२०७५ मंसिर ५ गते, बुधबार   वर्ष ३६, अङ्क २
मिति(२०७५ म‌सिर ६, बुधवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
लेखहरू
मृत्यु संस्कारका बारेमा केही विमर्श
मनोज भट्ट
विश्वका विभिन्न धर्महरू जस्तै हिन्दू धर्ममा समेत जन्मदेखि मृत्युसम्मका कैयौँ संस्कारहरू समाजमा प्रचलित छन्, यद्यपि यी संस्कारहरू समय परिस्थिति अनुसार परिमार्जित वा परिवर्तन हुँदै गइरहेका छन । मृत्यु संस्कार वाहेक अरू संस्कारहरू आफ्नो अनुकूलतामा मान्छेहरूले गर्दै आएका छन् । तर मृत्यु संस्कार अत्यन्तै बोझिलो, रुढिवादी तथा अन्धविश्वासमाथि आधारित छ ।
मध्ययुगीन युरोपियन समाजमा तत्कालीन धर्मगुरुहरूले मृत्यु पश्चात् नर्कमा जाने भय देखाएर वा स्वर्गमा पठाइदिने आश्वासन देखाएर मृतकका आफन्त वा मृत्यु हुनु अगावै सम्बन्धित व्यक्तिलाई स्वर्गमा जाने टिकट (पापमोचन पत्र) समेत बिक्री गरेर अकूत सम्पत्ति कमाउने, धर्मको नाममा डरलाग्दो शोषण कायम थियो, जसलाई पुनर्जागरणको आन्दोलनले समाप्त पारेको थियो । तर एकाइसौँ शताब्दीमा समेत मृत्यु संस्कारमा मृतकका आफन्तलाई विभिन्न प्रकारका डर देखाएर शोषण गर्ने प्रथा हाम्रो समाजमा अहिले पनि कायमै छ । यसलाई परिवर्तन गर्नु पर्ने आवश्यकता छ । त्यसमा परिर्वतन वा सुधारका लागि विभिन्न प्रयासहरू भइरहेका पनि छन् । 
हिन्दूहरूमा जन्मदेखि मृत्युसम्म गर्नु पर्ने १६ वटा संस्कारको धर्मशास्त्रमा चर्चा गरिएको पाइन्छ, जसलाई षोडस संस्कार पनि भनिन्छ । हिन्दूहरूमा जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कारका बारेमा हिन्दूहरूका धार्मिक विभिन्न शास्त्रमा बेग्लाबेग्लै सङ्ख्या उल्लेख भएको पाइन्छ । गौतम स्मृतिमा ४० वटा र ब्यासस्मृतिमा १६ वटा संस्कारको उल्लेख भएको पाइन्छ । षोडस संस्कारभित्र निम्न संस्कारहरू पर्दछन् ः १. गर्भाधान, २. पुंसवन, ३. सीमान्नतोनयन, ४. जातकर्म, ५ नामाकरण, ६. निस्व्रmमण, ७. अन्नप्राशन, ८. चूडाकर्म, ९. कर्णभेद, १०. ब्रतबन्ध, ११. वेदाराम्भ, १२. समावर्तन, १३. विवाह, १४. आवस्थ्याधान, १५. वानप्रस्थ र १६. अत्यष्टि । तर हामीले व्यवहारमा गएर हेरौँ भने यी षोडष संस्कारहरू सबै अहिले प्रचलनमा छैनन । यसमा व्यापक परिवर्तन आएको छ । अहिले जम्मा नामाकरण, भातखुवाइ, व्रतबन्ध, विवाह क्रिया मात्र प्रचलनमा रहेका छन् ।
उपर्युक्त षोडष संस्कारमध्ये अन्तिम संस्कार मृत्यु संस्कार वा अन्त्येष्टि पर्दछ । मृत्यु संस्कारभित्र अन्त्येष्टि संस्कार पनि पर्दछ । अन्त्येष्ठी संस्कारका बारेमा पनि धार्मिक विधिविधानहरूको धर्मशास्त्रमा व्यवस्था गरिएको पाइन्छ, जसमध्ये शवयात्रा, दाहक्रिया र स्नान पनि एक होे । यी क्रियाहरूलाई सामाजिक तथा स्वास्थ्यका दृष्टिले अनुचित भन्न मिन्दैन । तर यो क्रियामा रहेको पिण्डदानलाई उचित मान्न सकिन्न । यी १६ वटा संस्कारमध्येका कतिपय संस्कारहरूको अस्तित्व समाज विकासको क्रमसँगै समाप्तप्रायः हँुदै गइरहेको छ । सामन्ती युगमा रहेको ब्राह्मण वर्गको सर्वोच्चता क्रमशः खतम हँुदै जानु तथा पेशेवर पुरोहित वर्ग समेत पुरोहित्याइँ पेशा त्याग्दै गएका कारण पनि विगतमा जस्तै यो संस्कारलाई पूर्णतया धार्मिक रूपमा मनाउने सवालमा केही सुधार हुँदै गइरहेको छ ।
अहिले हाम्रो समाजमा विद्यमान १३ दिने काजक्रिया १९९८ जेठ महिनाभन्दा अगाडिसम्म १३ महिने प्रचलनमा रहेको थियो । जुद्ध शमशेरले त्यो प्रचलनलाई रोकी १३ दिने काजक्रियाको प्रचलन सुरुवात गरेका हुन् । स्वयम् हिन्दू धर्मशास्त्रहरूमा प्रेततत्वमा प्राप्त आत्मालाई पितृपङ्क्तिमा मिलाउन एक वर्षको समय लाग्ने कुरा उल्लेख भएता पनि त्यसो गर्न व्यावहारिक दृष्टिकोणले सम्भव नहुने भएको हुनाले बाह«ौँ दिनमा शव पिण्डीकरण क्रिया गरेर प्रेततत्व प्राप्त आत्मालाई पितृगणमा मिलाउने गरी काजक्रियाको समावधिको निर्धारणमा सुधार गरिएको हो । 
असौच कति बार्ने ? त्यसको अवधिबारे समेत कुनै प्रकारको एकरूपता छैन । सम्बन्धको निकटता, स्नेह, प्रेमको निकटता र अनेकौँ अवस्थालाई हेरि बेग्लाबेग्लै अवधि निर्धारित भएको पाइन्छ । यो विषयमा विभिन्न जातिको संस्कारमा बेग्लाबेग्लै अवधि पाइन्छ । गुरुङ जातिमा तीनदेखि पाँच दिनसम्मको काजक्रिया गर्नु पर्ने, आर्थिक कारणले तुरुन्तै काजक्रिया गर्न नसकिने भएपछि पनि आफ्नो अनुकूलतामापछि गर्न सकिने प्रचलन छ । नेवार समाजभित्रका बौद्धमार्गीहरूमा पहिले ४५ दिनसम्म काजक्रिया गर्ने चलन थियो भने अहिले त्यो १३ दिनमा झारेका छन् । हिन्दू धर्ममा समेत १३ दिने काजक्रियालाई घटाएर सात वा पाँच दिनको बनाउनका लागि विभिन्न प्रकारका छलफल समेत भइरहेका छन । धार्मिक ग्रन्थ श्रीमतभागवत अनुसार धुन्धुकारीको मृत्युमा सात दिनको काजक्रिया भएको उल्लेख छ । उपर्युक्त विवरणबाट मृत्यु संस्कारसँग जोडिएको काजक्रियको अवधिका बारेमा समेत एकरूपता पाइदैन ।
मृत्यु संस्कारसँग जोडिएको आत्मिक अर्थात्् धार्मिक पक्षलाई परिवर्तनका लागि समेत समाज र राजनीतिक क्षेत्रका अगुवाहरूले परिवर्तनका लागि प्रयत्न गर्दै आइरहेका छन् । बताई रहनु पर्ने आवश्यकता छैन कि हिन्दू धर्ममा विद्यमान मृत्यु संस्कारभित्रको काजक्रियासम्बन्धी प्रचलन कसरी र कहिलेदेखि सुरुवात भयो भन्नेबारेमा समेत हिन्दू धर्म क्षेत्रका विद्वानहरूबीच ठुलो मदभेद र विवाद छ । हिन्दूहरूको प्रमुख तथा सबैभन्दा पुरानो र पहिलो धार्मिक ग्रन्थ वेदमा १३ दिने मृत्यु संस्कारको चर्चा छैन । यो संस्कार गरुड पुराण मार्फत् आएको हो । १६ अध्यायका गरुड पुराणका सबै विषय महर्षिद्वारा निर्मित नभएको रपछि आएर कसैले कल्पना गरेर थपेको र थपिएको विषयलाई वेद वा वेदमूलक स्मृतिशास्त्रले समर्थन नगरेका कारण त्यसलाई मान्यता दिनु आवश्यक नभएको कुरा धार्मिक क्षेत्रका विद्वानहरूबीच सहमति देखिन्छ अर्थात् मान्छे मरेपछि पाँचदेखि दशौँ दिनसम्म सुनाइने गरुड पुराणको प्रेतकल्पको सोह«ौँ अध्यायपछि कसैले कल्पना गरेर थपेको मत पनि रहिआएको छ । गरुड पुराण मार्फत् आएको मृत्यु संस्कारलाई स्वयम् धार्मिक कोणबाट समेत त्यसको वैधानिकतालाई अस्वीकार गरिएको छ ।
अहिले हाम्रो समाजमा विद्यमान क्रियाका दुई वटा पक्ष छन् ः एउटा भौतिक र अर्को आत्मिक पक्ष । कुनै व्यक्तिको मृत्यु पश्चात् उसको भौतिक शरीरलाई अग्निमा राखेर जलाउने वा गाड्ने कार्य भौतिक पक्षसँग जोडिएको छ भने भौतिक देह समाप्त भएपछि आत्मा जिवित रहन्छ, आत्माले समाप्त भएको शरीरबाट बाहिरिनु पर्दा त्यसले दुःख, पीडा पाउँछ । त्यस्तो दुखित आत्मालाई प्रेत भनिन्छ । तड्पिएको दुःखी र असन्तुष्ट आत्मालाई मृतकका छोराहरूले पिण्ड र जलादीको दान प्रक्रियाबाट बासस्थान बनाउनु पर्ने वैदिक मन्त्रद्वारा प्रेत आत्मालाई बाह«ौँ दिनमा पितृपङ्क्तिमा मिलाउनु पर्ने कार्य तोकेको छ । यो कार्यमा बाहुनलाई जति बढी मात्रामा दान दिन सकियो, त्यति नै बढी मृतकको आत्मा सन्तुष्ट हुने, सबै प्रकारको पापबाट आत्मा मुक्त हुने र त्यस्तो आत्माले स्वर्गमा बास पाउने धार्मिक मान्यतामा आधारित छ ।
विभिन्न विद्वानहरूले हिन्दू धर्मलाई एउटा धर्मको रूपमा स्वीकार नगरेर एक–अर्काबाट भिन्न अनेक धर्महरूको समाविष्ट रूपको रूपमा स्वीकार गर्दछन् । त्यसका बाबजुद पनि सम्पूर्ण हिन्दूहरूले तीन वटा साझा धर्म सिद्धान्तलाई अनिवार्य पालना गर्दै आएका छन् । ती तीनवटा धर्म सिद्धान्तमध्ये एउटा कर्मफल र पुनर्जन्ममाथि विश्वास गर्नु पनि हो । बताई रहनु पर्ने आवश्यकता छैन कि प्रायः सबै धर्ममा स्वर्गको आशा र नरकको डर देखाइएको भएता पनि मृत्यु पश्चात् मृतकले पुनः मानव चोला धारण गरी यस लोकमा आउने विश्वास हिन्दू धर्म वाहेक कुनै पनि धर्ममा छैन । इस्लाम, इसाई, मज्दा, यहुदी लगायतका कुनै पनि धर्मले पुनर्जन्मको सिद्धान्तलाई स्वीकार गरेका छैनन । हिन्दू मात्र यस्तो धर्म हो, जसले पुनर्जन्मको सिद्धान्तलाई स्वीकार गरेर त्यसलाई कर्मको सिद्धान्तसँग जोडेर मानव जातिमाथि चरम शोषण लादेको छ । त्यसैले मृतकले पुनर्जन्म प्राप्त गरोस् भन्ने ध्येयले मृत्यु संस्कार गर्दा मृतकका आफन्तहरूले पुराउनु पर्ने विधि र प्रक्रिया निर्धारण गरिएको छ, जुन अन्त्यत अवैज्ञानिक र शोषणमाथि आधारित हुनुका साथै अहिलेको युगमा कल्पना गर्नै नसकिने अवधारणामाथि आधारित छ । जिवित व्यक्ति मरेर खरानी भइसकेपछि पनि उसले पुनर्जन्म प्राप्त गर्दछ । त्यसरी पुनर्जन्म प्राप्त गर्नका लागि पुरोहित वर्गलाई जति सक्यो, बढीभन्दा बढी दान–दक्षिणा दिएर खुशी पार्नु पर्ने—त्यसरी खुशी नपारिएमा मृतकले कथित चौरासी लाख नरकमा भयङ्कर यातना भोग्नु पर्ने विश्वासमाथि आधारित मान्यता आफैमा कति व्यावहारिक, विश्वासयोग्य र वैज्ञानिक होला ? सहजै अनुमान गर्न सकिन्छ । 
सुरुमा हिन्दू धर्म अन्तर्गत शरीरबाट पृथक आत्माको सिद्धान्त वा पुर्नजन्मको सिद्धान्त हिन्दूहरूका प्रारम्भिक धर्मग्रन्थहरूमा भेटिन्न । वेद हिन्दूहरूको अत्यन्त पुरानो धार्मिक ग्रन्थ मानिन्छ । वेदमा परलोकको सिद्धान्तमाथि कुनै चर्चा गरिएको छैन । त्यसमा मरणोपरान्त प्रतिफलको पनि कुनै चर्चा गरिएको छैन । वैदिक धर्म पूर्णतया इहलोकउन्मुख धर्म हो, न कि परलोकउन्मुख । तर पाँचौँ शताब्दी इसापूर्व रचना गरिएको मनुस्मृतिको बाह«ौँ अध्यायमा आएर आत्माको पुर्नजन्मको सिद्धान्तलाई स्वीकार गरिएको पाइन्छ । जवाहरलाल नेहरूले ‘हिन्दूस्थान की खोज’ नामक आफ्नो पुस्तकमा पनि सुरुमा वैदिक आर्यहरूमा आत्माको पुनर्जन्मको सिद्धान्त नरहेको चर्चा गर्नु भएको छ । हिन्दूहरूले यो अवधारणाा सिन्धु उपत्यकाका स्थानीय जनजाति (द्रविड तथा मुण्डा) हरूमा तत्कालीन अवस्थामा कायम रहेको पुनर्जन्ममाथि विश्वाससम्बन्धी मान्यतालाई अनुकरण गरे रपछि त्यसलाई आफ्नो संस्कृतिको अङ्ग बनाएका हुन् भनेर उल्लेख गरेका छन् ।पछि यो अवधारणालाई मनुस्मृतिले शास्त्रसम्मत बनाउने काम गर्‍यो । पुनर्जन्मको सिद्धान्त अनुसार मनुष्यको मृत्यु पश्चात् उसको आत्मा नष्ट हुदैन, बरु अन्य कुनै भौतिक पिण्डमा प्रवेश गर्छ । त्यसले कुन रूप लिने हो ? त्यो उसको वर्तमान जीवनमा मनुष्यले गर्ने कर्ममाथि आधारित हुन्छ भन्ने मान्यता रहेको पाइन्छ । 
मृतकको राम्रोसँग काजक्रिया गरिएन भने मरेर खरानी भइसकेको लासलाई चोख्याउनका लागि अर्थात् प्रेतबाट मुक्त पार्नका लागि मृतकका आफन्तहरूले क्रियापुत्री बस्नु पर्ने, कोरा बार्नु पर्ने, ढिकुरो फोर्नु पर्ने, दशदान, शैयादान र पिण्डदान जस्ता अनेकौँ दानहरू दिनु पर्ने, गरुड पुराण लगाउनु पर्ने, बरखी बार्नु पर्ने धार्मिक संस्कार नगरिएमा मृतकले अर्को नयाँ जुनी प्राप्त गर्दैन वा गरे पनि तल्लो जातमा वा जीव जनावरको रूपमा जन्मिनु पर्ने मान्यता रहेकोे छ । 
मृत्युको पूर्वसन्ध्यादेखि नै बाहुनहरू मृतकका आफन्तलाई दक्षिणाका लागि निचोर्न थाल्छन् । मृतकले जतिसुकै नराम्रा कर्म गरेको भए पनि यदि मृत्युको पूर्वसन्ध्यामा उसले वा उसका आफन्तले सुन, गाई र पृथ्वी (भूमि) दान गर्दछन् भने (यी वस्तुलाई कथित पवित्र दानको रूपमा लिइएको पाइन्छ) जस्तोसुकै पापीलाई पनि मुक्ति प्राप्त हुने र वैतरणी नदी तर्नका लागि गाईदान दिएमा मृतकले सजिलै वैतरणी नदी पार गर्न सकिने भन्ने मान्यता रहेबाट यो बुझन्मा कुनै कठिनाइँ पर्दैन कि मृतकले नयाँ जुनी प्राप्त गर्ने प्रश्न बाहुनहरूलाई दिइने दक्षिणाको प्रकार वा मात्रासँग जोडिन्छ । जसरी सामन्ती युगमा युरोपमा चर्चका पादरीहरूले मृतकबाट पैसा लिएर स्वर्गको टिकट बिक्री गर्ने गर्थे, त्यसरी नै हिन्दू धर्ममा काजक्रियाको आवरणमा मृतकलाई नयाँ जुनी प्राप्त गर्ने प्रलोभन देखाएर आफन्तहरूबाट बाहुनहरूले बढीभन्दा बढी दक्षिणा निचोर्ने गर्दछन् । यसरी धार्मिक डर खडा गरेर धर्मको नाममा शोषण गर्ने काम गरिदै आएको छ । 
मृत्यु पश्चात् आफन्तले नयाँ जन्म प्राप्त गरोस भन्ने उद्देश्यले मृत्यु संस्कारलाई अपनाइने गरिन्छ । त्यतिमात्र नभएर क्रिया बसेको बेलामा गरुड पुराण लगाउने परम्परा रहेको छ । मृत्युपछि जिउको गति र उसको अरू योनीमा हुने जन्म र मोक्षका सम्बन्धमा यसमा वर्णन गरिएको छ । गरुड पुराणको प्रेतकल्प अध्यायमा मृतकलाई कथित नरकमा दिइने कयौँ प्रकारका चरम यातनाको वर्णन गरिएको छ । त्यसलाई मृतकका आफन्तलाई सुनाएर उनीहरूमा डर पैदा गराउनुका साथै प्रेतकल्पमा पिण्डदानमाथि पनि जोड दिइएको छ । जुन मृतकले पिण्डदान पाउदैन, त्यसले युगयुगसम्म भौतारिनु पर्ने र प्रेत भएर बस्नु पर्ने डर देखाइएको छ । दश दिनसम्म पिण्डदान नदिने, मृतकका आफन्तहरू चोखिन नसक्ने वा पिण्डदान दिएर पनि शुद्ध भएपछि जसले श्राद्धमा पितरका लागि ब्राह्मणलाई दान दिदैन, त्यस्ताका घरका सदस्यहरू कुनै न कुनै रोगले पीडित भइरहने, अल्पायुमा नै मर्ने र त्यस घरमा वीर सन्तान नजन्मिने समेत धर्मशास्त्रमा डर देखाइएको छ । यसरी विभिन्न प्रकारका डर देखाएर पुरोहित वर्गले प्रेतको मुक्तिका लागि दक्षिणा असुल गरेर मृतकका आफन्तलाई धर्मको नाममा शोषण गर्ने गर्दछन् । विभिन्न यातनाहरू भोगिसकेपछि प्रेतले पुनः मानव चोला धारण गरी यस लोकमा आउन पाउने काल्पनिक कथाहरू बनाएर मृत्यु संस्कारको नाममा शोषणहरू भइरहेको छ ।
कुनै व्यक्तिको देहान्त पश्चात् उसको शवलाई गाड्ने, जलाउने वा आ–आफ्नो संस्कार अनुरूप त्यसलाई नष्ट गर्ने कुरा क्रियाको भौतिक पक्षसँग जोडिएको छ । त्यसलाई सम्पादन गर्नु नै पर्दछ । तर जहाँसम्म आत्मिक पक्षको कुरा छ, कुनै व्यक्तिको भौतिक देह समाप्त भइसकेपछि पनि आत्मा जिवित रहन्छ भन्ने विश्वासका आधारमा आत्माको मुक्तिका लागि गरिने धार्मिक कार्य कुरा कहिँ कतै पनि वैज्ञानिक दृष्टिकोणले मेल खादैन । मान्छेको भौतिक देह समाप्त भइसकेपछि पनि आत्मा जिवित नै रहिरहन्छ र त्यो आत्माले प्रेतको रूप लिएर भड्किरहन्छ । तडपिएको र भड्किरहने आत्माको सुख–शान्तिका लागि मलिन षोडसी (दशगात्र) को क्रिया गरेर आत्माको उद्धार गर्नु पर्छ भन्ने धार्मिक विचारसँग सहमत हुन सकिदैन । आत्माको उपभोगका निम्ति पिण्ड, सैया र गौदान गर्नु पर्छ भन्ने धार्मिक मान्यतालाई स्वीकार गर्न सकिदैन । 
कुनै व्यक्तिको मृत्यु पश्चात् उसको भौतिक देह नष्ट वा समाप्त हुन्छ । शरीर नष्ट वा समाप्त भइसकेपछि कथित जिवित रहेको आत्मालाई कसैले देख्न, सुन्न, स्पर्श वा अनुभूति गर्न नसकिने, त्यसको कुनै भौतिक अस्तित्व नभएर अलौकिक वा आत्मिक अस्तित्व हुने कुरालाई अहिलेको वैज्ञानिक युगमा विश्वास गर्न सकिन्न । अहिलेको वैज्ञानिक युगको कुरा मात्र किन गर्ने ? स्वयम् हिन्दूहरूको जेठो अर्थात् पुरानो धर्मग्रन्थ वेदमा आत्माको कल्पना गरिएको छैन । त्यस्तो अवस्थामा निराकार आत्मामाथि विश्वास गरेर प्रेतआत्माको सन्तुष्टिका लागि काजक्रिया गर्ने कुरा जायज हुन सक्दैन । समाजमा यो परम्परा हजारौँ वर्षदेखि चलिआएकै कारणले त्यसमाथि विश्वास गर्न सकिदैन । 
आफन्तको मृत्युपछि काजक्रिया नगर्नुको तात्पर्य उनीहरूप्रति सम्झना वा श्रद्धा गर्नु हुँदैन भन्ने होइन । आफन्तहरू जिवित छञ्जेल उनीहरूको हेरचाह र सम्मानमा हामीले कुनै पनि प्रकारको कमी आउन दिनु हँुदैन । हामीले पुरातन तथा रुढिवादी विचारलाई परित्याग गरेता पनि आफन्तको मृत्युमा स्वाभाविक रूपले सबैलाई पीडा हुन्छ । सबैको आफन्तप्रति श्रद्धा र सम्मान हुन्छ । त्यो श्रद्धा र सम्मान प्रकट गर्न काजक्रियाको सट्टा उहाँहरूको सम्झनामा अन्य कुनै रचनात्मक कार्य गरेमा त्यो समाज उपयोगी हुनेछ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप लेखहरू
मुलुकी संहिता ः सामान्य परिचय
मातृभाषाको मृगतृष्णा
समाजवाद वा संसदवाद ?
अमेरिका र चीनबीचको व्यापार युद्धको परिणाम
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal