२०७५ असोज ३ गते, बुधबार   वर्ष ३५, अङ्क ३८
मिति(२०७५ आश्विन ५, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
साहित्य
माटोमा रङ्गिएका कविता
रुद्र ज्ञवाली
मान्छेका आ–आफ्नै अनुभूति हुन्छन् र तिनै अनुभूतिहरूले मान्छेलाई केही गर्न घच्घच्याई रहन्छन् । दैनानुदिन देखेका, भोगेका र अनुभव गरेका क्रिया–प्रतिक्रिया, घटना–परिघटनाबाट मान्छे प्रभावित भइरहेको हुन्छ । यिनै घटना–परिघटनाका प्रभावबाट मान्छेमा संवेदना उत्पन्न हुन्छ । मान्छेको संवेदना घटना परिघटनाबाट उसमा पर्ने प्रभाव र त्यसको ग्रहणशीलतामा निर्भर हुन्छ । कलाकारहरू आफ्ना अनुभूतिलाई चित्रकारिताका माध्यमले अभिव्यक्त गर्छन् भने साहित्यकारहरू साहित्यका माध्यमले ।
यस्तै साहित्यिक चेत भएका स्रष्टा बृद्धिराम गैरेको कृति ‘माटोको सुगन्ध’ का बारेमा केही कुरा गर्ने जमर्को गरिरहेको छु म यतिबेला । व्यक्तिगत रूपमा कृतिका सर्जकसँग धेरै लामो र त्यति छिप्पिएको सम्बन्ध छैन । कवि बृद्धिराम गैरे सिर्जित कविताको एक मुठो यतिबेला मेरो हातमा छ र यी सिर्जनाका बारेमा आफूलाई लागेका केही कुरा राख्दैछु । कुरा कविताबाटै थालौँ ।
साहित्यका विधामध्ये सम्भवतः सबैभन्दा बढी लेखिएको विधा हो, कविता । यसरी सबैको ध्यान खिच्न सफल कविता आखिरमा के त ? यस विषयमा पूर्वीय तथा पाश्चात्य जगतका थुप्रै विद्वानका अभिमत साहित्यिक बजारमा चर्चित छन् । प्रख्यात कवि जोहन मिल्टन भन्छन्– “कविता कम सुक्ष्म र सुकुमार भए पनि बढी सरल, इन्द्रियग्राह्य र भावपूर्ण हुन्छ ।”
त्यसैगरी विलियम वर्डस्वर्थ भन्छन्– “शान्त क्षणमा सन्चित अनुभवबाट उत्पन्न मनोभावनाको स्वतःस्फूर्त प्रवाह कविता हो ।”
माक्र्सवादी सौन्र्दय शास्त्रीय दृष्टिले कविताको चरित्र निरूपण गर्दा कविता केही आधारभूत तत्वको उपस्थिति अनिवार्य देखिन्छ ।
ती आवश्यक तत्वमा कविताको उद्गम स्रोत, कविताको सार, कविताको सामाजिक सम्बन्ध, यसका पक्षधरता, ऐतिहासिक क्रमबद्धता, कलात्मक बिम्बहरूको विशिष्टता, अन्तरवस्तु तथा रूपको सम्बन्ध, समाजवादी यथार्थवादी मान्यता एवं यथार्थ र कल्पनाशीलताको प्रस्तुति हुन् ।
कविताको महत्व के हो त ? भनिन्छ, अभिव्यक्तिको सबैभन्दा सुन्दर र कलात्मक माध्यम हो कविता । 
त्यसैले कविता कविता जस्तै हुनु पर्छ भन्ने मत पनि केही विद्वानको रहेको छ । यसको अर्थ यो हो कि कविता कुनै पनि अभिव्यक्तिसँग तुलना गरिने र गर्न सकिने कुरै होइन । यो आफैमा सर्वोच्च हुन्छ । कलात्मक हुन्छ । पाठक या स्रोताको मनमा झङ्कार या तरङ्ग उत्पन्न गर्छ । यसर्थ कविता संवेदनायुक्त हुन्छ र समकालीन युगको प्रतिबिम्बन गर्ने क्षमता राख्दछ । समग्रमा भन्नु पर्दा कविता सामाजिक वस्तुस्थितिले कविको चेतनामा पारेको प्रभावको उत्कृष्ट प्रतिबिम्बन हो भन्न सकिन्छ । अर्को शब्दमा भन्नु पर्दा कविता कविको तात्कालिक आवेग–प्रवेगको भावनात्मक तथा कलात्मक प्रस्तुति हो । कविता थोरै शब्द धेरै कुरा प्रकट गर्ने कला पनि हो । यो सपाट र वर्णनात्मकभन्दा कलात्मक, बिम्बात्मक र चित्रात्मक हुन्छ । बिम्बमा सोच्नु, बिम्बमा खेल्नु र बिम्बमा बोल्नु कविताको विशेषता हो । 
साहित्यलाई अनुर्वरक र अनुत्पादक भनेर उपभोक्तावादीहरूले जति खिसिटुयरी गरे पनि उनीहरू कुनै न कुनै रूपमा साहित्यको प्रयोग गरिरहेका हुन्छन् । कुनै पनि वक्तव्य, छलफल र अभिव्यक्तिलाई सटिक, प्रहारात्मक र कलायुक्त बनाउनु पर्‍यो भने कविताको अंशहरूको उद्धरण हुने गरेको हामीले सुनेजानेकै छौँ । संस्कृतलाई मृत भाषा घोषणा गर्नेहरू पनि भाषण गर्दा संस्कृतका श्लोक घुसाएर भाषण गरिरहेका हुन्छन् । यस्तै, नेपाली भाषालाई निमिट्यान्न पार्ने अघोषित अभियानमा लागेका महाबुजु्रगहरू पनि आफ्ना अभिव्यक्तिमा लेखनाथ र देवकोटालाई जोडिरहेकै पाइन्छन् ।
मेरो हातमा परेको कविता कृतिका सिर्जनाहरू अध्ययन गर्दा म यसभित्र सर्जक बृद्धिराम गैरेको कवि मनको प्रतिबिम्ब भेटेको छु । यसभित्र शब्दका कुटिल खेल र पाण्डित्याइँ कतै पनि देखिदैन । आफू बाँचेको वर्तमानमा आफूले भोग्दै आएका भोगाइलाई जस्ताको त्यस्तै व्यक्त गर्ने प्रयास कविको छ । यसभित्र त्यही छ । जो आमा नेपाली नागरिकले भोग्दै आएका छौँ । राजनीतिका उधारा सपनाबाट जनतामा उत्पन्न निराशा, कुण्ठा हुँदा खाने श्रमजीवी वर्गप्रतिको राज्यको उपेक्षा र उनीहरूको दुरावस्था, स्खलित राजनैतिक मूल्य–मान्यता, आफन्तका बीचको घात–प्रतिघात देश र जनताप्रति नेताको गैर जिम्मेवारीपन आदि–इत्यादि घटना÷परिघटनाबाट कवि मन आहत देखिन्छ र यिनै विषयवस्तुलाई केन्द्रविन्दु बनाएर यी कविता सिर्जना भएका छन् ।
मूलतः यस कविता सङ्ग्रहको केन्द्रमा देश रहेको छ । देश भन्नु अलिकति शरीरमा लतपतिएको माटो हो, माटोको गन्ध हो, माटोको सुवास हो र यसै सुवासमा आल्हादित अन्तस्करण पनि ।
देश भन्नु न लालपुर्जा हो न नागरिकता । यो त मनभित्रको उद्वेग र संवेदना हो । माटोलाई चोट लाग्दा दुख्ने मन हो । देशलाई अप्ठ्यारो पर्दा रुने मन हो । देशको बर्बादीमा हुने पीडा हो । यो सङ्ग्रहका थुप्रै सिर्जनामा देशको पीडा दुखेको छ । देशसँगै कवि मन दुखेको छ । देशसँगै कविता रोएको छ ।
कविताका भाव र यी कविताले दिने सन्देश पाठकले पढेर अनुभूति गर्ने विषय हो । एउटा पाठकले कविता पढेपछि त्यसलाई जुन रूपमा बुझ्छ, त्यसै अनुरूप ग्रहण गर्छ । त्यसैले यो सङ्ग्रहका कविताले यसो भनेका छन्– उसो भनेका छन् भनेर यहाँ लेखिरहनुको कुनै अर्थ छैन । यसो गर्नु अलिहेका सचेत पाठकको अवमूल्यन गर्नु हो जस्तो लाग्छ मलाई । 
सुरुमै उल्लेख गरे झँै कवि बुद्धिराम गैरे माटोमा रमाउने कवि हुन् । उनी देशलाई माया गर्छन् । यहाँको हावापानी माटो र परिवेशप्रति हुरुक्कै छन् । देशको बर्बादीमा उनको मन थिल्थिलिएको छ । थुप्रै कवितामा कविको वर्गीय चेत र क्रान्ति पक्षधरता समेत छताछुल्ल भएको छ ।
देशको अव्यवस्थ, गरिबी र जिम्मेवार निकायको अकर्मण्यताप्रति कवि मन क्षुब्ध छ र भविष्यप्रयति आशावादी पनि । आवश्यक परे जनता फेरि पनि जाग्नु पर्छ भन्ने अभिमत कविको छ । समग्रमा कविका कविता यो देशको माटोको रङमा रङ्गिएका छन् । माटोमा लत्पतिएका छन् ।
प्रकाशनका हिसाबले यो सङ्ग्रह कवि बुद्धिराम गैरेको प्रथम कृति हो । खोज्दै जाने हो भने यस कृतिको शिल्प र संरचना पक्षमा थुप्रै कमी–कमजोरी भेटिएलान्, त्यो अर्कै कुरा हो । तर यी कविताले प्रवाह गर्न खोजेको सन्देशको आधारमा कविको लेखकीय अभीष्टमाथि औँला ठड्याउने ठाउँ छैन । यसभित्रका सबै कविताले समाजको सकारात्मक रूपान्तरण तथा नागरिक र देशको समृद्धिका पक्षमा पैरवी गरेका छन् । श्रमजीवी वर्गको हक–अधिकारको वकालत गरेका छन् । अन्याय, अत्याचार, बेथिति र अव्यवस्था विरुद्ध क्रान्तिको बिगुल फुकेका छन् । उज्यालो भविष्यको कामना गरेका छन् । 
अन्तमा, कवि बुद्धिराम गैरेको यो कवि मनलाई हार्दिक नमन गर्दै आगामी दिनमा अझ सशक्त रचनाको अपेक्षा गर्दछु । उहाँको लेखकीय उर्जा अझ गतिशील एवं शक्तिशाली बनोस् र समाज रूपान्तरणका पक्षमा उहाँको कलम अनवरत चलिरहोस् भन्ने शुभेच्छा प्रकट गर्दछु ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप साहित्य
माटोको सुगन्ध
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal