२०७५ श्रावण ३० गते, बुधबार   वर्ष ३५, अङ्क ३६
मिति(२०७५ भाद्र ५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
लेखहरू
अमेरिकी साम्राज्यवाद र ठुला धनाढ्यका सपना
अपत्य शर्मा
विश्वका ठुला धनाढ्यका सपना जपना विपना र विश्वका विपन्न गरिखाने वर्गका सपना र जपनामा आकाश पातालको अन्तर छ । विश्वको महाशक्ति विश्वको ठुलो अर्थतन्त्र भएको मुलुक अमेरिकी साम्राज्यवादी शक्तिको गुरुयोजनाभित्र आफ्नो वित्तीय पँुजी क्षमताले विश्वमा प्रभुत्व कायम गर्ने सपना मरेको छैन । अमेरिकी साम्राज्यवादद्वारा आफ्ना मातहतका वित्तीय संस्थाहरूद्वारा आफ्नो मौद्रिक साम्राज्य फैलाएर अल्पविकसित मुलुकहरूका अर्थ राजनीतिक क्षेत्रमा अधिकार जमाएपछि कठपुतली सत्ता कायम गर्न सरल हुन्छ । यतिमा मात्र सीमित छैनन् साम्राज्यवादी शक्ति, विज्ञान प्रविधिको उच्च विकासले गर्दा विश्वका सात अर्ब जनताको बौद्धिक, शारीरिक मात्र नभएर पुँजीवादी लोकतान्त्रिक मूल्य–मान्यता, मानव अधिकारभित्र पर्ने नागरिक स्वतन्त्रता र व्यक्तिगत गोपनीयतामाथि पनि आफ्नो नियन्त्रणमा राख्ने गोप्य योजना लागु गर्दै गइरहेछ । पुँजीवादी प्रजातन्त्रवादीहरूले सधैँ वकालत गर्ने मानव अधिकार, व्यक्तिगत स्वतन्त्रता नागरिक स्वतन्त्रता आदि सबै अब साम्राज्यवादी तथा प्रतिक्रियावादी तानाशाही फाँसीवादीको मुट्ठीमा कैद हुँदै गइरहेछन् । नारीवादीहरूले आफ्नो शरीर आफ्नो अधिकार भन्ने मान्यतालाई पनि चुनौती दिएको छ । 
नेपालका प्रतिक्रियावादी शासकहरूले पनि साम्राज्यवादी तथा विकसित पुँजीवादी मुलुकहरूमा पनि विरोध भइरहे तापनि बायोमेट्रिक प्रणालीद्वारा हाम्रा शरीरका सम्पूर्ण डाटा (विवरण) ले पूर्ण राष्ट्रिय परिचय पत्र तयार गर्दैछ भन्ने चर्चा चल्दैछ । सैद्धान्तिक रूपमा कुनै पनि नेपाली नागरिक बिना कसुर सजायको भागिदार बन्न नपरोस् भन्ने छ । मानव अङ्ग–प्रत्यङ्ग नै सबैभन्दा ठुलो सबैभन्दा भरपर्दो स्रोत हो । बायोमेट्रिक प्रणाली अन्तर्गत नागरिकको अनुहार, औँठा छाप, डी.एन.ए., आवाज आँखाको पुतली, हिडाइ आदिको विवरण राखिन्छ । हातका बुढीऔँलाका छाप लामो समयदेखि नेपालमा प्रयोग गरिदै आएको छ । बायोमेट्रिक बायोडाटाले आतङ्कवादीको नियन्त्रण मात्र नभएर सक्कली सर्वहारावादीको नियन्त्रणदेखि साम्राज्यवाद उपनिवेशवाद र जातिवादका विरुद्ध लड्ने राष्ट्रवादी शक्तिलाई निर्मूल पार्ने र विश्व जनसङ्ख्यालाई नियन्त्रण गर्न यो बायोमेट्रिक प्रणाली लागु गरिदै छ । अमेरिकी साम्राज्यवादीहरूको एउटा जनसङ्ख्यामाथि नियन्त्रण गर्ने र ती नियन्त्रित जनसङ्ख्यालाई साम्राज्यवादी तथा पुँजीवादी व्यवस्थाका विरुद्ध सङ्घर्ष नगर्ने भुत्ते पार्ने गोप्य योजना अन्तर्गत हावा, पानी, खाना आदिमा विभिन्न प्रकारका घातक रसायन प्रयोग गरिरहेका छन् । यस्ता योजनाहरूमा अर्बौं रकम लगानी गरिरहेछन् । गरिब मुलुकका अशिक्षित जनतालाई गिनीपिगमा प्रयोग गर्ने भ्याक्सिन तथा औषधिहरू प्रयोग गर्दै हजारौँलाई चरम पीडित पारेर तडपाउनुका साथै हत्या गराइरहेका छन् । नेपालमा पनि गोप्य रूपले औषधि र भ्याक्सिन प्रयोग गरेर मारिसकेका छन् । यहाँको तथाकथित वाम सरकारले यसबारे मौन सहमति दिएको बुझिन्छ । किनभने कान्ति बाल अस्पतालमा कार्यरत डाक्टरले सार्वजनिक रूपमै त्यहाँका बच्चाहरूमा भ्याक्सिन प्रयोगहरू गरिरहेका र केही मर्नुका साथै कतिपयमा स्वास्थ्य समस्या देखिएको खुलासा गरिसकेका छन् । यसको सरकारले प्रतिवाद गरेको सार्वजनिक रूपमा आएको छैन । अन्धकारमा कहाँ कहाँ विदेशी औषधि उत्पादकहरूले मोटो रकम घुस दिएर कति मारिरहेछन् र कति तड्पिरहेछन् अन्धकारमै छ । 
बायोमेट्रिक प्रणाली एक किसिमको एक व्यक्तिले निरीक्षण गर्ने सी.सी.टी.भी. मा हेर्न मिल्ने जस्तै विश्वलाई एउटा कैदखानाका बन्दी जस्तै बनाउने प्रणाली हो । अर्को शब्दमाभन्दा अठारौँ शताब्दीको अन्त्यतिर बेलायती दार्शनिक र सामाजिक सिद्धान्तकार जेरेमी बेन्थमको काल्पनिक व्यवस्था हो । बायोमेट्रिक प्रणाली अमेरिकी साम्राज्यवादीदेखि विकसित पुँजीवादी मुलुकहरूले गोप्य रूपले गरिरहेछन् भने चीनले खुला रूपमै बायोमेट्रिक प्रणाली र कृत्रिम बौद्धिकता (ए.आई.) को आफ्ना जनताको सूचना पुलिसलाई दिन्छ । व्यक्तिगत स्वतन्त्रता, मानव अधिकारको वकालत गर्नेहरूले कम्युनिस्ट मुलुकमा कुनै पनि स्वतन्त्रता दिइँदैन, मानव अधिकारलाई लत्याइन्छ र पुलिसराज गुप्तचरीमाथि गुप्तगरी गर्ने व्यवस्था हो आदि अनेकौँ किसिमका झुटमुठको कुविचारको खेती गर्छन् । तर साम्राज्यवादी तथा विकसित पुँजीवादी मुुलुकहरूले लागु गरेका बायोमेट्रिक प्रणालीले यी नरभक्षी शक्तिहरू सबैभन्दा क्रुर फाँसीवाद हुन् भन्ने प्रमाणित हुन्छ । नेपालका प्रतिक्रियावादी शासकहरूले नेपालका युवा शक्तिलाई पुँजीवादपरस्त माक्र्सवाद लेनिनवाद विरोधी पुँजीवादी शैक्षिक (ह्याचरीका) चल्ला उत्पादन गर्न नेपालको उच्च शैक्षिक कक्षामा एनिमल फार्म (लेखक जर्ज अर्वेल) जस्ता पुस्तकहरू पढाइन्छन् । प्रतिक्रियावादी नेपालका शासकहरू साम्राज्यवादीका तावेदार नै त हुन् । 
संयुक्त राज्य अमेरिकाको कानुनी विश्व विद्यालयले प्राइभेसी एन्ड टेक्नोलजीले २०१६ मा गरेको अध्ययनले के पत्ता लगायो भने ११७ मिलियनभन्दा बढी अमेरिकीहरूको मुखाकृतिको विवरण राखिएको थियो । उनीहरूमध्ये करिब आधाजसो अमेरिकी अधबैँशेहरू पक्डिएका थिए र अमेरिकी तथ्याङ्कका आधारमा कानुन लागु गर्न केहीलाई एफ.बी.आई. ले चाहेको बेलामा कार्वाही गर्न सकोस् । आगामी दिनहरूमा अन्तःशुल्क र सीमा सुरक्षा दलले ठुलो बायोमेट्रिक बहिर्गमन कार्यक्रम अन्तर्गत नयाँ मुखाकृति पहिचान प्रविधिको प्रयोग गर्नेछ । अहिले नै पनि अमेरिकाका आठ वटा शहरका एयरपोर्टहरूमा यो प्रविधि प्रयोग गरिसकिएका छन् । त्यस्तै व्यक्तिगत स्वतन्त्रता, स्वतन्त्र मानव अधिकार तथा व्यक्तिगत गोपनीयता आदिको दुहाइ दिने तथाकथित पुरानो लोकतान्त्रिक मुलुक बेलायतमा पनि कुनै अपराधमा संलग्न नभएका १२.५ मिलियन जनताका मुखाकृति राष्ट्रिय पुलिसको तथ्याङ्क विभागमा राखिएको छ र पाँच मिलियनका आवाज रिकर्ड गरिएका थिए र उनीहरूको स्वीकृति लिनु पर्नेमा स्वीकृति नै लिइएन ।
नेपालका स्वनामधन्य प्रजातन्त्रवादीको आदर्श लोकतान्त्रिक मुलुक भारतमा पनि जनताका अधिकारहरूलाई कटौती गरिदै छ । २०१८ को जनवरीको द ट्रिबुन खबर पत्रिकाका रिपोर्टरहरूको रिपोर्ट अनुसार ५०० भा.रु. मा व्यक्ति विशेषको पासवर्ड पाउन सकिन्छ र त्यसले गर्दा जो कोहीले पनि मानिसको नाम, ठेगाना, पोस्टल कोड (पिन) फोटो, फोन नम्बर र इमेल पनि पाइन्छ । यतिमा मात्र सीमित नभएर मात्र ३०० बढी तिरेपछि रिपोर्टरले प्रिन्ट नै गर्न सक्छ र व्यक्ति विशेषको बेजोड परिचय पत्र प्राप्त गर्न सक्छ । यसरी प्रतिक्रियावादी शासक वर्ग तथा आपराधिक तत्वहरूले आमूल परिवर्तनवादी र सामान्य नागरिक पनि शोषण, उत्पीडन र चरम दमनको जाँतोमा पिसिने छन् ।
उपर्युक्त सानो विवरणले साम्राज्यवादी, विकसित पुँजीवादी तथा विस्तारवादी मुलुकहरूले पुँजीवादी मूल्य–मान्यता व्यक्तिगत स्वतन्त्रता, व्यक्तिगत गोपनीयता, मानव अधिकार र लोकतान्त्रिक सिद्धान्तलाई नियन्त्रण गर्ने फाँसीवादी जासुसी राज चलाउँदै छन् । ठुला पुँजीपति तथा प्रतिक्रियावादी सामन्तशाही सत्ता सधैँ जनविरोधी हुन्छ । अब लागौँ, विश्वका धनाढ्य ठुला पुँजीपतिका भविष्यका योजनाको चर्चा गरौँ । 
डगलस रसकोफलाई गत वर्ष (२०१७) भाषण गर्न एउटा निजी सुपर डिलक्स रिसोर्टमा आमन्त्रण गरिएको थियो । उनले त्यहाँ दर्शकका रूपमा करिब एकसय जना बैङ्करहरू जम्मा भएको अनुमान गरेका थिए । डगलसले यस्तो किन अनुमान गरे भने पारिश्रमिक ज्यादै ठुलो प्रस्तावित थियो अर्थात् प्राध्यापकको रूपमा उनले पाउने ६ महिनाको तलब जति रकम दिइएको थियो । उनले बोल्नु पर्ने विषय राखिएको थियो, प्रविधिको विषय । डगलसलाई मञ्च र माइक्रोफोन भएको ठाउँमा लानुको साटो राउण्ड टेबलको नजिकैको मेचमा राखियो जहाँ अरू अत्यन्त धनी पाँच जना पुरुषलाई बोलाएर राखियो । ती व्यक्तिहरू हेजफन्डका उच्च स्तरका थिए । उनीहरूले भविष्यको प्रविधिबारे कुनै चासो राख्नुको साटो आफ्नै योजनासँगसम्बन्धी प्रश्न गरे । उनीहरूको प्रश्न थियो– आगामी जलवायु सङ्कटले न्युजिल्यान्ड कम प्रभावित होला कि अलास्का के गुगलले वास्तवमै रे कुर्जबेलको दिमाग अपलोड कम्प्युटर बनाउँदै छ ? कम्प्युटरमा भण्डार गरिएको उनको चेतना सङ्कटबाट जीवितै पार होला या त्यसबीचमा मरेर पुनर्जिवित होला ? जस्ता प्रश्नहरू गरेर अन्त्यमा एक जना सी.ई.ओ. ले के खुलाए भने उनले एउटा भूमिगत बङ्कर प्रणाली निर्माण गरिसक्न लागेको बताउँदै के सोधे भने त्यो घटनापछि मैले आफ्ना सुरक्षाकर्मीमाथि नियन्त्रण कसरी कायम राख्ने अर्थात् त्यो घटना भनेको वातावरणीय प्रलय, सामाजिक अशान्ति, आणविक विस्फोट, भाइरसको महामारी अथवा रोबोटले सबथोक कब्जामा लिएको अवस्थालाई ‘त्यो घटना’ भनेका हुन् । 
ती धनाढ्यहरूलाई ठुलो डर उपर्युक्त “घटना” ले उत्पन्न गरायो र उनीहरू यतिविघ्न बाठा थिए कि सामाजिक अशान्तिले गर्दा आफ्ना भीडबाट आफ्ना वासस्थान जोगाउन सशक्त सेना नै चाहिन्छ, जबकि पैसाको मूल्य नै नभएपछि के दिने भन्ने तथा उनीहरूलाई अनुशासनमा राख्नु सबैभन्दा ठुलो समस्या उनीहरूले देखिसकेका थिए । त्यसका लागि धनाढ्यहरूले आफ्नो रक्षा गर्न प्रविधिको विकाससँगै रोबोटलाई प्रयोग गर्ने भनेर सोचिसकेका थिए । उनीहरू सामाजिक अशान्ति, विद्रोह र उन्नत प्रविधिबारे जानकारी राखेका हुनाले आफूलाई सुरक्षित राख्न बङ्करको व्यवस्था र रोबोट रक्षकलाई प्रयोग गर्ने विचार गरेका हुन् । ती अर्बपतिहरूले एलन मस्कको मङ्गल ग्रहमा उपनिवेश बसाउने, पिटर थेलको बुढ्यौलीको प्रक्रियालाई उल्ट्याउने अथवा साम अल्टम्यान र रे कुर्जवेलको सुपर कम्प्युटरमा आफ्नो दिमाग अपलोड गर्ने चर्चाबाट पाठ सिकेर होसियार भइसकेको प्रष्ट हुन्छ । अर्बपतिहरूको लक्ष्य आफू मात्र सुरक्षित हुन मात्र हो । डिजिटल उन्नत प्रविधिले मानव जातिको उन्नत अवस्थाप्रति लक्षित भएर यो विश्वलाई राम्रो बनाउनु नभएर आफ्नो सुरक्षामा मात्र केन्द्रित हुनु हो । ठुलो वा साना, जुनसुकै वर्ण, लिङ्ग वा क्षेत्रको पुँजीपतिको केन्द्र आपूm, म मेरो मलाई मात्र हुन्छ समाज हुँदैन । यी परजीवी पुँजीपति वर्गमा मानवीय गुण खोज्नु मरुभूमिमा पानी खोज्नु जस्तै हो । पुँजीपति वर्गको असीमित द्रव्य लोभले गर्दा कार्वन उत्सर्जन र वातावरण विनासले ल्याएको जलवायु परिवर्तन, समुद्र उच्च सतहमा आउने, विश्वव्यापी महामारी, प्राकृतिक स्रोत र साधनहरूको क्रुरतम रूपले दोहन गरेर समाप्त पार्दै गइरहेछन् । यस परिस्थितिमा उत्पन्न हुने प्रचण्ड जन आक्रोशको ज्वालाले भष्म हुनबाट जोगिन एउटै उपायको रूपमा यी अर्बपतिले रोज्ने बाटो पलायन अर्थात् अर्को ग्रहमा बसाइँ सर्नु ।
अबको पुँजीवाद डिजिटल पुँजीवाद हो भन्दै व्यापारिक वातावरणमा आधारित र त्यसैमा निर्माण हुने डिजिटल अर्थतन्त्रका अनुमानित विजेता यिनै द्रव्यपिचास अर्बपति नै हुनेछन् भन्ने पुँजीवादी अर्थशास्त्रीको भनाइ छ, जबकि सबैभन्दा ठुलो मार सर्वहारा वर्ग र गरिब जनतामाथि पर्छ । किनभने विकसित पुँजीवादी मुलुकहरू स्वचालित काम अस्थायी रोजगार प्रणालीमा आधारित अर्थतन्त्रले सर्वहारा वर्ग सबैभन्दा पीडित हुन्छ र जीवन–मरणको सङ्घर्ष गर्ने बाध्य हुनेछन् । अर्बपतिको स्वर्गमा धावा गरेर ध्वस्त पारेर यो पृथ्वीलाई सर्वहारा वर्गको स्वर्ग बनाउने छन् । यसरी आउन सक्ने सर्वहारा शक्तिबाट आउने परिणाम पनि यी अर्बपतिले देखिसकेका हुनाले त्यस भीषण दावानलबाट जोगिन जतिसुकै पैसा र प्रविधि खर्चिन पनि लागि पर्दैछन् । विशेष गरेर अर्को मङ्गल ग्रहमा पलायन हुने योजना बुन्दैछन् । शायद मङ्गल ग्रहमा जाने यानमा सिट नपाए अर्को विकल्पबारे पनि योजना बुन्लान् ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप लेखहरू
बहुआयामिक नीतिको खाँचो
नेपाल–चीन रेलमार्ग ः समृद्धिको पूर्वाधार
वर्तमान परिवेश र सङ्गठन निर्माणको प्रश्न
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal