२०७५ असोज ३ गते, बुधबार   वर्ष ३५, अङ्क ३८
मिति(२०७५ आश्विन ४, बुधवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
लेखहरू
अमेरिका र चीनबीचको व्यापार युद्धको परिणाम
अपत्य शर्मा
समाजवादी बजार अर्थतन्त्र लागु गरेपछि फस्टाएको चीनको अर्थतन्त्रका विरुद्ध आफ्नो व्यापार घाटा घटाउन अमेरिकी राष्ट्रपति ट्रम्पले चीनकेन्द्रित व्यापार युद्धको थालनी गरेका छन् । आफ्नो व्यापार घाटा घटाउन चीनबाट आयात हुने सयौँ मालसामानमा चर्को अन्तःशुल्क लगाएपछि चीनको अर्थतन्त्र सिथिल भएपछि अमेरिकासँगको व्यापार युद्ध अरू तीव्र हुँदै गएको छ । चीनका मालिकहरूले यस युद्धलाई तीव्रता दिन र विजयी हुन विभिन्न उपायहरू गर्दै आएका छन् । हुन त अमेरिका चीनको ऋणी बनेको छ । किनभने चीनले अमेरिकी सरकारको ऋणपत्र मात्रै १८८ विलियन डलरको किनेको छ । अन्य क्षेत्रहरूमा पनि चीन अमेरिकादेखि मोटरहरूको ठुलो ग्राहक हो ।
चिनियाँ अधिकारीहरूले आफ्ना बैङ्कहरूलाई बढीभन्दा बढी ऋण पर्वाह गर्न भन्नुका साथै स्थानीय सरकारलाई पुनः ठुला आयोजनाहरूमा रूपियाँ लगानी गर्ने आदेश दिएका छन् । पुँजीवादी अर्थशास्त्रीहरूले सेयर बजारलाई त्यो मुलुकको आर्थिक ऐनाको रूपमा व्याख्या–विश्लेषण गर्छन् । चिनियाँ अधिकारीहरूले सेयर बजारलाई निम्नतम विन्दुमा पुग्नबाट जोगाउन कदम चाल्दैछन् । करिब तीन वर्ष पहिले सेयर बजार निम्नतम विन्दुमा पुगेपछि विश्वलाई ठुलो झट्का दिएको थियो । चीनले समस्याका पहाड चुलिँदै गएकाले समाधान गर्नेतिर पाइला चाल्दै गएका छन् । गत अगस्टको अन्त्यतिर अमेरिकाले चीनलाई १६ अरब अमेरिकी डलरको चिनियाँ माल सामानमा अन्तःशुल्क लगाउने धम्की दिएपछि चीनले तुरुन्तै त्यसको प्रतिक्रियास्वरूप विश्व व्यापार सङ्गठन (डब्लू.टी.ओ.) मा उजुरी दिने बताएको छ । यस कदमले व्यापार युद्ध अरू तेज भएको छ र १०० अरब डलरभन्दा बढीका मालसामानमाथि प्रभावित पार्नुका साथै चीन र विश्वमाथिको आर्थिक वृद्धिको आशामाथि तुषारापात गर्नेछ । चीन अहिले अप्ठ्यारो खेल खेल्न थालेको छ । चीनले उसको कमजोर अर्थतन्त्रलाई अप्ठ्यारो परिस्थितिबाट जोगाउनुका साथै धेरै घरेलु समस्यालाई बिग्रिने अवस्थाबाट पनि जोगाउनु छ । यस समयमा घरको परिस्थितिलाई स्थिरता दिनुका साथै ट्रम्पको व्यापार युद्धलाई पनि परास्त गर्ने प्रयास गर्नुछ । 
यस व्यापार युद्धले एकथरिको के मत छ भने चीनलाई खासै ठुलो प्रभाव पार्न सक्दैन । किनभने चीनको १२ ट्रिलियन अमेरिकी डलरको अर्थतन्त्र छ । व्यापार युद्धले चीनलाई सामान्य खालको मात्र प्रभाव पार्नेछ । तर चीनको व्यापार युद्धले चीनको गहिरा समस्यालाई अरू जटिल बनाउने छ । प्रशासनका केही अधिकारी के विश्वास गर्छन् भने बेइजिङ कमजोर छ र अमेरिकाले व्यापार युद्धलाई अरू बढाउनु पर्छ र चीनमा युरोप तथा अमेरिकी समर्थक प्रजातन्त्रवादीहरूलाई बल पुग्ने गरेर अस्थिरताको वातावरण सिर्जना गर्नु रहेको छ । व्यापार युद्धले सिर्जिने आर्थिक मन्दीको प्रभाव चीनका सर्वहारा वर्ग, गरिब किसान तथा निम्न वर्ग चिनियाँहरूमाथि सबैभन्दा ठुलो मार पर्छ । 
ट्रम्पको राष्ट्रिय आर्थिक काउन्सिलका निर्देशक लारी कुडलोले मन्त्री मण्डलको बैठकमा के औँल्याए भने चीनको आफ्नै आधिकारिक तथ्याङ्कहरूमा व्यापार लगानी, खुद्रा बिक्री र औद्योगिक उत्पादन हालैका महिनाहरूमा कमजोर देखाएको छ । “ठिक अहिले तिनीहरूको अर्थतन्त्र डरलाग्दो देखिएको छ” भनेर सञ्चार माध्यममा बताए । तर चीनको चौमासिक आर्थिक चित्रहरूमा आर्थिक वृद्धि लगातार वृद्धि भइरहेको देखाएको छ । तर पश्चिमा अर्थशास्त्रीहरू चीनको उक्त दावीलाई अस्वीकार गर्छन् । किनभने अमेरिका र अरू विकसित पुँजीवादी मुलुकका आर्थिक चित्रहरूले गलत भनेका छन् । चीनको पहिलो सात महिनापछि चीनको अर्थतन्त्र छिटोछिटो मन्द भइरहेछ । यसको प्रमाणको रूपमा उत्तर–पूर्वी चीनको प्रान्तीय राजधानी हार्बिन सहरमा गत महिना पैसाको अभाव भएर पेन्सनरहरूलाईपछि पेन्सन दिइयो । यसकारण चिनियाँ अधिकारीहरूले कम्पनी र अरू खर्च गर्ने निकाय, खर्च गर्ने रकमको अभाव नहोस् भनेर कदम चालेका छन् । अधिकारीहरूले स्थानीय आयोजना पुरा गर्ने प्रोत्साहित गरिरहेछन् । केन्द्रीय योजनाकारले स्थानीय सरकारका योजना ऋणका समस्याले गर्दा बन्दा भएका थिए, तिनीहरूलाई सुचारु गर्न ऋणलाई सरलतापूर्वक उपलब्ध गराउने नीति लिएका छन् ।
चीनको सेयर बजारमा सेयरको मूल्य २०१६ को प्रारम्भदेखिको अहिलेको मूल्य निम्नतम मूल्यमा झरेको छ । चीनको मुद्रा रेन्मिनवी डलरको दाँजोमा १० प्रतिशतले अवमूल्यन भएको छ । चीनले आफ्नो मुद्रालाई अवमूल्यन नगरेर राखेकोमा अहिले आफ्नो मुद्राको अवमूल्यन गरेर पुनः आफ्नो मुद्रालाई मुल्य प्राप्त गर्ने कोशिस गर्दै आएको छ । अवमूल्यन गरेपछि आफ्ना उत्पादनहरू सस्ता हुने हुनाले विश्व बजारमा चिनियाँ मालको बिक्रीमा वृद्धि हुने आँकलन चिनियाँको छ । चीन निर्यातकर्ता मुलुक भएकाले माल महङ्गो हुँदा र वर्तमानमा संयुक्त राज्य अमेरिकाले चर्को अन्तःशुल्कले गर्दा चीनले आफ्नो मुद्राको अवमूल्यन गरेर निर्यात व्यापार बढाउने योजना कति उपयुक्त र सफल हुन्छ ? त्यो भविष्यले देखाउने छ । 
पुँजीवादी पुनस्र्थापनापछि मुट्ठीभर अर्बपति, खर्बपतिको सङ्ख्यामा वृद्धि छ भने अर्कोतिर सर्वहारा वर्ग तथा गरिब किसानको स्थिति झन् झन् कष्टप्रद हुँदै गएको छ । पुँजीवादी व्यवस्थाले ल्याउने सम्पूर्ण विकृति विसङ्गतिका साथै पुनः दास व्यवस्थाका समर्थक कन्फ्युसियसलाई पनि पुनस्र्थापित गरिएको छ । जुन कन्फ्युसियसलाई सर्वहारा सांस्कृतिक क्रान्तिका कन्फ्युसियसको दर्शनको खण्डनमण्डन गरिएको थियो । कन्फ्युसियस दर्शनको अध्ययन केन्द्रहरूको स्थापना गर्नुको पछाडि सर्वहारावाद दर्शनलाई अस्वीकार गर्नु हो, साथै पुँजीवादी दासता र अपमानलाई स्वाभाविक मान्ने जमात तयार पार्नु हो । अर्को शब्दमाभन्दा सर्वहारा सांस्कृतिक क्रान्तिलाई अस्वीकार गर्नु हो । बाँकी रहेका सर्वहारावादी दर्शन र चिन्तनलाई समूल समाप्त पार्नु हो ।
चिनियाँ सर्वहारा वर्गले आफ्ना शोषण, उत्पीडनका विरुद्ध सङ्घर्ष गर्न पनि कठिन छ । सरकारी मजदुर सङ्गठनका नेता÷कार्यकर्ताहरू सङ्घर्षरत मजदुरमाथि क्रुर दमन गर्ने सरकारी औजार बनेको छ । तर पनि मजदुरहरूले आफ्ना जायज मागलाई दमनका बाबजुद अगाडि बढाउँदै लगेका छन् । चिनियाँ क्रान्तिकारी सर्वहारावादी शक्ति चुप लागेर बसेको छैन । आफ्नो गुमेको सर्वहारावादी समाजवादी सत्ता प्राप्त गर्न भूमिगत गतिविधि गर्दैछ । अवश्य पनि सर्वहारा वर्गको मुक्तिको बाटो ज्यादै बाङ्गोटिङ्गो र कष्टपूर्ण छ, तापनि जीत चिनियाँ सर्वहारावादीको छ र ढिलो वा चाँडो जीत प्राप्त हुनेछ । 
चीन आफ्ना सामानले विश्वव्यापी विजय हासिल गर्दै गएकाले संयुक्त राज्य अमेरिकाले त्यसका विरुद्ध कदम चाल्नु उसको वर्गीय चरित्र नै हो । आफ्नो वर्गीय स्वार्थमा धक्का लागेमा वा लाग्ने देखिएकाले प्रतिवादमा उत्रिएको छ । अमेरिकाले चिनियाँ मालसामानमा चर्को अन्तःशुल्क लगाएकाले चिनियाँ जनता आफ्ना उपभोगलाई सीमित गर्दैछन् । उनीहरूले आफ्ना भ्रमणहरूदेखि सामान्य उपभोगका सामानमा समेत कटौती गर्दैछन् । 
वर्षौंदेखि चिनियाँको उपभोगका बारेमा चर्चा÷परिचर्चाहरू हुँदै आएका थिए । चिनियाँहरूको उपभोगमा बढोत्तरीका बारेमा विशेष चर्चा हुन्थे भने अहिले अन्तःशुल्कले ल्याएको घट्दा उपभोग र भ्रमणले विशेष चर्चा पाएको छ । विशेष गरेर चिनियाँ मध्यम वर्ग, जो अहिले ४०० मिलियनभन्दा बढी छ, उनीहरूले ठुलो परिणाममा ठुला पेचेक लिएर खर्च गर्छन्, उनीहरूले चिनियाँ स्थानीय ब्रान्डहरूबाट अन्तर्राष्ट्रिय ब्रान्ड निक्ससम्म, सस्ता फोनहरूबाट आइफोनसम्म, चियाबाट पाँच अमेरिकी डलरको स्टारबुक्ससम्म एक किसिमको कोक जस्तै पिइने पेय पदार्थ प्रयोग गर्थे । तर हालको ट्रम्पको व्यापार युद्धले गर्दा निरास बनाएको छ । यस व्यापार युद्धले चीनको अर्थतन्त्र सुस्त भएकाले किनमेल पनि सुस्त भएको छ । चिनियाँ उपभोग संस्कृतिमा आएको सुस्तताले सडकदेखि इन्टरनेटसम्ममा पनि आर्थिक मन्दीको चर्चा÷परिचर्चा हुन थालेको छ । खानमा आभोकाडो (एक किसिमको ज्यादै स्वस्थकर मिठो फल) खान छोडेका छन् भने पहिले ट्याक्सी चढ्ने चिनियाँहरू ट्याक्सी चढ्नेहरू साइकल चढ्न थालेका छन् । ककटेल्सको सट्टा बियर पिउन थालेका छन् । ठुलो दूध हालेको चियाको सट्टा मध्यम खालको दूध हालेका चिया पिउन थालेका छन् । चिनियाँ नेताहरूलाई के कुराले ठुलो चिन्ता थपेको छ भने धेरै चिनियाँहरू धेरै बच्चा पाउन अनिच्छुक छन् । चिनियाँहरूको घट्दो क्रयशक्तिको परिणाम विश्वव्यापी भएको छ । गत वर्षहरूमा मुलुकको अर्थतन्त्रमा आउने वृद्धिका मुख्य कारक चिनियाँ नागरिक हुन् । चिनियाँ नागरिकहरूले गर्ने उपभोगले भूमण्डलीय कम्पनीहरू, जस्तै– आपल, जनरल मोटर्स, भोल्क वागन र अन्य धेरै सामानहरूको उपभोगमा कटौती गर्नासाथ यी भूमण्लीय कम्पनीलाई पनि गम्भीर असर पुर्‍याउँदै छ । मजदुरका ज्यालामा वृद्धि रोकिएको छ, वृद्धि गरिए पनि नगण्य वृद्धि गरिन्छ । 
उपर्युक्त सानो विवरणले चीनको आर्थिक मन्दीले गर्दा ठुलोदेखि मध्यम स्तरका चिनियाँहरूको स्थितिलाई दर्शाउँछ । तर चिनियाँ सर्वहारा वर्गका बारेमा उनीहरूका कष्टका बारेमा कुनै विशेष जानकारी दिदैन, तापनि सबैभन्दा शोषित, पीडित, दमित चिनियाँ सर्वहारा वर्गले सबैभन्दा बढी कष्ट भोग्दैछन् भन्ने प्रष्ट छ । यो वर्गले नै सम्पूर्ण चिनियाँ धनाढ्यका धन बढाउँछन् भने यिनै श्रमिक वर्गले चीनको समृद्धिमा ठुलो महत्वपूर्ण केन्द्रीय मुख्य चालकको काम गरिरहेका छन् । तर यही सर्वहारा वर्गमाथि सबैभन्दा ठुलो मार आर्थिक मन्दीले पारेको छ र पुँजीवादी शोषण, उत्पीडन र दमनको शिकार पनि बनेको छ । उनीहरूका लागि समाजवादी बजार अर्थतन्त्रको अन्त्य गर्नु नै एक मात्र बाटो बाँकी छ । अर्को शब्दमा गर या मरले मात्र पुँजीको दासताबाट जोगाउने बाटो खोल्नेछ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप लेखहरू
मुलुकी संहिता ः सामान्य परिचय
मातृभाषाको मृगतृष्णा
समाजवाद वा संसदवाद ?
मृत्यु संस्कारका बारेमा केही विमर्श
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal