियासँग अन्तिम १६ को खेलमा पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित भएसँगै विश्वकपको क्वाटर–फाइनलदेखि नयाँ पुस्ता रहेका छन् । (एजेन्सी)

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
‘अमानवीय’ बन्दै ओली सरकार
प्रदेशका नाम र राजधानी टुंग्याउन अझै सकस
राजमोद्वारा श्रद्धाञ्जली व्यक्त
सांसद पौडेलद्वारा आत्मालोचना
राजमोको सभा सम्पन्न
कार्यविधि तय गर्न उपसमिति गठन
कम्युनिस्ट आन्दोलनको भविष्य उज्ज्वल छ ः सिंह
७ नम्बर प्रदेशमा पनि समिति
श्रद्धाञ्जली सभा सम्पन्न
उपकुलपतिमाथि बल प्रयोगको सर्वत्र विरोध
सेनालाई इन्धन ढुवानीको जिम्मेवारी
सर्वाधिक गोलकर्ता को ?
समाचारहरु
अन्तर्राष्ट्रिय समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal